प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • bh chap. ४ pp. ३७-४६
  • येशू ख्रीष्ट को हुनुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येशू ख्रीष्ट को हुनुहुन्छ?
  • बाइबलले वास्तवमा के सिकाउँछ?
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • प्रतिज्ञा गरिएको मसीह
  • येशू कहाँबाट आउनुभयो?
  • येशू कस्तो व्यक्‍ति हुनुहुन्थ्यो?
  • अन्तसम्मै वफादार
  • येसु ख्रिष्ट को हुनुहुन्छ?
    बाइबलले हामीलाई के सिकाउँछ?
  • येसु को हुनुहुन्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • येशू ख्रीष्ट—परमेश्‍वरको ज्ञानको कुञ्जी
    ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ
  • येशू ख्रीष्ट को हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
थप हेर्नुहोस्
बाइबलले वास्तवमा के सिकाउँछ?
bh chap. ४ pp. ३७-४६

अध्याय चार

येशू ख्रीष्ट को हुनुहुन्छ?

  • येशूको विशेष भूमिका के हो?

  • उहाँ कहाँबाट आउनुभयो?

  • उहाँ कस्तो व्यक्‍ति हुनुहुन्थ्यो?

१, २. (क) प्रख्यात व्यक्‍तिको नाम थाह पाउँदैमा तिनलाई राम्ररी चिनेको छु भन्‍न किन मिल्दैन? (ख) मानिसहरू येशू को हुनुहुन्छ भन्छन्‌?

संसारमा नाम चलेका मानिसहरू थुप्रै छन्‌। कोही आफ्नो समाज, सहर वा देशमा प्रख्यात छन्‌ त कोही संसारभरि। तर कुनै प्रख्यात व्यक्‍तिको नाम थाह पाउँदैमा तिनलाई राम्ररी चिनेको छु भन्‍न मिल्दैन। तिनको रहनसहन, संस्कार, परिवार र तिनी वास्तवमा कस्तो व्यक्‍ति हुन्‌ भनेर तपाईंलाई थाह हुँदैन।

२ येशू ख्रीष्ट लगभग २,००० वर्षअघि यस पृथ्वीमा आउनुभएको थियो। तैपनि संसारभरका मानिसहरूलाई उहाँबारे केही न केही कुरा थाह छ। तर येशू वास्तवमा को हुनुहुन्थ्यो भनेर थुप्रै मानिसलाई राम्ररी थाह छैन। कसै-कसैले उहाँ असल मानिस हुनुहुन्थ्यो भन्छन्‌। अरूले उहाँ भविष्यवक्‍ता हुनुहुन्थ्यो भनी दाबी गर्छन्‌। अरू कतिपयचाहिं येशू परमेश्‍वर हुनुहुन्छ र उहाँको उपासना गर्नुपर्छ भनेर विश्‍वास गर्छन्‌। तर बाइबलले वास्तवमा के सिकाउँछ?

३. हामीले किन येशूलाई चिन्‍नुपर्छ?

३ हामीले येशू वास्तवमा को हुनुहुन्छ भनेर थाह पाउनु आवश्‍यक छ। किन? किनभने बाइबल यसो भन्छ: “अनन्त जीवन पाउन तिनीहरूले तपाईं एक मात्र साँचो परमेश्‍वरको अनि तपाईंले पठाउनुभएको येशू ख्रीष्टको ज्ञान लिइरहनुपर्छ।” (यूहन्‍ना १७:३) हो, यहोवा परमेश्‍वर र येशू ख्रीष्टलाई राम्ररी चिन्यौं भने प्रमोदवनमा अनन्त जीवन पाउनेछौं। (यूहन्‍ना १४:६) यसबाहेक परमेश्‍वरलाई खुसी तुल्याउने जीवन कसरी बिताउने र अरूसित कस्तो व्यवहार गर्ने भनेर पनि येशूले सबैभन्दा राम्रो उदाहरण बसाल्नुभएको छ। (यूहन्‍ना १३:३४, ३५) यस किताबको पहिलो अध्यायमा हामीले परमेश्‍वर वास्तवमा कस्तो हुनुहुन्छ भनेर बुझ्यौं। अब आउनुहोस्‌, बाइबलले येशू ख्रीष्टबारे वास्तवमा के सिकाउँछ, ध्यान देऔं।

प्रतिज्ञा गरिएको मसीह

४. “मसीह” र “ख्रीष्ट”-को अर्थ के हो?

४ येशू जन्मनुभन्दा धेरैअघि मसीह वा ख्रीष्टबारे बाइबलमा भविष्यवाणी गरिएको थियो। हिब्रू शब्दबाट लिइएको “मसीह” र ग्रीक शब्दबाट लिइएको “ख्रीष्ट” दुवैको अर्थ “अभिषिक्‍त जन” हो। मानिसजातिलाई उद्धार गर्न ख्रीष्ट पठाउनेछु भनी परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको थियो। उहाँले तिनलाई विशेष ओहदाको लागि नियुक्‍त गर्नुहुने थियो। ख्रीष्टले परमेश्‍वरका प्रतिज्ञाहरू पूरा गर्न महत्त्वपूर्ण भूमिका खेल्नुहुने थियो। यसबारे हामी पछि अझ धेरै सिक्नेछौं। येशूले अहिल्यै दिनुहुने आशिष्‌बारे पनि सिक्नेछौं। येशू जन्मनुभन्दा अघिदेखि मानिसहरू ‘मसीह को हो?’ भनी जान्‍न उत्सुक थिए।

५. येशू को हुनुहुन्छ भनी चेलाहरू विश्‍वस्त थिए?

५ येशू नै भविष्यवाणी गरिएको मसीह हुनुहुन्छ भनी उहाँका चेलाहरू विश्‍वस्त थिए। (यूहन्‍ना १:४१) सिमोन पत्रुस नाम गरेका चेलाले निर्धक्क भएर येशूलाई यसो भने: “तपाईं जीवित परमेश्‍वरका छोरा, ख्रीष्ट हुनुहुन्छ।” (मत्ती १६:१६) तर येशू नै प्रतिज्ञा गरिएको मसीह हुनुहुन्छ भनी ती चेलाहरू कसरी पक्का हुन सक्थे? अनि आज हामी नि?

६. यहोवाले आफ्ना सेवकहरूलाई मसीह चिन्‍न कसरी मदत गर्नुभयो, उदाहरणसहित बताउनुहोस्‌।

६ येशू पृथ्वीमा आउनुभन्दा अघि भविष्यवक्‍ताहरूले मसीहबारे थुप्रै कुरा बताइसकेका थिए। यी कुराले गर्दा अरूले उहाँलाई सजिलै चिन्‍न सक्थे। मानिलिनुहोस्‌, पहिला कहिल्यै नभेटेको मान्छेलाई व्यस्त बस-स्टप वा एयरपोर्टमा लिन जानुपऱ्‍यो। त्यस व्यक्‍तिबारे कसैले तपाईंलाई केही कुरा बताइदियो भने के तिनलाई चिन्‍न सजिलो हुँदैन र? त्यसैगरि मसीहले के गर्नेछन्‌ र के-कस्ता कुरा भोग्नेछन्‌ भनी यहोवाले भविष्यवक्‍ताहरूमार्फत विस्तृत जानकारी दिनुभयो। यी भविष्यवाणीले परमेश्‍वरका सेवकहरूलाई मसीह चिन्‍न मदत गर्ने थियो।

७. येशूबारे गरिएका दुइटा भविष्यवाणी के हुन्‌?

७ दुइटा उदाहरण विचार गर्नुहोस्‌। पहिलो, येशू जन्मनुभन्दा ७०० वर्षअघि मीकाले गरेको भविष्यवाणी। तिनले मसीह यहूदा प्रान्तको सानो सहर बेतलेहेममा जन्मनेछन्‌ भनेका थिए। (मीका ५:२) येशू कहाँ जन्मनुभयो? त्यही सहरमा! (मत्ती २:१, ३-९) दोस्रो, येशू जन्मनुभन्दा ५०० वर्षअघि दानियलले गरेको भविष्यवाणी। तिनले इस्वी संवत्‌ २९ मा मसीह देखा पर्नेछन्‌ भनेका थिए।a (दानियल ९:२५) यी तथा अन्य भविष्यवाणीले येशू नै मसीह हुनुहुन्छ भनी प्रमाणित गर्छ।

येशूले बप्तिस्मा गर्नुहुँदा येशू नै मसीह हुनुहुन्छ भनेर चिनाउन परमेश्‍वरको पवित्र शक्‍ति ढुकुरको रूपमा तल ओर्लन्छ

येशू बप्तिस्मापछि मसीह अर्थात्‌ ख्रीष्ट हुनुभयो

८, ९. येशू नै मसीह हुनुहुन्छ भनेर बप्तिस्माको बेला कसरी स्पष्ट भयो?

८ येशू नै मसीह हुनुहुन्छ भनेर इस्वी संवत्‌ २९ को अन्ततिर स्पष्ट भयो। त्यही साल येशू यर्दन नदीमा बप्तिस्मा गर्न यूहन्‍नाकहाँ जानुभयो। मसीह चिन्‍न सजिलो होस्‌ भनेर यहोवाले यूहन्‍नालाई एउटा चिह्न दिनुभएको थियो। येशूको बप्तिस्मा हुँदा यूहन्‍नाले त्यो चिह्न देखे। त्यतिबेला भएको घटनाबारे बाइबल यसो भन्छ: “बप्तिस्मा भएपछि येशू तुरुन्तै पानीमाथि निस्कनुभयो अनि हेर, आकाश खुल्यो र परमेश्‍वरको पवित्र शक्‍ति ढुकुरको रूपमा ओर्लेर उहाँमाथि बस्दै गरेको तिनले देखे। साथै, आकाशबाट यसो भन्‍ने आवाज पनि आयो: ‘यिनी मेरो प्यारो छोरा हुन्‌, जससित म अति प्रसन्‍न छु।’” (मत्ती ३:१६, १७) यो घटनापछि परमेश्‍वरले पठाउनुभएको मसीह येशू नै हुनुहुन्छ भनेर यूहन्‍नालाई पक्का भयो। (यूहन्‍ना १:३२-३४) येशूले बप्तिस्मा गरेपछि परमेश्‍वरले आफ्नो सक्रिय शक्‍ति उहाँमाथि खन्याउनुभयो। येशू त्यसपछि मसीह अर्थात्‌ ख्रीष्ट हुनुभयो अनि नेता र राजा पनि नियुक्‍त हुनुभयो।—यशैया ५५:४.

९ बाइबलको भविष्यवाणी र यहोवा परमेश्‍वरले दिनुभएको साक्षीले येशू नै मसीह हुनुहुन्छ भनी स्पष्ट भयो। तर बाइबलले येशू ख्रीष्टबारे अरू दुइटा महत्त्वपूर्ण प्रश्‍नको पनि जवाफ दिन्छ: उहाँ कहाँबाट आउनुभयो र उहाँ कस्तो व्यक्‍ति हुनुहुन्थ्यो?

येशू कहाँबाट आउनुभयो?

१०. पृथ्वीमा आउनुअघि येशू कहाँ हुनुहुन्थ्यो?

१० पृथ्वीमा आउनुअघि येशू स्वर्गमा हुनुहुन्थ्यो भनी बाइबल सिकाउँछ। मीकाले मसीहको जन्म बेतलेहेममा हुनेछ भनेर भविष्यवाणी गर्नुका साथै उहाँको अस्तित्व “प्राचीनकालदेखिनै” थियो भनेर पनि बताए। (मीका ५:२) पृथ्वीमा जन्मनुअघि स्वर्गमा थिएँ भनेर येशू आफैले थुप्रै चोटि बताउनुभयो। (यूहन्‍ना ३:१३; ६:३८, ६२; १७:४, ५) स्वर्गमा हुनुहुँदा यहोवासित उहाँको विशेष सम्बन्ध थियो।

११. बाइबलले किन येशूलाई यहोवाको सबैभन्दा प्यारो छोरा भन्छ?

११ येशू यहोवाको सबैभन्दा प्यारो छोरा हुनुहुन्छ र त्यसो हुनुका ठोस कारणहरू छन्‌। येशू “सारा सृष्टिमध्ये जेठो सन्तान” हुनुहुन्छ किनभने परमेश्‍वरले सबैभन्दा पहिला उहाँलाई सृष्टि गर्नुभयो।b (कलस्सी १:१५) उहाँ विशेष हुनुको अर्को कारण पनि छ। त्यो हो, उहाँ “एक मात्र छोरा” हुनुहुन्छ। (यूहन्‍ना ३:१६) यसको अर्थ परमेश्‍वर आफैले सृष्टि गर्नुभएको व्यक्‍ति येशू मात्र हुनुहुन्छ। अरू सबै थोक सृष्टि गर्न परमेश्‍वरले येशूलाई चलाउनुभयो। (कलस्सी १:१६) येशूलाई “वचन” पनि भनिन्छ। (यूहन्‍ना १:१४) यसको अर्थ उहाँ परमेश्‍वरको प्रवक्‍ता हुनुहुन्छ। उहाँले स्वर्गदूत र मानिसहरूलाई आफ्नो बुबाको सन्देश तथा निर्देशनहरू दिनुहुन्छ।

१२. परमेश्‍वर र येशू बराबर हुनुहुन्‍न भनेर किन भन्‍न सक्छौं?

१२ कसै-कसैले परमेश्‍वर र येशू बराबर हुनुहुन्छ भनी विश्‍वास गर्छन्‌। तर बाइबलले यस्तो सिकाउँदैन। परमेश्‍वरले येशूलाई सृष्टि गर्नुभयो भनी हामीले अघिल्लो अनुच्छेदमा बुझ्यौं। त्यसैले येशूको सुरुवात छ तर यहोवा परमेश्‍वरको सुरुवात पनि छैन, अन्त पनि छैन। (भजन ९०:२) येशूले कहिल्यै आफ्नो बुबा बराबर हुने प्रयास गर्नुभएन। बाइबलले छोराभन्दा बुबा महान्‌ हुनुहुन्छ भनी सिकाउँछ। (यूहन्‍ना १४:२८; १ कोरिन्थी ११:३) यहोवा मात्र “सर्वशक्‍तिमान्‌ परमेश्‍वर” हुनुहुन्छ। (उत्पत्ति १७:१) त्यसैले कोही पनि उहाँको बराबरी हुन सक्दैन।c

१३. बाइबलले येशूलाई किन “अदृश्‍य परमेश्‍वरको प्रतिरूप” भन्छ?

१३ यहोवा र येशूले युगौंयुग सँगै बिताउनुभयो। आकास र पृथ्वी सृष्टि हुनुभन्दा धेरैअघिदेखि उहाँहरू सँगै हुनुहुन्थ्यो। उहाँहरूबीच पक्कै पनि गहिरो प्रेम थियो! (यूहन्‍ना ३:३५; १४:३१) येशू आफ्नो बुबाजस्तै हुनुहुन्थ्यो। त्यसकारण बाइबलले उहाँलाई “अदृश्‍य परमेश्‍वरको प्रतिरूप” भन्छ। (कलस्सी १:१५) बुबा र छोराको हाउभाउ, नाकनक्सा मिलेजस्तै येशूको गुण अनि व्यक्‍तित्व पनि यहोवासित दुरुस्त मिल्छ।

१४. यहोवाको प्यारो छोरा कसरी मानिस भएर जन्मियो?

१४ यहोवाको प्यारो छोरा येशूले राजीखुसी स्वर्ग छोडेर मानिसको जीवन बिताउन पृथ्वीमा आउनुभयो। तर तपाईंलाई लाग्ला, ‘स्वर्गदूत पनि मानिस भएर जन्मन सक्छ र?’ यहोवाले चमत्कार गर्नुभएकोले यो सम्भव भयो। उहाँले आफ्नो जेठो छोराको जीवन मरियम नाम गरेकी यहूदी कन्या केटीको गर्भमा सार्नुभयो। त्यसैले कुनै पुरुषले गर्दा मरियम गर्भवती भएकी थिइनन्‌। मरियमले त्रुटिरहित छोरा जन्माइन्‌ र तिनको नाम येशू राखिन्‌।—लूका १:३०-३५.

येशू कस्तो व्यक्‍ति हुनुहुन्थ्यो?

येशू मानिसहरूलाई घरमा प्रचार गर्दै हुनुहुन्छ

१५. येशूमार्फत हामी यहोवालाई कसरी राम्ररी चिन्‍न सक्छौं?

१५ पृथ्वीमा छँदा येशूले गर्नुभएको कुरा र कामबाट उहाँलाई राम्ररी चिन्‍न सक्छौं। साथै येशूमार्फत हामी यहोवालाई पनि राम्ररी चिन्‍न सक्छौं। कसरी? येशू दुरुस्त आफ्नो बुबाजस्तै हुनुहुन्छ। त्यसकारण येशूले एक जना चेलालाई यसो भन्‍नुभयो: “जसले मलाई देखेको छ, उसले बुबालाई पनि देखेको छ।” (यूहन्‍ना १४:९) बाइबलको चारवटा किताब मत्ती, मर्कूस, लूका र यूहन्‍नामा येशू ख्रीष्टको जीवन, उहाँको गतिविधि र उहाँका गुणहरूबारे थुप्रै कुरा बताइएको छ।

१६. येशूको मुख्य सन्देश के थियो र उहाँको शिक्षाको स्रोत को हुनुहुन्थ्यो?

१६ येशू “गुरु”-को रूपमा प्रख्यात हुनुहुन्थ्यो। (यूहन्‍ना १:३८; १३:१३) उहाँले के सिकाउनुभयो? उहाँको मुख्य सन्देश परमेश्‍वरको “राज्यको सुसमाचार” थियो। परमेश्‍वरको राज्य भनेको स्वर्गमा स्थापित सरकार हो। यसले सारा संसारमाथि शासन गर्नेछ र आज्ञाकारी मानिसहरूलाई प्रशस्त आशिष्‌ दिनेछ। (मत्ती ४:२३) येशूले सुनाउनुभएको सन्देशको स्रोत को हुनुहुन्थ्यो? येशूले यसो भन्‍नुभयो: “म जे सिकाउँछु, त्यो मेरो होइन तर मलाई पठाउनुहुनेको शिक्षा हो।” (यूहन्‍ना ७:१६) मानिसहरूले राज्यको सुसमाचार सुनेको यहोवा चाहनुहुन्छ भनी येशूलाई थाह थियो। परमेश्‍वरको राज्य के हो र यसले के गर्नेछ भनेर अध्याय ८ मा अझ धेरै कुरा सिक्नेछौं।

येशूले केही जलारीहरूलाई प्रचार गर्नुभयो

१७. येशूले कहाँ-कहाँ गएर सिकाउनुभयो र उहाँले अरूलाई सिकाउन किन धेरै मेहनत गर्नुभयो?

१७ येशूले मानिसहरू भेटिने विभिन्‍न ठाउँमा गएर सिकाउनुभयो। जस्तै: सहर, गाउँ, बजार र घरघर। उहाँले मानिसहरू आफूकहाँ आऊन्‌ भन्‍ने आशा गर्नुभएन, उहाँ आफै तिनीहरूकहाँ जानुभयो। (मर्कूस ६:५६; लूका १९:५, ६) उहाँले प्रचार गर्न र सिकाउन किन यत्तिको समय खर्च गरेर मेहनत गर्नुभयो? किनकि उहाँले त्यसै गरेको परमेश्‍वर चाहनुहुन्थ्यो। उहाँ सधैं आफ्नो बुबाको इच्छाअनुसार चल्नुहुन्थ्यो। (यूहन्‍ना ८:२८, २९) उहाँले प्रचार गर्नुको अर्को कारण पनि थियो। मानिसहरूलाई देखेर उहाँ टिठाउनुहुन्थ्यो। (मत्ती ९:३५, ३६) धर्मगुरुहरूले मानिसहरूलाई परमेश्‍वर र उहाँको उद्देश्‍यबारे सत्य कुरा सिकाउनुपर्थ्यो तर तिनीहरूले त्यसो गरेका थिएनन्‌। मानिसहरूले परमेश्‍वरको राज्यको सन्देश सुन्‍नु असाध्यै महत्त्वपूर्ण छ भनी येशूलाई थाह थियो।

१८. तपाईंलाई येशूको कुन गुण मन पऱ्‍यो?

१८ येशू कोमल मनको र मायालु हुनुहुन्थ्यो। त्यसैले मानिसहरूलाई उहाँसित कुरा गर्न सजिलो लाग्थ्यो। केटाकेटीसमेत उहाँकहाँ जान अप्ठेरो मान्दैनथे। (मर्कूस १०:१३-१६) येशू कसैको पक्षपात गर्नुहुन्‍नथ्यो। उहाँ भ्रष्टाचार र अन्यायलाई घृणा गर्नुहुन्थ्यो। (मत्ती २१:१२, १३) यहूदी समाजमा स्त्रीहरूको पटक्कै आदर गरिंदैनथ्यो र तिनीहरूको कुनै अधिकार हुँदैनथ्यो। तर येशूले तिनीहरूसित मर्यादित व्यवहार गर्नुभयो। (यूहन्‍ना ४:९, २७) येशू साँच्चै नम्र हुनुहुन्थ्यो। एक चोटि उहाँले आफ्ना चेलाहरूको खुट्टा धुनुभयो, जुन काम अक्सर नोकरहरूले गर्ने गर्थे।

येशू बिरामीलाई छुन र निको पार्न अग्रसर हुनुभयो

मानिसहरू भेटिने सबै ठाउँमा येशू प्रचार गर्नुहुन्थ्यो

१९. येशू अरूको दुःख-पीडा बुझ्नुहुन्थ्यो भनी कुन उदाहरणले देखाउँछ?

१९ येशू अरूको दुःख-पीडा बुझ्नुहुन्थ्यो। त्यसैले त परमेश्‍वरको पवित्र शक्‍ति पाएर येशूले मानिसहरूलाई निको पार्नुभयो। (मत्ती १४:१४) उदाहरणको लागि, एक जना कुष्ठरोगीले येशूलाई यसरी बिन्ती गऱ्‍यो: “यदि तपाईंसित इच्छा मात्र छ भने पनि मलाई शुद्ध पार्न सक्नुहुन्छ।” येशूले त्यस मानिसको पीडा महसुस गर्नुभयो। उहाँले टिठाउँदै त्यस मानिसलाई छुनुभयो र भन्‍नुभयो: “मसित इच्छा छ। तिमी शुद्ध भइजाऊ।” अनि त्यो मानिस साँच्चै निको भयो! (मर्कूस १:४०-४२) त्यो मानिस कति खुसी भयो होला, कल्पना गर्नुहोस्‌ त।

अन्तसम्मै वफादार

२०, २१. येशू कसरी यहोवाप्रति वफादार रहनुभयो?

२० परमेश्‍वरप्रति वफादार भएर येशूले उत्कृष्ट उदाहरण बसाल्नुभयो। जस्तोसुकै परिस्थिति, विरोध र दुःखकष्ट आइपर्दा पनि उहाँ यहोवाप्रति वफादार रहनुभयो। येशूले दृढ भएर सैतानका प्रलोभनहरूको प्रतिरोध गर्नुभयो। (मत्ती ४:१-११) सुरु-सुरुमा येशूका आफ्नै नातेदारहरूले उहाँमाथि विश्‍वास गरेनन्‌ र यसो समेत भने: “उसको दिमाग खुस्केको छ।” (मर्कूस ३:२१) तर येशूले त्यसको वास्ता गर्नुभएन; उहाँले परमेश्‍वरको काम गरिनै रहनुभयो। विरोधीहरूले अपमान र दुर्व्यवहार गर्दासमेत येशू शान्त रहनुभयो र तिनीहरूलाई कहिल्यै हानि पुऱ्‍याउन खोज्नुभएन।—१ पत्रुस २:२१-२३.

२१ शत्रुहरूको हातबाट क्रूर र पीडादायी मृत्यु भोग्नुपरे तापनि येशू अन्तसम्मै वफादार रहनुभयो। (फिलिप्पी २:८) मृत्युअघि उहाँले के-के सहनुभयो, विचार गर्नुहोस्‌ त। शत्रुहरूले उहाँलाई पक्रे, झूटो आरोप लगाए, अपराधी ठहऱ्‍याए, गिल्ला गरे र सास्ती दिए। अन्तमा, खम्बामा झुन्ड्याए। अन्तिम सास लिंदै उहाँले यसो भन्‍नुभयो: “सबै पूरा भयो!” (यूहन्‍ना १९:३०) तर मृत्यु भएको तेस्रो दिनमा यहोवाले उहाँलाई ब्यूँताउनुभयो। (१ पत्रुस ३:१८) त्यसको केही हप्तापछि उहाँ स्वर्ग फर्किनुभयो। त्यहाँ “परमेश्‍वरको दाहिने हाततर्फ बस्नुभयो” र राज्याधिकार पाउन पर्खिनुभयो।—हिब्रू १०:१२, १३.

२२. येशू मृत्युसम्मै वफादार हुनुभएकोले के सम्भव भयो?

२२ येशू मृत्युसम्मै वफादार हुनुभएकोले के सम्भव भयो? येशूले हामीलाई अनन्त जीवन पाउने सुअवसर दिनुभयो। सुरुमा यहोवाको उद्देश्‍य पनि यही थियो। येशूको मृत्युले गर्दा यो कसरी सम्भव भयो, यसबारे अर्को अध्यायमा छलफल गर्नेछौं।

a येशूमा पूरा भएका दानियलको भविष्यवाणीबारे थप जानकारीको लागि पृष्ठ १९७-१९९ हेर्नुहोस्‌।

b यहोवालाई पिता भनिएको छ किनभने उहाँ सृष्टिकर्ता हुनुहुन्छ। (यशैया ६४:८) येशूलाई परमेश्‍वरले सृष्टि गर्नुभएकोले उहाँ परमेश्‍वरको छोरा हुनुहुन्छ। स्वर्गदूत अनि आदमलाई परमेश्‍वरको छोरा भन्‍नुको कारण पनि यही हो।—लूका ३:३८.

c येशू र परमेश्‍वर बराबर हुनुहुन्‍न भन्‍ने कुराको थप प्रमाणको लागि पृष्ठ २०१-२०४ हेर्नुहोस्‌।

बाइबलले के सिकाउँछ?

  • बाइबलको भविष्यवाणी र परमेश्‍वरले दिनुभएको साक्षीले येशू नै मसीह अर्थात्‌ ख्रीष्ट हुनुहुन्छ भनी प्रमाणित गऱ्‍यो। —मत्ती १६:१६.

  • पृथ्वीमा आउनुअघि येशू स्वर्गमा हुनुहुन्थ्यो।—यूहन्‍ना ३:१३.

  • येशू असल शिक्षक हुनुहुन्थ्यो; उहाँ कोमल र वफादार हुनुहुन्थ्यो।—मत्ती ९:३५, ३६.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने