प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • bh p. २१५-p. २१८ par. १
  • सन्‌ १९१४—बाइबल भविष्यवाणीमा एउटा महत्त्वपूर्ण वर्ष

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सन्‌ १९१४—बाइबल भविष्यवाणीमा एउटा महत्त्वपूर्ण वर्ष
  • बाइबलले वास्तवमा के सिकाउँछ?
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरको सरकारले आफ्नो शासन शुरू गरेको छ
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • परमेश्‍वरको राज्यले अहिले शासन गर्दै छ!
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
बाइबलले वास्तवमा के सिकाउँछ?
bh p. २१५-p. २१८ par. १

अतिरिक्‍त लेख

सन्‌ १९१४—बाइबल भविष्यवाणीमा एउटा महत्त्वपूर्ण वर्ष

सन्‌ १९१४ भन्दा झन्डै ४० वर्ष अघिदेखि बाइबल विद्यार्थीहरूले त्यस वर्षमा उल्लेखनीय घटनाहरू हुनेछन्‌ भनी घोषणा गर्दै आएका थिए। ती कस्ता घटना थिए र सन्‌ १९१४ एउटा महत्त्वपूर्ण वर्ष हो भनी केले देखाउँछ?

लूका २१:२४ मा येशूले यसो भन्‍नुभयो: “राष्ट्रहरूलाई दिइएको समय पूरा नभएसम्म ती राष्ट्रहरूले यरूशलेमलाई कुल्चीमिल्ची गर्नेछन्‌।” यरूशलेम यहूदाको राजधानी थियो, जहाँबाट राजा दाऊदको घरानाका राजाहरूले शासन गर्थे। (भजन ४८:१, २) तिनीहरू अरू राष्ट्रका राजाहरूभन्दा फरक थिए। तिनीहरू परमेश्‍वरको प्रतिनिधिको रूपमा “परमप्रभुको सिंहासनमा” बस्थे। (१ इतिहास २९:२३) त्यसैले यरूशलेमले यहोवाको शासनलाई सङ्‌केत गर्थ्यो।

तर “ती राष्ट्रहरूले” कहिले र कसरी परमेश्‍वरको शासनमाथि “कुल्चीमिल्ची” गर्न थाले? ईसापूर्व ६०७ मा बेबिलोनीहरू यरूशलेममाथि विजयी हुँदा यस्तो भयो। यसरी “परमप्रभुको सिंहासन” खाली भयो र दाऊदको वंशबाट आएका राजाहरूको शासन अन्त भयो। (२ राजा २५:१-२६) के सधैंभरि “कुल्चीमिल्ची” भइरहने थियो? अहँ, थिएन। किनभने भविष्यवक्‍ता इजकिएलले यरूशलेमको अन्तिम राजा सिदकियाहबारे यसो भने: “पगरी हटा र शिरपेच उतारिदे। . . . जसको त्यसमाथि अधिकार छ, औ जसलाईनै म यो सुम्पिनेछु, ऊ नआइपुगुञ्जेल त्यसको नाउँ निशानै रहनेछैन।” (इजकिएल २१:२६, २७) दाऊदको वंशको शिरपेचको “अधिकार” भएको ख्रीष्ट येशू मात्र हुनुहुन्छ। (लूका १:३२, ३३) हो, येशू राजा भएपछि “कुल्चीमिल्ची” हुन बन्द हुने थियो।

यो उल्लेखनीय घटना कहिले हुने थियो? ती राष्ट्रहरूले निश्‍चित समयसम्म मात्र शासन गर्नेछन्‌ भनी येशूले बताउनुभयो। त्यो समय कति लामो हुनेछ भन्‍नेबारे दानियल अध्याय ४ मा महत्त्वपूर्ण जानकारी पाइन्छ। त्यस विवरणमा बेबिलोनी राजा नबूकदनेसरले देखेको भविष्यसूचक सपनाबारे बताइएको छ। तिनले एउटा बडेमाको रूख ढालिएको सपना देखे। त्यसको ठुटा बढ्‌न सकेन किनभने त्यसलाई फलाम र काँसाको साङ्‌लाले बाँधिएको थियो। स्वर्गदूतले यस्तो घोषणा गरे: “सात काल त्यसमाथि त्यस्तै बितोस्‌।”—दानियल ४:१०-१६.

बाइबलमा कहिलेकाहीं रूखले शासनलाई बुझाउँछ। (इजकिएल १७:२२-२४; ३१:२-५) त्यसैले रूख ढालिनुले परमेश्‍वरको शासनको प्रतिनिधित्व गर्ने यरूशलेमका राजाहरूको शासनको अन्त हुने कुरालाई बुझाउँछ। तर उक्‍त सपनाअनुसार सधैंभरि ‘यरूशलेम कुल्चीमिल्ची’ हुने थिएन, “सात काल”-सम्म मात्र हुने थियो। त्यो समय कति लामो हुने थियो?

प्रकाश १२:६, १४ अनुसार साढे तीन समय भनेको “एक हजार दुई सय साठी दिन” हो। त्यसैले “सात काल” भनेको त्यसको दोबर अर्थात्‌ २,५२० दिन हुन्छ। तर ती राष्ट्रहरूले यरूशलेमको पतनपछि २,५२० दिनसम्म मात्र परमेश्‍वरको शासनमाथि ‘कुल्चीमिल्ची’ गरेनन्‌। यस भविष्यवाणीले अझ लामो समयलाई ढाक्छ भनेर प्रस्ट हुन्छ। गन्ती १४:३४ र इजकिएल ४:६ अनुसार ‘एक दिनको एक वर्षको’ हिसाबले “सात काल” बराबर २,५२० वर्ष हुन्छ।

ईसापूर्व ६०७, अक्टोबर महिनामा बेबिलोनीहरूबाट यरूशलेम पराजित हुँदा र दाऊदको वंशलाई सिंहासनबाट हटाइँदा २,५२० वर्ष सुरु भयो। यो समय सन्‌ १९१४ अक्टोबर महिनामा अन्त भयो। त्यतिबेला ती “राष्ट्रहरूलाई दिइएको समय” अन्त भयो र येशू ख्रीष्ट स्वर्गको राज्यको राजा हुनुभयो।a—भजन २:१-६; दानियल ७:१३, १४.

स्वर्गको राजाको रूपमा आफ्नो “उपस्थिति” हुँदा येशूले भविष्यवाणी गर्नुभएझैं संसारमा युद्ध, अनिकाल, भूकम्प र महामारी हुनु उल्लेखनीय छ। (मत्ती २४:३-८; लूका २१:११) यी घटनाहरूले सन्‌ १९१४ मा स्वर्गमा परमेश्‍वरको राज्य स्थापना भयो र यस दुष्ट युगको “अन्तको दिन” सुरु भयो भनेर ठोस प्रमाण दिन्छ।—२ तिमोथी ३:१-५.

तालिका: सात काल वा अन्यजातिहरूको समय भनेको यरूशलेमको विनाश भएको दिनदेखि २,५२० वर्ष बितेपछि सन्‌ १९१४ अक्टोबर महिनासम्मको समयावधि हो।

a ईसापूर्व ६०७ को अक्टोबरदेखि ईसापूर्व १ को अक्टोबरसम्म ६०६ वर्ष हुन्छ। ईसापूर्व १ को अक्टोबरदेखि इस्वी संवत्‌ १ को अक्टोबरसम्म एक वर्ष हुन्छ। इस्वी संवत्‌ १ अक्टोबरदेखि इस्वी संवत्‌ १९१४ को अक्टोबरसम्म १,९१३ वर्ष हुन्छ। त्यसैले ६०६+१+१९१३=२,५२० वर्ष हुन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने