प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मीठो-र-तीतो सन्देश
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
    • १५. स्वर्गबाट निस्कने स्वर र ती बलिया स्वर्गदूतले यूहन्‍नालाई के भन्छन्‌ र यसले यूहन्‍नामाथि के असर पार्छ?

      १५ यो सातौं तुरहीको आवाज र परमेश्‍वरको पवित्र रहस्यको समापनको प्रतीक्षा यूहन्‍नाले गरिरहेको बेलामा उनलाई यो थप काम दिइन्छ: “औ स्वर्गबाट मैंले सुनेको आवाज फेरि मसँग यसो भनेर बोलिरहेको मैले सुनें, ‘जाऊ, समुद्र र पृथ्वीमा उभिने दूतको हातमा भएको खुला पुस्तक लेऊ।’ अनि म ती दूतकहाँ गएर त्यो सानो पुस्तक तिनले मलाई दिऊन्‌ भनेर मैले तिनलाई भनें। औ तिनले मलाई भने, ‘यो लेऊ, र यसलाई खाइहाल, र यसले तिम्रो पेट तीतो गराउनेछ, तर तिम्रो मुखमा ता त्यो महजस्तै हुनेछ।’ औ मैले ती दूतका हातबाट त्यो सानो पुस्तक लिएँ, र खाएँ। मेरो मुखमा त्यो महजस्तै गुलियो भयो। त्यो खाएपछि मेरो पेट तीतो भइहाल्यो। अनि मलाई यो भनियो, ‘तिमीले धेरै मानिसहरू, जातिहरू, भाषाहरू र राजाहरूका विषयमा अगमवाणी बोल्नुपर्नेछ।’ ”—प्रकाश १०:८-११.

      १६. (क) इजकिएल अगमवक्‍ताको अनुभव र यूहन्‍नाको अनुभव कसरी मिल्दोजुल्दो छन्‌? (ख) त्यो सानो पुस्तक यूहन्‍नालाई किन गुलियो लाग्यो तर पचाउँदा चाहिं त्यो किन तीतो थियो?

      १६ यूहन्‍नाको अनुभव र बेबिलोनको निर्वासनमा हुँदा अगमवक्‍ता इजकिएलले गरेको अनुभव दुवै मिल्दाजुल्दा छन्‌। इजकिएललाई पनि मुखमा गुलियो लाग्ने पुस्तक खान लगाइएको थियो। तर त्यसले पेट भरिएपछि इस्राएलको विद्रोही घरानाबारे तीता कुराहरू अग्रिमवाणी गर्न उनी बाध्य भएका थिए। (इजकिएल २:८–३:१५) यस्तैगरी, महिमित येशू ख्रीष्टले यूहन्‍नालाई दिनु भएको खुला पुस्तक एउटा ईश्‍वरीय सन्देश हो। यूहन्‍नाले “जातिहरू, राजाहरू र भाषाहरू”-बारे प्रचार गर्नुपर्छ। त्यो पुस्तक खाँदा उनलाई गुलियो लाग्छ किनभने त्यसको स्रोत ईश्‍वरयी हो। (भजन ११९:१०३; यर्मिया १५:१५, १६-सित तुलना गर्नुहोस्‌।) तर त्यसलाई पचाउँदा चाहिं उनलाई, इजकिएललाई जस्तै गरी, तीतो लाग्छ किनभने त्यसमा विद्रोही मानिसहरूका लागि नमीठा अग्रिमवाणीहरू छन्‌।—भजन १४५:२०.

      १७. (क) यूहन्‍नालाई “फेरि” भविष्यवाणी गर्न अह्राउनेहरू को को हुन्‌ र यसको अर्थ के हो? (ख) यूहन्‍नाले देखेको प्रभावकारी दृश्‍य कहिले पूरा हुनेवाला थियो?

      १७ यूहन्‍नालाई फेरि भविष्यवाणी भन्‍न अह्राउने व्यक्‍तिहरू निश्‍चय पनि यहोवा परमेश्‍वर र येशू ख्रीष्ट नै हुनुहुन्छ। पतमोसको टापुमा निर्वासित भए तापनि यूहन्‍नाले प्रकाशको पुस्तकमा अझसम्म लेखिएका कुराहरूद्वारा मानिसहरू, राष्ट्रहरू, भाषाहरू र राजाहरूबारे भविष्यवाणी गरी सकेका छन्‌। अतः यहाँ “फेरि” शब्दको अर्थ चाहिं उनले प्रकाशको पुस्तकमा लिपिबद्ध बाँकी कुराहरूलाई पनि लेखेर प्रकाशित गर्नुपर्छ। तर याद गर्नुहोस्‌, यूहन्‍नाले यो भविष्यसूचक दर्शनमा स्वयं भाग लिइरहेका छन्‌। उनले लेखेका कुराहरू वास्तवमा एउटा भविष्यवाणी हो, जो १९१४ पछि पूरा हुनेछ। त्यतिखेर ती बलवान स्वर्गदूतले पृथ्वी र समुद्रमाथि आफ्नो पाइला राखेर उभिएका हुनेछन्‌। अतः यो प्रभावकारी चित्रणले आज यूहन्‍नावर्गका लागि के अर्थ राख्तछ?

      आजको सानो खुला पुस्तक

      १८. प्रभुको दिनको सुरुसुरुमा यूहन्‍नावर्गले प्रकाशको पुस्तकमा के कस्तो चासो देखाए?

      १८ यूहन्‍नाले अब देखेका कुराहरू प्रभुको दिनको सुरुसुरुमा यूहन्‍नावर्गको अनुभवका विशेष पूर्वचित्रण हुन्‌। तिनीहरूले त्यतिखेर यहोवाका उद्देश्‍यहरू र ती सातवटा गर्जनहरूको अर्थ सम्पूर्ण रीतिले बुझेका थिएनन्‌। तापनि, प्रकाशको पुस्तकमा तिनीहरूको गहिरो चासो थियो र त्यसका विभिन्‍न भागहरूमाथि चार्ल्स टेज रसलले आफ्नो जीवनकालमा केही टिप्पणीहरू पनि लेखेका थिए। १९१६-मा उनको मृत्युपश्‍चात्‌ उनका लेखहरूलाई जम्मा गरेर द फिनिश्‍ड मिस्ट्री नामक पुस्तकमा प्रकाशित पनि गरियो। तर केही समयपछि यो पुस्तक प्रकाशको पुस्तकको व्याख्या गर्नमा असन्तोषजनक साबित भयो। यो ईश्‍वर प्रेरित पुस्तकलाई सही ढङ्‌गमा बुझ्नका लागि त्यहाँ उल्लिखित दर्शनहरू पूरा हुन नथालेसम्म ख्रीष्टका भाइहरूले अझ केही समयसम्म पर्खनु पऱ्‍यो।

      १९. (क) सात गर्जनहरू पूर्णतया प्रकाश हुनुभन्दा अघि नै यूहन्‍नावर्गलाई यहोवा परमेश्‍वरले कसरी प्रयोग गर्नुभयो? (ख) यूहन्‍नावर्गलाई त्यो सानो खुला पुस्तक कहिले दिइयो र तिनीहरूका लागि यसले के अर्थ राख्यो?

      १९ तथपि, यूहन्‍नालाई जस्तै तिनीहरूलाई पनि यहोवाले सातवटा गर्जनहरूको आवाज प्रकाशित हुनुभन्दा अघि नै प्रयोग गर्नुभयो। तिनीहरूले १९१४-भन्दा ४० वर्षअघि देखि नै परिश्रमी भएर प्रचार गरेका थिए। प्रथम विश्‍वयुद्धको दौडान सक्रिय रहन तिनीहरूले सङ्‌घर्ष गरेका थिए। मालिक आइपुग्दा उहाँको परिवारलाई ठीकठीक समयमा तिनीहरूले नै खाना दिइरहेका थिए। (मत्ती २४:४५-४७) अतः १९१९-मा त्यो सानो खुला पुस्तक अर्थात्‌ मानिसजातिलाई प्रचार गर्नुपर्ने खुला सन्देश पनि तिनीहरूलाई नै दिइयो। इजकिएललाई दिएको सन्देशजस्तै तिनीहरूलाई सुम्पिएको सन्देश पनि एउटा अविश्‍वासी सङ्‌गठन अर्थात्‌ मसीहीजगतका लागि थियो जसले परमेश्‍वरको सेवा गर्ने दाबी गरे तापनि वास्तवमा गरेको चाहिं थिएन। यूहन्‍नालेझैं येशूका भाइहरूले पनि “मानिसहरू, जातिहरू, भाषाहरू र राजाहरू” बारे अझ प्रचार गर्नु परेको थियो।

      २०. यूहन्‍नाले त्यो पुस्तक खानु कुन कुराको चित्रण थियो?

      २० यो काम गर्न उनीहरू पछि राजी भएको कुरा यूहन्‍नाले पुस्तक खाएर चित्रित गरे। यो काम यूहन्‍नावर्गको अभिन्‍न भाग हुन गयो। परमेश्‍वरको प्रेरित वचनको यस भागसित तिनीहरू सम्पूर्णतः संलग्न भए। सोही वचनबाट तिनीहरूले पौष्टिक शक्‍ति लिने गरे। तर तिनीहरूले प्रचार गर्ने ईश्‍वरीय न्यायवचनहरू चाहिं धेरै जसो मानिसहरूका लागि नमीठो हुने थियो। किनकि यी वचनहरूमा प्रकाशको आठौं अध्यायमा अग्रिमवाणी गरिएका विपत्तिहरू सम्मिलित थिए। तथापि, इमान्दार मसीहीहरूलाई चाहिं ती न्याय वचनहरूबारे थाहा हुनु र ती घोषित गर्नका लागि परमेश्‍वरकै हातमा प्रयोग हुन पाउनु वास्तवमा एउटा मीठो अनुभव थियो।—भजन १९:९, १०.

      २१. (क) सानो पुस्तकको सन्देश ठूलो भीडका लागि पनि कसरी मीठो साबित भएको छ? (ख) विरोधीहरूका लागि सुसमाचार किन खराब समाचार हो?

      २१ समयमा यो पुस्तकको सन्देश “हरेक जाति, कुल र मानिस र भाषा भाषाहरूको . . . ठूलो भीड”लाई पनि गुलियो लाग्न थाल्यो। यिनीहरू ती व्यक्‍तिहरू थिए जो मसीहीजगतमा विद्यमान घृणास्पद कुराहरूको कारण पीडित थिए। (प्रकाश ७:९; इजकिएल ९:४) अब यिनीहरूले पनि जोडतोडका साथ सुसमाचार प्रचार गर्छन्‌। मीठा मीठा शब्दहरू प्रयोग गर्दै यिनीहरूले भेडा खालका मसीहीहरूका लागि यहोवाका अद्‌भुत प्रबन्धहरूको वर्णन गर्छन्‌। (भजन ३७:११, २९; कलस्सी ४:६) तर विरोधीहरूका लागि यो खराब समाचार हो। किन? किनभने जुन व्यवस्थामा तिनीहरूले भरोसा गरेका छन्‌, त्यसले मात्र क्षणिक सन्तोष प्रदान गरेको भए पनि, त्यो अब नष्ट हुनै पर्छ। तिनीहरूका लागि परमेश्‍वरको सुसमाचार नाशको समाचार हो।—फिलिप्पी १:२७, २८; व्यवस्था २८:१५-सित तुलना गर्नुहोस्‌; २ कोरिन्थी २:१५, १६.

  • दुई साक्षीहरूको पुनःजागरण
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
    • १. ती बलवान स्वर्गदूतले यूहन्‍नालाई के गर्न अह्राउँछन्‌?

      दोस्रो अभिशाप पूरा नहुँदै ती बलवान स्वर्गदूतले यूहन्‍नालाई अझ अर्को भविष्यसूचक प्रस्तुतिमा भाग लिने आह्वान दिन्छन्‌। यो प्रस्तुति मन्दिरसित सम्बन्धित छ। (प्रकाश ९:१२; १०:१) यूहन्‍नाको बयान यसप्रकार छ: “अनि नाप्ने डण्डाजस्तो एउटा निगालो मलाई दिइयो, र एउटाले भन्यो, ‘उठ, र परमेश्‍वरको मन्दिर, वेदी र त्यसमा पूज्नेहरूलाई नाप।’ ”—प्रकाश ११:१.

      मन्दिर

      २. (क) हाम्रो दिनसम्मै कुन चाहिं मन्दिर रहनेछ? (ख) मन्दिरको प्रधान पूजारी को हुनुहुन्छ र त्यसको अति-पवित्र स्थान चाहिं के हो?

      २ यहाँ उल्लिखित मन्दिर यरूशलेमको शाब्दिक मन्दिर हुन सक्‍तैन। किनभने यरूशलेमको आखिरी मन्दिरलाई त रोमीहरूले सा.यु. ७०-मा नष्ट पारेका थिए। तथापि, त्यो मन्दिर नष्ट हुनुभन्दा अघि नै प्रेरित पावलले आज हाम्रो दिनसम्मै कायम रहने एउटा अर्को मन्दिर अस्तित्वमा आएको चर्चा गरे। यो थियो त्यो महान आत्मिक मन्दिर, जसले उजाडस्थानका बासस्थान र यरूशलेममा निर्मित मन्दिरहरूका भविष्यसूचक विशिष्टताहरूलाई पूरा गर्थ्यो। त्यो कुनै “मानिसले खडा गरेको होइन तर प्रभुले खडा गर्नु भएको पवित्र स्थान” हो। त्यसको प्रधानपूजारी येशू हुनुहुन्छ जो प्रेरित पावलको बयानअनुसार “स्वर्गहरूमा महिमाको सिंहासनको दाहिने हाततिर . . . बस्नु” भएको छ। साथै, यस आत्मिक मन्दिरको अति पवित्र स्थान चाहिं स्वर्गमा यहोवाको उपस्थिति नै हो।—हिब्रू ८:१, २; ९:११, २४.

      ३. बासस्थानमा (क) पवित्र र अतिपवित्र स्थानलाई छुट्टयाउने पर्दा (ख) जनावरहरूको बलिदान र (ग) बलिदान चढाउने वेदी, सबैले कुनकुन कुरालाई चित्रित गरेका थिए?

      ३ बासस्थानको पवित्र स्थान र अति पवित्र स्थान बीच रहेको पर्दाले येशूको शरीरलाई चित्रित गर्छ भनेर प्रेरित पावलले व्याख्या गर्छन्‌। आफ्नो जीवन बलिदान चढाउनु हुँदा त्यो पर्दा दुई फ्याक भएर च्यातियो। यसबाट अब येशूलाई स्वर्गमा यहोवाको उपस्थितिको सामु जानदेखि उहाँको हाडमासुको शरीरले रोक्ने छैन भन्‍ने कुरा बोध भयो। साथै, मरणान्त विश्‍वासी रहने उहाँका अभिषिक्‍त उप-पूजारीहरूले पनि केही समयपछि येशूको बलिदानकै आधारमा स्वर्गमा प्रवेश पाउने भए। (मत्ती २७:५०, ५१; हिब्रू ९:३; १०:१९, २०) साथै, प्रेरित पावलको व्याख्याअनुसार मन्दिरमा चढाइने जनावरहरूको बलिदानले येशूको सिद्ध मानवीय जीवनको एक मात्र बलिदानलाई चित्रित गर्थ्यो। बलिदान चढाउने चोकको वेदी चाहिं यहोवाको इच्छा र प्रबन्धको एउटा प्रतीक थियो। यसैको आधारमा यहोवाले मुक्‍तिका लागि ‘येशूको प्रतीक्षा गर्ने’ ‘धेरै जनाको’ तर्फबाट अर्थात्‌ पहिले अभिषिक्‍त जनहरू र पछि अरू भेडाहरूको तर्फबाट येशूको बलिदान स्वीकार्नु हुने थियो।—हिब्रू ९:२८; १०:९, १०; यूहन्‍ना १०:१६.

      ४. (क) पवित्र स्थान र (ख) भित्रपट्टिको चोक कुन कुराको प्रतीक थिए?

      ४ अतः यस ईश्‍वर प्रेरित जानकारीअनुसार, बासस्थानको पवित्र स्थानले एउटा पवित्र अवस्थालाई चित्रित गर्छ भन्‍ने निष्कर्षमा हामी पुग्दछौं। त्यस पवित्र अवस्थाको आनन्द पहिले ख्रीष्ट र त्यसपछि राजकीय पूजारीहरूका १,४४,००० अभिषिक्‍त सदस्यहरूले पृथ्वीमा छँदै अर्थात्‌ “पर्दा” भित्र पस्नअघि नै उठाउँछन्‌। (हिब्रू ६:१९, २०; १ पत्रुस २:९) त्यो अवस्थाले तिनीहरू परमेश्‍वरका आत्मिक धर्मपुत्रहरूको रूपमा स्वीकृत भएको कुरा जनाउँछ। जस्तोगरी यर्दन नदीमा येशूले सा.यु. २९-को साल बप्तिस्मा लिनु भएपछि यहोवाले उहाँलाई आफ्नो पुत्र स्वीकार्नु भएको थियो। (लूका ३:२२; रोमी ८:१५) तर भित्री चोकबारे के भन्‍न सकिन्छ? बासस्थानको यो एकमात्र भाग थियो जसलाई गैरपूजारी इस्राएलीहरूले देख्न सक्थे र जहाँ बलिदानहरू पनि चढाइन्थ्यो। अब यस ठाउँले चाहिं येशूको मानव सिद्धतालाई बोध गराउँछ जसले गर्दा मानिसजातिका लागि आफ्नो जीवन बलिदान चढाउन उहाँ योग्यको हुनु भयो। यसै बलिदानको आधारमा अभिषिक्‍त जनहरू पृथ्वीमा छँदै धर्मी ठहरिन्छन्‌ र तिनीहरूको यो धार्मिक स्थितिलाई मन्दिरको भित्री चोकले चित्रित गर्थ्यो।a—रोमी १:७; ५:१.

      मन्दिरको नाप लिनु

      ५. हिब्रू शास्त्रका भविष्यवाणीहरूमा (क) यरूशलेमको नाप लिनु र (ख) इजकिएलले दर्शनमा मन्दिरको नाप लिनुको अर्थ के थियो?

      ५ यूहन्‍नालाई “परमेश्‍वरको मन्दिर, वेदी र त्यसमा पूज्नेहरूलाई” नाप्न अह्राइन्छ। यसको तात्पर्य के हो? हिब्रू शास्त्रमा उल्लिखित भविष्यवाणीहरूअनुसार यसरी नाप्नुको अर्थ यहोवाका सिद्ध स्तरहरूको आधारमा न्याय प्रदान गरिने ग्यारेन्टी हुन्थ्यो। दुष्ट राजा मनश्‍शेको पालोमा यरूशलेमलाई भविष्यसूचक ढङ्‌गमा नाप्नुको अर्थ त्यो शहर नाश हुनेछ भन्‍ने अकाट्य न्यायिक फैसलाको प्रमाण थियो। (२ राजा २१:१३; विलाप २:८) तर यर्मियाले पछि फेरि यरूशलेमलाई नापेको देख्दा चाहिं त्यो शहरको पुनर्निमाण हुन्छ भन्‍ने कुरा पक्का भयो। (यर्मिया ३१:३९; जकरिया २:२-८-पनि हेर्नुहोस्‌।) त्यस्तैगरी आफ्नो दर्शनमा देखा परेको मन्दिरलाई पनि विस्तृत ढङ्‌गमा नापेको इजकिएलले देखे। यसले चाहिं बेबिलोनमा रहेका यहूदी कैदीहरूलाई तिनीहरूको आफ्नो देशमा साँचो उपासना पुनःस्थापित हुनेछ भन्‍ने निश्‍चित आशा प्रदान गऱ्‍यो। साथै यसले ती इस्राएलीहरूलाई आफ्ना गलतीहरू ध्यानमा राख्दै परमेश्‍वरका पवित्रस्तरहरू अब उप्रान्त अपनाउने आवश्‍यकता पनि महसुस गरायो।—इजकिएल ४०:३, ४; ४३:१०.

      ६. यूहन्‍नाले मन्दिर र त्यसमा पूजनेहरूलाई नाप्नु कुन कुराको चिन्ह थियो? व्याख्या गर्नुहोस्‌.

      ६ अतः यूहन्‍नाले मन्दिर र त्यसमा पूज्नेहरूलाई नाप्ने आदेश पाउनु एउटा चिह्न थियो। त्यो चिह्न एउटा सङ्‌केत थियो कि मन्दिर र त्योसित सम्बन्धित व्यक्‍तिहरूबारे यहोवाका उद्देश्‍यहरूको पूर्तिलाई कुनै कुराले पनि रोक्न सक्‍तैन र ती उद्देश्‍यहरू पूरा हुने बेला पनि अब नजिक आइ सकेको छ। साथै, सबै कुरा यहोवाको बलवान स्वर्गदूतको पाउमनि राखिसकिएको हुनाकारण अब “परमप्रभुको भवन बसालिएको पर्वत” “सबै पर्वतहरूभन्दा उच्च” पारिने समय आएको छ। (यशैया २:२-४) हो, मसीहीजगतको शताब्दियौं लामो धर्मत्यागपछि अब यहोवाको शुद्ध उपासना उच्च पारिनु पर्छ। येशूका मृत विश्‍वासी भाइहरूलाई पनि पुनःजीवित पारेर “सर्वपवित्र स्थानमा” प्रवेश गराउने बेला आएको छ। (दानिएल ९:२४; १ थिस्सलोनिकी ४:१४-१६; प्रकाश ६:११; १४:४) साथै, पृथ्वीमा बाँकी रहेका “परमेश्‍वरका दासहरू”लाई पनि ईश्‍वरीय स्तरअनुसार जाँच्नु परेको छ। तिनीहरू त्यो मन्दिररूपी प्रबन्धमा सदासर्वदा परमेश्‍वरका आत्माद्वारा अभिषिक्‍त पुत्रहरू हुने योग्यको हुन परेका छन्‌। परमेश्‍वरका ती पवित्र स्तरहरूबारे आज यूहन्‍नावर्गलाई पूरा ज्ञान छ र ती स्तरबमोजिम जीवन बिताउने अठोट तिनीहरूले गरेका छन्‌।—प्रकाश ७:१-३; मत्ती १३:४१, ४२; एफिसी १:१३, १४; रोमी ११:२०-सित तुलना गर्नुहोस्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने