प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • विजेताहरू हुने कोशिश
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
    • ७, ८. स्मर्नाको मण्डली जस्तै मसीही मण्डली पनि १९१८ मा कसरी पूर्ण रीतिले जाँचमा पऱ्‍यो?

      ७ स्मर्नाका मसीहीहरूले जस्तै आज यूहन्‍नावर्गकाहरू र तिनीहरूका सङ्‌गीहरूले “सम्पूर्ण रूपमा परीक्षा” को सामना गर्नु परेको छ। सङ्‌कष्टमा पर्दा पनि तिनीहरू आफ्नो विश्‍वासमा अटल रहेका छन्‌। तिनीहरू साँच्चै नै परमेश्‍वरका जनहरू हुन्‌। (मर्कूस १३:९, १०) प्रभुको दिन सुरु भएको थोरै समयपश्‍चात्‌ परमेश्‍वरका जनहरूको एउटा सानो अन्तरराष्ट्रिय समूह, येशूले स्मर्नाको मण्डलीलाई भन्‍नु भएको कुराबाट निकै नै आश्‍वाशित भए। (प्रकाश १:१०) हुनत यिनीहरूले १८७९ देखि नै परमेश्‍वरको वचनबाट आध्यात्मिक रत्नहरू खनेर निकाल्दै अरूहरूलाई सित्तैमा बाँड्‌ने गरेका थिए। तथापि, प्रथम विश्‍वयुद्धको दौडान तिनीहरूले कडा घृणा र विरोधको सामना गरे। यसको एउटा कारण त तिनीहरूले युद्धको जोश र लैलैमा भाग नलिएकोले हो। तिनीहरूले निडरतासाथ मसीहीजगतका गल्तीहरूको पर्दाफास गरी नै रहे। मसीहीजगतका अगुवाहरूले तिनीहरूको विरुद्धमा उक्साएको सतावट १९१८ सम्म त चरम सीमामा पुग्यो। यो सतावट स्मर्नाका मसीहीहरूले त्यतिखेरको यहूदी समाजबाट भोगेको सङ्‌कष्ट जस्तै थियो।

      ८ संयुक्‍त राज्य अमेरिकामा पनि सतावटको एउटा लहर चल्यो। अन्ततः जून २२, १९१८ को दिन वाच टावर सोसाइटीका नयाँ सभापति, जोसेफ एफ. रदरफर्ड र उनका प्रायः सातै जना सङ्‌गीहरू क्रमशः २०, २० वर्षको दण्ड भोग्न झ्यालखानमा थुनिए। तर जमानतमा तिनीहरूलाई नौं महिनापछि मुक्‍त गरियो। मई १४, १९१९ मा अपील अदालतले आफ्नो गलत फैसलालाई बदर गऱ्‍यो; पुर्पक्षमा १३० वटा गल्तीहरू फेला पऱ्‍यो। सेन्ट ग्रेगोरी द ग्रेट श्रेणीको नाइट्‌ उपाधि प्राप्त रोमन क्याथोलिक न्यायाधीश मेन्टनले १९१८ मा यी मसीहीहरूलाई जमानतमा मुक्‍त गर्न अस्वीकार गरेका थिए। तर केही समयपश्‍चात्‌ १९३९ मा उनी आफैले पनि छ पटक घूस मागेको र थापेको अभियोगमा दुई वर्ष जेल र १०,००० डलर जरिमाना भोग्नु पऱ्‍यो।

      ९. नाजी जर्मनीमा हिटलरले यहोवाका साक्षीहरूसित कस्तो व्यवहार गरे र यसमा पादरीवर्गको प्रतिक्रिया कस्तो थियो?

      ९ जर्मनीमा नाजी शासन चलुन्जेल हिटलरले यहोवाका साक्षीहरूको प्रचार कार्यलाई सम्पूर्णतया बन्द नै गरिदियो। वर्षौंसम्म यहोवाका हजारन साक्षीहरूलाई निरोधन शिविर र झ्यालखानाहरूमा क्रूरतासाथ थुनेर राखियो। हिटलरको सेनामा भर्ना हुन अस्वीकार गर्ने झन्डै २०० युवकहरूको चाहिं हत्या गरियो। तर यी जम्मै गतिविधिलाई पादरीवर्गले समर्थन गरिरहेको थियो। यसको एउटा प्रमाण मई २९, १९३८ को द जर्मन वे नामक अखबारमा प्रकाशित स्वयं एक जना क्याथोलिक पादरीका शब्दहरूले नै दिन्छ। उनले अरू कुरा बाहेक यसो भने: “बाइबल स्टुडेन्ट्‌स [यहोवाका साक्षीहरू] भनौंदाहरूमाथि सरकारी प्रतिबन्ध लगाउने अब पृथ्वीमा एउटै देश छ र त्यो हो जर्मनी! . . . अडोल्फ हिटलर सत्तामा आएपछि उनीसित जर्मनीको क्याथोलिक सङ्‌घले फेरि बिन्ती गऱ्‍यो र परिणामस्वरूप हिटलरले यसो भने: ‘यी साँचो बाइबल स्टुडेन्ट्‌स भनौंदाहरूले [यहोवाका साक्षीहरू] समाजमा कचिङ्‌गल मात्र उठाउँछन्‌; . . . मेरो विचारमा तिनीहरू ढोंगीहरू हुन्‌; त्यो अमेरिकी जज रदरफर्डले हाम्रो जर्मनीका क्याथोलिकहरूको धज्जी उडाएको म सहने छैन; म जर्मनीमा [यहोवाका साक्षीहरूको] सङ्‌घलाई भङ्‌ग गर्दछु।’ ” यसपछि पादरीले “स्याबास!” भने।

      १०. (क) प्रभुको दिनमा यहोवाका साक्षीहरूले के कस्ता सतावटको सामना गरेका छन्‌? (ख) मसीहीहरूले अदालतहरूमा धार्मिक स्वतन्त्रताका लागि सङ्‌घर्ष गर्दा अक्सर के परिणाम भएको छ?

      १० सर्प र उसको सन्तानले प्रभुको दिनमा अभिषिक्‍त मसीहीहरू र तिनीहरूका सङ्‌गीहरूको विरुद्धमा लडाइँ गर्न कहिल्यै पनि छाडेका छैनन्‌। तीमध्ये कति त जेलमा थुनिए अर्थात्‌ क्रूरतासाथ सताइए। (प्रकाश १२:१७) यी शत्रुहरूले ‘कानुनको सहारा लिएर षडयन्त्र रच्न’ बन्द गरेका छैनन्‌। तर यहोवाका जनहरूले पनि दृढतासाथ यो अडान लिएका छन्‌: “हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा अवश्‍य पालन गर्नु पर्छ।” (भजनसंग्रह ९४:२०, किङ्‌ग जेम्स भर्सन; प्रेरित ५:२९) सन्‌ १९५४ मा वाच टावर पत्रिकाको रिपोर्टअनुसार “सत्तरीभन्दा बढी देशहरूले बितेका चालीस वर्षमा कुनै न कुनै समयमा यहोवाका साक्षीहरूलाई सताएका छन्‌ अथवा तिनीहरूलाई गाह्रो पार्ने किसिमका नियमहरू बनाएका छन्‌।” तर जहाँ अदालतहरूमा आफ्नो धार्मिक स्वतन्त्रताका लागि सङ्‌घर्ष गर्न सम्भव भएको छ, त्यहाँ यी मसीहीहरूले सङ्‌घर्ष गरेका छन्‌। कतिपय देशहरूमा त ठूल-ठूला विजय पनि हासिल गरेका छन्‌। संयुक्‍त राज्य अमेरिकाको सर्वोच्च अदालतबाट मात्र यहोवाका साक्षीहरूले ५० वटा मुद्दा जितेका छन्‌।

      ११. येशूले आफ्नो उपस्थितिको चिह्नबारे भन्‍नु भएको कुन भविष्यवाणी प्रभुको दिनमा यहोवाका साक्षीहरूमाथि पूरा भएको छ?

      ११ येशूले सिजरको चीज सिजरलाई दिन अह्राउनु भएको थियो। (लूका २०:२५; रोमी १३:१, ७) यस आज्ञाको पालना गर्न जति महत्त्व यहोवाका साक्षीहरूले दिन्छन्‌, त्यति अरू कुनै पनि समूहले दिएको छैन। तापनि यतिका थुप्रै यहोवाका साक्षीहरूलाई नै अन्य देशहरूमा विभिन्‍न सरकारहरूले जेलमा थुनिदिएका छन्‌। यस्तो कार्य आजसम्मै अमेरिका, युरोप, अफ्रिका र एसियामा भइ रहेको छ। येशूले आफ्नो उपस्थितिको चिह्नबारे दिनु भएको महान भविष्यवाणीमा यी शब्दहरू पनि समाविष्ट छन्‌: “तब तिनीहरूले तिमीहरूलाई घोर शासनाको लागि सुम्पिदिनेछन्‌, र तिमीहरूलाई मार्नेछन्‌, औ मेरो नाउँको खातिर सबै जातिमध्ये तिमीहरू घृणित हुनेछौ।” (मत्ती २४:३, ९) प्रभुको दिनमा उक्‍त शब्दहरू निस्सन्देह यहोवाका साक्षीहरूमाथि पूरा भएका छन्‌।

      १२. यूहन्‍नावर्गकाहरूले परमेश्‍वरका जनहरूलाई सतावटको सामना गर्ने बल कसरी प्रदान गरेका छन्‌?

      १२ परमेश्‍वरका जनहरूले सङ्‌कष्ट भोग्नु पर्दा तिनीहरूलाई यूहन्‍नावर्गकाले बारम्बार बलियो तुल्याउन खोजेको छ। तिनीहरूले स्मर्नाका मसीहीहरूलाई येशूले भन्‍नु भएका शब्दहरूको निचोड सम्झाउने कोशिश गरेका छन्‌। उदाहरणका लागि, नाजीहरूको तर्फबाट सतावट सुरु हुँदा १९३३ र १९३४ को द वाचटावर मा यी लेखहरू प्रकाशित गरियो: मत्ती १०:२६-३३ मा आधारित “तिनीहरूसित नडराऊ”; दानिएल ३:१७, १८ मा आधारित “अग्निपरीक्षा”; र “सिंहको मुख” भन्‍ने लेख जसको मूल पद नै दानिएल ६:२२ थियो। यो पुस्तक पहिलो चोटि प्रकाशित भएको सन्‌ १९८० को दशकमा पनि यहोवाका साक्षीहरूले ४० भन्दा बढी मुलुकहरूमा क्रूर सतावट भोगे। तर यस दशकभरि परमेश्‍वरका जनहरूलाई द वाचटावर पत्रिकाले “सतावटको बावजूद आनन्दित!” र “मसीहीहरूले सतावटको सामना धैर्यसाथ गर्छन्‌” भन्‍ने लेखहरूद्वारा बल प्रदान गऱ्‍यो।b

      १३. स्मर्नाका मसीहीहरू जस्तै यहोवाका मसीही साक्षीहरू पनि सतावटको समक्ष किन भयभीत भएका छैनन्‌?

      १३ साँच्चै नै यहोवाका मसीही साक्षीहरूले प्रतीकात्मक दश दिनका लागि शारीरिक सतावट र अन्य जाँचहरू भोगिरहेका छन्‌। तिनीहरू स्मर्नाका मसीहीहरू जस्तै भयभीत भएका छैनन्‌; हामी पनि पृथ्वीमा आपद्‌विपद्‌ बढ्‌दै जाँदा भयभीत हुनु हुँदैन। हामी जस्तोसुकै सङ्‌कष्ट भोग्न तयार छौं; आनन्दपूर्वक हामी अरूहरूलाई हाम्रो ‘धनसम्पत्ति लुट्‌न’ दिन पनि राजी छौं। (हिब्रू १०:३२-३४) यदि हामीले परमेश्‍वरको वचन अध्ययन गऱ्‍यौं र त्यसलाई अपन्यायौं भने विश्‍वासमा दृढ भएर उभिन सक्नेछौं। तपाईंको निष्ठालाई यहोवाले सुरक्षित राख्न सक्नुहुन्छ र सुरक्षित राख्नु पनि हुनेछ भनेर विश्‍वस्त हुनुहोस्‌। “तिमीहरूका सारा फिक्री उहाँमाथि राखिदेओ, किनकि उहाँले तिमीहरूको फिक्री गर्नुहुन्छ।”—१ पत्रुस ५:६-११.

  • येशूको नाउँमाथि सुदृढ आस्था राख्ने
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
    • १. येशूले यसपछि दिनु हुने सन्देश कुन मण्डलीले पाए र ती मसीहीहरू कस्तो शहरमा बसेका थिए?

      स्मर्नादेखि ५० मील उत्तर समुद्री तट हुँदै कैकस नदीको उपत्यकाबाट अझ १५ मील भित्र गयौं भने हामी पर्गामममा आइपुग्छौं। यसलाई आज बर्गामा भनिन्छ। यो शहर जुइस्‌ अथवा जुपिटरको मन्दिरका लागि प्रसिद्ध थियो। यो मन्दिरको वेदीलाई पुरातत्त्ववेत्ताहरूले १८०० को दशकमा जर्मनी पुऱ्‍याए। त्यस वेदीलाई बर्लिनको पर्गामोन संग्राहलयमा गैर मसीही देवताहरूका थुप्रै मूर्तिहरूसित आज पनि देख्न सकिन्छ। त्यतिका मूर्तिपूजाबीच रहेको मण्डलीलाई प्रभु येशूले के सन्देश पठाउनु हुनेछ?

      २. येशूले आफूलाई कसरी चिनाउनु हुन्छ र उहाँसित “धारिलो दुइधारे तरवार” हुनुको अर्थ के हो?

      २ सर्वप्रथम येशूले आफूलाई स्पष्ट रीतिले चिनाउनु हुँदै यसो भन्‍नुहुन्छ: “अनि पर्गामममा भएको मण्डलीको दूतलाई लेख। यी कुरा धारिलो दुइ-धारे तरवार भएकोले भन्दछ।” ( प्रकाश २:१२) येशूले यहाँ प्रकाश १:१६ मा उल्लिखित आफ्नो परिचयलाई दोहोऱ्‍याउनु हुन्छ। येशूले न्यायाधीश र प्रमुख कार्यान्वयनकर्ताको हैसियतमा आफ्ना अनुयायीहरूलाई सताउने सबैको नाश गर्नु हुनेछ। यो आशा कति सान्त्वनादायी छ! तथापि मूर्तिपूजा, अनैतिकता, झूट बोल्ने, तथा बेइमानी गर्ने र खाँचोमा परेकाहरूको हेरविचार नगर्ने मसीही भनौंदाहरूको विरुद्धमा यहोवाले येशू ख्रीष्ट आफ्नो “करारको दूत” द्वारा न्याय गर्नु हुनेछ। उक्‍त चेताउनीलाई मण्डली भित्र-का सबै जनाले मनमा राख्नु पर्छ। (मलाकी ३:१, ५; हिब्रू १३:१-३) परमेश्‍वरले येशूद्वारा दिनु हुने सल्लाह र सुधारलाई सुन्‍नैपर्छ!

      ३. पर्गामममा कुन प्रकारको झूटो उपासना गरिन्थ्यो र त्यहाँ “शैतानको सिंहासन” थियो भनेर किन भन्‍न सकिन्छ?

      ३ येशूले अब मण्डलीहरूलाई यसो भन्‍नुहुन्छ: “तिमी कहाँ रहन्छौं? अर्थात्‌ शैतानको सिंहासन भएकै ठाउँमा भन्‍ने म जान्दछु।” ( प्रकाश २:१३क) हो, ती मसीहीहरू चारैतिरबाट शैतानी उपासनाले घेरिएका थिए। जुइस्‌को मन्दिरबाहेक त्यहाँ एस्क्युलेप्यस अर्थात्‌ बिरामी निको पार्ने देवताको वेदी पनि थियो। साथै, पर्गामम शहर सम्राट-पूजाका लागि प्रसिद्ध थियो। जुन हिब्रू शब्दलाई “शैतान” भनेर अनुवाद गरिएको छ, त्यस शब्दको अर्थ हो “विरोधी” तथा “विद्रोही” र उसको “सिंहासन” भन्‍नाले केही समयसम्म ईश्‍वरले चल्न दिनु भएको विश्‍वशासनको बोध हुन्छ। (अय्यूब १:६, न्यु वर्ल्ड ट्रान्सलेशन रेफ्‌रेन्स बाइबल, पादटिप्पणी) शैतानको “सिंहासन” ले पर्गामममा जरा गाडेको कुरा, त्यहाँको विस्तृत मूर्तिपूजाबाट स्पष्ट झल्किन्छ। त्यहाँका मसीहीहरूले राष्ट्रियताको नाउँमा शैतानलाई दण्डवत नगर्दा ऊ साँच्चै नै कति क्रोधित भएको हुनुपर्छ!

      ४. (क) येशूले पर्गाममका मसीहीहरूलाई कुन कुराका लागि प्रशंसा गर्नुहुन्छ? (ख) मसीहीहरूसित गर्नु पर्ने व्यवहारबारे सम्राट ट्राजनलाई उनको व्यक्‍तिगत प्रतिनिधि प्लाइनीले के लेखे? (ग) पर्गाममका मसीहीहरूले खतराको बावजूद पनि के गरे?

      ४ हो, “शैतानको सिंहासन” ठीक त्यहाँ पर्गामममै छ। तापनि, येशू यसो भन्‍नुहुन्छ: “तिमीले मेरो नाउँ स्थिर गराएर मेरो गवाही, मेरो विश्‍वासी जन एन्टिपासको दिनमा पनि, ममाथिको विश्‍वास इन्कार गरेनौ। तिनी तिमीहरूकै बीचमा मारिए, जहाँ शैतान बास गर्छ।” ( प्रकाश २:१३ख) कस्तो हृदयस्पर्शी प्रशंसा! पक्कै पनि रोमी सम्राट-पूजा र अन्य प्रेतवादी रीतिथिति पालन गर्न इन्कार गरेको हुनाले नै एन्टिपास शहीद भएको हुनुपर्छ। यूहन्‍नाले यो भविष्यवाणी पाएको थोरै समयपश्‍चात्‌ रोमको सम्राट ट्राजनलाई उनको व्यक्‍तिगत प्रतिनिधि कान्छो प्लाइनीले एउटा पत्र पठाएका थिए। त्यस पत्रमा उनले मसीही हुने आरोप लागेकाहरू माथि चलाउनु पर्ने कारबाहीको व्याख्या गरे र त्यो कारबाहीलाई सम्राटले पनि आफ्नो अनुमोदन दिए। प्लाइनीको भनाइअनुसार मसीही हुन इन्कार गर्नेहरूले उनी “सङ्‌गसङ्‌गै देवताहरू पुकार्ने मन्त्र जप्दै, तपाईंको [ट्राजनको] मूर्तिको सामने धूप र दाखरस चढाएर . . . ख्रीष्टलाई समेत सरापेपछि” तिनीहरूलाई मुक्‍त गरिन्थ्यो। यसो गर्न नमान्‍ने मसीहीहरूलाई चाहिं मृत्युदण्ड दिइन्थ्यो। तर यस्तो खतराको समक्ष पनि पर्गाममका मसीहीहरूले आफ्नो विश्‍वासलाई इन्कार गरेनन्‌। तिनीहरूले ‘येशूको नाउँमाथि सुदृढ आस्था’ राख्न छाडेनन्‌। येशू नै यहोवाको नाउँको प्रमुख संरक्षक र नियुक्‍त न्यायाधीश हुनुहुन्छ भनी स्वीकार्दै तिनीहरूले येशूको उच्च ओहदाको ठूलो सम्मान गरे। परमेश्‍वरको राज्यका वफादार साक्षीहरू भएर तिनीहरू येशूको पाइलामा हिंडे।

      ५. (क) मसीहीहरूलाई कडा जाँचको सामना गर्न लाउने गरी हाम्रो समयमा सम्राटपूजाले कुन रूप धारण गरेको छ? (ख) द वाचटावर-ले मसीहीहरूका लागि के मदद उपलब्ध गराएको छ?

      ५ शैतान नै वर्तमान दुष्ट संसारको शासक हो भनेर येशूले धेरै पटक बताइ सक्नु भएको थियो। तर येशूको निष्ठाको कारण शैतानले उहाँलाई आफ्नो कब्जामा चाहिं पार्न सकेको थिएन। (मत्ती ४:८-११; यूहन्‍ना १४:३०) हाम्रो समयमा खासगरि “उत्तरको राजा” र “दक्षिणको राजा” जस्ता शक्‍तिशाली राष्ट्रहरू विश्‍वशासनका लागि आपसमा सङ्‌घर्ष गरेका छन्‌। (दानिएल ११:४०) देशभक्‍तिको हुरी जोडसित चलेको छ। पुरातन सम्राट-पूजाले यी आधुनिक समयहरूमा सारा पृथ्वीभरि राष्ट्रियताको रूप धारण गरेको छ। यसबारे बाइबल के भन्छ र येशूले जस्तै निडरतासाथ यहोवाको नाउँमा हिंड्‌दै विश्‍वलाई जित्न चाहने मसीहीहरूले के गर्नुपर्छ, इत्यादि निर्देशन नोभेम्बर १, १९३९, नोभेम्बर १, १९७९ र सेप्टेम्बर १, १९८६ को द वाचटावर-का अङ्‌कहरूमा तटस्थासम्बन्धी लेखहरूद्वारा स्पष्ट पारिएको थियो।—मीका ४:१, ३, ५; यूहन्‍ना १६:३३; १७:४, ६, २६; १८:३६, ३७; प्रेरित ५:२९.

      ६. एन्टिपासले जस्तै यहोवाका साक्षीहरूले पनि यी आधुनिक समयहरूमा कसरी दृढ अडान लिएका छन्‌?

      ६ यस्तो सरसल्लाह अत्यावश्‍यक साबित भएको छ। देशभक्‍तिको विवेकहीन जोश समक्ष अभिषिक्‍त मसीहीहरू र तिनीहरूका सङ्‌गीहरूलाई विश्‍वासमा दह्रो हुने खाँचो छ। राष्ट्रिय झन्डालाई सलामी नगर्दा संयुक्‍त राज्य अमेरिकामा सयौं केटाकेटीहरू र शिक्षकहरू स्कूलहरूबाट निकालिए। जर्मनीमा चाहिं स्वस्तिकालाई सलामी नगर्दा साक्षीहरूलाई बडो क्रूरतासाथ सताइयो। राष्ट्रियताको नाउँमा गरिने यस्तो मूर्तिपूजामा सहभागी हुन नचाहने यहोवाका हजारौं वफादार साक्षीहरूलाई हिटलरका नाजीबादीहरूले मारी नै दिए। सन्‌ १९३० को दशकमा सम्राट-पूजा गर्ने शिन्टो धर्मविधि जापानमा खूबै प्रचलित थियो। त्यतिखेर दुई जना अग्रगामी सेवकहरूले जापानी मातहतमा रहेको ताइवानमा परमेश्‍वरको राज्यको निकै बिउ छरे। तर त्यहाँका सैनिक पदाधिकारीहरूले यी दुई जनालाई झ्यालखानमा थुनिदिए। एक जना त त्यो क्रूर दुर्व्यवहार खप्न नसकेर मरी नै हाले। केही समयपछि अर्कोलाई चाहिं मुक्‍त गरी दिनासाथै पिठ्‌यूँमा पछाडिबाट गोली हानेर मारी दिए। उनी एक जना आधुनिक एन्टिपास सरह भए। आज पनि केही देशहरूमा राष्ट्रियताका प्रतीकहरू र स्वयम्‌ राष्ट्रलाई नै एकनिष्ठ उपासना चढाउने माग गरिन्छ। यस्तो अवस्थामा निडर भएर आफ्नो मसीही तटस्थताका लागि अडान लिंदा थुप्रै जवान मसीहीहरू झ्यालखानमा थुनिएका छन्‌ र एकाध जनाको चाहिं हत्या पनि भएको छ। यस्तो चुनौतीको सामना गर्ने तपाईं पनि एक जना जवान युवक हुनुहुन्छ भने परमेश्‍वरको वचन दिनहुँ पढ्‌ने गर्नुहोस्‌। यसप्रकार तपाईं पनि अनन्त जीवनका लागि “विश्‍वास गर्नेहरूमध्येका” हुनु हुनेछ।—हिब्रू १०:३९–११:१; मत्ती १०:२८-३१.

      ७. राष्ट्रको उपासनासम्बन्धी विवादको सामना भारतका केही युवा-युवतीहरूले कसरी गरे र परिणामस्वरुप के भयो?

      ७ स्कूल पढ्‌ने केटाकेटीहरूले पनि यस्तै किसिमका चुनौतीहरूको सामना गर्नु परेको छ। सन्‌ १९८५ मा भारतको केरला प्रान्तमा यहोवाका साक्षीहरूका तीन जना केटाकेटीहरूले राष्ट्रिय गान गाउन इन्कार गरे। तिनीहरूले बाइबलमा आधारित आफ्नो विश्‍वासलाई दह्रो राखे। अरूहरू गाउन्जेल तिनीहरू आदरपूर्वक उभिरहे। तापनि तिनीहरू स्कूलबाट निकालिए। यस कारबाहीको विरुद्धमा अपील गर्दै तिनीहरूका पिताले त्यो मामिला भारतको सर्वोच्च अदालतसम्म पुऱ्‍याए। त्यहाँका दुई जना न्यायाधीशहरूले हाम्रा केटाकेटीहरूको पक्षमा फैसला गरे। तिनीहरूले साहसपूर्वक यसो भने: “हाम्रो संस्कृतिले सहिष्णुता सिकाउँछ; हाम्रो दर्शनशास्त्रले सहिष्णुता सिकाउँछ; हाम्रो संविधानले सहिष्णुतालाई सक्रिय रूप दिएको छ; अब हामी त्यसलाई रद्द गर्न नखोजौं।” पत्र-पत्रिका र हाम्रो पक्षमा लेखिएका सम्पादकीयहरूद्वारा त्यतिबेला त्यस देशमा बस्ने पृथ्वीको कुल जनसंख्याको पाँच भागको झण्डै एक भागलाई सूचित गराइयो कि त्यहाँ पनि त्यस्ता मसीहीहरू छन्‌ जसले साँचो परमेश्‍वर यहोवाको उपासना गर्छन्‌ र जो बाइबलका सिद्धान्तहरूप्रति वफादार रहन्छन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने