-
त्यो देदीप्यमान शहरप्रकाश—त्यसको चरमोत्कर्ष निकट!
-
-
२४. यूहन्ना अब जीवनको नदीको दुवैपट्टि के देख्छन् र तिनीहरूले के लाई चित्रित गर्छन्?
२४ इजकिएलको दर्शनमा नदी एउटा भल भयो। त्यसको दुवै किनारमा अगमवक्ताले हर किसिमका फलदायी वृक्षहरू उम्रिरहेको देखे। (इजकिएल ४७:१२) तर यहाँ यूहन्नाले के देख्छन्? “त्यस नदीको वारि र पारि प्रत्येक महिना बाह्रै किसिमको फल फलाउने जीवनको रूख थियो। त्यस रूखका पातहरूचाहिं जाति जातिका मानिसहरूलाई निको पार्नाको निम्ति थिए।” (प्रकाश २२:२) यी “जीवनको रूख”ले पनि आज्ञाकारी मानिसजातिलाई अनन्त जीवन प्रदान गर्ने यहोवाको प्रबन्धलाई नै चित्रित गरेको हुनुपर्छ।
२५. यहोवाले आज्ञाकारी मानवहरूका लागि विश्वव्यापी प्रमोदवनमा प्रशस्ततासाथ के प्रबन्ध मिलाउनु हुनेछ?
२५ आज्ञाकारी मानिसहरूका लागि यहोवाले साँच्चै नै कति प्रशस्त प्रबन्धहरू मिलाउनु भएको छ! ती मानिसहरूले त्यो स्फूर्तिदायक पानी पिउने मात्र होइनन्। तिनीहरूले ती रूखहरूबाट बाह्रै महीना अटूट रीतिले फल्ने अनेक प्रकारका पोषणदायी फलहरू टिप्न पनि सक्छन्। कठै, अदनको प्रमोदवनमा उपलब्ध यस्ता “हेर्नमा राम्रा” प्रबन्धहरूसित हाम्रा प्रथम माता-पिता सन्तुष्ट रहेको भए कति असल हुने थियो! (उत्पत्ति २:९) तर अब एउटा विश्वव्यापी प्रमोदवन यहाँ छ। यहोवाले ती प्रतीकात्मक रूखहरूका पातहरू पनि “जाति जातिका मानिसहरूलाई निको पार्न” प्रयोग गर्नुहुन्छ।c ती पातहरू आज उपचारको रूपमा प्रयोग हुने सबै औषधि वा जडीबुटी भन्दा सर्वोत्तम छन्। ती प्रतीकात्मक पातहरूको आरामदायी उपचारद्वारा विश्वासी मानिसहरूलाई आध्यात्मिक तथा शारीरिक सिद्धता प्राप्त हुनेछ।
२६. जीवनका रूखहरू को हुन सक्छन् र किन?
२६ नदीबाट प्रशस्त पानी पाउने ती रूखहरू थुमाकी पत्नीका १,४४,००० सदस्यहरू हुन सक्छ। परमेश्वरले येशू ख्रीष्टद्वारा मिलाउनु भएका जीवनदायी प्रबन्धहरूबाट तिनीहरूले पनि पृथ्वीमा छँदा पिउने गर्छन् र ख्रीष्टका यी आत्मा अभिषिक्त भाइहरूलाई भविष्यसूचक ढंगमा “धर्मको वृक्ष” भनिनु चाखलाग्दो छ। (यशैया ६१:१-३; प्रकाश २१:६) तिनीहरूले यहोवाको प्रशंसामा निकै आत्मिक फल फलाइ सकेका छन्। (मत्ती २१:४३) हजार वर्षीय राज्यमा पनि तिनीहरूले “जाति जातिका मानिसहरूलाई” पाप र मृत्युबाट “निको पार्न” छुडौतीको बलिदानका लाभहरू उपलब्ध गराउनमा भाग लिनेछन्।—१ यूहन्ना १:७-तुलना गर्नुहोस्.
फेरि रात हुनेछैन
२७. नयाँ यरूशलेममा प्रवेश पाउन सुयोग्य ठहरिएका व्यक्तिहरूले अझ के आशिषहरू पनि पाउनेछन् र त्यहाँ फेरि कुनै “श्रापित कुरा” हुनेछैन किन भन्न सकिन्छ?
२७ नयाँ यरूशलेममा प्रवेश! यो भन्दा महान विशेषाधिकार अरू हुनै सक्तैन। सोच्नुहोस्। जुन व्यक्तिहरू एकताका नम्र र असिद्ध मानिसहरू थिए, तिनीहरू नै अहिले येशूको पछिपछि यस्तो महिमायुक्त प्रबन्धको सहभागी हुन स्वर्गमा प्रवेश गरिरहेका छन्! (यूहन्ना १४:२) यिनीहरूले उपभोग गर्न पाउने आशिषहरूको केही झलक दिंदै यूहन्ना यसो भन्छन्: “त्यहाँ फेरि श्रापित कुरा हुनेछैन। परमेश्वरको र थुमाको सिंहासन त्यसभित्र हुनेछ, र उहाँका दासहरू उहाँको सेवा गर्नेछन्। औ तिनीहरूले उहाँको मुहार देख्नेछन्, उहाँको नाउँ तिनीहरूका निधारमा हुनेछ।” (प्रकाश २२:३, ४) इस्राएलका पूजारीहरू भ्रष्ट भएपछि तिनीहरूलाई यहोवाको श्राप लाग्यो। (मलाकी २:२) यरूशलेमको अविश्वासी “घर”लाई येशूले परित्यक्त घोषित गर्नु भयो। (मत्ती २३:३७-३९) तर नयाँ यरूशलेममा चाहिं “फेरि श्रापित कुरा” हुनेछैन। (जकरिया १४:११ तुलना गर्नुहोस्।) त्यहाँका सबै बासिन्दाहरू पृथ्वीमै छँदा कठिनाइहरूको आगोमा जाँचिएका हुनेछन्। तिनीहरू विजयी भइसकेका हुनेछन्। तिनीहरूले ‘अविनाशीपन र अमरत्व’ प्राप्त गरिसकेका हुनेछन्। तिनीहरूले कहिल्यै बाटो बिराउने छैनन् भनी यहोवा निश्चित हुनुहुनेछ। जस्तो गरी उहाँ येशूबारे पनि निश्चित हुनु हुन्थ्यो। (१ कोरिन्थी १५:५३, ५७) यसबाहेक, “परमेश्वर र थुमाको सिंहासन” पनि त्यहाँ भएकोले त्यो शहर सदाका लागि सुरक्षित रहनेछ।
२८. नयाँ यरूशलेमका सदस्यहरूको निधारमा परमेश्वरको नाउँ किन लेखिएको हुन्छ र तिनीहरूको सामु के रोमाञ्चक प्रत्याशा छ?
२८ त्यो स्वर्गीय शहरका जम्मै भावी सदस्यहरू स्वयं यूहन्नाझैं परमेश्वरका “दास” हुन्। यसैकारण त तिनीहरूको निधारमा सबैले देख्ने गरी तिनीहरूको मालिक, परमेश्वरको नाउँ लेखिएको छ। (प्रकाश १:१; ३:१२) नयाँ यरूशलेमको भाग भएर उहाँलाई पवित्र सेवा चढाउने मौकालाई तिनीहरूले एउटा अनमोल सौभाग्य ठान्नेछन्। यस्ता भावी शासकहरूसित येशूले उहाँ पृथ्वीमा हुनु हुँदा यो रोमाञ्चकारी प्रतिज्ञा गर्नु भएको थियो: “धन्य हृदयमा शुद्ध हुनेहरू, किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्।” (मत्ती ५:८) यहोवालाई साक्षात हेर्न र उहाँको उपासना गर्न पाउँन यी दासहरू कति हर्षित हुनेछन्!
२९. यूहन्ना किन स्वर्गीय नयाँ यरूशलेममा “फेरि रात हुनेछैन” भन्छन्?
२९ यूहन्ना अझ यसो भन्छन्: “औ त्यहाँ फेरि रात हुनेछैन, र तिनीहरूलाई नता बत्तीको उज्यालोको, न सूर्यको उज्यालोको खाँचो हुनेछ।” (प्रकाश २२:५क) पृथ्वीका सबै शहरहरूजस्तै प्राचीन यरूशलेम पनि दिउँसो सूर्यमा, राती चाँदनीमा र अन्य कृत्रिम ज्योतिमा भर पर्नु पर्थ्यो। तर स्वर्गीय यरूशलेममा चाहिं यस्तो कुनै पनि ज्योति आवश्यक हुनेछैन। स्वयं यहोवाले त्यस शहरलाई प्रकाशमान तुल्याइदिनु हुनेछ। अब “राती” भन्ने शब्द चाहिं प्रतीकात्मक तवरमा पनि प्रयोग हुन सकिन्छ। त्यसले विपत्ति अथवा यहोवाबाट अलग्गिने प्रक्रियालाई सङ्केत गर्न सकिन्छ। (मीका ३:६; यूहन्ना ९:४; रोमी १३:११, १२) तर यसप्रकारको रात सर्वशक्तिमान परमेश्वरको महिमायुक्त र ज्योतिर्मय उपस्थितिमा कहिल्यै हुनै सक्तैन।
३०. यूहन्नाले यो महान दर्शन कसरी अन्त गर्छन् र प्रकाशको पुस्तकले हामीलाई कुन कुराको आश्वासन दिन्छ?
३० यूहन्नाले परमेश्वरका दासहरूबारे यी शब्दहरू भन्दै यो भव्य दर्शनलाई टुङ्ग्याउँछन्: “र तिनीहरूले सदा सर्वदा राज्य गर्नेछन्।” (प्रकाश २२:५ख) साँच्चै नै, हजार वर्षको अन्तमा छुडौतीको बलिदानका लाभहरू पूर्णरीतिले उपलब्ध गराइ सकेको हुनेछ। सिद्ध पारिएको मानव परिवारलाई येशूले आफ्नो पिताको सामु प्रस्तुत गर्नु हुनेछ। (१ कोरिन्थी १५:२५-२८) तत्पश्चात् यहोवाले येशू र १,४४,००० जनहरूलाई अरू कुन काम सुम्पनु हुनेछ, हामी जान्दैनौं। तर यहोवालाई पवित्र सेवा चढाउने विशेषाधिकार चाहिं तिनीहरूले सदा सर्वदै पाउनेछन् भनी प्रकाशको पुस्तकले हामीलाई निश्चिन्त तुल्याउँछ।
प्रकाशको आनन्दमय चरमोत्कर्ष
३१. (क) नयाँ यरूशलेमको दर्शन कुन कुराको चरमोत्मकर्ष हो? (ख) नयाँ यरूशलेमले अरू विश्वासी मानिसहरूका लागि के गरी दिनेछ?
३१ नयाँ यरूशलेम अर्थात् थुमाकी पत्नीसम्बन्धी यो दर्शनको पूर्ति नै त्यो आनन्दमय चरमोत्कर्ष हो जसलाई प्रकाशको पुस्तकले सङ्केत गर्दै आएको छ। र यसो गर्नु उपयुक्त पनि छ। यस पुस्तकमा सम्बोधित यूहन्नाका सबै प्रथम शताब्दीका सँगी मसीहीहरूले प्रथमतः यही शहरमा प्रवेश पाउने आशा राखेका थिए। यसै शहरमा तिनीहरू येशू ख्रीष्टसित अमर आत्मिक सह-शासक बन्ने प्रतीक्षामा थिए। यही आशा आज पनि पृथ्वीमा बाँकी रहेका अभिषिक्त मसीहीहरूले राखेका छन्। यसप्रकार, जसै सम्पूर्ण दुलहीवर्ग थुमासित एकत्रित हुन्छन्, प्रकाशको पुस्तक पनि आफ्नो महान चरमोत्कर्षतर्फ अघि बढ्छ। यसपछि, नयाँ यरूशलेमद्वारा येशूको छुडौतीको बलिदानका लाभहरू मानिसजातिलाई उपलब्ध गराइन्छ। परिणामस्वरूप, अन्ततः सबै विश्वासी जनहरूले अनन्त जीवन पाउनेछन्। यसप्रकार हाम्रो सार्वभौम प्रभु यहोवाको महिमाका लागि एउटा अनन्तकालीन धार्मिक नयाँ पृथ्वी सृजने काममा दुलही अर्थात् नयाँ यरूशलेमले वफादार सहायकको रूपमा आफ्नो दुलहा राजालाई मदत दिनेछिन्।—मत्ती २०:२८; यूहन्ना १०:१०, १६; रोमी १६:२७.
३२, ३३. प्रकाशको पुस्तकबाट हामीले के सिकेका छौं र हाम्रो हार्दिक प्रतिक्रिया के हुनुपर्छ?
३२ यसर्थ प्रकाशको पुस्तकको अन्तमा आइपुग्दा हामी कति हर्षित हुन्छौं! शैतान र त्यसको सन्तानका प्रयासहरू पूरै विफल भएको हामीले देख्यौं! तर यहोवाका धार्मिक न्यायहरू सम्पूर्ण रीतिले कार्यान्वयन भएको छ। महान बेबिलोन र त्यसपछि शैतानको संसारको सुध्रनै नसक्ने सबै भ्रष्ट तत्त्वहरू सदाका लागि लोप हुनै पर्छ। शैतान स्वयं र त्यसका प्रेतहरू अगाध खाँदमा बन्द तथा नष्ट हुनेछन्। पुनरुत्थान र न्याय हुँदै जाँदा नयाँ यरूशलेमले स्वर्गबाट ख्रीष्टसित राज्य गर्नेछ। अन्ततः सिद्ध तुल्याइएको मानिसजातिले प्रमोदवनरूपी पृथ्वीमा अनन्त जीवन उपभोग गर्ने छन्। प्रकाशको पुस्तकमा यी जम्मै कुराहरूको कस्तो ज्वलन्त विवरण दिएको हामी पाउँछौं! यसले गर्दा ‘पृथ्वीमा रहने हरेक जाति, कुल, भाषा र मानिसहरूलाई घोषणा गर्ने अनन्त सुसमाचार’ सुनाउन आज हामी पनि कति उत्साहित हुन्छौं! (प्रकाश १४:६, ७) यो महान कार्यमा के तपाईंले पनि यथाशक्य गर्नु हुँदैछ?
३३ आउनुहोस्, हृदयभरि कृतज्ञताको भावसाथ हामी अब प्रकाशको पुस्तकका अन्तिम शब्दहरूतर्फ ध्यान दिऊँ।
-
-
प्रकाशको पुस्तक र तपाईंप्रकाश—त्यसको चरमोत्कर्ष निकट!
-
-
१. (क) प्रकाशको पुस्तकमा उल्लिखित अद्भुत प्रतिज्ञाहरूबारे स्वर्गदूतले यूहन्नालाई के आश्वासन दिन्छन्? (ख) “म चाँडै आउँछु” कसले भन्नु हुन्छ र यो ‘आउने’ काम कहिले हुने हो?
नयाँ यरूशलेमको आनन्ददायी वर्णन पढेपछि सायद तपाईं सोध्नु होला: ‘यतिको अद्भुत कुरा पूरा हुन सम्भव छ र?’ यस प्रश्नको उत्तर दिंदै यूहन्ना स्वर्गदूतका यी शब्दहरू उद्धृत गर्छन्: “औ तिनले मलाई भने, ‘यी कुराहरू विश्वासयोग्य र सत्य छन्। औ परमप्रभु, अगमवक्ताहरूका आत्माका परमेश्वरले आफ्ना दासहरूलाई झट्टै हुनआउने कुराहरू देखाउनालाई उहाँका दूत पठाउनुभयो। औ हेर, म चाँडै आउँछु। यस पुस्तकको अगमवाणी पालन गर्ने धन्यको हो।’” (प्रकाश २२:६, ७) प्रकाशको पुस्तकका जम्मै अद्भुत प्रतिज्ञाहरू साँच्चै नै पूरा हुनेछन्! येशूको नाउँमा बोल्दै स्वर्गदूत भन्छन् कि अब येशू “चाँडै” आउनु हुनेछ। यो अवश्य उही आगमन हुनुपर्छ जब येशू “चोर” जस्तै आउनु भएर आफ्ना शत्रुहरूलाई नष्ट पार्नु हुनेछ र प्रकाशको पुस्तकको आनन्दमय तथा महान चरमोत्कर्ष आरम्भ पनि गर्नु हुनेछ। (प्रकाश १६:१५, १६) हामी त्यतिखेर आनन्दित घोषित हुन चाहन्छौं भने हामीले आजै आफ्नो जीवनको गतिविधिलाई प्रकाशको “पुस्तक” अनुरूप ढाल्नु अत्यावश्यक छ।
२. (क) प्रकाशको पुस्तकका थुप्रै अर्थपूर्ण कुराहरूप्रति यूहन्नाको प्रतिक्रिया कस्तो हुन्छ र स्वर्गदूतले उनलाई के भन्छन्? (ख) स्वर्गदूतले “हेर, तिमीले यसो नगर” “परमेश्वरलाई नै दण्डवत गर” भनेका शब्दहरूबाट हामी के सिक्न सक्छौं?
२ यतिका अर्थपूर्ण कुराहरू प्रकाश भएको देखेपछि स्वभाविकतः यूहन्ना एकछिन स्तब्ध भए: “यी कुरा सुन्ने र देख्ने म यूहन्ना हुँ। औ जब मैले यी कुरा सुनें र देखें, तब मलाई यी कुरा देखाउने दूतको पाउमा दण्डवत् गर्न म घोप्टें। तर तिनले मलाई भनें, ‘हेर, तिमीले यसो नगर। म तिम्रो र अगम बोल्ने तिम्रा दाज्यू-भाइहरूको र यस पुस्तकका वचनहरू पालन गर्नेहरूको सँगी दास हुँ। परमेश्वरलाईनै दण्डवत् गर।’” (प्रकाश २२:८, ९; प्रकाश १९:१०-तुलना गर्नुहोस्।) स्वर्गदूतहरूको उपासना नगर्नु भनेर यहाँ दुई पटक दिएको चेताउनी यूहन्नाको पालोमा अति नै उपयुक्त थियो। त्यतिखेर केही व्यक्तिहरू स्वर्गदूतहरूको उपासना गरीटोपल्थे अथवा स्वर्गदूतहरूबाट विशेष जानकारी हासिल भएको दाबी समेत गर्थे। (१ कोरिन्थी १३:१; गलाती १:८; कलस्सी २:१८) आज उक्त चेताउनीले हामीलाई परमेश्वरको मात्र उपासना गर्न प्रोत्साहित गर्छ। (मत्ती ४:१०) हामीले अरू कुनै व्यक्ति वा चीजको उपासना गर्दै शुद्ध उपासनालाई कलङ्कित पार्नु हुँदैन।—यशैया ४२:५, ८.
३, ४. स्वर्गदूतले यूहन्नालाई अझ के भन्दै जान्छन् र यी शब्दहरूलाई शेष अभिषिक्त जनहरूले कसरी पालन गरेका छन्?
३ यूहन्ना अझ यसो भन्छन्: “अनि तिनले मलाई यसो भन्दारहेछन्, ‘यस पुस्तकका अगमवाणीका वचनहरूमा छाप नलाऊ, किनकि समय नजीक छ। जो अधर्मी छ, त्यसले अझै अधर्मनै गरिरहोस्, जो फोहोरी छ, त्यो अझै फोहोरीनै भइरहोस्, औ जो धर्मात्मा छ, त्यसले अझै धर्मनै गरिरहोस् र जो पवित्र छ, त्यो अझै पवित्रनै भइरहोस्।’”—प्रकाश २२:१०, ११.
४ शेष अभिषिक्त जनहरूले आज स्वर्गदूतका ती शब्दहरू पालन गरेका छन्। तिनीहरूले अगमवाणीका ती शब्दहरूको सीलबन्दी गरेर तिनलाई लुकाएका छैनन्। जायन्स वाच टावर एण्ड हरल्ड अफ क्राइस्ट्स प्रेजेन्स-नामक पत्रिकाको प्रथम अङ्कमा नै (जुलाई १८७९) प्रकाशको पुस्तकका केही पदहरूमाथि टिप्पणीहरू प्रस्तुत गरिएको थियो। यस पुस्तकको प्रथम अध्यायमा भने झैं यहोवाका साक्षीहरूले बितेका वर्षहरूमा प्रकाशको पुस्तकमाथि ज्योति दिने अन्य पुस्तकहरू प्रकाशित गर्दै आएको छ। सच्चाइका सबै प्रेमीहरूको ध्यान अब फेरि हामी प्रकाशको पुस्तकका शक्तिशाली अगमवाणीहरू र तिनीहरूको पूर्तितिर आकृष्ट गर्दछौं।
५. (क) प्रकाशको पुस्तकमा उल्लिखित चेताउनी र सरसल्लाहलाई मानिसहरूले अवहेलना गर्न चाहेमा नि? (ख) नम्र र धर्मी जनहरूको कस्तो प्रतिक्रिया हुनुपर्छ?
५ तर कसैले प्रकाशको पुस्तकका चेताउनीहरू र सरसल्लाहको बेवास्ता गर्न चाहन्छन् भने त्यसै गरून्! “जो अधर्मी छ, त्यसले अझै अधर्मनै गरिरहोस्।” यो भ्रष्ट संसारको फोहोरमै लडबडी गर्नेहरू त्यसैमा मर्न चाहन्छन् भने त्यो तिनीहरूको फैसला हो। महान बेबिलोनको विनाश सुरु हुनेबित्तिकै यहोवाका न्यायवचनहरू सम्पूर्णतः कार्यान्वयन हुन थाल्नेछन्। अतः नम्र जनहरूले अगमवक्ताका यी शब्दहरूलाई विशेष ध्यान दिऊन्: “परमप्रभुको खोजी गर। धार्मिकता खोज, नम्रता खोज, परमप्रभुको रीसको दिनमा सायद तिमीहरूले शरण पाउँछौं कि।” (सपन्याह २:३) यहोवालाई जसले आफ्नो जीवन समर्पण गरिसकेको छ अथवा “जो धर्मात्मा छ, त्यसले अझै धर्मनै गरिरहोस् र जो पवित्र छ, त्यो अझै पवित्र नै भइरहोस्।” बुद्धिमान मानिसहरूलाई थाह छ कि पापको कुनै पनि अल्पकालीन फायदालाई धार्मिकता र पवित्रता पछ्याउनेहरूले उपभोग गर्ने दीर्घकालीन आशिष्हरूसित तुलना गर्न मिल्दैन। बाइबल भन्छ: “तिमीहरू विश्वासमा छौ कि छैनौ भनी आफैले आफैलाई जाँचेर तिमीहरू आफ्नो प्रमाण देओ।” (२ कोरिन्थी १३:५) तपाईं आफूले रोज्नु भएको र हिंड्नु हुने मार्ग बमोजिम नै इनाम पनि पाउनु हुनेछ।—भजन १९:९-११; ५८:१०, ११.
-