यहोवालाई किन दिने?
सीदोनको सानो गाउँ सारपतमा बस्ने विधवा चर्को घाममा दाउरा बटुल्दै थिइन्। सम्भवतः हुर्कंदै गरेको छोरोको निम्ति बचेखुचेका अन्तिम रूखोसुखो पकाउन चुलो बाल्नु परेको थियो। लामो समयदेखि परेको खडेरी र अनिकालमाझ जीवन धान्ने संघर्ष गर्दागर्दै अन्तमा तिनले यस्तो स्थिति सामना गर्नुपऱ्यो। तिनीहरू भोकले रन्थनिएका थिए।
त्यतिकैमा एउटा लोग्नेमान्छे टुप्लुक्क त्यहाँ आइपुगे। उनको नाउँ एलिया थियो र उनी यहोवाको अगमवक्ता रहेछन् भनेर विधवाले तुरुन्तै थाह पाइन्। तिनले यो परमेश्वरबारे सुनेकी थिइन् जस्तो देखिन्छ। यहोवा, बालभन्दा भिन्न हुनुहुन्थ्यो र बालको क्रूर भ्रष्ट उपासना सीदोनभरि व्यापक थियो। त्यसकारण एलियाले पानी माग्दा तिनी मदत गर्न तुरुन्त तत्पर भइन्। शायद यसो गर्नाले यहोवाको अनुमोदन प्राप्त गर्न सकिन्छ कि जस्तो तिनलाई लाग्यो होला। (मत्ती १०:४१, ४२) तर एलियाले पानी मात्र होइन भोजन पनि मागे। आफूसित अन्तिम छाक टार्न पुग्ने जति मात्र खाना छ भनी तिनले बताइन्। यद्यपि, एलियाले भोजन टक्राउन ढिपी गरे र खडेरी नसकुञ्जेल यहोवाले तिनलाई चमत्कारपूर्ण ढंगमा भोजन उपलब्ध गराउनुहुनेछ भन्ने आश्वासन दिए। तिनले के गरिन्? बाइबल भन्छ: “तिनी गएर एलियाले भनेझैं गरिन्।” (१ राजा १७:१०-१५) यी सरल शब्दहरूले त्यस विधवाको अपार विश्वासको वर्णन गर्छन्। यति अपार, यसको हजार वर्ष जतिपछि येशू ख्रीष्टले समेत त्यस विधवाको प्रशंसा गर्नुभयो!—लूका ४:२५, २६.
तैपनि यहोवाले त्यस्तो गरिब स्त्रीसित त्यति धेरै आग्रह गर्नु अलि अनौठो देखिनसक्छ। अझ एक सुसम्पन्न पुरुषले एकपटक गरेको प्रार्थनालाई विचार गर्दा त यसो गर्नु झनै अनौठो देखिन्छ। छोरा सुलेमानलाई मन्दिर निर्माण सामग्री जुटाउन राजा दाऊदले संकलन गरेको चन्दाले निकै उदार हुन उत्प्रेरित गरेको थियो। चन्दा दिइएका ती उपहारहरू हाल अरबौं डलर बराबर मूल्य पर्नेथिए! तथापि, दाऊदले यहोवालाई यसरी प्रार्थना गरे: “म को हुँ, औ मेरो प्रजा को हो र? कि हामी राजी-खुशीसित यसरी दिनसक्तछौं? किनभने सबै कुरा तपाईंबाटै आउँछन्, औ तपाईंकै दानबाट हामी तपाईंलाई दिंदैछौं।” (१ इतिहास २९:१४) दाऊदले भनेझैं सबै कुरा यहोवाकै हुन्। त्यसकारण शुद्ध उपासना प्रवर्धन गर्न केही दिंदा हामीले यहोवाको थोक यहोवालाई नै चढाइरहेका मात्र हुन्छौं। (भजन ५०:१०) तर प्रश्न उठ्छ, त्यसो हो भने, यहोवा हामीले दान दिएकै किन चाहनुहुन्छ त?
शुद्ध उपासनाको अत्यावश्यक भाग
त्यसको सरल जवाफ चाहिं यही नै हुनेछ, प्रारम्भिक समयदेखि नै यहोवाले दान दिने परिपाटीलाई शुद्ध उपासनाको अत्यावश्यक भाग बनाउनुभएको थियो। विश्वासी पुरुष हाबिलले यहोवालाई आफ्नो केही बहुमूल्य वस्तुभाउ भेटी चढाए। नूह, अब्राहाम, इसहाक, याकूब र अय्यूबजस्ता कुलपिताहरूले त्यस्तै भेटी चढाए।—उत्पत्ति ४:४; ८:२०; १२:७; २६:२५; ३१:५४; अय्यूब १:५.
मोशालाई दिइएको व्यवस्थाले यहोवालाई चन्दा दिने आदेश मात्र होइन तर दिने प्रचलन लागू पनि गराएको थियो। उदाहरणका लागि, सम्पूर्ण इस्राएलीहरूलाई दशांश अथवा भूमिको उत्पादन र बढ्दै गरेको वस्तुभाउको दशौं भाग दान दिने आज्ञा दिइएको थियो। (गन्ती १८:२५-२८) अन्य किसिमका दानहरू भने के-कति चढाउनुपर्छ, तोकिएको थिएन। जस्तै हरेक इस्राएलीले यहोवालाई आफ्नो वस्तुभाउ र अन्नपातको पहिलो फल चढाउनु आवश्यक थियो। (प्रस्थान २२:२९, ३०; २३:१९) यद्यपि, आफूले सर्वोत्तम थोक चढाएको छ भने के-कति दिने हो, व्यवस्थाले व्यक्तिविशेषको हातमा सुम्पेको थियो। व्यवस्थाले धन्यवाद र भाकलका भेटीहरू पनि तोकेको थियो, तर ती पूर्णतया स्वैच्छिक थिए। (लेवी ७:१५, १६) यहोवाले आफ्ना जनहरूलाई उहाँबाट पाएको आशिष्अनुरूप दान दिन प्रोत्साहन दिनुभएको थियो। (व्यवस्था १६:१७) बासस्थान र पछि मन्दिर निर्माण गर्दा प्रत्येकले आ-आफ्नो मनले अड्कलेबमोजिम दान दिए। (प्रस्थान ३५:२१; १ इतिहास २९:९) पक्कै पनि यस्ता स्वैच्छिक दान यहोवालाई औधी प्रसन्न तुल्याउने खालको थियो!
“ख्रीष्टको व्यवस्था[अन्तर्गत]” सम्पूर्ण दान स्वैच्छिक हुनुपर्थ्यो। (गलाती ६:२; २ कोरिन्थी ९:७) यसको अर्थ ख्रीष्टका अनुयायीहरूले दान दिन छाडे अथवा थोरै दिन थाले भनेको होइन। बरु तिनीहरूले त्यसको ठीक विपरीत गरे! येशू र उहाँका प्रेरितहरू इस्राएलमा प्रचार गर्दा स्त्रीहरूको एक हूल उहाँहरूको पछि लागेर आफ्नो धन सम्पत्ति खर्च गरी सेवा गरेका थिए। (लूका ८:१-३) त्यसैगरि प्रेरित पावलले पनि आफ्नो मिसनरी सेवालाई टेवा दिने उपहारहरू पाए। अनि खाँचोमा परेकाहरूलाई पैसा दिन केही मण्डलीहरूलाई प्रोत्साहित पनि गरे। (२ कोरिन्थी ८:१४; फिलिपी १:३-५) चन्दा दिइएका चीजबीजहरू खाँचोमा परेकाहरूलाई बाँडिएको छ वा छैन पक्का गर्न यरूशलेमस्थित परिचालक निकायले जिम्मेवार पुरुषहरू खटाएका थिए। (प्रेरित ६:२-४) स्पष्ट छ, यी तरिकाहरूद्वारा शुद्ध उपासनालाई टेवा दिन पाउनु प्रारम्भिक मसीहीहरूले आफ्नो सुअवसर सम्झे।
तैपनि, यहोवाले दान दिने परिपाटीलाई आफ्नो उपासनाको भाग किन बनाउनुभयो होला भनेर हामी जान्न उत्सुक हौंला। चार कारणहरूलाई विचार गर्नुहोस्।
हामी किन दान दिन्छौं
पहिलो, यहोवाले दान दिने परिपाटीलाई शुद्ध उपासनाको भाग बनाउनुहुन्छ। किनभने त्यसो गर्दा हाम्रै भलाइ हुन्छ। यसले यहोवाको भलाइप्रति हाम्रो मूल्यांकनलाई जोड दिन्छ। उदाहरणका लागि, छोराछोरीले आफ्नो आमाबाबुको निम्ति उपहार किन्दा वा दिंदा आमाबाबु किन मख्ख पर्छन्? के यसले आमाबाबुले टार्न नसकेको खाँचो टार्छ र? शायद नटार्ला। बरु, आफ्नो छोराछोरीले मूल्यांकन गर्ने र दान दिने मनोभाव खेती गरेकोले आमाबाबु प्रसन्न हुन्छन्। यिनै कारणहरूले गर्दा यहोवा दान दिने प्रोत्साहन दिनुहुन्छ र हामीले दान दिंदा प्रसन्न हुनुहुन्छ। यसरी हामीले उहाँको अपार दया र हामीप्रति देखाउनुभएको उदारताको साँच्चै मूल्यांकन गरेका छौं भनेर देखाउँछौं। उहाँ “हरेक असल दान र हरेक उत्तम वरदान[को]” दाता हुनुहुन्छ। अतः उहाँलाई धन्यवाद चढाउने कारणहरूको कहिल्यै कमी हुनेछैन। (याकूब १:१७) अझ योभन्दा महत्त्वपूर्ण कुरा, यहोवाले हामी सधैं बाँच्नसकोस् भनेर आफ्नो एक मात्र प्रिय पुत्रलाई मर्न दिनुभयो। (यूहन्ना ३:१६) यसलाई विचार गर्ने हो भने, हामीले जति नै धन्यवाद चढाए पनि के त्यो कहिल्यै यथेष्ट होला त?
दोस्रो, दान दिने बानी बसाल्यौं भने हामीले एउटा महत्त्वपूर्ण क्षेत्रमा यहोवा र उहाँको पुत्र येशू ख्रीष्टको अनुकरण गर्न सिकिरहेका हुन्छौं। यहोवाले निरन्तर दिइरहनुभएको छ र निरन्तर उदार भइरहनुभएको छ। बाइबलले बताएझैं उहाँले हामीलाई “जीवन, सास र सबै चीज” दिनुभएको छ। (प्रेरित १७:२५) हामीले लिने हरेक श्वास, हरेक गाँस, अनि जीवनका हरेक खुशी अनि सन्तुष्टकर क्षणको निम्ति उहाँलाई धन्यवाद दिनु सोह्रै आना उचित छ। (प्रेरित १४:१७) आफ्नो पिताले जस्तै येशूले पनि दान दिने मनोभाव देखाउनुभयो। उहाँले कुनै कञ्जुस्याइँ नगरी अरूका आवश्यकताहरू टार्नुभयो। चमत्कारहरू गर्नुहुँदा येशूले केही गुमाउनुपर्थ्यो भनेर के तपाईंलाई थाह थियो? बिरामी मानिसलाई निको पार्दा ‘शक्ति उहाँबाट निस्कन्थ्यो’ भनी धर्मशास्त्रले निकै चोटि बताउँछ। (लूका ६:१९; ८:४५, ४६) येशू यति उदार हुनुहुन्थ्यो, उहाँले आफ्नो प्राण, आफ्नो जीवनसमेत सुम्पनुभयो।—यशैया ५३:१२.
त्यसकारण आफ्नो समय, शक्ति वा सम्पत्ति दिंदा हामी यहोवाको अनुसरण गरिरहेका हुन्छौं र त्यसो गरेर उहाँको हृदयलाई प्रसन्न तुल्याउँछौं। (हितोपदेश २७:११; एफिसी ५:१) अनि येशू ख्रीष्टले हाम्रोनिम्ति छोड्नुभएको मानव आचरणको सिद्ध नमुनालाई पनि पछ्याइ रहेका हुन्छौं।—१ पत्रुस २:२१.
तेस्रो, दान दिंदा वास्तविक तथा महत्त्वपूर्ण आवश्यकताहरू पूर्ति हुन्छन्। हो, जसरी वचन प्रचार गर्न हाम्रो साटो ढुंगालाई बोल्न लगाउन सक्नुहुन्थ्यो, त्यसरी नै यहोवाले हाम्रो मदतबिना राज्यसम्बन्धी कामकुराहरू सजिलै पूर्ति गर्नसक्नुहुन्थ्यो। (लूका १९:४०) तर उहाँले यी सुअवसरहरूद्वारा हाम्रो सम्मान गर्न रुचाउनुभयो। अतः राज्यसम्बन्धी कामकुराहरूको प्रवर्धन गर्न हाम्रा स्रोतहरू परिचालन गर्दा यस संसारमा भइरहेको सबैभन्दा महत्त्वपूर्ण कार्यमा हामीले पनि साँच्चै योगदान पुऱ्याएका छौं भन्ने अनुभूतिले हामीलाई ठूलो सन्तुष्टि दिन्छ।—मत्ती २४:१४.
यहोवाका साक्षीहरूको विश्वव्यापी कार्यको खर्च बेहोर्न पैसा चाहिन्छ भनेर बताइरहनु जरुरी छैन। सेवा वर्ष १९९५ मा क्षेत्र सेवकाईमा सेवारत विशेष अग्रगामी, मिसनरी र परिभ्रमण निरीक्षकहरूको रेखदेख गर्न मात्र सोसाइटीले लगभग ६ करोड अमेरिकी डलर खर्च गऱ्यो। तथापि, विश्वभरिका शाखा कार्यालयहरूको निर्माण तथा सञ्चालनलगायत छपाइमा गरिने खर्चको तुलनामा यो निकै थोरै छ। यी सबै खर्चहरू स्वैच्छिक चन्दाद्वारा टारिन्छन्।
साधारणतः, आफू सम्पन्न छैन अरूले काँध थापिहाल्ला भन्ने विचार यहोवाका जनहरूको छैन। यस्तो मनोवृत्ति राख्यौं भने हामीले हाम्रो उपासनाको दान दिने पक्ष गुमाउनेछौं। प्रेरित पावलअनुसार म्यासिडोनियाका मसीहीहरू “अगाध दरिद्रता[मा]” थिए। तैपनि तिनीहरूले दान दिने सुअवसरमा भाग लिन पाऔं भनेर बिन्ती गरे। अनि तिनीहरूले जे दान दिए, त्यो “औकातभन्दा बढ़ता” थियो भनेर पावलले पुष्टि दिए।—२ कोरिन्थी ८:१-४.
चौथो, दान दिंदा त्यसले हामीलाई खुशी बनाउने हुँदा यहोवाले दान दिने परिपाटीलाई शुद्ध उपासनाको भाग बनाउनुभएको हो। स्वयं येशूले यसो भन्नुभयो: “लिनुभन्दा दिनु अझ असल हो।” (प्रेरित २०:३५) र वास्तवमा हाम्रो रचना गर्नुहुँदा यहोवाले त्यही गुन हाल्नुभएको थियो। जतिसुकै दान दिए तापनि उहाँप्रतिको कृतज्ञताभन्दा कमै भएको महसुस हुनुको अर्को कारण यो पनि हो। तथापि, खुशीको कुरा, हामीले दिनसक्ने भन्दा बढ्ता कुराको माग यहोवा गर्नुहुन्न। हामीले सकेजति दिंदा मात्रै पनि उहाँ प्रसन्न हुनुहुन्छ भन्ने कुरामा हामी ढुक्क हुनसक्छौं!—२ कोरिन्थी ८:१२; ९:७.
दान दिने मनोभाव प्रकट गर्दा आशिष्हरू प्राप्त हुन्छन्
अगाडिको उदाहरणलाई फेरि एकपल्ट विचार गरौं। यदि सारपतकी विधवाले एलियालाई अरूले नै खुवाइ हाल्ला नि भनेर सोचेकी भए, के हुन्थ्यो, कल्पना गर्नुहोस्। तिनले कति ठूलो आशिष् गुमाउने थिइन्!
अतः दानी मनोभाव देखाउने व्यक्तिलाई यहोवाले आशिष् दिनुहुन्छ भन्ने कुरामा दुइ मत छैन। (हितोपदेश ११:२५) आफूसँग बचेखुचेका भोजन टक्राएर सारपतकी विधवा पछुताउनु परेन। यहोवाले चमत्कारद्वारा इनाम दिनुभयो। एलियाले वचन दिएझैं अनिकाल अन्त नहोउञ्जेल न त्यस स्त्रीको भाँडोको पीठो सिद्धियो न ता गरीयोको तेल नै रित्तियो। अझ पछि तिनले योभन्दा पनि ठूलो इनाम पाइन्। तिनको छोरो बिरामी भएर मर्दा साँचो परमेश्वरको जन एलियाले बिउँताइदिए। यो देखेर आध्यात्मिक रूपमा तिनी कति बलियो भइन् होली!—१ राजा १७:१६-२४.
आज हामी चमत्कारहरूद्वारा आशिषित् हुने आशा गर्दैनौं। (१ कोरिन्थी १३:८) तर मनतनले सेवा गर्ने जतिलाई सँभाल्ने आश्वासन यहोवाले दिनुभएको छ। (मत्ती ६:३३) अतः हामी पनि सरापतकी विधवाजस्तै भएर उदारतासाथ दिनसक्छौं र यहोवाले हाम्रो ख्याल राख्नुहुन्छ भन्ने कुरामा ढुक्क हुनसक्छौं। अनि त्यस विधवाले जस्तै प्रशस्त आध्यात्मिक आशिष्हरू पनि पाउनसक्नेछौं। आक्कलझुक्कल वा सनक चढेर होइन बरु नियमित तवरमा दान दिने गऱ्यौं भने येशूले सुझाउ दिनुभएझैं हाम्रो आँखालाई निर्मल अनि राज्यसम्बन्धी कामकुराहरूमा केन्द्रित राख्ने मदत पाउनेछौं। (लूका ११:३४; तुलना गर्नुहोस् १ कोरिन्थी १६:१, २) साथै यहोवा अनि येशूसित उहाँहरूको सँगी कामदारहरूको हैसियतमा अझ घनिष्ठता महसुस पनि गर्नसक्नेछौं। (१ कोरिन्थी ३:९) अनि सारा संसारमा यहोवाका उपासकहरूको चिनारी दिने उदार अनि दानी मनोभावमा सुनमाथि सुगन्ध छरेझैं हुनेछ।
[पृष्ठ ३१-मा भएको पेटी]
केही व्यक्तिविशेषहरूले दान दिन रोजेका तरिकाहरू
विश्वव्यापी कामका लागि चन्दा
“सोसाइटीको विश्वव्यापी कामका लागि चन्दा—मत्ती २४:१४” लेखिएको बाकसमा चन्दा हाल्न धेरैजसोले केही पैसा अलग्गै राख्छन्। त्यसपछि हरेक महिना मण्डलीहरूले वाच टावर सोसाइटीको स्थानीय शाखा कार्यालयमा त्यो पैसा पठाउँछन्।
Watch Tower Bible and Tract Society of India, H-58, Old Khandala Road, Lonavla, 410 401, Pune Dist, Mah. अथवा तपाईंको देशमा सेवारत सोसाइटीको कार्यालयलाई स्वैच्छिक चन्दास्वरूप सोझै पैसा पनि पठाउन सकिन्छ। गरगहना तथा अन्य बहुमूल्य वस्तुहरू पनि चन्दा दिन सकिन्छ। यी चन्दाहरू पठाउँदा स्पष्टसित त्यो पैसा वा वस्तु पूर्णतया दान हो भनेर छोटो पत्र पनि पठाउनुपर्छ।
शर्तनामा चन्दाको प्रबन्ध
चन्दादाताले आफ्नो शेषपछि सोसाइटीलाई हस्तान्तरण हुनेगरि कोश खडा गर्नसक्छ र कोश खडा गर्दा कथंकदाचित व्यक्तिगत खर्चका लागि चाहिएमा कोशको रकम पुनः चन्दादातालाई फर्काउन मिल्ने प्रबन्ध पनि मिलाउन सकिन्छ। थप जानकारीका लागि कृपया सोसाइटीको माथि उल्लिखित ठेगानामा सम्पर्क राख्नुहोस्।
नियोजित दान
पूर्णतया दान र शर्तनामा चन्दाबाहेक विश्वव्यापी राज्य सेवाको लागि लाभप्रद साबित हुनसक्ने अन्य केही तरिकाहरू पनि छन्। ती हुन्:
बिमा: वाच टावर सोसाइटीलाई जीवन बिमा वा अवकाश/पेन्सन बिमाको हकदार बनाउन सकिन्छ। यस्तो प्रबन्ध गरिएमा सोसाइटीलाई खबर गर्नुपर्छ।
बैंक खाता: बैंक खाता, निक्षेप खाता वा व्यक्तिगत अवकाश खातालाई स्थानीय बैंकको आवश्यकताअनुरूप वाच टावर सोसाइटीलाई सुम्पिन वा शेषपछि हस्तान्तरण गर्न सकिन्छ। यस्तो प्रबन्ध गरिएमा सोसाइटीलाई खबर गर्नुपर्छ।
ऋणपत्र तथा बन्ड: ऋणपत्र तथा बन्ड पनि सोसाइटीलाई चन्दा दिन सकिन्छ। त्यसो गर्दा या त पूर्णतया दान वा चन्दादाताले आम्दानी पाउने प्रबन्ध मिलाएर दिन सकिन्छ।
घडेरी: बिक्री गर्न मिल्ने घडेरी पनि वाचटावर सोसाइटीलाई चन्दास्वरूप दिन सकिन्छ। घडेरीलाई पूर्णतया दान वा चन्दादाता बाचुञ्जेल प्रयोग गर्न पाउने प्रबन्ध मिलाएर दिन सकिन्छ। सोसाइटीलाई कुनै घडेरी दिनुअघि सोसाइटीसित सम्पर्क राख्नुपर्छ।
वसियतनामा तथा कोश: जायजेथा वा पैसा कानुनी वसियतनामाद्वारा वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटीलाई हस्तान्तरण गर्न सकिन्छ। अथवा सोसाइटीलाई कोशको हकदार बनाउन सकिन्छ। धार्मिक संगठनलाई कोशको हकदार बनाउँदा केही कर सुविधाहरू पाउन सकिन्छ। सोसाइटीलाई वसियतनामा वा कोश करारनामाको प्रतिलिपि पठाउनुपर्छ।
यीमध्ये कुनै एक नियोजित दान दिन इच्छुक व्यक्तिहरूले माथि उल्लिखित ठेगाना वा तपाईंको देशमा सेवारत सोसाइटीको कार्यालयमा सम्पर्क गर्नुहोस्। यी प्रबन्धहरूसित सम्बन्धित कुनै पनि कागजपत्रको प्रतिलिपि सोसाइटीलाई पठाउनुपर्छ।