-
परमेश्वरको पवित्र रहस्य—त्यसको महिमावान चरमोत्कर्ष!प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
-
-
१२. (क) प्रकाश ११:१९-अनुसार यूहन्नाले स्वर्गमा के देख्छन्? (ख) वाचाको सन्दूक कुन कुराको प्रतीक रहेको थियो र इस्राएलीहरू बेबिलोनी कैदमा गएपछि उक्त सन्दूकलाई के भयो?
१२ यहोवाले शासन गर्नु हुँदैछ! आफ्नो मसीही राज्यद्वारा उहाँले मानिसजातिप्रति आफ्नो सार्वभौमिकतालाई अद्भुत ढङ्गमा व्यक्त गर्दै हुनुहुन्छ। यसको पुष्टि यूहन्नाले अब देख्ने कुराबाट हुन्छ: “अनि स्वर्गमा भएको परमेश्वरको मन्दिर खोलियो। औ उहाँको मन्दिरमा करारको सन्दूक देखियो, र त्यहाँ बिजुलीहरू, आवाजहरू, गर्जनहरू र भूकम्पहरू भए, र ठूला ठूला असिना पर्यो।” (प्रकाश ११:१९) प्रकाशको पुस्तकमा यो एक मात्र ठाउँ हो जहाँ परमेश्वरको वाचाको सन्दूकको चर्चा गरिएको छ। आफ्ना जन इस्राएलीहरूबीच यहोवाको उपस्थितिको दृश्य प्रतीकको रूपमा यो सन्दूक थियो। पहिले बासस्थानमा र पछि सुलेमानले बनाएको मन्दिरमा यसलाई महा पवित्र स्थानभित्र राखिन्थ्यो। तर इस्राएललाई सा.यु.पू. ६०७-मा कैदी बनाएर बेबिलोनमा लग्दा यरूशलेम उजाड पारियो र सन्दूक गायब भयो। यो त्यतिबेलाको कुरा हो जब दाऊदको घरानाका प्रतिनिधिहरू “परमप्रभुको सिंहासनमा” राजा भएर बस्न छाडे।—१ इतिहास २९:२३.a
१३. परमेश्वरको वाचाको सन्दूक अब परमेश्वरको स्वर्गीय मन्दिरमा देखा पर्नुको तात्पर्य के हो?
१३ अब करीब २,६०० वर्षपछि सन्दूक फेरि एक पटक देखा पर्छ। तर यूहन्नाको दर्शनमा यो सन्दूक कुनै पार्थिव मन्दिरमा छैन। यो सन्दूक परमेश्वरको स्वर्गीय मन्दिरमा देखा पर्छ। फेरि एक पटक यहोवा दाऊदकै शाही घरानाको एक जना राजाद्वारा शासन गर्नु हुँदैछ। तर यसपटक राजा येशू ख्रीष्ट स्वर्गीय यरूशलेमको सिंहासनमा विराजमान हुनुहुन्छ। उहाँ त्यो उच्च ठाउँमा हुनुहुन्छ जहाँबाट उहाँले यहोवाका न्यायिक फैसलाहरू कार्यान्वयन गर्न सक्नु हुनेछ। (हिब्रू १२:२२) उक्त न्यायिक फैसलाहरूलाई प्रकाशको पुस्तकका आउँदो अध्यायहरूले हाम्रा लागि स्पष्ट पारिदिनेछन्।
१४, १५. (क) प्राचीन यरूशलेममा वाचाको सन्दूकलाई कसले मात्र देख्न पाउँथ्यो र किन? (ख) परमेश्वरको स्वर्गीय मन्दिरमा वाचाको सन्दूकलाई कसकसले देख्न पाउनेछन्?
१४ प्राचीन पार्थिव यरूशलेममा नता आम इस्राएलीहरूले न मन्दिरमा सेवा गर्ने पूजारीहरूले नै सन्दूकलाई देख्थे। किनभने त्यो महा पवित्र स्थानमा राखिन्थ्यो र पवित्र स्थान तथा महा पवित्र स्थान बीचको पर्दाले गर्दा त्यसलाई बाहिरबाट देख्न सकिंदैन थियो। (गन्ती ४:२०; हिब्रू ९:२, ३) सालिन्दै प्रायश्चितको दिनमा प्रधानपूजारी महा पवित्र स्थानभित्र पस्दा उनले मात्र त्यो सन्दूकलाई देख्न सक्थे। तथापि स्वर्गको मन्दिर उघारिंदा चाहिं त्यो प्रतीकात्मक सन्दूकलाई यहोवाका प्रधान पूजारी येशू ख्रीष्टले मात्र होइन तर यूहन्ना लगायत जम्मै १,४४,००० उप-पूजारीहरूले देख्न सक्नेछन्।
१५ स्वर्गीय पुनरुत्थान पाउने प्रथम व्यक्तिहरूले यो प्रतीकात्मक सन्दूकलाई नजिकबाट देख्न पाउँछन्। किनभने तिनीहरू यहोवाको सिंहासन वरिपरि हुने २४ जना प्राचीनहरूकै भाग भएर बसेका छन्। साथै पृथ्वीमा हुने यूहन्नावर्गले यहोवाको आत्मिक मन्दिरमा उहाँको उपस्थितिलाई महसुस गर्न सक्छन् किनकि तिनीहरू उहाँको आत्माद्वारा प्रबुद्ध भएका छन्। यो अद्भुत घटनाबारे आम मानिसलाई सचेत तुल्याउने चिन्हहरू पनि देखिएका छन्। यूहन्नाको दर्शनमा बिजुलीहरू, आवाजहरू, गर्जनहरू, भूकम्पहरू र असिनाको चर्चा गरिएको छ। (प्रकाश ८:५-सित तुलना गर्नुहोस्.) यिनीहरूले केलाई चित्रित गर्छन्?
१६. कुन अर्थमा बिजुली चम्केको छ, आवाज र गर्जनहरू सुनिएका छन्, भूकम्प आएको छ र ठूलो असिना परेको छ?
१६ सन् १९१४-देखि धार्मिक गतिविधिमा ठूलो उथलपुथल मच्चेको छ। तर खुशीको कुरा के हो भने यो “भूकम्प”-का साथसाथै परमेश्वरको स्थापित राज्यबारे स्पष्ट सन्देश घोषित गर्ने समर्पित आवाजहरू पनि सुनिएका छन्। बाइबलमा आधारित गर्जनरूपी चेताउनीहरू पनि घोषित गरिएको छ। बिजुली चम्केझैं परमेश्वरको वचनमाथि अन्तरदृष्टि चम्काइएको छ र प्रकाशित गरिएको छ। मसीहीजगत र आम झूटा धर्महरूमाथि परमेश्वरको कडा “असिना” रूपी न्यायवचनहरू बज्रेका छन्। यी सबै कुराले मानिसहरूको ध्यानलाई आकर्षित गर्नु पर्ने थियो। तर दुःखको कुरा, येशूको पालोमा यरूशलेमका मानिसहरूले झैं आज पनि धेरै जसो मानिसहरू प्रकाशका चिह्नहरूको पूर्तिलाई बुझ्न असफल भएका छन्।—लूका १९:४१-४४.
१७, १८. (क) सातवटा स्वर्गदूतहरूद्वारा फुकिएको तुरहीले गर्दा समर्पित मसीहीहरूमाथि के जिम्मेवारी आइपरेको छ? (ख) मसीहीहरूले तिनीहरूको दायित्व कसरी पूरा गर्दैछन्?
१७ ती सात स्वर्गदूतहरूले आ-आफ्नो तुरही फुकेका फुकेकै छन्। यहाँ पृथ्वीमा हुनै लागेका ऐतिहासिक घटनाहरूको तिनीहरूले पूर्व सङ्केत दिन्छन्। तर यी उद्घोषणाहरूलाई निरन्तर घोषित गर्ने ठूलो जिम्मेवारी समर्पित मसीहीहरूको हो। अनि यस जिम्मेवारीलाई तिनीहरूले कति आनन्दपूर्वक पूरा गरी पनि रहेका छन्! यसको एउटा प्रमाण त सन् १९८६ देखि सन् २००५ का २० वर्षमा पाइन्छ। यस समयावधिभित्र तिनीहरूले सेवकाईमा दोब्बर बढी समय बिताए, अर्थात् ६८,०८,३७,०४२ घण्टा बढेर १,२७,८२,३५,५०४ घण्टा भयो। यो १०९ प्रतिशत वृद्धि थियो। साँच्चै नै, “सुसमाचारअनुसार परमेश्वरको रहस्य” “सारा पृथ्वीमा” फैलिरहेछ।—प्रकाश १०:७; रोमी १०:१८.
१८ अब परमेश्वरको राज्यका उद्देश्यहरू प्रकट हुँदै जाँदा अरू दर्शनहरूको बाटो हामी हेर्दछौं।
-
-
परमेश्वरको राज्य जन्मन्छ!प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
-
-
१. प्रकाश १२ देखि १४-सम्म वर्णित चिह्नहरू बुझ्न हाम्रा लागि कसरी मदतकारी हुन सक्छ?
परमेश्वरको पवित्र रहस्य उघारिएको छ। (प्रकाश १०:७) यहोवाको मसीहद्वारा उहाँको राज्य अब सक्रिय वास्तविकता हो। त्यसले शासन गर्छ! त्यसको उपस्थितिले शैतान र त्यसको सन्तानको विनाश घोषणा गर्छ। त्यसले परमेश्वरको स्वर्गीय सङ्गठनको सन्तानको महिमावान विजय सूचित गराउँछ। तथापि सातौं स्वर्गदूतले उनको तुरही फुक्ने काम सिध्याएका छैनन्। उनले तेस्रो अभिशापबारे अझ धेरै कुरा हामीलाई प्रकट गर्न बाँकी नै छ। (प्रकाश ११:१४) यो अभिशाप र परमेश्वरको पवित्र रहस्यको पूर्तिमा कुनकुन कुराहरू सम्मिलित छन्, सो राम्ररी बुझ्न हामीलाई प्रकाश १२-देखि १४-सम्म वर्णित चिह्नरूले मदत दिनेछन्।
२. (क) यूहन्नाले कुन ठूलो चिह्न देख्छन्? (ख) यो ठूलो चिह्नको अर्थ कहिले प्रकट गरियो?
२ यूहन्नाले अब एउटा यस्तो ठूलो चिह्न देख्छन् जसले परमेश्वरका सेवकहरूका लागि विशेष महत्त्व राख्तछ। यसबाट एउटा रोमाञ्चकारी भविष्यवाणीरूपी दर्शन सुरु हुन्छ। यस दर्शनको अर्थ द वाच टावर-को मार्च १, १९२५-को अङ्कमा “राष्ट्रको जन्म” भन्ने लेखद्वारा प्रथम पटक प्रकाशित गरिएको थियो। तत्पश्चात् १९२६-मा डेलिवरेन्स नामक पुस्तकमा यसको चर्चा फेरि गरिएको थियो। यहोवाको कामलाई अघि बढाउनमा बाइबलको यो ज्योतिर्मय समझ एउटा ऐतिहासिक मोड साबित भयो। अतः अब यो नाटकको वर्णन सुरुदेखि नै हामी यूहन्नालाई गर्न दिउँ: “अनि स्वर्गमा एउटा ठूलो चिह्न देखियो, अर्थात् सूर्य पहिरेकी, चन्द्र खुट्टामनि र शिरमा बाह्रवटा ताराको मुकुट लाएकी स्त्री देखियो। त्यो गर्भवती थिई र जन्माउने अवस्थाको पीडामा प्रसव वेदनाले कराउँदी रहिछ।”—प्रकाश १२:१, २.
३. स्वर्गमा देखा परेकी स्त्री को हुन्?
३ यूहन्नाले प्रथम प्रटक स्वर्गमा एउटी स्त्री देख्छन्। तर तिनी कुनै साँच्चैकी स्त्री चाहिं होइनन्। तिनी एउटा चिह्न अथवा प्रतीक मात्र हुन्। (प्रकाश १:१) तर तिनी कुन कुराको प्रतीक हुन्? प्रेरित भविष्यवाणीहरूमा स्त्रीहरूले कहिलकाहीं विशिष्ट व्यक्तिहरूसित “विवाहित” सङ्गठनहरूको प्रतिनिधित्व गर्छन्। हिब्रू शास्त्रमा इस्राएललाई यहोवा परमेश्वरकी पत्नी भनेर सम्बोधन गरिएको थियो। (यर्मिया ३:१४) युनानी शास्त्रमा अभिषिक्त मसीहीहरूको मण्डलीलाई ख्रीष्टको दुलही भनिन्छ। (प्राकश २१:९-१४) यूहन्नाले यहाँ देख्ने स्त्री पनि विवाहित छिन्। तिनी बच्चा जन्माउने अवस्थामा छिन्। तर तिनको पति को हुन्? तिनको बच्चा जन्मनासाथै “परमेश्वर र उहाँको सिंहासनमा उठाएर” लगिन्छ। (प्रकाश १२:५) अतः त्यो बच्चालाई स्वयं यहोवाले अपनाउनु हुन्छ। यसकारण, यूहन्नाले देखेकी ती स्त्री यहोवाकै प्रतीकात्मक पत्नी हुनुपर्छ।
४. परमेश्वरकी प्रतीकात्मक पत्नीका पुत्रहरू को हुन् र यूहन्नाले यहाँ देखेकी स्त्रीलाई प्रेरित पावलले कसरी सम्बोधन गर्छन्?
४ करीब आठ शताब्दीअघि यहोवाले यी प्रतीकात्मक पत्नीलाई सम्बोधन गर्दै यसो भन्नु भएको थियो: “औ तेरा सबै छोरा-छोरीहरू परमप्रभुबाट सिकाइएका हुनेछन्, र तेरा छोरा-छोरीहरूलाई ठूलो शान्ति मिल्नेछ।” (यशैया ५४:५, १३) येशूले यही भविष्यवाणी उद्धृत गर्नु भयो र ती छोराहरू चाहिं उहाँकै विश्वासी अनुयायीहरू हुन् भनी बुझाउनु भयो। यिनीहरूबाटै पछि गएर अभिषिक्त मसीहीहरूको मण्डली पनि बनियो। (यूहन्ना ६:४४, ४५) यसकारण, परमेश्वरका पुत्रहरू कहलाइने यस मण्डलीका सदस्यहरू परमेश्वरकी प्रतीकात्मक पत्नीका सन्तान पनि हुन्। (रोमी ८:१४) आवश्यक आखिरी जानकारी चाहिं प्रेरित पावलले यसो भन्दै थप्छन्: “तर माथिको यरूशलेमचाहिं स्वतन्त्र छ, जो हाम्री आमा हुन्।” (गलाती ४:२६) यसकारण यूहन्नाले देखेकी “स्त्री” नै “माथिको यरूशलेम” हो।
५. यहोवाकी प्रतीकात्मक पत्नीले १२ वटा ताराहरूको मुकुट लाएकी हुनाकारण, माथिको यरूशलेम वास्तवमा के हो?
५ तर माथिको यरूशलेम वास्तवमा हो के? पावलले तिनलाई “माथिको” भन्छन् र यूहन्नाले तिनलाई स्वर्गमै देख्छन्। यसकारण तिनी स्पष्टतः कुनै पार्थिव शहर होइनन्; नता तिनी “नयाँ यरूशलेम” नै हुन्। किनभने नयाँ यरूशलेम त यहोवाकी पत्नी नभएर येशूकी दुलही हुन्। (प्रकाश २१:२) तिनले १२ ताराहरूको मुकुट पनि लाएकी छिन्। यो सङख्या १२ सङ्गठनात्मक सम्पूर्णतासित सम्बन्धित छ।a यसकारण ती स्त्री स्वर्गको एउटा सङ्गठनात्मक प्रबन्ध हो भनेर ती १२ ताराहरूले सायद सङ्केत गरेको हुन सक्छ जस्तो कि प्राचीन यरूशलेम पनि पृथ्वीको एउटा सङ्गठनात्मक प्रबन्ध थियो। माथिको यरूशलेम आत्मिक व्यक्तिहरूले बनेको यहोवाको विश्वव्यापी सङ्गठन हो। यो सङ्गठनले एउटी पत्नीले झैं उहाँको सेवा गर्छिन् र उहाँका लागि सन्तान जन्माउँछिन्।
६. (क) यूहन्नाले देखेकी स्त्रीले सूर्य पहिरेकी, खुट्टामनि चन्द्रमा भएकी र ताराहरूको मुकुट लाएकी छन् भन्नुको तात्पर्य के हो? (ख) ती गर्भवती स्त्रीको प्रसव वेदना के को प्रतीक हो?
६ यूहन्नाले ती स्त्रीलाई सूर्य पहिरेकी र खुट्टामनि चन्द्रमा राखेकी देख्छन्। यसमाथि ताराहरूको मुकुट लगाएपछि त तिनी चारैतिरबाट स्वर्गीय ज्योतिले घेरिएकी हुन्छिन्। तिनीमाथि दिन-रात परमेश्वरको अनुग्रह चम्कन्छ। तिनी यहोवाको भव्य स्वर्गीय सङ्गठनको कति उपयुक्त प्रतीक हुन्! तिनी गर्भवती पनि छिन्। प्रसव वेदनाले तिनी पीडित छिन्। तिनले जन्म दिने बेला आइ पुगेको छ। तिनी ईश्वरीय मदद माग्दै चिच्याउँछिन्। बाइबलमा प्रसव वेदनाले अक्सर कुनै महत्त्वपूर्ण परिणामका लागि गर्नु पर्ने कडा मेहनतलाई चित्रित गर्छ। (भजन ९०:२; हितोपदेश २५:२३; यशैया ६६:७, ८-सित तुलना गर्नुहोस्।) यहोवाको स्वर्गीय सङ्गठनले यो ऐतिहासिक जन्मका लागि तरखर गर्दा यसप्रकारका प्रसव वेदनाहरू निःसन्देह अनुभव गरिएको थियो।
-