-
शोकमा पर्दाको पीडाब्यूँझनुहोस्!—२०१८ | सङ्ख्या ३
-
-
शोकमा परेकाहरूका लागि मदत
शोकमा पर्दाको पीडा
“रीतासँगa विवाह भएको ३९ वर्षभन्दा धेरै भइसकेको थियो। तर दीर्घकालीन रोगको कारण उसको मृत्यु भयो। एक वर्षसम्म मलाई उसको यादले पिरोलिरह्यो। हुनत साथीहरूबाट धेरै मदत पाएँ र आफूलाई पनि व्यस्त बनाइराखेँ। तैपनि आफ्नो भावनालाई काबूमा राख्न असाध्यै गाह्रो हुन्थ्यो। उसलाई गुमाएको अहिले तीन वर्ष भइसक्यो तैपनि कहिलेकाहीँ एक्कासि उसको याद आएर असाध्यै पीडा हुन्छ।”—सन्जय
के मृत्युको कारण तपाईँले प्रियजन गुमाउनुपरेको छ? छ भने तपाईँले सन्जयले जस्तै महसुस गर्नुभयो होला। जीवनसाथी, आफन्त वा मिल्ने साथी गुमाउँदा असाध्यै चिन्ता र पीडा हुन्छ। कसैको मृत्युले गर्दा हुने पीडाबारे अध्ययन गरेका विशेषज्ञहरू पनि यस कुरामा सहमत छन्। यसबारे मनोचिकित्सासम्बन्धी एउटा अमेरिकी पत्रिकाले (दि अमेरिकन जरनल अफ सायकायट्रि) यस्तो टिप्पणी गऱ्यो, “प्रियजनको मृत्यु हुँदा तिनलाई सधैँको लागि गुमाएकोले असाध्यै पीडा हुन्छ।” यस्तो असह्य पीडा महसुस गरिरहेकाहरूको मनमा यी कुराहरू खेल्न सक्छ: ‘यस्तो भावना कहिलेसम्म रहन्छ? म फेरि खुसी हुन सकुँला? सान्त्वना कहाँ पाउन सक्छु?’
यी प्रश्नहरूबारे यस अङ्कको ब्यूँझनुहोस्!-मा छलफल गरिनेछ। हालसालै तपाईँले प्रियजन गुमाउनुभएको छ भने कस्तो अवस्थाको सामना गर्नुपर्ने हुन्छ, त्यसबारे यसपछिको लेखमा छलफल गरिनेछ। यी शृङ्खलाबद्ध लेखहरूमा शोकको पीडा कम गर्न चाल्न सकिने कदमहरूबारे छलफल गरिनेछ।
शोकमा परेकाहरूले यी लेखहरूबाट सान्त्वना र व्यावहारिक मदत पाउनेछन् भनेर हामी आशा गर्छौँ।
a यी शृङ्खलाबद्ध लेखहरूमा केही नामहरू परिवर्तन गरिएका छन्।
-
-
कस्तो अवस्थाको सामना गर्नुपर्ने हुन्छ?ब्यूँझनुहोस्!—२०१८ | सङ्ख्या ३
-
-
शोकमा परेकाहरूका लागि मदत
कस्तो अवस्थाको सामना गर्नुपर्ने हुन्छ?
मानिसहरूको व्यक्तित्व फरक-फरक हुन्छ। त्यसैले शोक गर्ने तरिका पनि व्यक्तिपिच्छे फरक हुन्छ। प्रियजनको मृत्यु हुँदा दुःख लागे पनि कसै-कसैले आफ्नो पीडा व्यक्त गर्दैनन् वा आफूलाई कति पीडा भइरहेको छ त्यो देखाउन चाहँदैनन्। आफ्नो पीडा व्यक्त गर्दा मन हल्का त हुन्छ तर “यसरी नै” गर्नुपर्छ भन्ने छैन। आफू हुर्केको समाज, आफ्नो व्यक्तित्व र अनुभव अनि प्रियजनको मृत्यु कसरी भयो भन्ने कुराले शोक गर्ने तरिकामा फरक पार्न सक्छ।
शोकका असरहरू के-के हुन्?
प्रियजन गुमाएपछि कस्तो अवस्थाको सामना गर्नुपर्छ, शोकमा परेकाहरूलाई थाह नहुन सक्छ। यस्तो बेला भावनात्मक रूपमा सम्हालिन गाह्रो हुनु र चुनौतीहरू आइपर्नु स्वाभाविकै हो। निम्न कुराहरू विचार गरौँ:
मन भक्कानिनु: यस्तो बेला रुन मन लाग्न सक्छ, मरेको व्यक्तिलाई भेट्ने तीव्र इच्छा जाग्न सक्छ र एक्कासि मुड परिवर्तन हुन सक्छ। मृत व्यक्तिको याद आउँदा र तिनको सपना देख्दा मन भक्कानिन सक्छ। तिनको मृत्यु भएको कुरा सुरुमा स्विकार्नै गाह्रो लाग्न सक्छ। पतिको अचानक मृत्यु हुँदा रीनाले कस्तो महसुस गरिन्? तिनी भन्छिन्: “सुरुमा त केही सोच्नै सकिनँ। रुन पनि सकिनँ। असह्य पीडा भएकोले सासै फेर्न गाह्रो हुन्थ्यो। उहाँ बित्नुभएको कुरा पत्याउनै सकेकी थिइनँ।”
निराश हुनु, रिसाउनु र दोषी महसुस गर्नु। सन्तोस भन्छन्: “हाम्रो २४ वर्षीय छोरा रोजन बितेको केही समयसम्म हामीलाई विनाकारण रिस उठ्थ्यो। यो अचम्मलाग्दो कुरा थियो किनभने हामी शान्त स्वभावका थियौँ। छोरालाई बचाउन अझ केही गर्न सकिन्थ्यो कि जस्तो लागेर दोषी महसुस गर्थ्यौँ।” दीर्घकालीन रोगले गर्दा निकेसकी पत्नीको मृत्यु भयो। तिनले पनि दोषी महसुस गरे। तिनी भन्छन्: “म नै खराब मान्छे भएकोले ईश्वरले मलाई सजाय दिँदै हुनुहुन्छ जस्तो सुरु-सुरुमा लागेको थियो। ईश्वरलाई आरोप लगाएकोमा दोषी महसुस गर्न थालेँ।” यसअघिको लेखमा उल्लिखित सन्जय भन्छन्: “कहिलेकाहीँ रीतादेखि नै रिस उठ्थ्यो। यस्तो सोच्न पुगेकोमा दोषी महसुस गर्थेँ। हुन पनि उसको केही दोष थिएन।”
मानसिक तनाव हुनु: शोकमा परेको व्यक्तिलाई बेलाबेलामा अनौठो सोचाइ आउन सक्छ। आफूले गुमाएको व्यक्तिको कुरा सुन्न, तिनलाई महसुस गर्न र देख्न सकिन्छ जस्तो लाग्न सक्छ। तिनलाई काममा ध्यान दिन वा कुनै कुरा सम्झन गाह्रो लाग्न सक्छ। रीना भन्छिन्: “अरू मसँग कुरा गरिरहेका हुन्थे तर मेरो ध्यान भने अन्तै हुन्थ्यो। सरदको मृत्यु हुँदाको घटना घरिघरि मनमा खेल्थ्यो। मन लगाएर कुनै काम गर्न नसक्दा दिक्क लाग्थ्यो।”
अरूसित सङ्गत गर्न मन नलाग्नु: शोकाकुल व्यक्तिलाई अरूसित सङ्गत गर्नु झिजो वा अप्ठेरो लाग्न सक्छ। सन्जय भन्छन्: “विवाहितहरूसित सङ्गत गर्दा आफू एक्लो भएको महसुस हुन्थ्यो। अविवाहितहरूसित हुँदा पनि त्यस्तै लाग्थ्यो।” सन्तोसकी पत्नी सन्जिता विगतको कुरा सम्झँदै यसो भन्छिन्: “हाम्रो समस्याको तुलनामा सानोजस्तो देखिने समस्याहरू पनि सुनाएको सुन्यै गर्ने मानिसहरूको अगाडि बस्न असाध्यै गाह्रो हुन्थ्यो। अनि कसैले आफ्नो छोराछोरीको प्रगतिबारे सुनाउँदा खुसी त लाग्थ्यो तर उनीहरूको कुरा खासै सुन्न मन लाग्दैन थियो। हाम्रो जीवन यत्तिकैमा सिद्धिदैन यो चलिरहन्छ भनेर थाह त थियो। तैपनि अरूको कुरा सुन्न हामीमा इच्छा र धैर्य नै थिएन।”
स्वास्थ्य समस्या हुनु: भोक नलाग्नु, वजन घट्नु र निद्रा नलाग्नुजस्ता समस्या हुनु सामान्य हो। बुबा बितेको एक वर्षपछि राजुलाई कस्तो समस्या भएको थियो? तिनी भन्छन्: “राम्ररी निद्रै लाग्दैनथ्यो। प्रायजसो रातको एउटै समयमा ब्युझिन्थेँ अनि बुबाको मृत्युको कुरा मनमा खेल्थ्यो।”
आफ्नो स्वास्थ्य समस्याबारे निकेस भन्छन्: “डाक्टरकहाँ थुप्रै पटक जचाउन गएँ तर ममा कुनै समस्या भेटिएन। त्यसैले शोकले गर्दा नै विभिन्न लक्षणहरू देखा परेको हो भन्ठानेँ।” समय बित्दै जाँदा ती लक्षणहरू हराए। निकेसले डाक्टरलाई देखाएर बुद्धिमानी कदम चालेका थिए। शोकले गर्दा शरीरको रोग प्रतिरोधात्मक प्रणाली कमजोर हुन्छ, लागिरहेको रोग बल्झिन वा नयाँ रोग देखा पर्न सक्छ।
महत्त्वपूर्ण काम गर्न गाह्रो हुनु। सन्तोस भन्छन्: “रोजनको मृत्युपछि हामीले नातेदार र साथीहरूलगायत उसको हाकिम र घरबेटीलाई खबर दिनु पऱ्यो। थुप्रै कानुनी कागजात भर्नु पऱ्यो। त्यसपछि रोजनसित के-कस्तो सरसामान थियो, त्यो पनि हेर्नुपर्ने भयो। मानसिक, शारीरिक र भावनात्मक तवरमा लखतरान भए तापनि यी सबै काम गर्न निकै ध्यान पुऱ्याउनुपर्ने थियो।”
प्रियजनको मृत्यु हुनुअघि तिनले सम्हालेको काम अहिले आफैले गर्नुपर्दा कसै-कसैलाई गाह्रो लाग्न सक्छ। त्यस्तै अनुभव गरेकी रीना भन्छिन्: “बैङ्कसित सम्बन्धित र यस्तै अरू काम सधैँ सरदले सम्हाल्नुहुन्थ्यो। अब भने मैले गर्नुपर्ने भयो। मेरो तनाव झनै बढ्यो। सबै काम म एक्लैले गर्न सक्दिनँ जस्तो लाग्थ्यो।”
माथिका उदाहरणहरूले देखाएझैँ शोकमा परेको बेला भावनात्मक, मानसिक र शारीरिक रूपमा सम्हालिन निकै गाह्रो हुन्छ। वास्तवमा प्रियजन गुमाउँदाको पीडा असह्य हुन्छ। तर यस्तो कुरा पहिल्यै थाह पायौँ भने शोकमा पर्दा सहन बल पाउन सक्छौँ। नबिर्सनुहोस्, शोकको सम्भावित सबै असर सबैमा देखा पर्छ भन्ने छैन। शोकले गर्दा असह्य पीडा हुनु स्वाभाविकै हो भनी थाह पाउँदा प्रियजन गुमाएकाहरूले सान्त्वना पाउन सक्छन्।
के म फेरि खुसी हुन सक्छु?
कस्तो अवस्थाको सामना गर्नुपर्ने हुन्छ? प्रियजन गुमाउनुपर्दाको असह्य पीडा सधैँभरि रहँदैन। पीडाको घाउ पूर्णतया “निको” हुन्छ वा आफूले माया गरेको व्यक्तिलाई चटक्कै बिर्सन्छौँ भन्न खोजिएको होइन। तर पीडा बिस्तारै कम हुँदै जान्छ। कहिलेकाहीँ कुनै-कुनै क्षण जस्तै: विवाह वार्षिकी वा यस्तै कुनै विशेष दिन आउँदा पीडा फेरि बल्झिन सक्छ। तर प्रायजसो मानिसहरू आफूलाई सम्हालेर केही समयपछि फेरि आफ्नो दिनचर्यामा फर्कन सक्छन्। यदि प्रियजन गुमाएको व्यक्तिले परिवारका सदस्य वा साथीभाइको मदत पाउँछन् र आवश्यक कदम चाल्छन् भने तिनलाई सम्हालिन त्यति समय लाग्दैन।
कति समय लाग्छ? कसै-कसैलाई पीडा कम गर्न केही महिना लाग्न सक्छ तर धेरैजसोलाई एक वा दुई वर्ष लाग्न सक्छ। अरूलाई भने अझ धेरै समय लाग्छ।a निकेस भन्छन्, “शोकले गर्दा लगभग तीन वर्षसम्म मलाई असह्य पीडा भयो।”
धीरजी हुनुहोस्। आफूलाई सजिलो लाग्ने गतिमा दैनिक कामकुरा गर्नुहोस्, भोलिको चिन्ता नगर्नुहोस्, अनि शोक सधैँभरि रहँदैन भनेर पनि नबिर्सनुहोस्। अहिल्यै आफ्नो शोक कम गर्न र पछि पनि शोकमा नडुब्न के गर्न सक्नुहुन्छ?
शोकले गर्दा असह्य पीडा हुनु स्वाभाविकै हो
a केही मानिसहरू लामो समयसम्म शोकमा डुब्न सक्छन्, जसलाई “जटिल” वा “दीर्घकालीन” शोक भनिन्छ। यस्तो अवस्थामा मानसिक चिकित्सकको मदत लिनु लाभदायी हुन्छ।
-
-
शोकको सामना गर्नुहोस्—तपाईँले चाल्नुपर्ने कदमब्यूँझनुहोस्!—२०१८ | सङ्ख्या ३
-
-
शोकमा परेकाहरूका लागि मदत
शोकको सामना गर्नुहोस् तपाईँले चाल्नुपर्ने कदम
शोकमा पर्दा के गर्नुपर्छ भन्ने विषयमा सल्लाह खोज्नुभयो भने अनगिन्ती सल्लाह पाउन सक्नुहुन्छ। कुनै व्यावहारिक हुन्छ त कुनै हुँदैन। अघिल्लो लेखमा छलफल गरिएझैँ सबैको शोक गर्ने तरिका फरक-फरक हुन्छ। त्यसैले कुनै सल्लाह कसैको लागि मदतकारी हुन सक्छ भने अरूको लागि नहुन सक्छ।
तैपनि थुप्रै मानिसले लाभ उठाउन सकेका केही भरपर्दा सल्लाहहरू छन्। प्रायजसो यस्ता सल्लाहहरू मनोवैज्ञानिकहरूले शोकमा परेका व्यक्तिहरूलाई दिने गर्छन्। यी सल्लाहहरू पुरानो किताब बाइबलको सिद्धान्तहरूसित मेल खान्छ। बुद्धिका कुराले भरिएको यस किताबले दिएका सल्लाहहरू आज पनि उत्तिकै व्यावहारिक छन्।
१: परिवार र साथीभाइको मदत स्विकार्नुहोस्
केही विज्ञका अनुसार शोकमा पर्दा चाल्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कदम यही हो। कहिलेकाहीँ तपाईँलाई एक्लै बस्न मन पर्ला अनि अरूले मदत गर्न खोज्दा झिजो लाग्ला। यस्तो महसुस गर्नु स्वाभाविकै हो।
तपाईँ हरसमय कसै न कसैसित हुनै पर्छ भनेर नसोच्नुहोस्। तर अरूसित सङ्गतै गर्न पनि नछोड्नुहोस्। हुन पनि तपाईँलाई पछि तिनीहरूकै मदत चाहिन सक्छ। अरूले तपाईँको लागि के गरिदिएको चाहनुहुन्छ, दयालु भई बताउनुहोस्।
आफ्नो आवश्यकतालाई विचार गरेर अरूसित बिताउने समय र एक्लै बस्ने समय छुट्ट्याउनुहोस्।
सिद्धान्त: “एकभन्दा दुई असल हो। . . . किनकि यदि एउटा लड्यो भने अर्कोले आफ्नो साथीलाई उठाउनेछ।”—उपदेशक ४:९, १०.
२: पोसिलो खानेकुरा खानुहोस् र व्यायाम गर्नुहोस्
शोकमा पर्दा हुने तनाव कम गर्न पोसिलो खानेकुरा खानुपर्छ। थरीथरीका फलफूल, सागसब्जी र चिल्लो कम भएको प्रोटिनयुक्त खानेकुरा खानुहोस्।
प्रशस्त पानी र शरीरलाई फाइदा पुऱ्याउने पेय पदार्थ पिउनुहोस्।
तपाईँलाई त्यति भोक लाग्दैन भने थोरै-थोरै खानेकुरा बेला-बेलामा खानुहोस्। थप पोषणको विषयमा डाक्टरलाई सोध्न सक्नुहुन्छ।a
छिटो-छिटो हिँड्दा र व्यायाम गर्दा नकारात्मक भावना हटाउन मदत पाइन्छ। व्यायामले कसै-कसैलाई आफ्नो जीवनमा भएको परिवर्तनबारे विचार गर्न मदत गर्छ भने अरू कसैलाई चाहिँ अचाक्ली चिन्तामा नडुब्न मदत गर्छ।
सिद्धान्त: “कुनै मानिसले आफ्नो शरीरलाई कहिल्यै घृणा गर्दैन बरु त्यसलाई . . . खुवाउँछ अनि स्याहार्छ।”—एफिसी ५:२९.
३: पर्याप्त मात्रामा सुत्नुहोस्
निद्रा शरीरको लागि लाभदायी हुन्छ, अझ विशेषगरि शोकाकुल व्यक्तिहरूका लागि। किनभने शोकमा पर्दा अत्यधिक थकाइ लाग्छ।
कति मात्रामा क्याफिन र मादक पदार्थ सेवन गर्ने, त्यसमा विचार पुऱ्याउनुपर्छ किनभने यी दुवै कुराले निद्रालाई असर गर्छ।
सिद्धान्त: “मरुन्जेल मेहनत गरेर बतासलाई खेद्नुभन्दा बरु केही बेर आराम गर्नु नै बेस हो।”—उपदेशक ४:६.
४: पीडा कम गर्ने तरिका पत्ता लगाउनुहोस्
शोक गर्ने तरिका व्यक्तिपिच्छे फरक हुन्छ भन्ने कुरा मनमा राख्नुहोस्। त्यसैले के गर्दा तपाईँको पीडा कम हुन्छ, पत्ता लगाउनुपर्छ।
थुप्रै मानिसले आफ्नो पीडा पोखाउँदा हल्का महसुस गर्छन् तर अरू कतिपयलाई चाहिँ आफ्नो पीडा नपोखाउनु नै बेस लाग्छ। आफ्नो पीडा अरूलाई पोखाउँदा राहत मिल्छ भन्ने कुरामा विज्ञहरूको पनि आ-आफ्नै धारणा छ। आफ्नो पीडा कसैलाई व्यक्त गर्न चाहनुहुन्छ तर त्यसो गर्न गाह्रो लाग्छ भने मिल्ने साथीलाई आफ्नो भावना पोखाउन सक्नुहुन्छ।
कसै-कसैले रुँदा आफ्नो पीडा कम भएको महसुस गर्छन्। तर कसै-कसैलाई भने त्यति नरोए पनि पीडा कम गर्न सकेका छन्।
सिद्धान्त: “आफ्नो मनको पीडा आफैलाई मात्र थाह हुन्छ।”—हितोपदेश १४:१०.
५: आफैलाई हानि पुऱ्याउने बानीबाट अलग रहनुहोस्
कोही-कोही शोकित व्यक्तिहरू आफ्नो पीडा कम गर्न रक्सी वा लागू पदार्थको सहारा लिन्छन्। यस्तो उपायले आफैलाई हानि पुऱ्याउँछ। यस्तो कुराले क्षणिक समयको लागि मात्र पीडा कम गर्छ तर त्यसको असर डरलाग्दो हुन्छ। चिन्ता-फिक्री हटाउन हानि नपुऱ्याउने तरिकाहरू खोज्नुहोस्।
सिद्धान्त: “तन र मनलाई अशुद्ध पार्ने हरकिसिमका कुराबाट अलग रहेर आफूलाई शुद्ध पारौँ।”—२ कोरिन्थी ७:१.
६: समय छुट्ट्याउनुहोस्
शोकबाट (भावनात्मक पीडाबाट) ध्यान अन्तै मोड्न थुप्रैले विभिन्न क्रियाकलापमा (केही समयको लागि पीडा कम गर्न मदत गर्ने गतिविधिमा) व्यस्त हुनु मदतकारी पाएका छन्।
मित्रता गाँस्दा वा बढाउँदा, नयाँ सीप सिक्दा वा कुनै रमाइलो गतिविधिमा समय बिताउँदा केही हदसम्म पीडा कम भएको महसुस गर्न सक्नुहुन्छ।
समय बित्दै जाँदा तपाईँ सन्तुलित हुन सक्नुहुनेछ। आफ्नो पीडा कम हुँदै गएको अनि आफू सम्हालिएको महसुस गर्न सक्नुहुनेछ। यो मनको घाउ निको हुने प्रकिया हो।
सिद्धान्त: “सबै कामको लागि उचित समय छ, . . . रुने एउटा समय छ, हाँस्ने एउटा समय; शोक गर्ने एउटा समय छ, नाच्ने एउटा समय।”—उपदेशक ३:१, ४.
७: तालिकाअनुसार चल्नुहोस्
आफ्नो नियमित तालिकाअनुसार चल्न कदम चालिहाल्नुहोस्।
सुत्ने, काम गर्ने र अन्य क्रियाकलाप गर्ने राम्रो तालिका छ भने सामान्य दिनचर्यामा फर्किन सजिलो हुनेछ।
असल काममा व्यस्त हुँदा आफ्नो पीडा कम गर्न सक्नुहुन्छ।
सिद्धान्त: “साँचो परमेश्वरले उसको हृदय आनन्दले भरिदिनुभएकोले उसलाई आफ्ना दिनहरू बितेको पत्तै हुँदैन।”—उपदेशक ५:२०.
८: महत्त्वपूर्ण निर्णय गर्न हतार नगर्नुहोस्
प्रियजन गुमाउनेबित्तिकै हतारमा महत्त्वपूर्ण निर्णय गरेका कोही-कोही पछि पछुताउनुपरेको छ।
सक्नुहुन्छ भने घर सर्नुअघि, जागिर परिवर्तन गर्नुअघि वा मृतकको सामान मिल्काउनुअघि केही समय कुर्नुहोस्।
सिद्धान्त: “मेहनती मानिसले बनाएको योजना सफल हुन्छ तर हतार गर्ने मानिसहरू कङ्गाल हुन्छन्।”—हितोपदेश २१:५.
९: आफ्नो प्रियजनलाई सम्झनुहोस्
शोकित व्यक्तिहरूले आफ्नो प्रियजनको याद ताजा राख्न विभिन्न कदम चाल्नु फाइदाजनक भएको महसुस गर्छन्।
फोटोहरू र तिनको सम्झना गराउने कुराहरू सङ्कलन गर्दा वा तिनीबारे र आफूले सम्झन चाहेको कुनै घटनाबारे डायरी लेख्दा सान्त्वना पाउन सक्नुहुन्छ।
आफूले गुमाएको प्रियजनको मीठो सम्झना दिने सामानहरू सुरक्षित राख्नुहोस् र आफू सम्हालिएपछि ती कुराहरू हेर्नुहोस्।
सिद्धान्त: “उहिले-उहिलेका दिनहरू सम्झ।”—व्यवस्था ३२:७.
१०: घुम्न जानुहोस्
घुम्न जाने योजना बनाउन सक्नुहुन्छ।
लामो छुट्टी लिन सक्नुहुन्न भने एक-दुई दिनको लागि भए पनि रमाइलो गर्न सक्नुहुन्छ। जस्तै: पैदल यात्रा गर्ने, सङ्ग्रहालय भ्रमण गर्ने वा कतै घुम्न जाने।
तपाईँले आफ्नो दिनचर्यामा केही फेरबदल गर्नुभयो भने शोक कम गर्न मदत पाउन सक्नुहुन्छ।
सिद्धान्त: “तिमीहरू पनि मसँगै एकान्तमा आओ र केहीबेर आराम गर।”—मर्कुस ६:३१.
११: अरूलाई मदत गर्नुहोस्
नबिर्सनुहोस्, अरूलाई मदत गर्दा तपाईँले आफ्नो पीडा कम भएको महसुस गर्न सक्नुहुन्छ।
तपाईँको प्रियजनको मृत्युले असर पारेकाहरूलाई मदत गर्न सक्नुहुन्छ। जस्तै: तपाईँको साथी वा नातेदारलाई, जसलाई आफ्नो दुःख र भावना बुझ्ने साथी चाहिएको हुन सक्छ।
अरूलाई सान्त्वना दिन र मदत गर्न अघि सर्दा आनन्दित हुन सक्नुहुन्छ र आफ्नो जीवन अझै पनि उद्देश्यपूर्ण छ भनेर अनुभव गर्न सक्नुहुन्छ।
सिद्धान्त: “लिनुमा भन्दा दिनुमा धेरै आनन्द छ।”—प्रेषित २०:३५.
१२: आफ्नो प्राथमिकताबारे पुनःविचार गर्नुहोस्
शोकमा परेपछि तपाईँको जीवनमा कुन कुरा महत्त्वपूर्ण छ भनी बुझ्नुहुनेछ।
यस अवस्थालाई आफ्नो जीवनशैली केलाउने मौकाको रूपमा लिनुहोस्।
आवश्यकताअनुसार आफ्नो प्राथमिकता छाँटकाँट गर्नुहोस्।
सिद्धान्त: “भोजको घरमा जानुभन्दा शोक परेको घरमा जानु बेस हो किनकि मृत्यु नै सबै मानिसको अन्त हो। जिउँदाहरूले यो कुरा मनमा राख्नुपर्छ।”—उपदेशक ७:२.
वास्तवमा कुनै पनि कुराले हाम्रो पीडा पूर्ण रूपमा निको पार्न सक्दैन। प्रियजन गुमाएका थुप्रैले आवश्यक कदम चाल्दा पीडा कम गर्न सकिन्छ भनेर अनुभव गरेका छन्। तिनीहरूले यस लेखमा उल्लिखित सल्लाहहरू पालन गर्दा सान्त्वना पाउन सक्छन्। हुनत शोक कम गर्ने तरिका यति मात्र होइन। तैपनि यी सल्लाहहरू पालन गर्दा पीडा कम भएको पक्कै महसुस गर्नुहुनेछ।
a ब्यूँझनुहोस्! पत्रिकाले कुनै खास उपचारको सिफारिस गर्दैन।
-
-
शोकमा परेकाहरूका लागि साँचो मदतब्यूँझनुहोस्!—२०१८ | सङ्ख्या ३
-
-
शोकमा परेकाहरूका लागि मदत
शोकमा परेकाहरूका लागि साँचो मदत
शोकमा पर्दाको पीडा हालसालै खोज-अनुसन्धानको एउटा जल्दोबल्दो विषय बनेको छ। अघिल्लो लेखमा उल्लेख गरिएझैँ उत्कृष्ट विज्ञहरूले दिने सल्लाहहरू बुद्धिका कुरा भएको पुरानो किताब बाइबलसित मेल खान्छ। यसबाट बाइबलमा पाइने सल्लाह अहिले पनि उत्तिकै भरपर्दो छ भनेर स्पष्ट हुन्छ। त्यति मात्र होइन, यसमा शोकमा परेकाहरूका लागि सान्त्वनादायी जानकारी पाइन्छ, जुन अरू कतै पाइँदैन।
मरिसकेका प्रियजनहरूले सास्ती भोगिरहेका छैनन् भन्ने आश्वासन
उपदेशक ९:५ भन्छ: “मरेकाहरूलाई भने केही पनि थाह हुँदैन।” तिनीहरूका “विचारहरू बिलाइजान्छन्।” (भजन १४६:४) त्यसैले बाइबलमा मृत्युलाई चिर निद्रासित तुलना गरिएको छ।—युहन्ना ११:११.
मायालु ईश्वरमा विश्वास गर्दा पाइने सान्त्वना
बाइबलको भजन ३४:१५ भन्छ: “धर्मीहरूमाथि यहोवाकोa नजर रहन्छ अनि तिनीहरूले उहाँलाई गुहार्दा उहाँले आफ्नो कान थाप्नुहुन्छ।” त्यसैले प्रार्थना गरेर आफ्नो भावना ईश्वरलाई व्यक्त गर्दा पीडा कम हुन्छ र यो राम्रो थेरापीभन्दा प्रभावकारी हुन्छ। यसले मानसिक तनाव कम गर्न मदत गर्छ। साथै सान्त्वना दिनुहुने हाम्रा शक्तिशाली सृष्टिकर्तासित व्यक्तिगत सम्बन्ध गाँस्न मदत गर्छ।
उज्ज्वल भविष्यको आशा
मृत्युको चिर निद्रामा परेकाहरू भविष्यमा यसै पृथ्वीमा फेरि जीवित भएर आउँदा कस्तो हुन्छ, कल्पना गर्नुहोस्। बाइबलमा यसबारे थुप्रै पटक उल्लेख गरिएको छ। त्यतिबेला पृथ्वीको अवस्था कस्तो हुन्छ भन्नेबारे बाइबलले बताएको छ। ईश्वरले “तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ र मृत्यु हुनेछैन अनि शोक, रुवाइ वा पीडा पनि फेरि कहिल्यै हुनेछैन।”—प्रकाश २१:३, ४.
बाइबलमा उल्लेख गरिएको ईश्वर यहोवामा विश्वास गर्नेहरूले शोकमा पर्दा सहने बल पाउँछन्। किनकि तिनीहरूसित मरिसकेका प्रियजनलाई फेरि भेट्ने आशा छ। उदाहरणको लागि, विवाह भएको ६५ वर्षपछि पति गुमाएकी अनिता भन्छिन्: “हाम्रा मृतक प्रियजनहरूले सास्ती भोगिरहेका छैनन् र ईश्वरले आफ्नो सम्झनामा हुनेहरूलाई जीवित पार्नुहुन्छ भनेर बाइबलबाट आश्वासन पाएकी छु। श्रीमान् बित्नुभएको कुरा याद आउनेबित्तिकै यस आशामा मनन गर्छु। यसले सहने बल दिएको छ!”
यस शृङ्खलाबद्ध लेखहरूमा उल्लिखित रीना भन्छिन्: “सरद बित्नुभएको दिनदेखि नै ईश्वरको साथ पाएको महसुस गरेकी छु। दुःखको बेला यहोवाले साँच्चै मदत गर्नुभएको छ। बाइबलमा उल्लिखित पुनर्जीवनको आशा मलाई वास्तविक लाग्छ। त्यस आशाले सरदलाई फेरि भेट्ने दिनसम्म स्थिर रहन मलाई बल दिएको छ।”
बाइबलको कुरामा विश्वास गर्ने लाखौँ मानिसले पनि यस्तै महसुस गर्छन्। हुनत बाइबलले दिएको आशा तपाईँलाई काल्पनिक लाग्ला। तर यसमा भएको सल्लाह र प्रतिज्ञा सत्य छन् भन्ने प्रमाण जाँच्नु बेस हो। शोकित व्यक्तिहरूका लागि सबैभन्दा उपयोगी सल्लाह बाइबलमा नै पाइन्छ भनेर तपाईँ आफैले थाह पाउनुहुनेछ।
मृतकहरूका लागि कस्तो आशा छ भनेर अझ थाह पाउनुहोस्
सम्बन्धित भिडियो हेर्न चाहनुहुन्छ भने jw.org/ne मा जानुहोस्
मरिसकेका प्रियजनहरू भविष्यमा फेरि जीवित हुने र तिनीहरूलाई स्वागत गर्ने दिनबारे बाइबलले प्रतिज्ञा गरेको छ
मरेपछि के हुन्छ? बाइबलले दिने जवाफ सान्त्वनादायी र भरपर्दो छ
लाइब्रेरी > भिडियो हेर्नुहोस् (भिडियो: बाइबल > बाइबलको शिक्षा)
के तपाईँ सुसमाचार सुन्न चाहनुहुन्छ?
नराम्रो समाचार व्याप्त भएको समयमा सुसमाचार कहाँ पाउन सक्नुहुन्छ?
बाइबलको शिक्षा > शान्ति र आनन्द हेर्नुहोस्
a यहोवा बाइबलमा उल्लेख गरिएको ईश्वरको नाम हो।
-