प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • त्यो पहिलेको प्रेमलाई पुनः जागृत गराउ!
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
    • ८. येशूको भनाइअनुसार एफिसीहरूले के गर्नु परेको थियो?

      ८ आफ्नो विशेषाधिकार नगुमाउन ती एफिसीहरूले आफ्नो पहिलो प्रेमलाई पुनःजागृत गराउनु परेको थियो। “यसकारण” येशू तिनीहरूलाई यसो भन्‍नु हुन्छ: “कहाँबाट तिमी पतित भएका हौ, सो सम्झ, र पश्‍चाताप गर, अनि पहिलेका . . . [ कामहरू, NW] गर, नत्रता म तिमीकहाँ आएर, तिमीले पश्‍चाताप गरेनौ भने, तिम्रो सामदान त्यसको ठाउँबाट हटाउनेछु।” ( प्रकाश २:५) एफिसी मण्डलीकाहरूले उक्‍त कुराप्रति कस्तो प्रतिक्रिय व्यक्‍त गरे? हामीलाई थाहा छैन। तापनि हामी आशा गर्छौं, तिनीहरू पश्‍चातापी भएर यहोवाका लागि आफ्नो प्रेम पुनःजागृत गर्न सफल भए होलान्‌। तर यसो नगरेमा चाहिं तिनीहरूको बत्ती निभाइएर तिनीहरूको सामदान हटाइने थियो। सच्चाइको ज्योति चम्काउने विशेषाधिकार तिनीहरूले गुमाउने थिए।

      ९. (क) येशूले एफिसीहरूलाई कुन प्रोत्साहनजनक कुरा भन्‍नु भयो? (ख) येशूले एफिसीहरूलाई दिनु भएको सल्लाह यूहन्‍नापछिका मण्डलीहरूले कसरी पालन गर्न छाडे?

      ९ तथापि, एफिसीहरूलाई येशूले यो उत्साहवर्धक कुरा भन्‍नु हुन्छ: “तर तिमीमा यो कुरो ता छ, कि तिमीले निकोलाइटनहरूका कामलाई घृणा गर्छौ, जो म पनि गर्दछु।” ( प्रकाश २:६) प्रभु येशू ख्रीष्टले जस्तै तिनीहरूले पनि कम से कम धार्मिक पाखण्ड तथा सम्प्रदायहरूको घृणा चाहिं गर्दथे। तर जसै समय बित्दै गयो, थुप्रै मण्डलीहरूले येशूको यस कुरालाई ध्यान दिन छाडे। यहोवा, सच्चाइ र एकअर्काप्रति प्रेमको अभावले गर्दा तिनीहरू आध्यात्मिक अन्धकारमा भौंतारिन थाले। तिनीहरू झगडाग्रस्त थुप्रै सम्प्रदायहरूमा टुक्रिए। यहोवालाई प्रेम नगर्ने “मसीही” भनौंदा लेखनदासहरूले परमेश्‍वरको नाउँ समेत बाइबलका युनानी शास्त्रबाट हटाइ दिए। प्रेमको यही अभावले गर्दा नरकको अग्नि, पर्गेटरी र त्रिएक जस्ता बेबिलोनी र युनानी धर्मशिक्षाहरूलाई मसीही धर्मको नाउँमा सिकाइन थालियो। परमेश्‍वर र सच्चाइका लागि रत्ती प्रेम नभएको हुनाकारण यी मसीही भनौंदाहरूले परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्न छाडे। यहाँ पृथ्वीमा आफ्नै राज्य स्थापित गर्ने स्वार्थी पादरीवर्गले मसीही भनौंदाहरूमाथि प्रभुत्व जमाउन थाले।—१ कोरिन्थी ४:८-सित तुलना गर्नुहोस्‌।

      १०. मसीहीजगतको धार्मिक स्थिति १९१८ मा कस्तो थियो?

      १० सन्‌ १९१८ मा परमेश्‍वरको घरानाको न्याय हुन सुरु हुँदा, मसीहीजगतको साम्प्रदायिक पादरीवर्गले प्रथम विश्‍वयुद्धलाई खुलेआम समर्थन दिइरहेका थिए। ती पादरीवर्गले दुवै पक्षका क्याथोलिक र प्रोटेस्टेन्टहरूलाई एकअर्काको हत्या गर्न उक्साइरहेका थिए। (१ पत्रुस ४:१७) एफिसी मण्डलीकाहरूले निकोलाइटनको सम्प्रदाय र कामलाई घृणा गरेका थिए। तर मसीहीजगत चाहिं धेरै वर्षदेखि विरोधाभासपूर्ण ईश्‍वरनिन्दक शिक्षाहरूले लादिएको थियो। त्यसका पादरीवर्गले पनि संसारकै पक्ष लिए जबकि येशूले चाहिं उहाँका चेलाहरूलाई यस संसारको सहभागी नहुनू भन्‍नु भएको थियो। (यूहन्‍ना १५:१७-१९) बाइबलको मुख्य विषय अर्थात्‌ परमेश्‍वरको राज्यबारे मसीहीजगतका मण्डलीहरू अन्जान थिए। शास्त्रको सच्चाइलाई चम्काउने बत्ती तिनीहरू हुन सकेनन्‌ र नता यहोवाको आत्मिक मन्दिरको कुनै भाग बन्‍न सके। तिनीहरूका प्रमुख सदस्यहरू तारा जस्तो हुनुको सट्टा “अधर्मको मानिस”-का सदस्यहरू साबित भए।—२ थिस्सलोनिकी २:३; मलाकी ३:१-३.

      ११. (क) सन्‌ १९१८ मा विश्‍वको कुन चाहिं मसीही समूहले एफिसीहरूलाई येशूले दिनु भएको सल्लाह प्रयोगमा ल्याए? (ख) यूहन्‍ना वर्गकाहरूले १९१९ देखि उप्रान्त के गरे?

      ११ परन्तु यूहन्‍नावर्गका जनहरूले चाहिं प्रथम विश्‍वयुद्धका उथलपुथलग्रस्त दिनहरूलाई सफलतापूर्वक पार गर्न सके। यहोवा र सच्चाइका लागि उनीहरूको प्रेम झन्‌ बलियो भयो। यहोवालाई अझ जोडतोडका साथ सेवा गर्न उनीहरू उत्प्रेरित भए। सन्‌ १९१६-मा वाचटावर सोसाइटीका प्रथम सभापति, चार्ल्स टेज रसलको मृत्यु भएपछि उनलाई आफ्नो नेता मान्दै एउटा बेग्लै सम्प्रदाय खडा गर्न खोज्ने मानिसहरूको उनीहरूले घोर विरोध गरे। सतावट र कठिनाइहरूद्वारा अनुशासित यस मसीही समूहले निस्सन्देह आफ्नो मालिकको “स्याबासी” सुन्‍न पाए। उनीहरूलाई मालिकले उहाँको आनन्दमा समाविष्ट हुन निम्त्याउनु भयो। (मत्ती २५:२१, २३) येशूले राज्य शक्‍तिसहितको आफ्नो अदृश्‍य उपस्थितिलाई सङ्‌केत गर्न दिनु भएको चिन्हको पूर्ति उनीहरूले विश्‍वघटनाहरू र आफ्नै अनुभवद्वारा महसुस गर्न सके। सन्‌ १९१९देखि उप्रान्त उनीहरू येशूको यो अझ ठूलो भविष्यवाणीमा भाग लिन अग्रसर भए: “औ राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ।” (मत्ती ६:९, १०; २४:३-१४) यहोवाका लागि तिनीहरूको प्रेम कथङ्‌कदाचित्‌ कम भएको थियो भने पनि यसपछि चाहिं त्यो प्रेम बल्दो ज्वाला सरह तेज भयो।

      १२. (क) सन्‌ १९२२ को एउटा ऐतिहासिक सम्मेलनमा के आह्वान गरियो? (ख) साँचो मसीहीहरूले १९३१ मा के नाउँ अपनाए र कुन कुराबारे तिनीहरूले पश्‍चाताप पनि गरे?

      १२ यस्ता करीब १८,००० मसीहीहरू संयुक्‍त राष्ट्र अमेरिकाको सिडर प्वाँइन्ट, ओहायोमा आयोजित सेप्टेम्बर ५-१३, १९२२को ऐतिहासिक सम्मेलनमा भेला भए। त्यस सम्मेलनमा यो आह्वान गरियो: “हे परमप्रधानका सपुतहरू हो, आफ्नो काममा लाग . . . संसारलाई भनी देऊ, यहोवा नै परमेश्‍वर हुनुहुन्छ र येशू ख्रीष्ट राजाहरूको राजा र प्रभुहरूको प्रभु हुनुहुन्छ। राजा र राज्यको विज्ञापन गर, विज्ञापन गर, विज्ञापन गर।” यहोवाको अनमोल नाउँलाई अझ बढी महत्त्व दिइयो। यी मसीहीहरू १९३१मा आयोजित सम्मेलनका लागि फेरि कलम्बस, ओहायो, यु. एस. ए. मा भेला भए। यहाँ उनीहरूले रमाइ रमाइ यशैयाको अगमवाणीमा परमेश्‍वरबाट सङ्‌केतित “यहोवाका साक्षीहरू” भन्‍ने नाउँ अपनाए। (यशैया ४३:१०, १२) संगठनको विशेष पत्रिकाको नाउँ पनि मार्च १, १९३९को अङ्‌कदेखि बदलिएर द वाचटावर अनाउन्सिङ्‌ग जेहोवाज किङ्‌गडम (यहोवाको राज्यको घोषणा गर्ने वाचटावर) राखियो। यसप्रकार हाम्रो सृष्टिकर्ता र उहाँको शाही सरकारलाई विशेष सम्मान दिइयो। यहोवाका साक्षीहरूले यहोवाका लागि आफ्नो प्रेमलाई पुनःजागृत पारेका छन्‌। बितेको समयमा तिनीहरूले यहोवाको सुप्रसिद्ध नाउँ र राज्यलाई श्रद्धा र मान गर्नमा यदाकदा चुके तापनि त्यसका लागि तिनीहरूले पश्‍चाताप गरेका छन्‌।—भजनसंग्रह १०६:६, ४७, ४८.

      “जसले जित्छ”

      १३. (क) एफिसीहरूले ‘जितेमा’ के इनाम पाउने थिए? (ख) एफिससका मसीहीहरूले कसरी ‘जित्ने’ थिए?

      १३ अन्ततः हाम्रो विश्‍वासिलोपनाको इनाम परमेश्‍वरको आत्माले नै येशूद्वारा बताउने गर्छ र सोही कुरामाथि येशूले आखिरमा उहाँका अन्य सन्देशहरूमाझैं, हाम्रो ध्यानाकर्षण गर्नुहुन्छ। एफिसीहरूलाई उहाँ भन्‍नुहुन्छ: “जसको कान छ, त्यसले सुनोस्‌, आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ। जसले जित्छ, त्यसलाई परमेश्‍वरको . . . [ प्रमोदवनमा] भएको जीवनको रूखको फल म खान दिनेछु।” ( प्रकाश २:७, NW) जसजसको सुन्‍ने कान थियो, तिनीहरू यस अत्यावश्‍यक सन्देशबमोजिम हिंड्‌न उत्सुक हुने थिए। यो सन्देश येशूको व्यक्‍तिगत विचार नभएर स्वयं सर्वसत्ताधारी प्रभु यहोवाबाट उहाँको पवित्र आत्मा अथवा सक्रिय शक्‍तिद्वारा प्रस्तुत सन्देश हो भनी तिनीहरूले बुझेका हुने थिए। तर तिनीहरूले ‘जित्ने’ कसरी? येशूको पाइलामा टेकेर। मृत्युसम्मै आफ्नो निष्ठा कायम राख्नु भएको हुँदा येशूले यसो भन्‍न सक्नु भयो: “ढाडस गर, मैले संसारलाई जितेको छु।”—यूहन्‍ना ८:२८; १६:३३; १ यूहन्‍ना ५:४ पनि हेर्नुहोस्‌।

      १४. येशूले चर्चा गर्नु भएको “परमेश्‍वरको . . . [प्रमोदवन, NW]” के हुनुपर्छ?

      १४ तर ती एफिसीहरू जस्ता अभिषिक्‍त मसीहीहरूको त पार्थिव प्रमोदवनमा बाँच्ने आशा छैन। अतः तिनीहरूले “परमेश्‍वरको . . . [प्रमोदवनमा, NW] भएको जीवनको रूखको फल” कसरी खान सक्छन्‌ र? प्रथमतः, यो प्रमोदवन पृथ्वीमा पुनःस्थापित प्रमोदवन हुनै सक्‍तैन। किनकि एफिसीको मण्डली लगायत १,४४,००० अभिषिक्‍त मसीहीहरू थुमा, ख्रीष्ट येशूसित स्वर्गीय सियोन पर्वतमा आत्मिक पुत्रहरू भएर शासन गर्नका लागि पृथ्वीबाट किनिएका हुन्‌। (एफिसी १:५-१२; प्रकाश १४:१, ४) यसकारण ती विजेताहरूले उत्तराधिकारको रूपमा पाउने स्वर्गीय उद्यानरूपी लोकलाई नै यहाँ सङ्‌केत गरिएको हुनपर्छ। त्यहाँ “परमेश्‍वरको . . . प्रमोदवनमा” अर्थात्‌ स्वयं यहोवाको उपस्थितिमा अमरत्व प्रदत्त यी विजेताहरू सधैंभरि बाँच्नेछन्‌। तिनीहरूले जीवनको रूखको फल खानु उपरोक्‍त कुराकै एउटा प्रतीक हो।

      १५. विजेता हुन येशूले दिनु भएको प्रोत्साहन आज ठूलो भीडका लागि एउटा खास चासोको विषय किन हो?

      १५ तर १,४४,००० अभिषिक्‍त जनहरूका वफादार पार्थिव समर्थकहरूबारे के भन्‍न सकिन्छ? यी सङ्‌गी साक्षीहरूको एउटा ठूलो भीड पनि विजयी भइरहेका छन्‌। तर तिनीहरूले चाहिं पार्थिव प्रमोदवनमा प्रवेश गर्ने आशा राखेका छन्‌। त्यहाँ तिनीहरू “जीवनको नदी” बाट पिउनेछन्‌ र नदीको वारि र पारि रोपेका “जीवनका रूखहरू”ले तिनीहरूलाई निको पार्नेछ। (प्रकाश ७:४, ९, १७; २२:१, २) तपाईं पनि यसै समूहको एक जना हुनुहुन्छ भने यहोवाका लागि आफ्नो न्यानो प्रेम प्रकट गर्न सक्नुहुन्छ। विश्‍वासको यो जाँचमा विजयी हुन सक्नुहुन्छ। तपाईंले पनि पार्थिव प्रमोदवनको आनन्द उठाउन सक्नुहुनेछ।—१ यूहन्‍ना २:१३, १४.

  • विजेताहरू हुने कोशिश
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
    • १. (क) महिमावान येशूबाट अब कुन चाहिं मण्डलीले सन्देश पाउँछ? (ख) आफूलाई “आदि” र “अन्त” भनेर सम्बोधन गर्दै येशूले त्यस मण्डलीका मसीहीहरूलाई कुन कुराको सम्झना गराउनु हुन्छ?

      प्राचीन एफिसस आज एउटा उजाड खण्डहरको रूपमा छ। तर येशूको दोस्रो सन्देशको गन्तव्यस्थान चाहिं अहिले पनि चहलपहलपूर्ण एउटा शहर नै छ। एफिससको खण्डहरदेखि करीब ३५ मील उत्तरतिर इजमिर भन्‍ने एउटा तुर्की शहर छ। त्यहाँ यहोवाका साक्षीहरूको चार वटा जोशिलो मण्डली आज पनि पाइन्छ र त्यहाँ नै प्रथम शताब्दीमा स्मर्ना थियो। अब सुन्‍नुहोस्‌ येशू के भन्‍नुहुन्छ: “अनि स्मर्नामा भएको मण्डलीका दूतलाई लेख। यी कुरा आदि र अन्तले भन्दछ, जो मरेको थियो, तर जीवित भएको छ।” ( प्रकाश २:८) यी शब्दहरूद्वारा येशूले स्मर्नाका मसीहीहरूलाई सम्झाउँनु हुँदैछ कि उहाँ नै त्यो प्रथम र अन्तिम निष्ठावान व्यक्‍ति हुनुहुन्छ जसलाई स्वयं यहोवाले बिउँताउनु भएर अमर आत्मिक जीवन प्रदान गर्नु भयो। बाँकी अभिषिक्‍त मसीहीहरूलाई चाहिं येशूले नै बिउँताउनु हुनेछ। अतः स्वर्गमा उहाँसित अमर जीवन पाउने आशा राख्ने आफ्ना भाइहरूलाई सल्लाह दिन येशू सम्पूर्णतया योग्य हुनुहुन्छ।

      २. “मरेर फेरि जीवित” हुनु भएको ती व्यक्‍तिले भन्‍नु भएका कुराहरूबाट सबै मसीहीहरूले किन सान्त्वना पाउँछन्‌?

      २ धार्मिकताका लागि सतावट सहने सम्बन्धमा येशूले नै बाटो देखाउनु भयो। यसका लागि उहाँले आफ्नो इनाम पनि पाउनु भयो। मृत्युसम्मै उहाँको विश्‍वासिलोपना र पुनरुत्थान सबै मसीहीहरूको आशाको आधार हुन गएको छ। (प्रेरित १७:३१) हामीले सच्चाइको खातिर जे जति भोग्नु परे तापनि त्यो व्यर्थ जाँदैन भनेर येशूको ‘मृत्यु र पुनःरुत्थान’ ले प्रमाणित गरी दिएको छ। येशूको पुनरुत्थान सबै मसीहीहरूका लागि ठूलो प्रोत्साहनको स्रोत हो। खासगरी तिनीहरूले आफ्नो विश्‍वासको कारण कष्ट भोग्नु पर्दा। यस्तै कष्ट के तपाईंले पनि भोग्नु परिरहेको छ? छ भने, स्मर्नाको मण्डलीलाई येशूले अब भन्‍नु हुने यी शब्दहरूबाट तपाईं प्रोत्साहित हुन सक्नुहुन्छ:

      ३. (क) येशूले स्मर्नाका मसीहीहरूलाई के प्रोत्साहन दिनु भयो? (ख) स्मर्नाका मसीहीहरू दरिद्र भए तापनि येशूले तिनीहरू “धनी” छन्‌ किन भन्‍नु भयो?

      ३ “तिम्रो कष्ट र तिम्रो दरिद्रता ( तर तिमी ता धनी छौ), र यहूदी हुँ भनेर हिंड्‌ने, तर ती त्यस्ताहरू होइनन्‌, तर शैतानका सभाका भएका, तिनीहरूको निन्दा मलाई थाह छ।” ( प्रकाश २:९) येशूले स्मर्नाका आफ्ना भाइहरूको आलोचना गर्नु हुन्‍न। तिनीहरूको आत्मीयतापूर्ण सराहना मात्र गर्नुहुन्छ। तिनीहरूले आफ्नो विश्‍वासको खातिर धेरै नै सङ्‌कष्ट भोगेका छन्‌। सम्भवतः आफ्नो विश्‍वासकै कारण तिनीहरू आर्थिक तवरमा पनि दरिद्र छन्‌। (हिब्रू १०:३४) तापनि तिनीहरू मुख्यतः आत्मिक कुराहरूबारे नै चिन्तित रहन्छन्‌। येशूले अह्राउनु भएझैं तिनीहरूले स्वर्गमा धन थुपारेका छन्‌। (मत्ती ६:१९, २०) अतः प्रमुख गोठालाको नजरमा तिनीहरू “धनी” छन्‌।—याकूब २:५-सित तुलना गर्नुहोस्‌।

      ४. स्मर्नाका मसीहीहरूले कसबाट धेरै नै विरोधको सामना गर्नु पऱ्‍यो र येशूले ती विरोधीहरूलाई कुन दृष्टिले हेर्नुभयो?

      ४ स्मर्नाका मसीहीहरूले शारीरिक यहूदीहरूको तर्फबाट औधी विरोधको सामना गरेका छन्‌ र यस कुरालाई येशूले विशेष ध्यान दिनुहुन्छ। सुरुसुरुमा त यहूदी मतका धेरै जनाले मसीही धर्म नफैलिओस्‌ भनेर कडा विरोध गरेका थिए। (प्रेरित १३:४४, ४५; १४:१९) अब यरूशलेम नाश भएको केही दशकपछि फेरि स्मर्नाका ती यहूदीहरूले त्यही शैतानी प्रवृत्ति देखाइरहेछन्‌। नभन्दै येशूको नजरमा तिनीहरू “शैतानका सभा” हुन्‌।a

      ५. स्मर्नाका मसीहीहरूले अझ के कस्ता परीक्षाहरूको सामना गर्न बाँकी नै थियो?

      ५ यस्तो घृणाको सामना गर्नु परेको बेलामा स्मर्नाका मसीहीहरूलाई येशूले यो सान्त्वना दिनुहुन्छ: “तिमीले कष्ट भोग्न लागेका कुराहरूसँग नडराऊ, हेर, तिमीहरू परीक्षामा पर भनेर शैतानले तिमीहरूमध्ये कुनै कुनैलाई कैदमा हाल्नआँटेको छ, र तिमीहरूलाई दशै दिन कष्ट हुनेछ! तिमी मृत्युसम्मै विश्‍वासी होऊ, र म तिमीलाई जीवनको मुकुट दिनेछु।” ( प्रकाश २:१०) यहाँ येशूले युनानी भाषामा “तिमी” भन्‍ने सर्वनामको बहुवचन प्रयोग गर्नु भयो। अतः उहाँले भन्‍नु भएका कुराहरू सारा मण्डलीका लागि थियो। स्मर्नाका मसीहीहरूले सामना गर्नु परेका परीक्षाहरू चाँडै नै अन्त हुनेछ भनेर येशूले प्रतिज्ञा गर्न सक्नुहुन्‍न। तिनीहरूमध्ये कति जना अझ पनि सताइनेछन्‌ र झ्यालखानमा थुनिनेछन्‌। तिनीहरूले “दश दिन” सम्मै कष्ट भोग्नेछन्‌। दश अङ्‌क पार्थिव सम्पूर्णताको प्रतीक हो। तसर्थ, आध्यात्मिक तवरमा सम्पन्‍न ती निष्ठावान व्यक्‍तिहरू पनि आफ्नो मानवीय जीवनकालमा सम्पूर्ण रीतिले जाँचिने छन्‌।

      ६. (क) स्मर्नाका मसीहीहरूलाई भयभीत हुने खाँचो किन थिएन? (ख) स्मर्नाको मण्डलीमा पठाउनु भएको सन्देशलाई येशूले के भनेर टुङ्‌ग्याउनु भयो?

      ६ तथापि, स्मर्नाका ती मसीहीहरू भयभीत हुने अथवा तिनीहरूलाई कुनै सम्झौता गर्नु पर्ने खाँचो थिएन। अन्तसम्मै विश्‍वासी भई रहेमा तिनीहरूले “जीवनको मुकुट” अर्थात्‌ स्वर्गमा अमरत्व पाउने थिए। (१ कोरिन्थी ९:२५; २ तिमोथी ४:६-८) यो अनमोल पुरस्कार प्राप्त गर्न प्रेरित पावल आफ्नो पार्थिव जीवन समेत त्याग्न तयार थिए। (फिलिप्पी ३:८) त्यस्तै मनोवृत्ति स्मर्नाका ती विश्‍वासी जनहरूले पनि निश्‍चय राखेको हुनुपर्छ। येशूले आफ्नो सन्देशलाई टुङ्‌गयाउनु हुँदै यसो भन्‍नुहुन्छ: “जसको कान छ, त्यसले सुनोस्‌, आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ। जसले जित्छ, त्यसलाई दोस्रो मृत्युबाट केही हानि हुनेछैन।” ( प्रकाश २:११) मृत्युले छुनै नसक्ने अमर स्वर्गीय जीवन पाउने निश्‍चित आशा ती विजेताहरूलाई दिइन्छ।—१ कोरिन्थी १५:५३, ५४.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने