-
आमाबाबुहरू हो, तपाईंको उदाहरणले के सिकाउँछ?प्रहरीधरहरा—१९९९ | जुलाई १
-
-
आमाबाबुहरू हो, तपाईंको उदाहरणले के सिकाउँछ?
“तिमीहरू प्रिय बालकहरूझैं परमेश्वरका देखा-सिकी गर्नेहरू होओ, र तिमीहरू पनि प्रेममा चल।”—एफिसी ५:१, २.
१. यहोवाले प्रथम मानव दम्पतीलाई कस्ता निर्देशनहरू दिनुभयो?
यहोवा पारिवारिक प्रबन्धका प्रारम्भक हुनुहुन्छ। सबै परिवारको सुरुवात गर्ने उहाँ नै हुनुहुन्छ किनभने उहाँले पहिलो परिवार स्थापित गर्नुभयो अनि पहिलो मानव दम्पतीलाई प्रजनन क्षमता दिनुभयो। (एफिसी ३:१४, १५) उहाँले आदम र हव्वालाई तिनीहरूका जिम्मेवारीहरूबारे आधारभूत निर्देशनहरू दिनुका साथै ती पूरा गर्न तिनीहरू आफै अग्रसर हुने थुप्रै मौका पनि दिनुभयो। (उत्पत्ति १:२८-३०; २:६, १५-२२) आदम र हव्वाले पाप गरेपछि परिवारहरूले सामना गर्नुपर्ने परिस्थितिहरू झन् जटिल भयो। तापनि, आफ्ना सेवकहरूले यस्ता परिस्थितिहरूको सामना गर्नसकून् भनेर यहोवाले मायालु निर्देशनहरू पनि दिनुभयो।
२. (क) यहोवाले कस्ता माध्यमहरू चलाउनुभएर लिखित सल्लाहलाई मौखिक निर्देशनद्वारा जोड दिनुभयो? (ख) आमाबाबुहरूले आफैलाई कस्ता प्रश्नहरू सोध्नु आवश्यक छ?
२ हाम्रा महान् शिक्षकको हैसियतमा यहोवाले हामीलाई के गर्नुहुन्छ र के गर्नुहुँदैन भन्ने लिखित निर्देशनहरू मात्र दिनुभएको छैन। प्राचीन समयमा उहाँले पूजाहारी, अगमवक्ता अनि परिवारका शिरहरू मार्फत लिखित तथा मौखिक निर्देशनहरू दिनुभयो। अहिले हाम्रो समयमा उहाँले मौखिक शिक्षा दिन कसलाई चलाउनुहुँदैछ? मसीही प्राचीन अनि आमाबाबुहरूलाई। तपाईं आमा वा बुबा हुनुहुन्छ भने, के आफ्नो परिवारलाई परमेश्वरको मार्गमा डोऱ्याउने काम गर्नुहुँदैछ?—हितोपदेश ६:२०-२३.
३. प्रभावशाली ढंगमा शिक्षा दिनेबारे परिवारका शिरहरूले यहोवाबाट के सिक्नसक्छन्?
३ परिवारभित्र यस्तो निर्देशन कसरी दिनुपर्छ? यहोवाले यसको नमूना बसाल्नुहुन्छ। उहाँले के असल हो अनि के खराब हो भनी दोहऱ्याइ तेहऱ्याइ स्पष्टसित बताउनुभएको छ। (प्रस्थान २०:४, ५; व्यवस्था ४:२३, २४; ५:८, ९; ६:१४, १५; यहोशू २४:१९, २०) उहाँ सोचनीय प्रश्नहरू गर्नुहुन्छ। (अय्यूब ३८:४, ८, ३१) उहाँ दृष्टान्त र जीवनका वास्तविक उदाहरणहरू चलाएर हाम्रा भावनाहरू जगाउनुका साथै हृदयलाई आकार दिनुहुन्छ। (उत्पत्ति १५:५; दानियल ३:१-२९) आमाबाबु हो, के तपाईं आफ्ना छोराछोरीलाई सिकाउनुहुँदा यो नमूना अनुकरण गर्ने कोसिस गर्नुहुन्छ?
४. अनुशासन दिने विषयमा हामी यहोवाबाट के सिक्नसक्छौं अनि अनुशासन दिनु किन महत्त्वपूर्ण छ?
४ यहोवा सही कुरामा अटल हुनुहुन्छ तर उहाँ असिद्धताका असरहरू राम्ररी बुझ्नुहुन्छ। यसकारण, उहाँ सजाय दिनुअघि असिद्ध मानिसजातिलाई सिकाउनुहुन्छ अनि बारम्बार चेताउनी दिनुका साथै सम्झाउनुहुन्छ। (उत्पत्ति १९:१५, १६; यर्मिया ७:२३-२६) उहाँले अत्यधिक मात्रामा होइन ठिक्क मात्रामा अनुशासन दिनुहुन्छ। (भजन १०३:१०, ११; यशैया २८:२६-२९) हामी पनि यसरी नै आफ्ना छोराछोरीसित व्यवहार गर्छौं भने, यहोवालाई हामी चिन्छौं भनेर त्यसले प्रमाणित गर्छ अनि छोराछोरीले पनि उहाँलाई सजिलैसित चिन्न सक्नेछन्।—यर्मिया २२:१६; १ यूहन्ना ४:८.
५. सुन्ने सन्दर्भमा आमाबाबुहरूले यहोवाबाट के सिक्नसक्छन्?
५ एउटा अद्भुत कुरा के छ भने, स्वर्गमा हुनुहुने मायालु पिताको हैसियतमा यहोवाले हाम्रो कुरा सुन्नुहुन्छ। उहाँ आज्ञाहरू मात्र दिनुहुन्न। उहाँ हाम्रो हृदयको कुरा उहाँसमक्ष पोखाउन प्रोत्साहन दिनुहुन्छ। (भजन ६२:८) अनि हामीले पोखाएका भावनाहरू ठीक छैनन् भने उहाँ स्वर्गबाट गर्जदैं हप्काउनुहुन्न। उहाँ हामीलाई धैर्यतापूर्वक सिकाउनुहुन्छ। तसर्थ, प्रेरित पावलको यो सल्लाह कति उपयुक्त छ: “तिमीहरू प्रिय बालकहरूझैं परमेश्वरका देखा-सिकी गर्नेहरू होओ”! (एफिसी ४:३१-५:१) आफ्ना छोराछोरीलाई सिकाउन यहोवाले आमाबाबुका लागि कत्ति असल उदाहरण बसाल्नुहुन्छ! उहाँको यो उदाहरणले हाम्रो हृदय छुन्छ अनि उहाँले चाहनुहुने जीवनशैलीअनुसार चल्न हामीलाई प्रेरणा दिन्छ।
उदाहरणका असरहरू
६. आमाबाबुको मनोवृत्ति र उदाहरणले कसरी छोराछोरीलाई प्रभावित गर्छ?
६ मौखिक निर्देशनबाहेक उदाहरणले स-साना केटाकेटीहरूमा गहिरो असर पार्छ। आमाबाबुहरूलाई मन परोस् वा नपरोस्, छोराछोरीले तिनीहरूको अनुकरण गर्नेछन्। आफूले भनेका कुराहरू छोराछोरीले भनेको सुन्दा आमाबाबुहरू दंग पर्नसक्छन् भने कहिलेकाहीं हक्क न बक्क पनि हुनसक्छन्। आमाबाबुको आचरण र मनोवृत्तिले आध्यात्मिक कुराहरूप्रतिको गहिरो मूल्यांकन देखाउँदा त्यसले छोराछोरीमाथि सकारात्मक असर पार्छ।—हितोपदेश २०:७.
७. यिप्तहले आफ्नो छोरीको निम्ति बुबाको हैसियतमा कस्तो उदाहरण बसाले अनि परिणाम के भयो?
७ आमाबाबुको उदाहरणले पार्ने असरबारे बाइबलमा राम्ररी बताइएको छ। इस्राएलीहरूलाई अम्मोनीहरूमाथि विजय गराउन यहोवाले यिप्तहलाई चलाउनुभयो। तिनी एक बुबा पनि थिए। यहोवाले इस्राएलसित गर्नुभएको व्यवहारको इतिहास यिप्तहले बारम्बार पढ्थे भनेर तिनले अम्मोनका राजालाई दिएका जवाफले संकेत गर्छ। तिनले निर्धक्क भई उक्त इतिहास बताए अनि यहोवामाथि बलियो विश्वास प्रदर्शित गरे। निस्सन्देह, तिनको उदाहरणले तिनकी छोरीलाई कुमारीको रूपमा जीवनभर यहोवाको सेवामा समर्पित हुने विश्वास र आत्म-त्यागी मनोभाव देखाउन मदत गऱ्यो।—न्यायकर्त्ता ११:१४-२७, ३४-४०; यहोशू १:८ तुलना गर्नुहोस्।
८. (क) शमूएलको आमाबाबुले कस्तो असल मनोवृत्ति देखाए? (ख) त्यसले कसरी शमूएललाई फाइदा गऱ्यो?
८ शमूएल केटाकेटी छँदा उदाहरणीय थिए अनि अगमवक्ताको हैसियतमा जीवनभर परमेश्वरप्रति विश्वासी रहे। के तपाईं पनि आफ्नो छोराछोरी तिनीजस्तै भएको चाहनुहुन्छ? त्यसोभए शमूएलका आमाबाबु, एल्काना र हन्नाले बसालेको उदाहरण विचार गर्नुहोस्। आफ्नो घरायसी स्थिति नाजुक भए तापनि तिनीहरू नियमित तवरमा पवित्र बासस्थान भएको ठाउँ अर्थात् शीलोमा गएर उपासना गर्थे। (१ शमूएल १:३-८, २१) हन्नाले प्रार्थनामा पोखाएको गहिरो भावनाहरूलाई विचार गर्नुहोस्। (१ शमूएल १:९-१३) परमेश्वरसित गरेको भाकललाई तिनीहरू कत्ति महत्त्वपूर्ण ठान्थे, ध्यान दिनुहोस्। (१ शमूएल १:२२-२८) निस्सन्देह, तिनीहरूको असल उदाहरणले गर्दा शमूएलले सही मार्गमा चल्ने गुण विकास गर्ने मदत पाए। यहोवाको सेवा गर्छौं भनिटोपल्नेहरूले परमेश्वरको तौरतरिकाहरू अनादर गर्दासमेत तिनी सही मार्गमा चले। समयको अन्तरालमा यहोवाले शमूएललाई उहाँको अगमवक्ता हुने जिम्मेवारी सुम्पिनुभयो।—१ शमूएल २:११, १२; ३:१-२१.
९. (क) घरका कस्ता प्रभावहरूले गर्दा तिमोथीको जीवनमा राम्रो असर पऱ्यो? (ख) तिमोथी कस्ता व्यक्ति बने?
९ के तपाईं आफ्नो छोरा तिमोथीजस्तो भएको चाहनुहुन्छ जो जवान छँदै प्रेरित पावलका सहयोगी बने? तिमोथीका बुबा बेग्लै धर्म मान्थे। तर तिनकी आमा र बज्यैले आध्यात्मिक कुराहरूको मूल्यांकन गरेर असल उदाहरण बसाले। निस्सन्देह, यसले तिमोथीलाई मसीही जीवन सुरु गर्न राम्रो जग बसाल्ने मदत दियो। तिनकी आमा युनिस र बज्यै लोइससँग “निष्कपट विश्वास” थियो भनी हामीलाई थाह छ। तिनीहरूको मसीही जीवन देखावटी थिएन। तिनीहरूले साँच्चै आफ्नो विश्वासअनुसार जीवन यापन गरे अनि जवान तिमोथीलाई पनि त्यसै गर्न सिकाए। तिमोथीले आफूलाई भरपर्दो साबित गर्नसके अनि तिनले अरूको हितप्रति निष्कपट चासो छ भनेर देखाए।—२ तिमोथी १:५; फिलिप्पी २:२०-२२.
१० (क) घरबाहिरका कस्ता उदाहरणहरूले हाम्रा छोराछोरीलाई प्रभाव पार्नसक्छन्? (ख) त्यस्ता प्रभावहरू हाम्रा छोराछोरीको बोली र मनोवृत्तिमा देखिन थाल्यो भने हामीले के गर्नुपर्छ?
१० हाम्रा छोराछोरीलाई घरभित्रका उदाहरणहरूले मात्र प्रभाव पार्ने होइनन्। तिनीहरूसँगै स्कूल पढ्ने अरू केटाकेटीहरू छन्, साना केटाकेटीहरूको मनलाई आकार दिने शिक्षकशिक्षिकाहरू छन्, गहिरो जरा गाडेका जातिय तथा सामाजिक रीतिथितिहरू पालन गर्नैपर्छ भन्ने मानिसहरू छन्, ख्यातिप्राप्त खेलाडीहरू छन् अनि त्यस्ता सरकारी अधिकारीहरू छन् जसको आचरणबारे अखबारहरूमा चर्चा गरिन्छ। करोडौं केटाकेटीहरूले युद्धको क्रुर स्थितिसित सामना गरेका छन्। के हाम्रा केटाकेटीको बोली र मनोवृत्तिमा यसका प्रभावहरू देखापऱ्यो भने छक्क मान्नुपर्छ? तिनीहरूले त्यसो गर्दा के गर्ने? के नमिठो गाली वा भाषण छटाइँले समस्या समाधान गर्ला? छोराछोरीलाई तुरुन्तै केही भन्नुको सट्टा के आफूलाई यस्तो प्रश्न सोध्नु बेस नहोला र, ‘यहोवाले हामीसँग व्यवहार गर्नुभएको कुनै तरिकाले यो समस्या सुलझ्याउन मदत गर्नसक्छ?’—रोमी २:४ तुलना गर्नुहोस्।
११. आमाबाबुले त्रुटी गर्दा त्यसले छोराछोरीको मनोवृत्तिलाई कसरी असर गर्नसक्छ?
११ निस्सन्देह, असिद्ध आमाबाबुहरूले समस्याहरू सधैं उत्तम ढंगमा समाधान गर्छन् भन्ने छैन। तिनीहरूले त्रुटीहरू गर्नेछन्। के छोराछोरीले ती त्रुटी थाह पाएपछि आफ्नो आमाबाबुलाई अनादर गर्न थाल्छन्? विशेष गरी आमाबाबुले आफ्नो अख्तियार चलाउँदै आफ्ना गल्तीहरूलाई हल्का बनाउन खोज्यो भने त्यसो हुनसक्छ। तर आमाबाबु विनम्र छन् अनि आफ्ना त्रुटी सहजै स्वीकार्छन् भने, नतिजा अर्कै हुनसक्छ। यसो गरेर तिनीहरूले आफ्ना छोराछोरीका लागि असल उदाहरण बसाल्नसक्छन् किनकि छोराछोरीले पनि त्यसै गर्न सिक्नुपर्छ।—याकूब ४:६.
हाम्रो उदाहरणले के सिकाउँछ
१२, १३. (क) छोराछोरीले प्रेमबारे के सिक्नु आवश्यक छ अनि त्यो कसरी सबैभन्दा प्रभावशाली ढंगमा सिकाउन सकिन्छ? (ख) छोराछोरीले प्रेमबारे सिक्नु किन महत्त्वपूर्ण छ?
१२ मौखिक निर्देशनका साथै असल उदाहरणद्वारा थुप्रै मूल्यवान् पाठहरू सिकाउन सकिन्छ। केही उदाहरण विचार गर्नुहोस्।
१३ निःस्वार्थ प्रेम व्यक्त गर्ने: उदाहरणद्वारा सिकाउनुपर्ने एउटा प्रमुख पाठ हो, प्रेमको अर्थ। “हामी प्रेम गर्दछौं, किनभने पहिले [परमेश्वरले] हामीलाई प्रेम गर्नुभयो।” (१ यूहन्ना ४:१९) उहाँ प्रेमको स्रोत र सर्वोत्कृष्ट उदाहरण हुनुहुन्छ। यो सैद्धान्तिक प्रेम अर्थात् अगापे-बारे बाइबलमा १०० पटकभन्दा बढी उल्लेख गरिएको छ। यो, साँचो मसीहीहरूलाई चिनाउने गुण हो। (यूहन्ना १३:३५) यस्तो प्रेम परमेश्वर र येशू ख्रीष्टप्रति देखाउनुपर्छ अनि मानिसजातिले एकअर्काप्रति देखाउनुपर्छ—हामीलाई प्रिय नलाग्ने मानिसहरूलाई समेत यो प्रेम देखाउनुपर्छ। (मत्ती ५:४४, ४५; १ यूहन्ना ५:३) हामीले यो प्रेमबारे आफ्ना छोराछोरीलाई प्रभावशाली ढंगमा सिकाउनुअघि त्यो हाम्रो हृदयमा हुनुपर्छ अनि जीवनमा प्रस्टसँग देखिनुपर्छ। कुराभन्दा काम प्रभावकारी हुन्छ। परिवारभित्र केटाकेटीले प्रेम र स्नेहजस्ता प्रेमसँग सम्बन्धित गुणहरू देख्नुका साथै अनुभव गर्नुपर्छ। यी कुराहरूबिना केटाकेटी शारीरिक, मानसिक अनि आध्यात्मिक रूपमा राम्ररी फस्टाउन सक्दैनन्। परिवारबाहिरका सँगी मसीहीहरूप्रति प्रेम र स्नेह कसरी उचित ढंगमा प्रदर्शित गर्ने भनेर पनि केटाकेटीले सिक्नु आवश्यक छ।—रोमी १२:१०; १ पत्रुस ३:८.
१४. (क) छोराछोरीलाई कसरी सन्तुष्टि प्राप्त हुने गुणस्तरीय काम गर्न सिकाउन सकिन्छ? (ख) तपाईंको परिवारको परिस्थितिअनुसार त्यो कसरी गर्न सकिन्छ?
१४ काम गर्न सिक्ने: काम जीवनको एउटा अभिन्न अंग हो। आत्मसम्मान कमाउनु छ भने, गुणस्तरीय काम गर्ने तरिका सिक्नु आवश्यक छ। (उपदेशक २:२४; २ थिस्सलोनिकी ३:१०) अपर्याप्त निर्देशन दिएर केटाकेटीलाई काम अह्रायो अनि ठीकसित काम नगर्दा गाली गऱ्यो भने, दक्ष हुन सक्दैनन्। तर केटाकेटीले आफ्नो आमाबाबुसँग मिलेर काम गर्दा अनि तिनीहरूको उचित प्रशंसा गर्दा तिनीहरूले सन्तुष्टि प्राप्त हुने काम गर्न सिक्नसक्छन्। आमाबाबुले उदाहरणका साथसाथै राम्ररी काम बुझायो भने छोराछोरीले काम गर्न मात्र होइन तर समस्याहरू कसरी सामना गर्ने, कसरी लगनशील हुने अनि कसरी सोच्ने तथा निर्णयहरू गर्ने भनेर पनि सिक्नसक्छन्। यसका लागि तपाईंले यहोवा पनि काम गर्नुहुन्छ, उहाँ गुणस्तरीय काम गर्नुहुन्छ अनि येशूले उहाँको अनुकरण गर्नुहुन्छ भनी बुझाउन सक्नुहुन्छ। (उत्पत्ति १:३१; हितोपदेश ८:२७-३१; यूहन्ना ५:१७) परिवारको खेतीपाती अथवा व्यापार धन्दा छ भने, परिवारका केही सदस्यहरू मिलेर सँगै काम गर्नसक्छन्। अथवा आमाले छोरा वा छोरीलाई खाना पकाउन अनि खानपिनपछि सफा गर्न सिकाउन सक्छिन्। जागिर खाने बुबाले छोराछोरीसँग मिलेर घरको कामकुरा गर्ने योजना मिलाउनसक्छन्। आमाबाबुले झट्टपट्ट काम सिध्याउने तर्फ मात्र ध्यान नदिइ छोराछोरीलाई भावी जीवनमा चाहिने सीपहरू सिकाउने तर्फ ध्यान दिंदा साह्रै फाइदाजनक हुन्छ!
१५. कुन कुन तरिकाद्वारा विश्वासबारे पाठ सिकाउन सकिन्छ? व्याख्या गर्नुहोस्।
१५ विपत्तिको समयमा विश्वास कायम राख्ने: विश्वास पनि हाम्रो जीवनको एउटा महत्त्वपूर्ण पक्ष हो। पारिवारिक अध्ययनमा विश्वासबारे छलफल गर्दा छोराछोरीले यसको अर्थ बुझ्नसक्छन्। सायद तिनीहरूले त्यस्ता प्रमाणहरू पनि देख्लान् जसले तिनीहरूको हृदयमा विश्वास बढाउन थाल्छ। तर आफ्नो आमाबाबुले घोर सतावटको समयमा पनि दृढ विश्वास राखेको देख्दा त्यसको आजीवन प्रभाव पर्नसक्छ। पानामाकी एउटी बाइबल विद्यार्थीलाई यहोवाको सेवा गर्न नछोडेको खण्डमा पतिले घरबाट निकालिदिने धम्की दिएका थिए। तैपनि, तिनले आफ्ना चार साना छोराछोरीसँग १६ किलोमिटर पैदल यात्रा गरेर त्यसपछि ३० किलोमिटर बसद्वारा यात्रा गरी नियमित रूपमा सबैभन्दा नजिकको राज्यभवन धाइरहिन्। यस्तो उदाहरणद्वारा प्रोत्साहित भएर तिनको परिवारका करिब २० जना सदस्यहरूले सच्चाइलाई अंगाले।
दिनहुँ बाइबल पढेर उदाहरण बसाल्ने
१६. किन पारिवारिक रूपमा दैनिक बाइबल पढ्ने सुझाउ दिइन्छ?
१६ परिवारले बसाल्नसक्ने सबैभन्दा मूल्यवान् बानीहरूमध्ये एउटा हो, नियमित बाइबल पढाई। यस्तो बानीले आमाबाबुलाई फाइदा गर्नुका साथै छोराछोरीका लागि त्यो अनुकरणीय उदाहरण बन्छ। सम्भव छ भने, प्रत्येक दिन बाइबलको केही अंश पढ्नुहोस्। कति पढ्न सकिन्छ, त्यो कुरा महत्त्वपूर्ण होइन। सबैभन्दा महत्त्वपूर्ण कुरा त, नियमित तवरमा पढ्नु र पढ्ने तरिका हो। तपाईंको भाषामा उपलब्ध छ भने, छोराछोरीलाई बाइबल पढाइको दौडान बाइबलका कथाहरू भएको मेरो पुस्तक-को श्रव्य क्यासेट बजाएर सुनाउन सक्नुहुन्छ। दिनहुँ परमेश्वरको वचन पढ्नाले परमेश्वरको सोचविचारहरूलाई प्राथमिकता दिन मदत गर्छ। अनि बाइबल पढाइ आ-आफै नभई सपरिवार मिलेर गऱ्यो भने परिवारले नै यहोवाको मार्गमा हिंड्ने मदत पाउनसक्छ। यो त्यस्तो बानी हो जसबारे गत वर्षको “परमेश्वरले चाहनुहुने जीवनशैली” अधिवेशनको परिवारहरू हो—दिनहुँ बाइबल पढ्ने बानी बसाल्नुहोस् भन्ने नाटकमा प्रोत्साहन दिइएको थियो!—भजन १:१-३.
१७. पारिवारिक बाइबल पढाइ र मुख्य मुख्य पदहरू याद राख्नाले कसरी एफिसी ६:४ को सल्लाह लागू गर्न मदत मिल्छ?
१७ परिवार मिलेर बाइबल पढ्नु प्रेरित पावलले एफिससका मसीहीहरूलाई लेखेका आफ्नो प्रेरित पत्रका शब्दहरूअनुरूप छ। तिनले यसो लेखे: “ए बाबु हो, तिमीहरूका बालकहरूलाई रीस नउठाओ, तर तिनीहरूलाई प्रभुको शिक्षा र चेताउनीमा पालन-पोषण गर।” (एफिसी ६:४) यसको अर्थ के हो? ‘प्रभुको चेताउनीमा पालन-पोषण गर’ भन्ने वाक्यांशको शाब्दिक अर्थ हो, “मन हाल्नु।” तसर्थ, मसीही बुबाहरूलाई आफ्ना छोराछोरीको हृदयमा यहोवा परमेश्वरको मन हाल्ने अर्थात् छोराछोरीलाई परमेश्वरको सोचविचार बुझ्न मदत गर्ने आग्रह गरिएको छ। छोराछोरीलाई मुख्य मुख्य पदहरू याद गर्ने प्रोत्साहन दिएर यसो गर्न सकिन्छ। यसो गर्नुको उद्देश्य, छोराछोरीको विचार यहोवाको सोचविचारअनुरूप बनाउनु हो ताकि आमाबाबु उनीहरूका साथमा हून या नहून, उनीहरूको इच्छा र आचरणले हरबखत बिस्तारै ईश्वरीय स्तर प्रदर्शित गर्न सकोस्। केटाकेटीको मनमा यस्तो विचार हाल्ने आधार बाइबल हो।—व्यवस्था ६:६, ७.
१८. बाइबल पढ्दा (क) स्पष्टसित बुझ्न, (ख) दिइएको सल्लाहबाट फाइदा उठाउन, (ग) यहोवाको उद्देश्यबारे के बताउँछ भनी बुझ्न अनि (घ) मानिसहरूको मनोवृत्ति र कार्यहरूबाट फाइदा उठाउनका निम्ति के आवश्यक पर्नसक्छ?
१८ निस्सन्देह, बाइबलले हाम्रो जीवनलाई प्रभावित गरोस् भन्ने चाहन्छौ भने, हामीले त्यसमा भएका कुराहरू बुझ्नु आवश्यक छ। बाइबलको कुनै कुनै अंश दोहऱ्याइ तेहऱ्याइ नपढेसम्म कसै कसैले त्यसरी बुझ्न नसक्ला। कुनै कुनै अभिव्यक्तिहरू स्पष्टसित बुझ्न शब्दकोशमा अथवा धर्मशास्त्रमाथि अन्तरदृष्टि-मा हेर्नुपर्ने हुनसक्छ। पढिएको पदमा सल्लाह वा आज्ञा दिइएको छ भने, हाम्रो समयको किन चाहिं परिस्थितिमा त्यो लागू गर्न सकिन्छ भनी छलफल गर्नुहोस्। त्यसपछि यस्तो प्रश्न गर्न सक्नुहुन्छ, ‘यो सल्लाह लागू गर्नाले कसरी हामीलाई फाइदा हुनसक्छ?’ (यशैया ४८:१७, १८) तपाईंले पढ्दै गर्नुभएको पदले यहोवाको उद्देश्यको कुनै पक्षबारे बताउँदैछ भने, यस्तो प्रश्न गर्नुहोस्, ‘यसले कसरी हाम्रो जीवनलाई प्रभावित गरेको छ?’ हुनसक्छ, तपाईंले मानिसहरूको मनोवृत्ति र कार्यहरूबारे विवरण पढिरहनुभएको होला। तिनीहरूले जीवनमा के-कस्ता दवाब सहे? त्यसलाई कसरी सामना गरे? हामी तिनीहरूको उदाहरणबाट कसरी फाइदा उठाउनसक्छौं? त्यस्तो विवरणले हाम्रो वर्तमान जीवनमा के अर्थ राख्छ भनी सधैं छलफल गर्नुहोस्।—रोमी १५:४; १ कोरिन्थी १०:११.
१९. परमेश्वरको देखासिकी गरेर हामी आफ्ना छोराछोरीका लागि के गरिरहेका हुन्छौं?
१९ हाम्रो मन अनि हृदयमा परमेश्वरको सोचविचारको छाप बसाउने कस्तो उत्तम तरिका! यसरी हामीले “प्रिय बालकहरूझैं परमेश्वरका देखा-सिकी गर्नेहरू” हुने मदत पाउनेछौं। (एफिसी ५:१) अनि हामी आफ्नो छोराछोरीले अनुकरण गर्न योग्यको उदाहरण बसाल्नेछौं।
के तपाईंले सम्झनु भएको छ?
◻ आमाबाबुहरूले यहोवाको उदाहरणबाट कसरी फाइदा उठाउनसक्छन्?
◻ किन छोराछोरीलाई असल उदाहरणसहित मौखिक निर्देशन दिनुपर्छ?
◻ आमाबाबुको उदाहरणले कुन कुन पाठहरू राम्ररी सिकाउनसक्छ?
◻ हामी पारिवारिक बाइबल पढाइबाट कसरी पूर्णतया फाइदा उठाउनसक्छौं?
-
-
परिवार मिलेर नियमित तवरमा परमेश्वरको वचन अध्ययन गर्नुहोस्प्रहरीधरहरा—१९९९ | जुलाई १
-
-
परिवार मिलेर नियमित तवरमा परमेश्वरको वचन अध्ययन गर्नुहोस्
“मानिस भोजनले मात्र होइन, तर परमेश्वरका मुखबाट निस्केको हरेक वचनले बाँच्तछ।”—मत्ती ४:४.
१. आफ्ना छोराछोरीलाई यहोवाका मार्गहरू सिकाउनुपर्ने परिवारका शिरहरूको जिम्मेवारीबारे बाइबल के भन्छ?
यहोवा परमेश्वरले परिवारका शिरहरूलाई आफ्ना छोराछोरीलाई शिक्षा दिनुपर्ने जिम्मेवारी बारम्बार सम्झाउँदै आउनुभएको छ। त्यस्तो निर्देशनले छोराछोरीलाई अहिलेको जीवनसित सामना गर्न सुसज्जित बनाउनुका साथै भानी जीवनको लागि पनि तयार पार्नसक्छ। परमेश्वरको प्रतिनिधित्व गर्ने एउटा स्वर्गदूतले अब्रहामलाई आफ्नो परिवारलाई शिक्षा दिनुपर्ने जिम्मेवारी बताए। त्यसरी शिक्षा दिंदा तिनको परिवारले “परमप्रभुको मार्ग पालन” गर्नेथिए। (उत्पत्ति १८:१९) परमेश्वरले इस्राएललाई मिश्रबाट छुटकारा दिनुभएको अनि होरेबको सिनै पर्वतमा व्यवस्था दिनुभएको कुरा आफ्ना छोराछोरीलाई बताउनु भनी इस्राएली आमाबाबुहरूलाई आज्ञा दिइएको थियो। (प्रस्थान १३:८, ९; व्यवस्था ४:९, १०; ११:१८-२१) मसीही परिवारका शिरहरूलाई छोराछोरीलाई “प्रभुको शिक्षा र चेताउनीमा पालन-पोषण” गर्ने सल्लाह दिइएको छ। (एफिसी ६:४) आमा वा बुबाले मात्र यहोवाको सेवा गर्छन् भने पनि उसले छोराछोरीलाई यहोवाका मार्गहरू सिकाउने प्रयत्न गर्नुपर्छ।—२ तिमोथी १:५; ३:१४, १५.
२. घरमा छोराछोरी छैनन् भने पारिवारिक अध्ययन गर्नु आवश्यक छ? व्याख्या गर्नुहोस्।
२ यसको मतलब, छोराछोरी भएको परिवारमा मात्र पारिवारिक रूपमा परमेश्वरको वचन अध्ययन गर्नुपर्छ भन्ने होइन। छोराछोरी नभए तापनि पतिपत्नीले पारिवारिक अध्ययन गर्छन् भने त्यसले आध्यात्मिक कुराहरूप्रतिको मूल्यांकन देखाउँछ।—एफिसी ५:२५, २६.
३. किन नियमित रूपमा पारिवारिक अध्ययन गर्नु आवश्यक छ?
३ असल परिणाम प्राप्त गर्नु छ भने, यहोवाले इस्राएलीहरूलाई उजाडस्थानमा दिनुभएको शिक्षाअनुरूप लगातार निर्देशन दिइरहनु आवश्यक छ: “मानिस भोजनले मात्र होइन, तर परमप्रभुको मुखबाट निस्केको प्रत्येक वचनले जिउँछ।” (व्यवस्था ८:३) परिवारका परिस्थितिहरूअनुसार कुनै परिवारले साप्ताहिक अध्ययन गर्ने प्रबन्ध मिलाउनसक्छन् भने कुनै परिवारले चाहिं दिनहुँ छोटो छोटो अध्ययन गर्नसक्छन्। जस्तोसुकै प्रबन्ध मिलाउनु भए तापनि संयोग मिल्दा मात्र अध्ययन गर्ने चाहिं नगर्नुहोस्। ‘समय निकाल्नुहोस्।’ समय निकाल्न आवश्यक त्याग गर्नु भनेको उत्तम लगानी गर्नु हो। तपाईंको परिवारका सदस्यहरूको जीवन खतरामा छ।—एफिसी ५:१५-१७, NW; फिलिप्पी ३:१६.
मनमा राख्नुपर्ने उद्देश्यहरू
४, ५. (क) छोराछोरीलाई सिकाउँदा कुन महत्त्वपूर्ण उद्देश्य राख्नुपर्छ भनी यहोवाले मोशा मार्फत आमाबाबुलाई बताउनुभयो? (ख) अहिले त्यसो गर्नुमा के विथोलित छ?
४ पारिवारिक अध्ययन गर्नुहुँदा मनमा स्पष्ट उद्देश्यहरू राख्नुभयो भने धेरैभन्दा धेरै फाइदा हुनेछ। केही उद्देश्यहरू विचार गर्नुहोस्।
५ प्रत्येक अध्ययनमा यहोवा परमेश्वरप्रति प्रेम बढाउने कोसिस गर्नुहोस्। इस्राएलीहरू प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्नुअघि मोआबी बेंसीमा भेला भएको बेला मोशाले तिनीहरूलाई त्यो कुराप्रति ध्यान केन्द्रित गराए जसलाई पछि येशूले “व्यवस्थामा प्रमुख आज्ञा” भन्नुहुने थियो। त्यो के थियो? “तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सम्पूर्ण मनले, आफ्नो सम्पूर्ण प्राणले र आफ्नो सम्पूर्ण शक्तिले प्रेम गर।” (मत्ती २२:३६, ३७; व्यवस्था ६:५) मोशाले इस्राएलीहरूलाई उक्त कुरा आफ्नो मनमा राख्न अनि आफ्ना छोराछोरीलाई सिकाउने आग्रह गरे। त्यसो गर्नका लागि तिनीहरूले आफ्ना छोराछोरीको ध्यान यहोवालाई प्रेम गर्नुपर्ने कारणप्रति आकर्षित गर्नु, उहाँप्रति प्रेम प्रदर्शित गर्न वाधा पुऱ्याउने मनोवृत्ति र आचरणहरूबारे बताउनुका साथै आफ्नो जीवनमा यहोवाप्रतिको प्रेम प्रदर्शित गरेर उक्त कुरा बारम्बार बताउनुपर्थ्यो। के हाम्रा छोराछोरीलाई पनि यस्तै निर्देशन चाहिंदैन र? चाहिन्छ! अनि तिनीहरूलाई ‘आफ्नो मन परिवर्तन गर्ने’ अर्थात् परमेश्वरप्रतिको प्रेममा वाधा पुऱ्याउने हरेक कुरा त्याग्ने मदत पनि चाहिएको छ। (व्यवस्था १०:१२, १६; यर्मिया ४:४) त्यस्ता वाधाहरू संसारका कुरा अनि यसका क्रियाकलापहरूप्रतिको मोह हुनसक्छ। (१ यूहन्ना २:१५, १६) यहोवाप्रतिको प्रेम सक्रिय र वर्णनात्मक हुनुपर्छ र त्यसले हाम्रो स्वर्गमा हुनुहुने पितालाई मनपर्ने काम गर्न हामीलाई उत्प्रेरित गरेको हुनुपर्छ। (१ यूहन्ना ५:३) पारिवारिक अध्ययनबाट चिरकालीन फाइदा उठाउन प्रत्येक अध्ययन यहोवाप्रतिको प्रेम बलियो बनाउने तरिकामा सञ्चालन गर्नुपर्छ।
६. (क) सही ज्ञान दिन के आवश्यक पर्छ? (ख) धर्मशास्त्रले सही ज्ञानको महत्त्वमाथि कसरी जोड दिन्छ?
६ परमेश्वरले चाहनुहुने कुराहरूबारे सही ज्ञान दिनुहोस्। यसमा के विथोलित छ? यसो गर्न पत्रिका अथवा पुस्तकबाट सरर्र जवाफ पढिदिएर मात्र पुग्दैन। महत्त्वपूर्ण शब्द र मुख्य कुराहरू स्पष्टसँग बुझ्न छलफल गर्नु पनि प्रायः आवश्यक हुन्छ। नयाँ व्यक्तित्व धारण गर्न, जीवनमा आइपर्ने समस्याहरूसित सामना गर्नुपर्दा महत्त्वपूर्ण कुराहरूमाथि ध्यान केन्द्रित गर्न अनि परमेश्वरलाई खुसी तुल्याउने कामकुरा गर्न सही ज्ञान एकदमै आवश्यक छ।—फिलिप्पी १:९-११; कलस्सी १:९, १०; ३:१०.
७. (क) कस्ता प्रश्नहरू गर्नाले सिकेका कुराहरू व्यवहारिक ढंगमा प्रयोग गर्न परिवारलाई मदत गर्नसक्छ? (ख) धर्मशास्त्रले यस्तो उद्देश्यको महत्त्वलाई कसरी जोड दिन्छ?
७ सिकेका कुरा व्यवहारिक ढंगमा लागू गर्ने मदत दिनुहोस्। यो उद्देश्य मनमा राख्दै प्रत्येक पारिवारिक अध्ययनमा यस्ता प्रश्नहरू सोध्नुहोस्: ‘यसले हाम्रो जीवनलाई कसरी असर गर्नुपर्ने हो? हामीले अहिले गरिरहेका कामकुराहरूमा कुनै परिवर्तन गर्नु आवश्यक छ कि? हामी किन छाँटकाँट गर्न तयार हुनुपर्ने हो?’ (हितोपदेश २:१०-१५; ९:१०; यशैया ४८:१७, १८) सिकेका कुराहरू व्यवहारिक ढंगमा लागू गर्नेतर्फ पर्याप्त ध्यान दिनु परिवारका सदस्यहरूको आध्यात्मिक उन्नति गर्ने एउटा महत्त्वपूर्ण कारक तत्त्व हुनसक्छ।
बुद्धिमानीसाथ शिक्षण साधनहरू प्रयोग गर्नुहोस्
८. दास वर्गले बाइबल अध्ययनका लागि कस्ता साधनहरू उपलब्ध गराएका छन्?
८ “विश्वासी र बुद्धिमान दास[ले]” अध्ययनका लागि प्रयोग गर्न सकिने प्रशस्त साधनहरू उपलब्ध गराइदिएका छन्। बाइबलसँग अध्ययन गर्नका लागि १३१ भाषाहरूमा प्रहरीधरहरा पत्रिका उपलब्ध छन्। बाइबल अध्ययनका लागि १५३ भाषामा पुस्तक, २८४ भाषामा पुस्तिका, ६१ भाषामा श्रव्य क्यासेट, ४१ भाषामा भिडियो क्यासेट अनि बाइबलका कुराहरू अनुसन्धान गर्नका लागि नौ भाषाहरूमा कम्प्युटर प्रोग्राम उपलबध छन्!—मत्ती २४:४५-४७.
९. पारिवारिक रूपमा प्रहरीधरहरा अध्ययन गर्दा यस अनुच्छेदमा उद्धरण गरिएका पदका सल्लाह कसरी प्रयोग गर्नसक्छौं?
९ थुप्रै परिवारहरू पारिवारिक अध्ययनका दौडान मण्डलीको प्रहरीधरहरा अध्ययनको निम्ति तयारी गर्छन्। यस्तो तयारी अति मदतकारी हुनसक्छ! यहोवाका संसारभरिका जनहरूलाई बलियो बनाउन प्रहरीधरहरा-ले मुख्य आध्यात्मिक आहार प्रदान गर्छ। पारिवारिक रूपमा प्रहरीधरहरा अध्ययन गर्नुहुँदा अनुच्छेद र मुद्रित जवाफहरू सरर्र पढ्ने मात्र नगर्नुहोस्। त्यहाँ दिइएका कुराहरू बुझ्ने प्रयत्न गर्नुहोस्। उल्लिखित तर उद्धरण नगरिएका पदहरू पढ्नुहोस्। छलफल गर्दै गरेको अनुच्छेदसँग ती पदहरू कसरी सम्बन्धित छ भनी परिवारका सदस्यहरूलाई टिप्पणी गर्न लगाउनुहोस्। अध्ययनमा सबैको मन लगाउनुहोस्।—हितोपदेश ४:७, २३; प्रेरित १७:११.
१०. छोराछोरीलाई अध्ययनमा समावेश गराउन र तिनीहरूका लागि अध्ययन रमाइलो बनाउन के गर्न सकिन्छ?
१० तपाईंको घरमा छोराछोरी छन् भने, अध्ययनलाई पारिवारिक नित्यक्रम मात्र नबनाई उत्थानदायी, चाखलाग्दो अनि रमाइलो बनाउन के गर्न सक्नुहुन्छ? सबैलाई उपयुक्त ढंगमा अध्ययनमा समावेश गराउने कोसिस गर्नुहोस् ताकि सबैको ध्यान अध्ययन गरिएको विषयवस्तुमाथि केन्द्रित होस्। हुनसक्छ भने, प्रत्येक छोराछोरीलाई आ-आफ्नै बाइबल र अध्ययन गर्ने पत्रिका दिनुहोस्। येशूले देखाउनुभएको न्यानो प्रेमको अनुकरण गर्दै आमाबाबुले साना छोराछोरीलाई आफूसँगै राख्न वा अझ हुनसक्छ भने अंगालो मार्नसक्छन्। (मर्कूस १०:१३-१६ तुलना गर्नुहोस्।) परिवारको शिरले साना छोराछोरीलाई अध्ययन लेखका चित्रहरूबारे बताउन लगाउनसक्छन्। साना छोरा वा छोरीलाई कुनै कुनै पद पढ्न पहिल्यै अह्राउन सकिन्छ। अध्ययन गरिएको कुरा कस्ता अवसरहरूमा लागू गर्न सकिन्छ भनी हुर्किसकेका छोरा वा छोरीलाई बताउन लगाउन सकिन्छ।
११. अरू कस्ता शैक्षिक साधनहरू उपलब्ध छन् अनि ती कहाँ पाउन सकिन्छ र त्यसलाई पारिवारिक अध्ययनका दौडान सदुपयोग गरेर कसरी लाभ उठाउन सकिन्छ?
११ तपाईंले अध्ययनका लागि प्रहरीधरहरा प्रयोग गरिरहनुभएको भए तापनि थुप्रै भाषाहरूमा उपलब्ध अन्य अध्ययन साधनहरूलाई बेवास्ता नगर्नुहोस्। बाइबल अभिव्यक्तिहरूबारे थप जानकारी अथवा स्पष्टीकरण चाहियो भने धर्मशास्त्रमाथि अन्तरदृष्टि-मा पाउन सकिन्छ। अन्य प्रश्नहरूको जवाफ सोसाइटीले उपलब्ध गरेको प्रहरीधरहरा प्रकाशन अनुक्रमणिका-बाट (अंग्रेजी) वा कम्प्युटर रिसर्च प्रोग्रामबाट पाउन सकिन्छ। यी साधनहरू तपाईंको भाषामा उपलब्ध छन् भने त्यसको सदुपयोग गर्न सिक्नु तपाईंको पारिवारिक अध्ययनको एउटा महत्त्वपूर्ण भाग हुनसक्छ। साना छोराछोरीको चासो जगाउने उद्देश्यले सोसाइटीका निर्देशनमूलक भिडियोका केही अंश हेर्न अथवा नाटकको श्रव्य क्यासेटको कुनै भाग सुनेर त्यसबारे छलफल गर्नका लागि अध्ययनको केही समय छुट्याउन पनि सक्नुहुन्छ। यी साधनहरू राम्ररी सदुपयोग गर्नाले तपाईंको पारिवारिक अध्ययन सबैका लागि चाखलाग्दो अनि लाभदायक हुनसक्छ।
परिवारको आवश्यकताअनुसार अध्ययन गर्नुहोस्
१२. परिवारका गम्भीर आवश्यकताहरू पूरा गर्न पारिवारिक अध्ययनले कसरी भूमिका निर्वाह गर्छ?
१२ हुनसक्छ, तपाईंको परिवारमा साधारणतया साप्ताहिक प्रहरीधरहरा लेखको अध्ययन हुँदो हो। तर परिवारले सामना गरिरहेका समस्या र परिवारका विचारहरूलाई पनि ध्यान दिनुहोस्। छोराछोरी स्कूलबाट आएपछि जागिर नखाने आमाले उनीहरूसँग प्रत्येक दिन केही समय बिताउन सक्छिन्। कुनै कुनै समस्याहरू तत्कालै समाधान गर्न सकिन्छ भने कुनै कुनैलाई चाहिं थप ध्यान दिनुपर्ने हुनसक्छ। परिवारमा गम्भीर आवश्यकताहरू उत्पन्न हुँदा बेवास्ता नगर्नुहोस्। (हितोपदेश २७:१२) यस्ता आवश्यकताहरू स्कूलमा सामना गर्नुपर्ने समस्याहरू मात्र नभई अरू पनि हुनसक्छन्। यस्तो बेला उपयुक्त विषयवस्तु छान्नुहोस् अनि अध्ययन गरिने विषयबारे परिवारलाई पहिल्यै जानकारी दिनुहोस्।
१३. गरिबीको सामना कसरी गर्ने भनेर परिवारमा छलफल गर्नु किन फाइदाजनक हुन्छ?
१३ उदाहरणका लागि, संसारका अधिकांश मुलुकहरू गरिबीको चपेटामा परेका छन्। तसर्थ, कसरी गरिबीको सामना गर्ने भनेर छलफल गर्नु आवश्यक हुनसक्छ। के वास्तविक घटनाहरू अनि बाइबल सिद्धान्तहरूमा केन्द्रित गरिएको अध्ययन तपाईंको परिवारको लागि फाइदाजनक होला?—हितोपदेश २१:५; उपदेशक ९:११; हिब्रू १३:५, ६, १८.
१४. यहोवाले हिंसा, युद्ध र मसीही तटस्थताप्रति राख्नुहुने दृष्टिकोणबारे कस्ता परिस्थितिहरूले गर्दा परिवारमा छलफल गर्नु समयानुकुल हुनसक्छ?
१४ छलफल गर्नुपर्ने अर्को विषय हो, हिंसा। हामी प्रत्येकको मन अनि हृदयमा यहोवाको दृष्टिकोणले गहिरो छाप पारेको हुनुपर्छ। (उत्पत्ति ६:१३; भजन ११:५) हिंसाबारे पारिवारिक अध्ययन गर्नाले स्कूलमा हूल्याहाहरूको कसरी सामना गर्ने, मार्शल आर्ट सिक्ने कि नसिक्ने अनि कसरी उपयुक्त मनोरञ्जन छान्ने भनेर खुल्लमखुल्ला छलफल गर्ने मौका मिल्छ। हिंस्रक युद्धहरू साधारण भइसकेको छ। प्रायजसो सबै देश गृह युद्ध, राजनैतिक वा जातिय दंगा अथवा समूहहरूबीचको युद्धले ग्रसित छ। परिणामस्वरूप, युद्धरत दलहरूको बीचमा रहेर कसरी मसीही आचरण कायम राख्ने भनी तपाईंको परिवारमा छलफल गर्नु आवश्यक हुनसक्छ।—यशैया २:२-४; यूहन्ना १७:१६.
१५. छोराछोरीलाई यौन र विवाहबारे कसरी निर्देशन दिनुपर्छ?
१५ छोराछोरी हुर्कंदै गएपछि तिनीहरूलाई उमेरअनुसार यौन र विवाहबारे शिक्षा दिनु आवश्यक छ। कुनै कुनै ठाउँमा धेरैजसो आमाबाबुहरू आफ्ना छोराछोरीसँग यौनबारे कहिल्यै छलफल गर्दैनन्। केही नसिकाइएका केटाकेटीले अन्य जवानहरूबाट विकृत दृष्टिकोणहरू सिक्नसक्छन् जसका नतिजाहरू खतरनाक हुनसक्छन्। के यस सन्दर्भमा बाइबलमा सुस्पष्ट तर कोमलसाथ सल्लाह दिनुहुने यहोवाको अनुकरण गर्नु बेस नहोला र? ईश्वरीय सल्लाहले हाम्रा छोराछोरीलाई आत्म-सम्मान कायम राख्न अनि विपरीत लिंगका व्यक्तिहरूसँग सम्मानसाथ व्यवहार गर्न मदत दिन्छ। (हितोपदेश ५:१८-२०; कलस्सी ३:५; १ थिस्सलोनिकी ४:३-८) तपाईंले यी विषयहरूमा पहिल्यै छलफल गरिसक्नुभएको छ भने पनि फेरि दोहऱ्याउन नहिचकिचाउनुहोस्। जसै नयाँ परिस्थिति खडा हुन्छ, त्यसबारे फेरि छलफल गर्नु नितान्त आवश्यक छ।
१६. (क) थुप्रै परिवारहरूमा कुन समयमा पारिवारिक अध्ययन गरिन्छ? (ख) नियमित तवरमा पारिवारिक अध्ययन गर्न तपाईंले कसरी वाधा अड्चनहरू सामना गर्नुभएको छ?
१६ कुन समयमा पारिवारिक अध्ययन गर्न सकिन्छ? संसारभरिका बेथेल परिवारहरूको अनुकरण गर्दै थुप्रै परिवारहरूले सोमबार साँझ पारिवारिक अध्ययन गर्ने समय मिलाएका छन्। कति परिवारले भने अर्कै समयमा अध्ययन गर्छन्। अर्जेन्टिनामा नौ जना छोराछोरी गरी ११ जना सदस्य भएको एक परिवार छ। पारिवारिक अध्ययन गर्न तिनीहरू सबै प्रत्येक दिन बिहान पाँच बजे उठ्थे। विभिन्न समयमा काम गर्नुपर्ने हुनाले अरू बेला समय मिल्दैनथ्यो। त्यसो गर्नु सजिलो थिएन तर यसले गर्दा छोराछोरीको मन र हृदयमा पारिवारिक अध्ययनको महत्त्वको छाप बस्यो। फिलिपिन्समा एक जना प्राचीन आफ्नी पत्नी अनि हुर्कंदै गरेका तीन बच्चाहरूसँग नियमित तवरमा पारिवारिक अध्ययन गर्थे। बच्चाहरूले सच्चाइलाई अंगाल्नसकून् भनेर आमाबाबु हप्ताभरि प्रत्येक छोराछोरीसँग पालैसित व्यक्तिगत अध्ययन पनि गर्थे। संयुक्त राज्यकी बहिनीलाई नै लिनुहोस् जसको पति साक्षी होइनन्। तिनी हरेक बिहान बच्चालाई स्कूल जाने बससम्म पुऱ्याउन जाने गर्छिन्। बस कुर्दा उनीहरू करिब दस मिनेटजति धर्मशास्त्रमा आधारित उपयुक्त अध्ययन साहित्य पढ्नुका साथै छलफल गर्छन्। त्यसपछि बच्चा बसमा चढ्नुअघि आमाले छोटो प्रार्थना गर्छिन्। प्रजातान्त्रिक गणतन्त्र कंगोकी एउटी बहिनीका अर्कै धर्म मान्ने पतिले घरपरिवार त्यागेका थिए। शैक्षिक योग्यता कम भएकोले अध्ययन गर्न तिनले निकै परिश्रम गर्नुपऱ्यो। तिनको जवान छोराले आमा र भाइहरूलाई अध्ययन गराउन हरेक हप्ता घरमा आएर मदत गर्छन्। तिनको आमाले तयारी गर्न कडा परिश्रम गरेर असल नमुना बसालेकी छिन्। के तपाईंको परिवारमा कुनै कारणवश नियमित पारिवारिक अध्ययन गर्न गाह्रो भइरहेको छ? हरेस नखानुहोस्। नियमित बाइबल अध्ययन गर्ने तपाईंको प्रयासलाई यहोवाले सफल बनाऊन् भनेर निरन्तर बिन्ती गर्नुहोस्।—मर्कूस ११:२३, २४.
लगनशील प्रयासका इनामहरू
१७. (क) नियमित रूपमा पारिवारिक अध्ययन गर्न के आवश्यक छ? (ख) यहोवाका मार्गहरूबारे परिवारलाई नियमित रूपमा निर्देशन दिनुपर्ने महत्त्वलाई कुन अनुभवले प्रकाश पार्छ?
१७ योजना बनाउनु आवश्यक छ। लगनशील भई प्रयास गर्नुपर्छ। तर नियमित पारिवारिक अध्ययनबाट पाइने फाइदाहरू योजना बनाउन अनि लगनशील भई प्रयास गर्न योग्यका छन्। (हितोपदेश २२:६; ३ यूहन्ना ४) जर्मनीका फ्रान्ज र हिल्दाले ११ जना छोराछोरीलाई हुर्काए। वर्षौंपछि छोरी मग्दलिनीले यसो भनिन्: “हामीले आध्यात्मिक निर्देशन नपाएको कुनै दिनै थिएन, मलाई अहिले त्यही कुरा एकदमै महत्त्वपूर्ण लाग्छ।” अडोल्फ हिटलरको समयमा राष्ट्रवादी भावना उर्लिंदा त्यतिखेर मग्दलिनीको बुबाले आइपर्ला जस्तो लागेका परिक्षाहरूको सामना गर्न बाइबल प्रयोग गरेर आफ्नो परिवारलाई तयार गरे। केही समयपछि परिवारका केटाकेटीलाई पक्रेर सुधार स्कूलमा लगियो। परिवारका अन्य सदस्यहरूलाई चाहिं पक्रेर झ्यालखाना अनि यातना शिविरमा हालियो। कसै कसैलाई मृत्युदण्ड दिइयो। आफ्नो विश्वासले गर्दा तिनीहरू घोर सतावटको समयमा मात्र होइन त्यस पछिका वर्षहरूमा पनि दृढ रहे।
१८. एक्लो आमाबाबुले कसरी आफ्नो प्रयत्नको इनाम पाएका छन्?
१८ त्यसै गरी थुप्रै एक्ली आमा वा एक्लो बाबुका साथै पति वा पत्नी विश्वासमा नहुनेहरूले पनि आफ्ना छोराछोरीलाई नियमित रूपमा बाइबलबाट निर्देशन दिएका छन्। भारतकी एउटी विधवा आमाले तिनकी दुई छोराछोरीको मनमा यहोवाप्रतिको प्रेम ठप्प बसाल्न कडा मेहनत गरिन्। तथापि, छोराले यहोवाका जनहरूसित संगत गर्न छोड्दा तिनको हृदय छियाछिया भयो। छोरालाई प्रशिक्षण दिंदा कुनै कमी भएको भए क्षमा गरिदिनुहोस् भनेर तिनले यहोवासित बिन्ती गरिन्। तर छोराले वास्तवमा आफूले सिकेको कुरा चटक्क बिर्सेका थिएनन्। एक दशकभन्दा बढी समयपछि तिनी सच्चाइमा फर्के, राम्रो आध्यात्मिक उन्नति गरे अनि मण्डलीको प्राचीन भए। अहिले तिनी र तिनकी पत्नीले पूर्ण-समय अग्रगामीको रूपमा सेवा गरिरहेका छन्। परिवारलाई नियमित तवरमा बाइबलीय निर्देशन दिनुपर्छ भन्ने यहोवा अनि उहाँको संगठनको सल्लाहलाई हृदयंगम गर्ने आमाबाबुहरू कत्ति कृतज्ञ छन्! के तपाईंले यो सल्लाह आफ्नो परिवारमा लागू गर्नुहुँदैछ?
के तपाईं बुझाउन सक्नुहुन्छ?
◻ नियमित पारिवारिक अध्ययन किन महत्त्वपूर्ण छ?
◻ हरेक चोटि पारिवारिक अध्ययन गर्दा हाम्रा उद्देश्यहरू के हुनुपर्छ?
◻ शिक्षा दिनका लागि कस्ता साधनहरू हामीलाई उपलब्ध गराइएका छन्?
◻ कसरी परिवारको आवश्यकताअनुसार अध्ययन गर्न सकिन्छ?
[पृष्ठ १५-मा भएको चित्र]
स्पष्ट उद्देश्यहरू राख्नाले तपाईंको पारिवारिक अध्ययन अझ खारिनेछ
-
-
परिवारहरू हो, परमेश्वरको मण्डलीको भागको हैसियतमा उहाँको प्रशंसा गर्नुहोस्प्रहरीधरहरा—१९९९ | जुलाई १
-
-
परिवारहरू हो, परमेश्वरको मण्डलीको भागको हैसियतमा उहाँको प्रशंसा गर्नुहोस्
“समुदायहरूमा म परमप्रभुको प्रशंसा गर्नेछु।”—भजन २६:१२.
१. घरमा अध्ययन र प्रार्थना गर्नुबाहेक उपासनाको एउटा अर्को महत्त्वपूर्ण भाग के हो?
यहोवाको उपासना घरमा प्रार्थना र बाइबल अध्ययन गर्नुमा मात्र सीमित छैन। त्यसमा परमेश्वरको मण्डलीको भागको हैसियतमा गर्नुपर्ने क्रियाकलाप पनि समावेश छ। परमेश्वरको व्यवस्था सिकेर उहाँको मार्गमा हिंड्न ‘[पुरुष], स्त्री, बालकलाई’ भेला गर्न प्राचीन इस्राएललाई आज्ञा दिइएको थियो। (व्यवस्था ३१:१२; यहोशू ८:३५) वृद्ध, ‘जवान ठिटा र कुमारी’ सबैलाई यहोवाको नाउँको प्रशंसा गर्ने काममा भाग लिन प्रोत्साहित गरिन्थ्यो। (भजन १४८:१२, १३) मसीही मण्डलीमा पनि यस्तै प्रबन्ध छ। विश्वभरिका राज्यभवनहरूमा पुरुष, स्त्री तथा केटाकेटीहरू श्रोताले भाग लिन पाउने कार्यक्रममा नहिचकिचाइ भाग लिन्छन्। त्यसरी भाग लिएर थुप्रैले प्रशस्त आनन्द उठाउँछन्।—हिब्रू १०:२३-२५.
२. (क) केटाकेटीहरूलाई सभाहरूबाट आनन्द उठाउन मदत दिने मुख्य कुरा तयारी किन हो? (ख) कसको उदाहरण महत्त्वपूर्ण छ?
२ निस्सन्देह, केटाकेटीहरूलाई मण्डलीको स्वास्थ्यकर क्रियाकलापको तालिकामा भाग लिन लगाउनु एउटा चुनौती नै हुनसक्छ। आमाबाबुसँग सभामा जाने केटाकेटीले सभाबाट आनन्द उठाउन सकेन भने त्यसको के कारण हुनसक्छ? प्रायः केटाकेटीहरू केही समयसम्म मात्र ध्यान दिनसक्छन् अनि तिनीहरूलाई चाँडै पट्यार लाग्छ। सभाहरूका लागि तयारी गर्नाले यो समस्या हटाउन मदत गर्न सकिन्छ। केटाकेटीहरूले तयारी नगरी सभाहरूमा अर्थपूर्ण तरिकामा भाग लिन सक्दैनन्। (हितोपदेश १५:२३) तिनीहरूले तयारी नगरिकन आध्यात्मिक उन्नति गर्न र सन्तुष्टि पाउन सक्दैनन्। (१ तिमोथी ४:१२, १५) त्यसो भए, के गर्न सकिन्छ त? प्रथमतः आमाबाबुहरू आफैले सभाहरूका लागि तयारी गरिरहेका छन् कि छैनन् भनी आफैलाई सोध्नुपर्छ। तिनीहरूको उदाहरणले गहिरो प्रभाव पार्छ। (लूका ६:४०) सावधानीसाथ पारिवारिक अध्ययनको योजना बनाउनु अर्को महत्त्वपूर्ण कदम हुनसक्छ।
हृदय सुधार्ने
३. पारिवारिक अध्ययनको दौडान किन हृदयलाई सुधार्ने विशेष प्रयत्न गर्नुपर्छ र त्यसो गर्नका लागि के आवश्यक छ?
३ पारिवारिक अध्ययन ज्ञान हासिल गर्ने समय मात्र नभई हृदय सुधार्ने समय पनि हुनुपर्छ। यसका लागि परिवारका सदस्यहरूले सामना गरिरहेका समस्याहरूप्रति सजग हुनुका साथै मायालु चासो हुनु आवश्यक छ। यहोवाले “हृदयको जाँच गर्नुहुन्छ।”—१ इतिहास २९:१७.
४. (क) “मूर्ख” हुनुको अर्थ के हो? (ख) “बुद्धि प्राप्त” गर्नुमा के विथोलित छ?
४ हाम्रा छोराछोरीको हृदय जाँच गर्नुहुँदा यहोवा के पाउनुहुन्छ? प्रायजसो छोराछोरीले हामी परमेश्वरलाई प्रेम गर्छौं भन्छन्। यो प्रशंसनीय कुरा हो। तैपनि, कलिला उमेरका केटाकेटी अथवा भर्खरै यहोवाबारे सिक्दै गर्ने व्यक्तिसित उहाँका मार्गहरूबारे त्यति धेरै अनुभव हुँदैन। ती अनुभवहीन भएकाले “मूर्ख” हुनसक्छन् भनी बाइबल बताउँछ। तिनका सबै मनोवृत्तिहरू खराब नहोलान् तर तिनले परमेश्वरलाई खुसी पार्ने किसिमको हृदय खेती गर्न समय लाग्छ। यसको लागि तिनले असिद्ध मानिसहरूले गर्नसक्ने हदसम्म आफ्नो सोचविचार, इच्छा, झुकाउ, भावना अनि लक्ष्यहरू परमेश्वरको इच्छाअनुरूप ढाल्नुपर्छ। यसरी भित्री मानिसलाई परमेश्वरको मार्गअनुसार ढाल्दा व्यक्तिविशेषले “बुद्धि प्राप्त” गर्छ।—हितोपदेश ९:४; १९:८.
५, ६. आमाबाबुहरूले आफ्ना छोराछोरीलाई “बुद्धि प्राप्त” गर्न कसरी मदत गर्नसक्छन्?
५ के आमाबाबुहरूले आफ्ना छोराछोरीलाई “बुद्धि प्राप्त” गर्न मदत दिन सक्छन्? हो, कसैले अरूको हृदयलाई असल बनाउन सक्दैन। हामी सबैलाई स्वेच्छा दिइएको छ अनि धेरैजसो कुराहरू हाम्रो सोचाइमा भर पर्छ। तथापि, समझशक्ति चलाएर आमाबाबुहरूले आफ्ना छोराछोरीको हृदयको कुरा निकालेर तिनीहरूलाई कुन क्षेत्रमा मदत चाहिएको रहेछ भन्ने पत्ता लगाउनसक्छन्। यस्ता प्रश्नहरू सोध्नुहोस्, ‘तिमीहरूलाई यसबारे कस्तो लाग्छ?’ अनि ‘तिमीहरू वास्तवमा के गर्न चाहन्छौ?’ त्यसपछि, उनीहरूको कुरा ध्यानसँग सुन्नुहोस्। नजंगिनुहोस्। (हितोपदेश २०:५) तपाईं उनीहरूको हृदय छुन चाहनुहुन्छ भने दया, समझशक्ति र प्रेमले भरिएको वातावरण हुनु आवश्यक छ।
६ हितकर झुकाउहरू विकास गर्न बारम्बार आत्माका फलहरू तथा त्यसका हरेक पक्षबारे छलफल गर्नुहोस्। अनि परिवारको सबै मिलेर ती फलहरू फलाउने परिश्रम गर्नुहोस्। (गलाती ५:२२, २३) यहोवा र येशू ख्रीष्टलाई प्रेम गर्नुपर्छ भनेर मात्र होइन तर उहाँहरूलाई किन प्रेम गर्नुपर्छ अनि कसरी त्यो व्यक्त गर्न सकिन्छ, त्यो छलफल गरेर उहाँहरूप्रतिको प्रेम बढाउनुहोस्। (२ कोरिन्थी ५:१४, १५) सही काम गर्दा हुने लाभहरूबारे तर्क गरेर त्यस्तो काम गर्ने इच्छालाई बलियो बनाउँदै लानुहोस्। खराब सोचविचार, बोली र आचरणका नराम्रा असरहरूबारे छलफल गरेर त्यसलाई त्याग्ने इच्छा जगाउनुहोस्। (आमोस ५:१५; ३ यूहन्ना ११) खराब वा असल सोचविचार, बोली र आचरणले परमेश्वरसितको सम्बन्धलाई कसरी असर गर्छ भनी बताउनुहोस्।
७. छोराछोरीलाई समस्याहरूको सामना गर्न अनि यहोवासँग घनिष्ठ हुने गरी निर्णयहरू गर्नका लागि के के गर्न सकिन्छ?
७ छोरा वा छोरीले कुनै समस्याको सामना गर्दा अथवा कुनै निर्णय गर्नुपर्दा यस्ता प्रश्नहरू सोध्न सक्छौं: ‘तिम्रो विचारमा, यहोवाले यसलाई कुन दृष्टिकोणले हेर्नुहुन्छ होला?’ तिमीले यहोवाबारे के थाह पाएकोले यसो भन्नसक्यौ?’ ‘के तिमीले यसबारे उहाँलाई प्रार्थना गऱ्यौ?’ सकेसम्म कलिलै उमेरदेखि छोराछोरीलाई परमेश्वरको इच्छा बुझ्ने अनि त्यहीअनुसार चल्ने जीवनशैली विकास गर्न मदत गर्नुहोस्। यहोवासँग तिनीहरूको सम्बन्ध घनिष्ठ हुँदै गएपछि तिनीहरूले उहाँको मार्गमा पाइने हिंड्दा आनन्द पाउनेछन्। (भजन ११९:३४, ३५) परिणामस्वरूप, साँचो परमेश्वरको मण्डलीसित संगत गर्न पाएकोमा तिनीहरूको हृदय मूल्यांकनले भरिनेछ।
मण्डलीका सभाहरूका लागि तयारी
८. (क) ध्यान दिनुपर्ने सबै कुरा पारिवारिक अध्ययनमा समेट्न केले मदत दिनसक्छ? (ख) यस्तो अध्ययन कत्तिको महत्त्वपूर्ण छ?
८ पारिवारिक अध्ययन गर्दा ध्यान दिनुपर्ने थुप्रै विषयहरू छन्। तपाईं ती सबैलाई कसरी समेट्न सक्नुहुन्छ? एउटै समयमा सबै कुरा गर्नु असम्भव छ। तर एउटा सूची बनाउनुभयो भने तपाईंको लागि मदतकारी हुनसक्छ। (हितोपदेश २१:५) समय समयमा उक्त सूची जाँच्नुहोस् अनि कुन कुन विषयमा खास ध्यान दिनु आवश्यक छ, विचार गर्नुहोस्। परिवारका प्रत्येक सदस्यको उन्नतिमा गहिरो चासो राख्नुहोस्। पारिवारिक अध्ययनको प्रबन्ध मसीही शिक्षाको एउटा महत्त्पूर्ण भाग हो। यसले हामीलाई वर्तमान जीवन यापन गर्न सुसज्जित बनाउनुका साथै भावी अनन्त जीवनको लागि तयार पनि पार्छ।—१ तिमोथी ४:८.
९. पारिवारिक अध्ययनको दौडान सभाको तयारी गर्नुका कस्ता लक्ष्यहरू बिस्तारै हासिल गर्दै जानसक्छौं?
९ के तपाईं पारिवारिक अध्ययनका दौडान मण्डलीका सभाहरूका लागि पनि तयारी गर्नुहुन्छ? तपाईंहरू सबै मिलेर अध्ययन गर्नुहुँदा थुप्रै लक्ष्यहरू हासिल गर्दै जानसक्नुहुन्छ। तीमध्ये कुनै कुनै लक्ष्य हासिल गर्न हप्ता, महिना वा वर्ष दिनसमेत लाग्नसक्छ। निम्न लक्ष्यहरू ध्यानमा राख्नुहोस्: (१) परिवारका सबै जना मण्डलीका सभाहरूमा टिप्पणी गर्न तयार हुने; (२) प्रत्येकले आफ्नै शब्दमा टिप्पणी गर्न प्रयत्न गर्ने; (३) टिप्पणी गर्दा बाइबलका पदहरू समावेश गर्ने अनि (४) छलफल गरिएको विषयलाई व्यक्तिगत जीवनमा प्रयोग गर्ने दृष्टिकोणसहित विश्लेषण गर्ने। यसो गर्नाले सच्चाइलाई आफ्नै बनाउन सबैलाई मदत गर्नसक्छ।—भजन २५:४, ५.
१०. (क) हामी कसरी मण्डलीका प्रत्येक सभाहरूलाई ध्यान दिनसक्छौं? (ख) यसो गर्नु किन इनामदायी हुन्छ?
१० तपाईंहरूको पारिवारिक अध्ययन साधारणतया साप्ताहिक प्रहरीधरहरा अध्ययन लेखमा आधारित होला। यद्यपि, मण्डली पुस्तक अध्ययन, ईश्वरतान्त्रिक सेवकाई स्कूल र सेवा सभाका लागि व्यक्तिगत वा पारिवारिक रूपमा तयारी गर्नुपर्ने महत्त्वलाई बेवास्ता नगर्नुहोस्। यी सभाहरू पनि हामीलाई यहोवाको मार्गमा हिंड्न सिकाउने कार्यक्रमको महत्त्वपूर्ण भाग हुन्। तपाईंहरूले सबै सभाहरूका लागि बेला बेलामा सपरिवार मिलेर तयारी गर्न सक्नुहुन्छ होला। सबै मिलेर अध्ययन गर्दा अध्ययन कला तिखारिन्छ। फलस्वरूप, सभाहरूबाट अझ फाइदा उठाउन सकिन्छ। यसबाहेक, सभाहरूका लागि नियमित तयारी गर्दा हुने फाइदाहरू अनि तयारीका लागि निश्चित समय छुट्याउनुपर्ने आवश्यकताबारे छलफल गर्नुहोस्।—एफिसी ५:१५-१७.
११, १२. मण्डलीमा गाइने गीतहरू तयारी गर्दा कसरी फाइदा हुनसक्छ अनि कसरी तयारी गर्न सकिन्छ?
११ “परमेश्वरले चाहनुहुने जीवनशैली” अधिवेशनमा सभाहरूका एउटा अर्को भाग तयारी गर्न हामीलाई प्रोत्साहन दिइयो। त्यो हो, गीत गाउने। के तपाईंले त्यसो गर्नुभयो? यसो गर्नाले सच्चाइ हाम्रो मन तथा हृदयमा गड्नुका साथै मण्डलीका सभाहरूको आनन्द पनि बढ्नसक्छ।
१२ गीत तयारी गर्दा तालिकामा दिइएका कुनै कुनै गीतहरू पढ्नुका साथै त्यसका अर्थ छलफल गर्नाले हामीलाई हृदयदेखि गीत गाउन मदत गर्नसक्छ। प्राचीन इस्राएलमा उपासना गर्दा वाद्ययन्त्रहरू प्रयोग गरिन्थ्यो। (१ इतिहास २५:१; भजन २८:७) के तपाईंको परिवारमा कसैलाई वाद्ययन्त्र बजाउन आउँछ? बजाउन आउँछ भने, साप्ताहिक सभाको कुनै राज्य गीत त्यो वाद्ययन्त्र बजाएर परिवारका सबैले गाए कसो होला। गीतको क्यासेट प्रयोग गरेर पनि गीतको तयारी गर्न सकिन्छ। कुनै कुनै मुलुकहरूमा हाम्रा भाइबहिनीहरू धुनबिना नै मीठो गीत गाउँछन्। बाटोमा हिंड्दा वा खेतमा काम गर्न जाँदा मण्डलीका साप्ताहिक सभाहरूमा गाइने गीतहरू गुनगुनाएर तिनीहरूले आनन्द उठाउँछन्।—एफिसी ५:१९.
क्षेत्र सेवकाईका लागि पारिवारिक तयारी
१३, १४. क्षेत्र सेवकाईका लागि हाम्रो हृदय तयार गर्ने पारिवारिक छलफल किन मूल्यवान् छ?
१३ यहोवा अनि उहाँको उद्देश्यबारे अरूलाई साक्षी दिनु हाम्रो जीवनको एउटा महत्त्वपूर्ण भाग हो। (यशैया ४३:१०-१२; मत्ती २४:१४) चाहे हामी जवान होऔं वा वृद्ध, तयारी गरेका छौं भने यो कार्यबाट धेरै आनन्द उठाउनुका साथै असल नतिजा प्राप्त गर्नसक्छौं। हामी परिवारमा कसरी तयारी गर्नसक्छौं?
१४ उपासनासित सम्बन्धित सबै कुरामा झैं यसका लागि पनि हाम्रो हृदयलाई तयार गर्नु महत्त्वपूर्ण छ। हामी के गर्न लागिरहेका छौं भनेर मात्र होइन तर किन गर्न लागिरहेका छौं भनी छलफल गर्नुपर्छ। राजा यहोशापातको समयमा मानिसहरूलाई ईश्वरीय व्यवस्थाबारे शिक्षा दिइयो। तर तिनीहरूले “मन लाएनन्” भनी बाइबल बताउँछ। फलतः तिनीहरू प्रलोभनमा परे जसले तिनीहरूलाई साँचो उपासनादेखि तर्काउनसक्थ्यो। (२ इतिहास २०:३३; २१:११) हाम्रो लक्ष्य क्षेत्र सेवकाईमा बिताइएको घण्टा बुझाउनु वा साहित्य वितरण गर्नु मात्र होइन। हाम्रो सेवकाई यहोवा तथा जीवन रोज्ने मौका चाहिएको मानिसहरूप्रतिको प्रेमको अभिव्यक्ति हुनुपर्छ। (हिब्रू १३:१५) यो त्यो कार्य हो जसमा हामी “परमेश्वरका सहकर्मी हौं।” (१ कोरिन्थी ३:९) कस्तो विशेषाधिकार! सेवकाईमा भाग लिंदा हामीलाई पवित्र स्वर्गदूतहरूले सहयोग गर्छन्। (प्रकाश १४:६, ७) यो विशेषाधिकारप्रति मूल्यांकन बढाउने उत्तम समय साप्ताहिक अध्ययन गर्दा वा दिनहुँ धर्मशास्त्र जाँच्ने-बाट उपयुक्त पद छलफल गर्नुभन्दा अरू कुन पो हुनसक्ला र!
१५. पारिवारिक रूपमा क्षेत्र सेवकाईका लागि कहिले तयारी गर्न सकिन्छ?
१५ के तपाईं कहिलेकाहीं पारिवारिक अध्ययनको बेला परिवारका सदस्यहरूलाई साप्ताहिक क्षेत्र सेवकाईका लागि तयारी गर्ने मदत दिनुहुन्छ? यसो गर्नु निकै फाइदाजनक हुनसक्छ। (२ तिमोथी २:१५) यसो गर्नाले तिनीहरूले सेवकाई अर्थपूर्ण र फलदायी बनाउने मदत पाउनेछन्। कहिलेकाहीं पूरै अध्ययन सेवकाईको तयारी गर्नका लागि छुट्याउन सक्नुहुन्छ। पारिवारिक अध्ययनको अन्तमा अथवा हप्ताको कुनै समयमा क्षेत्र सेवकाईबारे तपाईंले अक्सर छोटो छलफल गर्न सक्नुहुन्छ।
१६. अनुच्छेदमा दिइएका प्रत्येक कदमहरूको महत्त्व छलफल गर्नुहोस्।
१६ पारिवारिक अध्ययनको दौडान थुप्रै कदमहरूमाथि ध्यान केन्द्रित गर्न सकिन्छ। जस्तै, (१) मौका मिलेको खण्डमा पढ्नका लागि बाइबल पदसहित राम्ररी प्रस्तुती तयार गर्ने। (२) हुनसक्छ भने, प्रत्येकसँग सेवकाईमा जाने झोला, बाइबल, कापी, कलम वा पेन्सिल, पर्चा अनि अरू साहित्यहरू छन् कि छैनन्, पक्का गर्ने। सेवकाईमा जाने झोला महंगो हुनुपर्छ भन्ने छैन तर सफा चिटिक्क परेको चाहिं हुनुपर्छ। (३) कहाँ अनि कसरी अनौपचारिक साक्षी दिने, छलफल गर्नुहोस्। परिवार मिलेर क्षेत्र सेवकाईमा भाग लिंदै यी निर्देशनहरू पालैसँग लागू गर्नुहोस्। मदतकारी सुझाउहरू दिनुहोस्। तर तीन थुप्रो विषयहरूमा सल्लाह दिनेचाहिं नगर्नुहोस्।
१७, १८. (क) पारिवारिक रूपमा कस्तो प्रकारको तयारी गर्नाले हाम्रो क्षेत्र सेवकाई अझ फलदायी हुनसक्छ? (ख) यस्तो तयारी गर्दा हरेक हप्ता कुन पक्षलाई समेट्न सकिन्छ?
१७ येशूले आफ्ना अनुयायीहरूलाई अह्राउनुभएको प्रमुख काम हो, चेला बनाउनु। (मत्ती २८:१९, २०) चेला बनाउन प्रचार गरेर मात्र पुग्दैन। शिक्षा दिनु पनि आवश्यक छ। प्रभावशाली ढंगमा शिक्षा दिन तपाईंको पारिवारिक अध्ययनले तपाईंलाई कसरी मदत गर्नसक्छ?
१८ कसलाई पुनःभेट गरे बेस होला भनेर परिवारमा छलफल गर्नुहोस्। कसैले साहित्यहरू राखेका होलान् अनि कसैले चाहिं तपाईंको कुरा मात्र सुनेका होलान्। तिनीहरूलाई घर-घरको सेवकाईमा अथवा अनौपचारिक साक्षी दिंदा बजारमा वा स्कूलमा भेट्नुभएको होला। यीमध्ये कसलाई पुनःभेट गर्ने, सो निर्णय गर्न परमेश्वरको वचनले तपाईंलाई डोऱ्याओस्। (भजन २५:९; इजकिएल ९:४) क-कसले यस हप्ता पुनःभेट गर्ने हो, निर्णय गर्नुहोस्। कुन विषयमा कुरा गर्ने? पारिवारिक छलफलले प्रत्येकलाई तयारी गर्न मदत दिनसक्छ। जिज्ञासु व्यक्तिहरूसँग कुराकानी गर्न खास खास पदहरूका साथै परमेश्वर हामीबाट के चाहनुहुन्छ? पुस्तिका अथवा ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ पुस्तकबाट उपयुक्त बुँदाहरू टिपिराख्नुहोस्। पहिलो भेटमै भएभरको कुरा बताउने कोसिस नगर्नुहोस्। अर्को भेटमा जवाफ दिनका लागि घरधनीलाई एउटा प्रश्न सोधी राख्नुहोस्। कसले कसलाई पुनःभेट गर्ने, कहिले गर्ने अनि कस्तो नतिजाको आशा राख्ने भनेर पारिवारिक साप्ताहिक योजना बनाए कसो होला? यसो गर्नाले परिवारकै क्षेत्र सेवकाई फलदायी हुन मदत मिल्नसक्छ।
तिनीहरूलाई यहोवाको मार्ग सिकाउनुहोस्
१९. यहोवाको मार्गमा हिंडिरहने हो भने परिवारका सदस्यहरूले के अनुभव गर्नुपर्छ अनि त्यसो गर्न केले मदत गर्छ?
१९ यस दुष्ट संसारमा परिवारको शिर हुनु चुनौती हो। शैतान र त्यसका दूतहरू यहोवाका सेवकहरूको आध्यात्मिकता नष्ट गर्ने प्रयास गर्छन्। (१ पत्रुस ५:८) यसबाहेक, अचेल आमाबाबुहरू र खास गरी एक्ली आमा वा एक्लो बुबाले थुप्रै दबावहरू सामना गर्नुपर्छ। आफूले चाहेको सबै काम गर्ने समय निकाल्न धौधौ पर्छ। तर हरेक चोटि एउटै मात्र भए पनि निर्देशन पालन गर्दै बिस्तारै तपाईंको पारिवारिक अध्ययनमा उन्नति गर्नुभयो भने, तपाईंको प्रयत्न खेर जाँदैन। हाम्रा प्रियजनहरू इमानदारसाथ यहोवाको मार्गमा हिंडेको देख्न पाउनु हृदयस्पर्शी इनाम हो। यहोवाको मार्गमा सफलतापूर्वक हिंड्न परिवारका सदस्यहरूले मण्डलीका सभाहरूबाट अनि क्षेत्र सेवकाईबाट आनन्द प्राप्त गर्न सक्नुपर्छ। यसको लागि तयारी गर्नु आवश्यक छ। त्यस्तो तयारी जसले हामी प्रत्येकलाई सेवकाईमा अर्थपूर्ण ढंगमा भाग लिन उत्साहित गर्नुका साथै सुसज्जित बनाउनसक्छ।
२०. तेस्रो यूहन्ना ४ मा बताइएको आनन्द अनुभव गर्न थुप्रै आमाबाबुहरूलाई कुन कुराले मदत गर्नसक्छ?
२० आफूले आध्यात्मिक तवरमा मदत गरेकाहरूबारे प्रेरित यूहन्नाले यसो लेखे: “मेरा छोरा-छोरीहरू सत्यमा चलेका सुन्नभन्दा बढ़ता आनन्द अरू मलाई हुँदैन।” (३ यूहन्ना ४) दयालु तथा मदतकारी ढंगमा परिवारका सदस्यहरूका आवश्यकताहरूलाई पूरा गर्ने परिवारका शिरहरूले स्पष्ट उद्देश्यहरू राखेर गरेका पारिवारिक अध्ययनले परिवारलाई यस्तो आनन्द उठाउन निकै हदसम्म मदत गर्नसक्छ। परमेश्वरले चाहनुहुने जीवनशैलीको मूल्यांकन खेती गर्न मदत गरेर आमाबाबुहरूले आफ्नो परिवारलाई सबैभन्दा उत्तम जीवनशैलीको आनन्द उठाउन मदत गर्छन्।—भजन १९:७ -११.
तपाईं बुझाउन सक्नुहुन्छ?
◻ सभाहरूका लागि तयारी गर्नु हाम्रा छोराछोरीका लागि किन अति महत्त्वपूर्ण छ?
◻ आमाबाबुहरूले आफ्ना छोराछोरीलाई “बुद्धि प्राप्त” गर्न कसरी मदत गर्नसक्छन्?
◻ पारिवारिक अध्ययनले सबै सभाहरूका लागि तयारी गर्न कसरी मदत गर्नसक्छ?
◻ पारिवारिक रूपमा क्षेत्र सेवकाईका लागि तयारी गर्नाले कसरी बढी प्रभावशाली बन्न मदत गर्छ?
-