-
के तपाईं पुनर्जन्ममा विश्वास गर्नुहुन्छ?प्रहरीधरहरा—१९९७ | मे १५
-
-
के तपाईं पुनर्जन्ममा विश्वास गर्नुहुन्छ?
“यहाँ भारतमा हुँदा तिमीले मन पराएको पल्लो घरकी केटीलाई सम्झेका छौ?” संयुक्त राज्यको विश्वविद्यालयमा पढिरहेका छोरालाई मुकुन्दभाइले लेखे। “उनको बिहे हुँदैछ। तिमीलाई खबर दिनुपर्ने जस्तो लागेर मात्र लेखेको।”
बुबाले यो खबर छोरालाई किन दिएको? आखिरमा, वर्षौंअघि मुकुन्दभाइ आफैले नै त्यस किशोरावस्थाको मायाप्रीतिलाई कुनै शर्तबिना अन्त गरी दिएका थिए। यसबाहेक, तिनका छोरा विगत छ वर्षदेखि संयुक्त राज्यमा उच्च शिक्षा हासिल गरिरहेका थिए। यस दौडान त्यस केटीसित उसको कुनै सम्पर्क थिएन र मुकुन्दभाइलाई त्यो पनि थाह थियो।
तैपनि यत्तिको चासो किन? किनभने मुकुन्दभाइ पुनर्जन्म वा प्राणले चोला फेर्छ भनेर विश्वास गर्थे।a यदि केही गरी किशोरावस्थाको रोमान्स तिनीहरू पूर्वजुनीमा जीवनसाथी भएको कारण हो भने दुवैलाई विवाह गर्ने उमेर पुगिसकेर पनि छुट्टै राख्नु अनर्थ हुनेछ। त्यस केटी अरू कसैकी पत्नी हुनुअघि मुकुन्दभाइ आफ्नो छोरालाई जानकारी मात्र दिन चाहन्थे।
अर्को एउटा उदाहरण विचार गर्नुहोस्। भारत, मुम्बईमा चार वर्षीया एउटी केटी बारम्बार अस्पताल भर्ना हुनुपर्थ्यो। उनको मुटुको एउटा भल्भले राम्ररी काम गर्दैन थियो। उनका सम्पन्न आमाबाबुलाई छोरीले यसरी सास्ती खाइरहेको देखेर असह्य हुन्थ्यो। तर तिनीहरू यस्तो तर्क गर्थे: “के गर्ने? उनले पूर्वजुनीमा पाप गरेकोले त अहिले यस्तो सास्ती खाइरहेको होला नि।”
हिन्दू, बौद्धमार्गी, जैन, सिख तथा भारतबाट सुरु भएका अन्य थुप्रै धर्मावलम्बीहरूको जीवनमा पुनर्जन्मले ठूलो भूमिका खेल्छ। जीवनका अनुभवहरू, जस्तै मायाप्रीतिदेखि लिएर दुःखकष्ट भोग्नु सबै पूर्वजुनीको पापको परिणाम हो भन्ने गर्छन्।
पश्चिमी मुलुकका थुप्रै मानिसहरू पनि पुनर्जन्मको सिद्धान्तदेखि मोहित छन्। अमेरिकी अभिनेत्री, शर्ली म्याकलेन पनि पुनर्जन्ममा विश्वास भएको कुरा व्यक्त गर्छिन्। भ्यानकुभर, ब्रिटिश कोलम्बिया, क्यानाडाका लेखक लरेल फेलान पनि विगतका ५० वटा जीवनको स्मरण भएको दाबी गर्छन्। सि एन एन/यु यस ए टुडेको लागि सन् १९९४ मा गरिएको आमसर्वेक्षणअनुसार १,०१६ जना वयस्कहरूमध्ये २७० भन्दा धेरैले पुनर्जन्ममा विश्वास गरेको पाइयो। पुनर्जन्ममा विश्वास गर्नु नयाँ युग अभियानको एउटा भाग पनि हो। तर यसमा विश्वास गर्ने के आधार छ त?
पुनर्जन्ममा विश्वास गर्नेहरू भन्छन्, “पूर्वजुनीको सम्झना।” बैंककमा तीन वर्षीया रत्नालाई “आफ्नो पूर्वजुनीको सम्झना आउन थाल्यो र त्यसअनुसार तिनी धार्मिक झुकाउ भएकी व्यक्ति थिइन् र ६० वर्ष जतिको उमेरमा मरेकी थिइन्।” यस कुरालाई पुनर्जन्ममा विश्वास गर्ने थुप्रैले ठोस प्रमाणको रूपमा लिन थाले।
तथापि शंका उपशंकाहरू पनि थुप्रै छन्। पूर्वजुनीको सम्झना अन्य कारणहरूले पनि हुनसक्छन्।b हिन्दू धर्म: आत्मा मुक्तिको अर्थ नामक पुस्तकमा हिन्दू दर्शनशास्त्री निखिलानन्दले ‘मृत्युपछिका अनुभवहरूको तार्किक वर्णन गर्न सकिंदैन’ भने। तैपनि, तिनी यसो भन्छन्, “पुनर्जन्मको सिद्धान्त हुनै नसक्नेभन्दा हुनसक्ने सम्भावना धेरै छ।”
तर के बाइबलले यस शिक्षालाई समर्थन गर्छ त? अनि मृत जनहरूका निम्ति परमेश्वरको प्रेरित वचनले कस्तो आशा दिन्छ?
-
-
पुनर्जन्ममा विश्वास गर्नु के उचित होला?प्रहरीधरहरा—१९९७ | मे १५
-
-
पुनर्जन्ममा विश्वास गर्नु के उचित होला?
युनानी दार्शनिक प्लेटोले मायाप्रीतिलाई पुनर्जन्मसित जोडे। उनको विचारमा प्राण अमर हुने हुँदा मानिसको मरणपछि त्यो “आत्मिक संसार भनिने ठाउँमा” प्रवेश गर्छ। कुनै शरीरमा नबाँधिएको प्राण अब कुन रूप धारण गर्ने होला भनी विचार गर्दै केही समयसम्म यत्तिकै अलमलिरहन्छ। पुनर्जन्म भएपछि प्राणले विगतमा धारण गरेका रूपहरू कताकता सम्झन्छ र त्यसैको लालसा गर्छ। प्लेटोको धारणाअनुसार मानिसहरू मायाप्रीति लाउँछन् किनभने तिनीहरू आफ्नो प्रेमी वा प्रेमिकामा आफूले खोजेजस्तो सुन्दरताको आभास पाउँछन्।
पुनर्जन्मको सुरुआत तथा आधार चिन्ने
प्राण अमर हुन्छ भन्ने धारणाबाट पुनर्जन्मको शिक्षा विकास भएको हो। त्यसकारण अमर प्राणमा विश्वास गर्ने मानिसहरू वा राष्ट्रबाट पुनर्जन्मको शिक्षा उत्पत्ति भएको हुनुपर्छ। यसैको आधारमा कसै कसैलाई यो शिक्षा पुरातन मिश्रबाट सुरु भएजस्तो लाग्छ। अरू कतिपयलाई भने पुरातन बाबेलबाट सुरु भएजस्तो लाग्छ। बेबिलोनी धर्मको प्रतिष्ठा बढाउन पूजाहारीवर्गले एक ठाउँबाट अर्को ठाउँमा सर्ने प्राणको धर्मसिद्धान्त फैलाउन थाले। तब तिनीहरूले धार्मिक नेताहरू पूर्वजन्ममा धेरै पहिले मरिसकेका आफ्ना ठूलोठालु बाजेबराज्यूहरू थिए भनी दाबी गर्नसक्थे।
तथापि, पुनर्जन्मको विश्वास भारतमा फस्टायो। हिन्दू साधुहरू मानिसजातिले भोग्नुपरेको दुष्टता तथा दुःखकष्टजस्ता विश्वव्यापी समस्याहरूको कारण बुझ्न गहन सोचविचारमा डुबेका थिए। तिनीहरूको प्रश्न थियो, ‘सृष्टिकर्ता सदाचारी हुनुहुन्छ भन्ने धारणासित यी कुराहरू कसरी मेल खान्छ र?’ तिनीहरूले परमेश्वरको धार्मिकता र भइपरिआउने विपत्ति तथा असमानताहरूबीचको विवाद सुल्झाउन खोजे। समय बित्दै जाँदा तिनीहरूले “कर्मको नियम” अर्थात् कारण र असरको नियम निकाले। मतलब, ‘मानिसले जे रोप्छ, त्यसैको कटनी पनि गर्नेछ।’ तिनीहरूले एउटा जीवनमा गरेको सद्गुण तथा दुर्गुणको इनाम वा दण्ड अर्को जीवनमा पाइन्छ भन्ने लामो हिसाबकिताब निकाले।
“कर्म” भनेको “आचरण” हो। कुनै हिन्दूले सामाजिक तथा धार्मिक आचरणहरू पालन गऱ्यो भने तिनले राम्रो कर्म गरेको भनिन्छ र त्यसो नगरेको खण्डमा नराम्रो कर्म भनिन्छ। तिनको कार्य अथवा कर्मले तिनका भावी जीवनहरू निर्धारण गर्छ। दार्शनिक निखिलानन्द यसो भन्छन्, “मानिसको आचरण कस्तो हुने हो भनी ऊ जन्मनुअघि नै पूर्वजन्ममा गरेका कामकुराहरूको आधारमा निर्धारण भइसकेको हुन्छ तर शारीरिक गुनहरू भने वंशबाट निर्धारित हुन्छ। [त्यसकारण] मानिसले आफ्नो भाग्य आफै बनाउँछ, आफ्नो भविष्यको निर्माता स्वयं हो।” तथापि, अन्तिम लक्ष्य भने पुनर्जन्मको चक्रबाट छुटकारा पाएर ब्रह्मा अर्थात् मूलभूत यथार्थसित एक हुनु हो। सामाजिक तवरमा स्वीकृत आचरणअनुसार हिंडेर तथा खास हिन्दू ज्ञानबाट यो प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ।
अतः पुनर्जन्मको शिक्षा, प्राणको अमरताको धर्मसिद्धान्तमा आधारित हुन्छ र कर्मको नियमलाई विस्तार गरिएको छ। यस्ता विचारधाराहरूबारे परमेश्वरको प्रेरित वचन, बाइबलले के भन्छ, हेरौं।
के मानिसको कुनै भाग अमर हुन्छ?
यो प्रश्नको जवाफ पाउन यस विषयको सबैभन्दा महान् स्रोत अर्थात् सृष्टिकर्ताको प्रेरित वचनमा हेरौं। प्रथम मानव, आदमको सृष्टिबारे बाइबलको पहिलो पुस्तक यसो भन्छ: “परमप्रभु परमेश्वरले भूमिको माटोबाट मानिस बनाउनुभयो, र तिनको नाकमा जीवनको सास फुकिदिनुभयो, र मानिस जीवित प्राणी भयो। [ नेफेश]।”a (उत्पत्ति २:७) स्पष्टतः धर्मशास्त्रले जीवात्मा वा प्राण र प्रथम मानिस अलग अलग हो भनेर बुझाउँदैन। मानिससित प्राण हुने होइन तर मानिस स्वयं एक प्राणी हो। यसलाई बुझाउन प्रयोग गरिएको हिब्रू शब्द हो, नेफेश। यो शब्द बाइबलमा लगभग ७०० चोटि प्रयोग गरिएको छ। यसले मानिसभन्दा अलग कुरालाई पटक्कै बुझाउँदैन तर सधैं दृश्य तथा भौतिक कुरालाई बुझाउँछ।—अय्यूब ६:७; भजन ३५:१३; १०७:९; ११९:२८, NW.
त्यसोभए मृत्यु हुँदा के हुन्छ? आदमको मृत्यु हुँदा के भयो, विचार गर्नुहोस्। आदमले पाप गरेपछि परमेश्वरले उसलाई यसो भन्नुभयो: “माटोमा नफर्कुञ्जेल तेरो निधारको पसीनाले कमाएको भोजन तैंले खानेछस्। किनकि माटैबाट तँ निकालिएको थिइस्। तँ माटै होस् र माटैमा फर्किजानेछस्।” (उत्पत्ति ३:१९) त्यसको अर्थ के हो, यसो विचार गर्नुहोस्। परमेश्वरले आदमलाई माटोबाट सृष्टि गर्नुअघि उसको कुनै अस्तित्व थिएन। आदमको मृत्युपछि ऊ पुनः त्यही अवस्थामा फर्क्यो अर्थात् अस्तित्वबाट हरायो।
सरल भाषामा भन्ने हो भने, जीवनको उल्टो मृत्यु हो भनी बाइबलले सिकाउँछ। उपदेशक ९:५, १० मा हामी यसो लेखिएको पाउँछौं: “जिउँदाहरूले हामी मर्नेछौं भनी जान्दछन्, तर मरेकाहरूले ता केही पनि जान्दैनन्। तिनीहरूका निम्ति केही प्रतिफल हुँदैन। तिनीहरू बिलकुलै बिर्सिजानेछन्। तेरो हातमा जे काम छ त्यो आफ्नो पूरा शक्तिले गर्, किनभने मृत्युमा, जहाँ तँ जानैपर्छ, त्यहाँ नता केही गर्ने, न विचार गर्ने, न समझ-शक्ति, न बुद्धिनै हुन्छ।”
यसको अर्थ, मरेकाहरूले केही गर्न वा महसुस गर्न सक्दैनन्। तिनीहरूसित सोचविचार गर्ने वा सम्झने शक्ति हुँदैन। भजनरचयिता यसो भन्छन्: “राजाहरूमाथि तँ भरोसा नगर्, तिनीहरूबाट केही सहायता हुँदैन। त्यसको सास निस्किहाल्छ, त्यो माटैमा मिलिहाल्छ। त्यही दिन त्यसका युक्तिहरू नष्ट भइहाल्छन्।”—भजन १४६:३, ४.
मृत्यु हुँदा जीवात्मा अथवा प्राण एउटा शरीरबाट निस्केर अर्को शरीरमा प्रवेश गर्दैन बरु त्यो मर्छ भनी बाइबलले स्पष्टसित देखाउँछ। बाइबलले जोड दिएर यसो भन्छ, “जुन प्राणीले पाप गर्छ त्यही मर्छ।” (इजकिएल १८:४, २०; प्रेरित ३:२३; प्रकाश १६:३) तसर्थ, आत्मा अमर हुन्छ भन्ने धर्मसिद्धान्त अर्थात् पुनर्जन्मको शिक्षाको मूल आधारलाई धर्मशास्त्रमा कतै पनि समर्थन गरिएको पाइँदैन। यस्तो समर्थन नपाउँदा पुनर्जन्मको सिद्धान्त टिक्न सक्दैन। त्यसो भए आज संसारमा भइरहेको दुःखकष्टको कारण के हो त?
मानिसहरू किन दुःखकष्ट भोग्छन्?
मानव दुःखकष्टको मूल कारण, हामी सबैले पापी आदमबाट वंशानुगत पाएको असिद्धता हो। यसबारे बाइबल यसो भन्छ: “जसरी एउटै मानिसद्वारा पाप संसारमा प्रवेश भयो र पापबाट मृत्यु, त्यसरीनै मृत्यु सबै मानिसमा व्याप्त भयो। किनकि सबैले पाप गरेका छन्।” (रोमी ५:१२) हामी सबै आदमको सन्तान भएकोले बिरामी हुन्छौं, बूढाबूढी हुन्छौं र मर्छौं।—भजन ४१:१, ३; फिलिप्पी २:२५-२७.
यसबाहेक सृष्टिकर्ताको अपरिवर्तनीय नैतिक नियमले यसो भन्छ: “धोकामा नपर, परमेश्वरको ठट्टा हुनेछैन, किनभने मानिसले जे रोप्तछ त्यसैको कटनी पनि गर्नेछ। किनकि जसले आफ्नै शरीरको लागि रोप्तछ, त्यसले शरीरैबाट विनाशको कटनी गर्नेछ।” (गलाती ६:७, ८) तसर्थ, छाडा जीवनशैलीले गर्दा भावनात्मक तनाउ, अनावश्यक गर्भधारण तथा यौनजन्य रोगहरू हुनसक्छन्। साइन्टिफिक अमेरिकन पत्रिका यसो भन्छ, “[संयुक्त राज्यमा] हुने घातक अर्बुद रोगहरूमध्ये ३० प्रतिशतजतिको कारण धूम्रपान र अर्को ३० प्रतिशत चाहिं जीवनशैली र त्यसमा पनि भोजनपद्धति तथा अपर्याप्त व्यायामले गर्दा हुने गर्छ।” मानिसले पृथ्वीको सम्पदा दुरुपयोग गरेको हुँदा कतिपय दुःखकष्ट हुने गर्छन्।—प्रकाश ११:१८ तुलना गर्नुहोस्।
हो, मानिसले भोगिरहेको प्रायजसो पीडाहरूका लागि दोषी स्वयं मानिस हो। तथापि, प्राण अमर नहुने हुँदा ‘जे रोप्छ त्यसैको कटनी गर्ने’ नियम र मानव दुःखकष्टलाई मिलान गर्न सकिंदैन अर्थात् कथित पूर्वजुनीमा गरेका कामहरूसित यसको कुनै सम्बन्ध छैन। बाइबल यसो भन्छ, ‘मृत्युपछि पापबाट’ मुक्त भइन्छ। (रोमी ६:७, २३) तसर्थ मृत्युपछि अर्को जीवनमा पापको ज्याला तिर्नु पर्दैन।
शैतान अर्थात् दियाबलले गर्दा पनि धेरै दुःखकष्टहरू हुन्छन्। भनौं भने, यो संसारै शैतानको अधीनमा छ। (१ यूहन्ना ५:१९) अनि येशू ख्रीष्टले भविष्यवाणी गर्नुभएझैं उहाँका चेलाहरू ‘उहाँको नाउँको खातिर सबैबाट घृणित हुनेछन्।’ (मत्ती १०:२२) परिणामस्वरूप दुष्टहरूले भन्दा धर्मीहरूले अक्सर बढी दुःख भोग्छन्।
यो संसारमा केही घटनाहरू त कुनै स्पष्ट कारणबिना पनि हुने गर्छन्। सबैभन्दा छिटो दौडने धावक बीचैमा लडेर दौड हार्नसक्छन्। एउटा नाथे सैन्य दलको अगाडि पराक्रमी सेनाहरू परास्त हुनसक्छन्। बुद्धिमान् मानिस पनि जागिर नपाएर भोकै पर्नसक्छन्। व्यापार गर्न जान्ने मानिसहरूसमेत कारणवश बेकाम भएर गरिबीको चपेटामा पर्नसक्छन्। ज्ञानी व्यक्तिहरूले पनि अख्तियारवालाहरूको रीस खप्न र परिणामस्वरूप तिनीहरूको अनुग्रह गुमाउन सक्छन्। किन यसो हुन्छ? बुद्धिमान् राजा सुलेमान यस्तो जवाफ दिन्छन्, “समय र अवसरलेनै सबैलाई अधीन गरेको हुन्छ।”—उपदेशक ९:११.
मानिसहरूले दुःखकष्ट भोग्नुको कारण हिन्दू साधुहरूले बुझाउन खोज्नुभन्दा धेरैअघिदेखि नै मानिसहरूले दुःखकष्ट भोग्दै आएका हुन्। तर के उज्ज्वल भविष्यको आशा गर्न सकिन्छ? अनि बाइबलले मरेका मानिसहरूको लागि कस्तो प्रतिज्ञा गर्छ?
शान्तिमय भविष्य
सृष्टिकर्ताले शैतानको नियन्त्रणमा परेको वर्तमान मानव समाजलाई नाश गर्नेछु भनी प्रतिज्ञा गर्नुभएको छ। (हितोपदेश २:२१, २२; दानियल २:४४) तब नयाँ धार्मिक मानव समाज अर्थात् “नयाँ पृथ्वी” एउटा वास्तविकता हुनेछ। (२ पत्रुस ३:१३) त्यतिबेला कुनै “बासिन्दाहरूले यसो भन्नेछैनन् ‘म बिरामी परें।’ ” (यशैया ३३:२४) मृत्युको पीडासमेत हटाइनेछ किनभने परमेश्वरले सबैका “आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीड़ा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्।”—प्रकाश २१:४.
परमेश्वरले प्रतिज्ञा गर्नुभएको नयाँ संसारका बासिन्दाहरूबारे भजनरचयिताले यस्तो भविष्यवाणी गरे: “धर्मात्माहरूले देश अधिकार गर्नेछन्, र त्यसैमा सधैंभरि रहन्छन्।” (भजन ३७:२९) यसबाहेक, नम्रहरू “प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन्।”—भजन ३७:११.
अघिल्लो लेखमा उल्लिखित मुकुन्दभाइ परमेश्वरले गर्नुभएका अद्भुत प्रतिज्ञाहरूबारे थाह पाउनु अगावै मरिसकेका थिए। तर मुकुन्दभाइजस्ता परमेश्वरलाई नचिनी मरेका करोडौं मानिसहरू एउटा शान्तिमय नयाँ संसारमा बिउँतने आशा छ किनभने बाइबल यस्तो प्रतिज्ञा गर्छ: “धर्मी र अधर्मीहरू समेतको पुनरुत्थान हुन्छ।”—प्रेरित २४:१५; लूका २३:४३.
युनानी शब्द आनास्तासिस-बाट “पुनरुत्थान” शब्द अनुवाद गरिएको हो र यसको शाब्दिक अर्थ “पुनः खडा हुनु” हो। त्यसकारण, कुनै व्यक्तिविशेषको जीवनपद्धतिलाई पुनः क्रियाशील बनाउनु नै पुनरुत्थान हो।
स्वर्ग तथा पृथ्वीको सृष्टिकर्ताको ज्ञान अथाह छ। (अय्यूब १२:१३) मरिसकेका व्यक्तिहरूको जीवनपद्धति सम्झनु उहाँको लागि कुनै गाह्रो काम होइन। (यशैया ४०:२६ तुलना गर्नुहोस्।) यहोवा परमेश्वर प्रेममा पनि भरपूर हुनुहुन्छ। (१ यूहन्ना ४:८) यसर्थ, उहाँले आफ्नो अचूक स्मरणशक्ति चलाउनुभएर मरेका मानिसहरूलाई तिनीहरूले जे जति गरे त्यसको आधारमा दण्ड दिने होइन तर मर्नुअघि जस्तो व्यक्तित्व थियो, त्यस्तै रूपसहित पार्थिव प्रमोदवनमा पुनः जीवित तुल्याउनुहुनेछ।
मुकुन्दभाइजस्ता करोडौंले पुनरुत्थानपछि आफ्ना प्रिय जनहरू भेट्न पाउनेछन्। तर अहिले बाँचिरहेकाहरूको निम्ति यसले कस्तो अर्थ राख्छ, कल्पना गर्नुहोस् त। उदाहरणका लागि, मुकुन्दभाइको छोरालाई लिनुहोस्। तिनले परमेश्वर र उहाँका उद्देश्यहरूबारे सत्य कुरा सिकेका छन्। तिनको पिता दुष्टता र दुःखकष्टमाझ पुनर्जन्मको अनन्त चक्रमा फसेका छैनन् भनी थाह पाउनु तिनको निम्ति कत्ति सान्त्वनादायी कुरा भएको छ! तिनको बुबा केवल मृत्युको निद्रामा मस्त निदाइरहेका छन् र पुनरुत्थानको प्रतीक्षामा छन्। आफूले बाइबलबाट सिकेका कुराहरू एक दिन आफ्नो पितालाई बताउन पाउनेछु भनी कल्पना गर्नु मात्र पनि तिनको लागि कस्तो रोमाञ्चकारी छ!
“सबै मानिसहरूले उद्धार पाऊन् र तिनीहरू सत्यको ज्ञानमा आऊन् भन्ने” परमेश्वरको इच्छा छ। (१ तिमोथी २:३, ४) परमेश्वरको सेवा गरिरहेका अरू लाखौंसँगसँगै तपाईं पनि कसरी परमेश्वरको सेवा गर्न सक्नुहुन्छ भनी सिक्ने समय अहिल्यै हो।—यूहन्ना १७:३.
-