-
‘काटिएका प्राणहरू’ पुरस्कृत हुन्छन्प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
-
-
१३, १४. (क) प्रेरित पावलअनुसार स्वर्गीय पुनरुत्थान कहिले सुरु हुन्छ र कस कसको पुनरुत्थान हुन्छ? (ख) प्रभुको दिनसम्म जीवित रहने अभिषिक्त जनहरूको स्वर्गीय पुनरुत्थान चाहिं कहिले हुन्छ?
१३ पाँचौं छापको खुलाइले प्रदान गर्ने अन्तरदृष्टि स्वर्गीय पुनरुत्थानसम्बन्धी अरू जम्मै शास्त्रपदहरूसित मेल खान्छ। उदाहरणका लागि, प्रेरित पावलले लेखे: “किनकि प्रभुको वचनद्वारा तिमीहरूलाई हामी यो भन्दछौं कि हामी जो जीवित छौं र प्रभुको आगमनसम्म बाँचिरहन्छौं, कुनै किसिमले पनि मरेकाहरूलाई उछिन्नेछैनौं। किनभने ठूलो शब्दले प्रधान दूतको आवाज र परमेश्वरको तुरहीको साथ प्रभु आफै स्वर्गबाट ओर्लनुहुनेछ र ख्रीष्टमा मर्नेहरूचाहिं पहिले बिउँतनेछन्। तब हामी जिउँदा र बाँचिरहेकाहरू पनि प्रभुलाई आकाशमा भेटनलाई तिनीहरूका साथसाथै बादलमा भेट्न जानेछौं, र यसरी हामी सधैं प्रभुकै साथमा रहनेछौं।”—१ थिस्सलोनिकी ४:१५-१७.
१४ यी पदहरूले कस्तो रोमाञ्चकारी कथा भन्छन्! येशूको उपस्थितिसम्म जिउँदो रहने येशूका अभिषिक्त भाइहरू अर्थात् उहाँ उपस्थित हुनुहुँदा पृथ्वीमै बाँचिरहेकाहरू कदापि पनि पहिले मरिसकेकाहरूभन्दा अघि स्वर्गमा प्रवेश गर्ने छैनन्। ख्रीष्टमा मरेका यी जनहरूको पुनरुत्थान पहिले हुन्छ अर्थात् येशू ओर्लनु भएर तिनीहरूतर्फ ध्यान दिनुहुँदै तिनीहरूलाई आत्मामा पुनःजीवित तुल्याउनु हुन्छ। तिनीहरूलाई लाउने “सेतो लुगा” दिनुहुन्छ। त्यसपछि त्यतिखेरसम्म मानवीय रूपमा जीवित रहेका जनहरूले आफ्नो पार्थिव जीवनचर्या समाप्त गर्नुपर्छ। यीमध्येका कति जनाले विरोधीहरूको हातबाट हिंसात्मक मृत्यु समेत भोग्नु पर्नेछ। तर अघिअघि मरेकाहरूले मृत्युको निद्रामा परेर पर्खन परेजस्तै यिनीहरूले चाहिं पर्खनु पर्ने छैन। किनकि मर्नासाथै यिनीहरू “आँखाको एक निमेषमा” परिवर्तित हुन्छन्। यिनीहरू येशू र उहाँका शरीरका सह-सदस्यहरूका साथ स्वर्गमा एकत्रित हुन्छन्। (१ कोरिन्थी १५:५०-५२; प्रकाश १४:१३-सित तुलना गर्नुहोस्।) यसप्रकार एपोक्यालिप्सका चार घोडसवारहरूले आफ्नो दौड सुरु गर्नासाथै अभिषिक्त मसीहीहरूको पुनरुत्थान सुरु हुन्छ।
१५. (क) पाँचौं छाप खोलेपछि कुन राम्रो खबर उपलब्ध भएको छ? (ख) सेतो घोडामाथि सवार विजेताको घोडदौड कसरी टुङ्गिन्छ?
१५ यस पाँचौं छापको खुलाइबाट मरणान्तक विश्वासी रहेर विजयी भएका ती निष्ठावान अभिषिक्त व्यक्तिहरूबारे राम्रो समाचार दिन्छ। तर शैतान र त्यसको सन्तानका लागि चाहिं यसले कुनै राम्रो खबर दिंदैन। सेतो घोडामाथि सवार विजेताको विजययात्रा निरन्तर अघि बढ्दो छ। यो ‘दुष्टको अधीनस्थ’ संसारको इन्साफ गर्ने बेलामा त्यो यात्रा आफ्नो चरमोत्कर्षमा पुग्नेछ। (१ यूहन्ना ५:१९) थुमाले छैटौं छाप खोल्नु हुँदा उक्त कुरा स्पष्ट हुन्छ।
-
-
प्रभुको दिनमा भैंचालोहरूप्रकाश—त्यसको चरमोत्कर्ष निकट!
-
-
१, २. (क) ठूलो भैंचालोबाट बाँच्नु कस्तो अनुभव हो? (ख) छैटौं छाप खुल्दा यूहन्ना के वर्णन गर्छन्?
के तपाईंले कहिल्यै कुनै जोडदार भैंचालोको अनुभव गर्नु भएको छ? यो निश्चय कुनै रमाइलो अनुभव हुँदैन। ठूलो भैंचालो आउँदा पहिले त रिंगटै लाग्ने गरी भैं हल्लिन सक्छ। गुडुंगडुंगडुंग आवाज पनि सुन्न सकिन्छ। तपाईं आफ्नो बचाउका लागि सम्भवतः कुनै टेबलमनि लुक्न खोज्नु होला। यसैबीच भैं झन्-झन् हल्लिँदै जान्छ। तर कहिले चाहिं एक्कासी जोडसित एउटै झडको आउँछ। तुरुन्तै भाँडाकुडा, फर्निचर र घरहरू घर्ल्यामघुर्लुम कानै खानेगरी खस्छन्। नोक्सान बयान गरी नसक्ने हुन्छ। कहिले त यो प्रथम ध्वंसात्मक झडकोपछि पनि अन्य थतर्कोहरू अझ पीडा र बरबादी फैलाउँदै आउँछन्।
२ यसै कुरालाई ध्यानमा राखेर अब छैटौं छाप खोल्दा यूहन्नाले गरेको वर्णनमाथि विचार गर्नुहोस्: “जब उहाँले छैटौं छाप खोल्नुभयो तब मैले हेरें, र त्यहाँ ठूलो भूकम्प भयो।” (प्रकाश ६:१२क) यो घटना निश्चय पनि त्यही समयावधिभित्र घट्ने होला जसको दौडान अरू छापहरू पनि खोलिन्छन्। तर यो भैंचालो प्रभुको दिनमा ठीक कहिले हुने हो र यो वास्तवमा कस्तो खालको भूकम्प हो?—प्रकाश १:१०.
३. (क) आफ्नो उपस्थितिसम्बन्धी भविष्यवाणी गर्नु हुँदा येशूले कुन कुन घटनाहरूबारे भविष्यवाणी गर्नुभयो? (ख) प्राकृतिक भैंचालोहरू र प्रकाश ६:१२-को ठूलो लाक्षणिक भैंचालोबीच के सम्बन्ध छ?
३ बाइबलमा वास्तविक र लाक्षणिक भूकम्पहरूको चर्चा निकै पटक गरिएको छ। आफ्नो राजकीय शक्तिसहितको उपस्थितिसम्बन्धी चिह्न दिनु हुँदा येशूले “ठाउँ-ठाउँमा भैंचालो जानेछ” भनेर अग्रिमवाणी गर्नु भयो। यी भैंचालोहरू “कष्टका शुरू”-को एउटा भाग हुने थिए। सन् १९१४-देखि, खासगरी पृथ्वीको जन सङ्ख्या बढेर लाखौं लाख पुगेको बेलामा प्राकृतिक भूकम्पहरूले हाम्रो पीडाग्रस्त समयलाई अझ पिरोलिरहेको छ। (मत्ती २४:३, ७, ८) तथापि, यिनीहरूले भविष्यवाणी पूरा गरे तापनि तिनीहरू आखिर प्राकृतिक प्रकोपहरू मात्र हुन्। यिनीहरू प्रकाश ६:१२-मा चर्चित ठूलो लाक्षणिक भैंचालोभन्दा पहिले नै हुन्छन्। तर प्रकाश ६:१२-को भूकम्प चाहिं शैतानको मानवीय पार्थिव रीतिरिवाजलाई जगैदेखि थर्काउने अनेक थतर्कोपछि आउने ध्वंसात्मक र आखिरी प्रकम्प हुनेछ।a
मानव समाजमा भूकम्पहरू
४. (क) सन् १९१४-देखि ध्वंसात्मक घटनाहरू सुरु हुनेछन् भन्ने प्रतीक्षामा यहोवाका जनहरू कहिलेदेखि थिए? (ख) सन् १९१४-मा कुन समयावधि समाप्त हुने थियो?
४ स्न् १९१४-देखि अन्यजातिहरूको समयको समापनलाई चिह्नित गराउने ध्वंसात्मक घटनाहरू घटनेछन् भनेर यहोवाका साक्षीहरूले १८७०-को दशकदेखि नै प्रतीक्षा गर्दै आएका थिए। अन्यजातिहरूको यो समय “सात काल” (२,५२० वर्ष) पनी भनिन्छ। सोही “सात काल” सा.यु.पू. ६०७-अर्थात् यरूशलेममा दाऊदको राज्य उजाड भएको समयदेखि सा.यु. १९१४-मा स्वर्गीय यरूशलेममा येशूको राज्यरोहण हुने बेलासम्मै कायम रह्यो।—दानिएल ४:२४, २५; लूका २१:२४, किङ्ग जेम्स भर्सन.b
५. (क) सी. टी. रसलले अक्टोबर २, १९१४-मा के घोषणा गरे? (ख) सन् १९१४-देखि के कस्ता राजनैतिक उथलपुथलहरू भएका छन्?
५ अक्टोबर २, १९१४-को दिन, ब्रुकलिन न्यु योर्कको बेथेल परिवारले भाग लिने बिहानको उपासनाका लागि सी. टी. रसल आउँदा उनले यो सनसनीपूर्ण घोषणा गरे: “अन्यजातिहरूको समय समाप्त भएको छ; तिनीहरूका राजाहरूको म्याद सिद्धियो।” नभन्दै, १९१४-मा सुरु भएको त्यो विश्वव्यापी उथलपुथलले यति गहिरो प्रभाव पाऱ्यो कि धेरै समयदेखि चलिआएका थुप्रै राजसत्ताहरू लोप भए। सन् १९१७-को बोल्शेविक क्रान्तिद्वारा जारसत्ता परास्त भएपछि मार्क्सबाद र पूँजीबाद बीच लामो समयसम्म सङ्घर्ष भइरह्यो। राजनैतिक परिवर्तनका प्रकम्पहरूले विश्वभरि मानवसमाजमा उथलपुथल मच्चाउन छाडेको छैन। आज अधिकांश सरकारहरू एक दुई सालभन्दा बढी टिक्दै टिक्दैनन्। यस्तो राजनैतिक अस्थिरताको एउटा उदाहरण इटाली हो। यस देशमा दोस्रो युद्धपश्चात्का ४२ सालहरूमै ४७ नयाँ सरकारहरू खडा भए। तापनि यी परिवर्तनहरू त सुरुसुरुमा हुने साना थतर्कोहरू मात्र हुन्। सबैभन्दा ठूलो र अन्तिम सरकारी उथलपुथल त आउन बाँकी नै छ। र त्यसपछि के हुने हो? सारा पृथ्वीमाथि परमेश्वरको राज्यले शासन चलाउनेछ।—यशैया ९:६, ७.
६. (क) यो नयाँ र घटनायुक्त युगको वर्णन एच. जी. वेल्सले कसरी गरे? (ख) सन् १९१४-देखिको युगबारे एक जना दार्शनिक र राजनीतिज्ञले के लेखे?
६ इतिहासकारहरू, दार्शनिक र राजनैतिक नेताहरूले सन् १९१४-लाई एउटा नयाँ र घटनायुक्त युगको सुरुआत मानेका छन्। उक्त युग सुरु भएको १७ वर्षपछि इतिहासकार एच. जी. वेल्सले यो टिप्पणी गरे: “अगमवक्तालाई राम्रा राम्रा कुराहरूबारे अगमवाणी गर्न निश्चय मनपर्छ। तर केवल देखेका कुरा भन्न उनी बाध्य छन्। र उनले भने सिपाहीहरू, राष्ट्रवादीहरू, सुदखोरहरू र आर्थिक ठगहरूले भरिएको संसार देख्छन्; एउटा यस्तो संसार जो शङ्का उपशङ्का र घृणाको वशमा छ; जहाँ बचेखुचेको व्यक्तिगत स्वाधीनता पनि चाँडचाँडो लोप भइरहेछ। एउटा यस्तो संसार जो वर्ग सङ्घर्षतर्फ भौतारिंदै अझ अन्य युद्धहरूका लागि तयार हुँदैछ।” सन् १९५३-मा दार्शनिक बर्टरेन्ड रसलले यसो भने: “संसारको गतिविधिबारे हरेक चेतनशील व्यक्ति १९१४-देखि धेरै नै चिन्तित छन्। उनीहरू संसारलाई भाग्यले अझ ठूलो बरबादीतिर जबरजस्ती तान्दै लगेको देख्छन्। . . . उनीहरूको नजरमा मानव समाज युनानी वियोगान्त नाटकको अभिनेता जस्तै छ जसलाई क्रोधित देवताहरूले हुत्याउँदै लगिरहेछ र जसको भाग्य अब आफ्नो वशमा छैन।” राजनीतिज्ञ हेरल्ड मेकमिलनले २० औं शताब्दीको शान्त सुरुआतबारे १९८०-मा यसो भने: “मैले त्यसप्रकारको संसारमा जन्म लिएँ जहाँ सबै कुरा झन् झन् राम्रो हुँदै गइरहेको थियो। . . . तर अचानक १९१४-को एउटा बिहान जम्मै चूरचूर भयो।”
७-९. (क) मानव समाजलाई १९१४-देखि के कस्ता उथलपुथलहरूले हल्लाएको छ? (ख) येशूको उपस्थितिको दौडान मानव समाजमा हुने उथलपुथलहरूमा अन्ततः कस्ता अवस्थाहरू पनि सम्मिलित हुनेछ?
७ दोस्रो विश्वयुद्धका साथै उथलपुथलको अझ अर्को बाढी चल्यो। पृथ्वीलाई स-सानो युद्धहरू र संसारभरि फैलिएको आतंकवादले हल्लाइ नै रहेछ। आतंकवाद वा आमविनाशकारी हतियार भएका राष्ट्रहरूले ती प्रयोग गर्लान् भन्ने खतराले गर्दा धेरै जना यसबारे सन्दिग्ध छन्।
८ तापनि मानव समाजको जगलाई १९१४-देखि युद्धहरूले मात्र हल्लाएको छैन। एउटा अति नै ठूलो खलबली त अक्टोबर २९, १९२९-मा संयुक्त राज्य अमेरिकाको सट्टा बजारको ह्रास थियो। यसपछि महामन्दी सुरु भयो जसको असर सारा पूँजीवादी देशहरूमाथि पऱ्यो। त्यो महामन्दी १९३२ र १९३४-बीच मच्चेको भए तापनि त्यसको प्रभाव हामी आजसम्मै महसुस गर्दछौं। आर्थिक तवरमा सोतर परेको संसारलाई १९२९-देखि कामचलाउ योजनाहरूले टालटुल गर्दै आएको छ। सरकारहरू न्यून वित्तभरण गर्छन्। सन् १९७३-मा मच्चिएको तेल सङ्कट र १९८७-को सट्टा बजारको ह्रासले आर्थिक साम्राज्यलाई अझ हल्लाए। यसैबीच लाखौं मानिसहरूले धेरैजसो ऋण लिंदै खरीद गर्छन्। अरू कति चाहिं आर्थिक चटक, स्तुपीकरण, चिट्ठा र जुवाको अनेक रूपको सिकार भएका छन्। यस्ता कतिपय योजनाहरूलाई सरकारले नै बढावा दिइरहेको हुन्छ जबकि सरकारको काम मानिसहरूलाई यस्ता योजनाहरूबाट बचाउनु हो। मसीहीजगतका टेलिभिजन प्रचारकहरूले पनि करोडौं डलरको आफ्नो भाग थाप्न हात पसार्छन्!—यर्मिया ५:२६-३१-सित तुलना गर्नुहोस्।
९ केही समयअघिका आर्थिक सङ्कटहरूले गर्दा मुसोलिनी र हिटलर जस्ता मानिसहरूले शक्ति ओगट्ने मौका पाए। र यस्ता व्यक्तिहरूलाई रिझाउन महान बेबिलोन पनि अग्रसर भइहाल्यो। उदाहरणका लागि, भेटिकनले इटालीसित १९२९-मा र जर्मनीसित १९३३-मा सम्झौता गऱ्यो। (प्रकाश १७:५) यसपछिका अन्धकारमय दिनहरू येशूले आफ्नो उपस्थितिबारे दिनु भएको भविष्यवाणीको निश्चय एउटा पूर्ति थियो। “मानिसहरूमा सङ्कष्ट हुने, संसारमा हुने घटनाहरूको डर र आशाले मानिसहरू मूर्च्छा पर्ने, [र] आकाशमा शक्तिहरू डग्मगाउने” सबै अन्ततः उहाँको उपस्थितिसम्बन्धी भविष्यवाणीको एउटा भाग हुनेछ भनी येशूले भविष्यवाणी गर्नु भएको थियो। (लूका २१:७-९, २५-३१)c हो, १९१४ देखि मानव समाजलाई हल्लाउने कम्पहरू बन्द भएका छैनन्। बरु झन झन जोरदार प्रकम्पहरू एकपछि अर्को भइ नै रहेका छन्।
-