प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • जनभाषण तयारी गर्ने तरिका
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
    • जनभाषण तयारी गर्ने तरिका

      यहोवाका साक्षीहरूको अधिकांश मण्डलीमा प्रत्येक हप्ता बाइबलआधारित जनभाषण दिइन्छ। तपाईं एल्डर वा सहायक सेवक हुनुहुन्छ भने के आफूलाई प्रभावकारी जनवक्‍ता अनि शिक्षक साबित गर्नुभएको छ? छ भने तपाईंलाई जनभाषण दिने जिम्मेवारी दिइन सक्छ। ईश्‍वरतान्त्रिक सेवा स्कूलले हजारौं भाइलाई सेवाको यस सुअवसरको लागि योग्य बन्‍न मदत गरेको छ। जनभाषण दिने जिम्मेवारी पाउँदा कसरी तयारी थाल्नुपर्छ?

      रूपरेखा अध्ययन गर्नुहोस्‌

      भाषणको रूपरेखा राम्ररी नबुझेसम्म पढिरहनुहोस्‌ र त्यसमा मनन गरिरहनुहोस्‌। भाषणको शीर्षक अर्थात्‌ मूल-विषय मनमा ठप्प बसाल्नुहोस्‌। तपाईंले श्रोतालाई सिकाउनुपर्ने कुरा के हो? तपाईंको भाषणको उद्देश्‍य के हो?

      मुख्य बुँदा राम्ररी पढ्‌नुहोस्‌ अनि त्यसलाई केलाउनुहोस्‌। प्रत्येक मुख्य बुँदा मूल-विषयसित कसरी सम्बन्धित छन्‌? प्रत्येक मुख्य बुँदाअन्तर्गत केही सहायक बुँदा दिइएका हुन्छन्‌। यी बुँदामुनि यिनलाई समर्थन गर्ने थप बुँदा राखिएका हुन्छन्‌। रूपरेखाको प्रत्येक भाग अघिल्लो भागसित र पछिल्लो भागसित कसरी सम्बन्धित छन्‌ अनि भाषणको उद्देश्‍य प्राप्त गर्न प्रत्येक भागले कसरी मदत पुऱ्‍याउँछन्‌, विचार गर्नुहोस्‌। भाषणको मूल-विषय, उद्देश्‍य र मुख्य बुँदाले त्यो उद्देश्‍य प्राप्त गर्न कसरी मदत पुऱ्‍याउँछ भन्‍ने कुरा बुझिसकेपछि विषयवस्तुलाई विस्तार गर्न सक्नुहुन्छ।

      सुरुमा रूपरेखामा भएका मुख्य बुँदाअनुसार भाषणलाई चार-पाँचवटा छोटो भाषणजस्तै ठान्दा तपाईंलाई तयारी गर्न सजिलो हुन्छ। त्यसपछि प्रत्येक छोटो भाषणलाई छुट्टा-छुट्टै तयारी गर्नुहोस्‌।

      रूपरेखा भाषणको तयारी गर्नको लागि मात्र दिइएको हो। यसबाटै हेरेर भाषण दिन यो रूपरेखा उपलब्ध गराइएको होइन। तयारी गर्दा तपाईंले यसैको आधारमा छुट्टै रूपरेखा बनाउनुपर्छ र त्यही रूपरेखा प्रयोग गरेर भाषण दिनुपर्छ। तपाईंलाई दिइएको रूपरेखा बनाउँदै गरेको घरजस्तै हो। घर तयार पारेर बस्न लायकको बनाउनुअघि त्यस घरमा गारो लगाउनुपर्छ, झ्यालढोका र छाना हाल्नुपर्छ।

      बाइबलको प्रयोग

      येशू ख्रीष्ट र उहाँका चेलाहरूको शिक्षा धर्मशास्त्रमा आधारित हुन्थ्यो। (लूका ४:१६-२१; २४:२७; प्रेषि. १७:२, ३) त्यसैगरि तपाईंको भाषण पनि बाइबलमा आधारित हुनुपर्छ। रूपरेखामा दिइएका बुँदालाई सरसरती बताएर अनि जीवनमा लागू गर्ने तरिका भनेर मात्र पुग्दैन। ती बुँदालाई बाइबलले कसरी समर्थन गर्छ, त्यो बुझेर बाइबलबाट सिकाउनुपर्छ।

      भाषणको तयारी गर्दा रूपरेखामा उल्लेख गरिएका प्रत्येक शास्त्रपद जाँच्नुहोस्‌। शास्त्रपद कुन सन्दर्भमा लेखिएको हो, ध्यान दिनुहोस्‌। कुनै शास्त्रपद त्यतिबेलाको पृष्ठभूमि बुझ्न मात्र दिइएका हुन्छन्‌। भाषण दिंदा उल्लिखित सबै शास्त्रपद पढ्‌नुपर्दैन वा त्यसबारे बयान गर्नुपर्दैन। श्रोतालाई सबैभन्दा सुहाउने शास्त्रपद छान्‍नुहोस्‌। रूपरेखामा दिइएका पदमा नै ध्यान दिनुभयो भने थप पद चलाउनु आवश्‍यक पर्दैन।

      धेरैवटा पद प्रयोग गर्दैमा तपाईंको भाषण राम्रो भयो भन्‍न सकिंदैन। भाषण राम्रो हुन तपाईंको सिकाउने तरिका गुणस्तरीय हुनुपर्छ। कुनै पनि शास्त्रपद किन प्रयोग गरियो, त्यसको कारण बताउनुहोस्‌। पद कसरी लागू गर्न सकिन्छ, समय लगाएर बुझाउनुहोस्‌। पद पढिसकेपछि पनि बाइबल खुल्लै राखेर पदबारे छलफल गर्नुहोस्‌। त्यसो गर्नुभयो भने श्रोताले पनि बाइबल खुल्लै राख्नेछन्‌। श्रोताको चासो जगाउन र तिनीहरूलाई परमेश्‍वरको वचनबाट भरपूर लाभ उठाउन तपाईं कसरी मदत दिन सक्नुहुन्छ? (नहे. ८:८, १२) पदको व्याख्या गरेर, दृष्टान्त बताएर अनि पदको उपयोगिता बताएर।

      व्याख्या। भाषणको मुख्य पद व्याख्या गर्न तयारी गर्दा आफैलाई यस्ता प्रश्‍न सोध्नुहोस्‌: ‘यस पदको अर्थ के हो? भाषणमा यो पद किन प्रयोग गर्दैछु? यस पदबारे श्रोताको मनमा कस्ता प्रश्‍न उठ्‌छन्‌?’ यो पद कुन सन्दर्भमा, कस्तो पृष्ठभूमिमा र कस्तो परिवेशमा लेखियो, केलाउनुपर्छ। साथै पदका शब्द कति सशक्‍त छन्‌ र प्रेरित लेखकले कुन उद्देश्‍यले लेखेका हुन्‌, त्यो पनि केलाउनुपर्छ। यसको लागि अनुसन्धान गर्नुपर्छ। “विश्‍वासी र बुद्धिमान्‌ दास”-ले उपलब्ध गराएका प्रकाशनहरूमा प्रशस्त मूल्यवान्‌ जानकारी पाउन सक्नुहुन्छ। (मत्ती २४:४५-४७) पदबारे भएभरको कुरा बताउने कोसिस नगर्नुहोस्‌। बरु भर्खर पढिएको पद विषयसित कसरी सम्बन्धित छ, व्याख्या गर्नुहोस्‌।

      दृष्टान्त। दृष्टान्त बताउनुको उद्देश्‍य छलफल गरेको विषय गहिरिएर बुझ्न वा कुनै बुँदा वा सिद्धान्त सम्झन श्रोतालाई मदत दिनु हो। तपाईंले भनेका कुरा राम्ररी बुझ्न र ती कुरालाई पहिल्यै थाह भइसकेको कुरासित तुलना गर्न दृष्टान्तले श्रोतालाई मदत गर्छ। डाँडामा दिइएको उपदेशमा येशूले त्यसै गर्नुभयो। “आकाशका चराचुरुङ्‌गी,” “मैदानका फूलहरू,” “साँघुरो ढोका,” ‘चट्टानमाथिको घर’ र यस्तै अन्य दृष्टान्तले उहाँको शिक्षालाई सशक्‍त, स्पष्ट र बिर्सनै नसकिने बनायो।—मत्ती अध्या. ५-७.

      उपयोगिता। तपाईंले पद व्याख्या गर्दा र त्यो बुझाउन दृष्टान्त बताउँदा श्रोताले बुझ्न त बुझ्छन्‌ तर त्यो ज्ञानलाई व्यवहारमा उतार्दा मात्र लाभ उठाउन सक्छन्‌। हुन त बाइबलको शिक्षा व्यवहारमा लागू गर्ने जिम्मेवारी श्रोताकै हो। तैपनि के गर्नुपर्छ भनेर ठम्याउन तपाईंले तिनीहरूलाई मदत दिनुपर्छ। छलफल गरिएको पद र त्यसको व्यावहारिक महत्त्व श्रोताले बुझेका छन्‌ भन्‍ने कुरामा तपाईं विश्‍वस्त भइसकेपछि त्यसले तिनीहरूको विश्‍वास अनि बानी-बेहोरामा कस्तो प्रभाव पार्नुपर्छ भनेर बुझाउन पर्याप्त समय निकाल्नुहोस्‌। छलफल गरिएको बाइबल सत्यसित बाझिने गलत विचार र नराम्रा आनीबानी त्याग्दा के-कस्ता फाइदा हुन्छन्‌, त्यसमा जोड दिनुहोस्‌।

      पदको उपयोगिताबारे बताउने विचार गर्दा श्रोताको पृष्ठभूमि फरक-फरक छ र तिनीहरूले विभिन्‍न परिस्थितिको सामना गरिरहेका छन्‌ भन्‍ने कुरा नबिर्सनुहोस्‌। तपाईंका श्रोता नवजिज्ञासु, युवा, वृद्ध र विभिन्‍न समस्यासित सङ्‌घर्ष गरिरहेकाहरू हुन सक्छन्‌। भाषणलाई कथाजस्तो नभई व्यावहारिक शिक्षा दिने खालको बनाउनुहोस्‌। केही खास व्यक्‍तिलाई मात्र तोकेर सल्लाह दिएको जस्तोगरि भाषण नदिनुहोस्‌।

      वक्‍ताको रूपमा तपाईंले गर्ने निर्णय

      भाषणको रूपरेखामा तपाईंको लागि केही निर्णय पहिल्यै गरिएका हुन्छन्‌। जस्तै:- मुख्य-मुख्य बुँदा स्पष्ट हुनेगरि दिइएका हुन्छन्‌ र प्रत्येक मुख्य बुँदा छलफल गर्दा कति समय लगाउनुपर्ने हो, त्यो प्रस्टै उल्लेख गरिएको हुन्छ। अरू निर्णय भने तपाईं आफैले गर्नुपर्ने हुन्छ। कुनै खास सहायक बुँदामा तपाईं धेरै समय दिने छनौट गर्न सक्नुहुन्छ भने कुनैमा थोरै। प्रत्येक बुँदामा उत्तिकै समय दिनुपर्छ भन्‍ने नठान्‍नुहोस्‌। किनकि सबै बुँदामा उत्तिकै समय दिंदा भाषण सिध्याउने धुनमा छिटो-छिटो बोल्नुपर्ने हुन्छ र श्रोता अलमलिन सक्छन्‌। त्यसो भए कुन बुँदालाई विस्तृत रूपमा बुझाउने र कुनचाहिंलाई छोटकरीमा बताउने भनी तपाईं कसरी निर्णय गर्न सक्नुहुन्छ? आफैलाई सोध्नुहोस्‌: ‘भाषणको मूल-विषय बुझाउन कुन बुँदा मदतकारी हुनेछ? कुनचाहिं बुँदा श्रोताको लागि सबैभन्दा लाभदायी हुन सक्छ? उल्लिखित कुनै खास पद र त्यससित सम्बन्धित बुँदा हटाउँदा प्रस्तुत गर्ने प्रमाणको क्रम नै टुट्‌ने हो कि?’

      भाषणमा अनुमान गरेका कुरा वा व्यक्‍तिगत विचारधारा कुनै पनि हालतमा नघुसाउनुहोस्‌। परमेश्‍वरका छोरा येशू ख्रीष्टले समेत “आफ्नै तर्फबाट” बोल्नुभएन। (यूह. १४:१०) मानिसहरू यहोवाका साक्षीहरूको सभामा बाइबलआधारित छलफल सुन्‍न आउँछन्‌ भन्‍ने कुरा नबिर्सनुहोस्‌। आफूतर्फ नभई परमेश्‍वरको वचनमा ध्यान खिचेकोले तपाईं राम्रो वक्‍ताको रूपमा चिनिनुभएको हो। नबिर्सनुहोस्‌, बाइबलमा आधारित भएर भाषण दिइएकोले नै तपाईंको भाषण श्रोतालाई राम्रो लागेको हो।—फिलि. १:१०, ११.

      सरल रूपरेखालाई बाइबलको आधारमा विस्तृत व्याख्या गरेर भाषण तयार पारिसकेपछि तपाईंले चाल्नुपर्ने अर्को कदम हो—भाषणको अभ्यास। आवाज निकालेर अभ्यास गर्नु राम्रो हो। तपाईंले भाषणका सबै बुँदा राम्ररी सम्झनुभएको छ कि छैन, त्यो पक्का गर्नुपर्छ। तपाईं पूर्णतया विश्‍वस्त भएर बोल्न सक्ने हुनै पर्छ, भाषणलाई जीवन्त ढङ्‌गमा प्रस्तुत गर्न सक्ने हुनै पर्छ र बाइबल सत्यलाई उत्साहका साथ प्रस्तुत गर्न सक्ने हुनै पर्छ। भाषण दिनुअघि आफैलाई सोध्नुहोस्‌: ‘मैले भाषण दिनुको उद्देश्‍य के हो? मैले भन्‍न खोजेका मुख्य बुँदा स्पष्ट छन्‌? के मैले बाइबललाई आफ्नो भाषणको आधार बनाएको छु? के प्रत्येक मुख्य बुँदाले स्वतः अर्को बुँदातर्फ डोऱ्‍याउँछ? के मेरो भाषणले गर्दा यहोवाप्रति अनि उहाँका प्रबन्धहरूप्रति कृतज्ञ हुन श्रोतालाई मदत दिन्छ? भाषणको समापन मूल-विषयसित मिल्छ? अनि समापनले श्रोतालाई के गर्नुपर्छ भनेर देखाउनुका साथै त्यसैअनुसार कदम चाल्न उत्प्रेरित गर्छ?’ यी प्रश्‍नका सकारात्मक जवाफ दिन सक्नुहुन्छ भने तपाईं अरूको भलाइ हुने गरी ‘ज्ञान फैलाउन’ सक्नुहुन्छ। यस्तो ज्ञानले मण्डलीलाई फाइदा पुग्छ र यहोवाको पनि प्रशंसा गर्छ।—हितो. १५:२.

      दोभासेमार्फत भाषण दिंदा ध्यान दिनुपर्ने कुरा

      प्रायः एउटै देशमा समेत विभिन्‍न भाषा बोलिन्छ। त्यसकारण कहिलेकाहीं जनवक्‍ताले दोभासेमार्फत बाइबलआधारित भाषण दिनुपर्ने हुन्छ। त्यसरी भाषण दिनुपर्ने भयो भने तल दिइएका निर्देशनहरू तपाईंलाई र दोभासेलाई मदतकारी हुनेछ।

      • तपाईंको भाषण प्रभावकारी हुन्छ वा हुँदैन, त्यो दोभासेमा निर्भर हुन्छ। दोभासे अनुभवी भए पनि मदत गर्नुभयो भने तिनले अझै राम्ररी उल्था गर्न सक्नेछन्‌।

      • सामान्यतया तपाईंले आफ्नो भाषणको लम्बाइ घटाउनै पर्छ। उदाहरणको लागि भाषण तीस मिनेटको हो भने दोभासेलाई उल्था गर्ने समय दिन आफ्नो भाषणलाई कम्तीमा पनि दस मिनेट छोट्ट्याउनै पर्छ। (साङ्‌केतिक भाषामा उल्था गर्दा भने सँगसँगै उल्था गर्न सकिने भएकोले भाषणलाई छोट्ट्याइरहनुपर्दैन।)

      • भाषण दिनुअघि दोभासेसित भाषणको रूपरेखा र त्यसको उद्देश्‍य के हो, त्यो छलफल गर्नुहोस्‌। तपाईंले अधिवेशनमा पाण्डुलिपिबाट भाषण दिने जिम्मा पाउनुभएको छ भने दोभासेलाई त्यो भाषणको पाण्डुलिपि पढ्‌न दिनुहोस्‌।

      • भाषणमा तपाईंले प्रयोग गर्ने पदबारे दोभासेलाई बताउनुहोस्‌। तपाईंले प्रयोग गर्ने बाइबलले भन्‍न खोजेको कुरा उल्था गरिने भाषाको बाइबलसित मेल खान्छ कि खाँदैन, पक्का गर्नुहोस्‌। पदको कुनचाहिं शब्दमा जोड दिने वा व्याख्या गर्ने भनेर दोभासेलाई बताउनुहोस्‌।

      • बाइबल पद दुवै भाषामा पढ्‌ने कि एउटा भाषामा मात्र पढ्‌ने हो, पहिल्यै निर्णय गर्नुहोस्‌। उल्था गरिने भाषामा मात्र पद पढे पनि पुग्छ।

      • मिति, सङ्‌ख्या र पद छिटोछिटो बताउँदा गाह्रो हुन्छ। दोभासेले पछ्याउन सक्नेगरि बताउनुहोस्‌। सङ्‌ख्याको सन्दर्भमा तोकेरै ‘१,१०,३१५’ भन्‍नुभन्दा ‘१ लाख १० हजार जति’ भन्‍नु बेस हुन्छ।

      • कुनै उदाहरण, उखान र नौला शब्दबारे बताउने विचार गर्नुभएको छ भने त्यसबारे दोभासेसँग छलफल गर्नुहोस्‌। दोभासेले ती कुरा बुझेका छन्‌ कि छैनन्‌ र उल्था गरिने भाषामा त्यही सन्देश दिन सम्भव छ कि छैन, पक्का गर्नुहोस्‌।

      • भाषण दिंदा छोटो-छोटो वाक्य प्रयोग गर्नुहोस्‌। अर्थ नबुझिने गरी अपूरो वाक्य बताउने नगर्नुहोस्‌। (दोभासेले एउटा-एउटा शब्द उल्था गर्दैनन्‌ बरु वाक्यले दिन खोजेको सन्देश उल्था गर्छन्‌।) दोभासेलाई एउटा वाक्य पूरा उल्था गर्ने समय दिनुहोस्‌। त्यसपछि मात्र अर्को वाक्य बताउनुहोस्‌।

      • तपाईंको आवाज प्रस्ट छ र उच्चारण सही छ भने दोभासेलाई सजिलो हुन्छ।

  • सिकाउने क्षमता विकास गर्ने तरिका
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
    • सिकाउने क्षमता विकास गर्ने तरिका

      शिक्षक भएकोले तपाईंको लक्ष्य के हो? भर्खरै मात्र प्रकाशक बन्‍नुभएको हो भने तपाईं पक्कै पनि गृह बाइबल अध्ययन सञ्चालन गर्ने तरिका सिक्न चाहनुहुन्छ। किनकि येशूले आफ्ना अनुयायीहरूलाई चेला बनाउने आदेश दिनुभएको थियो। (मत्ती २८:१९, २०) चेला बनाउने काममा अनुभव बटुलिसक्नुभएको छ भने पनि तपाईं अरूको मन छुनेगरि झनै प्रभावकारी तरिकामा सिकाउन चाहनुहुन्छ होला। तपाईं आमाबाबु हुनुहुन्छ भने छोराछोरीलाई तिनीहरूको जीवन परमेश्‍वरमा समर्पण गर्न उत्प्रेरित गर्न सक्ने किसिमको शिक्षक पक्कै बन्‍न चाहनुहुन्छ। (३ यूह. ४) तपाईं एल्डर हुनुहुन्छ वा एल्डर बन्‍न अघि बढ्‌दै हुनुहुन्छ भने श्रोताको मनमा यहोवा र उहाँका तौरतरिकाबारे गहिरो कदर विकास गर्न सक्ने जनवक्‍ता बन्‍न चाहनुहुन्छ होला। तपाईं यी लक्ष्यसम्म कसरी पुग्न सक्नुहुन्छ?

      निपुण शिक्षक येशू ख्रीष्टबाट सिक्नुहोस्‌। (लूका ६:४०) डाँडामा भीडसित कुरा गर्दा होस्‌ वा एक-दुई जना बटुवासित कुरा गर्दा, येशूले भनेका कुराले र भन्‍ने तरिकाले तिनीहरूमा अमेट छाप पाऱ्‍यो। येशूले श्रोतालाई सोच्न लगाउनुभयो र सिकेको कुरा तिनीहरूले बुझ्न सक्नेगरि कसरी व्यवहारमा उतार्न सक्छन्‌, त्यो सिकाउनुभयो। के तपाईं पनि त्यस्तै गर्न सक्नुहुन्छ?

      यहोवामा भर पर्नुहोस्‌

      स्वर्गमा बस्ने बुबासितको नजिकको सम्बन्ध र परमेश्‍वरको पवित्र शक्‍तिले गर्दा येशूको सिकाउने क्षमता तिखारियो। के तपाईं गृह बाइबल अध्ययन प्रभावकारी ढङ्‌गमा सञ्चालन गर्नको लागि निष्कपट भएर प्रार्थना गर्नुहुन्छ? आमाबाबु हुनुहुन्छ भने छोराछोरीलाई सिकाउन नियमित प्रार्थना गरेर के तपाईं परमेश्‍वरको डोऱ्‍याइ माग्नुहुन्छ? भाषण दिन तयारी गर्दा वा सभा सञ्चालन गर्न तयारी गर्दा के तपाईं हृदयदेखि नै प्रार्थना गर्नुहुन्छ? यसरी प्रार्थना गरी यहोवामा भर पर्दा प्रभावकारी शिक्षक बन्‍न मदत पाउनुहुनेछ।

      यहोवाको वचन बाइबलमा भरोसा गरेर पनि उहाँमा भर परेको देखाउन सक्छौं। त्रुटिरहित मानवको रूपमा आफ्नो जीवनको अन्तिम रात येशूले आफ्ना बुबालाई प्रार्थनामा यसो भन्‍नुभयो: “मैले तिनीहरूलाई तपाईंको वचन दिएको छु।” (यूह. १७:१४) येशूसँग अनुभवको खानी नै भए तापनि उहाँले कहिल्यै आफ्नोतर्फबाट बोल्नुभएन। उहाँ सधैं बुबाले सिकाएको कुरा बोल्नुहुन्थ्यो। (यूह. १२:४९, ५०) यसरी उहाँले हाम्रो निम्ति उदाहरण बसाल्नुभयो। परमेश्‍वरको वचन बाइबलमा मानिसहरूलाई प्रभाव पार्ने शक्‍ति छ; यसले मानिसहरूको काम, सोचविचार र भावनालाई समेत असर गर्छ। (हिब्रू ४:१२) परमेश्‍वरको वचनमा अझ बढ्‌दै जाँदा र प्रचारमा यसलाई राम्ररी प्रयोग गर्न सिक्दै जाँदा मानिसहरूलाई परमेश्‍वरतर्फ खिच्न सक्नेगरि सिकाउन तपाईं सिपालु हुन सक्नुहुनेछ।—२ तिमो. ३:१६, १७.

      यहोवाको आदर गर्नुहोस्‌

      येशूको अनुकरण गर्दै शिक्षक हुनु भनेको रोचक भाषण दिनु मात्रै होइन। येशूको “मनमोहक वचन” सुनेर मानिसहरू छक्क परे। (लूका ४:२२) उहाँले त्यति राम्रोसँग सिकाउनुको उद्देश्‍य के थियो? उहाँ आफूतर्फ ध्यान खिच्न होइन, यहोवाको आदर गर्न चाहनुहुन्थ्यो। (यूह. ७:१६-१८) त्यसैले येशूले आफ्ना अनुयायीलाई यस्तो आग्रह गर्नुभयो: “मानिसहरूसामु तिमीहरूको ज्योति चम्कोस्‌ र तिमीहरूको सुकर्म देखेर तिनीहरूले स्वर्गमा बस्नुहुने तिमीहरूका बुबाको महिमा गरून्‌।” (मत्ती ५:१६) सिकाउँदा हामीले पनि यही सल्लाह लागू गर्नुपर्छ। यहोवाको महिमा नहुने किसिमका कुनै पनि कामकुरादेखि अलग्गै रहने हाम्रो लक्ष्य हुनुपर्छ। त्यसैले के भन्‍ने वा कसरी भन्‍ने भनेर योजना बनाउँदा आफैलाई यस्तो सोध्नु बेस हो: “के यसले यहोवाको अझै कदर हुन्छ? वा यसले मतर्फ पो ध्यान खिच्छ कि?”

      प्रभावकारी ढङ्‌गमा सिकाउन दृष्टान्त/उदाहरण अनि वास्तविक घटनालाई प्रयोग गर्न सक्छौं। तर लामो दृष्टान्त दिइयो अथवा अनुभव बताउँदा स-सानो विवरण पनि दिइयो भने सिकाउनुको उद्देश्‍य नै ओझेलमा पर्छ। त्यसैगरि रमाइलोको लागि मात्र कथा बताउँदा प्रचार गर्नुको उद्देश्‍य पूरा गर्न सकिंदैन। बरु शिक्षकले परमेश्‍वरको शिक्षाले पूरा गर्ने कुराप्रति नभई आफैतर्फ ध्यान खिचिरहेका हुन्छन्‌।

      “तिमीहरूले भेद राख्नू”

      कुनै पनि व्यक्‍ति येशूको साँचो चेला बन्‍ने हो भने सिकाइएको कुरा तिनले स्पष्टसित बुझ्नुपर्छ। तिनले बाइबल सत्य सुन्‍नुपर्छ र बाइबल सत्य अन्य आस्थाभन्दा कसरी फरक छ, त्यो बुझ्नुपर्छ। दुईबीचको भिन्‍नता छुट्ट्याउँदा कुरा प्रस्टसित बुझिन्छ।

      यहोवाले आफ्ना मानिसहरूलाई शुद्ध र अशुद्ध कुराबीच “भेद राख्नू” भनेर बारम्बार आग्रह गर्नुभयो। (लेवी १०:९-११) उहाँको आध्यात्मिक मन्दिरमा सेवा गर्नेहरूले अरूलाई “पवित्र र अपवित्र कुरा छुट्ट्याउन सिकाउनेछन्‌” भनी उहाँले भन्‍नुभयो। (इज. ४४:२३) हितोपदेशको पुस्तकमा धार्मिकता र दुष्टताबीच अनि ज्ञान र मूर्खताबीच थुप्रै भिन्‍नता दिइएका छन्‌। साथै विपरीत कुराको मात्रै होइन उस्तै-उस्तै कुराबीचसमेत भिन्‍नता छुट्ट्याउन सकिन्छ। रोमी ५:७ मा प्रेषित पावलले भला मानिस र कर्तव्यपरायण मानिसबीचको भिन्‍नता छुट्ट्याए। प्रधान पुजारीको रूपमा हारूनले गर्ने सेवाको तुलनामा ख्रीष्टले गर्ने सेवा उच्च स्तरको छ भनी तिनले हिब्रूको पुस्तकमा देखाए। यो कुरासित सहमत हुँदै १७औं शताब्दीका शिक्षाविद्‌ले (यान आमोस कोमेन्सकी) यस्तो लेखे: “सिकाउनु भनेको कुनै पनि कुराको उद्देश्‍य, स्वरूप र सुरुवात कसरी अर्कोभन्दा भिन्‍न छ भनेर बताउनु मात्र हो। . . . त्यसकारण जसले दुई कुराबीचको भिन्‍नता राम्ररी व्याख्या गर्न सक्छ, उसले नै राम्ररी सिकाउन सक्छ।”

      मानिलिनुहोस्‌, तपाईं कसैलाई परमेश्‍वरको राज्यबारे सिकाउँदै हुनुहुन्छ। परमेश्‍वरको राज्य के हो भनेर तिनले बुझेनन्‌ भने तपाईं बाइबलबाटै परमेश्‍वरको राज्य एउटा वास्तविक सरकार हो भनेर देखाउन सक्नुहुन्छ। अथवा परमेश्‍वरको राज्य मानव सरकारहरूभन्दा कसरी भिन्‍न छ, त्यो बताउन सक्नुहुन्छ। तर यी आधारभूत सत्य थाह पाएकाहरूलाई त अझ धेरै जानकारी बताउन सक्नुहोला। तिनीहरूसित कुरा गर्दा भजन १०३:१९ मा बताइएको ब्रह्‍माण्डभरि यहोवाले गर्ने शासन, अथवा कलस्सी १:१३ मा उल्लिखित परमेश्‍वरको “प्यारो छोराको राज्य,” अथवा एफिसी १:१० मा बताइएको “प्रबन्ध” आदिबाट मसीही राज्य कसरी भिन्‍न छ, व्याख्या गर्नुहुन्छ होला। यसरी दुईबीचको भिन्‍नता छुट्ट्याउँदा श्रोतालाई बाइबल शिक्षा स्पष्टसित सिक्न मदत गरिरहनुभएको हुनेछ।

      येशूले बारम्बार यस्तै तरिकाले सिकाउनुभयो। उहाँले मोशाको व्यवस्थाबारे मानिसबीच व्याप्त धारणा वास्तवमा व्यवस्था दिइनुको खास कारणभन्दा भिन्‍न छ भनी प्रस्ट्याउनुभयो। (मत्ती ५:२१-४८) उहाँले साँचो ईश्‍वरीय भक्‍ति फरिसीहरूको कपटपूर्ण धर्मकर्मभन्दा एकदमै भिन्‍न छ भनेर देखाउनुभयो। (मत्ती ६:१-१८) अरूमाथि ‘हैकम चलाउनेहरू’ र आत्मत्यागी मनोभाव देखाउने उहाँका चेलाहरूबीचको भिन्‍नता येशूले देखाउनुभयो। (मत्ती २०:२५-२८) अर्को पटक भने येशूले श्रोतालाई आत्मधर्मी भावना र साँचो पश्‍चातापबीचको भिन्‍नता छुट्ट्याउन भन्‍नुभयो जुन कुरा मत्ती २१:२८-३२ मा लिपिबद्ध छ। यसले राम्रो शिक्षणकलाको अर्को पाटोतर्फ हाम्रो ध्यान खिच्छ।

      श्रोतालाई सोच्न प्रोत्साहन दिनुहोस्‌

      दुई कुराबीचको भिन्‍नता छुट्ट्याउनुअघि येशूले “तिमीहरूलाई कस्तो लाग्छ” भनेर सोध्नुभएको कुरा मत्ती २१:२८ मा पाउँछौं। दक्ष शिक्षकले तथ्य प्रस्तुत गर्ने वा जवाफ दिने मात्र गर्दैनन्‌। बरु तिनले श्रोतालाई सोचविचार गर्ने क्षमता विकास गर्न लगाउँछन्‌। (हितो. ३:२१; रोमी १२:१) यो केही हदसम्म प्रश्‍न सोधेर गरिन्छ। मत्ती १७:२५ मा दिइएको विवरणअनुसार येशूले यसरी सोध्नुभयो: “तिमीलाई कस्तो लाग्छ, सिमोन? पृथ्वीका राजाहरूले राजस्व वा कर कसबाट उठाउँछन्‌? आफ्ना छोराहरूबाट कि पराईबाट?” यसरी सोच्न लगाउने प्रश्‍न गरेर येशूले पत्रुसलाई मन्दिरको कर तिर्ने सन्दर्भमा सही निष्कर्षमा पुग्न मदत गर्नुभयो। त्यसरी नै “वास्तवमा मेरो छिमेकी को हो?” भनी सोध्ने मानिसलाई जवाफ दिंदा पनि येशूले पुजारी अनि लेवीको व्यवहार र सामरीको व्यवहारबीच अकास-जमिनको भिन्‍नता थियो भनेर देखाउनुभयो। त्यसपछि उहाँले यस्तो प्रश्‍न सोध्नुभयो: “यी तीन जनामध्ये कोचाहिं डाँकुहरूको फेला पर्ने त्यस मानिसको छिमेकी ठहरियो?” (लूका १०:२९-३६) फेरि पनि सीधै जवाफ दिनुको साटो श्रोतालाई आफ्नो प्रश्‍नको जवाफ आफै पत्ता लगाउन येशूले प्रोत्साहन दिनुभयो।—लूका ७:४१-४३.

      श्रोताको मन छुने प्रयास गर्नुहोस्‌

      केही खास तथ्य कण्ठ गर्दैमा र केही खास नियम पालन गर्दैमा साँचो उपासना गरेको ठहरिंदैन भनी परमेश्‍वरको वचनको सही अर्थ थाह पाएका शिक्षकले बुझेका हुन्छन्‌। साँचो उपासना यहोवासितको असल सम्बन्ध गाँस्नु र उहाँको तौरतरिकाको कदर गर्नुमा आधारित छ। यस्तो उपासना मनदेखि गरिएको हुनुपर्छ। (व्यव. १०:१२, १३; लूका १०:२५-२७) किनकि बाइबलमा प्रयोग गरिएको “मन” शब्दले अक्सर सम्पूर्ण व्यक्‍तिलगायत इच्छा-आकाङ्‌क्षा, भावना र मनोवृत्तिलाई बुझाउँछ।

      मानिस बाहिरी रूपलाई हेर्छन्‌ तर परमेश्‍वर मनभित्र हेर्नुहुन्छ भनेर येशूलाई थाह थियो। (१ शमू. १६:७) परमेश्‍वरप्रतिको प्रेमले गर्दा नै हामी उहाँको सेवा गर्छौं; मानिसहरूको मन जित्न होइन। (मत्ती ६:५-८) फरिसीहरू भने देखावटी रूपमा मात्र परमेश्‍वरको सेवा गर्थे। तिनीहरू व्यवस्थाको एक-एक नियम र आफैले बनाएको नियम पालन गर्नुपर्छ भनेर जोड दिन्थे। तर तिनीहरूले जुन परमेश्‍वरको उपासना गरिरहेको दाबी गरेका थिए, उहाँका सेवकहरूले प्रकट गर्नुपर्ने गुण पटक्कै देखाएनन्‌। (मत्ती ९:१३; लूका ११:४२) परमेश्‍वरको नियम पालन गर्नु महत्त्वपूर्ण भए तापनि यस्तो आज्ञाकारी मनोभाव मनबाटै उब्जनुपर्छ भनेर येशूले सिकाउनुभयो। (मत्ती १५:७-९; मर्कू. ७:२०-२३; यूह. ३:३६) अरूलाई सिकाउने सन्दर्भमा येशूको उदाहरण अनुकरण गऱ्‍यौं भने राम्रो नतिजा प्राप्त गर्न सक्छौं। मानिसहरूलाई परमेश्‍वरले तिनीहरूबाट चाहेको कुरा सिक्न मदत गर्नु जरुरी छ। तर तिनीहरूले यहोवालाई चिन्‍नु र माया गर्नु पनि उत्तिकै जरुरी छ। किनकि यसरी तिनीहरू परमेश्‍वरसित सम्बन्ध गाँस्न इच्छुक छन्‌ भनेर आफ्नो आचरणबाट देखाइरहेका हुन्छन्‌।

      यस्तो शिक्षाबाट फाइदा उठाउने हो भने मनभित्रको कुरा बाहिर निकाल्न करै लाग्छ। येशूले मानिसहरूलाई तिनीहरूको मनसाय र भित्री भावना जाँच्न प्रोत्साहन दिनुभयो। गलत धारणा सुधार्दा येशूले आफ्ना श्रोतालाई तिनीहरूले त्यसरी विचार गर्नु, भन्‍नु वा गर्नुको खास कारण पनि सोध्ने गर्नुहुन्थ्यो। तर येशू सोध्ने मात्र गर्नुहुन्‍न थियो, प्रश्‍न सँगसँगै श्रोतालाई तिनीहरूको गलत धारणा सच्याउन के गर्नुपर्छ, त्यो बताउनुहुन्थ्यो, दृष्टान्त/उदाहरण दिनुहुन्थ्यो वा कामबाट देखाउनुहुन्थ्यो। (मर्कू. २:८; ४:४०; ८:१७; लूका ६:४१, ४६) त्यसैगरि हामीले पनि श्रोता आफैलाई यस्तो प्रश्‍न सोध्ने सुझाव दिन सक्छौं: ‘यस्तो कदम चाल्नु मलाई किन उचित लाग्छ? म किन यस्तो प्रतिक्रिया व्यक्‍त गर्दैछु?’ त्यसपछि सम्बन्धित विषयमा यहोवाको दृष्टिकोण कस्तो छ, पत्ता लगाउने प्रोत्साहन दिनुहोस्‌।

      व्यवहारमा प्रयोग गर्ने तरिका सिकाउनुहोस्‌

      “बुद्धि प्राप्त गर्नु” महत्त्वपूर्ण छ भनेर असल शिक्षकले बुझेको हुन्छ। (हितो. ४:७) समस्या समाधान गर्न, खतराबाट जोगिन, लक्ष्य हासिल गर्न र अरूलाई मदत गर्न सफलतासाथ प्रयोग गरिने ज्ञान नै बुद्धि हो। विद्यार्थीको लागि शिक्षकले निर्णय गरिदिनुहुँदैन। शिक्षकको जिम्मेवारी भनेको विद्यार्थीलाई प्राप्त ज्ञान प्रयोग गर्न मदत दिनु हो। विभिन्‍न बाइबल सिद्धान्त छलफल गर्दा विद्यार्थीलाई तर्क गर्न मदत गर्नुहोस्‌। पहिला दिनहुँ जीवनमा आइपर्ने कुनै घटना उल्लेख गर्नुहोस्‌। त्यसपछि त्यस्तै परिस्थिति आइपऱ्‍यो भने विद्यार्थीले भर्खरै पढेको बाइबल सिद्धान्त कसरी प्रयोग गर्छन्‌, सोध्नुहोस्‌।—हिब्रू ५:१४.

      सिकेको कुरा व्यवहारमा प्रयोग गर्ने तरिकाबारे प्रेषित पत्रुसले इस्वी संवत्‌ ३३ पेन्तिकोसमा दिएको भाषणमा सिकाए। त्यस भाषणले मानिसहरूको जीवनमा ठूलो परिवर्तन ल्यायो। (प्रेषि. २:१४-३६) भीडले विश्‍वास गर्छौं भनी दाबी गरेको धर्मशास्त्रमा आधारित तीनवटा विवरण छलफल गरेपछि पत्रुसले तिनीहरू सबैले देखेको घटनाको आधारमा ती पद कसरी लागू हुन्छन्‌ भनेर बताए। परिणामस्वरूप तिनीहरूले सिकेको कुराअनुसार कदम चाल्नुपर्ने आवश्‍यकता महसुस गरे। के तपाईंले सिकाउने तरिकाले पनि मानिसहरूमा यस्तै प्रभाव पार्छ? कुनै पनि कुरा दोहोऱ्‍याउने मात्र नगरी त्यसको कारण बुझ्न पनि मदत गर्नुहुन्छ? सिकिरहेको कुराले जीवनमा कस्तो प्रभाव पार्नुपर्छ भनेर तिनीहरूलाई सोच्न प्रोत्साहन दिनुहुन्छ कि? तपाईंका श्रोताले पेन्तिकोसको दिन पत्रुसको भाषण सुन्‍ने श्रोताले जस्तै विचलित हुँदै “त्यसोभए हामी के गरौं?” भनेर त नसोध्लान्‌। तर शास्त्रपद व्यवहारमा प्रयोग गर्ने तरिका राम्ररी बुझाउनुभएको छ भने तपाईंका श्रोता उपयुक्‍त कदम चाल्न उत्प्रेरित हुनेछन्‌।—प्रेषि. २:३७.

      छोराछोरीसित बाइबल पढ्‌दा त्यसमा भएका सिद्धान्त कसरी व्यवहारमा प्रयोग गर्न सकिन्छ त्यसबारे सिकाउने राम्रो मौका तपाईंले पाउनुहुनेछ। (एफि. ६:४) उदाहरणका लागि साप्ताहिक बाइबल पढाइका केही अंश छानेर तिनको अर्थ छोराछोरीसित छलफल गर्न सक्नुहुन्छ र त्यसपछि यस्ता प्रश्‍न सोध्न सक्नुहुन्छ: ‘यी पदबाट हामी कस्तो निर्देशन पाउँछौं? यी पदलाई प्रचारमा कसरी प्रयोग गर्न सक्छौं? यी पदले यहोवा र उहाँको तौरतरिकाबारे के प्रकट गर्छन्‌ र उहाँको अझै कदर गर्न कसरी मदत गर्छन्‌?’ यी बुँदाबारे ईश्‍वरतान्त्रिक सेवा स्कूलको बाइबल पढाइको विशेषतामा टिप्पणी गर्न परिवारलाई प्रोत्साहन दिनुहोस्‌। तिनीहरू जुन पदबारे टिप्पणी गर्छन्‌, त्यो हतपती बिर्सिंदैनन्‌।

      असल उदाहरण बसाल्नुहोस्‌

      तपाईं आफ्नो बोलीद्वारा मात्र होइन कामद्वारा पनि अरूलाई सिकाउन सक्नुहुन्छ। बोलेअनुसार काम गरेर उदाहरण बसाल्नुहोस्‌। किनकि छोराछोरीले हेरेर सिक्छन्‌। आमाबाबुको नक्कल गरेर छोराछोरीले आमाबाबुजस्तै हुन चाहेको कुरा देखाउँछन्‌। आमाबाबुले गरेको काम गर्दा कस्तो हुन्छ, तिनीहरू थाह पाउन चाहन्छन्‌। तपाईंले सिकाएका व्यक्‍तिहरूले पनि त्यसै गर्न चाहन्छन्‌। तपाईंले “ख्रीष्टको देखासिकी गरेजस्तै” तपाईंको “देखासिकी” गर्न थाल्दा तिनीहरूले यहोवाको मार्गमा हिंड्‌दा पाइने आशिष्‌ अनुभव गर्न सक्नेछन्‌। (१ कोरि. ११:१) यहोवाले कसरी मदत गर्नुहुन्छ र कसरी ख्याल राख्नुहुन्छ, त्यो तिनीहरू आफैले बुझ्न सक्नेछन्‌।

      यसले अरूको निम्ति राम्रो उदाहरण बसाल्नु महत्त्वपूर्ण छ भन्‍ने गम्भीर कुरा सम्झाउँछ। बाइबल सिद्धान्त प्रयोग गर्नेबारे विद्यार्थीको लागि साक्षात्‌ उदाहरण भइदिन “पवित्र आचरण . . . र परमेश्‍वरप्रतिको भक्‍ति प्रकट हुने कामहरू गर्ने” सन्दर्भमा हामी “कस्तो किसिमको मानिस” हौं, त्यो देखाएर धेरै मदत गर्न सक्छौं। (२ पत्रु. ३:११) बाइबल विद्यार्थीलाई नियमित तवरमा बाइबल पढ्‌न प्रोत्साहन दिनुहुन्छ भने पहिला आफै बाइबल पढ्‌ने सन्दर्भमा लगनशील हुनुपर्छ। छोराछोरीले बाइबल सिद्धान्तअनुसार जीवन बिताउन सिकेको चाहनुहुन्छ भने उनीहरूले देख्नेगरि तपाईंले परमेश्‍वरको स्तरअनुसार जीवन बिताएको हुनुपर्छ। प्रचारमा जोसिलो हुनुहोस्‌ भनेर मण्डलीमा सिकाउँदै हुनुहुन्छ भने तपाईं आफै प्रचारमा जोसिलो हुनुपर्छ। जे सिकाउनुहुन्छ, त्यसैअनुसार गर्नुहुन्छ भने मात्रै तपाईं अरूलाई उत्प्रेरित गर्न सक्नुहुन्छ।—रोमी २:२१-२३.

      सिकाउने तरिकामा प्रगति गर्न आफैलाई सोध्नुहोस्‌: ‘मैले सिकाउँदा के त्यसले श्रोताको मनोवृत्ति, बोली वा काममा असर गर्छ? प्रस्टसित बुझाउन दुई विचारबीचको भिन्‍नता स्पष्टसित बताउँछु? भनेका कुरा विद्यार्थीले, छोराछोरीले र श्रोताले सम्झन सकून्‌ भनेर म के गर्छु? श्रोतालाई तिनीहरूले सिकिरहेको कुरा व्यवहारमा प्रयोग गर्ने तरिकाबारे स्पष्टैसित बुझाइदिएको छु? के मैले बसालेको उदाहरणबाट श्रोताले त्यही सिकेका छन्‌? छलफल गरिएको विषयप्रति तिनीहरूले देखाउने प्रतिक्रियाले यहोवासितको सम्बन्धलाई कसरी असर गर्छ भन्‍ने कुरा के श्रोताले बुझेका छन्‌?’ (हितो. ९:१०) शिक्षकको रूपमा आफ्नो क्षमता विकास गर्न खोज्दै हुनुहुन्छ भने यी कुरामा ध्यान दिइरहनुहोस्‌। “आफ्नो विषयमा र आफ्नो शिक्षाको विषयमा तिमी सधैं होसियार होऊ। ती कुराहरूलाई पक्रिराख, यसो गऱ्‍यौ भने तिमीले आफ्नो र तिम्रो कुरा सुन्‍नेहरूको उद्धार गर्नेछौ।”—१ तिमो. ४:१६.

      प्रभावकारी तरिकामा सिकाउन चाहनुहुन्छ भने

      • आफ्नो क्षमतामा होइन, यहोवामा भर पर्नुहोस्‌

      • परमेश्‍वरको वचनको शक्‍तिमा भर पर्नुहोस्‌ र त्यसलाई राम्ररी प्रयोग गर्नुहोस्‌

      • आफूतर्फ ध्यान खिच्ने होइन, यहोवाको आदर गर्ने लक्ष्य राख्नुहोस्‌

      • अरूलाई स्पष्टसित सिक्न मदत गर्न दुई बुँदाबीचको भिन्‍नता छुट्ट्याउनुहोस्‌

      • श्रोतालाई सोच्न प्रोत्साहन दिनुहोस्‌

      • श्रोतालाई आफ्नो मनसाय र भित्री भावना जाँच्न आग्रह गर्नुहोस्‌

      • बाइबलको ज्ञानले जीवनमा कस्तो प्रभाव पार्छ, त्यसबारे सोच्न श्रोतालाई प्रोत्साहन दिनुहोस्‌

      • अरूले पछ्याउन लायकको उदाहरण बसाल्नुहोस्‌

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने