प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • धैर्य गर्दा इनाम मिल्छ
    राज्य सेवकाई—२००४ | अगस्त
    • धैर्य गर्दा इनाम मिल्छ

      १ “तिमीहरूको आफ्नो धैर्यमा तिमीहरूले आफ्ना प्राण प्राप्त गर्नेछौ।” (लूका २१:१९) यी शब्दहरू “जगत्‌को अन्त[सम्बन्धी]” येशूले गर्नुभएको भविष्यवाणीका भाग हुन्‌ र यसले निष्ठा कायम राख्न थुप्रै परीक्षाहरूको सामना गर्न हामी तयार हुनै पर्छ भन्‍ने कुरा छर्लङ्‌ग पार्छ। तर यहोवाको बलमा हामी सबै जना “अन्तसम्म स्थिर” रहन र ‘उद्धार पाउन’ सक्छौं।—मत्ती २४:३, १३; फिलि. ४:१३.

      २ सतावट, स्वास्थ्य समस्या, आर्थिक कठिनाइ तथा भावनात्मक पीडाले हरेक दिनलाई एउटा परीक्षाको दिन बनाउन सक्छ। तथापि, शैतानले यहोवाप्रतिको हाम्रो निष्ठा तोड्‌ने प्रयास गरिरहेको छ भन्‍ने कुरा हामीले कहिल्यै बिर्सनु हुँदैन। हाम्रो पिताप्रति हरेक दिन वफादार रहँदा, हरेक दिन नै हामीले आलोचकलाई मुखभरिको जवाफ दिइरहेका हुनेछौं। परीक्षाको सामना गर्दा हामीले बगाउने “आँसु” त्यतिकै बिर्सिइनेछैन भन्‍ने कुरा थाह पाउनु कत्ति इनामदायी छ! हाम्रो आँसुको एक-एक थोपा यहोवाको लागि अमूल्य छ! यहोवाको नजरमा ती बहुमूल्य छन्‌ र हाम्रो निष्ठाले उहाँको हृदयलाई प्रसन्‍न तुल्याउँछ!—भज. ५६:८; हितो. २७:११.

      ३ परीक्षाहरूद्वारा खारिएको: कष्टले विश्‍वासमा कुनै कमी-कमजोरी छ भने अथवा घमन्ड वा अधीरताजस्ता व्यक्‍तित्वमा हुने त्रुटि प्रकट गर्न सक्छ। गैर-धर्मशास्त्रीय तरिकाहरू अपनाएर परीक्षाहरूबाट उम्कने अथवा त्यसलाई समाधान गर्ने कोसिस गर्नुको सट्टा ‘धीरजलाई त्यसको पूरा काम गर्न दिनको लागि’ हामीले परमेश्‍वरको वचनको सल्लाहलाई ध्यान दिनै पर्छ। किन? किनभने विश्‍वासीपूर्वक परीक्षाहरू सहँदा त्यसले हामीलाई “कुनै कुराको अभाव नभएर सिद्ध र पूर्ण” हुन मदत गर्छ। (याकू. १:२-४) धीरजले हामीलाई व्यावहारिकता, समानुभूति र कृपाजस्ता अमूल्य गुणहरू खेती गर्न मदत दिन सक्छ।—रोमी १२:१५.

      ४ विश्‍वासको प्रमाण: परीक्षाहरू सहँदा हामीले विश्‍वासको प्रमाण दिन्छौं र परमेश्‍वरको नजरमा त्यो अति नै मूल्यवान्‌ छ। (१ पत्रु. १:६, ७) यस्तो विश्‍वासले भविष्यमा आइपर्ने परीक्षाहरूको बेला दृढ रहन हामीलाई सुसज्जित बनाउँछ। यसबाहेक, हामी परमेश्‍वरको अनुमोदन महसुस गर्न सक्छौं र यसले हाम्रो आशालाई बलियो बनाउनुका साथै हाम्रो लागि यो आशा अझ वास्तविक हुन्छ।—रोमी ५:३-५.

      ५ धैर्यको सबैभन्दा उत्कृष्ट इनाम याकूब १:१२ मा प्रकाश पारिएको छ, जहाँ यसो भनिएको छ: “धन्य त्यो मानिस जो परीक्षामा स्थिर रहन्छ। किनभने त्यसको जाँच भइसकेपछि प्रभुबाट, . . . जीवनको मुकुट त्यसले पाउनेछ।” तसर्थ, आउनुहोस्‌ “उहाँलाई प्रेम गर्नेहरूलाई” यहोवाले प्रचुर मात्रामा इनाम दिनुहुनेछ भन्‍ने कुरामा विश्‍वस्त हुँदै यहोवाप्रतिको आफ्नो भक्‍तिमा हामी दृढ रहौं।

  • प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्ने
    राज्य सेवकाई—२००४ | अगस्त
    • प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्ने

      भाग २: अध्ययन सञ्चालन गर्न तयारी गर्ने

      १ बाइबल अध्ययन गर्दा प्रभावकारीसाथ सिकाउनुमा दिइएको विषयवस्तु छलफल गर्नु र उद्धृत शास्त्रपदहरू पढ्‌नु मात्र पर्याप्त छैन। हामीले विद्यार्थीको हृदय छुने किसिमले जानकारी प्रस्तुत गर्नु आवश्‍यक छ। यसको लागि विद्यार्थीलाई ध्यानमा राख्दै विस्तृत तयारी गर्नु जरुरी छ।—हितो. १५:२८.

      २ कसरी तयारी गर्ने: विद्यार्थी र तिनका आवश्‍यकताहरूबारे यहोवालाई प्रार्थना गरेर तयारी सुरु गर्नुहोस्‌। विद्यार्थीको हृदयसम्म पुग्न यहोवासँग मदत माग्नुहोस्‌। (कल. १:९, १०) मूल विषयलाई स्पष्टसित बुझ्न अध्याय अथवा पाठको शीर्षक, उपशीर्षक र कुनै पनि किसिमको दृश्‍य सहायकलाई एकछिन विचार गर्नुहोस्‌। आफैलाई सोध्नुहोस्‌, ‘विषयवस्तुको मूल उद्देश्‍य के हो?’ यसले तपाईंलाई अध्ययन सञ्चालन गर्दा मुख्य बुँदाहरूमा ध्यान केन्द्रित गर्न मदत गर्नेछ।

      ३ एक-एक अनुच्छेद गर्दै होसियारीपूर्वक विषयवस्तु पुनरावलोकन गर्नुहोस्‌। छापिएका प्रश्‍नहरूको जवाफ पत्ता लगाउनुहोस्‌ र मुख्य शब्द तथा वाक्यांशहरूमा मात्रै चिनो लगाउनुहोस्‌। उद्धृत शास्त्रपदहरू कसरी अनुच्छेदमा दिइएको मुख्य बुँदासित सम्बन्धित छन्‌ विश्‍लेषण गर्नुहोस्‌ र अध्ययनको दौडान कुन-कुन शास्त्रपद पढ्‌ने हो, सो निधो गर्नुहोस्‌। प्रकाशनको छेउमा शास्त्रपदबारे छोटो नोट लेख्नु तपाईंको लागि मदतकारी हुन सक्छ। आफूले सिकिरहेको कुरा परमेश्‍वरको वचनबाट हो भन्‍ने कुरा विद्यार्थीले स्पष्टसित बुझ्नुपर्छ।—१ थिस्स. २:१३.

      ४ पाठलाई विद्यार्थीका आवश्‍यकताहरू अनुरूप ढाल्नुहोस्‌: अर्को कुरा, कुनै खास विद्यार्थीलाई ध्यानमा राखेर पाठ विचार गर्नुहोस्‌। तिनले सोध्न सक्ने प्रश्‍नहरू र तिनलाई बुझ्न वा स्वीकार्न गाह्रो भइरहेका बुँदाहरूबारे पहिल्यै विचार गर्ने प्रयास गर्नुहोस्‌। आफैलाई सोध्नुहोस्‌: ‘आध्यात्मिक प्रगति गर्न तिनले कुन कुरा बुझ्नु वा कुन कुरामा सुधार ल्याउनु आवश्‍यक छ? म कसरी तिनको हृदयसम्म पुग्न सक्छु?’ त्यसपछि त्यसै अनुरूप आफ्नो शिक्षालाई ढाल्नुहोस्‌। कहिलेकाहीं, विद्यार्थीलाई कुनै बुँदा वा शास्त्रपदको अर्थ बुझ्न मदत गर्नको लागि तपाईंले दृष्टान्त, विवरण अथवा थुप्रै प्रश्‍नहरू तयार गर्नुपर्ने हुन सक्छ। (नहे. ८:८) तर मूल विषयलाई खासै समर्थन नगर्ने थप जानकारी भने समावेश नगर्नुहोस्‌। अध्ययनको अन्तमा छोटकरीमा पुनरावलोकन गर्दा तिनले मुख्य बुँदाहरू सम्झिन मदत पाउनेछन्‌।

      ५ यहोवाको प्रशंसाको निम्ति नयाँ व्यक्‍तिहरूले धार्मिकताको फल फलाउँदा हामी साँच्चै आनन्दित हुन्छौं! (फिलि. १:११) तिनीहरूलाई त्यस लक्ष्यसम्म पुग्न मदत गर्नको लागि अध्ययन सञ्चालन गर्न प्रत्येक चोटि राम्रोसँग तयारी गर्नुहोस्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने