-
मसीहीजगतमाथि यहोवाले विपत्तिहरू पठाउनु हुन्छप्रकाश—त्यसको चरमोत्कर्ष निकट!
-
-
३६. चौथो स्वर्गदूतले तुरही फुकेपछि के हुन्छ?
३६ “अनि चौथो दूतले फूके र तेस्रो-तेस्रो भागहरू अँध्यारो भएर दिनको र त्यही किसिमले रातको पनि तेस्रो-तेस्रो भाग उज्यालो नहोस् भनेर सूर्यको तेस्रो भाग र चन्द्रको तेस्रो भाग र ताराहरूको तेस्रो भागमा प्रहार पऱ्यो।” (प्रकाश ८:१२) मिश्रको नवौं विपत्ति अक्षरशः अन्धकारको विपत्ति थियो। (प्रस्थान १०:२१-२९) तर मानिसहरूलाई पिरोल्ने लाक्षणिक अन्धकार के हो?
३७. मसीही मण्डली बाहिर हुनेहरूको आध्यात्मिक स्थितिलाई प्रेरित पत्रुस र पावलले कसरी वर्णन गरे?
३७ मसीही हुनुभन्दा अघि तिनीहरू आत्मिक अन्धकारमा थिए भनेर प्रेरित पत्रुसले आफ्ना विश्वासी सङ्गीहरूलाई भने। (१ पत्रुस २:९) मसीही मण्डली बाहिरकाहरूको आध्यात्मिक स्थितिलाई वर्णन गर्दा पनि पावलले “अन्धकार” शब्द नै प्रयोग गरे। (एफिसी ५:८; ६:१२; कलस्सी १:१३; १ थिस्सलोनिकी ५:४, ५) तर मसीहीजगतमा हुनेहरूबारे के भन्न सकिन्छन् जसले परमेश्वरमा विश्वास गर्ने र येशूलाई पनि आफ्नो मुक्तिदाता स्वीकार्ने दाबी गर्छन्?
३८. मसीहीजगतको “ज्योति”बारे चौथो स्वर्गदूतले कुन तथ्य प्रकट गर्छ?
३८ येशूको भनाइअनुसार साँचो मसीहीहरू तिनीहरूको फलबाट चिनिनेछन् र उहाँको सेवा गर्ने दाबी गर्ने धेरै जना त “अधम काम गर्नेहरू” साबित हुनेछन्। (मत्ती ७:१५-२३) अतः मसीहीजगतले ओगटेको विश्वको तेस्रो भागका फलहरू हेर्ने कसैले पनि मसीहीजगत घोर आध्यात्मिक अन्धकारमा छामछामछुमछुम गरिरहेको कुरा इन्कार गर्न सक्तैन। (२ कोरिन्थी ४:४) ऊ सबैभन्दा दोषी छे किनकि उसले मसीही हुने दाबी गर्दछे। यसकारण, मसीहीजगतको “ज्योति” वास्तवमा अन्धकार हो र उसका “ज्योतिका” स्रोतहरू गैर मसीही अर्थात् बेबिलोनी हुन् भनेर चौथो स्वर्गदूतले तुरही फुकेर बताउनु जरुर पनि उचित हो।—मर्कूस १३:२२, २३; २ तिमोथी ४:३, ४.
३९. (क) सन् १९२५-को सम्मेलनमा अपनाइएको प्रस्तावले मसीहीजगतको झूटो ज्योतिको वर्णन कसरी गऱ्यो? (ख) सन् १९५५-मा अझ कुन कुन कुराको पर्दाफास भयो?
३९ त्यो स्वर्गीय उद्घोषणाअनुरूप परमेश्वरका जनहरू अगस्त २९, १९२५-मा आयोजित सम्मेलनका लागि संयुक्त राज्य अमेरिकाको इन्डियानापोलिस, इन्डियानामा टनाटन भेला भएका थिए। मुद्रण गरेर वितरण गर्नका लागि यिनीहरूले एउटा निर्भीक प्रस्तावना स्वीकार गरे जसको शीर्षक थियो “आशाको सन्देश।” फेरि यसको पनि करीब ५ करोड प्रतिहरू छापेर थुप्रै भाषाहरूमा प्रकाशित गरियो। यसले ठगाहा व्यापारीहरू, राजनैतिक नेताहरू र पादरीवर्ग मिलेर चम्काएको झूटो ज्योतिको वर्णन गऱ्यो जसको परिणास्वरुप “मानिसहरू अन्धकारमा डुबेका छन्।” साथै “शान्ति, सुख, सुस्वास्थ्य, जीवन, स्वतन्त्रता र अनन्तकालीन आनन्दका आशिषहरू ल्याउने” एक मात्र आशा परमेश्वरको राज्य हो भनेर सो प्रस्तावनाद्वारा सङ्केत गरियो। अभिषिक्त मसीहीहरूको त्यो सानो समूहले मसीहीजगतको विशाल सङ्गठनको विरुद्धमा यस्ता सन्देशहरू उद्घोषित गर्दा निश्चय नै साहसको खाँचो पऱ्यो होला। तर तिनीहरूले यो काम १९२०-को दशकको सुरु देखि अहिलेसम्म लगातार गरिरहेका छन्। त्योभन्दा पनि अझ हालैमा अथवा १९५५-मा मसीहीजगत कि मसीही धर्म—कुन चाहिं “संसारको ज्योति” हो? भन्ने पुस्तिकाको विश्वव्यापी वितरणद्वारा पादरीवर्गको अझ पर्दाफास गरियो। आज, मसीहीजगतको कपट यति प्रत्यक्ष भइसकेको छ कि संसारका धेरै मानिसहरूले त्यसलाई स्वंय देख्न सक्छन्। तापनि ऊ अन्धकारको एउटा राज्य हो भनेर उसको पर्दाफास गर्न यहोवाका जनहरूले छाडेका छैनन्।
उड्दै गरेको गरुड
४०. चार वटा तुरहीको आवाजले मसीहीजगत के हो भनेर देखायो?
४० यी चारवटा तुरहीका आवाजहरूले साँच्चै नै मसीहीजगतको मृत्युदायी र उजाड स्थितिको पर्दाफास गर्नमा मदत पुऱ्यायो। उसको भागमा पर्ने “पृथ्वी” यहोवाको न्यायदण्डको योग्य छ भनी स्पष्ट भयो। उसका देशहरू र अन्य ठाउँहरूमा हलक्क पलाएका क्रान्तिकारी सरकारहरू आत्मिक जीवनका खास शत्रुहरू हुन् भनेर प्रदर्शित गरियो। उसको पादरीवर्गको पतित स्थिति पनि उदाङ्ग पारियो। उसको आध्यात्मिक स्थितिको सर्वत्र अन्धकार सबैले देख्न सक्नेगरी जाहेर भयो। मसीहीजगत साँच्चै नै शैतानको रीतिथितिको सबैभन्दा दोषी भाग हो।
४१. तुरही फुकने क्रम एकछिनका लागि रोकिंदा यूहन्नाले के देख्छन् र सुन्छन्?
४१ अब अझ के प्रकट हुनु बाँकी छ? हामीले यो प्रश्नको जवाफ पाउनुअघि, तुरही फुकने क्रम थोरै समयका लागि रोकिन्छ। यसपछि के देखिन्छ, यूहन्नाले वर्णन गर्छन्: “अनि मैले हेरें, र एउटा ठूलो गरुड स्वर्गको बीचमा उडेर यसो भन्दै ठूलो सोरले कराएको सुनें, ‘अब फुक्न बाँकी रहेका तीनवटा दूतका अरू आवाजको कारणले, पृथ्वीमा हुनेहरूलाई धिक्कार! धिक्कार! धिक्कार!’ ”—प्रकाश ८:१३.
४२. उडिरहेको गरुडले के लाई चित्रित गरेको हुन सक्छ र त्यसले के सन्देश दिन्छ?
४२ टाढा टाढाका मानिसहरूले पनि देख्न सकून् भनेर गरुड माथिमाथि आकाशमा उड्छ। त्यसको दृष्टि अत्यन्त तीब्र हुन्छ र त्यसले आफ्नो अगाडि धेरै टाढासम्म देख्न सक्छ। (अय्यूब ३९:२९) परमेश्वरको सिंहासनको वरिपरि उभिने चारवटा जीवित जीवात अर्थात् करुब मध्ये एउटालाई चाहिं उड्ने गरुडले चित्रित गरेको थियो। (प्रकाश ४:६, ७) अब यही करुबले हो कि परमेश्वरको अर्को कुनै दूरदर्शी विश्वासी सेवकले हो, यसो भन्दै एउटा प्रभावकारी सन्देश चर्को स्वरमा घोषित गर्न थाल्छ: “हाय, हाय, हाय!” पृथ्वीका बासिन्दाहरूले यो सम्झिराखून् कि तुरहीका बाँकी तीनवटा आवाजहरू यी तीन अभिशापहरूसित सम्बन्धित् छन्।
-
-
प्रथम अभिशाप—सलहहरूप्रकाश—त्यसको चरमोत्कर्ष निकट!
-
-
१. स्वर्गदूतहरूले तुरही फुक्नासाथै कसले पनि पछिबाट आफ्नो काम गर्छन् र पाँचौं तुरहीको फुकाइद्वारा के घोषणा हुन्छ?
पाँचौं स्वर्गदूतले तुरही फुक्ने तयारी गर्छन्। चार वटा स्वर्गीय तुरहीहरू त फुकि सकेका छन्। पृथ्वीको तेस्रो भाग अर्थात् यहोवाको नजरमा सबैभन्दा दोषी मसीहीजगतमाथि चारवटा विपत्तिहरू पनि पठाइ सकियो। उसको मरणासन्न रोगी अवस्था सबैलाई प्रकट गराइएको छ। माथि स्वर्गदूतहरूले तुरही फुक्नासाथै, पृथ्वीमा मानव सन्देशवाहकहरूले पनि आफ्नो काम गर्छन्। अब पाँचौं स्वर्गदूतले तुरही फुकेर प्रथम अभिशाप घोषणा गर्नै लागेका छन्। यो विपत्ति पहिलेका विपत्तिहरूभन्दा धेरै नै डरलाग्दो छ। यो विपत्ति सलहहरूको भयानक आक्रमणसित सम्बन्धित छ। तर पहिले हामी केही शास्त्रपदहरू हेरौं जसले हामीलाई यो विपत्ति अझ राम्ररी बुझ्ने मदत दिनेछ।
२. यूहन्नाले देखेका जस्तै सलहहरूको आक्रमण बाइबलको अर्को कुन पुस्तकमा पनि वर्णन गरिएको छ र त्यसले प्राचीन इस्राएलमाथि के कस्तो असर पारेको थियो?
२ सा.यु.पू. नवौं शताब्दीमा लेखिएको बाइबल पुस्तक योएलमा सलहहरू लगायत अन्य कीराहरूको आक्रमण वर्णित छ। यो विपत्ति यूहन्नाले देखेको विपत्तिसित मिल्दोजुल्दो छ। (योएल २:१-११, २५)a उक्त विपत्तिले धर्मत्यागी इस्राएलीहरूलाई निकै नै पिरोल्ने थियो। तर त्यसको परिणास्वरूप केही यहूदीहरू व्यक्तिगत रूपमा पश्चात्तापी भएर फेरि यहोवाको अनुग्रहका पात्रहरू बन्ने थिए। (योएल २:६, १२-१४) त्यो समय आएपछि यहोवाले एकातिर “सबै [प्रकारका मानिसहरू, NW]” माथि पवित्र आत्मा खन्याउनु हुँदा “परमप्रभुको महा र भयङ्कर दिन”-बारे अग्रिमसूचना दिने डरलाग्दा र आश्चर्यमय घटनाहरू पनि घट्ने थिए।—योएल २:११, २८-३२.
प्रथम शताब्दीको विपत्ति
३, ४. (क) योएल दोस्रो अध्यायमा लेखिएको कुरा कहिले र कसरी पूरा भयो? (ख) सा.यु. प्रथम शताब्दीमा तांतीका तांती सलहहरूको जस्तै आक्रमण कुन अर्थमा हुन गयो र त्यो आक्रमण कहिलेसम्म चल्यो?
३ योएलको दोस्रो अध्यायमा लिखित कुराहरू प्रथम शताब्दीमा पूरा भएको थिए। त्यतिखेर, पेन्तिकोसको दिन सा.यु. ३३-मा पवित्र आत्मा खन्याएर मसीहीहरूलाई प्रथम पटक अभिषेक गरियो। यसले गर्दा थुप्रै भाषाहरूमा परमेश्वरका “महाकार्यहरूका विषयमा” कुरा गर्ने तिनीहरूले शक्ति पाए। परिणामस्वरूप त्यहाँ एउटा ठूलो भीड जम्मा भयो। ती चकित दर्शकहरूले योएल २:२८, २९का शब्दहरूको पूर्ति देखिरहेका छन् भनी प्रेरित पत्रुसले सोही शास्त्रपदहरू उद्धृत गर्दै तिनीहरूलाई बुझाइ दिए। (प्रेरित २:१-२१) तर त्यहाँ साँच्चैका कीराहरूको आक्रमणले गर्दा मानिसहरू पीडित भएका अथवा कुनै कुनैले चाहिं पश्चात्ताप गरेको कुनै लेखा छैन।
४ के ती दिनहरूमा कुनै लाक्षणिक विपत्ति आएको थियो त? हो, अवश्य आएको थियो! त्यो विपत्ति भर्खरै अभिषिक्त मसीहीहरूको अटुट प्रचार अभियानले गर्दा आएको थियो।b यहोवाले यी अभिषिक्त मसीहीहरूद्वारा नै सुन्ने, पश्चात्ताप गर्ने र उहाँको आशिष थाप्ने यहूदीहरूलाई निम्त्याउनु भयो। (प्रेरित २:३८-४०; ३:१९) यो निम्तो स्वीकार्ने व्यक्तिहरू उहाँको ठूलो अनुग्रहका पात्र हुन सके। तर निम्तो अस्वीकार गर्नेहरूका लागि चाहिं प्रथम शताब्दीका ती मसीहीहरू सखाप पार्ने सलहहरूको धुइरोजस्तै भए। ती मसीहीहरू यरूशलेमदेखि सारा यहूदिया र सामरियासम्मै फैलिए। चाँडै तिनीहरू जताततै थिए। येशूको पुनरुत्थान र त्योसित सम्बन्धित सबै कुरा खुल्लमखुल्ला धोषणा गर्दै विश्वास नगर्ने यहूदीहरूलाई तिनीहरूले पिरोल्न थाले। (प्रेरित १:८; ४:१८-२०; ५:१७-२१, २८, २९, ४०-४२; १७:५, ६; २१:२७-३०) यो पिरोल्ने काम सा.यु. ७० अर्थात् त्यो “भयङ्कर दिन”सम्मै चलिरह्यो जब यहोवाले यरूशलेमलाई नाश गर्न रोमी सेनाहरू पठाउनु भयो। विश्वाससाथ यहोवाको नाउँ पुकार्ने मसीहीहरू मात्र बाँच्न सके।—योएल २:३२; प्रेरित २:२०, २१; हितोपदेश १८:१०.
-