प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • uw chap. ९ pp. ७०-७७
  • पुनरुत्थानको आशाको शक्‍ति

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पुनरुत्थानको आशाको शक्‍ति
  • एक मात्र साँचो परमेश्‍वरको उपासनामा एकताबद्ध
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • मसीही विश्‍वासमा यो किन एउटा मौलिक कुरा हो
  • ‘हेडिसको साँचो’ प्रयोग गर्दै
  • पुनरुत्थानको आशाबाट बलियो भएका
  • पुनरुत्थानको आशाको शक्‍ति
    एक मात्र साँचो परमेश्‍वरको उपासना गर्नुहोस्‌
  • पुनरुत्थानको आशा—यसले तपाईंको लागि कस्तो अर्थ राख्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • पुनरुत्थान—तपाईंलाई असर गर्ने शिक्षा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • पुनरुत्थानको आशामा शक्‍ति छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
थप हेर्नुहोस्
एक मात्र साँचो परमेश्‍वरको उपासनामा एकताबद्ध
uw chap. ९ pp. ७०-७७

अध्याय ९

पुनरुत्थानको आशाको शक्‍ति

१. पुनरुत्थानद्वारा के-कस्ता अद्‌भुत कुराहरू सम्भव हुन सकेका छन्‌?

मरेका मानिसहरूले पुनरुत्थान बिना भविष्यमा जीवन पाउने कुनै आशा नै छैन। तर यहोवाले उहाँको अपार अनुग्रहद्वारा अरबौं मरेका मानिसहरूका निम्ति अनन्त जीवनको आनन्द उठाउने अमूल्य मौका खोलिदिनु भएको छ। फलःस्वरूप, मृत्युको निद्रामा परेका हाम्रा प्रिय जनहरूसित हाम्रो पुनःमिलन हुने हृदयस्पर्शी आशा हामीले पनि राख्न सक्छौं।—मर्कूस ५:३५, ४१, ४२; प्रेरित ९:३६-४१ सङ्‌ग तुलना गर्नुहोस्‌।

२. (क) यहोवाको उद्देश्‍य पूरा गर्नमा पुनरुत्थान कुन कुन तवर्‌ले महत्त्वपूर्ण साबित भएको छ? (ख) खासगरी कुन बेला पुनरुत्थान हाम्रालागि बलको एउटा महत्त्वपूर्ण श्रोत हुन्छ?

२ “आफ्नो ज्यान बचाउन मानिसले आफ्नो भएका सबै कुरा” दिनेछ भन्‍ने शैतानको त्यो दुष्ट आरोपलाई सही साबित गर्ने अनुमति यहोवाले त्यसलाई दिनु भएको छ। तर पुनरुत्थानको प्रबन्धले गर्दा शैतानले यहोवाका सेवकहरूमाथि ल्याएको हानि स्थायी हुन पाउनेछैन। (अय्यु. २:४) येशूलाई मृतावस्थाबाट बिउँताइएको हुनाकारण उहाँले आफ्ना पिताको स्वर्गीय सिंहासनका सामु आफ्नो मानवीय बलिदानको मोल प्रस्तुत गर्न सक्नु भयो जसद्वारा हाम्रो जीवन-बचाव हुन सकेको छ। येशूसङ्‌ग साझे हकवाला हुनेहरू पनि पुनरुत्थानद्वारा नै उहाँसङ्‌ग स्वर्गको राज्यमा एकताबद्ध हुन पाउनेछन्‌। र मृत्युको मुकाबिला गर्नुपर्ने परीक्षाहरूको सामना गर्नुपर्दा हामी विश्‍वास गर्नेहरूका लागि पुनरुत्थानको यो आशा विशेष शक्‍तिको स्रोत बन्छ।

मसीही विश्‍वासमा यो किन एउटा मौलिक कुरा हो

३. (क) कुन अर्थमा पुनरुत्थान “शुरुको [एउटा] शिक्षा” हो? (ख) संसारका निम्ति पुनरुत्थानले साधारणतया के अर्थ राख्तछ?

३ हिब्रू ६:१, २ अनुसार पुनरुत्थान “शुरुको [एउटा] शिक्षा” हो। विश्‍वासको जगको यो एउटा भाग हो। त्यस बिना हामी कहिले पनि परिपक्व मसीही हुन सक्‍तैनौं। तर यो शिक्षा साधारणतया संसारको सोचाइसङ्‌ग मिल्दैन। आध्यात्मिकताको कमीले गर्दा धेरैजसो मानिसहरू आफ्नो जीवन मोज-मज्जाको खोजीमा बिताउने गर्छन्‌। तिनीहरूले वर्तमान जीवनलाई मात्र वास्तविक ठान्दछन्‌। (१ कोरि. १५:३२) मसीही जगतभित्र र बाहिरका परम्परागत धर्महरूलाई समातेर बस्नेहरूको सोचाइँअनुसार मानिसमा एउटा अमर प्राण छ र यसले गर्दा पुनरुत्थान आवश्‍यक छैन। यी दुवै कुरामा विश्‍वास गर्न खोज्नेहरू चाहिं आशान्वित हुनुको सट्टा अझ अलमलमा परेका छन्‌। अतः सुन्‍न चाहनेहरूलाई हामीले कसरी मद्दत दिन सक्‍तछौं?—प्रे. १७:३२.

४. (क) कुनै व्यक्‍तिले पुनरुत्थानको मूल्याङ्‌कन गर्नुअघि ऊसङ्‌ग कुन कुन कुराको छलफल गर्न जरुरी हुन्छ? (ख) प्राण भनेको के हो? र मृतकहरू कुन अवस्थामा हुन्छन्‌ भनेर बुझाउन तपाईं कुन शास्त्रपदहरू चलाउनु हुन्छ? (ग) तर यी शास्त्र-पदहरूमा पाइने सत्य कुरालाई अस्पष्ट तुल्याउने अनुवाद कसैले प्रयोग गरेमा तपाईं के गर्नुहुन्छ?

४ यसप्रकारका व्यक्‍तिहरूले पुनरुत्थान कस्तो अद्‌भुत प्रबन्ध हो भनेर मूल्याङ्‌कन गर्न सक्नका लागि प्राण के हो र मरेकाहरू कुन अवस्थामा हुन्छन्‌ भन्‍ने कुरा बुझ्नु पर्दछ। सत्यका लागि भोकाएको मानिसलाई प्रायः शास्त्रका मात्र केही पदहरूले नै यी कुराहरू स्पष्ट पारिदिन सक्छ। (उत्प. २:७; इज. १८:४; भजन. १४६:३, ४) तर केही आधुनिक अनुवादहरू र शब्दान्तर गरिएका संस्करणहरूले चाहिं यी सत्य कुराहरूलाई अस्पष्ट पारिदिन्छन्‌। त्यसकारण बाइबलका प्रारम्भिक भाषाहरूमा प्रयोग भएका अभिव्यक्‍तिहरू विचार गर्नु आवश्‍यक हुन सक्छ।

५. यस्तो व्यक्‍तिलाई प्राण भनेको के हो, सो बुझ्ने मद्दत तपाईंले कसरी दिनु हुनेछ?

५ यसका लागि न्यु वर्ल्ड ट्रान्सलेसन धेरै नै उपयोगी छ। यसले हिब्रू शब्द नेफेश र यसै कुरालाई बोध गराउने युनानी शब्द साइखे-लाई सधैं “प्राण” भनेर अनुवाद गर्दछ। साथै, यी शब्दहरू पाइने सबै नै पदहरूलाई त्यसको शब्द-सूचीमा दिएको पाउनु हुनेछ। अन्य आधुनिक अनुवादहरूले सोही मूल शब्दहरूको ठाउँमा “प्राण” मात्र प्रयोग गर्नुको सट्टा, कहिले “प्राणी,” “जीव,” “व्यक्‍ति” र “जीवन” प्रयोग गरेको हुन सक्छ; “मेरो नेफेश”-लाई “म” र “तपाईंको नेफेश”-लाई “तपाईं” भनेर अनुवाद गरेको हुन सक्छ। यी बाइबलहरूलाई केही पुराना अनुवादहरूसित अथवा न्यु वर्ल्ड ट्रान्सलेशन-सित दाँजेर हेर्दा मूल भाषामा प्रयोग भएको जुन शब्दलाई आज “प्राण” भनेर अनुवाद गरिएको छ त्यसबाट (१) व्यक्‍तिहरू (२) जनावरहरू र (३) तिनीहरूले बिताइरहेको जीवन बोध हुँदछ भनेर एक जना इमान्दार विद्यार्थीले बुझ्ने मद्दत पाउनेछ। तर प्राण कुनै एउटा अदृश्‍य, छुन नसकिने चीज हो जो मरणोपरान्त शरीरबाट निस्केर जान्छ र अरू कुनै ठाउँमा त्यो चेतावस्थामै बाँची रहन्छ भन्‍ने विचार चाहिं ती शब्दहरूले पटक्कै जनाउँदैनन्‌।

६. (क) शिओल, हेडिस र गेहेन्‍नाजस्ता शब्दहरूको अर्थबारे केही आधुनिक अनुवादहरूले पाठकहरूलाई किन भ्रममा पार्दछन्‌? (ख) शिओल, वा हेडिस र गेहेन्‍नामा मानिसहरूको अवस्था के हुन्छ भनेर बाइबलबाट तपाईंले कसरी व्याख्या गर्नु हुनेछ?

६ त्यसैगरी, न्यु वर्ल्ड ट्रान्सलेसन-ले हिब्रू शब्द शिओल-लाई सधैं शिओल र युनानी शब्द हेडिस-लाई सधैं हेडिस र गियेन्‍ना-लाई गेहेन्‍ना नै भनेर प्रस्तुत गर्दछ। तर बाइबलका अरू अन्य आधुनिक अनुवादहरू र शब्दान्तरहरूमा चाहिं हेडिस र गियेन्‍ना दुवैलाई कहिले “नरक,” भनेर अनुवाद गरिएको छ भने, शिओल र हेडिस-लाई “चिहान,” र “मृतकहरूका संसार” भनेर पनि बुझाइएको देखिन्छ। अतः यस प्रकारको अनुवादले गर्दा पढ्‌ने मानिस अलमलिन्छ। आवश्‍यकतानुसार बेग्ला बेग्लै अनुवादहरूलाई दाँजेर हेर्दा शिओल र हेडिसको अर्थ एकै हो भनी देखाउन सकिन्छ। (भजन. १६:१०; प्रे. २:२७) शिओल वा हेडिस, अर्थात्‌ मानवजातिको चिहान जीवनसङ्‌ग होइन, मृत्युसङ्‌ग सम्बन्धित छ भनेर बाइबलले स्पष्ट पार्दछ। (भजन. ८९:४८; प्रकाश २०:१३) पुनरुत्थानद्वारा त्यहाँबाट फर्किन सकिने सम्भावनालाई पनि बाइबलले सङ्‌केत गर्दछ। (अय्यु. १४:१३; प्रे. २:३१) यसको विपरीत गेहेन्‍नामा जानेहरूका लागि भविष्यमा जीवन पाउने कुनै आशा हुँदैन, र त्यहाँ प्राण चेतावस्थामा बाँची रहनेछ भन्‍ने चर्चा शास्त्रमा कतै पनि गरिएको छैन।—मत्ती १८:९; १०:२८.

७. राम्ररी बुझेपछि पुनरुत्थानले एउटा व्यक्‍तिको व्यवहार र गतिविधिमा कस्तो प्रभाव पार्न सक्‍तछ?

७ यी कुराहरू स्पष्ट भइ सकेपछि येशूको मृत्यु र पुनरुत्थान वास्तवमा अर्थपूर्ण हुनजान्छ। अब एक जना व्यक्‍तिले पुनरुत्थानको अर्थ उसको निम्ति के हुन सक्छ सो राम्ररी बुझ्ने मद्दत पाउनेछ र यसप्रकारको अद्‌भुत प्रबन्ध मिलाउनु भएकोमा यहोवाको प्रेमलाई उसले मूल्याङ्‌कन पनि गर्न थाल्न सक्नेछ। आफ्ना प्रिय जनहरूको मृत्युको कारण शोकाकुल भएकाहरूले पनि अब परमेश्‍वरको नयाँ व्यवस्थामा हुने आनन्दमय पुनर्मिलनको आशा गर्न सक्छन्‌। येशू ख्रीष्टको पुनरुत्थान मसीही विश्‍वासको एउटा मूल आधार हो भनेर प्रथम शताब्दीका मसीहीहरूले महसुस गरेका थिए। यसबारे र यसबाट प्राप्त हुने निश्‍चित आशाबारे पनि तिनीहरूले उत्साहसाथ अरूहरूलाई साक्षी दिए। त्यस्तैगरी, आज पनि यस विषयलाई मूल्याङ्‌कन गर्नेहरू यो बहुमूल्य सत्यलाई अरूहरूसित बाँड्‌न इच्छुक छन्‌।—प्रे. ५:३०-३२; १०:४०-४३; १३:३२-३९; १७:३१.

‘हेडिसको साँचो’ प्रयोग गर्दै

८. येशूद्वारा “मृत्यु र पातालका साँचाहरू”-को प्रयोग हुनुको अर्थ आत्माद्वारा उहाँका अभिषिक्‍त अनुयायीहरूका लागि के हो?

८ ख्रीष्टसित उहाँको स्वर्गीय राज्यमा सम्मिलित हुनेहरूलाई अन्ततोगत्वा मर्नै पर्छ। तर येशूले प्रेरित यूहन्‍नालाई दिनु भएको यो आश्‍वासन तिनीहरूलाई राम्ररी थाह छ: “म मरेको थिएँ, हेर, म सधैंको निम्ति जीवित छु, औ मृत्यु र पातालका साँचाहरू मसँग छन्‌।” (प्रकाश १:१८) उहाँको भनाइको अर्थ के थियो? उहाँले आफ्नै अनुभवतर्फ तिनीहरूको ध्यान आकर्षित गर्नु हुँदैथियो। उहाँ पनि मर्नु भएको थियो। तर परमेश्‍वरले उहाँलाई हेडिसमै छाड्‌नु भएन। तेस्रो दिनमा स्वयं यहोवाले उहाँलाई आत्मिक जीवनका साथ बिउँताउनु भयो र उहाँलाई अमरत्व प्रदान गर्नुभयो। तर यतिमात्र होइन। अरूहरूलाई पनि मानवजातिको चिहानबाट र आदमले गरेको पापको असरबाट छुटकारा दिंदा प्रयोग गर्नु भनेर परमेश्‍वरले उहाँलाई “मृत्यु र पातालका (हेडिसका, न्यु व.) साँचाहरू” दिनुभयो। ती साँचाहरू आफूसङ्‌ग भएको हुनाकारण येशूले आफ्ना विश्‍वासी अनुयायीहरूलाई मृत्युबाट बिउँताउन सक्नु हुनेछ। र जसरी पिताले उहाँलाई अमरत्व प्रदान गर्नुभयो त्यसरी नै उहाँले पनि मण्डलीमा आत्माद्वारा अभिषिक्‍त जनहरूलाई अमरत्वपूर्ण स्वर्गीय जीवनको अमूल्य उपहार प्रदान गर्नु हुनेछ।—रोमी ६:५; फिलि. ३:२०, २१.

९. विश्‍वासी अभिषिक्‍त मसीहीहरूको पुनरुत्थान कहिले हुन्छ?

९ विश्‍वासी अभिषिक्‍त मसीहीहरूले त्यो पुनरुत्थान कहिले अनुभव गर्ने छन्‌? त्यो सुरु भइसकेको छ। तिनीहरू ‘ख्रीष्टको उपस्थितिको समयमा’ बिउँताइने छन्‌ भनेर प्रेरित पावलले व्याख्या गर्छन्‌ र त्यो उपस्थिति सा. यु. १९१४-देखि आरम्भ भयो। (१ कोरि. १५:२३) अब, तिनीहरूले आ-आफ्नो पार्थिव जीवन समाप्त गरेपछि आफ्ना प्रभु फर्केर नआउञ्जेलसम्म तिनीहरू मृतावस्थामा पर्खेर बसिरहनु पर्दैन। मर्ने बित्तिकै तिनीहरू आत्मामा बिउताइन्छन्‌ अर्थात्‌ “एकै क्षणमा, आँखाको एक निमेषमा [तिनीहरूको] परिवर्त्तन” हुनेछ। यसप्रकार तिनीहरूले कति महान आनन्द अनुभव गर्छन्‌ किनकि “तिनीहरूका काम तिनीहरूका पछि लाग्नेछन्‌”!—१ कोरि. १५:५१, ५२; प्रकाश १४:१३.

१०. अरू कुन पुनरुत्थान पनि हुनेछ, र त्यो कहिले सुरु हुन्छ?

१० तर तिनीहरूको मात्र पुनरुत्थान हुने होइन। त्यसलाई “पहिलो पुनरुत्थान” भन्‍नुको अर्थ नै त्यसपछि एउटा अर्को पुनरुत्थान हुनुपर्छ। (प्रकाश २०:६) यो पछिल्लो पुनरुत्थानबाट लाभ उठाउनेहरूले चाहिं एउटा पार्थिव प्रमोदवनमा अनन्त जीवन पाउने आशा राख्न सक्नेछन्‌। यो कहिले हुनेछ? वर्तमान दुष्ट रीतिरिवाजका “पृथ्वी र आकाश” हटाइ सकेपछि त्यो हुनेछ भनेर प्रकाशको पुस्तकले देखाउँदछ। यस पुरानो रीतिरिवाजको अन्त अब चाँडै नै हुनेवाला छ। त्यसपछि परमेश्‍वरले तोक्नु भएको समयमा पार्थिव पुनरुत्थान सुरु हुनेछ।—प्रकाश २०:११, १२.

११. पार्थिव जीवनमा बिउँताइनेहरूको समूहमा कुन कुन विश्‍वासी जनहरू समावेश हुनेछन्‌, र यो एउटा रोमाञ्चकारी आशा किन हो?

११ त्यसमा को को समावेश हुनेछन्‌? उहिले-उहिलेका यहोवाका विश्‍वासी सेवकहरू। तिनीहरूमध्ये ती मानिसहरू हुनेछन्‌ जसले पुनरुत्थानमा दृढ विश्‍वास राखेको हुनाकारण “छुटकाराको इच्छा” गरेनन्‌—अर्थात्‌ एउटा भयानक मृत्युबाट उम्कनका लागि तिनीहरूले परमेश्‍वरप्रतिको आफ्नो सम्पूर्ण निष्ठालाई कुनै किसिमले भङ्‌ग गर्न चाहेनन्‌। (हिब्रू ११:३५) तिनीहरूलाई व्यक्‍तिगत रूपमा चिन्‍न पाउनु र बाइबलले संक्षिप्तमा मात्र वर्णन गरेका घटनाहरूलाई तिनीहरूकै मुखबाट विस्तृत रूपमा सुन्‍न पाउनु कस्तो खुशीको कुरा हुनेछ! अरूमध्ये यहोवाका प्रथम विश्‍वासी साक्षी, हाबिल हुनेछन्‌। जलप्रलय हुनुभन्दा पहिलेदेखि नै परमेश्‍वरको तर्फबाट चेताउनीको समाचार निडरताका साथ घोषणा गर्ने हनोक र नूह पनि त्यहाँ हुनेछन्‌। स्वर्गदूतहरूको सत्कार गर्ने अब्राहाम। मोशा, जसद्वारा परमेश्‍वरले सीनै पर्वतमा व्यवस्था दिनुभयो। साहसी अगमवक्‍ताहरू, जसमध्ये यर्मिया एक हुन्‌। तिनले सा. यु. पू. ६०७-मा यरूशलेम नाश भएको देखे। यसका साथसाथै बप्तिस्मा दिने यूहन्‍ना पनि छन्‌। स्वयं परमेश्‍वरले येशूलाई आफ्नो पुत्र भनेर चिनाउनु हुँदा बप्तिस्मा दिने यी यूहन्‍नाले परमेश्‍वरको स्वर सुनेका थिए। वर्तमान रीतिरिवाजका आखिरी दिनहरूमा मर्ने वफादार जनहरू पनि यस पुनरुत्थानमा सामेल हुनेछन्‌।—हिब्रू ११:४-३८; मत्ती ११:११.

१२. (क) हेडिसमा हुने मृतकहरूमध्ये कति जना बिउँताइने छन्‌? (ख) अतः को को सम्मिलित हुनेछन्‌, र किन?

१२ समयमा अरूहरू पनि बिउँताइने छन्‌। मानवजातिका लागि येशूले ‘हेडिसको साँचो’ कुन हद्‌सम्म प्रयोग गर्नुहुनेछ, सो कुराको व्याख्या यूहन्‍नाले देखेको एउटा दर्शनमा दिइएको छ। त्यस दर्शनमा शिओललाई “अग्नि-कुण्डमा फालिए”-को यूहन्‍नाले देखे। त्यसको अर्थ के हो? यही नै कि त्यो नष्ट हुनेछ; त्यसको अस्तित्व नै रहने छैन। त्यो पूर्णतया रित्याइने छ। तर येशूले यहोवाका विश्‍वासी उपासकहरूलाई मात्र बिउँताउनु हुने होइन। उहाँले हेडिस वा शिओलबाट अधर्मी व्यक्‍तिहरूलाई समेत दयापूर्वक फिर्ता ल्याउनु हुनेछ। तिनीहरूलाई फेरि मृत्यु-दण्डको घोषणा सुनाउनका लागि बिउँताइने छैन। बरु, परमेश्‍वरको राज्य अन्तर्गत हुने धार्मिक वातावरणमा तिनीहरूले आ-आफ्नो जीवन यहोवाका मार्गअनुरूप तुल्याउने मद्दत पाउनेछन्‌। दर्शनमा “जीवनको पुस्तक” खोलिएको देखाइयो। हो, त्यसमा तिनीहरूले आ-आफ्नो नाउँ लेखाउने मौका पाउनेछन्‌। पुनरुत्थान पछि तिनीहरूले गरेका “काम अनुसार [तिनीहरूको] इन्साफ” गरिनेछ। (प्रकाश २०:१२-१४; प्रे. २४:१५) अतः, अन्तिम परिणामलाई ध्यानमा राखेर कुरा गर्ने हो भने तिनीहरूको पुनरुत्थान “जीवनको पुनरुत्थान” साबित हुन सक्छ। त्यो “इन्साफको पुनरुत्थान” नै हुन कुनै जरुरी छैन।—यूह. ५:२८, २९.

१३. (क) कसको पुनरुत्थान हुने छैन? (ख) पुनरुत्थानबारे सत्य ज्ञानले हाम्रो जीवनमा के प्रभाव पार्नुपर्ने हो?

१३ हुन तः सबै नै मरेकाहरूको पुनरुत्थान हुने छैन। कसै कसैले अक्षम्य पाप गरेका छन्‌। चाँडै नै आउने “महा संकष्टमा” मारिनेहरू पनि सदाका लागि विनाश भोग्नेहरूमध्ये नै पर्नेछन्‌। (मत्ती १२:३१, ३२; २३:३३; २४:२१, २२; २५:४१, ४६; १ थिस्स. १:६-९) अतः, हेडिसमा हुनेहरू सबैलाई छुटकारा दिन असाधारण दया देखाइने भए तापनि पुनरुत्थान हुने नै हो भनेर अहिले लापरवाहीका साथ जीवन बिताउनु मिल्दैन। बरु, यसले हामीलाई परमेश्‍वरको यो साँच्चै नै अपार अनुग्रहको गहिरो मूल्याङ्‌कन गर्न प्रेरित पार्नु पर्दछ।

पुनरुत्थानको आशाबाट बलियो भएका

१४. आफ्नो वर्तमान जीवनको अन्ततिर पुग्न लागेको व्यक्‍तिका लागि पुनरुत्थान ठूलो बलको श्रोत कसरी हुन सक्छ?

१४ पुनरुत्थानको आशालाई अपनाउनेहरूले त्यसबाट ठूलो बल पाउन सकेका छन्‌। आफ्नो जीवनको अन्तमा पुग्दा जतिसुकै इलाज गरे तापनि मृत्युलाई सधैंका लागि टार्न सकिंदैन भनेर तिनीहरू जान्दछन्‌। (उप. ८:८) प्रभुको काममा तिनीहरू व्यस्त रहेका छन्‌ र उहाँको सङ्‌गठनसित मिलेर वफादारीका साथ सेवा गरेका छन्‌ भने तिनीहरू भविष्यबारे पूर्णतया विश्‍वस्त हुन सक्‍तछन्‌। परमेश्‍वरले तोक्नु भएको समयमा पुनरुत्थानद्वारा तिनीहरूले जीवनबाट पुनः आनन्द उठाउन सक्नेछन्‌ भनी तिनीहरू जान्दछन्‌। र त्यो कस्तो जीवन हुनेछ! प्रेरित पावलले त्यो जीवनलाई “साँच्चैको जीवन” भने।—१ तिमो. ६:१९; १ कोरि. १५:५८; हिब्रू ६:१०-१२.

१५. हिंसात्मक विरोधीहरूले हामीलाई धम्काउँदा यहोवाप्रतिको आफ्नो सम्पूर्ण निष्ठा कायम राख्न हामीलाई के ले मद्दत दिन सक्छ?

१५ पुनरुत्थान हुनेछ भनी थाह पाएर मात्र होइन तर त्यस प्रबन्धको श्रोत हुनुहुने व्यक्‍तिलाई चिनेर पनि हामी बलियो हुन्छौं। हिंसात्मक विरोधीहरूको हातमा मृत्युको धमकीको सामना गर्नु परे तापनि यसले हामीलाई परमेश्‍वरप्रति वफादार रहने बल दिन्छ। अकाल मृत्युको भय देखाएर शैतानले मानिसहरूलाई धेरै समयदेखि आफ्नो दासत्वमा पारेको छ। तर यस प्रकारको भयको सामुन्‍ने येशू झुक्नु भएन; मृत्युसम्मै उहाँ यहोवाप्रति विश्‍वासी साबित हुनुभयो। आफ्नो मृत्युद्वारा उहाँले अरूहरूलाई त्यसप्रकारको भयबाट छुटकारा दिने बाटो खोलिदिनु भयो। (हिब्रू २:१४, १५) त्यस प्रबन्धमा विश्‍वास राखेको हुनाकारण उहाँका अनुयायीहरूले सम्पूर्ण निष्ठा कायम राख्दै एउटा असाधारण रेकर्ड कायम गर्न सकेका छन्‌। यहोवालाई भन्दा ‘आफ्नै प्राणलाई प्यारो’ [न्यु व.] ठान्दैनन्‌ भन्‍ने कुराको प्रमाण तिनीहरूले दबाउमा पर्दा प्रस्तुत गरेका छन्‌। (प्रकाश १२:११) साथै तिनीहरू बुद्धिमान छन्‌। मसीही सिद्धान्तहरूलाई त्यागेर तिनीहरूले आफ्नो वर्तमान जीवन बचाउँने प्रयास गर्दैनन्‌। किनकि यसो गर्नु अनन्त जीवन पाउने मौका गुमाउनु हो। (लूका ९:२४, २५) के तपाईंमा पनि यसप्रकारको विश्‍वास छ? यहोवालाई साँच्चै नै प्रेम गर्नुहुन्छ र पुनरुत्थानको आशाले तपाईंका लागि के अर्थ राख्तछ सो हृदयङ्‌गम गर्नु भएको छ भने तपाईंमा पनि यसप्रकारको विश्‍वास हुनेछ।

पुनरावलोकन एवं छलफल

• पुनरुत्थानको मूल्याङ्‌कन गर्नुअघि प्राण भनेको के हो र मरेकाहरू कुन अवस्थामा हुन्छन्‌ भनेर बुझ्नु किन आवश्‍यक छ?

• मृतावस्थाबाट को को फर्किएर आउनेछन्‌? यस ज्ञानले हामीमाथि के प्रभाव पार्नु पर्ने हो?

• पुनरुत्थानको आशाले हामीलाई कसरी बल दिन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने