प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • त्यो कुख्यात वेश्‍याको इन्साफ
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
    • २२. (क) महा वेश्‍याले कस्तो जानवरमाथि सवार हुन रुचाएकी छे? (ख) प्रतीकात्मक वेश्‍या महान बेबिलोनको वर्णन यूहन्‍नाले कसरी गर्छन्‌?

      २२ त्यो महा वेश्‍या सवार भएको जनावर कति खतरनाक छ, सो प्रेरित यूहन्‍नाले अब चाँडै थाह पाउनेछन्‌। तर पहिले उनको ध्यान स्वयं महान बेबिलोन तर्फ खिंचिन्छ। ऊ गरगहनाले झकमक्क छे। तर कस्तो घृणास्पद! “त्यो स्त्रीले बैजनी र चहकिलो रातो लुगा पहिरेकी, औ सुन, रत्न र मोतीहरूले सिङारिएकी, औ घृणित कुरा, अर्थात्‌ त्यसको व्यभिचारका अशुद्ध कुराहरू भरिएको एउटा सुनको कचौरा हातमा लिएकी थिई। औ त्यसको निधारमा एउटा यस्तो नाउँ लेखिएको थियो, ‘रहस्य, पृथ्वीका वेश्‍याहरू र घृणित कुराहरूकी आमा, महान बेबिलोन!’ अनि मैले त्यस स्त्रीलाई पवित्र जनहरूको रगत र येशूका शहीदहरूका रगत पिएर मात्तिएकी देखें।’ ”—प्रकाश १७:४-६क.

      २३. महान बेबिलोनको पूरा नाउँ र त्यसको महत्त्व के हो?

      २३ प्राचीन रोमको चलनअनुसार, यो वेश्‍याको नाउँ उसको निधारमा लेखिएको छ।d त्यो नाउँ निकै लामो छ: “महान बेबिलोन, पृथ्वीका वेश्‍याहरू र घृणित कुराहरूकी आमा।” त्यो नाउँ एउटा “रहस्य” हो। त्यसको गुप्त अर्थ छ। तर परमेश्‍वरको समयमा त्यो रहस्य खुल्नेछ। वास्तवमा यहोवाका सेवकहरूलाई त्यो वर्णनात्मक नाउँको पूरा महत्त्व बुझ्ने सहायता दिन स्वर्गदूतले यूहन्‍नालाई यथेष्ट जानकारी दिन्छन्‌। महान बेबिलोन सम्पूर्ण झूटो धर्म हो भनी हामीले बुझेका छौं। ऊ “वेश्‍याहरूकी आमा” हो। किनभने मसीही धर्मका विभिन्‍न सम्प्रदायहरू लगायत संसारका जम्मै झूटा धर्महरू उसकी छोरीहरू जस्तै हुन्‌। तिनीहरू जम्मैले उसैको आत्मिक वेश्‍यावृत्ति अनुसरण गर्छन्‌। ऊ “घृणित कुराहरूकी” आमा पनि हो। किनकि मूर्तिपूजा, प्रेतवाद, जोखाना हेर्ने चलन, ज्योतिष विद्या, हस्तरेखा शास्त्र, मानव बलिदान, मन्दिरमा गरिने वेश्‍यावृत्ति, झूटा देवताहरूको सम्मानमा मतवालापन र यस्ता अन्य घृणित रीतिथितिहरूलाई उसैले जन्म दिएको छ।

      २४. महान बेबिलोनले “बैजनी र चहकिलो रातो रङ्‌ग”-को लुगा र “सुन, रत्न र मोती” पहिरनु किन उचित छ?

      २४ महान बेबिलोनले “बैजनी र चहकिलो रातो” रङ्‌गको कपडा पहिरेको छ। यी दुवै शाही रङ्‌ग हुन्‌। ऊ “सुन, रत्न र मोतीहरूले” पनि सिङ्‌गारिएको छ। कति उपयुक्‍त! यस संसारका धर्महरूले थुपारेका भव्य भवनहरू, मूर्तिहरू, नक्साहरू, अन्यप्रकारका धार्मिक सरसामान र हिसाब गरी नसक्ने जग्गाजमीन र पैसाबारे एकछिन गौर गर्नुहोस्‌! चाहे ती भेटिकनको होस्‌, वा संयुक्‍त राज्य अमेरिकामा केन्द्रित धर्मप्रचारकहरूको टिभी साम्राज्यको होस्‌ अथवा पूर्वीय देशहरूका सुन्दर सुन्दर गोम्बा र मन्दिरहरूकै किन नहोस्‌। हो, अचाक्ली धेरै नै धन-सम्पत्ति महान बेबिलोनले थुपारेको छ तथा कहिले काहिं गुमाएको पनि छ।

      २५. (क) “व्यभिचारका अशुद्ध कुराहरूले भरिएको कचौरा” कुन कुराको प्रतीक हो? (ख) प्रतीकात्मक वेश्‍या कुन अर्थमा मात्तिएकी छे?

      २५ अब हेर्नुहोस्‌, त्यस वेश्‍याको हातमा के छ। त्यो देखेर यूहन्‍ना निश्‍चय पनि दङ्‌ग परे होलान्‌। उसले आफ्नो “व्यभिचारका अशुद्ध कुराहरू भरिएको एउटा सुनको कचौरा हातमा लिएकी” छे! यसै कचौरामा उसको “व्यभिचारको मद्य” छ जसबाट उसले सारा जातिहरूलाई पिउन लगाएकी छे। (प्रकाश १४:८; १७:४) त्यो कचौरा बाहिरबाट हेर्दा त शानदार छ। तर भित्रपट्टि चाहिं त्यो अशुद्ध र घृणित कुराहरूले भरिएको छ। (मत्ती २३:२५, २६ तुलना गर्नुहोस्‌।) त्यसमा ती जम्मै फोहोर रीतिथितिहरू र झूटहरू छन्‌ जसको प्रयोग गर्दै यस महा वेश्‍याले जातिजातिहरूलाई भडकाएर आफ्नो वशमा पारेकी छे। योभन्दा अझ घीनलाग्दो कुरा चाहिं त्यो वेश्‍या स्वयं परमेश्‍वरका सेवकहरूको रगतले मात्तिएकी छे! केही समयपछि हामी पढ्‌नेछौं कि उसैमा “अगमवक्‍ताहरू, पवित्र जनहरू र पृथ्वीमा मारिएका सबैका रगत पाइएको” छ। (प्रकाश १८:२४) कति ठूलो रक्‍त दोष!

      २६. महान बेबिलोन रक्‍तदोषी छ भन्‍ने प्रमाण के हो?

      २६ बितेका शताब्दीहरूभरि झूटो धर्मको विश्‍व-साम्राज्यले रगतको सागर बगाएको छ। उदाहरणका लागि, मध्यकालीन जापानमा, क्योटोका मन्दिरहरू युद्धका गढहरूमा परिणत भए। योद्धा भिक्षुहरूले “बुद्धको पवित्र नाउँ जप्दै” आपसमा युद्ध गरे। सडकहरूमा रगतको खोला बग्यो। बीसौं शताब्दीमा पनि मसीहीजगतका पादरीहरू युद्ध गर्न आ-आफ्नो देशका सेनाहरूसित अघि बढे। तिनीहरूले एकअर्काको हत्या गरे। कमसेकम १० करोड मानिसहरूले आफ्नो ज्यान गुमाए। अक्टोबर १९८७-मा संयुक्‍त राज्य अमेरिकाका भूतपूर्व राष्ट्रपति निक्सनले यसो भनेका थिए: “इतिहासभरि सबैभन्दा बढी रक्‍तपात यो २०-औं शताब्दीमै भएको छ। यस शताब्दीका युद्धहरूमा जति जना मानिसहरू मारिए त्यति त यो शताब्दी सुरु हुनुभन्दा पहिले भएका जम्मै युद्धहरूमा पनि मारिएनन्‌।” यसमा संसारका धर्महरूले जुन भूमिका निभाएका छन्‌, त्यसका लागि परमेश्‍वरले तिनीहरूलाई दोषी ठान्‍नु हुन्छ; “निर्दोष रगत बगाउने हात”-लाई यहोवा घृणा गर्नुहुन्छ। (हितोपदेश ६:१६, १७) योभन्दाअघि यूहन्‍नाले वेदीबाट यसो भन्‍ने एउटा पुकार सुनेका थिए: “हे प्रभु, हे पवित्र र सत्य, अझै कतिसम्म तपाईंले पृथ्वीमा रहनेहरूलाई इन्साफ गरेर हाम्रो रगतको बदला दिनुहुन्‍न?” (प्रकाश ६:१०) यस प्रश्‍नको उत्तर दिने बेला आएपछि पृथ्वीका वेश्‍याहरू र घृणित कुराहरूकी आमा महान बेबिलोन विशेष ढङ्‌गमा विथोलित हुनेछ।

  • एउटा डरलाग्दो रहस्यको समाधान
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
    • १. (क) त्यो महा वेश्‍या र उसको डरलाग्दो सवारी देखेर यूहन्‍नाले कस्तो प्रतिक्रिया व्यक्‍त गर्छन्‌ र किन? (ख) भविष्यवाणीरूपी दर्शनलाई पूरा गर्ने घटनाहरू आज घट्‌दै जाँदा यूहन्‍नावर्गले कस्तो प्रतिक्रिया व्यक्‍त गर्छन्‌?

      ती महा वेश्‍या र ऊ सवार भएकी डरलाग्दो जनावर देख्दा यूहन्‍नाले कस्तो प्रतिक्रिया व्यक्‍त गर्छन्‌? उनी स्वयं भन्छन्‌: “त्यसलाई देखेर म ज्यादै अचम्म लागेर छक्क परें।” (प्रकाश १७:६ख) यो कुनै मानिसले कल्पनै गर्न नसक्ने दृश्‍य थियो! टाढा—अनकन्टार उजाड स्थानमा—एउटी छाडा वेश्‍या चहकिलो रातो रङ्‌गको जनावरमाथि बसेकी छे! (प्रकाश १७:३) यो भविष्यवाणीरूपी दर्शन पूरा भएको देखेर आज यूहन्‍नावर्ग ज्यादै चकित हुन्छ। यसलाई देख्न सकेमा संसारका मानिसहरू पनि ‘असम्भव!’ भन्दै कराउने थिए। संसारका शासकहरूको विचारमा पनि यो ‘सोच्नै नसक्ने कुरा!’ हुने थियो। तर यही दर्शन हाम्रो समयमा एउटा आश्‍चर्यमय वास्तविकतामा परिणत हुन्छ। यस दर्शनको पूर्तिमा परमेश्‍वरका जनहरूले विशेष भाग पनि लिइसकेका छन्‌। तिनीहरू विश्‍वस्त छन्‌ कि यो भविष्यवाणी अब त्यसको विस्मयकर चरमोत्कर्षतर्फ अघि बढ्‌नेछ।

      २. (क) यूहन्‍ना छक्क परेको देखेर स्वर्गदूतले उनलाई के भन्छन्‌? (ख) यूहन्‍नावर्गलाई कुन कुन कुरा कसरी प्रकट गरिएको छ?

      २ यूहन्‍ना छक्क परेको स्वर्गदूतले पनि देख्छन्‌। “अनि” यूहन्‍ना भन्छन्‌ “ती दूतले मलाई भनें, ‘तिमीले किन अचम्म मान्यौ? त्यो स्त्री र त्यसलाई बोक्ने सात शिर र दस सीङ भएको जनावरको रहस्य म तिमीलाई भन्‍नेछु।” (प्रकाश १७:७) आहा! स्वर्गदूतले अब रहस्य खोलिदिनेछन्‌! उनले तीन छक्क परेका यूहन्‍नालाई दर्शनका विभिन्‍न पक्षहरू र हुनै लागेका प्रभावकारी घटनाहरू बुझाउने छन्‌। यस्तै गरी आज पनि स्वर्गदूतीय निरीक्षण अन्तर्गत काम गर्ने सजग यूहन्‍नावर्गलाई यो भविष्यवाणीको समझ प्रदान गरिएको छ। आखिर “सपनाको अर्थ त परमेश्‍वरकै हातमा हुँदैन र?” हो, अर्थ खोल्ने काम परमेश्‍वरकै हातमा हुन्छ भनी विश्‍वासी यूसुफ झैं हामी पनि विश्‍वस्त छौं। (उत्पत्ति ४०:८; दानियल २:२९, ३०-सित तुलना गर्नुहोस्‌।) परमेश्‍वरका जनहरूमाथि नै विशेष ध्यान केन्द्रित गर्दै यहोवाले यस दर्शनको अर्थ र यसले तिनीहरूको जीवनमा के कस्तो प्रभाव पार्नेछ, सो बुझाउनु हुन्छ। (भजन २५:१४) ठीक समयमै उहाँले तिनीहरूलाई त्यस स्त्री र जङ्‌गली जनावरको रहस्य खोलिदिनु भएको छ।—भजन ३२:८.

      ३, ४. (क) एन. एच. नोरद्वारा १९४२-मा कुन जनभाषण दिइयो र यसबाट चहकिलो रातो रङ्‌गको जनावरलाई कसरी ठम्याउन सकियो? (ख) स्वर्गदूतले यूहन्‍नालाई भनेका कुन शब्दहरूको छलफल एन. एच. नोरले गरे?

      ३ दोस्रो विश्‍व-युद्ध जोडतोडसित चलेको बेलामा यहोवाका साक्षीहरूले संयुक्‍त राज्य अमेरिकामा न्यु वर्ल्ड थियोक्रेटिक सम्मेलन १९४२-को सेप्टेम्बर १८ देखि २०-सम्म आयोजित गरे। मुख्य शहर क्लिवलैण्ड, ओहायोमा दिइएका भाषणहरू ५०-वटा अन्य सम्मेलन-शहरहरूमा पनि टलिफोनद्वारा सुनाउने व्यवस्था मिलाइएको थियो। यसले गर्दा जम्माजम्मी १,२९,६९९-व्यक्‍तिहरूले सुन्‍न सके। युद्धग्रस्त स्थितिले जहाँ सम्भव हुन्थ्यो, त्यहाँ सम्मेलनहरू आयोजित गर्दै सो कार्यक्रम संसारभरि दोहोराइयो। दोस्रो विश्‍वयुद्ध नै अन्ततः परमेश्‍वरको आरमागेडोनको युद्धमा परिणत हुनेछ भनी त्यतिखेर यहोवाका थुप्रै जनहरूले ठानेका थिए; त्यसैकारण त “पीस—क्यान इट लास्ट [शान्ति—के यो रहन सक्छ?] भन्‍ने आमभाषणको शीर्षकले धेरै जनामा जिज्ञासा जगायो। तर राष्ट्रहरूले शान्तिको ठीक विपरीत अनुभव गरिरहेको बेलामा वाच टावर सोसाइटीका नयाँ सभापति, एन. एच. नोर-ले शान्तिबारे भाषण दिने साहस किन गरे?a किनभने यूहन्‍नावर्गले भविष्यवाणीको वचनलाई “बढी उत्कट ध्यान” दिइरहेका थिए।—हिब्रू २:१; २ पत्रुस १:१९.

      ४ अतः “शान्ति—के यो रहन सक्छ?” भन्‍ने भाषणले भविष्यवाणीबारे अझ के ज्योति दिन सक्यो? प्रकाश १७:३-मा उल्लिखित चहकिलो रातो रङ्‌गको जनावर नै राष्ट्र संघ हो भनेर स्पष्टसित औंल्याउँदै एन. एच. नोरले त्यसको उपद्रवी जीवनकालको छलफल गरे। यो छलफल स्वर्गदूतले यूहन्‍नालाई भनेका यी शब्दहरूमा आधारित थियो: “तिमीले देखेको त्यो जनावर हुनलाई ता थियो, तर छैन, र सत्यानाशमा जानालाई अगाध खाँदबाट त्यो आउनलागेको छ।”—प्रकाश १७:८क.

      ५. (क) कुन अर्थमा “त्यो जनावर हुनलाई त थियो तर छैन”? (ख) “राष्ट्र संघ अगाध खाँद मै रहने छ र?” भन्‍ने प्रश्‍नको जवाफ एन. एच. नोरले कसरी दिए?

      ५ “तिमीले देखेको त्यो जङ्‌गली जनावर हुनलाई ता थियो।” हो, जनवरी १०, १९२०-देखि राष्ट्र संघको रूपमा त्यो थियो। त्यसमा ६३ राष्ट्रहरूले समय समयमा भाग लिने गर्थे। तर त्यसबाट पालैपालो गरी जापान, जर्मनी र इटाली पछि हटे र पहिलेको सोभियत संघलाई चाहिं स रा स बाट हटाइयो। सेप्टेम्बर १९३९-मा जर्मनीको नाजीवाद तानाशाहले दोस्रो विश्‍व-युद्ध सुरु गऱ्‍यो।b विश्‍वमा शान्ति कायम राख्न असमर्थ भएर त्यो संघ मानौं निष्क्रियताको अगाध खाँदमा खस्यो। सन्‌ १९४२-सम्म त त्यो अतीतको कुरा भइसकेको थियो। यहोवाले पनि नता त्यो भन्दापछि न त्यो भन्दाअघि, तर ठीक त्यही सङ्‌कटकालीन घडीमै आफ्ना मानिसहरूलाई त्यस दर्शनको पूरा अर्थ खोलिदिनु भयो! न्यु वर्ल्ड थियोक्रेटिक सम्मेलनमा एन. एच. नोरले उक्‍त भाविष्यवाणीकै शब्द प्रयोग गर्दै भने कि “त्यो जनावर . . . छैन।” यसपछि उनले सोधे, “के यो संघ अब अगाध खाँदमै रहनेछ?” प्रकाश १७:८ उद्धृत गर्दै उनले स्वयं जवाफ दिए: “सांसारिक राष्ट्रहरूको यो संघ फेरि उठ्‌नेछ।” र त्यस्तै भयो पनि। यहोवाको भविष्यवाणीरूपी वचन सत्य प्रमाणित भयो!

      अगाध खाँदबाट बाहिर निस्केको

      ६. (क) चहकिलो रातो रङ्‌गको जनावर अगाध खाँदबाट कहिले बाहिर निस्क्यो र कुन नयाँ नाउँ लिएर? (ख) संयुक्‍त राष्ट्र संघ वास्तवमा पुनःजागृत गराइएको चहकिलो रातो रङ्‌गको जनावर किन हो?

      ६ त्यो चहकिलो रातो रङ्‌गको जनावर अगाध-खाँदबाट साँच्चै नै बाहिर निस्क्यो। जून २६, १९४५-मा बडो धुमधामसाथ सानफ्रेनसिस्को, अमेरिकामा ५०-राष्ट्रहरूले संयुक्‍त राष्ट्र संघीय बडापत्रलाई आफ्नो स्वीकृति दिए। यस संघले “अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा” कायम राख्नु थियो। राष्ट्र संघ र संयुक्‍त राष्ट्र संघबीच थुप्रै समानताहरू थिए। द वर्ल्ड बूक इनसायक्लोपिडिया भन्छ: “प्रथम विश्‍व-युद्ध पश्‍चात्‌ सङ्‌गठित राष्ट्र संघ र संयुक्‍त राष्ट्र संघका केही पक्षहरू एकसमान छन्‌। . . . राष्ट्र संघ स्थापित गर्नमा सहयोग पुऱ्‍याउने थुप्रै राष्ट्रहरूले संयुक्‍त राष्ट्र संघको स्थापनामा पनि हात दिए। राष्ट्र संघझैं संयुक्‍त राष्ट्र संघ पनि राष्ट्रहरू बीच शान्ति कायम गर्न स्थापित गरिएको थियो। संयुक्‍त राष्ट्र संघका मुख्य अङ्‌गहरू प्रायः राष्ट्र संघका जस्तै छन्‌।” अतः, त्यही चहकिलो रातो रङ्‌गको जनावरको पुनःजागृत रूप स रा स हो। यसका झन्डै १९० सदस्य राष्ट्रहरू छन्‌ जबकि राष्ट्र संघमा मात्र ६३ सदस्य राष्ट्रहरू थिए; राष्ट्र संघभन्दा संयुक्‍त राष्ट्र संघका जिम्मेवारीहरू पनि धेरै नै विस्तृत छन्‌।

      ७. (क) पृथ्वीका बासिन्दाहरूले पुनःजागृत रातो रङ्‌गको जनावरको प्रशंसा कसरी गरेका छन्‌? (ख) संयुक्‍त राष्ट्र संघले कुन लक्ष्य प्राप्त गर्न सकेको छैन र यससम्बन्धमा त्यहाँको महा सचिवले के भने?

      ७ सुरुसुरुमा त संयुक्‍त राष्ट्र संघमाथि धेरै नै आशा राखिएको थियो। यो पनि स्वर्गदूतकै यी शब्दहरूको पूर्तिअनुरूप थियो: “औ पृथ्वीमा रहने जसको नाउँ संसारको उत्पत्तिदेखि जीवनको पुस्तकमा लेखिएको छैन, तिनीहरूले त्यो जनावर कसरी हुनालाई ता थियो, तर छैन,र पछि आउनेछ, सो देख्ता अचम्म मान्‍नेछन्‌।” (प्रकाश १७:८ख) न्यु योर्कको इस्ट रिवर स्थित शानदार मुख्य कार्यालयबाट सञ्चालित यो नयाँ र बृहत्‌ मूर्तिको जयजयकार पृथ्वीका बासिन्दाहरूले गरेका छन्‌। तर शान्ति र सुरक्षा चाहिं संयुक्‍त राष्ट्र संघको हात पर्न सकेको छैन। बीसौं शताब्दीको प्रायजसो समय विश्‍व शान्तिलाई MAD [निश्‍चित पारस्परिक विनाश]-को खतराले मात्र थामेर राख्यो। हात हतियारको होडबाजी आकासिन लागेको छ। संयुक्‍त राष्ट्र संघको करीब ४० वर्षको प्रयासपछि तत्कालीन सेक्रेटेरी जेनरल, जाविएर पेरेज ड कुलियारले १९८५-मा यसो भन्दै विलाप गरे: “हामी अझ पनि कट्टरपन्थीहरूको युगमा बाँचेका छौं र कसो गर्नु पर्ने हो, हामीलाई थाह छैन।”

      ८, ९. (क) संयुक्‍त राष्ट्र संघले विश्‍व समस्याहरूको समाधान किन गर्न सक्‍तैन र परमेश्‍वरको हुकुमबमोजिम त्यसलाई चाँडै नै के हुनेछ? (ख) संयुक्‍त राष्ट्र संघका संस्थापकहरू र प्रशंसकहरूको नाउँ परमेश्‍वरको “जीवनको पुस्तकमा” किन लेखिने छैन? (ग) यहोवाको राज्यले सफलतापूर्वक के सम्पन्‍न गर्ने छ?

      ८ जवाफ संयुक्‍त राष्ट्र संघसित छैन। र किन छैन? किनभने सारा मानिसजातिको जीवन दाता स रा स को जीवनदाता हुनुहुन्‍न। संयुक्‍त राष्ट्र संघको जीवनकाल छोटो हुनेछ। त्यो “सत्यानाशमा जानेछ” भनी परमेश्‍वरबाट हुकुम भैसकेको छ। संयुक्‍त राष्ट्र संघका संस्थापक र प्रशंसकहरूको नाउँ परमेश्‍वरको जीवनको पुस्तकमा लेखिएको छैन। जुन कुरा यहोवा परमेश्‍वरले उहाँको ख्रीष्टको राज्यद्वारा स्थापित गर्ने घोषणा गर्नु भएको छ, त्यो कुरा पापी, मरणशील र परमेश्‍वरको नाउँको गिल्ला समेत गर्ने मानिसहरूले संयुक्‍त राष्ट्र संघद्वारा कदापि गर्न सक्ने छैनन्‌!—दानियल ७:२७; प्रकाश ११:१५.

      ९ संयुक्‍त राष्ट्र संघ वास्तवमा शान्तिको राजकुमार येशू ख्रीष्ट अधीनस्थ परमेश्‍वरको कहिले अन्त नहुने मसीही राज्यको एउटा ईश्‍वरनिन्दक नकल मात्र हो। (यशैया ९:६, ७) संयुक्‍त राष्ट्र संघले एउटा अल्पकालीन र टालटुले शान्ति स्थापित गरे तापनि युद्ध फेरि भडकिनेछ। पापी मानिसको प्रवृत्ति नै यस्तो छ। “तिनीहरूको नाउँ संसारको उत्पत्तिदेखि जीवनको पुस्तकमा लेखिएको छैन।” ख्रीष्टद्वारा यहोवाको राज्यले पृथ्वीमा अनन्त शान्ति स्थापित गर्ने मात्र होइन। परमेश्‍वरको सम्झनामा रहेका धर्मी र अधर्मीहरू येशूको छुडौतीको बलिदानद्वारा बिउँताइने पनि छन्‌। (यूहन्‍ना ५:२८, २९; प्रेरित २४:१५) यसरी बिउँतनेहरू मध्ये तिनीहरू पनि समाविष्ट हुनेछन्‌ जसले शैतान र त्यसको सन्तानको आक्रमणको सामु आफ्नो आज्ञाकारिताको प्रमाण दिएका छन्‌ र अझ अरू पनि जसले आफ्नो आज्ञाकारिता देखाउन बाँकी नै छ। तर महान बेबिलोनका कट्टर समर्थकहरू अथवा त्यो जङ्‌गली जनावरलाई पूजा गर्न नछाड्‌नेहरूको नाउँ परमेश्‍वरको जीवनको पुस्तकमा कदापि हुनेछैन।—प्रस्थान ३२:३३; भजन ८६:८-१०; यूहन्‍ना १७:३; प्रकाश १६:२; १७:५.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने