प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w14 ११/१५ पृ. ३१-३२
  • सूर्योदयको देश जापानमा बाइबल सत्य पुग्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सूर्योदयको देश जापानमा बाइबल सत्य पुग्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • उपशीर्षकहरू
  • लगनशील अग्रगामीहरू
  • सानो र ठूलो “येहू”
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
w14 ११/१५ पृ. ३१-३२

हाम्रो अभिलेखालयबाट

सूर्योदयको देशमा बाइबलको सत्य उदाउँछ

निम्तोपर्ची सहरभरि छर्न प्रयोग गरिएको हवाईजहाज अगाडि उभिरहेका हाम्रा दाजुभाइहरू

जनभाषणको निम्तोपर्ची टोकियो सहरमा बाँडियो र हवाईजहाजबाट ओसाकाभरि छरियो

सेप्टेम्बर ६, १९२६ मा अमेरिकामा बस्ने एक जापानी परिभ्रमण निरीक्षक मिसनरी सेवा गर्न जापान फर्के। तिनलाई त्यहाँ स्वागत गर्ने एक जना मात्र थिए। उनी प्रहरीधरहरा (अङ्‌ग्रेजी) पत्रिकाका नियमित ग्राहक थिए। उनले कोबे सहरमा बाइबल अध्ययन समूह सुरु गरेका थिए। जनवरी २, १९२७ मा बाइबल विद्यार्थीहरूले त्यस सहरमा पहिलो सम्मेलन आयोजना गरे। त्यस सम्मेलनमा ३६ जना उपस्थित भए र आठ जनाले बप्तिस्मा गरे। यो राम्रो सुरुवात थियो तर यो सानो समूहले जापानको ६ करोड मानिसकहाँ कसरी सत्यको ज्योति पुऱ्‍याउन सक्थे?

जनभाषणको निम्तोपर्ची

ती जोसिला बाइबल विद्यार्थीहरूले मे १९२७ मा बाइबलआधारित भाषणहरूको विज्ञापन गर्ने अभियान सुरु गरे। ओसाका सहरमा दिइने पहिलो भाषणको लागि बाइबल विद्यार्थीहरूले सहरको विभिन्‍न ठाउँमा प्रचार-प्रसार गरे। तिनीहरूले सडकको छेउछाउमा सङ्‌केत चिन्हहरू अनि ठूलठूला विज्ञापन पाटीहरू राखे। तिनीहरूले सहरका गन्‍नेमान्‍ने मानिसहरूलाई ३,००० प्रति निम्तो पठाए र १ लाख ५० हजार हातेपर्ची वितरण गरे। साथै, ओसाकाको प्रमुख अखबारहरूमा र रेलको ४ लाख टिकटमा विज्ञापन छाप्न लगाए। भाषणको दिनमा दुइटा हवाईजहाजबाट एक लाख हातेपर्ची सहरभरि छरियो। यसरी व्यापक प्रचार-प्रसार गरिएकोले ओसाका आसाही हलमा “परमेश्‍वरको राज्य नजिकै छ” भन्‍ने भाषण सुन्‍न २,३०० जना उपस्थित भए। हजार जनाजति त सिट नपुगेर फर्किनुपऱ्‍यो। भाषणपछि प्रश्‍न-उत्तर कार्यक्रमको लागि पनि ६०० जना बसे। त्यसपछिका महिनाहरूमा क्योटो र पश्‍चिमी जापानका अरू सहरमा पनि बाइबलआधारित भाषणहरू दिइयो।

अक्टोबर १९२७ मा बाइबल विद्यार्थीहरूले टोकियो सहरमा तीनवटा भाषण दिने योजना बनाए। यसपटक पनि प्रधानमन्त्री, सांसदहरू, धार्मिक नेताहरू र सेना प्रमुखहरूलाई निम्तो दिइयो। पोस्टरहरू टाँसिए अनि अखबारमा विज्ञापन छापियो। सात लाख १० हजार हातेपर्ची वितरण गरियो। जापानको राजधानीमा दिइएको तीनवटा भाषण सुन्‍न ४,८०० उपस्थित भए।

लगनशील अग्रगामीहरू

कोत्सुओ र हागिनो म्यूरा

कोत्सुओ र हागिनो म्यूरा

परमेश्‍वरको राज्यको सन्देश घरघरमा पुऱ्‍याउने काममा अग्रगामीहरूको ठूलो हात थियो। जापानका सुरु-सुरुका अग्रगामीहरूमध्ये मात्स्यू ईशीइ पनि थिइन्‌। तिनले आफ्नो श्रीमान्‌ जिजोसित मिलेर देशको सुदूर उत्तरमा पर्ने सापोरोदेखि सेन्दाई, टोकियो, योकोहामा, ओसाका, क्योटो, ओकायामा र तोकूसिमा सहरसम्म प्रचार गरिन्‌। उच्च सरकारी अफिसरहरूलाई भेट्‌न जाँदा मात्स्यू ईशीइ र शाकिको तानाका नाम गरेकी एउटी वृद्ध बहिनीले जापानको राष्ट्रिय पोसाक किमोनो लगाए। ती अफिसरहरूमध्ये एक जनाले जेलको पुस्तकालयमा राख्न परमेश्‍वरको वीणा (अङ्‌ग्रेजी) किताबको ३०० प्रति र छुटकारा (अङ्‌ग्रेजी) किताबको ३०० प्रति मगाए।

बहिनी ईशीइले कोत्सुओ र हागिनो म्यूरालाई किताबहरू दिइन्‌ र तिनीहरू सत्य यही हो भन्‍ने कुरामा पक्का भए। तिनीहरूले १९३१ मा बप्तिस्मा गरे अनि अग्रगामी सेवा सुरु गरे। हारूईची र ताने यामादा र तिनीहरूका थुप्रै नातेदारले पनि १९३० अघि नै बाइबल सत्य स्वीकारेका थिए। यामादा दम्पतीले पनि अग्रगामी सेवा सुरु गरे र तिनीहरूका छोरी युकिकोले टोकियो बेथेलमा सेवा गर्न थालिन्‌।

सानो र ठूलो “येहू”

ठूलो येहू

ठूलो येहूमा छ जना अग्रगामी अटाउँथे

त्यतिखेर गाडी धेरै महँगो थियो अनि बाटो पनि राम्रो थिएन। त्यसैले काजुमी मिनोउरा र अरू जवान अग्रगामीहरूले इन्जिन नभएको गुडाउन मिल्ने घर प्रयोग गर्थे। तिनीहरूले ती घरहरूको नाम रथ हाँक्ने येहूको नामबाट राखे, जो पछि इस्राएलका राजा भए। (२ राजा १०:१५, १६) तीनवटा ठूला येहू पनि बनाइएको थियो। प्रत्येक येहू २.२ मिटर लामो, १.९ मिटर चौडा र १.९ मिटर अग्लो थियो र प्रत्येक येहूमा छ जना अग्रगामी अटाउँथे। साइकलले तान्‍ने अनि दुई जना बस्न मिल्ने खालको ११ वटा साना येहू पनि जापान शाखामा बनाइयो। येहू बनाउने काममा भाग लिएका किइची इवासाकी भन्छन्‌, “हरेक येहूमा पाल राखिएको थियो। साथै, बत्ती बाल्नको लागि कारको ब्याट्री पनि राखिएको थियो।” अग्रगामीहरूले प्रचार गर्न येहूमा चढेर थुप्रै उकाली-ओराली पार गरे। तिनीहरूले जापानको उत्तरमा पर्ने होक्काइडोदेखि दक्षिणको क्यूसू सहरसम्म प्रचार गरे।

सानो येहू

सानो येहूमा दुई जना अटाउँथे

इकुमात्सु ओता नाम गरेका अग्रगामी यसो भन्छन्‌, “सहरमा पुगेपछि हामी येहूलाई नदीको किनार वा खुल्ला मैदानमा राख्थ्यौं। हामी सबैभन्दा पहिले सहरको मेयर र गन्‍नेमान्‍ने व्यक्‍तिहरूलाई भेट्‌थ्यौं, त्यसपछि घरघरमा गएर साहित्य बाँड्‌थ्यौं। इलाका ढाकिसकेपछि हामी अर्को सहरमा जान्थ्यौं।”

छत्तीस जना बाइबल विद्यार्थीको सानो समूहले कोबेमा पहिलो सम्मेलन आयोजना गर्दा ‘कामको सुरु’ मात्र भएको थियो। (जक. ४:१०) यसको पाँच वर्षपछि १९३२ मा अग्रगामी तथा प्रकाशकहरूको सङ्‌ख्या १०३ पुगिसकेको थियो। त्यस वर्ष तिनीहरूले १४,००० भन्दा धेरै किताब वितरण गरे। आज जापानका ठूलठूला सहरहरूमा व्यवस्थित तरिकामा सार्वजनिक साक्षीकार्य भइरहेको छ। यस कार्यमा झन्डै २ लाख २० हजार प्रकाशकहरूले भाग लिइरहेका छन्‌। यसरी सूर्योदयको देशमा सत्यको ज्योति चम्किरहेको छ।—जापानको हाम्रो अभिलेखालयबाट।

येहूको कोरिएको चित्र

जापान बेथेलमा येहू बनाएका किइची इवासाकीले कोरेका चित्रहरू

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने