-
परमेश्वरको इस्राएललाई छाप लगाउने कामप्रकाश—त्यसको चरमोत्कर्ष निकट!
-
-
१४. आत्मिक इस्राएलमा अक्षरशः १,४४,००० सदस्यहरू हुनेछन् भनेर यहोवाका साक्षीहरूले लगातार विश्वास गर्दै आएका छन् भनेर के ले देखाउँछ?
१४ एउटा रुचिकर कुरा के हो भने आत्मिक इस्राएलमा अक्षरशः १,४४,००० जना सदस्यहरू हुनेछन् भनेर चार्ल्स टी. रसलले बुझेका थिए। सन् १९०४-मा प्रकाशित स्टडिज इन द स्क्रिप्चर्स-को खण्ड ६-को इन द न्यु क्रिएशन-नामक उनको पुस्तकमा उनले यसप्रकार लेखे: “चुनिएकाहरू [छानिएका अभिषिक्त जनहरू]-को निश्चित र तोकिएको सङ्ख्या प्रकाशको पुस्तकमा (७:४; १४:१) बारम्बार उल्लिखित सङ्ख्या नै हो भनी विश्वास गर्ने हामीसित ठोस आधार छ; त्यो सङ्ख्या हो १,४४,००० र यिनीहरू ‘मानिसजातिबाट’ किनिएका जनहरू हुन्।” सन् १९३०-मा, बाइबल स्टुडेन्ट्सद्वारा प्रकाशित लाइट नामक पुस्तकमा पनि सोही विचार यसरी व्यक्त गरियो: “ख्रीष्टको शरीरका १,४४,००० अभिषिक्त अथवा छाप लाएका सदस्यहरूलाई यहाँ सामूहिक रूपमा देखाइएको छ।” आत्मिक इस्राएलमा अक्षरशः १,४४,००० सदस्यहरू हुनेछन् भनेर यहोवाका साक्षीहरूले लगातार विश्वास गर्दै आएका छन्।
१५. प्रभुको दिन सुरु हुनुभन्दा अघि बाइबलका इमान्दार विद्यार्थीहरूको विचारमा अन्यजातिहरूको समय समाप्त भएपछि शारीरिक यहूदीहरूले कुन कुराको आनन्द उठाउने थिए?
१५ तथापि, आजको शारीरिक इस्राएल के अलिकता पनि विशेष आशिष पाउने योग्यको छैन र? प्रभुको दिन सुरु हुनुभन्दा केही समयअघि मात्र बाइबलका इमान्दार विद्यार्थीहरूले परमेश्वरको वचनका थुप्रै आधारभूत सच्चाइहरू पुनः पत्ता लगाइरहेका थिए। उदाहरणका लागि अन्यजातिको समय समाप्त हुनासाथै यहूदीहरू फेरि परमेश्वरको नजरमा अनुग्रहित हुनेछन् भनी तिनीहरूले ठाने। यसले गर्दा १८८९-मा प्रकाशित सी. टी. रसलको पुस्तक द टाइम इज एट ह्यान्ड (स्टडिज इन द स्क्रिपचर्सको खण्ड २)-ले यर्मिया ३१:२९-३४ शारीरिक यहूदीहरूमाथि लागू गर्दै यो टिप्पणी गऱ्यो: “अन्यजातिहरूको अधीनमा बसेर इस्राएलीहरूले सा.यु.पू. [६०७] देखि भोग्दै आएको सजाय संसारलाई विदितै छ। त्यो सजाय अझ पनि कायम छ। र तिनीहरूको पुनः स्थापना सा.यु. १९१४ अथवा तिनीहरूको २,५२० वर्षीय ‘सात काल’ समाप्त हुनुभन्दा अघि हुनेछ भनी विश्वास गर्ने कुनै कारण छैन।” त्यो सात काल अर्थात् १९१४-पछि चाहिं यहूदीहरू राष्ट्रिय तवरमा पुनःस्थापित हुनेछन् भन्ने अनुमान लगाइयो। र यो अनुमान १९१७-मा अझ सम्भाव्य देखियो किनकि प्यालेष्टाइनलाई यहूदी राष्ट्र बनाउने बालफर उद्घोषणालाई समर्थन गर्न ब्रिटेन वचनवद्ध भयो।
१६. मसीही समाचारलाई शारीरिक यहूदीहरूकहाँ पुऱ्याउन यहोवाका साक्षीहरूले के कस्ता प्रयासहरू गरे र यसको परिणाम के भयो?
१६ प्रथम विश्वयुद्धपछि प्यालेष्टाइनी इलाकालाई ग्रेट ब्रिटेनको जिम्मामा सुम्पिदियो। थुप्रै यहूदीहरूलाई अब यस देशमा फर्कने बाटो खुल्यो। सन् १९४८-मा इस्राएलको राष्ट्र स्थापित भयो। अब यहूदीहरू साँच्चै नै ईश्वरीय आशिषका पात्र हुनेछन् भन्ने अझ ठूलो सङ्केत के हुन सक्थ्यो र? धेरै वर्षसम्म यहोवाका साक्षीहरूले पनि यही विश्वास गरे। तिनीहरूले १९२५-मा कमफर्ट फर द ज्यूज शीर्षक भएको १२८ पन्ने पुस्तक पनि प्रकाशित गरे। सन् १९२९-मा चाहिं लाइफ शीर्षक भएको ३६० पन्ने आकर्षक पुस्तकको विमोचन गरियो। यो पुस्तक खासगरी यहूदीहरूका लागि तयार गरिएको थियो। यसमा बाइबलको अय्यूब नामक पुस्तकसम्बन्धी विशेष छलफल प्रस्तुत थियो। यस मसीही समाचारलाई यहूदीहरूकहाँ पुऱ्याउन विशेषतः न्यु योर्क शहरमा ठूलो प्रयत्न गरियो। र खुशीको कुरा, केहीले सुने पनि। तर धेरैजसो यहूदीहरूले चाहिं तिनीहरूका प्रथम शताब्दीका पुर्खाहरूलेझैं मसीहको उपस्थितिको प्रमाणलाई इन्कार गरे।
१७, १८. नयाँ वाचा र पुनःस्थापनासम्बन्धी बाइबलका भविष्यवाणीहरूबारे परमेश्वरका पार्थिव दासहरूले के बुझे?
१७ स्पष्ट भयो कि व्यक्तिगत रूपमा होस् वा राष्ट्रिय तवरमा, यहूदीजाति चाहिं प्रकाश ७:४-८-मा वा प्रभुको दिनसित सम्बन्धित बाइबलका भविष्यवाणीहरूमा चर्चित इस्राएल होइन रहेछ। परम्परालाई पछ्याउँदै यहूदीहरूले ईश्वरीय नाउँ प्रयोग गर्न इन्कार गरी नै रहे। (मत्ती १५:१-३, ७-९) यहोवाका साक्षीहरूद्वारा १९३४-मा जेहावा शीर्षक भएको पुस्तक प्रकाशित गऱ्यो। त्यसमा यर्मिया ३१:३१-३४ बारे छलफल गर्दै यो पक्का निष्कर्ष प्रस्तुत गरियो: “इस्राएलको प्राकृतिक वंशज र आम मानवजातिसित नयाँ वाचाको केही सम्बन्ध छैन। त्यो वाचा केवल आत्मिक इस्राएलमा सीमित छ।” बाइबलमा चर्चित पुनःस्थापनासम्बन्धी भविष्यवाणीहरूको नता शारीरिक यहूदीहरू न इस्राएलको राजनैतिक राष्ट्रसित नै केही सम्बन्ध छ। किनकि इस्राएलको राजनैतिक राष्ट्र, संयुक्त राष्ट्र सङ्घको सदस्य हो र संयुक्त राष्ट्र सङ्घ चाहिं त्यो संसारको भाग हो जसबारे येशूले यूहन्ना १४:१९, ३० र १८:३६-मा चर्चा गर्नु भएको छ।
१८ सन् १९३१-मा परमेश्वरका दासहरूले पृथ्वीमा हर्षोल्लाससाथ यहोवाका साक्षीहरू भन्ने पद स्वीकार गरे। तिनीहरूले पूर्णहृदयसहित भजन ९७:११-का यी शब्दहरूलाई समर्थन गर्न सके: “धर्मात्माहरूको निम्ति ज्योति, र हृदयमा सोझा भएकाहरूको निम्ति आनन्द छर्नुभएको छ।” मात्र आत्मिक इस्राएल नयाँ वाचामा बाँधिएको कुरा तिनीहरूले स्पष्टसित बुझ्न सके। (हिब्रू ९:१५; १२:२२, २४) त्यसमा अटेर शारीरिक इस्राएल अथवा आम मानवजातिका लागि कुनै ठाउँ थिएन। यति बुझेपछि ईश्वरतान्त्रिक इतिहासका पानाहरूमा अद्भुत रीतिले ईश्वरीय ज्योति प्रकाशमान हुने बाटो खुल्यो। यहोवाले उहाँको नजिक हुन चाहने सबै मानिसहरूप्रति आफ्नो अनुकम्पा, प्रेमपूर्ण दया र सच्चाइ कसरी प्रशस्तगरी दर्शाउनु हुन्छ, त्यो पनि यसबाट प्रकट हुने भयो। (प्रस्थान ३४:६; याकूब ४:८) हो, ती चार स्वर्गदूतहरूले विनाशको बतासलाई रोकेको हुनाकारण इस्राएलको परमेश्वरबाहेक अरूहरू पनि लाभान्वित हुने भए। तिनीहरू को हुन्? के तपाईं पनि तिनीहरूमध्ये एक जना हुन सक्नुहुन्छ? हामी हेरौं।
-
-
एउटा अत्यन्त ठूलो भीडप्रकाश—त्यसको चरमोत्कर्ष निकट!
-
-
१. एक लाख चौवालीस हजारमाथि छाप लाएको वर्णन गरी सकेपछि यूहन्नाले अर्को कुन समूहलाई देख्छन्?
एक लाख चवालीस हजारमाथि छाप लगाइएको वर्णन गरी सकेपछि यूहन्नाले शास्त्रको सबैभन्दा रोमाञ्चकारी प्रकाशको बयान गर्न थाल्छन्। आनन्दले गद्गद् हुँदै उनले यो बयान गरे होलान्: “यी कुरापछि हेर, कसैले गन्न नसक्ने हरेक जातिबाटको र सबै कुलको र मानिसको, र भाषा भाषाहरूको एक ठूलो भीड्, सिंहासन र थुमाको अगाडि सेता लुगा लगाएर हातमा खजूरका हाँगाहरू लिएर उभिरहेका मैले देखें।” (प्रकाश ७:९) हो, चार बतासलाई थामेर राख्दा आत्मिक इस्राएलका १,४४,०००-सदस्यहरू बाहेक अर्को समूह अर्थात् बहुभाषा बोल्ने अन्तर्राष्ट्रिय ठूलो भीडले पनि मुक्ति पाउने मौका पाउँछ।a—प्रकाश ७:१.
२. सांसारिक टिप्पणीकारहरूले ठूलो भीडबारे के अर्थ लगाएका छन् र बितेको समयमा बाइबल विद्यार्थीहरूले पनि यस समूहलाई के ठानेका थिए?
२ सांसारिक टिप्पणीकारहरूको भनाइअनुसार यो ठूलो भीड मसीही धर्म अपनाउने गैरयहूदीहरू अथवा स्वर्ग जाने मसीही शहीदहरू हुन्। बाइबल विद्यार्थीहरूले पनि बितेका समयहरूमा यस ठूलो भीडलाई स्वर्ग जाने द्वितीय श्रेणी ठानेका थिए। उदाहरणका लागि, १८८६-मा स्टडीज इन द स्क्रिप्चर्स, द डिभाइन प्लान अफ दि एजेज-मा यसो भनिएको थियो: “यिनीहरूले सिंहासन र ईश्वरीय स्वभाव पाउने इनाम गुमाउँछन्। तर अन्ततः ईश्वरीय स्वभावभन्दा कमसल आत्मिक अस्तित्व चाहिं प्राप्त गर्छन्। हुनत यिनीहरू पनि समर्पित हुन्। तर सांसारिक आत्माको वशमा साह्रै जकडिएका हुनाले यिनीहरू आफ्नो जीवनलाई बलिदानको रूपमा चढाउन असमर्थ हुन्छन्।” र यही विचार १९३०-सम्म पनि लाइट पुस्तकको प्रथम भागमा यसप्रकार व्यक्त गरिएको थियो: “ठूलो भीडका मानिसहरू ती हुन् जसले प्रभुका जोशिला साक्षीहरू हुने निम्तो स्वीकार गर्दैनन्।” यिनीहरूलाई एउटा आत्म-श्रेष्ठ समूह ठानिन्थ्यो जसले सच्चाइ थाह पाएर पनि यसबारे प्रचार गर्ने कुनै खास प्रयास गर्दैन थिए। यिनीहरूले स्वर्गमा द्वितीय श्रेणीको रूपमा प्रवेश गर्न पाए तापनि ख्रीष्टसित शासन गर्न चाहिं पाउने थिएनन्।
३. (क) पछि गएर प्रचारकार्यमा जोशिला र धार्मिक मनोवृत्ति देखाउने केही व्यक्तिहरूका लागि कुन आशा प्रस्तुत गरियो? (ख) सन् १९२३-को द वाच टावर-ले भेडा र बाख्राको उखानको के अर्थ लगाएको थियो?
३ तथापि, अभिषिक्त मसीहीहरूका अन्य अरू सङ्गीहरू पनि थिए जो पछिगएर प्रचारकार्यमा अति नै जोशिला भए। यिनीहरूको स्वर्ग जाने अभिलाषा थिएन। यहोवाका जनहरूद्वारा १९१८ देखि १९२२-सम्म उद्घोषित जन-भाषणको शीर्षकअनुरूप यिनीहरूको आशा थियो। मूलतः त्यो भाषणको शीर्षक थियो: “संसारको अन्त आइसक्यो—आजका लाखौं जीवित कहिल्यै मर्ने छैनन्।”b यसको केही समयपश्चात् नै अक्टोबर १५, १९२३-को वाच टावर पत्रिकामा येशूले भन्नु भएको भेडा र बाख्राको उखानको (मत्ती २५:३१-४६) यो अर्थ लगाइयो: “भेडाहरूले सबै राष्ट्रका ती मानिसहरूलाई प्रतिनिधित्व गर्छन् जो आत्माद्वारा अभिषिक्त नभए तापनि धार्मिक प्रवृत्तिका छन्। तिनीहरूले येशू ख्रीष्टलाई मनैबाट प्रभु स्वीकार गर्छन् र तिनीहरू उहाँको शासनअन्तर्गत् सुखमय समयहरूको आशा र प्रतीक्षामा छन्।”
४. पार्थिव वर्गबारे १९३१, १९३२ र १९३४-मा ज्योति कसरी झन् झन् चहकिलो हुँदै गयो?
४ केही वर्षपछि १९३१-मा भिन्डीकेशन नामक पुस्तकको प्रथम खण्डमा इजकिएल अध्याय ९-को छलफल गरियो। संसारको अन्त हुँदा बाँच्नका लागि निधारमा छाप लगाइएका मानिसहरू उपरोक्त उखानका भेडाहरू हुन् भनेर यो छलफलद्वारा बुझाइयो। १९३२-मा विमोचित भिन्डीकेशन पुस्तकको तेस्रो खण्डले गैरइस्राएली पुरुष यहोनादाबको धार्मिक मनोवृत्तिको वर्णन गऱ्यो। यो मानिसले इस्राएलको अभिषिक्त राजा येहूलाई साथ दिएका थिए। उनी येहूको रथमा चढेर झूटो धर्म मान्नेहरूको विरुद्धमा येहूको जोश हेर्न गएका थिए। (२ राजा १०:१५-१७) सोही पुस्तकले यो टिप्पणी गरेको थियो: “वर्तमान समयमा येहूले गरेको जस्तै काम [यहोवाका न्यायिक फैसलाहरू घोषणा गर्ने] चलिरहेको बेलामा यहोनादाबले चाहिं यहाँ पृथ्वीको एउटा खास श्रेणीका मानिसहरूलाई चित्रित गर्छन्, जो परमेश्वरको अनुग्रहका पात्रहरू हुन्। यिनीहरू शैतानको सङ्गठनअनुरूप छैनन्। यिनीहरू धार्मिकताको पक्षमा अडान लिन्छन्। यिनीहरूलाई प्रभुले आरमागेडोनमा बचाउनु हुनेछ। यिनीहरूलाई त्यो सङ्कष्टमय स्थितिमा सुरक्षित राख्नु भएर पृथ्वीमा अनन्त जीवन दिनु हुनेछ। हो, यिनीहरू नै ‘भेडा’ वर्गका हुन्।” यस्तो पार्थिव आशा राख्ने मसीहीहरूले पनि यहोवालाई आफ्नो जीवन समर्पण गरेपछि बप्तिस्मा लिनुपर्छ भनेर वाचटावर पत्रिकाद्वारा १९३४-मा स्पष्ट पारियो। यो पार्थिव श्रेणीबारे ज्योति झन्झन् चहकिलो हुँदै गइरहेको थियो।—हितोपदेश ४:१८.
५. (क) सन् १९३५-मा ठूलो भीडबारे के बुझ्न सम्भव भयो? (ख) सम्मेलनमा उपस्थित र पृथ्वीमा सधैंभरि बाँच्ने आशा भएको श्रोतागणलाई १९३५-मा जे. एफ. रदरफर्डले खडा हुने अनुरोध गर्दा के भयो?
५ प्रकाश ७:९-१७-को अर्थ अब सम्पूर्णतः स्पष्ट हुनै लागेको थियो! (भजन ९७:११) मे ३० देखि जून ३, १९३५-सम्म, वाशिङ्गटन डी. सी., संयुक्त राज्य अमेरिकामा आयोजित सम्मेलन यहोनादाबले चित्रित गरेका मानिसहरूका लागि “यथार्थमा सान्त्वनादायी र लाभप्रद हुनेछ” भन्ने आशा वाचटावर पत्रिकाले बारम्बार अभिव्यक्त गर्दै आएको थियो। र त्यस्तै भयो पनि! सम्मेलनमा उपस्थित करीब २०,००० श्रोताहरू समक्ष त्यतिबेला विश्वव्यापी प्रचारकार्यमा नेतृत्व लिइरहेका जे. एफ. रदरफर्डले “ठूलो भीड” विषयमा सनसनीयुक्त भाषण दिए। उनले यी आधुनिक अन्य भेडाहरू नै प्रकाश ७:९-मा उल्लिखित ठूलो भीड हुन् भनेर शास्त्रीय प्रमाण प्रस्तुत गरे। आफ्नो भाषणको चरमोत्कर्षमा वक्ताले यो अनुरोध गरे: “पृथ्वीमा सधैंभरि बाँच्ने आशा राख्नेहरू कृपया उभिनु हुन्छ कि?” श्रोतागणको ठूलो भाग जुरुक्क उभिए। अनि तिनीहरूलाई सङ्केत गर्दै वक्ताले यो घोषणा गरे: “हेर्नुहोस्! त्यो ठूलो भीड!” एकछिन त सन्नाटा छायो। फेरि तुरुन्तै जोडदार करतलध्वनि गुञ्जायमान भयो। यूहन्नावर्गका साथसाथै यहोनादाब समूह हर्षले विह्वल भए! भोलिपल्टै ८४०-जना नयाँ साक्षीहरूले बप्तिस्मा लिए। यीमध्ये धेरैजसोले ठूलो भीडका हुने दाबी गरे।
-