-
यहोवाका कार्यहरू—महान र अद्भुतप्रकाश—त्यसको चरमोत्कर्ष निकट!
-
-
१७. यूहन्नाले हामीलाई मन्दिरबारे के भन्छन् र यसले हामीलाई प्राचीन इस्राएलको मन्दिरबारे कुन कुराको सम्झना गराउँछ?
१७ अन्ततः दर्शनको यस भाग समाप्त गर्दै यूहन्ना हामीलाई भन्छन्: “त्यो मन्दिर परमेश्वरको महिमा र उहाँको शक्तिबाट आउने धुवाँले भरियो। ती सात स्वर्गदूतका सात विपत्ति नसिद्धिउञ्जेल कोही पनि मन्दिरभित्र पस्नसकेनन्।” (प्रकाश १५:८) इस्राएलीहरूको इतिहासमा केही यस्ता समयहरू पनि हुन्थे जब शाब्दिक मन्दिरलाई बादलले ढाक्ने गर्थ्यो। यहोवाको महिमा यसरी प्रकट भएको बेलामा त्यहाँभित्र पूजारीहरू पस्नै सक्तैन थिए। (१ राजा ८:१०, ११; २ इतिहास ५:१३, १४; यशैया ६:४, ५-तुलना गर्नुहोस्।) ती समयसालहरूमा यहोवाले पृथ्वीका गतिविधिहरूमा सक्रिय भाग लिने गर्नुहुन्थ्यो।
१८. सात स्वर्गदूतहरू यहोवाको सामु रिपोर्ट दिन कति बेला मात्र फर्कनेछन्?
१८ तर पृथ्वीमा भइरहेका कुराहरूमा यहोवाले आज पनि गहिरो रुचि लिनु हुन्छ। ती सात स्वर्गदूतहरूले आफ्नो काम पूरा गरेको उहाँ चाहनु हुन्छ। न्याय गर्ने समयको यो चरमोत्कर्ष हो। यसको वर्णन भजन ११:४-६-मा यसप्रकार गरिएको छ: “परमप्रभु आफ्ना पवित्र मन्दिरमा हुनुहुन्छ, परमप्रभुको सिंहासन स्वर्गमा छ। मानिसका सन्तानलाई उहाँले हेर्नुहुन्छ, मानिसहरूको परीक्षा उहाँ नियालेर गर्नुहुन्छ। परमप्रभुले धर्मात्माको परीक्षा गर्नुहुन्छ, तर दुष्ट र अत्याचार निको मान्नेलाई उहाँको आत्माले घृणा गर्छ। दुष्टहरूमाथि उहाँ पासो वर्षाउनुहुन्छ। आगो, गन्धक र प्रचण्ड लूह तिनीहरूको कचौराको भाग हुनेछ।” दुष्टहरूमाथि यी सात विपत्ति नखनाउञ्जेल ती सात स्वर्गदूतहरू यहोवाको सर्वोत्कृष्ट उपस्थितिको सामु फर्कनेछैनन्।
१९. (क) के आदेश आउँछ र कसबाट? (ख) सात प्रतीकात्मक कचौराहरू खन्याउने काम कहिले सुरु भएको हुनुपर्छ?
१९ डरलाग्दो आदेश अब बादलको गर्जनजस्तै गुञ्जायमान हुन्छ: “अनि ती सातवटा स्वर्गदूतलाई मन्दिरबाट यसो भनिरहेको एउटा ठूलो सोर मैले सुनें, ‘तिमीहरू जाओ, र परमेश्वरको क्रोधका सात कचौरा पृथ्वीमा खन्याओ।’ ” (प्रकाश १६:१) यो आदेश दिने को हुनुहुन्छ? उहाँ निश्चय स्वयं यहोवा हुनुपर्छ किनभने उहाँकै ज्योतिर्मय महिमा र शक्तिले गर्दा मन्दिरभित्र कोही पनि पस्न पाएनन्। यहोवा आफ्नो आत्मिक मन्दिरमा न्याय गर्नका लागि १९१८-मा आउनुभयो। (मलाकी ३:१-५) सायद सोही सालको थोरै समयपश्चात्त् नै उहाँले परमेश्वरको क्रोधको कचौरा खन्याउने आदेश दिनु भएको हुनुपर्छ। यथार्थमा ती प्रतीकात्मक कचौराहरूमा भएका न्यायवचनहरू १९२२-देखि जोडतोडका साथ घोषणा हुन थाल्यो। र तिनीहरूको घोषणाको आवाज आज झन्झन् चर्कंदो छ।
कचौराहरू र तुरहीको आवाज
२०. यहोवाको क्रोधका कचौराहरूले के प्रकट गर्छन्, कुन कुराको चेताउनी दिन्छन् र ती कसरी खन्याइन्छ?
२० यहोवाको क्रोधका कचौराहरूले विश्व-घटनाहरूका केही विशेषताहरूमाथि यहोवाको दृष्टिकोण प्रकट गर्छन् र तिनीहरूमाथि यहोवाको न्याय कार्यान्वयनबारे चेताउनी दिन्छन्। पृथ्वीमा मोशा र थुमाको भजन गाउने अभिषिक्त मसीहीहरूको मण्डलीको माध्यमद्वारा ती स्वर्गदूतहरूले कचौराहरू खन्याउने गर्छन्। परमेश्वरको राज्य सुसमाचार हो भनी घोषणा गर्दा यूहन्नावर्गले ती क्रोधका कचौराहरूमा भएका कुराहरूलाई पनि निडरतासाथ प्रकट गरी दिएका छन्। (मत्ती २४:१४; प्रकाश १४:६, ७) यसप्रकार तिनीहरूको दुई-धारे सन्देश मानिसजातिलाई मुक्तिको खबर दिने बेलामा शान्तिको सन्देश हुन्छ भने “हाम्रो परमेश्वरको बदला दिने दिन”को घोषणा गर्ने बेलामा चाहिं युद्धको सन्देश हुन जान्छ।—यशैया ६१:१, २.
२१. परमेश्वरको क्रोधका प्रथम चार कचौराहरूको तारो र प्रथम चार तुरहीका आवाजहरूबीच के समानता र के भिन्नता छ?
२१ प्रथम चारवटा तुरहीका तारोहरू अर्थात् पृथ्वी, समुद्र, नदी, पानीका फोहोराहरू र ज्योतिका स्वर्गीय स्रोतहरूमै परमेश्वरको क्रोधका प्रथम चारवटा कचौराहरू खन्याइन्छन्। (प्रकाश ८:१-१२) तर तुरहीका आवाजहरूले “तेस्रो” भागमाथि मात्र विपत्ति घोषणा गरेका थिए। जबकि परमेश्वरको क्रोधका कचौराहरू खन्याएको असर चाहिं व्यापक हुनेछ। प्रभुको दिनमा “तेस्रो” भाग अर्थात् मसीहीजगतमाथि प्रथमतः ध्यान केन्द्रित गरिए तापनि यहोवाको पीडादायी न्यायवचनहरू र तिनले गर्दा भोग्नु पर्ने सङ्कष्टबाट चाहिं शैतानको रीतिरिवाजको कुनै पनि भाग उम्कन पाउनेछैन।
२२. आखिरी तीन तुरहीका आवाजहरू कसरी भिन्न थिए र ती यहोवाको क्रोधका तीन अन्तिम कचौराहरूसित कसरी सम्बन्धित छन्?
२२ अन्तिम तीनवटा तुरहीका आवाजहरू बेग्लै थिए। तिनीहरूलाई अभिशाप भनिएको थियो। (प्रकाश ८:१३; ९:१२) तीमध्ये प्रथम दुई अभिशापहरूमा सलहहरू र घोडाहरूका घोडचढीहरूले विशेष भूमिका निभाए। तेस्रो अभिशापले चाहिं यहोवाको राज्यको जन्मलाई घोषित गऱ्यो। (प्रकाश ९:१-२१; ११:१५-१९) हामीले देख्नेछौं उहाँको क्रोधका अन्तिम तीनवटा कचौराहरूले पनि यही विषयका केही पक्षहरूलाई नै ढाक्छन्। तापनि तिनीहरू ती तीन अभिशापहरूभन्दा अलिक बेग्लै छन्। अब यहोवाको क्रोधका कचौराहरू खन्याइँदा प्रकट हुने अद्भुत कुराहरूप्रति हामी विशेष ध्यान दिउँ।
-
-
परमेश्वरको क्रोधको समापनप्रकाश—त्यसको चरमोत्कर्ष निकट!
-
-
१. सातै कचौराहरू खन्याइ सकेपछि के भइ सकेको हुनेछ र ती कचौराहरूबारे अब के प्रश्नहरू उठ्छन्?
यूहन्नाले सातवटा कचौराहरू खन्याउन नियुक्त भएका स्वर्गदूतहरूको परिचय दिइ सकेका छन्। उनी भन्छन् यी नै “आखिरी सात विपत्ति” हुन् र “तिनीहरूमै परमेश्वरको क्रोध समाप्त” हुनेछ। (प्रकाश १५:१; १६:१) पृथ्वीको दुष्टतामाथि यहोवाको सजाय प्रकट गर्ने यी विपत्तिहरू सम्पूर्णतः खन्याउनै पर्छ। तिनीहरू पूरै खन्याइ सक्दा परमेश्वरको न्याय कार्यान्वयन भइसकेको हुनेछ। शैतानी संसार रहने छैन! मानिसजाति र वर्तमान दुष्ट रीतिरिवाजका शासकहरूका लागि यी विपत्तिहरूले के अर्थ राख्तछन्? यो नाशवान संसारसित ती विपत्तिहरू नभोग्न मसीहीहरूले के गर्नुपर्छ? यी अत्यावश्यक प्रश्नहरू हुन् र अब तिनको जवाफ पाउने बेला पनि आइपुगेको छ। यूहन्नाले अब उप्रान्त देख्ने कुरा धार्मिकताका सबै प्रेमीहरूका लागि गहिरो रुचिको विषय हुनेछ।
“पृथ्वीको” विरुद्धमा यहोवाको क्रोध
२. प्रथम स्वर्गदूतले आफ्नो कचौरा पृथ्वीमा खन्याउँदा के हुन्छ र यहाँ “पृथ्वी”-ले के चित्रित गर्छ?
२ प्रथम स्वर्गदूत अघि बढ्छन्! “औ पहिलो गएर आफ्नो कचौरा पृथ्वीमा खन्याए, र त्यसले गर्दा त्यस जानवरको छाप हुने, र त्यसको मूर्तिलाई पूजा गर्ने मानिसहरूलाई खराब र डरलाग्दो घाउ खटीरा लाग्यो।” (प्रकाश १६:२) प्रथम तुरही फूकेको बेलामा जस्तै यहाँ पनि “पृथ्वी”-ले करीब ४,०००-वर्षअघि निम्रोदको पालोदेखि शैतानद्वारा निर्मित र हेर्नमा स्थायी देखिने राजनैतिक व्यवस्थालाई चित्रित गर्दछ।—प्रकाश ८:७.
३. (क) थुप्रै सरकारहरूले आफ्ना प्रजाहरूबाट उपासनाको माँग कसरी गरेका छन्? (ख) राष्ट्रहरूले परमेश्वरको राज्यको ठाउँमा कसलाई राखेका छन् र त्यसको उपासना गर्नेहरूमाथि के असर पर्छ?
३ यी अन्तिम दिनहरूमा थुप्रै सरकारहरूले आफ्नो प्रजाबाट उपासनाकै माग गरेका छन्। ईश्वरभक्ति तथा अरू कुनै पनि भक्तिभन्दा देशभक्तिलाई नै प्रथम स्थान दिनु पर्छ भनी तिनीहरूले जिद् गरेका छन्। (२ तिमोथी ३:१; लूका २०:२५-तुलना गर्नुहोस्; यूहन्ना १९:१५) आफ्ना युवकहरूलाई युद्धका लागि जबरजस्ती भर्ना गर्ने तथा तिनीहरूलाई युद्धको निम्ति तयार राख्ने काम १९१४-देखि राष्ट्रहरूले सामान्यतः गर्न थालेका छन्। खासगरी ती ठूलठूला युद्धका लागि जसले आधुनिक इतिहासको पानालाई रगताम्य पारिदिएको छ। प्रभुको दिनमा परमेश्वरको राज्यको ठाउँमा राष्ट्रहरूले जानवरको मूर्ति अथवा राष्ट्र सङ्घ र त्यसको उत्तराधिकारी संयुक्त राष्ट्रलाई राखिदिएका छन्। यो मानव निर्मित सङ्घ शान्तिको एक मात्र आशा हो भनी हालसालैका पोपहरूले झैं घोषित गर्नु ईश्वरनिन्दा हो! यो सङ्घले परमेश्वरको राज्यको घोर विरोध गर्छ। त्यसको पूजा गर्ने सबै जना आत्मिक तवरमा अशुद्ध र घावैघावले भरिएका हुन्छन्। जसरी मोशाको पालोमा यहोवाको विरोध गर्ने मिस्रीहरू पनि अनेक थरीको घावले पिडित भए।—प्रस्थान ९:१०, ११.
४. (क) परमेश्वरको क्रोधको प्रथम कचौराले कुन कुरामाथि विशेष जोड दिन्छ? (ख) पशुको छाप थाप्नेहरूलाई यहोवाले कुन दृष्टिले हेर्नुहुन्छ?
४ मानिसजातिसमक्ष रहेको फैसलालाई यस कचौराले विशेष जोड दिन्छ। तिनीहरूले या त संसारलाई अप्रसन्न तुल्याउनु पर्छ; होइन भने, यहोवाको अप्रसन्नताको परिणाम भोग्नु पर्छ। मानिसजातिलाई त्यो पशुको छाप लिन बाध्य पारिएको छ। यहाँसम्म कि “त्यस पशुको नाउँ अथवा त्यसको संख्याको छाप नभईकन कुनै मानिसले किन्न अथवा बेच्न” पाउँने छैन। (प्रकाश १३:१६, १७) तर पशुको नाउँ स्वीकार्नेहरूले यसको भारी मोल चुकाउन पर्नेछन्! यहोवाको नजरमा तिनीहरू “डरलाग्दो घाउ-खटीरा”-ले भरिएर पीडित हुन्छन्। परमेश्वरको दृष्टिमा तिनीहरूको यस्तो तिरस्कृत स्थिति १९२२-देखि जनसमक्ष स्पष्ट भएको छ। तिनीहरूका राजनैतिक योजनाहरू सफल भएका छैनन्। तिनीहरू पीडामा छन्। आध्यात्मिक तवरमा तिनीहरू अशुद्ध छन्। पश्चात्ताप नगरेमा तिनीहरूको यो “डरलाग्दो” रोग घातक हुनेछ किनकि यो यहोवाको न्यायको दिन हो। सांसारिक रीतिरिवाजको हिस्सा भएर बस्ने मानिसहरू र ख्रीष्टको पक्ष लिएर यहोवाको सेवा गर्ने जनहरूबीच कोही पनि तटस्थ बस्न पाउने छैन।—लूका ११:२३; याकूब ४:४-तुलना गर्नुहोस्।
समुद्र रगतमा परिणत हुन्छ
५. (क) दोस्रो कचौरा खन्याइँदा के हुन्छ? (ख) प्रतीकात्मक समुद्रमा बस्नेहरूलाई यहोवाले कस्तो दृष्टिले हेर्नुहुन्छ?
५ परमेश्वरको क्रोधको दोस्रो कचौरा अब खन्याउनै पर्छ। यसले मानिसजातिका लागि के अर्थ राख्नेछ? यूहन्ना भन्छन्: “औ दोस्रोले आफ्नो कचौरा समुद्रमा खन्याए, र त्यो मरेको मानिसको रगतजस्तै भयो। औ समुद्रमा भएका सबै जीवित प्राणीहरू मरे।” (प्रकाश १६:३) दोस्रो तुरहीको आवाजको निशानाझैं यो कचौराको तारो पनि “समुद्र” अर्थात् यहोवाबाट अलग्गिएको विरोधी मानिसहरूको समूह हो। (यशैया ५७:२०, २१; प्रकाश ८:८, ९) यो “समुद्र” यहोवाको नजरमा रगतजस्तै छ। यो कुनै जीवित प्राणी बस्ने ठाउँ होइन। त्यसैले त मसीहीहरू संसारको सहभागी हुनु हुँदैन। (यूहन्ना १७:१४) यस समुद्रमा बस्ने सबै मानिसहरू यहोवाको नजरमा मृत छन् भन्ने कुरा दोस्रो कचौरा खन्याउँदा प्रकट हुन्छ। सामूहिक जिम्मेवारीको हिसाबले सारा मानिसजाति नै निर्दोष रगतका दोषी छन्। यहोवाको क्रोधको दिन आइपुग्दा तिनीहरू जम्मै उहाँका न्याय कार्यान्वयन कर्त्ताहरूको हातबाट साँच्चै नै मारिनेछन्।—प्रकाश १९:१७, १८; एफिसी २:१-तुलना गर्नुहोस्; कलस्सी २:१३.
-