-
एउटा अत्यन्त ठूलो भीडप्रकाश—त्यसको चरमोत्कर्ष निकट!
-
-
३०. यूहन्नाको दर्शनद्वारा कुन महान दृश्य देख्ने ढोका हाम्रालागि खुलिन्छ र को “खडा” हुन सक्नेछ?
३० यी शब्दहरूले एउटा महान दृश्य हेर्ने ढोका हाम्रा लागि खोलिदिन्छ! यहोवा स्वयं सिंहासनमा हुनुहुन्छ र उहाँका जम्मै स्वर्गीय र पार्थिव सेवकहरू एकताबद्ध भएर उहाँको प्रशंसा गाउँछन्। यो झन्झन् गुञ्जायमान हुने प्रशंसागानमा भाग लिन पाउने महान विशेषाधिकारलाई उहाँका पार्थिव सेवकहरूले एकदमै कदर गर्छन्। चाँडै नै यहोवा र येशू ख्रीष्टले न्याय कार्यान्वयन गर्नु हुनेछ र त्यतिखेर यो चर्को स्वर सुनिनेछ: “तिनीहरूको क्रोधको ठूलो दिन आएको छ, र को खडा हुनसक्छ?” (प्रकाश ६:१७) यसको जवाफ? मानिसजातिमध्येको एउटा सानो भाग अर्थात् छाप लगाइएका १,४४,००० मध्ये मानव शरीरमै रहेका र अरू भेडाको ठूलो भीड मात्र बाँच्न अथवा “खडा” हुनेछन्।—यर्मिया ३५:१९; १ कोरिन्थी १६:१३.
३१. यूहन्नाको दर्शनले दुवै अभिषिक्त र ठूलो भीडका मसीहीहरूमाथि के कस्तो असर पार्नु पर्ने हो?
३१ यसै तथ्यलाई दृष्टिगत गर्दै यूहन्नावर्गका अभिषिक्त मसीहीहरूले “ख्रीष्ट येशूमा . . . माथिको बोलावटको पुरस्कारको निम्ति” उत्कट प्रयास गर्छन्। (फिलिप्पी ३:१४) वर्तमान समयका घटनाहरूको सामना गर्न विशेष धैर्यको खाँचो छ भनी तिनीहरूले राम्ररी बुझेका छन्। (प्रकाश १३:१०) यतिका धेरै वर्षदेखि वफादारीका साथ यहोवाको सेवा गरी सकेपछि पनि तिनीहरू आफ्नो विश्वासमा अटल छन्। तिनीहरूको “नाउँ स्वर्गमा लेखिएको छ” भनेर तिनीहरू आनन्द मनाउँछन्। (लूका १०:२०; प्रकाश ३:५) “अन्तसम्म स्थिर रहनेले उद्धार पाउनेछ” भन्ने कुरा ठूलो भीडकाहरूलाई पनि थाह छ। (मत्ती २४:१३) महासङ्कष्टमा ठूलो भीड सामूहिक तवरमा बाँच्ने भए तापनि त्यसमा संलग्न व्यक्तिहरूले चाहिं आफूलाई शुद्ध र सक्रिय राख्न जोडदार प्रयत्न गर्न जरुरी छ।
३२. यहोवाको क्रोधको दिनमा दुई समूह मात्रै “खडा” हुन सक्ने भएकोले के गर्नु अत्यावश्यक छ?
३२ यहोवाको क्रोधको दिनमा यी दुई समूहबाहेक अरू पनि “खडा” हुन सक्ने कुनै प्रमाण छैन। यसकारण ती लाखौं व्यक्तिहरूको के हुनेछ जसले प्रत्येक साल येशूको मृत्युको स्मरणार्थमा भेला हुँदै येशूको बलिदानका लागि केही हदसम्म आदर दर्शाएका छन्। तापनि यहोवाको सक्रिय, समर्पित र बप्तिस्माप्राप्त सेवक हुनेसम्मको विश्वास चाहिं तिनीहरूले येशूको बलिदानमाथि अझसम्म प्रकट गरेका छैनन्। यिनीहरूबाहेक अझ ती व्यक्तिहरूबारे के भन्ने जो कुनै समयमा सक्रिय थिए तर अहिले चाहिं तिनीहरूको हृदय “जीवनका चिन्ताहरूमा” अलमलिएका छन्? उनीहरू सबै जागा हुन सकून्। जागा रहून्। ताकि तिनीहरू “आउनलागेका कुराहरूबाट उम्कन र मानिसको पुत्र” येशू ख्रीष्टको “सामने खडा हुन” सकून्। समय अब धेरै छैन!—लूका २१:३४-३६.
-
-
मसीहीजगतमाथि यहोवाले विपत्तिहरू पठाउनु हुन्छप्रकाश—त्यसको चरमोत्कर्ष निकट!
-
-
१. थुमाले सातौं छाप खोल्दा के हुन्छ?
आत्मिक इस्राएलका १,४४,००० जनहरूमाथि छाप नलगाउञ्जेल र ठूलो भीड बचाउका लागि स्वीकृत घोषित नहोउञ्जेल “चार बतास”-लाई थामेर राखिएको छ। (प्रकाश ७:१-४, ९) तर त्यो जोडदार आँधी पृथ्वीको सतहमाथि मच्चिनुअघि चाहिं शैतानी संसारको विरुद्धमा यहोवाका न्यायिक फैसलाहरू घोषणा हुनु अनिवार्य छ! थुमाले सातौं र अन्तिम छाप खोल्नु हुँदा, अब के प्रकट हुने हो, सो थाहा लाउन यूहन्नाले जरुर पनि बडो उत्सुकतासाथ हेरिरहेको हुनुपर्छ। अब उनले आफ्नो अनुभव हामीलाई पनि बताउँछन्: “अनि जब उहाँले सातौं छाप खोल्नुभयो, तब प्रायः आधा घण्टासम्म स्वर्गमा सन्नाटा भयो। औ परमेश्वरको सामने उभिने सात स्वर्गदूतलाई मैले देखें, तिनीहरूलाई सात तुरही दिइएका थिए।”—प्रकाश ८:१, २.
मर्मस्पर्शी प्रार्थना गर्ने बेला
२. स्वर्गमा प्रतीकात्मक आधा घण्टाका लागि सन्नाटा छाउँदा के हुन्छ?
२ कति महत्त्वपूर्ण सन्नाटा हो यो! कुनै कुराका लागि पर्खिनु पर्दा आधा घण्टा पनि लामो समय जस्तो लाग्न सक्छ। निरन्तर प्रशंसा गाउने त्यो स्वर्गीय गायन टोलीको आवाज पनि अब सुनिंदैन। (प्रकाश ४:८) किन? कारण यूहन्नाले दर्शनमै देख्छन्: “अनि अर्को एउटा दूत आएर वेदीमाथि सुनको धूपौरो लिएर खडा भए। तिनले सिंहासनको सामने रहेको सुनको वेदीमाथि सबै पवित्र जनहरूका प्रार्थनाहरूमा धूप थप्न भनी तिनलाई धेरै धूपहरू दिइएका थिए। औ धूपको धुवाँ पवित्र जनहरूको प्रार्थनाको साथसाथ दूतको हातबाट परमेश्वरको सामने उडेर गयो।”—प्रकाश ८:३, ४.
३. (क) धूप बालेको देख्दा हामीलाई के को सम्झना हुन्छ? (ख) स्वर्गमा आधा घण्टाको सन्नाटाको उद्देश्य के हो?
३ यो दर्शनले हामीलाई यहूदी रीतिथितिअन्तर्गत पहिले बासस्थानमा र पछि यरूशलेमको मन्दिरमा सधैं धूप बाल्ने चलनको सम्झना गराउँछ। (प्रस्थान ३०:१-८) यसरी धूप बाल्ने बेलामा गैरपूजारी इस्राएलीहरू चाहिं पवित्र स्थान बाहिर पर्खेर बस्थे। निस्सन्देह, जसको सम्मानमा धूप चढाइन्थ्यो, उहाँलाई नै तिनीहरू सबैले मनमनै प्रार्थना गरिरहेका हुन्थे। (लूका १:१०) यस्तै कुरा स्वर्गमा पनि भैरहेको यूहन्नाले अब देख्छन्। स्वर्गदूतले चढाएको धूप “पवित्र जनहरूको प्रार्थनासित” सम्बन्धित छ। यथार्थमा योभन्दा अघिको दर्शनमा धूपलाई प्रार्थनाहरूको प्रतीक नै मानिएको थियो। (प्रकाश ५:८; भजन १४१:१, २) स्पष्टतः पृथ्वीका पवित्र जनहरूका प्रार्थना सुनियोस् भनेर स्वर्गमा त्यो प्रतीकात्मक सन्नाटा छाउँछ।
४, ५. कुनकुन ऐतिहासिक गतिविधिहरूले हामीलाई त्यो आधा घण्टा सन्नाटाको समय ठम्याउने मदत दिन्छ?
४ यो कहिले भयो, के हामी कुनै अन्दाज लगाउन सक्छौं? सक्छौं। प्रभुको दिनको आरम्भमा घटेका ऐतिहासिक गतिविधिहरू र तिनीहरूको सन्दर्भ हामीले जाँच गर्नुपर्छ। (प्रकाश १:१०) सन् १९१८ र १९१९-को दौडान पृथ्वीमा घटेका घटनाहरू प्रकाश ८:१-४-मा उल्लिखित दृश्यसित ठ्याक-ठ्याकी मिल्यो। सन् १९१४ मै अन्यजातिहरूको समय समाप्त हुनेछ भनेर सन् १९१४-भन्दा ४० वर्षअघि देखि नै यहोवाका साक्षीहरूले [जसलाई त्यतिखेर बाइबल विद्यार्थीहरू भनिन्थ्यो] निडरतासाथ घोषणा गर्दै आएका थिए। र तिनीहरूले घोषणा गरेका कुरालाई १९१४-का विपत्तिजनक घटनाहरूले सत्य साबित गऱ्यो। (लूका २१:२४, किङ्ग जेम्स वर्सन; मत्ती २४:३, ७, ८) तर १९१४ मै तिनीहरू यस पृथ्वीबाट स्वर्गमा लगिनेछन् भनेर तीमध्ये धेरैले विश्वास पनि गरेका थिए। तर त्यो चाहिं भएन। त्यसको सट्टा, प्रथम विश्व-युद्धको दौडान तिनीहरूले कडा सतावट सहनु पऱ्यो। अक्टोबर ३१, १९१६-मा वाच टावर सोसाइटीका प्रथम सभापति, चार्ल्स टी. रसलको मृत्यु भयो। यसपछि जुलाई ४, १९१८-मा नयाँ सभापति जोसेफ एफ. रदरफर्ड र सोसाइटीका अन्य सात जना प्रतिनिधिहरू एटलान्टा, जर्जियाको कारागारमा लगिए। तिनीहरूमाथि गलत अभियोग लगाइयो र लामो समयसम्म तिनीहरूलाई झ्यालखानमा थुनेर राख्ने फैसला सुनाइयो।
५ यूहन्नावर्गका इमान्दार मसीहीहरू असमञ्जसमा परे। तिनीहरूले अब के गरेको परमेश्वर चाहनु हुन्थ्यो? तिनीहरू स्वर्गमा कहिले लगिनेछन्? मे १, १९१९-को द वाच टावर-पत्रिकामा “कटनी त सिद्धियो—यसपछि के हुने हो?” भन्ने लेख छापियो। यस लेखमा तत्कालीन अनिश्चितताको झलक थियो। विश्वासी जनहरूलाई धैर्य धारण गरी नै रहने प्रोत्साहन दिंदै यस लेखमा यसो भनिएको थियो: “राजकीय वर्गकाहरूलाई बटुल्ने काम सम्पूर्णतः समाप्त भइसक्यो भनी हामी अब विश्वास गर्छौं। जति जनालाई छाप लाउनु थियो, लगाइसकियो र ढोका पनि अब बन्द भएको छ।” यो कठिन समयको दौडान एक रास धूपको धुवाँ जस्तैगरी यूहन्नावर्गका मर्मस्पर्शी प्रार्थनाहरू मास्तिर उक्लिरहेका थिए। र तिनीहरूका प्रार्थनाहरूको सुनाइ पनि भइरहेको थियो!
पृथ्वीमा आगो फाल्नु
६. स्वर्गमा सन्नाटापछि के हुन्छ र त्यो पनि कुन कुराको जवाफको रूपमा?
६ यूहन्नाले हामीलाई यसो भन्छन्: “औ दूतले धूपौरो लिएर त्यसमा वेदीको आगोले भरिदिए, र पृथ्वीमाथि फ्याँकिदिए। अनि त्यहाँ गर्जनहरू, आवाजहरू, बिजुलीहरू र भूकम्पहरू भए।” (प्रकाश ८:५) यो सन्नाटापछि अचानक ठूलो चहलपहल मच्चिन्छ! यो पक्कै पनि पवित्र जनहरूका प्रार्थनाहरूको जवाफ हो। किनभने यो चहलपहल धूपवेदीबाट आगो लिएपछि मात्र सुरु हुन्छ। सा.यु.पू. १५१३-मा यहोवाले आफ्ना जनप्रति विशेष ध्यान दिनु हुँदा सीनै पर्वतमा बादलको गर्जन र चर्को आवाज सुनियो, बिजुली चम्कियो, आगो देखा पऱ्यो र सारा पर्वत जोडसित हल्लिन थाल्यो। (प्रस्थान १९:१६-२०) यस्तैप्रकारका प्रदर्शनहरूको वर्णन यूहन्नाले पनि गरेका छन् र यिनीहरूको अर्थ पनि यहोवाले पृथ्वीमा आफ्ना दासहरूतर्फ विशेष ध्यान दिनु हो। (प्रकाश १:१) तर यूहन्नाले देखेका कुराहरू चाहिं प्रतीकात्मक ढङ्गमा प्रस्तुत छन्। अतः प्रतीकात्मक आगो, गर्जन, आवाज, बिजुली र भूकम्पहरूको आज के अर्थ लाउन सकिन्छ?
७. (क) येशूले पृथ्वीमा आफ्नो सेवकाईको दौडान कुन चाहिं प्रतीकात्मक आगो सल्काउनु भयो? (ख) येशूका आत्मिक भाइहरूले मसीहीजगतमा आगो कसरी सल्काए?
७ एक पटक येशूले आफ्ना अनुयायीहरूलाई यसो भन्नु भएको थियो: “म पृथ्वीमा आगो लाउन आएको हुँ।” (लूका १२:४९) साँच्चै नै उहाँले आगो सल्काउनु भयो। येशूले आफ्नो जोशिलो प्रचारद्वारा यहूदीहरूको सामु परमेश्वरको राज्यलाई सर्वोपरि प्रश्नको रूपमा प्रस्तुत गर्नु भयो। त्यस राष्ट्रभरि गरमागरम विवाद चल्यो। (मत्ती ४:१७, २५; १०:५-७, १७, १८) सन् १९१९-मा प्रथम विश्वयुद्धका सङ्कष्टमय दिनहरू काटेपछि येशूका अभिषिक्त भाइहरूको सानो टोलीले पनि मसीहीजगतमा त्यस्तैप्रकारको आगो सल्कायो। त्यो सालको सेप्टेम्बर महिनामा यहोवाको आत्माले काम गरेको प्रत्यक्षतः देख्न सकिन्थ्यो। उहाँका वफादार साक्षीहरू चारैतिरबाट संयुक्त राज्य अमेरिकाको सिडर प्वाइन्ट, ओहायोमा भेला भए। भर्खरै कैदबाट रिहा भएका र चाँडै नै तिनी विरुद्धको रीट सबै खारेज हुन लागेका जोसेफ एफ. रदरफर्डले सम्मेलनमा उपस्थित सबैलाई सम्बोधन गर्दै जोरसित यसो भने: “हाम्रा मालिकले दिनु भएको आदेशप्रति हामी आज्ञाकारी हुनुपर्छ। यतिका लामो समयदेखि मानिसहरूलाई दासत्वमा राख्ने झूटका गढहरूको विरुद्धमा युद्ध गर्ने हाम्रो विशेषाधिकारलाई हामीले स्वीकार्नु पर्छ। मसीहको आउने महिमायुक्त राज्यको घोषणा गर्ने कर्त्तव्य हाम्रो थियो र अझ पनि छ।” हो, सर्वोपरि प्रश्न नै परमेश्वरको राज्य हो!
८, ९. (क) युद्धग्रस्त कठिन समयसालहरूमा परमेश्वरका जनहरूको मनोवृत्ति र अभिलाषाहरूको वर्णन जे. एफ. रदरफोर्डले कसरी गरे? (ख) तल पृथ्वीमा आगो कसरी फालियो? (ग) मेघको गर्जन, बिजुली चम्काई, आवाजहरू र भैंचाला जम्मै कसरी पूरा भएका छन्?
८ परमेश्वरका जनहरूले हालसालैमा अनुभव गरेका दुःखद अनुभवहरूलाई सङ्केत गर्दै वक्ताले भने: “शत्रुको आक्रमण अति क्रूर थियो। प्रभुको प्रिय बगालका धेरै जना त स्तब्ध भए। प्रभुले आफ्नो इच्छा प्रकट गरी दिऊन् भन्दै तिनीहरू प्रार्थना गर्दै पर्खिरहे। . . . तर यो निरुत्साहको भाव क्षणभरका लागि मात्र थियो। राज्यको सन्देश घोषणा गर्ने प्रचण्ड इच्छा पुनः जागृत भयो।”—सेप्टेम्बर १५, १९१९-को द वाच टावर, पृष्ठ २८० हेर्नुहोस्।
९ त्यो इच्छा १९१९-मा पूरा भयो। मसीहीहरूको त्यो सानो तर सक्रिय टोली विश्वव्यापी प्रचार अभियान आरम्भ गर्न आध्यात्मिक रूपमा आगो सरह प्रज्वलित भयो। (१ थिस्सलोनिकी ५:१९-तुलना गर्नुहोस्।) पृथ्वीमा आगो फालियो भन्नुको अर्थ परमेश्वरको राज्यलाई जल्दोबल्दो विवाद बनाइयो र त्यो आज पनि विवाद नै रहेको छ! सन्नाटाको ठाउँमा परमेश्वरको राज्यलाई स्पष्टसित प्रचार गर्ने चर्को आवाजहरू सुनिए। बाइबलबाट मेघको गर्जन र आँधीबेह्री जस्तै चेताउनीहरू घोषित हुन थाले। यहोवाको अगमवाणीपूर्ण वचनबाट सच्चाइका ज्योतिर्मय किरणहरू बिजुली चम्केको जस्तैगरी चम्कन थाले। अनि मानौं कुनै जोडदार भूकम्प आएजस्तै धार्मिक क्षेत्र जगैदेखि हल्लियो। काम गर्न अझ बाँकी नै रहेछ भनी यूहन्नावर्गले देखे। र सो काम आज सारा पृथ्वीभरि धुमधामसित बढ्दै गइरहेछ!—रोमी १०:१८.
-