प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • न्याय आसनसामु तपाईंको अवस्था कस्तो हुनेछ?
    प्रहरीधरहरा—१९९५ | अक्टोबर १५
    • न्याय आसनसामु तपाईंको अवस्था कस्तो हुनेछ?

      “तर जब मानिसको पुत्र स्वर्गदूतहरूसमेत आफ्नो महिमामा आउला, तब आफ्नो महिमाको सिंहासनमा बस्नेछ।”—मत्ती २५:३१.

      १-३. न्यायको विषयमा हामी आशावादी हुने कस्तो कारण छ?

      ‘दोषी वा निर्दोष?’ केही मुद्दाहरूको प्रतिवेदन सुनेपछि धेरैको मनमा शंका उपशंकाहरू हुन्छन्‌। न्यायाधीशहरूले इमानदार हुने प्रयास गर्लान्‌ तर के प्रायजसो निर्णय न्यायोचित हुन्छ र? के तपाईंले न्यायिक प्रक्रियाहरूमा अन्याय तथा असमानताबारे सुन्‍नुभएको छैन र? हामीले लूका १८:१-८ मा येशूको उदाहरणमा देखेअनुसार त्यस्तो अन्याय कुनै नौलो कुरा होइन।

      २ मानव न्यायसम्बन्धी तपाईंको अनुभव जस्तोसुकै भए तापनि येशूको निष्कर्षमा ध्यान दिनुहोस्‌: “के परमेश्‍वरले आफ्ना चुनिएकाहरूका बदला लिनु हुन्‍न र? जसले उहाँलाई रातोदिन पुकार्दछ, . . . म तिमीहरूलाई भन्दछु, ‘उहाँले चाँड़ैनै तिनीहरूका बदला लिनुहुनेछ। त्यसो भए तापनि मानिसको पुत्र आउँदा के उसले पृथ्वीमा विश्‍वास पाउनेछ’?’”

      ३ हो, आफ्ना सेवकहरूले अन्ततः न्याय पाओस्‌ भनेर यहोवाले प्रबन्ध गर्नुहुनेछ। विशेषगरि अहिले येशू पनि संलग्न हुनुहुन्छ किनभने हामी वर्तमान दुष्ट रीतिरिवाजको “आखिरी दिनमा” बाँचिरहेका छौं। यहोवाले चाँडै आफ्नो शक्‍तिशाली पुत्रद्वारा पृथ्वीबाट दुष्टतालाई पूर्णतया हटाउनुहुनेछ। (२ तिमोथी ३:१; २ थिस्सलोनिकी १:७, ८; प्रकाश १९:११-१६) येशूले बताउनुभएका अन्तिम उखानहरूमध्ये एउटाबाट हामीले येशूको भूमिकामा अन्तरदृष्टि प्राप्त गर्नसक्छौं। यसलाई भेडा र बाख्राको उखान भनिन्छ।

      ४. हामीले भेडा र बाख्राको उखानको समयावधिबारे के बुझेका थियौं तर अब यस उखानमा किन ध्यान केन्द्रित गर्नेछौं? (हितोपदेश ४:१८)

      ४ येशू सन्‌ १९१४ मा राजा हुनुभएदेखि न्याय गरिरहनुभएको छ अर्थात्‌ भेडाखाले मानिसहरूलाई अनन्त जीवन र बाख्राखाले मानिसहरूलाई अनन्त विनाशको लागि न्याय गरिरहनुभएको छ भनेर हामीले बुझ्दै आएका थियौं। तर त्यस उखानलाई पुनःर्विचार गरेर हेर्दा त्यसको समयावधि र अर्थ हामीले जसरी बुझ्दै आएका थियौं त्यसमा छाँटकाँट गर्नुपर्ने देखिन्छ। यस शुद्धीकरणले हाम्रो प्रचारकार्य तथा मानिसहरूको प्रतिक्रियाको महत्त्वलाई अझ सुदृढ बनाउँछ। यो उखानको अझ गहिरो अर्थको आधारलाई बुझ्न राजा तथा न्यायकर्ताको हैसियतमा यहोवा र येशूको भूमिकाबारे बाइबलले के बताउँछ, हेरौं।

      सर्वोच्च न्यायकर्ताको हैसियतमा यहोवा

      ५, ६. यहोवालाई राजा र न्यायकर्ता दुवै मान्‍नु किन उपयुक्‍त छ?

      ५ यहोवा, ब्रम्हाण्डमा सर्वशक्‍तिमान हुनुहुन्छ। उहाँको सुरुआत र अन्त नभएकोले उहाँ ‘अनन्तका राजा’ हुनुहुन्छ। (१ तिमोथी १:१७; भजन ९०:२, ४; प्रकाश १५:३) उहाँसित विधान वा नियमकानुन बनाउने र त्यो लागू गराउने अख्तियार छ। तर उहाँको अख्तियारमा न्यायकर्ताको भूमिका समावेश छ। यशैया ३३:२२ ले यसो भन्छ: “परमप्रभु हाम्रा न्यायकर्त्ता हुनहुन्छ। परमप्रभु हाम्रा शासक हुनुहुन्छ। परमप्रभु हाम्रा राजा हुनुहुन्छ, उहाँलेनै हामीलाई बचाउनुहुनेछ।”

      ६ हर प्रकारका मामिला तथा विवादको न्यायकर्ता यहोवा नै हुनुहुन्छ भनेर परमेश्‍वरका सेवकहरूले निकैअघिदेखि स्वीकारेका छन्‌। उदाहरणको लागि, “सारा पृथ्वीका न्यायकर्त्ता[ले]” सदोम र गमोराको दुष्टतासम्बन्धी प्रमाणहरूलाई केलाउनुभएपछि उहाँले त्यहाँका बासिन्दाहरूलाई विनाशको योग्य ठहराउनुको साथै धार्मिक न्याय गर्नुभयो। (उत्पत्ति १८:२०-३३; अय्यूब ३४:१०-१२) यहोवा सधैं न्याय गर्न सक्नुहुने धार्मिक न्यायकर्ता हुनुहुन्छ भनेर यसले हामीलाई निस्सन्देह आश्‍वासन दिनुपर्ने हो!

      ७. इस्राएलसित व्यवहार गर्दा यहोवाले कसरी न्यायकर्ताको हैसियतमा कार्य गर्नुभयो?

      ७ पुरातन इस्राएलमा यहोवाले कहिलेकाहीं प्रत्यक्ष न्याय गर्नुभयो। तपाईं त्यतिखेर जीवित हुनुहुँदो हो त एक सिद्ध न्यायकर्ताले न्याय गरिरहनुभएको थाह पाउँदा के तपाईं ढुक्क हुनुहुने थिएन र? (लेवी २४:१०-१६; गन्ती १५:३२-३६; २७:१-११) परमेश्‍वरले न्याय गर्नको लागि पूर्णतया राम्रो स्तर साबित हुने “विधिविधानहरू” पनि दिनुभयो। (लेवी २५:१८, १९; नहेम्याह ९:१३; भजन १९:९, १०; ११९:७, ७५, १६४; १४७:१९, २०) उहाँ “सबका न्यायकर्त्ता” हुनुभएकोले हामी सबै प्रभावित छौं।—हिब्रू १२:२३.

      ८. दानियलले कस्तो सान्दर्भिक दर्शन देखे?

      ८ यस विषयमा हामीसित “प्रत्यक्षदर्शी[को]” प्रमाण छ। अगमवक्‍ता दानियललाई हिंस्रक जनावहरूको दर्शन दिइयो जसले सरकार वा साम्राज्यहरूलाई चित्रण गर्थ्यो। (दानियल ७:१-८, १७) तिनले अझै यसो भने: “सिंहासनहरू बसालिए, औ एक जना अति वृद्ध व्यक्‍ति त्यसमा बस्नुभयो। उहाँको पोशाक हिउँजस्तै सेतो थियो।” (दानियल ७:९) ध्यान दिनुहोस्‌, दानियलले सिंहासनहरू र ‘एक जना अति वृद्ध व्यक्‍ति [यहोवा] त्यसमा बस्नुभएको’ देखे। आफैलाई सोध्नुहोस्‌, ‘के यहाँ दानियलले परमेश्‍वर राजा हुनुभएको देखिरहेका थिए?’

      ९. सिंहासनमा ‘बस्नु’ भनेको के हो? उदाहरणहरू दिनुहोस्‌।

      ९ वास्तवमा, कोही सिंहासनमा “बस्नुभयो” भनी पढ्‌दा हामीले त्यस व्यक्‍ति राजा हुनुभयो भनी सोच्न सक्छौं किनभने बाइबलले कहिलेकाहीं त्यस्तै भाषा प्रयोग गर्छ। उदाहरणको लागि, “[जिम्री] राजा भएर राजगद्दी आरोहण गर्ने बित्तिकै तिनले . . . ” (१ राजा १६:११; २ राजा १०:३०; १५:१२; यर्मिया ३३:१७) मसीहसित सम्बन्धित एउटा भविष्यवाणीले यसो भन्यो: “आफ्नो सिंहासनमा विराजमान भएर राज्य गर्नेछ।” यसर्थ, ‘सिंहासनमा बस्नु’ भनेको राजा हुनु पनि हुनसक्छ। (जकरिया ६:१२, १३) यहोवा, सिंहासनमा बस्नुहुने राजा भनेर पनि वर्णन गरिएको छ। (१ राजा २२:१९; यशैया ६:१; प्रकाश ४:१-३) उहाँ “युगयुगका महाराजा” हुनहुन्छ। यद्यपि, उहाँले सार्वभौमिकताको नयाँ पक्ष घोषणा गर्नुहुँदा सिंहासनमा पुनः बस्नुभएझैं उहाँ राजा हुनुभयो भन्‍न सकिन्छ।—१ इतिहास १६:१, ३१; यशैया ५२:७; प्रकाश ११:१५-१७; १५:३; १९:१, २, ६.

      १०. इस्राएली राजाहरूको प्रमुख भूमिका के थियो? व्याख्या गर्नुहोस।

      १० तर यहाँ एउटा महत्त्वपूर्ण बुँदा छ: पुरातन राजाहरूको प्रमुख कार्य, न्यायिक मामिलाहरू सुन्‍नु र न्याय गर्नु थियो। (हितोपदेश २९:१४) दुइटी स्त्रीले एकै जना बच्चामाथि हक दाबी गर्दा सुलेमानको बुद्धिमान न्यायलाई सम्झनुहोस्‌। (१ राजा ३:१६-२८; २ इतिहास ९:८) तिनका सरकारी भवनहरूमध्ये एउटा “न्याय गर्दा बस्ने सिंहासन भएको” भवन थियो र त्यसलाई “न्यायको ठूलो कोठा” पनि भनिन्थ्यो। (१ राजा ७:७) यरूशलेमलाई “इन्साफको सिंहासन” भएको ठाउँ भनी वर्णन गरिन्थ्यो। (भजन १२२:५) स्पष्ट छ, ‘सिंहासनमा बस्नु’ भनेको न्यायिक अख्तियार प्रयोग गर्नु पनि हुनसक्छ।—प्रस्थान १८:१३; हितोपदेश २०:८.

      ११, १२. (क) दानियल अध्याय ७ मा उल्लेख गरिएअनुसार यहोवा विराजमान हुनुको अर्थ के थियो? (ख) यहोवा न्यायकर्ताको हैसियतमा बस्नुहुन्छ भनी अरू शास्त्रपदहरूले कसरी पुष्टि गर्छ?

      ११ अब हामी दानियलले देखेको ‘अति वृद्ध व्यक्‍ति बस्नुभएको’ दृश्‍यमा ध्यान केन्द्रित गरौं। दानियल ७:१० ले यसप्रकार थप विवरण दिन्छ: “न्यायको निम्ति दरबार बस्यो, औ पुस्तकहरू खोलिए।” हो, संसारमाथि प्रभुता र मानिसको पुत्र शासन गर्न योग्य छ कि छैन भनी न्याय गर्न अति वृद्ध व्यक्‍ति बसेका थिए। (दानियल ७:१३, १४) त्यसपछि हामी यस्तो लेखिएको पाउँछौं: सर्वोच्चका “पवित्र जनहरूका पक्षमा निर्णय दिइयो” र तिनीहरू मानिसको पुत्रसित शासन गर्न योग्य ठहरिएकाहरू हुन्‌। (दानियल ७:२२) अन्ततः “न्यायको दरबार बस्नेछ” र अन्तिम विश्‍व शक्‍तिमाथि प्रतिकूल न्याय गर्नेछ।—दानियल ७:२६a

      १२ अतः, दानियलले परमेश्‍वर ‘सिंहासनमा विराजमान’ हुनुभएको देख्नुको अर्थ उहाँ न्याय गर्न आउनु हो। यसअघि दाऊदले यसरी गाएका थिए: “तपाईंले [यहोवा] मेरा न्याय र मामिला कायम गरिदिनुभएको छ, धर्मपूर्वक इन्साफ गरेर तपाईं सिंहासनमा विराजमान हुनुहुन्छ।” (भजन ९:४, ७) अनि योएलले यस प्रकार लेखे: “अन्यजातिहरू सुरिऊन्‌ र यहोशापातको बेंसीमा आऊन्‌, किनकि त्यहींनै म [यहोवा] चारैतिरका जातिहरूको इन्साफ गर्नलाई बस्नेछु।” (योएल ३:१२; यशैया १६:५ तुलना गर्नुहोस्‌।) येशू र पावल दुवैले एउटै प्रकारको न्यायिक परिस्थिति सामना गरे किनभने तिनीहरूको न्याय मानिसले सुनाउने थियो।b—यूहन्‍ना १९:१२-१६; प्रेरित २३:३; २५:६.

      येशूको स्थान

      १३, १४. (क) येशू राजा हुनुहुनेछ भनी परमेश्‍वरका जनहरूसित कस्तो आश्‍वासन थियो? (ख) येशू सिंहासनमा कहिले बस्नुभयो र उहाँले कुन अर्थमा सा.यु. ३३ देखि शासन गर्न थाल्नुभयो?

      १३ यहोवा राजा र न्यायकर्ता दुवै हुनुहुन्छ। येशू नि? उहाँको जन्मबारे घोषणा गर्ने स्वर्गदूतले यसो भने: “परमप्रभु परमेश्‍वरले उहाँलाई उहाँको पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ। . . . र उहाँको राज्यको अन्त हुनेछैन।” (लूका १:३२, ३३) दाऊदको राजत्वको स्थायी उत्तराधिकारी येशू हुनुहुने थियो। (२ शमूएल ७:१२-१६) उहाँले स्वर्गबाट शासन गर्नुहुने थियो किनभने दाऊदले यसरी भने: “परमप्रभुले मेरा प्रभुलाई [येशू] भन्‍नुभयो, तिमी मेरो दाहिने हाततर्फ बस जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान तुल्याउन्‍नँ। परमप्रभुले सियोनबाट तिम्रा पराक्रमको राजदण्ड पठाउनुहुनेछ, तिम्रा शत्रुहरूका बीचमा तिमीले राज्य गर।”—भजन ११०:१-४.

      १४ त्यो कहिले हुनेथियो? मानवको रूपमा हुनुहुँदा येशूले राजाको हैसियतमा शासन गर्नुभएन। (यूहन्‍ना १८:३३-३७) उहाँ सा.यु. ३३ मा मर्नुभयो, बिउँताइनुभयो र स्वर्गारोहण हुनुभयो। हिब्रू १०:१२ ले यसो भन्छ: “ख्रीष्टले ता पापको निम्ति सदाको लागि एउटै बलिदान चढ़ाएर उहाँ परमेश्‍वरको दाहिने बाहुलीतर्फ बस्नुभयो।” येशूसित कस्तो अख्तियार थियो? “[परमेश्‍वरले] आफ्नो दाहिने बाहुलीतर्फ सबै शासन, र अख्तियार, र शक्‍ति, र प्रभुत्व, र . . . अति श्रेय स्वर्गीय स्थानहरूमा बसाल्दा . . . र उहाँलाई सबै कुराको शिर हुनालाई मण्डलीलाई दिनुभयो।” (एफिसी १:२०-२२) त्यतिबेला येशूसित मसीहीहरूमाथि राजकीय अख्तियार भएकोले पावलले यसप्रकार लेख्न सके, यहोवाले “हामीलाई अन्धकारको शक्‍तिदेखि छुटाउनु र आफ्नो प्रेमी पुत्रको राज्यभित्र परिवर्त्तन गराउनुभयो।”—कलस्सी १:१३; ३:१.

      १५, १६. (क) सा.यु. ३३ मा येशू परमेश्‍वरको राज्यको राजा हुनुभएन भनेर हामी किन भन्‍न सक्छौं? (ख) येशूले परमेश्‍वरको राज्यमा कहिलेदेखि शासन गर्न थाल्नुभयो?

      १५ तथापि, त्यतिबेला येशूले राष्ट्रहरूमाथि राजा र न्यायकर्ताको हैसियतमा काम गर्न थाल्नुभएन। उहाँ परमेश्‍वरको छेऊमा बसालिनुभयो र परमेश्‍वरको राज्यको राजाको हैसियतमा काम गर्ने समय पर्खनुभयो। पावलले उहाँबारे यसरी लेखे: “स्वर्गदूतहरूमा कुन चाहिंलाई उहाँले कुनै बेला भन्‍नुभएको छ? ‘तिमी मेरो दाहिने हातितर बस, जहिलेसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउको पाउदान तुल्याउन्‍नँ।”—हिब्रू १:१३.

      १६ येशू सन्‌ १९१४ मा अदृश्‍य स्वर्गमा परमेश्‍वरको राज्यको शासक हुनुहुँदा उहाँले पर्खेर बस्नुपर्ने समयावधि अन्त भयो भन्‍ने यथेष्ट प्रमाणहरू यहोवाका साक्षीहरूले प्रकाशित गरेका छन्‌। प्रकाश ११:१५, १८ ले यसो भन्छ: “पृथ्वीको राज्य हाम्रा प्रभुको र उहाँका ख्रीष्टको राज्य भएको छ, उहाँले सदा सर्वदा राज्य गर्नुहुनेछ।” “औ जाति जातिहरू क्रोधित भए, . . . र तपाईंको क्रोध आएको छ।” हो, प्रथम विश्‍वयुद्ध ताका राष्ट्रहरू एकअर्काप्रति क्रोधित भए। (लूका २१:२४) अहिले परमेश्‍वरको राज्यमा येशूले शासन गरिरहनुभएको छ र संसारको अन्त नजीकै छ भनेर सन्‌ १९१४ देखि हामीले देखिरहेको युद्ध, भुइँचालो, रोग, अनिकाल तथा त्यस्तै अन्य घटनाहरूले प्रमाणित गर्छ।—मत्ती २४:३-१४.

      १७. हामीले अहिलेसम्म कुन मुख्य बुँदाहरू बुझ्यौं?

      १७ संक्षिप्त पुनरावृत्ति यसप्रकार छ: राजाको हैसियतमा परमेश्‍वर सिंहासनमा विराजमान हुनुभयो भन्‍न सकिन्छ। तर अर्को अर्थमा, उहाँ न्याय गर्न सिंहासनमा बस्न सक्नुहुन्छ। सा.यु. ३३ मा येशू परमेश्‍वरको दाहिने बाहुलीमा बस्नुभयो र अहिले त्यस राज्यको राजा हुनुहुन्छ। तर अहिले शासनारूढ राजा, येशू के न्यायकर्ता पनि हुनुहुन्छ? अनि विशेषगरि अहिले यो हाम्रो लागि किन चासोको विषय हो?

      १८. येशू न्यायकर्ता पनि हुनुहुनेछ भन्‍ने के प्रमाण छ?

      १८ न्यायकर्ताहरू नियुक्‍त गर्न अधिकारयुक्‍त यहोवाले आफ्नो स्तरअनुरूप येशूलाई न्यायकर्ता नियुक्‍त गर्नुभयो। मानिसहरू आध्यात्मिक तवरमा जीवित रहने विषयमा बताउनुहुँदा येशूले यसप्रकार व्यक्‍त गर्नुभयो: “पिताले कसैको इन्साफ गर्नुहुन्‍नँ, तर सबै इन्साफ गर्ने काम पुत्रलाई दिनुभएको छ।” (यूहन्‍ना ५:२२) यद्यपि, येशूको न्यायिक भूमिका त्यस प्रकारको न्याय गर्ने मात्रै होइन किनभने उहाँ जीवित तथा मृतकको न्यायकर्ता हुनुहुन्छ। (प्रेरित १०:४२; २ तिमोथी ४:१) पावलले एक चोटि यस्तो घोषणा गरे: “[परमेश्‍वरले] एक दिन ठहराउनुभएको छ, जुन दिनमा उहाँ आफूले नियुक्‍त गर्नुभएको मानिसद्वारा [येशू] धर्मपूर्वक संसारको इन्साफ गर्नुहुनेछ, जसको बारेमा उहाँलाई मरेकोबाट बिउँताएर सबै मानिसहरूलाई उहाँले विश्‍वास दिलाउनुभएको छ।”—प्रेरित १७:३१; भजन ७२:२-७.

      १९. येशू न्यायकर्ताको हैसियतमा बस्नुहुन्छ भन्‍नु किन सही हो?

      १९ न्यायकर्ताको विशिष्ट भूमिका निर्वाह गर्न येशू महिमित सिंहासनमा बस्नुहुन्छ भन्‍ने निष्कर्षमा पुग्नु के तर्कसंगत हो? हो। येशूले प्रेरितहरूलाई यसो भन्‍नुभयो: “नयाँ सृष्टिमा जब मानिसको पुत्र आफ्ना महिमाको सिंहासनमा बस्नेछ, तब तिमीहरू पनि इस्राएलका बाह्र कुलमाथि इन्साफ गर्दै बाह्रै सिंहासनमा बस्नेछौ।” (मत्ती १९:२८) येशू अहिले त्यस राज्यको राजा हुनु भए तापनि उहाँको थप क्रियाकलाप मत्ती १९:२८ मा उल्लेख गरिएको छ। त्यहाँ भनिएअनुसार उहाँले सहस्र राज्यमा न्याय गर्न सिंहासनमा बस्नुहुनेछ। त्यतिखेर उहाँले धर्मी तथा अधर्मी सम्पूर्ण मानवजातिको न्याय गर्नुहुनेछ। (प्रेरित २४:१५) हाम्रो समय र जीवनसित सम्बन्धित येशूको उखानमा ध्यान केन्द्रित गर्दा यो कुरालाई मनमा राख्नु मदतकारी हुन्छ।

      उखानले के भन्छ?

      २०, २१. हाम्रो समयसित सम्बन्धित कुन प्रश्‍न येशूका प्रेरितहरूले सोधे?

      २० येशू मर्नुभन्दा केही समयअघि उहाँका प्रेरितहरूले सोधे: “हामीलाई भन्‍नुहोस्‌, यो कुरा कहिले हुनेछन्‌, र तपाईंको आगमन र जगत्‌को अन्तको चिन्ह के हुनेछ?” (मत्ती २४:३) ‘अन्त आउनुअघि’ हुने उल्लेखनीय घटनाहरूबारे येशूले भविष्यवाणी गर्नुभयो। त्यस अन्तको अलिक समयअघि राष्ट्रहरूले “मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्‍ति र ठूलो महिमासित आउँदैगरेको देख्नेछन्‌।”—मत्ती २४:१४, २९, ३०.

      २१ तर, मानिसको पुत्र महिमासित आउँदा ती राष्ट्रहरूका मानिसहरूको अवस्था कस्तो हुनेछ? आउनुहोस्‌, भेडा र बाख्राहरूको उखानबाट यसलाई बुझौं। त्यस उखानको सुरुका शब्दहरू यसप्रकार छन्‌: “जब मानिसको पुत्र स्वर्गदूतहरूसमेत आफ्नो महिमामा आउला, तब आफ्नो महिमाको सिंहासनमा बस्नेछ। औ उसको सामु सबै देशका मानिसहरू जम्मा हुनेछन्‌।”—मत्ती २५:३१, ३२.

      २२, २३. भेडा र बाख्राको उखानको पूर्ति सन्‌ १९१४ देखि सुरु भएन भनी कुन बुँदाहरूले औंल्याउँछ?

      २२ हामीले पहिलेदेखि बुझ्दै आएअनुसार के यस उखानले सन्‌ १९१४ मा येशूले राजकीय शक्‍ति लिएर बस्नुभएको समयलाई बुझाउन खोजेको हो? वास्तवमा, मत्ती २५:३४ ले उहाँलाई राजा भनी अवश्‍य भनेको छ। अतः, सन्‌ १९१४ मा येशू राजा हुनुभएदेखि यस उखान लागू हुन्छ भन्‍नु तर्कसंगत देखिन्छ। तर उहाँले तत्पश्‍चात्‌ तुरुन्तै कस्तो न्याय गर्नुभयो? उहाँले “सबै देश[को]” न्याय गर्नुभएन। बरु, उहाँले “परमेश्‍वरकै परिवार” भनौंदाहरूतर्फ ध्यान केन्द्रित गर्नुभयो। (१ पत्रुस ४:१७) मलाकी ३:१-३ अनुरूप यहोवाको सन्देशवाहकको हैसियतमा येशूले पृथ्वीका शेष अभिषिक्‍त मसीहीहरूको न्यायिक निरीक्षण गर्नुभयो। यो मसीहजगतमाथि न्यायदण्डको समय पनि थियो, जसले आफूलाई “परमेश्‍वरकै परिवार” भन्‍ने झूटो दाबी गरेका थिए।c (प्रकाश १७:१, २; १८:४-८) यद्यपि, त्यतिबेला अर्थात्‌ सन्‌ १९१४ देखि येशूले सबै देशका मानिसहरूलाई भेडा र बाख्रा भनी न्याय गर्न थाल्नुभयो भन्‍ने कुनै संकेत पाइँदैन।

      २३ त्यस उखानमा येशूको क्रियाकलापलाई केलायौं भने उहाँले अन्ततः सबै देशलाई न्याय गरिरहनुभएको देख्छौं। गत दशकहरूमा मरेका सबै मानिसहरूको अनन्त मृत्यु वा अनन्त जीवनको लागि न्याय गरिएझैं अर्थ लाग्ने त्यो न्याय निकै वर्षसम्म चालू भइरहनेछ भनी त्यस उखानले देखाउँदैन। हालैका दशकहरूमा मरेका अधिकांश व्यक्‍तिहरू सार्वजनिक चिहानमा छन्‌ जस्तो देखिन्छ। (प्रकाश ६:८; २०:१३) तर, त्यस उखानले “सबै देशका” मानिसहरूलाई येशूले न्याय गर्नुहुने समयको चित्रण गर्छ जुन बेला तिनीहरू जीवित र उहाँको न्यायदण्ड पर्खिरहेका हुनेछन्‌।

      २४. भेडा र बाख्राको उखान कहिले पूरा हुनेछ?

      २४ अर्को शब्दमा भन्‍ने हो भने, त्यस उखानले भविष्यमा मानिसको पुत्र महिमासित आउने समयलाई इंगित गर्छ। त्यतिबेला जीवित मानिसहरूको न्याय गर्न उहाँ सिंहासनमा बस्नुहुनेछ। तिनीहरू वास्तवमा जस्ता छन्‌ त्यसैको आधारमा उहाँले न्याय गर्नुहुनेछ। त्यतिखेर “धर्मी र दुष्टबीचको भिन्‍नता” स्पष्ट भइसकेको हुनेछ। (मलाकी ३:१८) सीमित समयभित्र न्याय घोषणा गरेर न्याय गरिनेछ। त्यसपछि व्यक्‍तिविशेषबारे प्रमाणित भइसकेका तथ्यहरूको आधारमा येशूले सही निर्णयहरू गर्नुहुनेछ।—२ कोरिन्थी ५:१० पनि हेर्नुहोस्‌।

      २५. मत्ती २५:३१ मा मानिसको पुत्र महिमित सिंहासनमा बसिरहेको देख्नुको आशय के हो?

      २५ त्यसोभए, यसको अर्थ, मत्ती २५:३१ मा उल्लेख गरेअनुसार येशू ‘महिमाको सिंहासनमा बस्नु’ भनेको भविष्यमा हुने घटना हो। त्यतिबेला यस शक्‍तिशाली राजाले सबै देशहरूमाथि न्यायको घोषणा तथा त्यसलाई कार्यान्वयन गर्न सिंहासनमा बस्नुहुनेछ। हो, मत्ती २५:३१-३३, ४६ मा येशूले गर्नुहुने न्यायको दृश्‍यलाई दानियल अध्याय ७ को दृश्‍यसित दाँज्न सकिन्छ। त्यस दृश्‍यमा शासनारूढ राजा अर्थात्‌ अति वृद्धि व्यक्‍ति सिंहासनमा बस्नुभएर न्यायकर्ताको भूमिका निर्वाह गर्न थाल्नुभयो।

      २६. यो उखानको कुन नयाँ स्पष्टिकरण प्रष्ट भयो?

      २६ भेडा र बाख्राको उखानको यो अर्थले भेडा र बाख्राको न्याय भविष्यमा हुनेछ भनेर संकेत गर्छ। मत्ती २४:२९, ३० मा उल्लिखित “संकष्ट[को]” सुरुआत र मानिसको पुत्र ‘महिमासित आएपछि’ यो न्याय हुनेछ। (मर्कूस १३:२४-२६ तुलना गर्नुहोस्‌।) त्यसपछि, सम्पूर्ण दुष्ट रीतिरिवाज अन्तको संघारमा पुगेपछि येशूले सबैलाई भेला गर्नुभएर न्याय गर्नुहुनेछ।—यूहन्‍ना ५:३०; २ थिस्सलोनिकी १:७-१०.

      २७. येशूको अन्तिम उखानबारे कुन कुरा जान्‍न हामी उत्सुक हुनुपर्ने हो?

      २७ यसले येशूको उखानको समयावधिलाई स्पष्ट पार्छ। त्यसमा भेडा र बाख्राको न्याय कहिले हुनेछ भनेर देखाइएको छ। तर अहिले जोशका साथ राज्यको सुसमाचार प्रचार गरिरहेकाहरूलाई यसले कसरी असर गर्छ? (मत्ती २४:१४) के यसले हाम्रो कार्यलाई कम महत्त्वपूर्ण बनाउँछ वा हामीमाथि अझ गहन जिम्मेवारी ल्याउँछ? हामी कसरी प्रभावित छौं, यसपछिको लेखमा हेरौं।

  • भेडा र बाख्राहरूसामु कस्तो भविष्य छ?
    प्रहरीधरहरा—१९९५ | अक्टोबर १५
    • भेडा र बाख्राहरूसामु कस्तो भविष्य छ?

      “जसरी गोठालाले भेड़ालाई बाख्राबाट छुट्याउँछ, उसरीनै उसले तिनीहरू एकलाई अर्कोबाट छुट्याउनेछ।”—मत्ती २५:३२.

      १, २. भेडा र बाख्राको उखान हामीलाई किन चासो लाग्नुपर्ने हो?

      येशू ख्रीष्ट साँच्चै नै यस पृथ्वीमा बाँचेकाहरूमध्ये सबैभन्दा महान्‌ शिक्षक हुनुहुन्थ्यो। (यूहन्‍ना ७:४६) उहाँको शिक्षण तरिकामध्ये एउटा उखान वा दृष्टान्तहरूको प्रयोग थियो। (मत्ती १३:३४, ३५) यिनीहरू सरल भए तापनि गहन आध्यात्मिक तथा भविष्यसूचक सत्य प्रस्तुत गर्न जोडदार साबित भए।

      २ भेडा र बाख्राको उखानमा येशूले विशेष कार्य गर्ने समयबारे औंल्याउँदै यसो भन्‍नुभयो: “जब मानिसको पुत्र स्वर्गदूतहरूसमेत आफ्नो महिमामा आउला, तब . . . ” (मत्ती २५:३१) यो हामीलाई चाखलाग्दो हुनुपर्ने हो किनभने येशूले यही दृष्टान्तद्वारा निम्न प्रश्‍नको जवाफ टुंग्याउनुभयो: “हामीलाई भन्‍नुहोस्‌, यो कुरा कहिले हुनेछन्‌, र तपाईंको आगमन र जगत्‌को अन्तको चिन्ह के हुनेछ?” (मत्ती २४:३) तर यसले हाम्रो लागि के अर्थ राख्छ?

      ३. येशूले आफ्नो वक्‍तव्यमा महा संकष्ट सुरु भएको तुरुन्तपछि के हुनेछ भन्‍नुभयो?

      ३ महा संकष्टको “तुरुन्त पछि” हुने उल्लेखनीय घटनाहरूबारे येशूले भविष्यवाणी गर्नुभयो। ती घटनाहरूको हामी प्रतिक्षा गर्छौं। उहाँले भन्‍नुभएअनुसार, त्यतिबेला “मानिसको पुत्रको चिन्ह” देखापर्नेछ। यसले “मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्‍ति र ठूलो महिमासित आउँदैगरेको” देख्ने “पृथ्वीका सब जातिहरू[लाई]” निकै असर गर्नेछ। मानिसको पुत्रको साथमा “स्वर्गदूतहरू” हुनेछन्‌। (मत्ती २४:२१, २९-३१)a भेडा र बाख्राको उखानबारे के भन्‍न सकिन्छ? आधुनिक बाइबलहरूमा यो उखान अध्याय २५ मा राखिएको छ तर यो येशूको जवाफको भाग हो। यहाँ येशूले उहाँ महिमामा आउने विषयमा थप जानकारी दिनुहुन्छ र “सब जातिहरू[को]” न्यायमा ध्यान केन्द्रित गर्नुहुन्छ।—मत्ती २५:३२.

      उखानका पात्रहरू

      ४. भेडा र बाख्राको उखानको सुरुमा येशूबारे के उल्लेख गरेको पाइन्छ र साथै अरू कसको पनि उल्लेख गरिएको छ?

      ४ येशूले यसो भन्दै उखान सुरु गर्नुहुन्छ: ‘जब मानिसको पुत्र आउला।’ “मानिसको पुत्र” को हो भनी तपाईंलाई थाहै होला। सुसमाचार पुस्तकका लेखकहरूले येशूलाई बुझाउन प्रायजसो उक्‍त अभिव्यक्‍ति प्रयोग गरे। येशू स्वयंले पनि गर्नुभयो। निस्सन्देह, उहाँले “मानिसको पुत्रजस्तै कोही” अति प्राचीन उमेरकहाँ “सर्वाधिकार, महिमा र राज्याधिकार” लिन आउनुभएको दानियलको दर्शन सम्झनुभएको हुनुपर्छ। (दानियल ७:१३, १४; मत्ती २६:६३, ६४; मर्कूस १४:६१, ६२) यस उखानको प्रमुख पात्र येशू हुनु भए तापनि उहाँ एक्लो हुनुहुन्‍न। मत्ती २४:३०, ३१ मा उद्धरण गरिएअनुसार मानिसको पुत्र ‘शक्‍ति र ठूलो महिमामा’ आउनुहुँदा स्वर्गदूतहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछन्‌ भन्‍नुभयो। त्यस्तैगरि, भेडा र बाख्राको उखानमा येशू न्याय गर्न ‘महिमाको सिंहासनमा बस्नुहुँदा’ उहाँको साथमा स्वर्गदूतहरू चित्रण गरिएको छ। (मत्ती १६:२७ तुलना गर्नुहोस्‌।) तर न्यायकर्ता र उहाँका स्वर्गदूतहरू स्वर्गमा छन्‌। अतः के यो उखानमा मानिसहरूबारे छलफल गरिएको छ?

      ५. हामीले येशूका “भाइहरू” कसरी चिन्‍न सक्छौं?

      ५ उखानलाई सरसरती हेर्दा हामीले चिन्‍नुपर्ने तीन वटा समूह देखिन्छ। भेडा र बाख्राको अलावा मानिसको पुत्रले तेस्रो समूह पनि समावेश गर्छन्‌। भेडा र बाख्राहरूलाई चिन्‍न यस समूहको चिनारीले निर्णायक भूमिका निर्वाह गर्छ। येशूले यस तेस्रो समूहलाई उहाँका आत्मिक भाइहरू भनी सम्बोधन गर्नुहुन्छ। (मत्ती २५:४०, ४५) तिनीहरू साँचो उपासकहरू हुनुपर्छ किनभने येशूले यसो भन्‍नुभयो: “जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्दछ, त्यही मेरो भाइ, र मेरो बहिनी, र मेरो आमा हो।” (मत्ती १२:५०; यूहन्‍ना २०:१७) अझ सान्दर्भिक प्रसंग यो हो, पावलले ती मसीहीहरूबारे लेखे, जो “अब्राहामका वंश[को]” र परमेश्‍वरका पुत्रहरू हुन्‌। तिनले यिनीहरूलाई येशूका “भाइहरू” र “स्वर्गीय बोलावटका सह-भागी” भनी सम्बोधन गरे।—हिब्रू २:९–३:१; गलाती ३:२६, २९.

      ६. येशूका भाइहरूमध्ये “सबैभन्दा सानो” को हुन्‌?

      ६ येशूले आफ्ना भाइहरूमध्ये “सबैभन्दा सानो” भनेर किन उल्लेख गर्नुभयो? येशूले आफ्ना प्रेरितहरूलाई पहिले भनिसक्नुभएको कुरा दोहोऱ्‍याउँदै हुनुहुन्थ्यो। येशूभन्दा अघि मर्ने अनि पार्थिव आशा हुने बप्तिस्मा दिने यूहन्‍ना र स्वर्गीय जीवन पाउनेहरूबीच भिन्‍नता देखाउन येशूले यसो भन्‍नुभयो: “मानिसमध्ये बप्तिस्मा दिने यूहन्‍नाभन्दा ठूलो कोही उठेको छैन। तरैपनि स्वर्गको राज्यमा जो सबैभन्दा सानो छ, त्यो यिनीभन्दा ठूलो हो।” (मत्ती ११:११) स्वर्गमा जानेहरूमध्ये केही, प्रेरितहरूजस्तै मण्डलीमा प्रतिष्ठित व्यक्‍तिहरू थिए होलान्‌। अरू भने त्यति प्रतिष्ठित थिएनन्‌ होला तर तिनीहरू सबै येशूका आध्यात्मिक भाइहरू हुन्‌। (लूका १६:१०; १ कोरिन्थी १५:९; एफिसी ३:८; हिब्रू ८:११) तसर्थ, पृथ्वीमा छँदा केही महत्त्वहीन देखिए तापनि तिनीहरू उहाँका भाइहरू थिए र तिनीहरूलाई त्यसैअनुरूपको व्यवहार गर्नुपर्ने थियो।

      भेडा र बाख्राहरू को को हुन्‌?

      ७, ८. येशूले भेडाहरूबारे के भन्‍नुभयो, अतः हामी तिनीहरूबारे कस्तो निष्कर्षमा पुग्नसक्छौं?

      ७ भेडाहरूको न्यायबारे हामी यस्तो लेखिएको पाउँछौं: “[येशूले] आफ्ना दाहिने हातपट्टिकाहरूलाई भन्‍नेछन्‌, ‘आओ, ए मेरा पिताका धन्यका हो, जो राज्य जगत्‌को उत्पत्तिदेखि तिमीहरूका निम्ति तयार गरिएको छ, त्यो अधिकार गर। किनभने म भोकाएको थिएँ, तिमीहरूले मलाई खान दियौ। म तिर्खाएको थिएँ, तिमीहरूले मलाई पिउन दियौ। म परदेशी थिएँ, तिमीहरूले मलाई तिमीहरूकहाँ लग्यौ। नांगो थिएँ, तिमीहरूले मलाई पहिरायौ। बिरामी थिएँ, तिमीहरूले मेरो हेरचाहा गऱ्‍यौ। झ्यालखानमा थिएँ, तिमीहरू मकहाँ आयौ। तब धार्मिकहरूले उनलाई यसो भन्दै जवाफ दिनेछन्‌, ‘हे प्रभु कहिले हामीले तपाईंलाई भोकाउनुभएको देख्यौं, र तपाईंलाई खान दियौं? अथवा तिर्खाउनुभएको, र तपाईंलाई पिउनदियौं? औ कहिले हामीले तपाईंलाई परदेशी देख्यौं, र तपाईंलाई हामीहरूकहाँ ल्यायौं? अथवा नांगो, र पहिरायौं? र कहिले हामीले तपाईंलाई बिरामी पर्नुभएको, अथवा झ्यालखानमा देख्यौं, र तपाईंकहाँ आयौं? तब राजाले तिनीहरूलाई जवाफ दिएर भन्‍नेछन्‌, ‘म तिमीहरूलाई साँच्चै भन्दछु, तिमीहरूले यी मेरा भाइहरूमध्ये सबैभन्दा सानो एउटालाई जे जति गऱ्‍यौ, त्यो तिमीहरूले मलाईनै गऱ्‍यौ।”—मत्ती २५:३४-४०.

      ८ स्पष्टतः, येशूको आदर र अनुमोदनको दाहिनेपट्टि बस्न योग्य ठहरिएका भेडाहरूले मानिसहरूको एउटा वर्गलाई चित्रित गर्छ। (एफिसी १:२०; हिब्रू १:३) तिनीहरूले के गरे र कहिले? येशू भन्‍नुहुन्छ, तिनीहरूले दया, आदरपूर्वक अनि उदारचित्तका साथ उहाँलाई खान, पिउन, लुगाफाटा दिए र उहाँ बिरामी वा जेलमा पर्नुहुँदा मदत गरे। भेडाहरू भन्छन्‌, तिनीहरूले येशूलाई व्यक्‍तिगत तवरमा यीमध्ये केही गरेनन्‌। तर उहाँले औंल्याउनुहुन्छ, तिनीहरूले उहाँका आत्मिक भाइहरू अर्थात्‌ अभिषिक्‍त मसीहीहरूको शेष जनप्रति जेजति गरे, त्यो उहाँलाई नै गरेजस्तै हो।

      ९. यो उखानको पूर्ति सहस्र वर्षमा किन हुन सक्दैन?

      ९ यो उखान सहस्र राज्यमा लागू हुँदैन किनभने त्यतिबेला अभिषिक्‍त जनहरूले मानव भोक, तिर्खा, बिमारी वा जेल सजाय अनुभव गर्नेछैनन्‌। तर, तिनीहरूमध्ये धेरैले यस रीतिरिवाजको अन्ततिर त्यस्ता अनुभवहरू गरिसके। आफू पृथ्वीमा फ्याँकिएदेखि शैतानले विशेषगरि यी शेष जनहरूलाई आफ्नो क्रोधको तारो बनाएर तिनीहरूको उपहास गरेको छ, सताएको छ र तिनीहरूलाई मारेको छ।—प्रकाश १२:१७.

      १०, ११. (क) येशूका भाइहरूप्रति दयालु कार्य गर्ने जोसुकै पनि भेडा हुन्‌ भनेर सोच्नु किन अव्यवहारिक हुनेछ? (ख) कसलाई उपयुक्‍त ढंगमा भेडाहरूले चिनाउँछ?

      १० के येशूले यहाँ उहाँका भाइहरूमध्ये कसैलाई एक टुक्रा रोटी, एक गिलास पानी दिने जस्ता दयाको सानो कार्य गर्दैमा भेडा हुन योग्य हुन्छन्‌ भन्‍न खोज्नुभएको हो? त्यस्तो दया देखाउँदा मानव दया झल्किएला तर यस उखानको भेडा हुन त्यति मात्रै गरेर पुग्दैन जस्तो देखिन्छ। उदाहरणको लागि, आफ्ना भाइहरूप्रति दयापूर्ण सानो कार्य गर्ने नास्तिक वा पादरीहरूलाई येशूले पटक्कै संकेत गरिरहनुभएको थिएन। त्यसको विपरीत, येशूले भेडालाई दुइ चोटि “धार्मिकहरू” भनेर सम्बोधन गर्नुभयो। (मत्ती २५:३७, ४६) अतः भेडाहरू ती जनहरू हुनुपर्छ जसले समयको दौडान ख्रीष्टका भाइहरूलाई सक्रियतापूर्वक साथ दिए अनि परमेश्‍वरसमक्ष धर्मी साबित हुन विश्‍वास प्रदर्शन गरे।

      ११ गत शताब्दीहरूमा अब्राहामजस्ता थुप्रै मानिसहरू धर्मी साबित भएका छन्‌। (याकूब २:२१-२३) नूह, अब्राहाम र अन्य विश्‍वासी जनहरू “अरू भेडा[मा]” समावेश छन्‌ र तिनीहरूले परमेश्‍वरको राज्यअन्तर्गत प्रमोदवनमा जीवन पाउनेछन्‌। हालैका वर्षहरूमा लाखौंले अरू भेडाको हैसियतमा साँचो उपासनालाई स्वीकारेका छन्‌ र अभिषिक्‍त जनहरूसित “एकै बगाल” भएका छन्‌। (यूहन्‍ना १०:१६; प्रकाश ७:९) पार्थिव आशा भएका यी व्यक्‍तिहरूले येशूका भाइहरूलाई त्यस राज्यको राजदूतहरू भनी चिन्छन्‌ र तिनीहरूलाई भौतिक तथा आध्यात्मिक तवरमा मदत गरेका छन्‌। अरू भेडाले यस पृथ्वीमा भएका उहाँका भाइहरूलाई जे जति गरेका छन्‌, येशूले त्यो आफूलाई गर्नुभएको सम्झनुहुन्छ। उहाँले राष्ट्रहरूको न्याय गर्न आउनुहुँदा ती व्यक्‍तिहरू जीवित छन्‌ भने तिनीहरू भेडा साबित हुनेछन्‌।

      १२. येशूप्रति कसरी दया देखाए भनेर भेडाहरूले किन सोध्न सक्छन्‌?

      १२ अहिले अरू भेडाले अभिषिक्‍त जनसित मिलेर सुसमाचार प्रचार गर्नुको साथै तिनीहरूलाई मदत गरिरहेका छन्‌ भने यो प्रश्‍न किन गर्नेथिए: “हे प्रभु कहिले हामीले तपाईंलाई भोकाउनुभएको देख्यौं, र तपाईंलाई खान दियौं? अथवा तिर्खाउनुभएको, र तपाईंलाई पिउनदियौं?” (मत्ती २५:३७) यो प्रश्‍न गर्नुको थुप्रै कारणहरू हुनसक्छन्‌। यो एउटा उखान हो। यस मार्फत येशूले आफ्ना आत्मिक भाइहरूप्रति गहिरो चासो देखाउनुहुन्छ। उहाँले तिनीहरूका भावना तथा दुःखहरू बुझ्नुहुन्छ। येशूले यसअघि यसो भन्‍नुभएको थियो: “तिमीहरूलाई ग्रहण गर्नेले मलाई ग्रहण गर्दछ, र मलाई ग्रहण गर्नेले मलाई पठाउनेलाई ग्रहण गर्दछ।” (मत्ती १०:४०) येशूले यस उखानद्वारा एउटा सिद्धान्त बुझाउनुभयो। उहाँका भाइहरूप्रति गरिने (असल वा खराब) कार्य स्वर्गसम्मै पुग्छ। त्यो उहाँलाई स्वर्गमा गरेजस्तै हो। साथै, यहाँ येशूले न्यायसम्बन्धी यहोवाको स्तरलाई जोड दिनुहुँदै परमेश्‍वरले दिनुहुने न्याय, चाहे अनुकूल वा प्रतिकूल होस्‌, न्यायोचित र सही हुन्छ भनेर स्पष्ट पार्नुहुन्छ। बाख्राहरूले यो बहाना गर्न सक्दैनन्‌, ‘हामीले तपाईंलाई प्रत्यक्षतः देखेको मात्र भए पनि हुनेथियो।’

      १३. बाख्राखाले मानिसहरूले येशूलाई “प्रभु” भनी किन सम्बोधन गर्नसक्छन्‌?

      १३ यस उखानमा देखाइएको न्याय कार्यान्वयन हुने समयलाई बुझेपछि हामीले बाख्राहरू को हुन्‌ भनेर स्पष्टसित बुझ्नसक्छौं। यसको पूर्ति हुँदा “मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ औ पृथ्वीका सब जातिहरू विलाप गर्नेछन्‌, र तिनीहरूले मानिसको पुत्रलाई . . . शक्‍ति र ठूलो महिमासित आउँदैगरेको देख्नेछन्‌।” (मत्ती २४:२९, ३०) महान्‌ बेबिलोनमाथि आइपर्ने संकष्टबाट बच्ने तर राजाका भाइहरूप्रति दुर्व्यवहार गर्ने व्यक्‍तिहरूले समेत आफ्नो जीवन बचाउने आशामा न्यायकर्तालाई “प्रभु” भनेर सम्बोधन गर्नेछन्‌।—मत्ती ७:२२, २३; प्रकाश ६:१५-१७ तुलना गर्नुहोस्‌।

      १४. येशूले कुन आधारमा भेडा र बाख्राको न्याय गर्नुहुनेछ?

      १४ पहिले चर्च जाने, नास्तिक वा अन्य व्यक्‍तिहरूका व्याकुल दाबीहरूको आधारमा येशूको न्याय निर्भर हुनेछैन। (२ थिस्सलोनिकी १:८) बरु, न्यायकर्ताले मानिसहरूको हृदय र “[उहाँका भाइहरूमध्ये] सबैभन्दा सानोलाई” पहिले गरेका कार्यहरू जाँच्नुहुनेछ। हो, पृथ्वीमा शेष अभिषिक्‍त जनहरूको संख्या घट्‌दैछ। तथापि, अभिषिक्‍त जनहरूद्वारा बनिएको “विश्‍वासी र बुद्धिमान दास[ले]” आध्यात्मिक आहार र निर्देशन प्रदान गरूञ्जेलसम्म ‘हरेक जातिबाटको र सबै कुलको र मानिसको ठूलो भीडले’ गरेझैं सम्भाव्य भेडाले दासवर्गप्रति भलाई गर्ने अवसर पाउनेछन्‌। तिनीहरूले यही नै गर्दै आएका छन्‌।—प्रकाश ७:९, १४.

      १५. (क) कसरी धेरैले आफूलाई बाख्राखाले देखाएका छन्‌? (ख) कुनै व्यक्‍तिलाई हामीले भेडा वा बाख्रा भनी किन भन्‍नु हुँदैन?

      १५ ख्रीष्टका भाइहरू र तिनीहरूसित एक भएका लाखौं अन्य भेडा मिलेर बनेको एउटै बगालप्रति कस्तो व्यवहार गरिएको छ? धेरै मानिसहरूले ख्रीष्टका प्रतिनिधिहरूलाई व्यक्‍तिगत तवरमा आक्रमण गरेनन्‌ होला तर तिनीहरूले उहाँका जनहरूप्रति मायालु व्यवहार पनि गरेका छैनन्‌। यस दुष्ट संसारलाई रुचाउँदै यी बाख्राखाले मानिसहरूले राज्यको समाचारलाई प्रत्यक्ष वा अप्रत्यक्ष ढंगमा सुनेका होस्‌, त्यसलाई इन्कार गर्छन्‌। (१ यूहन्‍ना २:१५-१७) निस्सन्देह, अन्ततः न्याय गर्न नियुक्‍त गर्नुभएको व्यक्‍ति येशू नै हुनुहुन्छ। भेडा र बाख्राहरू को को हुन्‌ भनेर निर्धारण गर्ने काम हाम्रो होइन।—मर्कूस २:८; लूका ५:२२; यूहन्‍ना २:२४, २५; रोमी १४:१०-१२; १ कोरिन्थी ४:५.

      हरेक समूहसमक्ष कस्तो भविष्य छ?

      १६, १७. भेडाहरूको भविष्य कस्तो हुनेछ?

      १६ येशूले भेडाहरूलाई यस्तो न्याय सुनाउनुभयो: “आओ, ए मेरा पिताका धन्यका हो, जो राज्य जगत्‌को उत्पत्तिदेखि तिमीहरूका निम्ति तयार गरिएको छ, त्यो अधिकार गर।” कस्तो न्यानो निमन्त्रणा—“आओ”! तर कहाँ आउने? येशूले अन्तमा भन्‍नुभएजस्तै अनन्त जीवनको लागि अर्थात्‌ “धार्मिकहरूचाहिं अनन्त जीवनमा जानेछन्‌।”—मत्ती २५:३४, ४६.

      १७ स्वर्गमा उहाँसित शासन गर्न कुन कुरा आवश्‍यक छ भनी येशूले तोडाको उखानमा देखाउनुभयो। तर उहाँले यस उखानमा राज्यका प्रजाहरूबाट के आशा गरिन्छ, त्यो देखाउनुभयो। (मत्ती २५:१४-२३) तोकेर भन्‍ने हो भने, तिनीहरूले येशूका भाइहरूलाई पूरा मनतनले समर्थन गरेको हुँदा भेडाहरूले उहाँको राज्यको पार्थिव संसारमा प्रवेश गर्न पाउनेछन्‌। तिनीहरूले पार्थिव प्रमोदवनमा जीवनको आनन्द उठाउनेछन्‌। छुटकारा पाउन योग्य मानवजातिको लागि परमेश्‍वरले यो प्रत्याशा “जगत्‌को शुरूदेखि” तयार पार्नुभएको थियो।—लूका ११:५०, ५१.

      १८, १९. (क) येशूले बाख्राहरूमाथि कस्तो न्याय गर्नुहुनेछ? (ख) बाख्राहरूले अनन्त दुःख भोग्नेछैनन्‌ भनेर हामी किन निर्धक्क हुनसक्छौं?

      १८ बाख्रामाथि गरिने न्यायभन्दा कति भिन्‍न! “त्यसपछि उनले देब्रे हातपट्टिकाहरूलाई पनि भन्‍नेछन्‌, ‘ए श्रापित हो, शैतान र त्यसका दूतहरूका लागि तयार गरिएको अनन्त आगोमा मबाट दूर भइजाओ। किनभने म भोकाएको थिएँ, तिमीहरूले मलाई खानदिएनौ। तिर्खाएको थिएँ, तिमीहरूले मलाई पिउनदिएनौ। म परदेशी थिएँ, तिमीहरूले मलाई आफूकहाँ लगेनौ। नांगो, थिएँ र तिमीहरूले मलाई पहिराएनौ बिमारी र झ्यालखानमा थिएँ, र तिमीहरू मलाई हेर्न आएनौ। तापनि तिनीहरूले यसो भनेर जवाफ दिनेछन्‌, ‘हे प्रभु कहिले हामीहरूले तपाईंलाई भोकाएका वा तिर्खाएका, परदेशी, वा नांगो वा बिरामी, वा झ्यालखानमा देख्यौं, र तपाईंको सेवा गरेनौं?’ तब उनले तिनीहरूलाई यसो भनेर जवाफ दिनेछन्‌, ‘म तिमीहरूलाई साँच्चै भन्दछु, यी सबैभन्दा सानाहरूमध्ये एउटालाई जे जति गरेनौ, त्यो तिमीहरूले मलाईनै गरेनौ।’”—मत्ती २५:४१-४५.

      १९ यसको अर्थ, भेडाखाले मानिसहरूको अमर आत्मा अनन्त आगोमा तड्‌पिने होइन भनी बाइबल विद्यार्थीहरूलाई थाह छ। त्यसो होइन, किनभने मानिसहरूनै प्राण हुन्‌। तिनीहरू-सित अमर आत्मा हुँदैन। (उत्पत्ति २:७; उपदेशक ९:५, १०; इजकिएल १८:४) न्यायकर्ताले बाख्राहरूलाई “अनन्त आगो”-मा दण्ड दिनुको अर्थ भावी आशाबिनाको विनाश हो। यसको अर्थ, दियाबल तथा त्यसका दूतहरूको स्थायी अन्त पनि हुनेछ। (प्रकाश २०:१०, १४) यसप्रकार यहोवाको न्यायकर्ताले बेग्लाबेग्लै न्याय गर्नुहुन्छ। उहाँले भेडाहरूलाई “आओ” भन्‍नुहुन्छ। तर बाख्राहरूलाई “मबाट दूर भइजाओ” भन्‍नुहुन्छ। भेडाले “अनन्त जीवन” पाउनेछन्‌। बाख्राले “अनन्त दण्ड” भोग्नेछन्‌।—मत्ती २५:४६.b

      हाम्रो लागि यसको अर्थ के हो?

      २०, २१. (क) मसीहीहरूले गर्नुपर्ने अत्यावश्‍यक कार्य के हो? (ख) अहिले कस्तो प्रकारको छुट्याउने कार्य भइरहेको छ? (ग) भेडा र बाख्राको उखान पूरा हुन थाल्दा मानिसहरूको अवस्था कस्तो हुनेछ?

      २० येशूको उपस्थिति र जगत्‌को अन्तबारे उहाँको जवाफ सुन्‍ने चार प्रेरितहरूले सोचविचार गर्नुपर्ने निकै कुरा थियो। तिनीहरू जागा रहेर सतर्क बस्नुपर्ने थियो। (मत्ती २४:४२) तिनीहरूले मर्कूस १३:१० मा उल्लिखित साक्षी कार्य पनि गर्नुपर्ने थियो। आज यहोवाका साक्षीहरूले जोशका साथ त्यो कार्य गरिरहेका छन्‌।

      २१ तर, भेडा र बाख्राको उखानबारे पाएको यस नयाँ जानकारीले हाम्रो लागि कस्तो अर्थ राख्छ? भनौं भने, मानिसहरूले अहिले नै पक्ष र विपक्ष लिइरहेका छन्‌। केही ‘विनाशमा पुऱ्‍याउने फराकिलो बाटोमा हिंडिरहेका छन्‌’ भने केही ‘जीवनमा पुऱ्‍याउने साँघुरो बाटोमा रहने’ प्रयास गर्छन्‌। (मत्ती ७:१३, १४) तर उखानमा चित्रण गरिएअनुसार येशूले भेडा र बाख्रामाथि गर्नुहुने अन्तिम न्याय अझै भविष्यमा हुने घटना हो। मानिसको पुत्र न्यायकर्ताको हैसियतमा आउनुहुँदा उहाँले थुप्रै साँचो मसीहीहरू अर्थात्‌ समर्पित भेडाको “ठूलो भीड़” “महा संकष्ट[को]” अन्त पार गरेर नयाँ संसारमा प्रवेश गर्न योग्य ठहरिएको पाउनुहुनेछ। त्यो प्रत्याशा अहिले आनन्दको स्रोत हुनुपर्ने हो। (प्रकाश ७:९, १४) अर्कोतर्फ, “हरेक जातिबाटको” अधिकतम मानिसहरूले आफूलाई ढिट बाख्राहरू साबित गरिसकेका हुनेछन्‌। तिनीहरूले “अनन्त दण्ड” भोग्नेछन्‌। पृथ्वीको लागि कस्तो छुटकारा!

      २२, २३. यो उखान भविष्यमा पूरा हुने भए तापनि आज हाम्रो प्रचारकार्य किन महत्त्वपूर्ण छ?

      २२ उखानमा वर्णन गरिएको न्याय निकट भविष्यमा हुने भए तापनि अहिले एउटा महत्त्वपूर्ण कार्य भइरहेको छ। हामी मसीहीहरू जीवनदायी समाचार घोषणा गर्ने कार्यमा भाग लिइरहेका छौं। यस कार्यद्वारा मानिसहरू छुट्याइन्छन्‌। (मत्ती १०:३२-३९) पावलले यसप्रकार लेखे: “किनकि प्रभुको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ। तब जसलाई तिनीहरूले विश्‍वास गरेकै छैनन्‌ उहाँलाई कसरी पुकार्ने? जसलाई तिनीहरूले सुनेकै छैनन्‌ उहाँलाई कसरी विश्‍वास गर्ने? औ प्रचार गर्नेविना तिनीहरूले कसरी सुन्‍नसक्लान्‌?” (रोमी १०:१३, १४) परमेश्‍वरको नाउँ र मुक्‍तिको समाचार हाम्रो जन सेवकाईद्वारा २३० भन्दा बढी मुलुकका मानिसहरूसम्म पुगेको छ। ख्रीष्टका अभिषिक्‍त भाइहरूले यस कार्यलाई नेतृत्व गरिरहेका छन्‌। तिनीहरूलाई लगभग ५० लाख अरू भेडाले साथ दिइरहेका छन्‌। अनि विश्‍वभरिका मानिसहरूले येशूका भाइहरूको समाचारलाई सुनिरहेका छन्‌।

      २३ हामीले घर-घर वा अनौपचारिक तरिकाद्वारा प्रचार गर्दा थुप्रैले हाम्रो समाचारबारे जानकारी पाउँछन्‌। हामीलाई पत्तै नभएको ढंगबाट अरूले यहोवाका साक्षीहरूबारे सिक्नसक्छन्‌। न्यायको समयमा येशूले कुन हदसम्म सामुदायिक जिम्मेवारी वा परिवारको आधारमा न्याय गर्नुहुनेछ? त्यो हामी भन्‍न सक्दैनौं र अनुमान लगाउन खोज्नु बेकार हो। (१ कोरिन्थी ७:१४ तुलना गर्नुहोस्‌।) आज धेरैले परमेश्‍वरका जनहरूलाई जानाजानी अवहेलना तथा उपहास गर्छन्‌ वा प्रत्यक्ष सतावट दिन्छन्‌। यसर्थ, यो निर्णायक समय हो। येशूले बाख्रा ठहराउनुहुने मानिसहरूको जस्तो झुकाउ ती मानिसहरूले देखाइरहेका हुनसक्छन्‌।—मत्ती १०:२२; यूहन्‍ना १५:२०; १६:२, ३; रोमी २:५, ६.

      २४. (क) हाम्रो प्रचारकार्यप्रति व्यक्‍तिविशेषहरूले अनुकूल प्रतिक्रिया देखाउनु किन महत्त्वपूर्ण छ? (ख) यस अध्ययनले तपाईंलाई सेवकाईप्रति कस्तो मनोवृत्ति राख्न व्यक्‍तिगत तवरमा मदत पुऱ्‍याएको छ?

      २४ तर, आनन्दको कुरा, धेरैले अनुकूल प्रतिक्रिया व्यक्‍त गर्छन्‌, परमेश्‍वरको वचन अध्ययन गर्छन्‌ र यहोवाका साक्षीहरू हुन्छन्‌। केही भने अहिले बाख्राजस्तो देखिए तापनि पनि परिवर्तन भएर भेडाखाले हुनसक्छन्‌। महत्त्वपूर्ण कुरा के हो भने, ख्रीष्टका शेष भाइहरूको कुरा सुनेर तिनीहरूलाई सक्रियतापूर्वक समर्थन गरिरहेकाहरूले एउटा प्रमाण दिइरहेका हुनेछन्‌। निकट भविष्यमा उहाँ सिंहासनमा बस्नुभएर न्याय गर्नुहुँदा तिनीहरू त्यसैको आधारमा येशूको दाहिने बाहुलीपट्टि राखिनेछन्‌। यिनीहरूले अहिले आशिष्‌ पाएका छन्‌ र भविष्यमा पनि पाइरहनेछन्‌। तसर्थ, यस उखानले हामीलाई मसीही सेवकाईमा अझ जोशका साथ भाग लिन उत्प्रेरित गर्नुपर्ने हो। ढिलो हुनुअघि नै हामी राज्यको सुसमाचार यथाशक्य घोषणा गर्न चाहन्छौं। अनि यसो गर्दा अरूले आफ्नो प्रतिक्रिया व्यक्‍त गर्ने मौका पाउँछन्‌। त्यसपछि अनुकूल वा प्रतिकूल न्याय गर्ने जिम्मा येशूको हो।—मत्ती २५:४६.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने