-
“यी हुनु आवश्यकनै छन्”प्रहरीधरहरा—१९९९ | मे १
-
-
“यी हुनु आवश्यकनै छन्”
“येशूले तिनीहरूलाई भन्नुभयो, . . . यी हुनु आवश्यकनै छन्, तर अन्त ता त्यत्तिनैखेरि हुँदैन।”—मत्ती २४:४-६.
१. कुन विषयप्रति हाम्रो चासो जाग्नु पर्ने हो?
निस्सन्देह, तपाईं आफ्नो जीवन र भविष्यप्रति चासो राख्नुहुन्छ। त्यसोभए, तपाईंले सन् १८७७ मा सि. टि. रसलको ध्यानाकर्षण गरेको विषयमा पनि चासो राख्नुपर्ने हो। पछि रसलले वाच टावर सोसाइटी स्थापना गरे अनि प्रभुको आगमनको उद्देश्य तथा तरिका (अंग्रेजी) भन्ने पुस्तिका लेखे। यो ६४ पृष्ठे पुस्तिकामा येशूको आगमन अथवा भावी उपस्थितिबारे बताइएको थियो। (यूहन्ना १४:३) जैतून डाँडामा हुँदा प्रेरितहरूले उहाँको आगमनबारे एक चोटि यस्तो प्रश्न गरेका थिए: “हामीलाई भन्नुहोस्, यो कुरा कहिले हुनेछन्, र तपाईंको आगमन र जगत्को अन्तको चिह्न के हुन्छ?”—मत्ती २४:३.
२. येशूको भविष्यवाणीबारे किन थुप्रै विरोधाभासपूर्ण दृष्टिकोण राखिन्छ?
२ के तपाईंलाई येशूको जवाफ थाह छ अनि के त्यसको अर्थ बुझ्नुभएको छ? उहाँको जवाफ सुसमाचारका तीन पुस्तकहरूमा पाइन्छ। प्राध्यापक डि. ए. कार्सन यसो भन्छन्: “मत्ती २४ र यसको समानान्तर विवरण मर्कूस १३ अनि लूका २१ भन्दा बाइबलका अन्य केही अध्यायहरूले अनुवादकहरूबीच बढी मतभेद उत्पन्न गरेका छन्।” त्यसपछि तिनी आफ्नो विचार बताउँछन्। तर त्यो पनि एउटा अर्को विरोधाभासपूर्ण विचारधारा मात्र थियो। गत शताब्दी वा त्यसअघि त्यस्ता थुप्रै विचारधाराहरूले विश्वासको कमी देखायो। त्यस्ता विचारधारा राख्ने व्यक्तिहरूअनुसार सुसमाचारका पुस्तकहरूमा हामी जे पढ्छौं, त्यो येशूले भन्नुभएकै थिएन। अनि उहाँका वचनहरू समयको दौडान बंग्याइयो अथवा उहाँको पूर्वानुमान विफल भयो। यो तिनीहरूको बाइबल सम्बन्धी आलोचनात्मक विचारधारा हो। एक टिप्पणीकारले त मर्कूसको सुसमाचार ‘महायाना-बौद्ध दर्शन सरह हो’ समेत भनेका छन्!
३. येशूको भविष्यवाणीप्रति यहोवाका साक्षीहरू कस्तो दृष्टिकोण राख्छन्?
३ यसको विपरीत, यहोवाका साक्षीहरू येशूले आफ्नो मृत्यु हुनुभन्दा तीन दिनअघि जैतून डाँडामा चार प्रेरितहरूलाई भन्नुभएको कुरालगायत सबै बाइबल सत्यता र विश्वसनीयता स्वीकार्छन्। येशूले जैतून डाँडामा भन्नुभएको भविष्यवाणी परमेश्वरका जनहरूले सि. टि. रसलको समयदेखि झन् स्पष्टसित बुझ्दै आएका छन्। तिनीहरूले यस भविष्यवाणीप्रति राख्ने दृष्टिकोणबारे गत केही वर्षहरूमा प्रहरीधरहरा-ले अझ थप स्पष्टिकरण दिएको थियो। के तपाईंले आफ्नो जीवनमा ती जानकारीहरूको प्रभाव देखेर त्यसलाई स्वीकार्नुभयो?a आउनुहोस्, ती जानकारीहरू पुनरावलोकन गरौं।
भविष्यवाणीको दुःखद् पूर्ति हुनैलागेको थियो
४. प्रेरितहरूले येशूलाई भविष्यबारे किन प्रश्न गरे होलान्?
४ येशू मसीह हुनुहुन्छ भनेर प्रेरितहरूलाई थाह थियो। तसर्थ, उहाँले आफ्नो मृत्यु, पुनरुत्थान र आगमनबारे बताउनुहुँदा तिनीहरूको मनमा यस्तो प्रश्न आएको हुनुपर्छ, ‘उहाँको मृत्युपछि मसीहले गर्नुपर्ने अद्भुत कार्यहरू उहाँले कसरी पूरा गर्नुहुन्छ?’ यसबाहेक, येशूले यरूशलेम र यसको मन्दिरको विनाशबारे बताउनुभयो। प्रेरितहरूको मनमा ‘त्यो कहिले र कसरी हुन्छ’ भन्ने प्रश्न उठेको हुनुपर्छ। ती कुराहरू बुझ्न प्रेरितहरूले यस्तो प्रश्न गरे: “यी कुरा कहिले हुनेछन्? र यी सबै कुरा हुनलाग्दा के चिह्न हुनेछ?”—मर्कूस १३:४; मत्ती १६:२१, २७, २८; २३:३७–२४:२.
५. येशूले जवाफमा भन्नुभएको कुरा प्रथम शताब्दीमा कसरी पूरा भयो?
५ लडाइँ, अनिकाल, रूढी, भैंचालो हुनेछन्, मसीहीहरूलाई घृणा गरिनेछ तथा सताइनेछ, झूटा मसीहहरू देखा पर्नेछन् अनि विश्वव्यापी तवरमा परमेश्वरको राज्यको सुसमाचार प्रचार गरिनेछ भनेर येशूले भविष्यवाणी गर्नुभएको थियो। त्यसपछि अन्त आउने थियो। (मत्ती २४:४-१४; मर्कूस १३:५-१३; लूका २१:८-१९) उक्त कुरा येशूले सा.यु. ३३ को प्रारम्भतिर भन्नुभएको थियो। त्यसपछिका वर्षहरूमा उहाँका सचेत चेलाहरूले भविष्यवाणी गरिएका कुराहरू उल्लेखनीय ढंगमा पूरा भइरहेछन् भनी थाह पाउने थिए। हो, त्यतिखेर चिह्नको पूर्ति भयो जसको फलस्वरूप सा.यु. ६६-७० मा रोमीहरूद्वारा यहूदी रीतिरिवाजको अन्त भयो भनेर इतिहासले प्रमाण दिन्छ। त्यो कसरी भयो?
६. सा.यु. ६६ मा रोमी र यहूदीहरूबीच के भयो?
६ यहूदी हठधर्मीहरूले सा.यु. ६६ को गर्मी महिनाको दौडान यरूशलेमको मन्दिर नजिकैको किल्लामा रोमी पहरेदारहरूको हत्या गर्न थाले। फलस्वरूप, अन्य ठाउँहरूमा पनि हिंसा मच्चियो। यहूदीहरूको इतिहास-मा (अंग्रेजी) प्राध्यापक हेन्रिक ग्रिट्स यसो लेख्छन्: “सेस्टियस ग्यालस सिरियाको राज्यपाल भएकाले रोमी सेनाहरूको सम्मान गर्नुपर्थ्यो, . . . तिनी आफ्नो वरिपरि मच्चिरहेको विद्रोह रोक्न केही नगरी मुक दर्शक भएर बसिरहन सकेनन्। तिनले सबै सेनाहरूलाई एकत्रित गरे अनि छिमेकी शासकहरूले पनि स्वेच्छासाथ आफ्ना सेनाहरू पठाए।” यसरी एकत्रित भएका ३०,००० सेनाहरूले यरूशलेम घेरे। केही समयसम्म लडाइँ गरेपछि यहूदीहरू मन्दिर नजिकैको पर्खालतिर भागे। “सुरुका पाँच दिनसम्म रोमीहरूले पर्खाल भत्काउने प्रयास गरे तर यहूदीहरूको आक्रमण सामना गर्न नसकेर तिनीहरू पछि हट्न बाध्य भए। छ दिनपछि मात्र तिनीहरू मन्दिर अघिल्लतिर उत्तरपट्टिको पर्खालमुनि सुरुङ खन्न सफल भए।”
७. किन अधिकांश यहूदीहरूले भन्दा येशूका चेलाहरूले भिन्नै दृष्टिकोण राखे?
७ परमेश्वरले आफू र आफ्नो मन्दिरलाई सुरक्षा गर्नुहुन्छ भन्ठान्ने यहूदीहरू कत्ति रनभुल्लमा परे होलान्, यसो कल्पना गर्नुहोस् त! तथापि, यरूशलेममाथि विपत्ति आइपर्नेछ भनेर येशूका चेलाहरूलाई पहिल्यै चेताउनी दिइएको थियो। येशूले यस्तो भविष्यवाणी गर्नुभएको थियो: “तँमाथि ती दिन आउनेछन्, जब तेरा शत्रुहरूले तेरो वरिपरि मोर्चा बाँधेर घेरा हाल्नेछन् र सबैतिरबाट तँलाई थुनिराख्नेछन्, र तँलाई र तँभित्र भएका बाल-बच्चाहरूलाई जमीनमा पछार्नेछन्, औ ढुङ्गामाथि ढुङ्गा पनि छोड़िनेछैन।” (लूका १९:४३, ४४) तर के त्यसको मतलब सा.यु. ६६ मा यरूशलेमका मसीहीहरूको हत्या हुनेथियो?
८. येशूले कस्तो दुःखलाग्दो घटनाबारे भविष्यवाणी गर्नुभयो अनि “चुनिएकाहरू” को हुन् जसको खातिर दिन घटाइने थियो?
८ येशूले जैतूनको डाँडामा प्रेरितहरूलाई जवाफ दिनुहुँदा यसो भन्नुभयो: “ती दिनहरू यस्ता दुःखका हुनेछन्, यस्तो परमेश्वरले सृजनुभएको सृष्टिको शुरूदेखि अहिलेसम्मता नता भएको छ, र न कहिल्यै हुनेछ। औ परमप्रभुले ती दिन नघटाइदिनुभएको भएता कुनै प्राणी बाँच्नेथिएन, तर उहाँले चुन्नुभएकाहरूको खातिर ती दिन घटाउनुभयो।” (मर्कूस १३:१९, २०; मत्ती २४:२१, २२) दिन घटाइने थियो अनि ‘चुनिएकाहरू’ बच्ने थिए। तिनीहरू को थिए? निस्सन्देह, ती विद्रोही यहूदीहरू त होइनन् जसले यहोवाको उपासना गर्छौं भनेर दाबी गरे तापनि उहाँको पुत्रलाई इन्कार गरे। (यूहन्ना १९:१-७; प्रेरित २:२२, २३, ३६) त्यतिखेर येशू नै मसीह र उद्धारकर्ता हुनुहुन्छ भनेर विश्वास गर्ने यहूदी र गैरयहूदीहरू चुनिएका जनहरू थिए। परमेश्वरले तिनीहरूलाई चुन्नुभयो अनि सा.यु. ३३ पेन्तिकोसमा तिनीहरूलाई एउटा नयाँ आध्यात्मिक राष्ट्र अर्थात् “परमेश्वरका इस्राएल” बनाउनुभयो।—गलाती ६:१६; लूका १८:७; प्रेरित १०:३४-४५; १ पत्रुस २:९.
९, १०. रोमी आक्रमणको दिन कसरी ‘घटाइयो’ अनि नतिजा के भयो?
९ के दिनहरू ‘घटाइए’ अनि यरूशलेमका चुनिएका अभिषिक्त जनहरू बचे? प्राध्यापक ग्रिट्स यसो भन्छन्: “[सेस्टियस ग्यालसले] साहसी यहूदीहरू विरुद्ध निरन्तर युद्ध गरेर लामो समयसम्म अभियान जारी राख्न उचित ठानेनन्। किनकि त्यतिखेर शरद ऋतुको वर्साद सुरु हुन लागेको थियो . . . अनि सेनाहरूले आवश्यक सरसामग्रीहरू पाउन सक्दैनथ्यो। त्यसकारण, तिनले पछि हट्नु नै बुद्धिमानी ठानेको हुनसक्छ।” सेस्तियस ग्यालसले जेसुकै सोचेको होस्, रोमीहरू शहरबाट पछि हटे अनि तिनीहरूले यहूदीहरूको खेदोको कारण ठूलो नोक्सानी भोगे।
१० त्यसरी बिना कारण रोमीहरू फर्केपछि “प्राणी” अर्थात् यरूशलेममा खतरामा परेका येशूका चेलाहरूले बच्ने मौका पाए। यसरी मौका पाएपछि मसीहीहरू यरूशलेमबाट भागे भनेर इतिहासले देखाउँछ। पहिल्यै भविष्य जान्नसक्ने अनि आफ्ना उपासकहरूको सुरक्षा निश्चित गर्नसक्ने परमेश्वरको कस्तो गजबको क्षमता! यद्यपि, यरूशलेम र यहूदामै बस्ने अविश्वासी यहूदीहरूलाई के भयो?
येशूका समकालीनहरूले महा संकष्ट देख्ने थिए
११. येशूले “यो पुस्ता[बारे]” के भन्नुभयो?
११ थुप्रै यहूदीहरू मन्दिरमा केन्द्रित रहेको आफ्नो उपासना सधैंभरि चलिरहनेछ भन्ठान्थे। तर येशूले यसो भन्नुभयो: “नेभाराको रूखबाट . . . सिक जब त्यसको हाँगा कमलो भएर पातहरू पलाउँछ, तब ग्रीष्म ऋतु आएछ भनी थाह पाउँछौ। त्यसरीनै तिमीहरूले पनि जब यी सबै कुरा भएका देख्नेछौ तब उ नजीकै, ढोकाहरूमै छ भनी जान। म तिमीहरूलाई साँच्चै भन्दछु, कि यो पुस्ता बिती नजाँदै यी सब कुराहरू पूरा भइजानेछ। स्वर्ग र पृथ्वी बितेर जानेछ, तर मेरो वचन चाहिं बितेर जानेछैन।”—मत्ती २४:३२-३५.
१२, १३. येशूले भन्नुभएको “यो पुस्ता[लाई]” चेलाहरूले कसरी बुझेको हुनुपर्छ?
१२ सा.यु. ६६ अघिका वर्षहरूमा मसीहीहरूले लडाइँ, अनिकाल अनि परमेश्वरको राज्यको व्यापक प्रचार जस्ता मिश्रित चिह्नको थुप्रै प्रारम्भिक पूर्ति देखे होलान्। (प्रेरित ११:२८; कलस्सी १:२३) तथापि, अन्तचाहिं कहिले आउने थियो? येशूले यसो भन्नुको मतलब के थियो: ‘यो पुस्ता [युनानी, जीनिया] बितेर जाने छैन’? येशूले धार्मिक नेताहरूलगायत समकालीन विरोधी यहूदीहरूलाई अक्सर “दुष्ट व्यभिचारी पुस्ता” भन्नुभयो। (मत्ती ११:१६; १२:३९, ४५; १६:४; १७:१७; २३:३६) तसर्थ, जैतून डाँडामा फेरि “यो पुस्ता” भन्नुहुँदा उहाँले सम्पूर्ण यहूदीहरूबारे भनिरहनुभएको थिएन। उहाँका अनुयायीहरू “चुनिएका वंश” भए तापनि उहाँले तिनीहरूबारे पनि भनिरहनुभएको थिएन। (१ पत्रुस २:९) येशूले भन्नुभएको “यो पुस्ता” कुनै समयावधि पनि होइन।
१३ बरु, येशूले त्यतिखेरका विरोधी यहूदीहरूबारे बताइरहनुभएको थियो जसले उहाँले भन्नुभएका चिह्नको पूर्ति देख्ने थिए। लूका २१:३२ को “यो पुस्ता[बारे]” प्राध्यापक जोएल बि. ग्रिन यसो भन्छन्: “सुसमाचारको तेस्रो पुस्तकको ‘यो पुस्ताले’ (अनि यससित मल्दोजुल्दो वाक्यांश) परमेश्वरको उद्देश्यप्रति विरोध जनाउने मानिसहरूलाई बुझाउँछ। . . . [यसले] ढीठ भएर ईश्वरीय उद्देश्य इन्कार गर्ने मानिसहरूलाई बुझाउँछ।”b
१४. त्यो “पुस्ता[ले]” के अनुभव गऱ्यो तर मसीहीहरूले कसरी भिन्नै नतिजा भोगे?
१४ चिह्नको पूर्ति देख्ने विरोधी यहूदीहरूको दुष्ट पुस्ताले यहूदी रीतिरिवाजको अन्त पनि देख्ने थियो। (मत्ती २४:६, १३, १४) अनि तिनीहरूले देखे पनि! सा.यु. ७० मा सम्राट भेस्पासियनको पुत्र टाइटसको नेतृत्वमा रोमी सेनाहरू फर्केर आए। फेरि घेरामा परेका यहूदीहरूले विश्वासै गर्न नसकिने दुःखकष्ट सामना गर्नुपऱ्यो।c प्रत्यक्षदर्शी फ्लेभियस जोसेफसअनुसार रोमीहरूले शहर तहसनहस गरुञ्जेल करिब ११,००,००० यहूदीहरूले ज्यान गुमाइसकेका थिए अनि लगभग १,००,००० जना दासत्वमा परिसकेका थिए। दासत्वमा परेकाहरूमध्ये धेरैजसोको खान नपाएर अथवा रोमी तमासा भएर दुःखद् मृत्यु भयो। हो, सा.यु. ६६-७० को संकष्ट यरूशलेम र यहूदी रीतिरिवाजको लागि महा संकष्ट थियो। त्यस्तो न त्यसअघि भएको थियो नता फेरि कहिल्यै हुनेथ्यो। येशूको भविष्यसूचक चेताउनी पालन गरेर सा.यु. ६६ मा रोमी सेना फर्केपछि यरूशलेमबाट भाग्ने मसीहीहरूले कस्तो भिन्नै नतिजा भोगे! सा.यु. ७० मा अभिषिक्त मसीही अर्थात् “चुनिएकाहरू” ‘बचे’ वा सुरक्षित रहे।—मत्ती २४:१६, २२.
अर्को पूर्ति हुनेछ
१५. सा.यु. ७० पछि येशूको भविष्यवाणीको महान् पूर्ति हुनेछ भनेर हामी कसरी निश्चित हुनसक्छौं?
१५ तथापि, त्यो अन्तिम महा संकष्ट थिएन। येशूले शहर तहसनहस भएपछि उहाँ यहोवाको नाउँमा आउनुहुनेछ भनेर पहिल्यै बताउनुभएको थियो। (मत्ती २३:३८, ३९; २४:२) त्यसपछि उहाँले उक्त कुरा जैतून डाँडामा भविष्यवाणी गर्नुहुँदा स्पष्ट पार्नुभयो। उहाँले आउँदै गरेको “महा संकष्ट[बारे]” बताउनुभएपछि झूटा ख्रीष्टहरू आउनेछन् अनि यरूशलेमलाई लामो समयसम्म अन्य राष्ट्रहरूले कुल्चीमिल्ची गर्नेछन् भनी बताउनुभयो। (मत्ती २४:२१, २३-२८; लूका २१:२४) के त्यसको मतलब दोस्रो अर्थात् महान् पूर्ति हुन बाँकी थियो? प्राप्त तथ्यअनुसार, बाँकी थियो। मत्ती २४:६-८ र लूका २१:१०, ११ सित प्रकाश ६:२-८ (सा.यु. ७० मा यरूशलेममाथि संकष्ट आएपछि लेखिएको) तुलना गर्दा विस्तृत रूपमा लडाइँ, अनिकाल अनि रूढी आउन बाँकी नै छ भन्ने कुरा थाह पाउँछौं। येशूका शब्दहरूको यो महान् पूर्ति १९१४ मा प्रथम विश्वयुद्ध सुरु भएपछि पूरा भइरहेका छन्।
१६-१८. हामी अझै के हुने प्रत्याशा राख्छौं?
१६ वर्तमान समयमा पूरा भइरहेका चिह्नले “महा संकष्ट” आउन बाँकी नै छ भन्ने प्रमाण दिन्छ भनेर यहोवाका साक्षीहरूले सिकाएको अहिले दशकौं भइसक्यो। अहिलेको दुष्ट ‘पुस्ताले’ त्यो संकष्ट भोग्नेछ। सा.यु. ६६ मा ग्यालसले आक्रमण गरेपछि यरूशलेममाथि संकष्ट सुरु भएझैं महा संकष्टको पनि प्रारम्भिक चरण (सबै झूटा धर्महरूमाथि आक्रमण) हुन्छ जस्तो देखिन्छ।d त्यसपछि अनिश्चित समयको अन्तरालपश्चात अन्त अर्थात् सा.यु. ७० मा जस्तै विश्वव्यापी विनाश आउनेछ।
१७ येशूले हाम्रोसामु आउनै लागेको संकष्टबारे बताउनुहुँदा यसो भन्नुभयो: “ती संकष्टका दिनको तुरुन्त पछि सूर्य अँध्यारो हुनेछ, र जूनले आफ्नो चमक दिनेछैन, र ताराहरू आकाशबाट खस्नेछन्, तथा स्वर्गका शक्तिहरू डगमगाउनेछ, औ तब मानिसको पुत्रको चिह्न आकाशमा देखा पर्नेछ औ पृथ्वीका सब जातिहरू, र तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासित आउँदैगरेको देख्नेछन्।”—मत्ती २४:२९, ३०.
१८ तसर्थ, “ती संकष्टका दिनको तुरुन्त पछि” केही आकाशीय अद्भुत घटनाहरू हुनेछन् भनी येशूले बताउनुभयो। (योएल २:२८-३२; ३:१५ तुलना गर्नुहोस्।) ती घटनाहरूले अनाज्ञाकारी मानिसहरूलाई यत्ति झस्काउने अनि धक्का दिनेछ कि तिनीहरूले “विलाप गर्नेछन्।” “संसारमा हुने घटनाहरूको डर र आशाले मानिसहरू मूर्च्छा पर्नेछन्।” तर साँचो मसीहीहरूको त्यस्तो हालत हुनेछैन! तिनीहरूले आफ्नो ‘शिर उठाएर माथि हेर्नेछन्, किनभने तिनीहरूको छुटकारा नजीकै आएको हुनेछ।’—लूका २१:२५, २६, २८.
न्याय निकट!
१९. भेडा र बाख्राको उखान पूरा हुने समय हामी कसरी थाह पाउनसक्छौं?
१९ ध्यान दिनुहोस्, मत्ती २४:२९-३१ मा (१) मानिसको पुत्र आउनुहुनेछ, (२) उहाँ ठूलो महिमासित आउनुहुनेछ, (३) उहाँको साथमा स्वर्गदूतहरू हुनेछन् अनि (४) पृथ्वीका सब जातिहरूले उहाँलाई देख्नेछन् भनी अगमवाणी गरिएको छ। येशूले यी पक्षहरू भेडा र बाख्राको उखानमा फेरि दोहऱ्याउनुभयो। (मत्ती २५:३१-४६) त्यसकारण, यस उखानले संकष्ट सुरु भएपछिको समयलाई बुझाउँछ। त्यस बेला येशू स्वर्गदूतहरूसित आउनुभएर न्याय गर्न आफ्नो सिंहासनमा विराजमान हुनुहुनेछ। (यूहन्ना ५:२२; प्रेरित १७:३१, तुलना गर्नुहोस् १ राजा ७:७; दानियल ७:१०, १३, १४, २२, २६; मत्ती १९:२८) कसको न्याय हुनेछ अनि परिणाम के हुनेछ? सबै राष्ट्रहरू येशूको स्वर्गीय सिंहासनसामु भेला भए जस्तैगरि उहाँले तिनीहरूमाथि ध्यान केन्द्रित गर्नुहुनेछ भनी उखानले देखाउँछ।
२०, २१. (क) येशूको उखानको भेडालाई के हुनेछ? (ख) बाख्राहरूले भविष्यमा के अनुभव गर्नेछन्?
२० भेडाखाले पुरुष तथा स्त्रीहरू ख्रीष्टको अनुग्रहको दाहिने हातपट्टि छुट्याइने छन्। किन? किनकि तिनीहरूले ख्रीष्टको स्वर्गीय राज्यमा भाग लिने उहाँका भाइ अर्थात् अभिषिक्त मसीहीहरूप्रति भलाइ गर्ने सुअवसरहरूको सदुपयोग गरेका छन्। (दानियल ७:२७; हिब्रू २:९–३:१) उक्त उखानअनुरूप लाखौं भेडाखाले मसीहीहरूले येशूका आत्मिक भाइहरूलाई चिनेका छन् अनि तिनीहरूको समर्थनमा काम गरिरहेका छन्। फलस्वरूप, “ठूलो भीड़[सित]” “महा संकष्ट[मा]” बच्ने अनि परमेश्वरको राज्य अन्तर्गत पार्थिव प्रमोदवनमा सधैंभरि जीवन बिताउने बाइबल आधारित आशा छ।—प्रकाश ७:९, १४; २१:३, ४; यूहन्ना १०:१६.
२१ बाख्राखाले मानिसहरूले भने एकदम भिन्नै नतिजा भोग्नेछन्! येशू आउनुहुँदा तिनीहरूले “विलाप गर्नेछन्” भनी मत्ती २४:३० मा बताइएको छ। तिनीहरूले विलाप गर्नु पनि पर्छ किनकि तिनीहरूले परमेश्वरको राज्यको सुसमाचार इन्कार गरेका छन्, येशूका चेलाहरूको विरोध गरेका छन् अनि बितेर जाने संसारको पछि लागेका छन्। (मत्ती १०:१६-१८; १ यूहन्ना २:१५-१७) पृथ्वीमा भएका उहाँका कुनै चेलाहरूले नभई येशूले बाख्राखाले मानिसहरूलाई छुट्याउनुहुनेछ। तिनीहरूबारे उहाँले यसो भन्नुभयो: ‘यिनीहरूचाहिं अनन्त दण्डमा जानेछन्।’—मत्ती २५:४६.
२२. येशूको भविष्यवाणीको कुन भागले हाम्रो ध्यानाकर्षित गर्छ?
२२ हामीले मत्ती अध्याय २४ र २५ को भविष्यवाणीबारे रोमाञ्चकारी थप समझ प्राप्त गरेका छौं। तथापि, येशूको भविष्यवाणीको एक भागले अझै हाम्रो ध्यानाकर्षित गर्छ। त्यो हो, ‘पवित्र स्थानमा खड़ा हुने उजाड गर्ने घृणित कुरा।’ येशूले आफ्ना अनुयायीहरूलाई यो कुरा बुझ्न अनि त्यसअनुरूप कदम चाल्न तम्तयार हुने आग्रह गर्नुभयो। (मत्ती २४:१५, १६) त्यो “घृणित कुरा” के हो? त्यो कहिले पवित्र स्थानमा खडा हुनेछ? अनि त्यसमा हाम्रो वर्तमान र भावी जीवनका प्रत्याशाहरू कसरी विथोलित छन्? यसपछिको लेखमा त्यसबारे छलफल गरिनेछ।
[फुटनोटहरू]
a प्रहरीधरहरा, फेब्रुअरी १, १९९४; अक्टोबर १५ (अंग्रेजी) र नोभेम्बर १, १९९५ र अगस्त १५, १९९६ का अध्ययन लेखहरू हेर्नुहोस्।
b बेलाइती शास्त्रविद् जि. आर. बेसली-मुरे यसो भन्छन्: “ ‘यो पुस्ता’ भन्ने वाक्यांशले अनुवादकहरूलाई अप्ठ्यारोमा नपार्नु पर्ने हो। प्रारम्भिक युनानीमा जीनिया-को अर्थ जन्म, वंश अनि जाति हुन्थ्यो, . . . [युनानी सेप्टुआजिन्ट-मा] यसलाई डोर भन्ने हिब्रू शब्दबाट पटक पटक अनुवाद गरिएको छ जसको अर्थ उमेर, पिंढी अथवा समकालीन पुस्ता हो। . . . येशूले भन्नुभएको वाक्यांशको दुई अर्थ लाग्नसक्छ: एउटा उहाँका समकालीन मानिसहरू, अर्को अप्रत्यक्ष रूपमा गरिएको घोर भर्त्सना।”
c प्राध्यापक ग्रिट्सले यहूदीहरूको इतिहास-मा (अंग्रेजी) बताएअनुसार, रोमीहरूले कहिलेकाहीं एकै दिनमा ५०० कैदीहरूलाई झुन्ड्याएर मारे। अरू कैदीहरूलाई हात काटेर शहर फर्काइयो। त्यहाँ कस्ता परिस्थितिहरू खडा भए? “मुद्रास्फीति भयो किनकि पैसा भएर पनि खाने कुरा किन्न पाइँदैनथ्यो। एक मुठी भुस, छाला अथवा कुकुरहरूलाई दिइएको असाध्यै घिनलाग्दो खाने कुराका निम्ति मानिसहरू सडकमा तँछाडमछाड गर्थे। . . . दिन दिनै लाशको थुप्रो लागेकोले गर्मी महिनाको हावा डुङडुङ गन्हाउने भयो अनि मानिसहरू रोगबिमार, अनिकाल र तरवारको सिकार भए।”
d यसपछिको लेखले भावी संकष्टको यस पक्षबारे छलफल गर्नेछ।
के तपाईंलाई सम्झना छ?
◻ प्रथम शताब्दीमा कसरी मत्ती २४:४-१४ पूरा भयो?
◻ मत्ती २४:२१, २२ मा पूर्वानुमान गरिएअनुसार प्रेरितहरूको समयमा कसरी दिन घटाइयो अनि कसरी प्राणीहरू बचे?
◻ मत्ती २४:३४ को ‘पुस्ताले’ कुन कुरा चित्रित गर्छ?
◻ जैतून डाँडामा गरिएको भविष्यवाणीको दोस्रो अर्थात् महान् पूर्ति हुनेछ भनेर हामी कसरी भन्नसक्छौं?
◻ भेडा र बाख्राको उखान कहिले अनि कसरी पूरा हुनेछ?
[पृष्ठ १२-मा भएको चित्र]
आर्च अफ टाइटसको रोममा देख्न सकिने यरूशलेमको विनाशपछि लुटको माल
[स्रोत]
Soprintendenza Archeologica di Roma
-
-
“पढ़नेले बुझोस्”प्रहरीधरहरा—१९९९ | मे १
-
-
“पढ़नेले बुझोस्”
“जब तिमीहरूले . . . उजाड़ गर्ने घृणित कुरा पवित्र स्थानमा खड़ा भएको देखौला . . . तब यहूदियामा हुनेहरू पहाड़हरूतिर भागून्।”—मत्ती २४:१५, १६.
१. येशूले लूका १९:४३, ४४ मा दिनुभएको चेताउनीको परिणाम के भएको छ?
आउनै लागेको विपत्तिप्रति सतर्क भयौं भने हामी सुरक्षित रहनसक्छौं। (हितोपदेश २२:३) त्यसोभए, सा.यु. ६६ मा रोमीहरूले यरूशलेम आक्रमण गरेपछि मसीहीहरूको अवस्था कस्तो भयो होला, कल्पना गर्नुहोस्। शहरलाई घेरा हालेर तहसनहस गरिनेछ भनेर येशूले चेताउनी दिनुभएको थियो। (लूका १९:४३, ४४) धेरैजसो यहूदीहरूले उहाँको चेताउनी बेवास्ता गरे। तर उहाँका चेलाहरूले त्यो चेताउनी पालन गरे। परिणामस्वरूप, तिनीहरू सा.यु. ७० को विपत्तिबाट बचे।
२, ३. येशूले मत्ती २४:१५-२१ मा भन्नुभएको भविष्यवाणीबारे हामीले किन चासो राख्नुपर्छ?
२ हाम्रो समयमा पूरा हुने भविष्यवाणी गर्नुहुँदा येशूले मिश्रित चिह्नहरू बताउनुयो। ती हुन्, युद्ध, खाद्यान्न अभाव, भैंचालो, रूढी अनि परमेश्वरको राज्यबारे प्रचार गर्ने मसीहीहरूप्रति सतावट। (मत्ती २४:४-१४; लूका २१:१०-१९) येशूले एउटा संकेत पनि दिनुभयो जसद्वारा उहाँका चेलाहरूले अन्त नजिकै छ भनेर थाह पाउनेथिए। त्यो हो, “उजाड़ गर्ने घृणित कुरा पवित्र स्थानमा खड़ा” हुनु। (मत्ती २४:१५) आउनुहोस्, यी अर्थपूर्ण शब्दहरूले हाम्रो जीवनलाई अहिले अनि भविष्यमा कसरी प्रभावित गर्नसक्छ, पुनः केलाएर हेरौं।
३ चिह्न बताइसक्नुभएपछि येशूले यसो भन्नुभयो: “जब तिमीहरूले दानियल अगमवक्ताबाट बोलिएको उजाड़ गर्ने घृणित कुरा पवित्र स्थानमा खड़ा भएको देखौला (पढ़नेले बुझोस्) तब यहूदियामा हुनेहरू पहाड़हरूतिर भागून् कौसीमा हुनेहरू आफ्ना घरमा भएका केही निकाल्नालाई तल नझरुन् खेतबारीमा हुने आफ्नो खाष्टो लिनालाई फर्की नआऊन्। तर हाय, ती दिनमा गर्भवतीहरू र दूध खुवाउनेहरूलाई। तिमीहरूको भगाई हिउँदमा, कि विश्रामको दिनमा, नपरोस् भनी प्रार्थना गर। किनकि त्यस बेला यस्तो महा संकष्ट हुनेछ, जो जगत्को शुरूदेखि अहिलेसम्म भएको छैन।”—मत्ती २४:१५-२१.
४. प्रथम शताब्दीमा मत्ती २४:१५ पूर्ति भयो भनेर कुन कुराले औंल्याउँछ?
४ मर्कूस र लूकाको विवरणले थप जानकारी प्रदान गर्छ। मत्तीले “पवित्र स्थानमा खड़ा भएको” भनेका छन् भने मर्कूस १३:१४ मा “जहाँ उचित छैन त्यहाँ उभिएका” भनिएको छ। लूका २१:२० मा येशूका यी थप शब्दहरू छन्: “जब यरूशलेमलाई फौजले घेरेको देखौला, तब त्यसको विनाश नजीकै आइपुगेछ भनेर जान।” यसले यहूदीहरूका लागि पवित्र तर यहोवाको नजरमा अपवित्र भइसकेको यरूशलेम र यसको मन्दिरमाथि रोमीहरूले सा.यु. ६६ मा आक्रमण गर्न थालेपछि उक्त भविष्यवाणीको पहिलो पूर्ति भयो भनेर बुझ्ने मदत दिन्छ। रोमीहरूले सा.यु. ७० मा यरूशलेम र यसको मन्दिर पूर्णतया तहसनहस गरे। त्यतिखेरको “घृणित कुरा” के थियो? अनि त्यो कसरी ‘पवित्र स्थानमा खड़ा भयो’? यी प्रश्नहरूका जवाफले उक्त भविष्यवाणीको आधुनिक पूर्ति कसरी हुनेछ त्यसबारे बुझ्न मदत दिनेछ।
५, ६. (क) दानियल अध्याय ९ पढ्नेले किन बुझ्नुपर्छ? (ख) येशूले “घृणित कुरा[बारे]” गर्नुभएको भविष्यवाणी कसरी पूरा भयो?
५ येशूले पढ्नेले बुझोस् भन्नुभयो। के पढ्नेले? हुनसक्छ, दानियल अध्याय ९। त्यहाँ मसीहको आगमन हुने समय अनि उहाँ साढे तीन वर्षपछि “हटाइनेछन्” भन्ने भविष्यवाणी पाउँछौं। भविष्यवाणी यसो भन्छ: “घृणित कुराहरूको साथमा नाशको कर्त्ता आउनेछ। त्यसपछि अन्तमा उजाड़ सम्बन्धी उर्दी पूरा गरिनेछ।”—दानियल ९:२६, २७; हेर्नुहोस् दानियल ११:३१; १२:११.
६ एन्टिओक चौथोले करिब २०० वर्षअघि मन्दिरलाई अपवित्र पार्दा यहूदीहरूले उक्त भविष्यवाणी पूरा भयो भन्ठाने। तथापि, येशूले पढ्नेले बुझोस् भन्नुभयो किनकि त्यतिखेर “घृणित कुरा” देखा परेर “पवित्र स्थानमा खड़ा” भइसकेको थिएन। स्पष्टतः येशूले रोमी सेनाहरूबारे बताइरहनुभएको थियो जो सा.यु. ६६ मा झन्डाहरू बोकेर आउने थिए। धेरै समयअघिदेखि प्रयोग गरिएका त्यस्ता झन्डाहरू मूर्तिहरू थिए अनि ती यहूदीहरूका लागि घृणित कुरा थिए।a तथापि, रोमी सेनाहरू कहिले ‘पवित्र स्थानमा खड़ा भए’? यहूदीहरूले पवित्र मानेका यरूशलेम र यसको मन्दिरलाई रोमी सेनाहरूले झन्डाहरू लिएर आक्रमण गर्दा। रोमीहरूले मन्दिर वरिपरिका पर्खालमुनि सुरुङसमेत खन्न थाले। हो, धेरै समयअघि घृणित मानिएको कुरा पवित्र स्थानमा खडा भयो!—यशैया ५२:१; मत्ती ४:५; २७:५३; प्रेरित ६:१३.
आधुनिक समयको “घृणित कुरा”
७. येशूले गर्नुभएको कुन भविष्यवाणी अहिले हाम्रो समयमा पूरा भइरहेको छ?
७ येशूले मत्ती अध्याय २४ मा भन्नुभएका चिह्नहरू प्रथम विश्वयुद्ध यता विस्तृत रूपमा पूरा भएको हामीले देखेका छौं। यद्यपि, उहाँका शब्दहरू सम्झनुहोस्: “जब तिमीहरूले . . . उजाड़ गर्ने घृणित कुरा पवित्र स्थानमा खड़ा भएको देखौला . . . तब यहूदियामा हुनेहरू पहाड़हरूतिर भागून्।” (मत्ती २४:१५, १६) भविष्यवाणीको यो पक्ष हाम्रो समयमा पनि पूरा हुनेछ।
८. यहोवाका साक्षीहरूले कसरी वर्षौंदेखि आधुनिक समयको “घृणित कुरा” चिनाउँदै आएका छन्?
८ यो भविष्यवाणी पूरा हुनेछ भन्ने यहोवाका सेवकहरूको विश्वस्तता औंल्याउँदै जनवरी १, १९२१ को प्रहरीधरहरा-ले (अंग्रेजी) उक्त भविष्यवाणी मध्यपूर्वमा भइरहेका गतिविधिहरूसित कसरी सम्बन्धित छ भनेर ध्यानाकर्षित गऱ्यो। त्यसपछि, डिसेम्बर १५, १९२९ को प्रहरीधरहरा (अंग्रेजी), पृष्ठ ३७४ मा ठोकेरै यसो भनियो: “राष्ट्र संघको सम्पूर्ण उद्देश्य मानिसहरूलाई परमेश्वर र ख्रीष्टबाट तर्काउनु हो। त्यसकारण, यो उजाड गर्ने कुरा शैतानको उपज अनि यहोवाको नजरमा घृणित कुरा हो।” तसर्थ, १९१९ मा “घृणित कुरा” देखा पऱ्यो। समयको दौडान राष्ट्र संघबाटै संयुक्त राष्ट्र संघको जन्म भयो। यहोवाका साक्षीहरूले धेरै अघिदेखि यी मानव शान्ति संगठनहरू परमेश्वरको नजरमा घृणास्पद छन् भनेर बताउँदै आएका छन्।
९, १०. हामीले “महा संकष्ट[बारे]” पहिला जे बुझेका थियौं, त्यसले “घृणित कुरा” पवित्र स्थानमा खडा हुने समयप्रतिको हाम्रो सोचविचारमा कसरी प्रभाव पाऱ्यो?
९ यस अघिको लेखले संक्षेपमा मत्ती अध्याय २४ र २५ को स्पष्टिकरण दियो। ‘घृणित कुरा पवित्र स्थानमा खड़ा’ हुनेबारे पनि केही स्पष्टिकरण दिइयो त? अवश्य। येशूले भविष्यवाणीमा “पवित्र स्थानमा खड़ा” हुने कुरालाई अग्रिमवाणी गरिएको “महा संकष्ट[को]” सुरुआतसित गाँस्नुभएको थियो। तसर्थ, धेरै अघिदेखि “घृणित कुरा” अस्तित्वमा भए तापनि त्यो “पवित्र स्थानमा खड़ा” हुने र महा संकष्टबीचको सम्बन्धले हाम्रो सोचविचारलाई प्रभावित गर्नुपर्छ। कसरी?
१० परमेश्वरका जनहरूले एकताक महा संकष्टको पहिलो भाग १९१४ देखि सुरु भयो अनि अन्तिम भाग आरमागेडोनको युद्धमा पूरा हुनेछ भनेर बुझेका थिए। (प्रकाश १६:१४, १६; तुलना गर्नुहोस् प्रहरीधरहरा, अप्रिल १, १९३९, पृष्ठ ११० [अंग्रेजी]) त्यसकारण, एकताक प्रथम विश्वयुद्धको लगत्तैपछि आधुनिक “घृणित कुरा” पवित्र स्थानमा खडा हुनेछ भन्ने अर्थ किन लगाइएको थियो भनेर हामी बुझ्नसक्छौं।
११, १२. सन् १९६९ मा “महा संकष्ट[बारे]” कस्तो नयाँ दृष्टिकोण प्रस्तुत गरियो?
११ तथापि, त्यसपछिका वर्षहरूमा हामीले अर्कै कुरा थाह पायौं। जुलाई १०, १९६९, बिहिबारका दिन न्यु योर्क शहरमा सम्पन्न “पृथ्वीमा शान्ति” अन्तरराष्ट्रिय सम्मेलनमा वाच टावर सोसाइटीका तत्कालीन अध्यक्ष एफ. डब्ल्यु फ्रान्जले रोमाञ्चकारी भाषण प्रस्तुत गरे। येशूको भविष्यवाणीबारे पहिले बुझेका कुरा पुनर्विचार गर्दै भाइ फ्रान्जले यसो भने: “सा.यु. १९१४ मा ‘महा संकष्ट’ सुरु भए तापनि त्यसलाई पूरै समयसम्म चल्न दिइएन तर परमेश्वरले नोभेम्बर १९१८ मा प्रथम विश्वयुद्ध रोक्नुभयो भनेर हामीले पहिला बुझेका थियौं। त्यस समयदेखि परमेश्वरले ‘महा संकष्टको’ अन्तिम भाग आरमागेडोनको युद्धमा पूरा नगरुञ्जेल मसीहीहरूबाट चुनिएका उहाँका अभिषिक्त शेष जनहरूको क्रियाकलाप अघि बढाउने समय दिनुभयो।”
१२ त्यसपछि तिनले एउटा उल्लेखनीय नयाँ कुरा बताए: “प्रथम शताब्दीका घटनाहरूअनुसार . . . १९१४ मा प्रतिरूपक ‘महा संकष्ट’ सुरु भएन। बरु, सन् १९१४-१९१८ मा वर्तमान प्रतिरूपक यरूशलेममाथि जे भयो, त्यो ‘कष्टका सुरु’ मात्र थियो . . . फेरि कहिल्यै नहुने ‘महा संकष्ट’ आउन बाँकी नै थियो किनकि महासंकष्ट सुरु भएपछि आरमागेडोनमा हुने ‘सर्वशक्तिमान परमेश्वरको ठूलो दिनको लडाइँमा’ झूटो धर्मको विश्व साम्राज्यको (मसीहीजगत्लगायत) विनाश हुनेथियो।” तसर्थ, पूर्णरूपले महासंकष्ट आउनु बाँकी नै थियो।
१३. भविष्यमा “घृणित कुरा” फेरि “पवित्र स्थानमा खड़ा” हुनेछ भन्नु किन तर्कसंगत छ?
१३ यसले “घृणित कुरा” पवित्र स्थानमा खडा हुँदा सचेत व्यक्तिहरूमा प्रत्यक्ष प्रभाव पाऱ्यो। प्रथम शताब्दीमा के भयो, सम्झनुहोस्। रोमीहरूले सा.यु. ६६ मा यरूशलेम आक्रमण गरे तर कारणैबिना तिनीहरू त्यहाँबाट फर्के। फलतः मसीही “देहधारी[ले]” बच्ने मौका पाए। (मत्ती २४:२२) त्यसैगरी, हामी महासंकष्ट चाँडै सुरु हुनेछ भनी आशा गर्छौं तर परमेश्वरका चुनिएका जनहरूका लागि त्यो घटाइनेछ। यो मुख्य कुरालाई ध्यान दिनुहोस्: पहिले ‘पवित्र स्थानमा खड़ा हुने घृणित कुरा’ रोमी सेनाहरू थिए जसले सेनापति ग्यालसको नेतृत्वमा यरूशलेम र यसको मन्दिरमाथि सा.यु. ६६ मा आक्रमण गरे। आधुनिक समयको त्यस्तै आक्रमण अर्थात् महासंकष्ट सुरु हुन बाँकी नै छ। तसर्थ, सन् १९१९ देखि अस्तित्वमा आएको “उजाड़ गर्ने घृणित कुरा” पवित्र स्थानमा खडा हुन बाँकी नै छ।b त्यो कसरी खडा हुनेछ? अनि हामीमाथि कस्तो प्रभाव पर्नेछ?
भावी आक्रमण
१४, १५. प्रकाश अध्याय १७ ले आरमागेडोनअघि सुरु हुने घटनाहरू बुझ्न हामीलाई कसरी मदत गर्छ?
१४ प्रकाशको पुस्तकले भविष्यमा झूटो धर्ममाथि ठूलो आक्रमण हुनेछ भनी बताउँछ। अध्याय १७ ले “घृणित कुराहरूकी आमा, महान् बेबिलोन” अर्थात् झूटो धर्मको विश्व साम्राज्य विरुद्ध हुने परमेश्वरको न्यायबारे बताउँछ। झूटो धर्ममा मसीहीजगत्ले प्रमुख भूमिका निर्वाह गरेको छ अनि त्यसले परमेश्वरसित करारको सम्बन्ध भएको दाबी गर्छ। (यर्मिया ७:४ तुलना गर्नुहोस्।) मसीहीजगत्लगायत अन्य सबै झूटा धर्महरूले धेरैअघिदेखि “पृथ्वीका राजाहरू[सँग]” अनैतिक सम्बन्ध राखेका छन्। तर झूटा धर्महरू नाश हुँदा यो सम्बन्ध अन्त हुनेछ। (प्रकाश १७:२, ५) कसको हातद्वारा?
१५ प्रकाशको पुस्तकमा केही समय देखा पर्ने, त्यसपछि लोप हुने अनि फेरि अस्तित्वमा आउने “चहकिलो रातो रङ्गको जनावर” वर्णन गरिएको छ। (प्रकाश १७:३, ८) यो जनावरलाई संसारका शासकहरूले समर्थन गरेका छन्। उक्त भविष्यवाणीका तथ्यहरूले यो लाक्षणिक जनावर १९१९ मा शान्ति संगठनको रूपमा अस्तित्वमा आएको राष्ट्र संघ (“घृणित कुरा”) हो भनेर चिन्ने मदत दिन्छ। अहिले त्यसको ठाउँ संयुक्त राष्ट्र संघले लिएको छ। प्रकाश १७:१६, १७ अनुसार परमेश्वरले “जनावर[सित]” विशिष्ट सम्बन्ध भएका मानव शासकहरूको हृदयमा झूटो धर्मको विश्व साम्राज्यलाई सर्वनाश गर्ने विचार हालिदिनुहुनेछ। त्यो आक्रमणपछि “महा संकष्ट” सुरु हुनेछ।
१६. धर्ममा कस्ता उल्लेखनीय घटनाहरू भइरहेका छन्?
१६ भविष्यमा मात्र महासंकष्ट हुने हुनाले घृणित कुरा “पवित्र स्थानमा खड़ा” हुन पनि बाँकी नै छ त? हो, यस शताब्दीको प्रारम्भतिरै “घृणित कुरा” देखा परेको हुनाले अहिले त्यो अस्तित्वमा आएको दशकौं भइसक्यो। तैपनि, त्यो निकट भविष्यमा एकदमै भिन्नै तरिकामा “पवित्र स्थानमा खड़ा” हुनेछ। कसरी “पवित्र स्थानमा खड़ा” हुनेछ भनेर ख्रीष्टका प्रथम शताब्दीका अनुयायीहरूले उत्सुकतासाथ हेरेझैं आधुनिक मसीहीहरू पनि उत्सुकतासाथ हेर्छन्। तर उक्त भविष्यवाणी पूर्ति नभएसम्म हामी सम्पूर्ण कुरा थाह पाउन सक्दैनौं। यद्यपि, केही मुलुकहरूमा धर्मप्रति निकै घृणा बढ्न थालेको छ। केही राजनैतिक तत्त्वहरूले साँचो विश्वासबाट तर्किएका पहिलेका मसीहीहरूसँग मिलेमतो गरेर धर्म विरुद्ध र विशेषगरि मसीहीहरू विरुद्ध शत्रुता बढाइरहेका छन्। (भजन ९४:२०, २१; १ तिमोथी ६:२०, २१) फलस्वरूप, राजनैतिक शक्तिहरूले अहिले पनि “थुमाको विरुद्धमा युद्ध” गरिरहेका छन् अनि प्रकाश १७:१४ अनुसार यो युद्धले अझ तीव्र रूप लिनेछ। तिनीहरू परमेश्वरको थुमा अर्थात् उच्च अनि महिमित हुनुभएको येशू ख्रीष्ट विरुद्ध शाब्दिक रूपमा जाइलाग्ने छैनन्। यद्यपि, तिनीहरूले परमेश्वरका साँचो उपासकहरू र विशेषगरी “पवित्र जनहरू” विरुद्ध घोर सतावट ल्याउनेछन्। (दानियल ७:२५; तुलना गर्नुहोस् रोमी ८:२७; कलस्सी १:२; प्रकाश १२:१७) हामीले थुमा र उहाँसित हुनेहरू विजयी हुनेछन् भन्ने ईश्वरीय आश्वसन पाएका छौं।—प्रकाश १९:११-२१.
१७. हामी हठधर्मी नभइकन “घृणित कुरा” पवित्र स्थानमा कसरी खडा हुन्छ भन्नेबारे के भन्नसक्छौं?
१७ झूटो धर्मको विनाश हुनेछ भनी हामीलाई थाह छ। महान् बेबिलोन “पवित्र जनहरूको रगत . . . पिएर मात्तिएकी” छे अनि आफूलाई महारानी सम्झन्छे। तर त्यो अवश्य नाश हुनेछ। ‘दश सीङ र जनावरले’ दुस्मनी गर्दा पृथ्वीका राजाहरूसितको त्यसको अनैतिक सम्बन्धमा एकाएक परिवर्तन आउनेछ। (प्रकाश १७:६, १६; १८:७, ८) जब “चहकिलो रातो रंगको जनावर[ले]” धार्मिक वेश्यालाई आक्रमण गर्नेछ तब “घृणित कुरा” मसीहीजगत्को तथाकथित पवित्र स्थानमा भयावह रूपमा खडा हुनेछ।c फलतः आफूलाई पवित्र भन्ठान्ने अविश्वासी मसीहीजगत्मा विनाश सुरु हुनेछ।
‘भाग्ने’—कसरी?
१८, १९. ‘पहाडहरूतिर भाग्नुको’ अर्थ धर्म परिवर्तन गर्नु होइन भन्ने कस्ता कारणहरू छन्?
१८ येशूले “उजाड़ गर्ने घृणित कुरा पवित्र स्थानमा खड़ा” हुने कुरा बताउनुभएपछि बुझ्नेहरूले कदम चाल्नुपर्छ भनेर चेताउनी दिनुभयो। के उहाँको भनाइको मतलब, “घृणित कुरा पवित्र स्थानमा खड़ा” भएपछि थुप्रै मानिसहरूले झूटो धर्म त्यागेर साँचो उपासना अपनाउनेछन् भन्ने हो? अहँ, पटक्कै होइन। येशूको भविष्यवाणीको पहिलो पूर्तिलाई विचार गर्नुहोस्। येशूले यसो भन्नुभयो: “यहूदियामा हुनेहरू डाँड़ाहरूतिर भागून्। घरको कौसीमा हुने तल नओर्लोस् नता आफ्नो घरबाट केही निकाल्नालाई भित्र पसोस्। खेतमा हुने आफ्नो खाष्टो लिनालाई पछाड़ि नफर्कोस्। तर ती दिनमा, हाय, गर्भवती र दूध खुवाउनेहरूलाई! यो हिउँदमा नहोस् भनी प्रार्थना गर।”—मर्कूस १३:१४-१८.
१९ यरूशलेमवासीहरू मात्र यहूदी धर्मको केन्द्रबाट निस्कनु आवश्यक भए जस्तैगरी येशूले तिनीहरू त्यहाँबाट भाग्नुपर्छ भन्नुभएन। नता उहाँले धर्म परिवर्तन गर्नु अर्थात् झूटो धर्म त्यागेर साँचो धर्म अपनाउनु पर्छ नै भन्नुभयो। येशूका चेलाहरूलाई एउटा धर्म त्यागेर अर्को धर्म अपनाउने चेताउनी दिनुपर्ने आवश्यकता नै थिएन किनकि तिनीहरू पहिल्यै मसीही भइसकेका थिए। अनि सा.यु. ६६ को आक्रमण पछि पनि यरूशलेम र यहूदियाका यहूदी धर्मावलम्बीहरू आफ्नो धर्म त्यागेर मसीही धर्म अपनाउन प्रेरित भएनन्। प्राध्यापक हेन्रीक ग्रिट्सअनुसार भागाभाग गरिरहेका रोमीहरूलाई लखेट्नेहरू फर्केर शहर आए: “हठधर्मी यहूदीहरू विजयोल्लासका गीत गाउँदै यरूशलेम फर्के (८ अक्टोबर), तिनीहरूको हृदय मुक्ति र स्वतन्त्रताको आनन्दमय आशाले प्रफुल्लित थिए। . . . के परमेश्वरले तिनीहरूलाई तिनीहरूको पुर्खाहरूलाई जस्तै दया देखाएर मदत गर्नुभएन र? हठधर्मी यहूदीहरूलाई भविष्यमा के होला भन्ने कुनै डरै थिएन।”
२०. पहाडहरूतिर भाग्नु भन्ने येशूको चेताउनीलाई प्रारम्भिक चेलाहरूले कसरी पालन गरे?
२० त्यसोभए, त्यतिखेर सीमित संख्यामा भएका चुनिएका जनहरू कसरी येशूको सल्लाहअनुसार चले? यहूदियाबाट यर्दनपारिको पहाडमा भागेर तिनीहरूले आफू राजनैतिक तथा धार्मिक रूपमा यहूदी रीतिरिवाजको भाग होइनन् भनी देखाए। तिनीहरूले आफ्नो खेतबारी र घरबार छाडे अनि सरसम्पत्तिसमेत माया मारे। यहोवाले सुरक्षा दिनुहुन्छ र मदत गर्नुहुन्छ भन्ने कुरामा विश्वस्त भई तिनीहरूले अरू महत्त्वपूर्ण देखिने कुरालाई भन्दा उहाँको उपासनालाई प्राथमिकता दिए।—मर्कूस १०:२९, ३०; लूका ९:५७-६२.
२१. “घृणित कुरा[ले]” आक्रमण गर्दा हामीले कुन कुराको आशा गर्नु हुँदैन?
२१ अब महान् पूर्तिलाई विचार गर्नुहोस्। हामीले मानिसहरूलाई झूटो धर्म त्यागेर साँचो उपासना अंगाल्ने आह्वान गरेको दशकौं भइसक्यो। (प्रकाश १८:४, ५) लाखौंले यो आह्वान स्वीकारेका छन्। येशूको भविष्यवाणीले महासंकष्ट सुरु भएपछि असंख्य मानिसहरूले साँचो उपासना अंगाल्नेछन् भनेर औंल्याउँदैन। स्पष्टतः सा.यु. ६६ मा थुप्रै यहूदीहरूले धर्म परिवर्तन गरेनन्। यद्यपि, साँचो मसीहीहरूले येशूको चेताउनी पालन गर्ने अनि भाग्ने ठूलो प्रोत्साहन पाउनेथिए।
२२. पहाडतिर भाग्नु भन्ने येशूको सल्लाह हामीले पालन गर्नुमा के विथोलित छ?
२२ अहिले हामीलाई महासंकष्टबारे सबै विवरण थाह छैन। तर येशूले पहाडतिर भाग्नु भन्नुभएअनुसार हामी कुनै भौगोलिक स्थानमा बसाइँ सर्नुपर्ने होइन भन्ने तार्किक निष्कर्ष हामी निकाल्नसक्छौं। अहिले परमेश्वरका जनहरू पृथ्वीको चारै कुनामा बसोबास गर्छन्। तथापि, भाग्नु आवश्यक भएकोले गर्दा मसीहीहरूले आफूलाई झूटा धार्मिक संगठनहरूभन्दा भिन्नै राख्नुपर्छ भनेर चाहिं हामी निश्चित हुनसक्छौं। आफ्नो खाष्टो वा अन्य कुनै सरसामान लिन घर नफर्किनु भनेर येशूले दिनुभएको चेताउनी पनि महत्त्वपूर्ण छ। (मत्ती २४:१७, १८) अतः हामीले भौतिक कुराहरूप्रति कत्तिको ध्यान दिन्छौं भनी हाम्रो जाँच हुनसक्छ। के ती कुराहरू महत्त्वपूर्ण छन् वा परमेश्वरले दिनुहुने मुक्ति त्योभन्दा बढी महत्त्वपूर्ण छ? हो, भाग्दाखेरी हामीले केही कठिनाइ अनि दुःखकष्टहरू सामना गर्नुपर्ने हुनसक्छ। यसको निम्ति हामीले चाहे जस्तोसुकै कदम चाल्नु किन नपरोस्, प्रथम शताब्दीका मसीहीहरू यहूदियाबाट यर्दनपारि पेरियामा भागेजस्तै हामी पनि तम्तयार हुनुपर्छ।
२३, २४. (क) हामीले कुन ठाउँमा मात्र सुरक्षा पाउँनेछौं? (ख) येशूले “घृणित कुरा पवित्र स्थानमा खड़ा” हुनेबारे दिनुभएको चेताउनीले हामीमा कस्तो प्रभाव पार्नुपर्छ?
२३ हामीलाई यहोवा र उहाँको पहाडरूपी संगठनले संरक्षण गरिरहनेछ भनेर हामी निश्चित हुनुपर्छ। (२ शमूएल २२:२, ३; भजन १८:२; दानियल २:३५, ४४) हामी यहोवा र उहाँको संगठनमा सुरक्षा पाउँछौं! तसर्थ, हामी ती असंख्य मानिसहरू जस्तो हुनेछैनौं जसले “पहाड़का गुफाहरू र चटानहरू हुँदो” अर्थात् महान् बेबिलोन विनाश भएपछि केही समयसम्म अस्तित्वमा रहने मानव संगठन र संस्थाहरूमा सुरक्षा खोज्नेछन्। (प्रकाश ६:१५; १८:९-११) हो, सा.यु. ६६ मा गर्भवतीहरू यहूदियाबाट भाग्दा अथवा जाडो तथा वर्सादको महिनामा यात्रा गर्दा मानिसहरूले जति कठिनाइ भोगे, हाम्रो समयमा त्योभन्दा बढी कठिनाइ हुनसक्छ। तर परमेश्वरले हामीलाई बचाउनुहुनेछ भनेर हामी निर्धक्क हुनसक्छौं। आउनुहोस्, अहिलेदेखि नै हामी यहोवा र उहाँको पुत्र अर्थात् परमेश्वरको राज्यको शासनारूढ राजाप्रति अझ विश्वस्त होऔं।
२४ हामीसँग भविष्यमा के होला भन्ने डरै डरमा बाँच्नुपर्ने कारण छैन। येशूले त्यतिखेरका उहाँका चेलाहरू भयभीत होस् भन्ने चाहनुहुन्नथ्यो। अनि नता अहिले न भोलि आउने दिनहरूमा नै हामी भयभीत भएको उहाँ चाहनुहुन्छ। उहाँले हाम्रो हृदय र मनमा तयार होस् भन्ना खातिर हामीलाई सतर्क गराउनुहुन्छ। आखिर, झूटो धर्म र बाँकी दुष्ट रीतिरिवाजको विनाश हुँदा आज्ञाकारी मसीहीहरूले सजाय भोग्नुपर्ने छैन। तिनीहरू सतर्क भएर “घृणित कुरा पवित्र स्थानमा खड़ा” हुने चेताउनी पालन गर्नेछन्। अनि तिनीहरू आफ्नो दृढ विश्वासअनुसार निर्णायक कदम चाल्नेछन्। येशूको चेताउनी हामी कहिल्यै नबिर्सौं: “जो अन्तसम्म स्थिर रहला त्यसैको उद्धार हुनेछ।”—मर्कूस १३:१३.
[फुटनोटहरू]
a “रोमी झन्डाहरूलाई रोमको मन्दिरमा धार्मिक सम्मानका साथ राखिन्थ्यो। अनि रोमी सेनाहरू जति अरू देशमाथि विजयी हुन्थे उति नै बढी उनीहरू ती झन्डाहरूलाई श्रद्धा गर्थे . . . [सेनाहरूका लागि ती झन्डाहरू] सायद संसारमा भएको सबैभन्दा पवित्र वस्तु थियो। रोमी सेनाहरूले झन्डाको नाउँमा शपथ ग्रहण गर्थे।”—दी इनसाइक्लोपीडिया ब्रिटानिका, एघारौं संस्करण।
b सा.यु. ६६-७० मा येशूका शब्दहरू पूर्ति भएको कुराले ती शब्दहरू महासंकष्टमा कसरी पूरा हुनेछ भनेर बुझ्ने मदत दिन्छ। तथापि, ती दुवै पूर्ति एकै प्रकारका हुनेछैनन् किनकि ती पूर्तिहरू भिन्नाभिन्नै परिस्थितिमा हुनेछन्।
c डिसेम्बर १५, १९७५ को प्रहरीधरहरा (अंग्रेजी), पृष्ठ ७४१-४ हेर्नुहोस्।
के तपाईंलाई सम्झना छ?
◻ प्रथम शताब्दीमा “उजाड़ गर्ने घृणित कुरा” कसरी देखा पऱ्यो?
◻ आधुनिक समयको “घृणित कुरा” भविष्यमा पवित्र स्थानमा खडा हुनेछ भनेर सोच्नु किन व्यवहारिक छ?
◻ ‘घृणित कुराले’ कस्तो आक्रमण गर्नेछ भनी प्रकाशको पुस्तकमा भविष्यवाणी गरिएको छ?
◻ हाम्रोलागि ‘भाग्नुमा’ के समावेश हुनसक्छ?
[पृष्ठ १६-मा भएको चित्र]
महान् बेबिलोनलाई ‘वेश्याहरूकी आमा’ भनिन्छ
[पृष्ठ १७-मा भएको चित्र]
प्रकाश अध्याय १७ को चहकिलो रातो रंगको जनावर येशूले भन्नुभएको “घृणित कुरा” हो
[पृष्ठ १८-मा भएको चित्र]
चहकिलो रातो रंगको जनावरले धर्ममाथि घोर आक्रमण गर्नेछ
-