अध्याय १००
दस टुक्रा चाँदीको दृष्टान्त
येशू सायद अझै पनि यरूशलेम जाँदा बाटोमा रोकिनुभएको जक्कैको घरमै हुनुहुन्छ। यरूशलेम पुगेपछि येशूले आफू मसीह हुँ भनेर घोषणा गर्नुहुनेछ र आफ्नो राज्य स्थापना गर्नुहुनेछ भनी उहाँका चेलाहरू विश्वास गर्छन्। तिनीहरूको यो सोचाइलाई सच्याउन र राज्य आउन अझ धेरै समय बाँकी छ भन्ने कुरा बुझाउन येशूले एउटा दृष्टान्त बताउनुहुन्छ।
उहाँ भन्नुहुन्छ: “कुलीन घरानाको एक जना मानिस राज्याधिकार हासिल गरेर फर्कन परदेश गए।” येशू नै ती “कुलीन घरानाको एक जना मानिस” हुनुहुन्छ र “परदेश”-चाहिं स्वर्ग हो। येशू त्यहाँ आउनुभएपछि उहाँका बुबाले उहाँलाई राज्याधिकार दिनुहुनेछ।
जानुभन्दा अघि ती कुलीन घरानाको मानिसले आफ्ना दस जना दासलाई बोलाएर प्रत्येकलाई चाँदीको दस-दस टुक्रा दिंदै भन्छन्: “म नफर्केसम्म यसबाट व्यापार गर।” यो दृष्टान्तको प्रथम पूर्तिमा ती दस जना दासले येशूका चेलाहरूलाई प्रतिनिधित्व गर्छन्। विस्तृत अर्थमा, यिनीहरू स्वर्गीय राज्यमा येशूसँग हुने सबै भावी उत्तराधिकारीहरू हुन्।
चाँदी किम्मती तत्त्व हो। एक टुक्रा चाँदी एक जना खेतालाको झन्डै तीन महिना जतिको ज्याला हुन्छ। तर चाँदीका टुक्राहरूले कुन कुराको प्रतिनिधित्व गर्छ? त्यस चाँदीका टुक्राहरूद्वारा दासहरूले कस्तो व्यापार गर्नुपर्ने हो?
प्रतिज्ञा गरिएको राज्यमा येशू राजा भएर नआउन्जेल अभिषिक्त चेलाहरूले स्वर्गीय राज्यका निम्ति अझ अरू मानिसहरूलाई उत्तराधिकारी बनाउन प्रयोग गरिने साधनहरूलाई ती चाँदीका टुक्राहरूले प्रतिनिधित्व गर्छ। उहाँको पुनर्जीवनपश्चात् आफ्ना चेलाहरूका सामुन्ने देखा परेपछि उहाँले तिनीहरूलाई अझ अरू चेला बनाउन र स्वर्गीय-राज्य वर्गमा वृद्धि गराउनका निम्ति प्रतीकात्मक चाँदीका टुक्राहरू दिनुभयो।
येशू अगाडि भन्नुहुन्छ: “तर तिनका जनता तिनलाई घृणा गर्थे। त्यसैले राजदूतहरूको एक दललाई तिनको पछि-पछि यसो भन्न पठाए: ‘यो मानिस हाम्रो राजा बनेको हामी चाहन्नौं।’ ” ती जनता इस्राएलीहरू अर्थात् यहूदीहरू हुन् तर त्यसमा उहाँका चेलाहरू सामेल छैनन्। येशू स्वर्ग गइसकेपछि उहाँ राजा भएको यहूदीहरू चाहँदैनन् भनेर जाहेर गर्न तिनीहरू उहाँका चेलाहरूलाई सताउँछन्। यसप्रकार राजदूतहरूका समूहलाई बाहिर पठाइदिने जनताजस्तै तिनीहरूले व्यवहार गरिरहेका थिए।
ती दस जना दासले चाँदीका टुक्राहरू कसरी प्रयोग गर्छन्? येशू व्याख्या गर्नुहुन्छ: “अन्तमा, राज्याधिकार हासिल गरेर तिनी फर्के। अनि आफूले चाँदीको पैसा दिएका दासहरूलाई बोलाउन हुकुम गरे। किनकि तिनीहरूले व्यापार गरेर के-कति कमाए भनेर तिनी पक्का गर्न चाहन्थे। तब पहिलोचाहिं हाजिर भयो र भन्यो: ‘मालिक, तपाईंले दिनुभएको चाँदीको टुक्राबाट मैले अरू दस टुक्रा कमाएँ।’ अनि तिनले त्यस दासलाई भने: ‘स्याबास, असल दास! तिमीले आफूलाई असाध्यै सानो कुरामा विश्वासिलो साबित गऱ्यौ। त्यसैले दस सहरमाथि अख्तियार चलाऊ।’ त्यसैगरि, दोस्रो दास आयो र भन्यो: ‘मालिक, तपाईंले दिनुभएको चाँदीको टुक्राबाट मैले अरू पाँच टुक्रा कमाएँ।’ तिनले उसलाई पनि यसो भने: ‘तिमी पनि पाँच सहरमाथि अख्तियार चलाऊ।’ ”
दस टुक्रा चाँदी पाउने दासले इस्वी संवत् ३३ देखि आजसम्मका चेलाहरूको एउटा वर्ग वा समूहलाई प्रतिनिधित्व गर्छ, जसमा प्रेषितहरू पनि सामेल छन्। पाँच टुक्रा चाँदी कमाउने दासले पनि त्यसै समयावधिको समूहलाई प्रतिनिधित्व गर्छ। तिनीहरूले आफ्नो योग्यता र अवसरअनुसार पृथ्वीमा राजाको सम्पत्ति बढाउँछन्। दुवै समूहले जोसका साथ सुसमाचारको प्रचार गर्छन् र फलस्वरूप असल मन भएका धेरै मानिसहरू ख्रीष्टियन हुन्छन्। नौ जना दासले सफलतासाथ आफ्नो व्यापार गरे र आफ्नो सम्पत्ति बढाए।
येशू भन्दै जानुहुन्छ: “तर अर्को दास यसो भन्दै आयो: ‘मालिक, तपाईंको चाँदीको टुक्रा यहाँ छ। मैले यसलाई कपडामा बेरेर राखें। मलाई तपाईंको डर लाग्यो, किनकि तपाईं कठोर मानिस हुनुहुन्छ। तपाईं आफूले जम्मा नगरेको पैसा झिक्नुहुन्छ अनि आफूले नछरेको बाली कटनी गर्नुहुन्छ।’ तिनले उसलाई भने: ‘ए दुष्ट दास, तेरो आफ्नै मुखले बोलेको कुराको आधारमा म तेरो न्याय गर्नेछु। म आफूले जम्मा नगरेको पैसा झिक्ने र आफूले नछरेको बाली कटनी गर्ने कठोर मानिस हुँ भनेर तँलाई थाहै रहेछ, हैन त? त्यसोभए, तैंले मेरो चाँदीको पैसा साहूकहाँ लगेर किन राखिनस्? तैंले त्यसो गरेको भए म फर्कंदा ब्याजसहित त्यो फिर्ता पाउने थिएँ।’ त्यसपछि तिनले नजिकै उभिरहेकाहरूलाई यसो भने: ‘ऊबाट चाँदीको टुक्रा खोसेर दस टुक्रा पाउनेलाई देओ।’ ”
त्यो दुष्ट दासबाट त्यो प्रतीकात्मक चाँदी खोसिनुको अर्थ स्वर्गीय राज्यमा त्यसले स्थान गुमाउनु हो। मानौं त्यसले दस वा पाँच सहरहरूमाथि राज्य गर्ने अवसर अर्थात् शासन गर्ने सुअवसर गुमाउँछ। यहाँ यो पनि ध्यान दिनुहोस् कि त्यस दासले कुनै खराब काम गरेकोले त्यो दुष्ट कहलाइएको होइन। बरु, आफ्नो मालिकको राज्यको सम्पत्ति बढाउने काममा असफल भएकोले त्यो दुष्ट घोषित हुन्छ।
दुष्ट दासको चाँदीको टुक्रा पहिलो दासलाई दिंदा यस्तो आपत्ति गरिन्छ: “मालिक, ऊसित दस टुक्रा छँदै छ नि!” तैपनि येशू भन्नुहुन्छ: “जससित छ, त्यसलाई अझ धेरै दिइनेछ तर जससित छैन, त्यससित भएको पनि खोसिनेछ। साथै, मेरा शत्रुहरू, जो म तिनीहरूको राजा बनोस् भन्ने चाहँदैनन्, तिनीहरूलाई यहाँ ल्याओ र मेरै सामने तिनीहरूलाई काट।” लूका १९:११-२७; मत्ती २८:१९,२०.
▪ के कारणले गर्दा येशूले चाँदीका टुक्राहरूको दृष्टान्त बताउनुभएको हो?
▪ कुलीन घरानाको मानिस को हो र ऊ जाने देश कुन हो?
▪ दासहरू को हुन् र चाँदीका टुक्राहरूले कुन कुराको प्रतिनिधित्व गर्छ?
▪ जनता को हुन् र तिनीहरू आफ्नो घृणा कसरी व्यक्त गर्छन्?
▪ एउटा दास किन दुष्ट कहलिन्छ र उसले आफ्नो चाँदीको टुक्रा गुमाउनुको अर्थ के हो?