जीवन र प्रचारकार्य अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री
जून ४-१०
बाइबलमा पाइने अनमोल धन | मर्कूस १५-१६
“येशूले भविष्यवाणी पूरा गर्नुभयो”
nwtsty-E मर्कू १५:२४, २९ को अध्ययन नोट
उहाँको लुगा आपसमा बाँडे: यसै घटनाबारे यूह १९:२३, २४ मा अझ विस्तृत विवरण पाइन्छ। मत्ती, मर्कूस र लूकाले उल्लेख नगरेका यी कुराहरू पनि यूहन्नाले लेखेका छन्: रोमी सिपाहीहरूले येशूको बाहिरी लुगा र त्यसमुनि लगाइराख्नुभएको लुगा—दुवैको लागि गोला हालेको हुनुपर्छ। बाहिरी लुगालाई चाहिँ तिनीहरूले “चार भाग लगाएर एक-एक भाग लिए।” येशूले त्यसमुनि लगाइराख्नुभएको लुगालाई चाहिँ तिनीहरूले भाग लगाउन चाहेनन्। त्यसैले त्यो कसले लिने भनेर गोला हाले। तिनीहरूले यसरी मसीहको लुगाको निम्ति गोला हाल्दा भज २२:१८ मा गरिएको भविष्यवाणी पूरा भयो। मृत्युदण्ड दिनेहरूले मृत्युदण्ड पाउने अपराधीहरूको लुगा राख्ने चलन थियो। त्यसैले मृत्युदण्ड दिनुअघि ती अपराधीहरूको लुगा र तिनीहरूसँग भएका अरू सबै थोक जफत गरिन्थ्यो। यसले गर्दा ती अपराधीहरूको झनै अपमान हुन्थ्यो।
मुन्टो हल्लाएर: कसैको उपहास, गिल्ला वा खिसी गर्न मुन्टो हल्लाउँदै केही भन्ने चलन थियो। मुन्टो हल्लाउँदै येशूको खिसी गरेर ती बटुवाहरूले अनजानमै भज २२:७ मा उल्लेख गरिएको भविष्यवाणी पूरा गरे।
nwtsty-E मर्कू १५:४३ को अध्ययन नोट
यूसुफ: सुसमाचारका किताबहरूका लेखकहरूले यूसुफबारे भिन्नाभिन्नै तरिकामा वर्णन गरेका छन्। यसबाट तिनीहरूको फरक-फरक व्यक्तित्वबारे थाह हुन्छ। कर उठाउने काम गरेका मत्तीले यूसुफ “एक जना धनी मानिस” थिए भनी लेखेका छन्। मुख्यतः रोमीहरूको लागि आफ्नो किताब लेखेका मर्कूसले यूसुफ “न्यायपरिषद्का प्रतिष्ठित सदस्य” थिए, जसले परमेश्वरको राज्यको बाटो हेरिरहेका थिए भनी उल्लेख गरेका छन्। सहानुभूतिशील डाक्टर लूकाले यूसुफ “भलादमी अनि परमेश्वरको स्तरबमोजिम असल काम गर्ने मानिस थिए” र येशूलाई दण्ड दिने न्यायपरिषद्को फैसलाको पक्षमा तिनले मत खसालेका थिएनन् भनी लेखेका छन्। अनि यूहन्नाले मात्र यूसुफ “यहूदीहरूको डरले गर्दा गुप्तमा येशूका चेला बनेका थिए” भनी उल्लेख गरेका छन्।—मत्ती २७:५७-६०; मर्कू १५:४३-४६; लूका २३:५०-५३; यूह १९:३८-४२.
बहुमूल्य रत्न खोजौँ
nwtsty-E मर्कू १५:२५ को अध्ययन नोट
बिहानको नौ बजेको थियो: पिलातसले येशूलाई मृत्युदण्ड दिनका लागि मानिसहरूको हातमा सुम्पिँदा “लगभग मध्यान्हको बाह्र बजेको थियो” भनी यूह १९:१४-१६ मा बताइएको छ। त्यसैले त्यहाँ बताइएको समय र मर्कूस १५:२५ मा बताइएको समय बाझिन्छ भनी कसै-कसैले बताउँछन्। हुनत यी दुइटा विवरणमा किन फरक-फरक समय उल्लेख गरिएको छ भनी धर्मशास्त्रले स्पष्टै बताएको त छैन। तर हामीले विचार गर्नुपर्ने केही कुराहरू छन्: पृथ्वीमा येशूले बिताउनुभएको अन्तिम दिनमा घटेका घटनाहरूको समयबारे सुसमाचारका चारैवटा किताबमा दिइएको विवरण प्रायः मेल खान्छ। चारैवटा किताबमा पुजारीहरू अनि धर्मगुरुहरू बिहान झिसमिसेमा एकसाथ भेला भए र त्यसपछि तिनीहरूले येशूलाई रोमी राज्यपाल पन्तियस पिलातसकहाँ लगे भनी बताइएको छ। (मत्ती २७:१, २; मर्कू १५:१; लूका २२:६६–२३:१; यूह १८:२८) येशूलाई खम्बामा टाँगिसकेपछि “मध्यान्ह बाह्र बजेदेखि दिउँसो तीन बजेसम्म” देशभरि अन्धकार छायो भनी मत्ती, मर्कूस र लूका—तीनै जनाले उल्लेख गरेका छन्। (मत्ती २७:४५, ४६; मर्कू १५:३३, ३४; लूका २३:४४) येशूलाई मृत्युदण्ड दिइएको समयबारे मर्कूस र यूहन्नाले उल्लेख गरेका विवरणहरू फरक-फरक हुनुको एउटा कारण यो हुन सक्छ: कसै-कसैले कोर्रा लगाउनुलाई पनि मृत्युदण्ड दिने प्रक्रियाकै एउटा भाग ठान्थे। कहिलेकाहीँ त यत्ति निर्मम तरिकाले कोर्रा लगाइन्थ्यो कि त्यस व्यक्तिको मृत्युसमेत हुन्थ्यो। येशूलाई पनि निर्मम तरिकामा कोर्रा लगाइएको थियो भन्न सक्छौँ किनभने उहाँलाई यातनाको खम्बा बोकाइँदा उहाँले बोक्न नसकेकोले बीच बाटोमै अर्को व्यक्तिलाई उक्त खम्बा बोकाउनुपरेको थियो। (लूका २३:२६; यूह १९:१७) रोचक कुरा, मत्ती २७:२६ र मर्कू १५:१५ मा येशूलाई कोर्रा लगाइने र खम्बामा टाँगिने कुरा सँगसँगै उल्लेख गरिएको पाउँछौँ। यदि येशूलाई कोर्रा लगाइएको समयदेखि मृत्युदण्ड दिने प्रक्रिया सुरु भयो भनेर मानिलिने हो भने उहाँलाई यातनाको खम्बामा टाँग्नुअघि केही समय बितिसकेको हुनुपर्छ। मृत्युदण्ड दिने प्रक्रिया कहिलेदेखि सुरु हुन्छ भन्नेबारे मानिसहरूको धारणा भिन्नाभिन्नै हुने भएकोले मृत्युदण्ड ठ्याक्कै कहिले दिइयो भन्नेबारे पनि फरक-फरक मानिसहरूले फरक-फरक समय बताउन सक्छन्। सायद यही कारणले गर्दा, येशूलाई खम्बामा टाँगेको केही समयमै उहाँको मृत्यु भएको कुरा थाह पाउँदा पिलातस छक्क परेका थिए। किनभने येशूलाई भर्खरै मात्र मृत्युदण्ड दिन सुरु गरिएको थियो भनेर पिलातसले सोचेका हुन सक्छन्। (मर्कू १५:४४) त्यसका साथै, त्यसबेला दिन र रात दुवैलाई चार-चार भागमा विभाजन गर्ने चलन थियो; एउटा भाग तीन घण्टाको हुन्थ्यो। बाइबलका लेखकहरूले पनि यो चलन पछ्याएको देखिन्छ। दिनलाई विभाजन गर्दा सूर्योदयको समय अर्थात् बिहान छ बजेतिरदेखि सुरु गरेर चार भाग लगाइन्थ्यो। त्यसैले बाइबलमा अक्सर बिहानको नौ बजे, दिउँसोको बाह्र बजे अनि दिउँसोको तीन बजेबारे उल्लेख गरिएको पाइन्छ। (मत्ती २०:१-५; यूह ४:६; प्रे २:१५; ३:१; १०:३, ९, ३०) साथै, साधारण मानिसहरूसित ठ्याक्कै कति बज्यो भनेर थाह पाउन घडी हुँदैनथ्यो। त्यसैले समय उल्लेख गरिँदा प्रायजसो “लगभग” वा “. . . बजेतिर” जस्ता शब्दहरू चलाइएको पाउँछौँ। यूह १९:१४ मा पनि “लगभग” भन्ने शब्द चलाइएको छ। (मत्ती २७:४६; लूका २३:४४; यूह ४:६; प्रे १०:३, ९) सारांशमा भन्नुपर्दा, मर्कूसले येशूलाई कोर्रा लगाइएको र खम्बामा टाँगिएको, दुवै घटनाको समयबारे उल्लेख गरेका हुन सक्छन् अनि यूहन्नाले चाहिँ उहाँलाई खम्बामा टाँगिएको समयबारे मात्रै उल्लेख गरेका हुन सक्छन्। दुवै लेखकले समय उल्लेख गर्दा सबैभन्दा नजिकको तीन घण्टे भाग उल्लेख गरेका हुन सक्छन् र यूहन्नाले चाहिँ त्यस समयबारे बताउँदा “लगभग” शब्द चलाएका छन्। यी कारणहरूले गर्दा मर्कूस र यूहन्नाको विवरणमा फरक-फरक समय उल्लेख गरिएको हुन सक्छ। मर्कूसले आफ्नो किताब लेखेको दशकौँपछि यूहन्नाले आफ्नो किताब लेखेका थिए। तैपनि तिनले मर्कूसले लेखेको भन्दा फरक समय उल्लेख गरे। यसले के देखाउँछ भने यूहन्नाले आफ्नो किताब लेख्दा मर्कूसको किताबको हुबहु नक्कल गरेका थिएनन्।
nwtsty-E मर्कू १६:८ को अध्ययन नोट
डरले गर्दा तिनीहरूले कसैलाई केही बताएनन्: मर्कूसको किताबको अन्तिम भागका सबैभन्दा पुराना पाण्डुलिपिहरू हेर्ने हो भने पद ८ का यी शब्दहरूमै मर्कूसको किताब टुङ्गिएको पाउँछौँ। मर्कूसको किताब यसरी अचानक टुङ्गिएको हुन सक्दैन भनी कोही-कोही दाबी गर्छन्। तर मर्कूसको लेखनशैली हेर्ने हो भने तिनी आफ्नो कुरा खासै भूमिका नबाँधी संक्षिप्तमै बताउन रुचाउँथे भन्ने देखिन्छ। त्यसैले ती मानिसहरूको दाबी ठीक होइन। चौथो शताब्दीका शास्त्रविद्हरू जेरोम र युसिबियसअनुसार पनि मर्कूसको किताबको आधिकारिक लेखोट यी शब्दहरूमै टुङ्गिन्छ: “डरले गर्दा तिनीहरूले कसैलाई केही बताएनन्।”
कतिपय ग्रीक पाण्डुलिपिहरूमा अनि अरू भाषाका अनुवादहरूमा पद ८ पछि लामो समापन वा छोटो समापन थपिएको पाइन्छ। लामो समापन (जसमा १२ वटा पद समावेश गरिएको छ) कोडेक्स अलेक्जेन्ड्रिनस, कोडेक्स इफ्राइमी सिरी रिस्क्रिप्टस र कोडेक्स बेजी क्यान्टाब्रिजेनसिसमा पाइन्छ। यी सबै पाँचौँ शताब्दीका पाण्डुलिपिहरू हुन्। साथै ल्याटिन भल्गेट, क्युरेटोनियन सिरियाक र सिरियाक पेशिट्टा-मा पनि लामो समापन पाइन्छ। तर चौथो शताब्दीको सुरुतिरका दुइटा ग्रीक पाण्डुलिपि—कोडेक्स साइनाइटिकस र कोडेक्स भाटिकानसमा भने लामो समापन पाइँदैन। साथै चौथो वा पाँचौँ शताब्दीको कोडेक्स साइनाइटिकस सिरियाकसमा र पाँचौँ शताब्दीको साहिडिक कप्टिकको सबैभन्दा पुरानो पाण्डुलिपिमा पनि पाइँदैन। त्यसका साथै मर्कूसको किताबको आर्मेनियन र जर्जियन भाषाका सबैभन्दा पुराना पाण्डुलिपिहरूमा पनि पद ८ मै मर्कूसको किताब टुङ्गिएको पाइन्छ।
पछि तयार पारिएका कतिपय ग्रीक पाण्डुलिपिहरू र अरू भाषाका अनुवादहरूमा भने छोटो समापन पाइन्छ (जसमा केही वाक्यहरू मात्रै समावेश गरिएको छ)। आठौँ शताब्दीको कोडेक्स रिगियसमा दुइटै समापन पाइन्छ र छोटो समापन पहिला उल्लेख गरिएको छ। दुवै समापनको सुरुमा एउटा नोट राखिएको छ, जसमा विज्ञहरूले यी समापनहरू स्विकारेका छन् भनेर लेखिएको छ तर कोडेक्स रिगियस आफैले भने ती भागहरूलाई आधिकारिक मान्यता दिएको पाइँदैन।
छोटो समापन
मर्कूस १६:८ पछिको छोटो समापन प्रेरित धर्मशास्त्रको भाग होइन। छोटो समापन यसप्रकार छ:
तर आफूले आज्ञा पाएजति सबै कुरा तिनीहरूले पत्रुस र तिनीसँग भएकाहरूलाई छोटकरीमा बताइदिए। यसबाहेक, यी कुराहरूपछि, येशू आफैले अनन्त छुटकाराको पवित्र र अविनाशी सन्देश तिनीहरूमार्फत पूर्वदेखि पश्चिमसम्म पठाउनुभयो।
लामो समापन
मर्कूस १६:८ पछिको लामो समापन प्रेरित धर्मशास्त्रको भाग होइन। लामो समापन यसप्रकार छ:
९ हप्ताको पहिलो दिन बिहान सबेरै मृत्युबाट ब्यूँतिएपछि उहाँ सबैभन्दा पहिला मरियम मग्दलिनीकहाँ देखा पर्नुभयो, जसबाट उहाँले सात वटा दुष्ट स्वर्गदूतलाई धपाउनुभएको थियो। १० त्यसपछि उहाँका चेलाहरूकहाँ गएर तिनले सबै कुरा सुनाइदिइन्। किनकि तिनीहरू शोकमा डुबेर रोइरहेका थिए। ११ तर जब तिनीहरूले उहाँ जीवित हुनुभयो र तिनले उहाँलाई देखिन् भनेर सुने, तब तिनीहरूले पत्याएनन्। १२ यसबाहेक, यी सब कुरा भइसकेपछि गाउँतिर गइरहेका दुई जना चेलाकहाँ उहाँ अर्कै रूपमा देखा पर्नुभयो र तिनीहरूसँगै हिंड्न थाल्नुभयो। १३ अनि फर्केर तिनीहरूले बाँकी अरूलाई खबर गरे। तर उनीहरूले यिनीहरूको कुरा पनि पत्याएनन्। १४ पछि, खाना खान बसिरहेका एघारै जनाकहाँ उहाँ देखा पर्नुभयो र तिनीहरूको अविश्वास र मनको कठोरतालाई लिएर उहाँले तिनीहरूलाई हप्काउनुभयो। किनकि उहाँ अब मृत्युबाट ब्यूँतिसक्नुभयो भनेर देख्नेहरूको कुरा तिनीहरूले पत्याएका थिएनन्। १५ अनि उहाँले तिनीहरूलाई भन्नुभयो: “सारा संसारमा जाओ र सबै मानिसहरूलाई सुसमाचार प्रचार गर। १६ जसले विश्वास गर्छ र बप्तिस्मा गर्छ, त्यसले उद्धार पाउनेछ तर जसले विश्वास गर्दैन त्यो दोषी ठहराइनेछ। १७ यसबाहेक विश्वास गर्नेहरूले यस्ता चमत्कारहरू गर्नेछन्: मेरो नाम लिएर तिनीहरूले दुष्ट स्वर्गदूतहरूलाई धपाउनेछन्, विभिन्न भाषामा बोल्नेछन्, १८ तिनीहरूले आफ्नो हातले सर्पहरू समाउनेछन् अनि जस्तोसुकै विषालु कुरा पिए तापनि तिनीहरूलाई केही हानि हुनेछैन। तिनीहरूले बिरामी मानिसहरूमाथि आफ्नो हात राख्नेछन् र तिनीहरू निको हुनेछन्।”
१९ यसरी तिनीहरूसित कुरा गरिसकेपछि प्रभु येशू स्वर्गतिर लगिनुभयो र परमेश्वरको दाहिने हाततर्फ बस्नुभयो। २० तब उहाँले भन्नुभएबमोजिम तिनीहरू गए र चारैतिर प्रचार गर्न लागे। अनि प्रभुले पनि तिनीहरूलाई सहायता गर्नुभयो र तिनीहरूलाई चमत्कार गर्ने शक्ति दिएर तिनीहरूको सन्देशलाई समर्थन गर्नुभयो।
जून ११-१७
बाइबलमा पाइने अनमोल धन | लूका १
बहुमूल्य रत्न खोजौँ
nwtsty-E लूका १:६९ को अध्ययन नोट
पराक्रमी उद्धारक: शाब्दिक, “उद्धारको सिङ।” बाइबलमा सिङले अक्सर बल, विजय अनि जितलाई बुझाउँछ। (१श २:१; भज ७५:४, ५, १०; १४८:१४, NRV) साथै, सिङले शासकहरू वा शासन गर्नेहरूको वंशलाई पनि चित्रण गर्छ, चाहे तिनीहरू असल होऊन् या खराब। अनि सिङले हान्नुले चाहिँ तिनीहरूले विजय हासिल गर्नुलाई चित्रण गर्छ। (व्य ३३:१७; दा ७:२४; ८:२-१०, २०-२४) यस प्रसङ्गमा “उद्धारको सिङ”-ले मसीहलाई चित्रण गर्छ, जो पराक्रमी उद्धारक हुनुहुन्छ अनि जससित उद्धार गर्ने शक्ति छ।
nwtsty-E लूका १:७६ को अध्ययन नोट
यहोवाको अघि-अघि गएर: बप्तिस्मा गराउने यूहन्ना यस अर्थमा ‘यहोवाको अघि-अघि जानेथिए’ कि तिनले येशूको बाटो तयार पार्ने थिए, जसले आफ्नो बुबाको प्रतिनिधित्व गर्नुहुने थियो र आफ्नो बुबाको नाममा आउनुहुने थियो।—यूह ५:४३; ८:२९.
जून १८-२४
बाइबलमा पाइने अनमोल धन | लूका २-३
“युवाहरू हो—के तपाईँ आध्यात्मिक रूपमा उन्नति गर्दै हुनुहुन्छ?”
nwtsty-E लूका २:४१ को अध्ययन नोट
येशूका आमाबाबु हरेक वर्ष . . . जाने गर्थे: निस्तार-चाड मनाउन स्त्रीहरू पनि उपस्थित हुनै पर्छ भनेर व्यवस्थामा लेखिएको थिएन। तैपनि मरियम हरेक वर्ष यो चाड मनाउन आफ्नो पति यूसुफसित यरूशलेमसम्मको यात्रा गर्थिन्। (प्रस्थ २३:१७; ३४:२३) बढ्दै गइरहेको आफ्नो परिवारसित तिनीहरू हरेक वर्ष यरूशलेमसम्म जान र त्यहाँबाट फर्कन जम्मा ३०० किलोमिटर यात्रा गर्थे।
nwtsty-E लूका २:४६, ४७ को अध्ययन नोट
सोध्दै गरिरहनुभएको: येशूको कुरा सुन्ने मानिसहरूको प्रतिक्रिया विचार गर्ने हो भने उहाँले सोध्नुभएका प्रश्नहरू कुनै एउटा बालकले आफ्नो जिज्ञासा मेटाउन सोधेको प्रश्नजस्ता थिएनन्। (लूका २:४७) “सोध्दै गरिरहनुभएको” भनेर अनुवाद गरिएको ग्रीक शब्दले कुनै-कुनै अवस्थामा न्यायिक मामिलाको दौडान गरिने खालको सोधपुछलाई बुझाउँछ, जसमा प्रश्न सोध्नु र त्यसको खण्डन गर्न अर्को प्रश्न सोध्नु समावेश हुन्छ। (मत्ती २७:११; मर्कू १४:६०, ६१; १५:२, ४; प्रे ५:२७) इतिहासकारहरूले बताएअनुसार केही प्रमुख धर्मगुरुहरू चाडपछि पनि मन्दिरमै बस्ने चलन थियो अनि तिनीहरू मन्दिरको कुनै एउटा खुला दलानमा बसेर मानिसहरूलाई सिकाउँथे। मानिसहरू तिनीहरूको चरणमा आएर तिनीहरूको कुरा सुन्न अनि प्रश्नहरू सोध्न सक्थे।
छक्क परिरहेका थिए: “छक्क पर्नु” भन्ने अर्थ दिने ग्रीक क्रियाको जुन रूप यहाँ चलाइएको छ, त्यसले लामो समयसम्म अचम्म मान्नु वा पटक-पटक अचम्म मान्नुलाई बुझाउन सक्छ।
nwtsty-E लूका २:५१, ५२ को अध्ययन नोट
निरन्तर . . . अधीनमा बस्नुभयो: वा “अधीनमा रहिरहनुभयो; आज्ञाकारी भइरहनुभयो।” ग्रीक भाषामा यहाँ अपूर्ण क्रिया प्रयोग गरिएको छ। यसबाट के स्पष्ट हुन्छ भने मन्दिरमा आफ्नो धर्मशास्त्रीय ज्ञानद्वारा शिक्षकहरूलाई आश्चर्यचकित बनाएपछि येशू घर फर्कनुभयो अनि नम्र हुँदै आफ्ना आमाबुबाको अधीनमा बस्नुभयो। उहाँको आज्ञाकारिता अरू बच्चाहरूले देखाउने आज्ञाकारिताभन्दा अझ उल्लेखनीय छ। किनभने येशू यसरी आज्ञाकारी हुनु भनेको उहाँले मोशाको व्यवस्थाको हरेक कुरा पूरा गर्नुको एउटा भाग थियो।—प्रस्थ २०:१२; गला ४:४.
बहुमूल्य रत्न खोजौँ
nwtsty-E लूका २:१४ को अध्ययन नोट
पृथ्वीमा उहाँको निगाह पाएका मानिसहरूलाई शान्ति: कुनै-कुनै पाण्डुलिपिमा यस भागमा “पृथ्वीमा शान्ति होस्, मानिसहरूले निगाह पाऊन्” भनेर अनुवाद गर्न सकिने वाक्यांश प्रयोग गरिएको छ र कुनै-कुनै बाइबल अनुवादमा यसरी नै अनुवाद गरिएको पाइन्छ। तर नयाँ संसार अनुवाद-मा प्रयोग गरिएको वाक्यांश अझ पुराना र भरपर्दा पाण्डुलिपिहरूमा आधारित छ। स्वर्गदूतहरूको यस घोषणाले परमेश्वरले मानिसहरूको मनोवृत्ति र काम जस्तोसुकै भए पनि त्यसको केही वास्ता नगरी सबैलाई देखाउनुहुने निगाहलाई बुझाउँदैन। बरु यसले त्यस्ता मानिसहरूलाई बुझाउँछ, जसले यहोवामाथि साँचो विश्वास गरेकोले र उहाँको छोराको चेला बनेकोले उहाँको निगाह पाउँछन्।—यसै पदको “उहाँको निगाह पाएका मानिसहरू” शीर्षकको अध्ययन नोट हेर्नुहोस्।
उहाँको निगाह पाएका मानिसहरू: यो अभिव्यक्ति ग्रीक शब्द युडोकिया-बाट आएको हो। यसलाई “अनुग्रह, अनुमोदन वा स्वीकृति” भनेर पनि अनुवाद गर्न सकिन्छ। यसैसित सम्बन्धित ग्रीक क्रिया युडोकियो मत्ती ३:१७; मर्कू १:११ र लूका ३:२२ मा प्रयोग गरिएको छ, जहाँ यहोवाले भर्खरै बप्तिस्मा गरेको आफ्नो छोरासित कुरा गर्नुभएको विवरण पाइन्छ। यसको खास अर्थ “स्विकार्नु; कसैसित खुसी वा प्रसन्न हुनु; अनुमोदन देखाउनु” भन्ने हुन्छ। यो कुरा विचार गर्दा “निगाह पाएका मानिसहरू” (आन्थ्रोपोइसयुडोकियास) भन्ने अभिव्यक्तिले परमेश्वरको अनुमोदन अनि निगाह पाउने मानिसहरूलाई बुझाउँछ अनि यस अभिव्यक्तिलाई “उहाँले अनुमोदन देखाउनुहुने मानिसहरू; उहाँलाई खुसी बनाएका मानिसहरू” भनेर पनि अनुवाद गर्न सकिन्छ। त्यसैले स्वर्गदूतहरूको यस घोषणाले परमेश्वरले सबै मानिसलाई देखाउनुहुने निगाहलाई नभई उहाँमा साँचो विश्वास गरेर अनि उहाँको छोराको चेला बनेर उहाँलाई खुसी तुल्याउनेहरूमाथि देखाउनुहुने निगाहलाई बुझाउँछ।
wp१६.३-E पृ.९ अनु. १-३
के तपाईँलाई थाह थियो?
यूसुफका बुबा को थिए?
नासरतका सिकर्मी यूसुफ येशूका धर्मपिता थिए। तर यूसुफका बुबा को थिए? मत्तीको किताबमा दिइएको येशूको वंशावलीमा यूसुफका बुबाको नाउँ याकूब हो भनेर लेखिएको छ तर लूकाले भने यूसुफ “हेलीका छोरा थिए” भनेर लेखेको पाउँछौँ। किन यस्तो भिन्नता?—लूका ३:२३; मत्ती १:१६.
मत्तीको विवरण यसो भन्छ: “याकूबले यूसुफलाई जन्माए।” मूल भाषामा हेर्ने हो भने यहाँ चलाइएको ग्रीक शब्दले यूसुफलाई जन्म दिने तिनका बुबा याकूब नै थिए भनेर स्पष्ट पार्छ। मत्ती यूसुफको वंशबारे बताउँदै थिए। तिनी दाऊदको राजकीय वंशका थिए। त्यसैले यूसुफका धर्मपुत्र येशूसित राजकीय सिंहासनमा बस्न पाउने कानुनी अधिकार थियो।
अर्कोतर्फ, लूकाको विवरण यसो भन्छ: ‘यूसुफ हेलीका छोरा थिए।’ यहाँ चलाइएको “छोरा थिए” भन्ने अभिव्यक्तिले “ज्वाइँ थिए” भनेर पनि बुझाउन सक्छ। यसको अर्को एउटा उदाहरण लूका ३:२७ मा पाउन सक्छौँ, जहाँ शालतिएल “नेरीका छोरा थिए” भनी बताइएको छ तर वास्तवमा शालतिएलका बुबा येकोनिया थिए। (१ इतिहास ३:१७; मत्ती १:१२) शालतिएलले नेरीकी छोरीसित विवाह गरेका थिए जस्तो देखिन्छ। यसरी तिनी नेरीका ज्वाइँ भए। यही अर्थमा यूसुफलाई पनि हेलीका “छोरा” भनिएको छ किनकि तिनले हेलीकी छोरी मरियमसित विवाह गरेका थिए। त्यसैले लूकाले येशूकी आमा मरियमको तर्फबाट येशूको वंशावली लेखेका छन्। यसरी बाइबलले येशूको दुइटा फरक-फरक अनि जानकारीमूलक वंशावली दिएको छ।
जून २५–जुलाई १
बाइबलमा पाइने अनमोल धन | लूका ४-५
“येशूले जस्तै प्रलोभनको प्रतिरोध गर्नुहोस्”
nwtsty-E मिडिया
मन्दिरको पर्खालको टुप्पो
सैतानले येशूलाई साँच्चै “मन्दिरको पर्खालको टुप्पोमा” लगेको र त्यहाँबाट हाम फाल्न भनेको हुन सक्छ तर येशू ठ्याक्कै कुन ठाउँमा उभिनुभयो भनेर चाहिँ हामीलाई थाह छैन। यहाँ “मन्दिर” भनेर अनुवाद गरिएको ग्रीक शब्दले पूरै मन्दिर परिसरलाई बुझाउन सक्छ। त्यसैले येशू मन्दिर परिसरको (१) दक्षिण-पूर्वी कुनाको पर्खालमा उभिनुभएको हुन सक्छ वा अर्को कुनै कुनाको पर्खालमा उभिनुभएको हुन सक्छ। ती कुनै पनि ठाउँबाट हाम फाल्नुभएको भए र यहोवाले नबचाउनुभएको भए येशूको ज्यान जाने थियो।
बहुमूल्य रत्न खोजौँ
nwtsty-E लूका ४:१७ को अध्ययन नोट
भविष्यवक्ता यशैयाको मुठा: मृत सागरमा फेला परेको यशैयाको पुस्तकको पाण्डुलिपि १७ वटा चर्मपत्र मिलेर बनेको छ, जुन एक आपसमा गाँसिएको छ। यस पाण्डुलिपिमा ५४ वटा खण्ड छन् अनि यो ७.३ मिटर (२४ फिट) लामो छ। नासरतको सभाघरमा प्रयोग गरिएको मुठा पनि त्यति नै लामो हुन सक्छ। प्रथम शताब्दीका मुठाहरूमा अध्याय र पदहरू हुँदैनथ्यो। तैपनि येशूले आफूले पढ्न चाहेको भाग अर्थात् भविष्यवाणी लेखिएको ठाउँ फेला पार्नुभयो। यसबाट उहाँसित परमेश्वरको वचनको राम्रो ज्ञान थियो भन्ने देखिन्छ।
nwtsty-E लूका ४:२५ को अध्ययन नोट
साढे तीन वर्षसम्म: पहिलो राजा १८:१ मा बताइएअनुसार एलियाले “तेस्रो वर्षमा” खडेरी अन्त हुनेछ भनेर घोषणा गरेका थिए। त्यसैकारण कसै-कसैले येशूले लूका ४:२५ मा बताउनुभएको कुरा पहिलो राजाको किताबमा भएको विवरणसित बाझिन्छ भनी दाबी गर्छन्। तर हिब्रू धर्मशास्त्रले खडेरी तीन वर्षभन्दा कम समयमै सिद्धियो भनेर सङ्केत गर्दैन। पहिलो राजा १८:१ मा बताइएको “तेस्रो वर्ष” भन्ने अभिव्यक्तिले एलियाले आहाबलाई पहिलो चोटि खडेरीबारे घोषणा गरेको समयदेखि सुरु भएको समयावधिको तेस्रो वर्षलाई बुझाएको हुनुपर्छ। (१रा १७:१) एलियाले त्यो घोषणा गर्दा सुख्खा मौसम सुरु भइसकेको थियो जस्तो देखिन्छ, जुन मौसम सामान्यतया छ महिनासम्म चल्छ तर त्यस वर्ष भने अझ लामो समयसम्म चलेको हुन सक्छ। अनि विचार गर्नुपर्ने अर्को कुरा, “तेस्रो वर्षमा” एलिया फेरि आहाबकहाँ देखा परे तर त्यति नै बेला खडेरी अन्त भएको थिएन। बरु त्यो खडेरी कर्मेल डाँडामा एलियाले यहोवा नै साँचो परमेश्वर हुनुहुन्छ भनेर आगोको जाँचद्वारा प्रमाणित गरेपछि मात्र अन्त भएको थियो। (१रा १८:१८-४५) त्यसैले यस पदमा उल्लेख गरिएका येशूका शब्दहरू र ख्रीष्टको सौतेनी भाइ याकूबले या ५:१७ मा उल्लेख गरेका शब्दहरू १रा १८:१ को विवरणसित बाझिँदैन।