-
एउटा पवित्र रहस्य उघारिन्छप्रकाश—त्यसको चरमोत्कर्ष निकट!
-
-
१७. (क) येशूले भन्नु भएको गहुँ र सामाको उखानमा कुन कुराको अग्रिमवाणी गरिएको थियो? (ख) सन् १९१८ मा के घटना घट्यो र यसको परिणामस्वरुप कसलाई इन्कार गरियो र को नियुक्त भए?
१७ मसीहीजगतले प्रभुत्व जमाउञ्जेल अन्धकारको समय कायम रहनेछ भनी येशूले गहुँ र सामाको उखानद्वारा अग्रिमवाणी गर्नु भएको थियो। तर कैयौं शताब्दीसम्म चल्ने धर्मत्यागको दौडान गहुँ जस्ता मसीहीहरू अर्थात् साँचो अभिषिक्त जनहरू पनि फट्याकफुटुक हुने नै थिए। (मत्ती १३:२४-२९, ३६-४३) तसर्थ, अक्टोबर १९१४ मा प्रभुको दिन उदय हुँदा पृथ्वीमा साँचो मसीहीहरू छँदैथिए। (प्रकाश १:१०) यसको करीब साढे तीन वर्षपश्चात् अर्थात् १९१८ मा यहोवा उहाँको “करारको दूत” येशूसित आफ्नो आत्मिक मन्दिरमा न्याय गर्न आउनु भएको जस्तो देखिन्छ। (मलाकी ३:१; मत्ती १३:४७-५०) मालिकले झूटा मसीहीहरूलाई इन्कार गर्ने र ‘आफ्नो सारा सम्पत्तीमाथि विश्वासी र बुद्धिमान दास’ नियुक्त गर्ने समय आएको थियो।—मत्ती ७:२२, २३; २४:४५-४७.
१८. सन् १९१४ मा कुन “समय” आयो र त्यतिबेला दासले के गर्नु परेको थियो?
१८ सात मण्डलीहरूका लागि येशूले पठाउनु भएको सन्देशमा लेखिएअनुसार उपरोक्त दासले ती सन्देशलाई विशेष ध्यान दिने समय आएको थियो। उदाहरणका लागि, मण्डलीहरूको न्याय गर्न आउनु हुने समयबारे येशूले चर्चा गर्नु भएको छ। त्यो न्याय गर्ने समय १९१८ मा सुरु भयो। (प्रकाश २:५, १६, २२, २३; ३:३) उहाँले फिलाडेल्फियाको मण्डलीलाई “सारा संसारमा आउने” “परीक्षाको समयबाट जोगाउने” कुरा गर्नुहुन्छ। (प्रकाश ३:१०, ११) प्रभुको दिन १९१४ मा सुरु भएपछि मात्र उक्त “परीक्षाको समय” आउने थियो। त्यतिबेला परमेश्वरको स्थापित राज्यप्रति मसीहीहरूको वफादारीको जाँच हुने थियो।—मत्ती २४:३, ९-१३ तुलना गर्नुहोस्।
१९. (क) सात मण्डलीहरूले आज के लाई चित्रित गर्छन्? (ख) आज अभिषिक्त मसीहीहरूलाई ठूलो सङख्यामा कसले साथ दिएका छन् र येशूको उपदेश र उहाँद्वारा वर्णित परिस्थितिहरू किन ठूलो सङख्याका ती मानिसहरूमा पनि लागू हुन्छ? (ग) येशूले प्रथम शताब्दीका सात मण्डलीहरूलाई पठाउनु भएको सन्देशप्रति हामीले कस्तो दृष्टिकोण राख्नु पर्छ?
१९ यसैकारण, मण्डलीहरूलाई प्रभुले भन्नु भएका कुराहरू विशेष ढङ्गमा १९१४ देखि नै लागू हुन गयो। यस परिप्रेक्ष्यमा ती सात मण्डलीहरूले प्रभुको दिनमा विद्यमान अभिषिक्त मसीहीहरूका मण्डलीहरूलाई चित्रण गर्छन्। यसको अतिरिक्त, विश्वासी मानिसहरूको एउटा ठूलो सङ्ख्या यूहन्नाले चित्रित गर्ने अभिषिक्त मसीहीहरूलाई साथ दिन बितेको ७० वर्षदेखि अग्रसर भएका छन्। ती मानिसहरूले पार्थिव प्रमोदवनमा सधैंभरि बाँच्ने आशा राखेका छन्। महिमित येशू ख्रीष्टको सल्लाह र सात मण्डलीहरूको जाँच गर्दा उहाँले त्यहाँ देख्नु भएका जम्मै परिस्थितिहरू पार्थिव आशा राख्ने ती मानिसहरूमा पनि उत्तिकै लागू हुन्छ। आखिर, परमेश्वरका सबै सेवकहरूका लागि धार्मिकता र विश्वासको स्तर एउटै छ। (प्रस्थान १२:४९; कलस्सी ३:११) अतः येशूले प्रथम शताब्दीमा एशिया माइनरका सात वटा मण्डलीहरूलाई पठाउनु भएका सन्देशहरूको कुनै ऐतिहासिक महत्त्व मात्र छैन। ती कुराहरू हाम्रा लागि जीवन र मृत्युको सवाल हो। यसकारण, आउनु होस् हामी येशूले भन्नु हुने कुराहरूलाई ध्यानपूर्वक सुनौं।
-
-
त्यो पहिलेको प्रेमलाई पुनः जागृत गराउ!प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
-
-
१. येशूको प्रथम सन्देशमा कुन मण्डलीलाई सम्बोधन गरिएको छ र उहाँले प्राचीनहरूको ध्यानाकर्षण कुन कुरातिर गर्नुहुन्छ?
येशूको प्रथम सन्देश एफिससको मण्डलीका लागि हो। त्यतिखेर एफिसस पत्मोस टापुनिर एसिया माइनरको एउटा सम्पन्न बन्दरगाह थियो। येशूले यूहन्नालाई यो आदेश दिनु हुन्छ: “एफिससमा भएको मण्डलीका दूतलाई लेख। यी कुरा सातवटा तारा आफ्नो दाहिने हातमा लिने, र सातवटा सामदानका बीचमा हिंड़नेले भन्दछ।” ( प्रकाश २:१) अरू छ वटा सन्देशहरूमाझैं येशूले यहाँ आफ्नो अख्तियारतर्फ ध्यान आकर्षित गराउनु हुन्छ। सबै प्राचीनहरू उहाँकै संरक्षणमा छन् र सबै मण्डलीहरूको जाँच पनि उहाँ नै गर्नुहुन्छ भनेर येशूले एफिससको मण्डलीका प्राचीनहरूलाई फेरि सम्झाउनु हुन्छ। उहाँले यो प्रेमपूर्ण अगुवाइ हाम्रो समयसम्मै गर्दै आउनु भएको छ। उहाँले सबै प्राचीनहरूको हेरविचार गर्नुहुन्छ र मण्डलीसित सम्बन्धित सबैलाई गोठालाले जस्तै डोऱ्याउनु हुन्छ। ज्योति अझ राम्ररी चम्कन सकोस् भनेर उहाँले समय समयमा मण्डलीय प्रबन्धहरूमा पनि छाँटकाँट गर्नुहुन्छ। हो, परमेश्वरको बगालको प्रमुख गोठाला येशू नै हुनुहुन्छ।—मत्ती ११:२८-३०; १ पत्रुस ५:२-४.
२. (क) येशूले कुन कुन असल कुराका लागि एफिससको मण्डलीको सराहना गर्नु भयो? (ख) प्रेरित पावलले दिएको कुन चाहिं सल्लाहलाई एफिसीका प्राचीनहरूले प्रयोगमा ल्याएको जस्तो देखिन्छ?
२ येशूले दुइटा बाहेक पाँचैवटा सन्देशहरूलाई आत्मीयतापूर्ण सराहनासाथ सुरु गर्ने शैली यहाँबाट आरम्भ गर्नुहुन्छ। एफिसीहरूका लागि उहाँको सन्देश यसप्रकार छ: “तिम्रो काम, तिम्रो परिश्रम, र धीरज, र तिमीले खराब मानिसहरूलाई सहनसक्तैनौ भन्ने र प्रेरित हुँ भनेर हिंड़ने तर ती होइनन्, त्यस्तालाई परीक्षा गरेर झूटा साबित गऱ्यौ भन्ने, मलाई थाह छ। औ तिमीमा धैर्य छ, र मेरो नाउँको खातिर सहनसक्यौ, र थकित भएनौ भन्ने मलाई थाह छ।” ( प्रकाश २:२, ३) “मण्डलीलाई स्वाहा पार्ने डरलाग्दा ब्वाँसाहरू”बारे धेरै वर्षअघि प्रेरित पावलले एफिससका प्राचीनहरूलाई सतर्क गराएका थिए। पावलले ती प्राचीनहरूलाई “होशियार हुन” र उनको अथक उदाहरण अनुसरण गर्न भनेका थिए। (प्रेरित २०:२९, ३१) यो सल्लाह तिनीहरूले निश्चय नै प्रयोगमा ल्याएको हुनुपर्छ किनभने अब येशूले तिनीहरूको परिश्रम, धैर्य र अथक लगनशीलताको सराहना गर्नु हुँदैछ।
३. (क) हाम्रो समयमा “झूटा अगमवक्ताहरू” ले विश्वासी जनहरूलाई कसरी भ्रममा पार्न खोजेका छन्? (ख) पत्रुसले धर्मत्यागीहरूबारे के चेताउनी दिए?
३ प्रभुको दिनमा पनि “झूटा प्रेरितहरू” देखा परेका छन्। तिनीहरूले “चेलाहरूलाई आफ्ना पछिपछि लैजानालाई” “बराल्ने कुरा” बोलेका छन्। (२ कोरिन्थी ११:१३; प्रेरित २०:३०; प्रकाश १:१०) आपस्तमा नमिल्ने पाखण्डी धर्म सम्प्रदायहरूमा पनि तिनीहरू सबै राम्रै कुरा देख्छन्। परमेश्वरको कुनै सङ्गठन छैन भनी तिनीहरू जिद्दी गर्छन्। येशूले १९१४मा राज्याधिकार पाउनु भएको तथ्यलाई तिनीहरू इन्कार गर्छन्। दोस्रो पत्रुस ३:३, ४मा उल्लिखित यस भविष्यवाणीलाई तिनीहरूले पूरा गर्छन्: “पछि-पछिका दिनहरूमा गिल्ला गर्दै, तिनीहरूका आफ्नै अभिलाषामा यसो भन्दै आउनेछन्, ‘उहाँको आगमनको प्रतिज्ञा कहाँ गयो? किनभने पिता-पुर्खाहरू मरेका दिनदेखि नै सृष्टिको सुरुदेखि जस्तैगरी सबै कुरा चलिआएका छन्।’ ”
४. (क) गिल्ला गर्नेहरूले अहङ्कार र विद्रोहको भाव कसरी प्रकट गर्छन्? (ख) झूटा विरोधीहरूको विरुद्धमा के कदम चाल्दै आजका मसीहीहरूले आफूलाई पुरातन एफिसीहरू जस्तै साबित गर्छन्?
४ यसरी ठट्टा गर्नेहरूले आफ्नो विश्वासको आम घोषणा गर्न पटक्कै रुचाउँदैनन्। (रोमी १०:१०) आफ्ना पुराना सङ्गीहरूबारे झूटा अफवाहहरू फैलाउन तिनीहरूले मसीहीजगतको पादरीवर्ग तथा विभिन्न पत्रिका र टीभी स्टेशनहरूको समेत मदत लिएका छन्। तर यसप्रकारका ठगाहहरूको बोली र आचरणमा रत्तिभर सच्चाइ छैन भन्ने कुरा विश्वासी जनहरूले चाँडै नै बुझिहाल्छन्। एफिसीहरूले जस्तै आज मसीहीहरूले पनि “खराब मानिसहरूलाई सहन” सक्तैनन्। यस्ताहरूलाई तिनीहरूले आफ्नो मण्डलीबाट बहिष्कार गरिदिन्छन्।a
५. (क) येशूको भनाइअनुसार एफिसीहरूको कमजोरी के थियो? (ख) एफिसीहरूले कुन कुन कुरालाई सम्झेर राख्नु पर्ने थियो?
५ तथापि, अब पाँचवटा मण्डलीहरूमा गर्नु भए झैं, यहाँ पनि येशूले एउटा गम्भीर समस्या औंलाउनु हुन्छ। उहाँले एफिसीहरूलाई यसो भन्नुहुन्छ: “तर तिम्रो विरुद्धमा मसँग यो कुरो छ, कि तिमीले तिम्रो पहिला प्रेम छोड़िदिएका छौ।” ( प्रकाश २:४) तिनीहरू यस मामिलामा चुक्नु हुँदैन थियो। किनकि करीब ३५ वर्षअघि पावलले तिनीहरूलाई ‘परमेश्वरको महा प्रेम’ बारे लेखेका थिए। साथै “प्रिय बालकहरूझैं परमेश्वरका देखासिकी गर्नेहरू होओ औ जसरी ख्रीष्टले पनि तिमीहरूसित प्रेम गर्नुभयो, त्यसरी नै तिमीहरू पनि प्रेममा चल” भन्दै पावलले तिनीहरूलाई आग्रह गरेका थिए। (एफिसी २:४; ५:१, २) यसको अलावा, तिनीहरूको हृदयमा येशूका यी शब्दहरू पनि नमेटिनेगरी लेखिएको हुनु पर्ने थियो: “परमप्रभु हाम्रा परमेश्वर, एउटै परमप्रभु हुनुहुन्छ, औ तैंले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा बुद्धिले र आफ्नो सारा शक्तिले प्रेम गर।” (मर्कूस १२:२९-३१) तर यसप्रकारको पहिलो प्रेमलाई एफिसीहरूले बिर्सिसकेका थिए।
६. (क) मण्डलीमा हामी पुराना हौं वा नयाँ, कुन खतरा र प्रवृत्तिहरूबाट जोगिनु पर्छ? (ख) परमेश्वरका लागि हाम्रो प्रेमले हामीलाई के गर्न उक्साउनु पर्छ?
६ मण्डलीमा हामी पुराना हौं वा नयाँ, यहोवाका लागि आफ्नो पहिलो प्रेमलाई कहिल्यै सेलाउन दिनु हुँदैन। तर त्यो कसरी सेलाउँछ? आफ्नो व्यवसायमा अत्यन्तै ग्रस्त भयौं अथवा थुप्रै पैसा कमाउने इच्छा तथा सुखविलासको उपभोगलाई नै जीवनमा प्राथमिकता दिन थाल्यौं भने हाम्रो मनोवृत्ति आध्यात्मिक हुनुको सट्टा शारीरिक हुँदै जान सक्छ। (रोमी ८:५-८; १ तिमोथी ४:८; ६:९, १०) यहोवालाई प्रेम गर्छौं भने हामीले त्यस्तो प्रवृत्तिलाई सुधारी हाल्नु पर्छ। ‘स्वर्गमा धन थुपार्नका लागि’ हामीले ‘परमेश्वरको राज्य र उहाँको धार्मिकतालाई’ खोजिरहनु पर्छ।—मत्ती ६:१९-२१, ३१-३३.
७. (क) यहोवाको सेवा गर्न हामीलाई कुन कुराले उत्प्रेरित पार्नु पर्छ? (ख) प्रेमबारे यूहन्नाले के भने?
७ हृदयमा यहोवाका लागि गहिरो प्रेम राखेर हामी उहाँको सेवा गर्न अघि बढौं। यहोवा र ख्रीष्टले हाम्रा लागि गरिदिनु भएका सबै कुराहरूको हार्दिक मूल्याङ्कन गरौं। यसै सन्दर्भमा यूहन्ना स्वयंले पनि यसप्रकार लेखे: “प्रेम यसैमा छ, हामीले परमेश्वरलाई प्रेम गरेका होइनौं, तर उहाँले हामीलाई प्रेम गर्नुभयो, र हाम्रा पापको प्रायश्चित हुनालाई उहाँका पुत्रलाई पठाउनु भयो।” यूहन्नाले अझ हामीलाई यसो पनि भन्छन्: “परमेश्वर प्रेम हो, र जो प्रेममा रहन्छ त्यो परमेश्वरमा रहन्छ, र परमेश्वर त्यसमा रहनु हुन्छ।” हामीले यहोवा, प्रभु येशू ख्रीष्ट र परमेश्वरको जीवित वचनप्रति आफ्नो प्रेमलाई कहिल्यै धमिलो हुन नदिऊँ! यो प्रेम हामीले परमेश्वरको जोशिलो सेवा गरेर व्यक्त गर्न सक्छौं। साथै “परमेश्वरलाई जसले प्रेम गर्छ त्यसले आफ्नो भाइलाई पनि प्रेम गरोस्” भन्ने आज्ञा हामीले मान्नु पर्छ।—१ यूहन्ना ४:१०, १६, २१; हिब्रू ४:१२; १ पत्रुस ४:८; कलस्सी ३:१०-१४; एफिसी ४:१५ पनि हेर्नुहोस्।
-