प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • कुनै पनि कुराले तपाईंलाई यहोवाबाट टाढा नलैजाओस्‌
    प्रहरीधरहरा—२०१३ | जनवरी १५
    • कुनै पनि कुराले तपाईंलाई यहोवाबाट टाढा नलैजाओस्‌!

      “तिमीहरूले कसको सेवा गर्ने, आजै तिमीहरूले रोज।”—यहो. २४:१५.

      जवाफ दिनुहोस्‌

      • जागिर र पेसालाई कसरी उचित स्थानमा राख्न सक्नुहुन्छ?

      • मनोरञ्जनको सन्दर्भमा कसरी सही छनौट गर्न सक्नुहुन्छ?

      • परिवारको कुनै सदस्यले यहोवालाई त्याग्दा हुने पीडा कसरी सहन सक्नुहुन्छ?

      १-३. (क) यहोशू हाम्रो लागि किन राम्रो उदाहरण हुन्‌? (ख) निर्णय गर्दा हामीले कुन कुरा सम्झनुपर्छ?

      हाम्रो रोजाइले निकै फरक पार्छ। जीवन कतातिर लैजाने हो, त्यो आफ्नो रोजाइमा निर्भर हुन्छ। यो उदाहरण विचार गर्नुहोस्‌: एक जना मानिस हिंड्‌दै गर्दा दोबाटोमा आइपुग्छ। अब कुन बाटो रोज्ने? उसलाई आफ्नो गन्तव्य राम्ररी थाह छ भने उसले गन्तव्यबाट टाढा लैजाने बाटो होइन, गन्तव्यतिर लैजाने बाटो रोज्नेछ।

      २ यस्तै अवस्था सामना गरेका थुप्रै व्यक्‍तिबारे बाइबलमा बताइएको छ। उदाहरणको लागि, कयिनले रिसको झोंकमा कदम चाल्ने कि आफ्नो रिसलाई वशमा राख्ने भनेर छनौट गर्नुपर्थ्यो। (उत्प. ४:६, ७) यहोशूले साँचो परमेश्‍वरको सेवा गर्ने कि झूटा देवताहरूको पूजा गर्ने भनी रोज्नुपर्थ्यो। (यहो. २४:१५) यहोशूको लक्ष्य यहोवासित नजिक हुनु थियो। त्यसैले तिनले त्यही लक्ष्यमा पुऱ्‍याउने बाटो रोजे। कयिनको लक्ष्य स्पष्ट थिएन। त्यसैले तिनले आफूलाई यहोवाबाट टाढा लैजाने बाटो रोजे।

      ३ कहिलेकाहीं हामीले पनि कुन बाटो रोज्ने भनी निर्णय गर्नुपर्ने हुन्छ। त्यस्तो अवस्थामा आफ्नो लक्ष्य अर्थात्‌ गन्तव्यलाई सम्झनुहोस्‌। त्यो हो, सधैं यहोवाको महिमा गर्ने अनि उहाँबाट टाढा लैजाने जुनसुकै कुराबाट अलग्गै बस्ने। (हिब्रू ३:१२ पढ्‌नुहोस्‌) हामीलाई यहोवाबाट टाढा लैजान सक्ने सातवटा क्षेत्रबारे यो र यसपछिको लेखमा विचार गर्नेछौं।

      जागिर र पेसा

      ४. काम गर्नु किन महत्त्वपूर्ण छ?

      ४ आफू र आफ्नो परिवारको हेरचाह गर्नु प्रत्येक ख्रीष्टियनको दायित्व हो। कसैले आफ्नो परिवारका सदस्यहरूको हेरविचार गर्न चाहँदैन भने ऊ विश्‍वास नगर्ने मानिसभन्दा पनि खराब हुन्छ भनी बाइबल सङ्‌केत गर्छ। (२ थिस्स. ३:१०; १ तिमो. ५:८) काम गर्नु महत्त्वपूर्ण छ। तर होसियार हुनुभएन भने जागिर र पेसाले तपाईंलाई यहोवाबाट टाढा लैजान सक्छ। कसरी?

      ५. जागिर स्वीकार्नुअघि कस्ता कुराहरू विचार गर्नु महत्त्वपूर्ण छ?

      ५ मानौं, तपाईं जागिर खोज्दै हुनुहुन्छ। तपाईंको देशमा जागिर पाउन गाह्रो छ भने जे भेट्यो, त्यही काम गरूँ जस्तो लाग्न सक्छ। तर त्यो जागिर बाइबलका सिद्धान्तहरूसित मेल खाँदैन भने नि? जागिरमा धेरै खटिनुपर्ने भएकोले ख्रीष्टियन गतिविधिमा बाधा पुऱ्‍याउँछ वा परिवारबाट टाढा राख्छ भने नि? जागिरै नहुनु भन्दा त यही बेस भनेर त्यो जागिर स्वीकार्नुहुन्छ कि? नबिर्सनुहोस्‌, गलत निर्णयले तपाईंलाई यहोवाबाट तर्काउन सक्छ। (हिब्रू २:१) जागिर खोजिरहनुभएको होस्‌ वा जागिर परिवर्तन गर्नेबारे सोचिरहनुभएको, तपाईं कसरी बुद्धिमानी निर्णय गर्न सक्नुहुन्छ?

      ६, ७. (क) जागिर खानुपछाडि कस्ता कारण हुन सक्छन्‌? (ख) कस्तो लक्ष्यले तपाईंलाई यहोवासित नजिक लैजानेछ र किन?

      ६ माथि बताइएझैं आफ्नो गन्तव्य नबिर्सनुहोस्‌। आफैलाई सोध्नुहोस्‌: ‘जागिरबाट म के चाहन्छु?’ जागिरलाई यहोवाको सेवा गर्न आफू र आफ्नो परिवार धान्‍ने माध्यम ठान्‍नुहुन्छ भने उहाँले तपाईंलाई मदत गर्नुहुनेछ। (मत्ती ६:३३) जागिर गुम्दा वा अचानक आर्थिक उथलपुथल हुँदा तपाईंलाई कसरी मदत गर्ने, यहोवा जान्‍नुहुन्छ। (यशै. ५९:१) “परमेश्‍वरको भक्‍ति गर्ने मानिसहरूलाई कसरी परीक्षाबाट जोगाउने, . . . सो यहोवा जान्‍नुहुन्छ।”—२ पत्रु. २:९.

      ७ तर तपाईंको लक्ष्य धनी हुनु हो भने नि? धन त कमाउनु होला। तर त्यसो गर्दा ठूलो मोल चुकाउनुपर्छ, सायद त्यो मोल तपाईंको लागि असाध्यै महँगो पर्नेछ। (१ तिमोथी ६:९, १० पढ्‌नुहोस्‌) पैसा र जागिरलाई बढ्‌तै महत्त्व दियौं भने यहोवाबाट टाढा हुनेछौं।

      ८, ९. जागिरबारे आमाबाबुले आफूलाई कस्ता प्रश्‍नहरू सोध्नुपर्छ? व्याख्या गर्नुहोस्‌।

      ८ तपाईंका छोराछोरी छन्‌ भने आफ्नो उदाहरणले तिनीहरूलाई कस्तो प्रभाव पार्छ, विचार गर्नुहोस्‌। तपाईंले कुन कुरालाई सबैभन्दा महत्त्वपूर्ण ठानेको तिनीहरू देख्छन्‌—जागिरलाई कि यहोवासितको मित्रतालाई? ओहदा, मान-सम्मान र धनसम्पत्तिलाई सबैभन्दा महत्त्वपूर्ण ठान्‍नुहुन्छ भने तपाईंका छोराछोरीले पनि गलत बाटो नरोज्लान्‌ र? तपाईंप्रति तिनीहरूको आदर नघट्‌ला र? एउटी ख्रीष्टियन बहिनी भन्छिन्‌: “म सानो छँदादेखि नै बुबा सधैं काममा व्यस्त हुनुहुन्थ्यो। सुरु-सुरुमा त उहाँ हाम्रै लागि मरिमेट्‌नुभएको हो जस्तो लाग्थ्यो। हामीलाई कुनै कुराको कमी नहोस्‌ भन्‍ने चाहनुहुन्थ्यो। तर अहिले भने कुरा अर्कै भएको छ। उहाँ आफ्नो सम्पूर्ण समय काममै बिताउनुहुन्छ। अनि हाम्रो लागि महँगा-महँगा कुराहरू किनिदिनुहुन्छ, जबकि ती हामीलाई आवश्‍यकै छैन। यसले गर्दा हामी यहोवाको सेवा गर्न अरूलाई प्रोत्साहन दिने परिवारको रूपमा होइन तर एकदम धेरै पैसा भएको परिवारको रूपमा चिनिन्छौं। बुबाले यति धेरै पैसा कमाउनुको साटो आफ्नो परिवारलाई यहोवासित नजिक बनाउनुभएको भए खुसी हुनेथिएँ।”

      ९ आमाबाबु हो, जागिरलाई अत्यन्तै महत्त्व दिएर आफूलाई यहोवाबाट टाढा नलैजानुहोस्‌। सबैभन्दा बहुमूल्य धन भनेको यहोवासितको सम्बन्ध हो, पैसा होइन भनेर आफ्नो उदाहरणद्वारा छोराछोरीलाई देखाउनुहोस्‌।—मत्ती ५:३.

      १०. जागिर रोज्नुअघि जवान व्यक्‍तिले कुन कुरा विचार गर्नुपर्छ?

      १० तपाईं जवान हुनुहुन्छ र जागिरबारे सोचिरहनुभएको छ भने कसरी सही बाटो रोज्न सक्नुहुन्छ? हामीले छलफल गरेझैं तपाईंले रोजेको बाटोले तपाईं जीवनबाट के चाहनुहुन्छ भनेर देखाउँछ। आफूले रोजेको जागिर र तालिमले के तपाईंलाई परमेश्‍वरको राज्यसम्बन्धी कामकुरामा भाग लिन अझ सजिलो बनाउनेछ वा यहोवाबाट टाढा लैजानेछ? (२ तिमो. ४:१०) तपाईं कसको जीवनशैली अनुकरण गर्न चाहनुहुन्छ? बैंकमा कति पैसा छ अनि सेयरबजार कस्तो छ, त्यसको आधारमा खुसी वा दुःखी हुने मानिसको? अथवा यहोवामा पूरा भरोसा राख्ने दाऊदको? दाऊदले लेखे: “जवान थिएँ, र म अहिले बूढो भएको छु। तैपनि धर्मात्मा त्यागिएको, र तिनका सन्तानले भिक्षा मागेको मैले देखेको छैनँ।” (भज. ३७:२५) नबिर्सनुहोस्‌, एउटा बाटोले तपाईंलाई यहोवाबाट टाढा लैजानेछ तर अर्को बाटोले तपाईंलाई सर्वोत्तम जीवनतर्फ डोऱ्‍याउनेछ। (हितोपदेश १०:२२; मलाकी ३:१० पढ्‌नुहोस्‌) तपाईं कुन बाटो रोज्नुहुन्छ?a

      मनोरञ्जन

      ११. बाइबलले मनोरञ्जनबारे के बताउँछ? हामीले कुन कुरा बिर्सनु हुँदैन?

      ११ बाइबल मनोरञ्जन विरोधी होइन। अनि मनोरञ्जन गर्नुलाई बाइबलले समयको फजुल खर्च पनि भन्दैन। पावलले तिमोथीलाई लेखे: “शारीरिक तालिमबाट केही फाइदा त हुन्छ।” (१ तिमो. ४:८) बाइबलले “हाँस्ने एउटा समय” छ र “नाच्ने एउटा समय” छ भनी बताउनुका साथै पर्याप्त आराम गर्न पनि सल्लाह दिन्छ। (उप. ३:४; मर्कू. ६:३१) तर होसियार हुनुभएन भने मनोरञ्जनले तपाईंलाई यहोवाबाट टाढा लैजान सक्छ। कसरी? गलत किसिमको मनोरञ्जन रोजेर अनि त्यसमा धेरै समय बिताएर।

      सही किसिमको अनि सही मात्राको मनोरञ्जनले स्फूर्ति दिन्छ

      १२. मनोरञ्जन रोज्दा कस्ता कुराहरूमा विचार पुऱ्‍याउनुपर्छ?

      १२ पहिला, मनोरञ्जनको किसिम विचार गर्नुहोस्‌। आजकाल पाइने प्रायजसो मनोरञ्जनले परमेश्‍वरले घृणा गर्नुहुने कुराहरूको गुनगान गाउँछ, जस्तै हिंसा, प्रेतवाद र अवैध यौनसम्बन्धको। तर राम्रो किसिमको मनोरञ्जन पटक्कै नपाइने चाहिं होइन। त्यसैले कस्तो मनोरञ्जन रोज्ने भनेर एकदमै होस पुऱ्‍याउनुपर्छ। तपाईंले रोजेको मनोरञ्जनले तपाईंमाथि कस्तो असर पार्छ? हिंसा, अचाक्ली प्रतिस्पर्धा वा राष्ट्रियतालाई उक्साउँछ कि? (हितो. ३:३१) धेरै पैसा खर्च हुन्छ कि? अरूलाई ठक्कर पुऱ्‍याउँछ कि? (रोमी १४:२१) आफूले रोजेको मनोरञ्जनले गर्दा कस्ता प्रकारका मानिसहरूसित सङ्‌गत गर्नुपर्ने हुन्छ? (हितो. १३:२०) के यसले तपाईंलाई गलत काम गर्न जुरमुऱ्‍याउँछ?—याकू. १:१४, १५.

      १३, १४. मनोरञ्जनमा कति समय बिताउने भनी निर्णय गर्दा कस्ता कुराहरू विचार गर्नुपर्छ?

      १३ मनोरञ्जनमा कति समय बिताउनुहुन्छ, त्यो पनि विचार गर्नुहोस्‌। आफैलाई सोध्नुहोस्‌, ‘के म प्रचारकार्यमा भाग लिन अनि सभामा जान फुर्सतै नहुने गरी मनोरञ्जनमा धेरै समय बिताउँछु?’ मनोरञ्जनमा धेरै समय बिताउनुभयो भने त्यसले तपाईंलाई खासै स्फूर्ति दिंदैन। भनौं भने, मनोरञ्जनमा थोरै समय खर्च गर्नेहरूले धेरै स्फूर्ति पाइरहेका हुन्छन्‌। किन? किनभने सबैभन्दा महत्त्वपूर्ण कुराहरू गरिसकेपछि मात्र मनोरञ्जन गरेको हुँदा तिनीहरूलाई पछुतो हुँदैन।—फिलिप्पी १:१०, ११ पढ्‌नहोस्‌।

      १४ मनोरञ्जनमा धेरै समय बिताउनु रमाइलो जस्तो देखिएला तर त्यसले तपाईंलाई यहोवाबाट टाढा लैजान सक्छ। किम नाम गरेकी २० वर्षीया बहिनीले यो पाठ सिकिन्‌। उनी भन्छिन्‌, “म कुनै पनि पार्टी छुटाउँदिनथें। हरेक हप्ता—शुक्रबार, शनिबार र आइतबार कतै न कतै पार्टी त भइहाल्थ्यो। तर अहिले भने आफूले गर्नुपर्ने महत्त्वपूर्ण कुराहरू थुप्रै छन्‌ भनेर बुझेकी छु। जस्तै, म अहिले अग्रगामीको रूपमा सेवा गर्छु अनि प्रचारकार्यमा भाग लिन बिहान छ बजे उठ्‌छु। त्यसैले राती एक दुई बजेसम्म पार्टीमै मस्त भइरहें भने बिहान कहाँ उठ्‌न सक्छु र? हुन त, सबै जमघट खराब हुँदैनन्‌ तर त्यसले पक्कै अलमल्याउँछ। अरू कुरालाई जस्तै त्यसलाई पनि ठीक ठाउँमा राख्नुपर्छ।”

      १५. स्फूर्तिदायी मनोरञ्जन रोज्न आमाबाबुले छोराछोरीलाई कसरी मदत गर्न सक्छन्‌?

      १५ आमाबाबुले आफू र आफ्ना छोराछोरीको भौतिक आवश्‍यकता पूरा गर्नुपर्छ अनि यहोवासित सम्बन्ध गाँस्न परिवारलाई मदत दिनुपर्छ। साथै उनीहरूको भावनात्मक आवश्‍यकता पनि पूरा गर्नुपर्छ। यसमा मनोरञ्जनको प्रबन्ध मिलाउनु समावेश छ। सबै किसिमको मनोरञ्जन गलत हुन्‌ भन्‍ने सोचाइ नराख्नुहोस्‌। तर हानिकारक मनोरञ्जनबारे भने होसियार हुनुहोस्‌। (१ कोरि. ५:६) राम्रो सोचविचार गरेर मनोरञ्जन रोज्दा त्यसले पूरै परिवारलाई स्फूर्ति दिन्छ।b यसरी मनोरञ्जन रोज्दा तपाईं र तपाईंका छोराछोरी यहोवासित नजिक हुनेछन्‌।

      पारिवारिक सम्बन्ध

      १६, १७. थुप्रै आमाबाबुले कस्तो पीडा भोगेका छन्‌? यहोवा तिनीहरूको पीडा बुझ्नुहुन्छ भनेर हामी किन भन्‍न सक्छौं?

      १६ आमाबाबु र छोराछोरीबीचको बन्धन अत्यन्तै प्रगाढ हुन्छ। यहोवाले पनि आफ्ना जनलाई एउटी आमाले जस्तै माया गर्नुहुन्छ भनेर बाइबलमा बताइएको छ। (यशै. ४९:१५) त्यसकारण परिवारको कुनै सदस्यले यहोवालाई त्याग्दा गहिरो पीडा महसुस गर्नु स्वाभाविक हो। छोरी बहिष्कृत भएपछि एउटी आमाले यसो भनिन्‌: “मेरो मुटु छियाछिया भयो। उसले यहोवालाई किन त्यागी होला जस्तो लाग्यो। गल्ती मेरै हो भन्दै आफैमाथि दोष थोपरें।”

      १७ यहोवाले तपाईंको पीडा बुझ्नुहुन्छ। उहाँको पहिलो मानव छोराले र जलप्रलयअघिका प्रायजसो मानिसले उहाँको विद्रोह गर्दा “उहाँ मनमा साह्रै दु:खित हुनुभयो।” (उत्प. ६:५, ६) यस्तो अवस्था नभोगेकाहरूलाई त्यो पीडा कत्तिको असह्‍य हुन्छ भनेर कल्पना गर्न गाह्रो होला। तैपनि परिवारको कोही सदस्य बहिष्कार हुँदा तपाईं यहोवाबाट टाढा हुनु ठीक होइन। त्यसोभए परिवारको कुनै सदस्यले यहोवालाई छोड्‌दा महसुस गर्ने गहिरो चोट तपाईं कसरी सहन सक्नुहुन्छ?

      १८. छोराछोरीले यहोवालाई त्याग्दा आमाबाबुले किन आफूलाई दोषी ठान्‍नु पर्दैन?

      १८ जे भयो, त्यसको लागि आफूलाई दोषी नठान्‍नुहोस्‌। यहोवाले प्रत्येक मानिससामु छनौट राखिदिनुभएको छ। समर्पण र बप्तिस्मा गरेका प्रत्येक सदस्यले “आफ्नो भारी आफै” बोक्नुपर्छ अनि यहोवाको सेवा गर्ने कि नगर्ने भनेर निर्णय गर्नुपर्छ। (गला. ६:५) पाप गर्ने व्यक्‍ति नै आफ्नो निर्णयको लागि जिम्मेवार हुन्छ, तपाईं होइन। (इज. १८:२०) साथै, अरूमाथि दोष नथोपर्नुहोस्‌। अनुशासन दिने यहोवाको प्रबन्धलाई आदर गर्नुहोस्‌। मण्डलीको सुरक्षा गर्ने गोठालोहरूविरुद्ध होइन, दियाबलविरुद्ध खडा हुनुहोस्‌।—१ पत्रु. ५:८, ९.

      आफूले माया गरेको व्यक्‍ति फर्कनेछ भनी आशा गर्नु गलत होइन

      १९, २०. (क) छोराछोरी बहिष्कार हुँदाको पीडा आमाबाबुले कसरी सहन सक्छन्‌? (ख) ती आमाबाबुले कस्तो आशा गर्छन्‌?

      १९ तर यहोवासित रिसाउनुभयो भने तपाईं उहाँबाट टाढा हुनुहुनेछ। वास्तवमा भन्‍ने हो भने, तपाईं परिवारलाई भन्दा यहोवालाई अझ धेरै माया गर्न कटिबद्ध हुनुहुन्छ भनेर तपाईंको परिवारको त्यस सदस्यले प्रस्ट देख्नुपर्छ। त्यसकारण यस्तो अवस्था सामना गर्दा यहोवासितको सम्बन्ध बलियो बनाइराख्नुहोस्‌। विश्‍वासी ख्रीष्टियन भाइबहिनीहरूबाट आफूलाई अलग नबनाउनुहोस्‌। (हितो. १८:१) प्रार्थनामा यहोवालाई आफ्ना भावनाहरू पोख्नुहोस्‌। (भज. ६२:७, ८) बहिष्कार भएको सदस्यसित ईमेल वा फोनद्वारा सम्पर्क कायम राख्ने बहाना नखोज्नुहोस्‌। (१ कोरि. ५:११) परमेश्‍वरको सेवामा व्यस्त रहनुहोस्‌। (१ कोरि. १५:५८) माथि उल्लिखित आमा भन्छिन्‌: “यहोवाको सेवामा व्यस्त भएर उहाँसित बलियो सम्बन्ध कायम राख्नुपर्छ भनेर मलाई थाह छ। यसो गरेको खण्डमा मात्र मेरी छोरी यहोवाकहाँ फर्कंदा म उसलाई मदत गर्न सक्ने अवस्थामा हुनेछु।”

      २० प्रेमले “सबै कुराको आशा गर्छ” भनी बाइबल बताउँछ। (१ कोरि. १३:४, ७) आफूले माया गरेको व्यक्‍ति फर्कनेछ भनी आशा गर्नु गलत होइन। वर्षेनी, बहिष्कार भएका थुप्रै व्यक्‍तिले पश्‍चात्ताप गर्छन्‌ र तिनीहरू यहोवाको सङ्‌गठनमा फर्कन्छन्‌। तिनीहरूले पश्‍चात्ताप गरिसकेपछि यहोवा तिनीहरूसित रिसाइरहनुहुन्‍न। बरु ‘क्षमा गर्न’ तयार हुनुहुन्छ।—भज. ८६:५.

      बुद्धिमानी छनौट गर्नुहोस्‌

      २१, २२. तपाईं कस्तो छनौट गर्न चाहनुहुन्छ?

      २१ यहोवाले मानिसहरूलाई छनौट गर्ने स्वतन्त्रता दिनुभएको छ। (व्यवस्था ३०:१९, २० पढ्‌नुहोस्‌) तर त्यो स्वतन्त्रतासँगसँगै जिम्मेवारी पनि आउँछ। हरेक ख्रीष्टियनले आफूलाई यस्ता प्रश्‍नहरू सोध्नुपर्छ: ‘म कुन बाटोमा हिंड्‌दै छु? के म जागिर, मनोरञ्जन वा पारिवारिक सम्बन्धको कारण यहोवाबाट टाढा भएको छु?’

      २२ यहोवा आफ्ना जनलाई सधैं माया गर्नुहुन्छ। आफैले गलत बाटो रोज्यौं भने मात्र हामी यहोवाबाट टाढा हुन्छौं। (रोमी ८:३८, ३९) तर त्यसो हुन नदिनुहोस्‌! कुनै पनि कुराले आफूलाई यहोवाबाट टाढा लैजान नदिनुहोस्‌। यसो हुन सक्ने थप चारवटा क्षेत्रबारे अर्को लेखमा छलफल गर्नेछौं।

      a जागिर अथवा पेसासम्बन्धी थप जानकारीको लागि युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ, खण्ड १ पुस्तकको अध्याय २२ हेर्नुहोस्‌।

      b थप सुझावको लागि अक्टोबर १५, २०११ को प्रहरीधरहरा, पृष्ठ ८-१२ हेर्नुहोस्‌।

  • यहोवासित सधैं नजिक हुनुहोस्‌
    प्रहरीधरहरा—२०१३ | जनवरी १५
    • यहोवासित सधैं नजिक हुनुहोस्‌

      “परमेश्‍वरसित नजिक होओ र उहाँ तिमीहरूसित नजिक हुनुहुनेछ।”—याकू. ४:८.

      के तपाईं बुझाउन सक्नुहुन्छ?

      • प्रविधि र स्वास्थ्यप्रति हामी कसरी उचित दृष्टिकोण राख्न सक्छौं?

      • पैसा र घमन्डप्रति हामी कसरी उचित दृष्टिकोण राख्न सक्छौं?

      • यहोवासित हामी कसरी नजिक हुन सक्छौं?

      १, २. (क) सैतानका “युक्‍तिहरू” के-के हुन्‌? (ख) परमेश्‍वरसित नजिक हुन के गर्नुपर्छ?

      यहोवा परमेश्‍वरले मानिसहरूलाई उहाँसित नजिक हुनुपर्ने आवश्‍यकतासहित सृष्टि गर्नुभयो। तर सैतानले भने यहोवा परमेश्‍वरको आवश्‍यकता छैन भन्‍ने सोचाइ राख्न लगाउँछ। अदनको बगैंचामा हव्वालाई बहकाएदेखि नै सैतानले त्यो झूट फैलाइरहेको छ। (उत्प. ३:४-६) त्यस समयदेखि अधिकांश मानिसले त्यही गलत सोचाइ राखेका छन्‌।

      २ तर हामी सैतानको पासोमा फस्नु पर्दैन। “त्यसका युक्‍तिहरूबारे हामी अनजान छैनौं।” (२ कोरि. २:११) गलत छनौट गर्न उक्साएर सैतानले हामीलाई यहोवाबाट टाढा लैजान खोज्छ। तर यसअघिको लेखमा बताइएझैं जागिर, मनोरञ्जन र पारिवारिक सम्बन्धबारे हामी सही छनौट गर्न सक्छौं। प्रविधि, स्वास्थ्य, पैसा र घमन्डलाई उचित स्थानमा राखेर कसरी “परमेश्‍वरसित नजिक” हुन सक्छौं, त्यसबारे यस लेखमा छलफल गर्नेछौं।—याकू. ४:८.

      प्रविधि

      ३. प्रविधिको सही वा गलत प्रयोग कसरी हुन सक्छ, उदाहरणसहित बताउनुहोस्‌।

      ३ अहिले थुप्रै मानिस कम्प्युटर तथा इलेक्ट्रोनिक सरसामान प्रयोग गर्छन्‌। त्यसको सही प्रयोग गर्नु उपयोगी भए तापनि गलत प्रयोगले हामीलाई यहोवाबाट टाढा लैजान सक्छ। जस्तै, कम्प्युटरलाई विचार गर्नुहोस्‌। अहिले पढिरहनुभएको पत्रिका लेख्न अनि छाप्न कम्प्युटर नै प्रयोग गरियो। अनुसन्धान गर्न र सञ्चार कायम राख्न कम्प्युटर प्रभावकारी साधन हो। अनि यो प्रयोग गर्दा रमाइलो पनि हुन्छ। तर त्यसैमा लग्गू हुने सम्भावना पनि छ। उत्पादकहरूले मानिसहरूलाई बजारमा आएका नयाँ-नयाँ इलेक्ट्रोनिक सामान किन्‍नै पर्ने भान पार्छन्‌। एउटा खास किसिमको कम्प्युटर किन्‍न एक जना केटो यतिबिघ्न एकोहोरो भए, तिनले आफ्नो एउटा मिर्गौला सुटुक्क बेचे। कस्तो मूर्खता!

      ४. एक जना भाइले कम्प्युटरको अत्यधिक प्रयोग गर्ने बानी कसरी हटाए?

      ४ इलेक्ट्रोनिक साधनको दुरुपयोग वा अत्यधिक प्रयोग गरेर यहोवासितको घनिष्ठ सम्बन्ध बिगार्नु झन्‌ दुःखदायी हुन्छ! लगभग ३० वर्ष पुग्न लागेका रितेशa यसो भन्छन्‌: “ईश्‍वरतान्त्रिक गतिविधिमा भाग लिन ‘समयको पूर्ण सदुपयोग गर्नू’ भन्‍ने बाइबलको सल्लाह मलाई थाह छ। तर कम्प्युटरको कुरा गर्दा मेरो सबैभन्दा ठूलो शत्रु म आफै हुँ।” रितेश अक्सर राती अबेरसम्म इन्टरनेट चलाउँथे। तिनी भन्छन्‌: “एकदमै थाकेको बेला झन्‌ धेरै च्याट गर्थें वा भिडियोहरू हेर्थें। कुनै-कुनै भिडियो त खतम हुन्थ्यो।” यो नराम्रो बानी छोड्‌न रितेशले राती सुत्ने बेला भएपछि कम्प्युटर आफै बन्द हुने प्रोग्राम राखे।—एफिसी ५:१५, १६ पढ्‌नुहोस्‌।

      आमाबाबु हो, बुद्धिमानीपूर्वक प्रविधिको प्रयोग गर्न आफ्ना छोराछोरीलाई मदत दिनुहोस्‌

      ५, ६. (क) आमाबाबुको जिम्मा के हो? (ख) आमाबाबुले छोराछोरीलाई असल सङ्‌गत गर्न कसरी मदत गर्न सक्छन्‌?

      ५ आमाबाबु हो, आफ्ना छोराछोरीको एक-एक कुरा चियोचर्चो गर्नु पर्दैन तर तिनीहरूले कम्प्युटरमा के-के गर्दै छन्‌, त्यसको निगरानीचाहिं गर्नुपर्छ। तिनीहरूलाई अनैतिकता वा प्रेतवाद मुछिएको वेबसाइट हेर्न, हिंस्रक गेम खेल्न वा खराब मानिसहरूसित सङ्‌गत गर्न नदिनुहोस्‌। तिनीहरूलाई भुलाउनकै लागि मात्र यसरी छोडिदिनुभयो भने तिनीहरू यस्तो निष्कर्षमा पुग्न सक्छन्‌: ‘ड्याडी ममीलाई मतलब छैन भने ठीकै हुनुपर्छ।’ आमाबाबुको नाताले साना छोराछोरीलाई मात्र होइन, किशोरावस्थामा पुगिसकेकाहरूलाई समेत यहोवाबाट टाढा लैजाने हरेक कुराबाट जोगाउनु तपाईंको जिम्मा हो। जनावरले समेत आफ्नो बच्चाको सुरक्षा गर्छ। आफ्ना छाउराहरू खतरामा पर्दा माऊ भालुले के गर्छ, कल्पना गर्नुहोस्‌ त!—होशे १३:८ तुलना गर्नुहोस्‌।

      ६ आफ्ना छोराछोरीलाई जवान, वृद्ध सबै उमेरका उदाहरणीय ख्रीष्टियन भाइबहिनीसित सरसङ्‌गत गर्न मदत गर्नुहोस्‌। अनि नबिर्सनुहोस्‌, तपाईंका छोराछोरीलाई तपाईंको समय चाहिन्छ! त्यसैले तिनीहरूसित हाँस्न, खेल्न, काम गर्न समय निकाल्नुहोस्‌ र परिवारको रूपमा “परमेश्‍वरसित नजिक” हुनुहोस्‌।b

      स्वास्थ्य

      ७. हामी किन स्वस्थ रहन चाहन्छौं?

      ७ हामी अक्सर अरूलाई यो प्रश्‍न सोध्छौं: ‘कस्तो हुनुहुन्छ?’ तर सधैं नै ‘सन्चै छु’ भन्‍ने जवाफ आउँदैन। सैतानको कुरा सुनेर आदम र हव्वा यहोवाबाट टाढा भएदेखि हामी सबै जना बिरामी हुन्छौं। हामी बिरामी हुँदा सैतान खुसी हुन्छ किनभने त्यसबेला यहोवाको सेवा गर्न गाह्रो हुन्छ। अनि मऱ्‍यौं भने त उहाँको सेवा गर्न सक्ने कुरै भएन। (भज. ११५:१७) त्यसैले स्वस्थ रहन हामी सक्दो प्रयास गर्न चाहन्छौं।c अनि भाइबहिनीको स्वास्थ्यबारे पनि हामीले चासो राख्नुपर्छ।

      ८, ९. (क) स्वास्थ्यको अचाक्ली चिन्ता नगरेको हामी कसरी देखाउन सक्छौं? (ख) प्रसन्‍न रहँदा कस्तो फाइदा हुन्छ?

      ८ तर स्वास्थ्यको अचाक्ली चिन्ता गर्नदेखि होसियार हुनुपर्छ। कसै-कसैले कुनै खास आहार, उपचार वा स्वास्थ्य तथा सौन्दर्य सामग्रीबारे निकै उत्साहित भएर कुरा गर्छन्‌। बरु परमेश्‍वरको राज्यबारे प्रचार गर्दा तिनीहरूमा त्यत्तिको उत्साह देखिंदैन। आफूले अरूलाई मदत गरिरहेको जस्तो तिनीहरूलाई लाग्न सक्छ। तैपनि राज्यभवन, सम्मेलन वा अधिवेशनमा हुने कार्यक्रमको अघि वा पछि स्वास्थ्य तथा सौन्दर्य सामग्री बेच्नु वा त्यसको विज्ञापन गर्नु उचित होइन। किन?

      ९ बाइबलका कुराहरू छलफल गर्न अनि परमेश्‍वरको पवित्र शक्‍तिबाट पाइने आनन्द प्राप्त गर्न हामी एकसाथ भेला हुन्छौं। (गला. ५:२२) स्वास्थ्य तथा सौन्दर्य सामग्री वा उपचारको विषयमा कुरा गर्ने ठाउँ सभा, सम्मेलनहरू होइनन्‌; यी विषयमा आफूले कुराकानी थाल्न वा अरूको कुरा सुन्‍नदेखि होसियार हुनुपर्छ। होसियार भएनौं भने हामीले अरूको आनन्द खोसिरहेका हुन्छौं। (रोमी १४:१७) आफ्नो स्वास्थ्यबारे के गर्ने र के नगर्ने भन्‍ने निर्णय नितान्त व्यक्‍तिगत कुरा हो। साथै, सबै स्वास्थ्य समस्यालाई कसैले पनि पूरै निको पार्न सक्दैन। नाम चलेका डाक्टरहरू पनि बूढाबूढी हुन्छन्‌, बिरामी पर्छन्‌ र मर्छन्‌। अनि स्वास्थ्यबारे अचाक्ली चिन्ता गर्दैमा आयु लम्बिंदैन। (लूका १२:२५) बरु “प्रसन्‍न हृदय असल औषधी हो।”—हितो. १७:२२, NRV.

      १०. (क) यहोवाको नजरमा कस्तो मानिस सुन्दर हुन्छ? (ख) हामी कहिले पूर्णतया स्वस्थ हुनेछौं?

      १० त्यसरी नै, आफ्नो रूपरङमा चासो राख्नु उचित हो। तर बुढेसकालका सबै चिन्ह हटाउन अचाक्ली चिन्ता गर्नु पर्दैन। ती चिन्ह बुद्धि, शालीनता र भित्री सौन्दर्यको प्रमाण हुन्‌। उदाहरणको लागि, बाइबल यसो भन्छ: “फुलेको केश शोभाको मुकुट हो, धर्मी जीवनबाट त्यो प्राप्त हुन्छ।” (हितो. १६:३१) यहोवा हामीलाई यस्तै दृष्टिकोणले हेर्नुहुन्छ अनि हामीले पनि आफूप्रति त्यस्तै दृष्टिकोण राख्ने कोसिस गर्नुपर्छ। (१ पत्रुस ३:३, ४ पढ्‌नुहोस्‌) त्यसैले राम्रो देखिनकै लागि चिकित्सा दृष्टिकोणबाट खतरनाक वा अनावश्‍यक उपचार तथा शल्यक्रिया गरेर स्वास्थ्यको खतरा मोल्नु बुद्धिमानी होइन। उमेर वा स्वास्थ्य जस्तोसुकै होस्‌, “परमप्रभुको आनन्द” नै साँचो सौन्दर्यको स्रोत हो। (नहे. ८:१०) नयाँ संसारमा मात्र हामी पूर्णतया स्वस्थ र मस्त जवानीमा जस्तै हुनेछौं। (अय्यू. ३३:२५; यशै. ३३:२४) त्यतिन्जेल हामीले बुद्धिमानी छनौट गर्नुपर्छ अनि यहोवाका प्रतिज्ञाहरूमा भरोसा राख्नुपर्छ। यसो गऱ्‍यौं भने जीवन आनन्दमय हुनेछ अनि स्वास्थ्य मुख्य चिन्ताको विषय हुनेछैन।—१ तिमो. ४:८.

      पैसा

      ११. पैसाले कसरी हामीलाई यहोवाबाट टाढा लैजान सक्छ?

      ११ पैसा हुनु वा पैसा कमाउनु खराब कुरा होइन। (उप. ७:१२; लूका १९:१२, १३) तर “पैसाको प्रेम”-ले हामीलाई यहोवाबाट पक्कै टाढा लैजानेछ। (१ तिमो. ६:९, १०) “यस संसारको फिक्री” भनेको जीवनका आवश्‍यकताहरूबारे अचाक्ली चिन्ता गर्नु हो। यसले यहोवासितको सम्बन्धमा बाधा पुऱ्‍याउन सक्छ। अनि “धनसम्पत्तिको भ्रामक शक्‍तिले” हामीलाई पैसाले नै चिरकालीन सुख दिन्छ भनेर झुक्याउन सक्छ। (मत्ती १३:२२) “कोही पनि” परमेश्‍वर र धनसम्पत्ति दुवैको दास बन्‍न सक्दैन भनेर येशूले स्पष्टसित बताउनुभयो।—मत्ती ६:२४.

      १२. रातारात पैसा कमाउन आजकल मानिसहरू कस्ता तरिका अपनाउँछन्‌? त्यस्तो पासोमा फस्नदेखि हामी कसरी जोगिन सक्छौं?

      १२ पैसाप्रतिको गलत दृष्टिकोणले हामीलाई गलत कार्यतर्फ धकेल्न सक्छ। (हितो. २८:२०) रातारात पैसा कमाउने लोभले गर्दा कोही-कोही चिट्ठा किन्‍न वा पिरामिड व्यापारमा लगानी गर्नतिर लागेका छन्‌। तिनीहरू मण्डलीका भाइबहिनीलाई समेत यस्तो व्यापारमा सामेल हुन उक्साउँछन्‌। अरू कतिपय भने लगानी गरेभन्दा एकदम धेरै मुनाफा कमाउने लोभमा फसेका छन्‌। लोभको पासोमा नपर्न होसियार हुनुहोस्‌। बुद्धि चलाउनुहोस्‌। कुनै प्रस्ताव शङ्‌कास्पद देखिन्छ भने त्यो ठगी हुन सक्छ।

      १३. पैसाप्रति संसारको दृष्टिकोणभन्दा यहोवाको दृष्टिकोण कसरी भिन्‍न छ?

      १३ यहोवाको “राज्यलाई र उहाँको स्तरबमोजिमको असल कामलाई पहिलो स्थान” दियौं भने हामीले गरेको मेहनतमा उहाँले आशिष्‌ दिनुहुन्छ। (मत्ती ६:३३; एफि. ४:२८) काममा धेरै खटिएकोले सभामा झुलिरहेको वा राज्यभवनमा बस्दा पैसाको चिन्ता गरिरहेको उहाँ चाहनुहुन्‍न। हामी वरपरका थुप्रै मानिस भने यस्तो सोचाइ राख्छन्‌: पैसा कमायो भने मात्र भविष्य सुरक्षित हुन्छ र पछि जीवन सजिलो हुन्छ। तिनीहरू आफ्ना छोराछोरीलाई पनि अक्सर धेरै पैसा कमाउन सल्लाह दिन्छन्‌। यस्तो सोचाइ राख्नु मूर्खता हो भनेर येशूले बताउनुभयो। (लूका १२:१५-२१ पढ्‌नुहोस्‌) यहोवासितको सम्बन्धलाई लोभले बिगार्दैन भन्ठान्‍ने गेहजीलाई के भयो, सम्झनुहोस्‌ त!—२ राजा ५:२०-२७.

      १४, १५. सुरक्षाको लागि पैसामा भरोसा राख्नु किन बुद्धिमानी होइन? एउटा उदाहरण बताउनुहोस्‌।

      १४ असाध्यै गह्रौं माछा समातेर उड्‌न खोज्दा चीलहरू कहिलेकाहीं पानीमा डुब्छन्‌। के ख्रीष्टियनहरूलाई पनि यस्तो हुन सक्छ? आर्यन नाम गरेका एल्डर यसो भन्छन्‌: “सामान्यतया म पैसाको एकदमै फारो गर्छु। अलिकता बढी स्याम्पु आयो भने पनि बोतलमा खन्याइहाल्छु।” तर पैसा कमाउने अनि त्यसपछि जागिर छोडेर अग्रगामी सेवा गर्ने सोचाइ राखेर तिनले सेयरबजारमा हात हाले। तिनले सेयर किनबेच गर्ने विषयमा धेरै अध्ययन गर्न थाले। आफूले जोगाएको पैसाले अझ अरू सेयर किने। तर तिनले किनेका सेयरको मूल्य स्वात्तै घट्यो। आर्यन भन्छन्‌: “म जसरी भए पनि आफ्नो पैसा डुब्न नदिने सुरमा थिएँ। अलि समय पर्खेमा सेयरबजार उकालो लाग्ला भन्‍ने आस थियो।”

      १५ महिनौंसम्म आर्यनको दिमागमा यही कुरा मात्र खेलिरह्‍यो। तिनले यहोवाको सेवामा ध्यान दिन सकेनन्‌ र राती निदाउन पनि सकेनन्‌। तर सेयरबजार कहिल्यै उकालो लागेन। आर्यनले आफ्नो सबै बचत गुमाए अनि घरसमेत बेच्नुपऱ्‍यो। तिनी भन्छन्‌: “मेरो कारण परिवारले ठूलो चोट सहनुपऱ्‍यो।” तर तिनले महत्त्वपूर्ण पाठ सिके। “सैतानको संसारमा भरोसा राख्नेले निराशाबाहेक केही पाउँदैन भनेर थाह पाएँ।” (हितो. ११:२८) आफ्नो बचत, लगानी वा पैसा कमाउने क्षमतामा भरोसा राख्नेहरूले “यस युगको ईश्‍वर” सैतानमाथि भरोसा राखिरहेका हुन्छन्‌। (२ कोरि. ४:४; १ तिमो. ६:१७) त्यो तीतो अनुभव गरेदेखि यता आर्यनले “सुसमाचारको खातिर” आफ्नो जीवन सरल बनाएका छन्‌। यसो गर्दा तिनी र तिनको परिवार आनन्दित हुनुका साथै यहोवासित घनिष्ठ हुन सकेका छन्‌।—मर्कूस १०:२९, ३० पढ्‌नुहोस्‌।

      घमन्ड

      १६. कस्तो कुरामा घमन्ड गर्नु राम्रो हो? आफूलाई बढ्‌तै महत्त्व दियौं भने के हुन सक्छ?

      १६ राम्रो कुरामा घमन्ड गर्नु उचित हो। जस्तै: आफू यहोवाको साक्षी भएकोमा हामीले घमन्ड गर्नुपर्छ। (यर्मि. ९:२४) यस्तो आत्म-सम्मान हुँदा सही निर्णय गर्न सक्छौं अनि आफ्नो नैतिक स्तरलाई जोगाउन सक्छौं। तर आफ्नो धारणा वा ओहदालाई बढ्‌तै महत्त्व दियौं भने यहोवाबाट टाढा हुनेछौं।—भज. १३८:६; रोमी १२:३.

      मण्डलीमा जिम्मेवारी पाउनेबारे मात्र सोचिरहनुको सट्टा प्रचारकार्यमा रमाउनुहोस्‌!

      १७, १८. (क) नम्र र घमन्डी व्यक्‍तिबारे बाइबलमा दिइएको उदाहरण बताउनुहोस्‌। (ख) घमन्डको कारण आफूलाई यहोवाबाट टाढा लैजान नदिन एक जना भाइले के गरे?

      १७ बाइबलमा घमन्डी र नम्र व्यक्‍तिहरूको उदाहरण पाइन्छ। राजा दाऊदले नम्र भई यहोवाको डोऱ्‍याइ खोजे र उहाँले तिनलाई आशिष्‌ दिनुभयो। (भज. १३१:१-३) तर घमन्डी राजाहरू नबूकदनेसर र बेलसजरलाई यहोवाले सजाय दिनुभयो। (दानि. ४:३०-३७; ५:२२-३०) हाम्रो नम्रताको पनि परीक्षा हुन सक्छ। रोहन नाम गरेका सहायक सेवक नयाँ मण्डलीमा सरे। तिनी भन्छन्‌: “एल्डरको रूपमा छिट्टै नियुक्‍त हुन्छु जस्तो लागेको थियो तर एक वर्ष बित्दा पनि केही भएन।” एल्डरहरूले सिफारिस नगरेकोमा के तिनी रिसाए वा तिनीहरूसित दुस्मनी राखे? के तिनी सभा जान छोडे अनि आफूलाई यहोवा र उहाँका जनबाट टाढा राखे? तपाईं त्यो परिस्थितिमा भएको भए के गर्नुहुनेथियो?

      १८ त्यतिबेलाको घटना सम्झँदै रोहन भन्छन्‌: “आशा साकार नहुँदा कस्तो हुन्छ भन्‍ने विषयमा हाम्रा प्रकाशनहरूमा भेटेजति सबै लेख पढें।” (हितो. १३:१२) “धैर्य गर्न र नम्र हुन सिकें। मलाई यहोवाको प्रशिक्षण चाहिएको थियो।” त्यसपछि रोहनले अरूको सेवा गर्ने कुरामा ध्यान दिन थाले। मण्डलीका भाइबहिनीलाई र प्रचारकार्यमा भेटिने मानिसहरूलाई मदत गर्नेबारे सोच्न थाले। धेरै समय नबित्दै तिनले थुप्रै प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्न थाले। तिनी भन्छन्‌: “प्रचारकार्यमा रमाइरहेकोले एल्डर हुनेबारे चिन्ता गर्न छोडेको थिएँ। त्यसैले डेढ वर्षपछि एल्डर नियुक्‍त हुँदा त छक्क परें।”—भजन ३७:३, ४ पढ्‌नुहोस्‌।

      यहोवासित नजिक हुनुहोस्‌!

      १९, २०. (क) यो र यसअघिको लेखमा छलफल गरिएका कुराहरूले यहोवाबाट टाढा लैजान नदिन हामीले के गर्नुपर्छ? (ख) यहोवासित नजिक भएका कस्ता व्यक्‍तिहरूको उदाहरण हामी अनुकरण गर्न सक्छौं?

      १९ यो र यसअघिको लेखमा छलफल गरिएका सातवटा क्षेत्रको हाम्रो जीवनमा उचित स्थान छ। यहोवाका सेवक हुन पाएकोमा हामी घमन्ड गर्छौं। सुखी परिवार र स्वस्थ जीवन यहोवाले दिनुभएको उत्तम वरदानमध्ये हुन्‌। आफू र आफ्नो परिवारको हेरचाह गर्न जागिर र पैसा चाहिन्छ। मनोरञ्जनले हामीलाई स्फूर्ति दिन्छ अनि प्रविधि पनि हाम्रो लागि उपयोगी छ। तर गलत समयमा, गलत मात्रामा अनि परमेश्‍वरको सेवामा बाधा पुऱ्‍याउने गरी यीमध्ये कुनै कुराको पछि लाग्यौं भने त्यसले हामीलाई यहोवाबाट टाढा लैजान सक्छ।

      कुनै पनि कुराले तपाईंलाई यहोवाबाट टाढा नलैजाओस्‌!

      २० सैतान त्यस्तै चाहन्छ। तर तपाईं आफू र आफ्नो परिवारलाई जोगाउन सक्नुहुन्छ! (हितो. २२:३) यहोवासित नजिक हुनुहोस्‌ र उहाँबाट टाढा नजानुहोस्‌। यस सन्दर्भमा बाइबलका थुप्रै उदाहरणबाट हामी पाठ सिक्न सक्छौं। हनोक र नूह “परमेश्‍वरको साथसाथ हिंड्‌दै रहे।” (उत्प. ५:२२; ६:९) मोशा “अदृश्‍य परमेश्‍वरलाई देखेझैं गरी . . . अटल रहिरहे।” (हिब्रू ११:२७) येशू सधैं स्वर्गमा बस्नुहुने बुबालाई मन पर्ने कुराहरू गर्नुहुन्थ्यो। त्यसैले उहाँले निरन्तर परमेश्‍वरको साथ पाउनुभयो। (यूह. ८:२९) त्यस्ता उदाहरणहरू अनुकरण गर्नुहोस्‌। ‘सधैं रमाउनुहोस्‌। निरन्तर प्रार्थना गर्नुहोस्‌। सबै कुराको निम्ति धन्यवाद चढाउनुहोस्‌।’ (१ थिस्स. ५:१६-१८) अनि कुनै पनि कुराले तपाईंलाई यहोवाबाट टाढा नलैजाओस्‌!

      a नाम परिवर्तन गरिएका छन्‌।

      b पारिवारिक आनन्दको रहस्य पुस्तकको अध्याय ५र ६ हेर्नुहोस्‌।

      c सेप्टेम्बर ८, १९९९ को ब्यूँझनुहोस्‌!, पृष्ठ ५-११ हेर्नुहोस्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने