प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • bh chap. १७ pp. १६४-१७३
  • प्रार्थना गरेर परमेश्‍वरसित नजिक हुनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रार्थना गरेर परमेश्‍वरसित नजिक हुनुहोस्‌
  • बाइबलले वास्तवमा के सिकाउँछ?
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवालाई किन प्रार्थना गर्नुपर्छ?
  • हामीले के गर्नुपर्छ?
  • प्रार्थनासम्बन्धी केही प्रश्‍नको जवाफ
  • परमेश्‍वरले हाम्रो प्रार्थनाको जवाफ कसरी दिनुहुन्छ?
  • प्रार्थना गर्न पाउनु हाम्रो लागि ठूलो सम्मान
    बाइबलले हामीलाई के सिकाउँछ?
  • प्रार्थना गरेर परमेश्‍वरसित नजिक हुनुहोस्‌
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • प्रार्थना द्वारा सहायता कसरी प्राप्त गर्न सकिन्छ
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • प्रार्थनाद्वारा परमेश्‍वरसित घनिष्ठ हुने
    परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?
थप हेर्नुहोस्
बाइबलले वास्तवमा के सिकाउँछ?
bh chap. १७ pp. १६४-१७३

अध्याय सत्र

प्रार्थना गरेर परमेश्‍वरसित नजिक हुनुहोस्‌

  • परमेश्‍वरलाई किन प्रार्थना गर्नुपर्छ?

  • परमेश्‍वरले हाम्रो प्रार्थना सुनेको चाहन्छौं भने के गर्नुपर्छ?

  • परमेश्‍वरले हाम्रो प्रार्थनाको जवाफ कसरी दिनुहुन्छ?

ताराहरूले भरिएको आकासमुनि बसेर प्रार्थना गर्दै एक स्त्री

‘स्वर्ग र पृथ्वी बनाउनुहुने’ परमेश्‍वर हाम्रो प्रार्थना सुन्‍न इच्छुक हुनुहुन्छ

१, २. प्रार्थना गर्न पाउनु किन ठूलो सम्मान हो? प्रार्थनाबारे बाइबलले बताउने कुरा किन थाह पाउनुपर्छ?

विशाल ब्रह्‍माण्डको तुलनामा पृथ्वी असाध्यै सानो छ। ‘स्वर्ग र पृथ्वी बनाउनुहुने’ यहोवाको नजरमा मानिसहरू गाग्रोबाट चुहेको एक थोपा पानीजस्तो मात्र हुन्‌। (भजन ११५:१५; यशैया ४०:१५) तैपनि बाइबल यसो भन्छ: “उहाँमा पुकारा गर्ने सबैका नजिक परमप्रभु हुनुहुन्छ, उहाँलाई साँचोसित पुकार्ने सबैका नजिक। उहाँसित डराउनेहरूको इच्छा उहाँले पूरा गर्नुहुनेछ। उहाँले तिनीहरूको पुकारा पनि सुन्‍नुहुनेछ।” (भजन १४५:१८, १९) सोच्नुहोस्‌ त, सर्वशक्‍तिमान्‌ सृष्टिकर्तालाई साँचो मनले पुकाऱ्‍यौं भने उहाँ हाम्रो नजिक हुनुहुनेछ र उहाँले हाम्रो पुकारा सुन्‍नुहुनेछ। त्यसैले यहोवालाई प्रार्थना गर्न पाउनु हाम्रो लागि ठूलो सम्मान हो।

२ यहोवाले हाम्रो प्रार्थना सुनेको चाहन्छौं भने उहाँले चाहनुहुने तरिकामा प्रार्थना गर्नुपर्छ। प्रार्थनाबारे बाइबलले के बताउँछ भनेर बुझेका छैनौं भने परमेश्‍वरले चाहनुहुने तरिकामा कसरी प्रार्थना गर्न सक्छौं र? यस विषयमा बाइबलले के भन्छ भनी थाह पाउनु अत्यावश्‍यक छ किनभने प्रार्थनाले हामीलाई यहोवासित नजिक हुन मदत गर्छ।

यहोवालाई किन प्रार्थना गर्नुपर्छ?

३. यहोवालाई प्रार्थना गर्नुपर्ने एउटा मुख्य कारण के हो?

३ एउटा मुख्य कारण हो, यहोवा हामीलाई प्रार्थना गर्न आग्रह गर्नुहुन्छ। उहाँको वचनले हामीलाई यस्तो प्रोत्साहन दिन्छ: “कुनै कुराको विषयमा चिन्तित नहोओ तर हरेक कुरामा प्रार्थना, उत्कट बिन्ती र धन्यवादका साथ आफ्नो निवेदन परमेश्‍वरसमक्ष जाहेर गर। अनि परमेश्‍वरको शान्ति, जुन सम्पूर्ण मानव विचारभन्दा उत्कृष्ट छ, त्यसले ख्रीष्ट येशूद्वारा तिमीहरूको मन र सोच्ने क्षमताको रक्षा गर्नेछ।” (फिलिप्पी ४:६, ७) ब्रह्‍माण्डको सर्वोच्च शासकले गर्नुभएको यस्तो दयालु प्रबन्धलाई हामी हल्कासित लिन चाहँदैनौं!

४. नियमित रूपमा प्रार्थना गर्दा यहोवासितको हाम्रो सम्बन्ध कसरी अझ बलियो हुन्छ?

४ प्रार्थना गर्नुपर्ने अर्को कारण हो, नियमित रूपमा प्रार्थना गर्दा यहोवासितको हाम्रो सम्बन्ध बलियो हुन्छ। साँचो मित्रहरू एकअर्कासित सधैं कुरा गर्छन्‌, केही कुराको खाँचो परेको बेला मात्र होइन। तिनीहरू एकअर्काको चासो राख्छन्‌। आफ्ना विचार, चिन्ता तथा भावना नलुकाई व्यक्‍त गर्छन्‌, जसले गर्दा तिनीहरूको मित्रता बलियो हुन्छ। यहोवा परमेश्‍वरसितको हाम्रो सम्बन्ध पनि यस्तै हो। तपाईंले यहोवा, उहाँको व्यक्‍तित्व र उहाँका उद्देश्‍यहरूबारे बाइबलबाट धेरै कुरा सिकिसक्नुभयो। उहाँलाई राम्ररी चिन्‍नुभयो। त्यसैले स्वर्गमा बस्नुहुने बुबालाई प्रार्थना गरेर तपाईं आफ्नो विचार तथा भित्री भावना पोखाउन सक्नुहुन्छ। यसो गर्दा तपाईं यहोवासित अझ नजिक हुनुहुनेछ।—याकूब ४:८.

हामीले के गर्नुपर्छ?

५. यहोवाले सबै प्रार्थना किन सुन्‍नुहुन्‍न?

५ के यहोवाले सबैको प्रार्थना सुन्‍नुहुन्छ? यशैयाको समयका विद्रोही इस्राएलीहरूलाई उहाँले के भन्‍नुभयो, विचार गर्नुहोस्‌: “तिमीहरूले ज्यादै प्रार्थना गर्दा पनि म सुन्‍नेछैनँ। तिमीहरूका हात रगतले भरिएका छन्‌।” (यशैया १:१५) परमेश्‍वरलाई मन नपर्ने काम गरिरहेका छौं भने उहाँले हाम्रो प्रार्थना सुन्‍नुहुन्‍न। यसकारण परमेश्‍वरले हाम्रो प्रार्थना सुनेको चाहन्छौं भने हामीले आफ्नोतर्फबाट पनि केही गर्नुपर्छ।

६. परमेश्‍वरले हाम्रो प्रार्थना सुनेको चाहन्छौं भने हामीसित के हुनै पर्छ? यो हामी कसरी देखाउन सक्छौं?

६ हामीसित हुनै पर्ने एउटा कुरा विश्‍वास हो। (मर्कूस ११:२४) प्रेषित पावलले यस्तो लेखे: “विनाविश्‍वास [परमेश्‍वरलाई] खुसी पार्न असम्भव छ किनभने जो परमेश्‍वरसामु जान्छ, उसले उहाँ साँच्चै हुनुहुन्छ र जोडतोडले उहाँको खोजी गरिरहनेहरूलाई इनाम दिनुहुन्छ भनेर पत्यार गर्नुपर्छ।” (हिब्रू ११:६) साँचो विश्‍वास भनेको परमेश्‍वर हुनुहुन्छ अनि उहाँले प्रार्थना सुनेर त्यसको जवाफ दिनुहुन्छ भनेर बुझ्नु मात्र होइन। साँचो विश्‍वास कामबाट देखिन्छ। हामीसित विश्‍वास छ भने त्यो हाम्रो दैनिक कामकुरामा देखिनुपर्छ।—याकूब २:२६.

७. (क) यहोवालाई प्रार्थना गर्दा हामीले किन आदर देखाउनुपर्छ? (ख) परमेश्‍वरलाई प्रार्थना गर्दा हामी कसरी नम्रता र निष्कपटता देखाउन सक्छौं?

७ हामीले नम्र अनि निष्कपट भई प्रार्थना गरेको यहोवा चाहनुहुन्छ। यहोवासित कुरा गर्दा हामी नम्र हुनुपर्छ। राजा वा प्रधानमन्त्रीसित कुरा गर्ने मौका पाउँदा मानिसहरू अक्सर तिनीहरूको उच्च ओहदाको ख्याल राख्दै आदरपूर्वक कुरा गर्छन्‌। त्यसैले यहोवासित कुरा गर्दा हामीले धेरै आदर देखाउनुपर्छ। (भजन १३८:६) उहाँ “सर्वशक्‍तिमान्‌ परमेश्‍वर” हुनुहुन्छ। (उत्पत्ति १७:१) परमेश्‍वर हामीभन्दा महान्‌ हुनुहुन्छ भनी स्वीकारेको हाम्रो प्रार्थना गर्ने तरिकामा झल्किनुपर्छ। त्यस्तो नम्रताले हामीलाई निष्कपट मनले प्रार्थना गर्न उत्प्रेरित गर्नेछ अनि हाम्रो प्रार्थना एकोहोरो र निरस पनि हुँदैन।—मत्ती ६:७, ८.

८. हामी कसरी प्रार्थनाअनुसार काम गर्न सक्छौं?

८ परमेश्‍वरले प्रार्थना सुनेको चाहन्छौं भने प्रार्थनाअनुरूप काम पनि गर्नुपर्छ। प्रार्थनामा हामी जे माग्छौं, त्यसको लागि हामीले आफ्नोतर्फबाट सक्दो प्रयास गरेको यहोवा चाहनुहुन्छ। उदाहरणका लागि, “हामीलाई आज दिनभरिको भोजन दिनुहोस्‌” भनेर प्रार्थना गर्छौं भने आफ्नो काम सानो-ठूलो जस्तोसुकै भए तापनि कडा मेहनत गर्नुपर्छ। (मत्ती ६:११; २ थिस्सलोनिकी ३:१०) आफ्ना कमीकमजोरीमाथि विजय हासिल गर्न सकूँ भनेर प्रार्थना गर्दै छौं भने गलत काममा फस्न सक्ने अवस्थादेखि टाढै बस्नुपर्छ। (कलस्सी ३:५) यीबाहेक प्रार्थनासम्बन्धी केही प्रश्‍नको जवाफ पनि हामीलाई थाह हुनुपर्छ।

प्रार्थनासम्बन्धी केही प्रश्‍नको जवाफ

९. हामीले कसलाई प्रार्थना गर्नुपर्छ? हामीले कोमार्फत प्रार्थना गर्नुपर्छ?

९ हामीले कसलाई प्रार्थना गर्नुपर्छ? येशूले आफ्ना चेलाहरूलाई “स्वर्गमा बस्नुहुने हाम्रा बुबा”-लाई प्रार्थना गर्न सिकाउनुभयो। (मत्ती ६:९) त्यसैले हामीले यहोवा परमेश्‍वरलाई मात्र प्रार्थना गर्नुपर्छ। तर उहाँको एक मात्र प्यारो छोरा येशू ख्रीष्टको ओहदालाई पनि हामीले स्वीकारेको यहोवा चाहनुहुन्छ। येशूले फिरौतीस्वरूप दिनुभएको बलिदानले गर्दा हामीले पाप र मृत्युको बन्धनबाट छुटकारा पायौं भनेर अध्याय ५ मा सिकिसक्यौं। (यूहन्‍ना ३:१६; रोमी ५:१२) उहाँ हाम्रो प्रधान पुजारी र न्यायकर्ता हुनुहुन्छ। (यूहन्‍ना ५:२२; हिब्रू ६:२०) यसकारण बाइबलले येशूमार्फत प्रार्थना गर्ने निर्देशन दिन्छ। येशू आफैले यसो भन्‍नुभयो: “बाटो, सत्य र जीवन मै हुँ। मबाहेक अरू कसैद्वारा कोही पनि बुबाकहाँ जान सक्दैन।” (यूहन्‍ना १४:६) यहोवाले उहाँको छोरा येशू ख्रीष्टमार्फत गरेको प्रार्थना मात्र सुन्‍नुहुन्छ।

१०. प्रार्थना गर्दा हामीले किन कुनै खास आसन धारण गर्नुपर्दैन?

१० के हामीले कुनै खास आसन धारण गरेर प्रार्थना गर्नुपर्छ? अहँ, पर्दैन। प्रार्थना गर्दा हामीले आफ्नो हात कसरी राख्नुपर्छ अनि कस्तो आसन ग्रहण गर्नुपर्छ भनेर यहोवाले तोक्नुभएको छैन। विभिन्‍न आसनमा प्रार्थना गर्न सकिन्छ भनी बाइबल सिकाउँछ। जस्तै: बसेर, शिर निहुराएर, घुँडा टेकेर, उभिएर। (१ इतिहास १७:१६; नहेम्याह ८:६; दानियल ६:१०; मर्कूस ११:२५) परमेश्‍वरले हाम्रो आसन होइन तर हाम्रो मन हेर्नुहुन्छ। हरेक दिन विभिन्‍न काम गर्दा अथवा अचानक गाह्रोसाह्रो पर्दा हामी जहाँसुकै होऔं, मनमनै प्रार्थना गर्न सक्छौं। त्यतिखेर अरूले हाम्रो प्रार्थना नसुने तापनि यहोवाले पक्कै सुन्‍नुहुन्छ।—नहेम्याह २:१-६.

११. हामीले प्रार्थनामा कस्ता कुराहरू राख्न सक्छौं?

११ हामी कस्ता कुराको लागि प्रार्थना गर्न सक्छौं? बाइबल यसो भन्छ: “परमेश्‍वरको इच्छाबमोजिम हामीले जेसुकै मागे पनि उहाँले हाम्रो बिन्ती सुन्‍नुहुन्छ।” (१ यूहन्‍ना ५:१४) त्यसैले परमेश्‍वरको इच्छासित नबाझिने जुनसुकै कुराको लागि हामी प्रार्थना गर्न सक्छौं। आफूलाई चिन्ता लागिरहेको विषयमा हामीले प्रार्थना गरेको यहोवा चाहनुहुन्छ। यहोवालाई प्रार्थना गर्नु भनेको आफ्नो मिल्ने साथीसित कुरा गर्नुजस्तै हो। त्यसैले ‘आफ्नो हृदयको दुःख पोखाउँदै’ परमेश्‍वरसित खुलस्त कुरा गर्नुहोस्‌। (भजन ६२:८) परमेश्‍वरको पवित्र शक्‍तिले हामीलाई सही काम गर्न मदत गर्छ। त्यसैले हामीले प्रार्थना गरेर उहाँको पवित्र शक्‍ति माग्न सक्छौं। (लूका ११:१३) निर्णय गर्नुपर्दा अथवा समस्या आइपरेको बेला उहाँसित प्रार्थना गरेर बुद्धि अनि बल पनि माग्न सक्छौं। (याकूब १:५) हामी पापी छौं। त्यसैले ख्रीष्टको फिरौतीको बलिदानको आधारमा क्षमा दिनुहोस्‌ भनेर हामीले प्रार्थना गर्नुपर्छ। (एफिसी १:३, ७) हामीले आफ्नो लागि मात्र प्रार्थना गर्नु हुँदैन, अरूको लागि पनि गर्नुपर्छ। हामीले परिवारका सदस्य अथवा यहोवाको उपासना गर्ने हामीजस्तै साथीभाइको निम्ति प्रार्थना गर्नुपर्छ।—प्रेषित १२:५; कलस्सी ४:१२.

१२. प्रार्थनामा हामी कसरी यहोवासित सम्बन्धित कुरालाई सबैभन्दा महत्त्वपूर्ण स्थान दिन सक्छौं?

१२ हामीले प्रार्थना गर्दा यहोवा परमेश्‍वरसित सम्बन्धित विषयहरूलाई पहिलो स्थान दिनुपर्छ। प्रार्थना गर्दा उहाँले हामीलाई दिनुभएको सबै असल थोकको निम्ति उहाँको प्रशंसा गर्नु अनि धन्यवाद चढाउनु राम्रो कुरा हो। (१ इतिहास २९:१०-१३) येशूले मत्ती ६:९-१३ मा प्रार्थना कसरी गर्नुपर्छ भनेर आफ्ना चेलाहरूलाई सिकाउनुभयो। येशूले प्रार्थनाको सुरुमा परमेश्‍वरको नाम पवित्र पारियोस्‌ भन्‍नुभयो। त्यसपछि परमेश्‍वरको राज्य आओस्‌ र उहाँको इच्छा जसरी स्वर्गमा पूरा भइरहेको छ, त्यसरी नै पृथ्वीमा पनि पूरा होस्‌ भन्‍नुभयो। यहोवासित सम्बन्धित यी महत्त्वपूर्ण विषयलाई प्रार्थनामा समावेश गरेपछि मात्र येशूले व्यक्‍तिगत कुरा उल्लेख गर्नुभयो। त्यसरी नै हामीले प्रार्थना गर्दा परमेश्‍वरलाई सबैभन्दा महत्त्वपूर्ण स्थान दिनुपर्छ। त्यसो गर्दा हामी आफ्नै कुरामा मात्र ध्यान दिंदैनौं भनेर देखाइरहेका हुनेछौं।

१३. हामीले कति लामो प्रार्थना गरेको परमेश्‍वर चाहनुहुन्छ?

१३ प्रार्थना कति लामो हुनुपर्छ? मनमनै प्रार्थना गर्दा अथवा अरू सबैले सुन्‍नेगरि प्रार्थना गर्दा त्यो कति लामो हुनुपर्छ भनी बाइबलले बताएको छैन। खाना खानुअघि गरिने प्रार्थना छोटो हुन्छ तर यहोवालाई आफ्नो मनको बह पोखाउँदा भने प्रार्थना लामो हुन सक्छ। (१ शमूएल १:१२, १५) अरूको सामु धर्मी देखिन धेरै लामो प्रार्थना गर्ने मानिसहरूको येशूले निन्दा गर्नुभयो। (लूका २०:४६, ४७) त्यस्तो प्रार्थना यहोवालाई मन पर्दैन। हामीले निष्कपट मनले प्रार्थना गरेको यहोवा चाहनुहुन्छ। त्यसकारण आवश्‍यकता र परिस्थितिअनुसार हाम्रो प्रार्थना लामो वा छोटो हुन सक्छ।

विभिन्‍न अवस्थामा प्रार्थना गर्दै मानिसहरू

तपाईंले जुनसुकै बेला गरेको प्रार्थना परमेश्‍वर सुन्‍नुहुन्छ

१४. “निरन्तर प्रार्थना गर” भन्‍नुको अर्थ के हो? कुन कुरा थाह पाउँदा हामी ढुक्क महसुस गर्छौं?

१४ हामीले कति चोटि प्रार्थना गर्नुपर्छ? बाइबलले हामीलाई “निरन्तर प्रार्थना गर” र “प्रार्थनामा लागिरहो” भनेर प्रोत्साहन दिन्छ। (मत्ती २६:४१; रोमी १२:१२; १ थिस्सलोनिकी ५:१७) तर यसको मतलब हामी चौबीसै घण्टा प्रार्थनामा डुबिरहनुपर्छ भन्‍ने होइन। बरु बाइबलले हामीलाई नियमित तवरले प्रार्थना गर्न आग्रह गर्छ। हामीले बारम्बार प्रार्थना गरेर यहोवालाई धन्यवाद दिनुपर्छ अनि उहाँसित डोऱ्‍याइ, सान्त्वना र बल माग्नुपर्छ। हाम्रो प्रार्थना चाहे लामो होस्‌ वा छोटो, यहोवाले सुन्‍नुहुन्छ अनि दिनभरि जतिचोटि प्रार्थना गरे तापनि उहाँले ध्यान दिनुहुन्छ। हामीले प्रार्थना गर्ने यति ठूलो सुअवसर पाएको हुनाले त्यसको कदर गर्नुपर्छ र यहोवालाई प्रार्थना गर्ने मौका खोजिरहनुपर्छ।

१५. हामीले मनमनै प्रार्थना गर्दा अथवा अरूले हाम्रो निम्ति प्रार्थना गरिदिंदा अन्तमा किन “आमिन” भन्‍नुपर्छ?

१५ प्रार्थनाको अन्तमा किन “आमिन” भन्‍नुपर्छ? “आमिन” शब्दको अर्थ “पक्कै पनि” अर्थात्‌ “यस्तै होस्‌” हो। हामीले मनमनै प्रार्थना गर्दा अथवा हाम्रो निम्ति अरू कसैले प्रार्थना गरिदिंदा अन्तमा “आमिन” भन्‍नु उपयुक्‍त छ भनी बाइबलमा पाइने उदाहरणहरूले देखाउँछ। (१ इतिहास १६:३६; भजन ४१:१३) व्यक्‍तिगत प्रार्थनाको अन्तमा “आमिन” भन्दा हामीले प्रार्थनामा व्यक्‍त गरेका कुराहरू साँचो मनले भनेका हौं भनेर जोड दिइरहेका हुन्छौं। हाम्रो निम्ति अरू कसैले प्रार्थना गरिदिंदा अन्तमा मनमनै वा ठूलो स्वरले “आमिन” भन्दा प्रार्थना गर्ने उक्‍त व्यक्‍तिले भनेका कुराहरूसित सहमत छौं भनेर देखाइरहेका हुन्छौं।—१ कोरिन्थी १४:१६.

परमेश्‍वरले हाम्रो प्रार्थनाको जवाफ कसरी दिनुहुन्छ?

१६. हामी कुन कुरामा ढुक्क हुन सक्छौं?

१६ के यहोवाले हाम्रो प्रार्थनाको जवाफ साँच्चै दिनुहुन्छ? दिनुहुन्छ! लाखौं मानिसले चोखो मनले गरेको प्रार्थना यहोवाले सुन्‍नुहुन्छ भनी हामी ढुक्क हुन सक्छौं किनभने उहाँ “प्रार्थना सुन्‍नुहुने” परमेश्‍वर हुनुहुन्छ। (भजन ६५:२) यहोवाले विभिन्‍न तरिकामा हाम्रो प्रार्थनाको जवाफ दिनुहुन्छ।

१७. हाम्रो प्रार्थनाको जवाफ दिन परमेश्‍वरले स्वर्गदूत र पृथ्वीमा भएका आफ्ना उपासकहरूलाई चलाउनुहुन्छ भनेर किन भन्‍न सक्छौं?

१७ यहोवाले स्वर्गदूतका साथै पृथ्वीमा भएका आफ्ना उपासकहरूलाई चलाएर हाम्रो प्रार्थनाको जवाफ दिनुहुन्छ। (हिब्रू १:१३, १४) थुप्रै मानिसले बाइबलको कुरा बुझ्न मदत गर्नुहोस्‌ भनेर परमेश्‍वरलाई प्रार्थना गरेको अनि त्यसको केही समय बित्न नपाउँदै यहोवाको साक्षीलाई भेटेको घटना सुनाउँछन्‌। यस्ता घटनाहरूले हामी प्रचारमा जाँदा स्वर्गदूतहरूले हामीलाई डोऱ्‍याइरहेका हुन्छन्‌ भनेर साबित गर्छ। (प्रकाश १४:६) आपत्‌मा परेको बेला प्रार्थना गर्दा यहोवाले हामीजस्तै उहाँको उपासना गर्ने साथीभाइलाई चलाएर हामीलाई चाहिएकै मदत दिनुहुन्छ।—हितोपदेश १२:२५; याकूब २:१६.

एक ख्रीष्टियन जोडीले अशक्‍त वृद्ध साथीलाई मदत गर्दै छन्‌

यहोवाले हामीजस्तै उहाँका अरू उपासकहरूलाई चलाएर हाम्रो प्रार्थनाको जवाफ दिनुहुन्छ

१८. आफ्ना सेवकहरूको प्रार्थनाको जवाफ दिन यहोवाले कसरी आफ्नो पवित्र शक्‍ति र बाइबल चलाउनुहुन्छ?

१८ आफ्ना उपासकहरूको प्रार्थनाको जवाफ दिन यहोवा परमेश्‍वरले आफ्नो पवित्र शक्‍ति र आफ्नो वचन बाइबल पनि चलाउनुहुन्छ। विभिन्‍न समस्या अनि परिस्थितिमा आफ्नो विश्‍वासको जाँच हुँदा हामी प्रार्थना गर्छौं। त्यस्तो बेला उहाँले आफ्नो पवित्र शक्‍तिद्वारा डोऱ्‍याइ अनि बल दिएर हाम्रो प्रार्थनाको जवाफ दिनुहुन्छ। (२ कोरिन्थी ४:७) कुनै ठूलो निर्णय गर्नुअघि यहोवासित प्रार्थना गरेर मदत माग्दा यहोवाले अक्सर बाइबलमार्फत त्यसको जवाफ दिनुहुन्छ। व्यक्‍तिगत बाइबल अध्ययन गर्दा र हाम्रा प्रकाशनहरू, जस्तै यो किताब पढ्‌दा चाहिएकै जवाफ भेट्टाइरहेका हुन्छौं। अथवा हाम्रा सभामा छलफल हुने विषय नै हामीले खोजेको जवाफ हुन सक्छ। अथवा मण्डलीको हितमा चासो राख्ने एल्डरहरूले टिप्पणी गर्दा अनजानमै हामीले खोजेको जवाफ दिइरहेका हुन सक्छन्‌।—गलाती ६:१.

१९. कहिलेकाहीं प्रार्थनाको जवाफ नपाएको जस्तो लाग्दा कुन कुरा बिर्सनु हुँदैन?

१९ कहिलेकाहीं यहोवाले हाम्रो प्रार्थनाको जवाफ दिन ढिला गर्नुभएजस्तो लाग्न सक्छ। त्यतिखेर उहाँसित हाम्रो प्रार्थनाको जवाफ छैन रहेछ भनेर सोच्नु हुँदैन। बरु उहाँले आफ्नो इच्छाबमोजिम उचित समयमा हाम्रो प्रार्थनाको जवाफ दिनुहुन्छ भनेर सम्झनुपर्छ। हामीलाई के चाहिन्छ र ती कसरी पूरा गर्नुपर्छ, हामीलाई भन्दा उहाँलाई राम्ररी थाह छ। उहाँ हामीलाई ‘मागिरहन, खोजिरहन र ढकढक्याइरहन’ प्रोत्साहन दिनुहुन्छ। (लूका ११:५-१०) हामीले प्रार्थना गरिरह्‍यौं भने आफूले मागेको कुरा साँच्चै चाहन्छौं अनि परमेश्‍वरले त्यो कुरा पूरा गरिदिनुहुनेछ भनेर पक्का विश्‍वास गर्छौं भनेर परमेश्‍वरले देख्नुहुन्छ। यहोवाले हामीले आसै नगरेको तरिकामा पनि हाम्रो प्रार्थनाको जवाफ दिनुहुन्छ। उदाहरणको लागि, कुनै ठूलो समस्याले हाम्रो विश्‍वासको जाँच लिइरहेको बेला यहोवाले त्यस समस्यालाई हटाउनुको साटो समस्यासित जुझ्ने बल हामीलाई दिनुहुन्छ।—फिलिप्पी ४:१३.

२०. हामीले किन निरन्तर प्रार्थना गर्नुपर्छ?

२० यहोवा परमेश्‍वर विशाल ब्रह्‍माण्डको सृष्टिकर्ता हुनुभए तापनि उहाँलाई मनदेखि प्रार्थना गर्नेजति सबैको प्रार्थना उहाँले सुन्‍नुहुन्छ। (भजन १४५:१८) त्यसैले यहोवालाई निरन्तर प्रार्थना गरेर यस्तो राम्रो सुअवसरबाट हामी पूरापूर फाइदा उठाऔं। यसो गऱ्‍यौं भने प्रार्थना सुन्‍नुहुने परमेश्‍वरसित हामी झन्‌झन्‌ नजिक हुनेछौं।

बाइबलले के सिकाउँछ?

  • यहोवालाई निरन्तर प्रार्थना गर्दा उहाँसित नजिक हुन सक्छौं।—याकूब ४:८.

  • परमेश्‍वरले हाम्रो प्रार्थना सुनेको चाहन्छौं भने विश्‍वास, नम्रता र निष्कपटतासाथ प्रार्थना गर्नुपर्छ।—मर्कूस ११:२४.

  • हामीले येशूमार्फत यहोवालाई मात्र प्रार्थना गर्नुपर्छ।—मत्ती ६:९; यूहन्‍ना १४:६.

  • “प्रार्थना सुन्‍नुहुने” परमेश्‍वर यहोवाले स्वर्गदूत, पृथ्वीमा भएका आफ्ना उपासक, पवित्र शक्‍ति र बाइबलमार्फत हाम्रो प्रार्थनाको जवाफ दिनुहुन्छ।—भजन ६५:२.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने