सुरक्षित राख्नुहोस्
प्रचारकार्यमा भाग लिंदा साहसी र विवेकी हुने
१ हामीले प्रचार गर्ने अहिलेका अवस्थाको लागि सुसज्जित: हामी आफ्नो मसीही गतिविधिमा भाग लिंदा सार्वभौम शासकको रूपमा यहोवा परमेश्वर अनि मण्डलीका शिर तथा शासनारूढ राजाको रूपमा येशू हाम्रो साथमा हुनुहुन्छ। बाइबल अनि येशूले चलाइरहनुभएको ‘विश्वासी दास’ मार्फत पाउने असल असल सल्लाहले हामीलाई सुसज्जित बनाउँछ।—२ तिमो. ३:१७; मत्ती २४:४५-४७; २८:२०.
२ ‘यस संसारको रूप परिवर्तन भइरहेको छ’ र हामीले सेवकाईमा, विशेष गरी घर-घरको प्रचारकार्यमा झन्-झनै धेरै चुनौतीहरूको सामना गर्नु परिरहेको छ। (१ कोरि. ७:३१, NW) बद्लँदो परिस्थितिको कारण प्रथम शताब्दीमा पनि चेलाहरूले प्रचार गर्ने तरिकामा छाँटकाँट गर्नुपरेको थियो। (लूका २२:३५, ३६) प्रचारकार्यमा भाग लिंदा हामी विवेकी हुनु त पर्छ तर डराउनु भने पक्कै हुँदैन। बरु, यहोवाले आवश्यक बल दिनुहुन्छ भनेर विश्वस्त हुँदै हामी उहाँमा भर पर्नै पर्छ।—फिलि. १:२८.
३ सेवकाईमा विरोधको सामना गर्नुपर्दा के गर्ने भनेर सन् २००३ मा पत्र र सेवकाई सभाका भागहरू मार्फत मदतकारी जानकारीहरू उपलब्ध गराइएको थियो। अहिले ती निर्देशनहरूलाई हामीले फेरि दोहोऱ्याएर हेरी ताजा बनाउनुपरेको छ। समयको दौडान थुप्रै मण्डलीले ती निर्देशनअनुसार गर्न छोडेजस्तो देखिन्छ। तर अहिले प्रचारकार्यमा झन्-झनै धेरै विरोधको सामना गर्नुपरेकोले ती निर्देशन पालन गर्नु आवश्यक छ। हुन त, देशका सबै भागमा उत्ति नै तीव्रतासाथ उस्तै प्रकारका विरोधहरू भइरहेका छैनन्। त्यसैले हामी सबैले स्थानीय आवश्यकताअनुसार ती निर्देशनहरू लागू गर्नुपर्छ। एउटा कुरा मनमा राख्नुहोस्, समस्या खडा भइसकेपछि कस्तो व्यवहार गर्ने भन्ने मात्र होइन तर हामी समस्याहरूबाटै जोगिन चाहन्छौं। यसकारण, हामीले अहिले तत्कालै विरोधको सामना गर्नु परिरहेका छैनौं भने तापनि यस लेखमा दिइएका सल्लाहहरू लागू गर्नुपर्छ।
४ यस लेखमा दिइएका बाइबल आधारित र व्यावहारिक सल्लाह-सुझावबाहेक आफ्नो कानुनी अधिकार थाह पाउन सबैलाई मदत गर्ने र प्रचारकार्यमा पक्राउ पऱ्यो भने के गर्ने भनी विस्तृत निर्देशन दिने ऐन-कानुनबारेको सामान्य जानकारी शाखा कार्यालयबाट चाँडै पाउनुहुनेछ। यस जानकारीले तपाईंलाई व्यक्तिगत रूपमा मदत पुऱ्याउनेछ भने प्राचीनहरूको निकायले चाहिं तपाईंलाई कसरी मदत गर्ने भनी थाह पाउन यसबाट मदत पाउनेछन्।
५ विरोधको सामना गर्न र आफ्नो निष्ठा कायम राख्न तयार रहिरहनै पर्छ भनी हामी प्रत्येकलाई थाह छ। (२ तिमो. ३:१२) तर त्यस्तो अवस्थामा शाखा कार्यालयबाट पूरापूर समर्थन पाउने कुरामा पनि हामी ढुक्क हुन सक्छौं। हाम्रा थुप्रै भाइहरूले सामना गरिसकेको जस्तै परिस्थितिमा तपाईं कहिल्यै पर्नुभयो भने अर्थात् विरोधीहरू हुल बाँधेर तपाईंलाई आक्रमण गर्न आयो र ‘अदालतमा सुम्पिदियो’ भने मत्ती १०:१७-२० को सल्लाह सम्झनुहोस्। प्राचीनहरूले तिनीहरूलाई दिइएको निर्देशनअनुसार कदम चाल्नुको अलावा शाखा कार्यालयलाई टेलिफोन मार्फत खबर गरिहाल्नुपर्छ। यहोवाले आफ्नो संगठन मार्फत हामीलाई मदत गर्नुहुनेछ भनेर हामी विश्वस्त हुन सक्छौं।—यशै. ५४:१७; फिलि. १:७, २७-२९.
६ हामीले प्रचारकार्यमा किन विरोधको सामना गर्नुपरेको: यसको मुख्य कारण प्रकाश अध्याय १२ को पदहरू १२ र १७ मा बताइएको छ। शैतानले रीस पोखाइरहेको छ। यस ‘आखिरी दिनको’ दौडान त्यसले विभिन्न समय र ठाउँमा विरोध चर्काएको छ। (२ तिमो. ३:३) जीवन बचाउने सुसमाचार अरूले नसुनोस् भनेर त्यसले बाधा पुऱ्याउन र हामीलाई प्रचारकार्यमा भाग लिनदेखि निरुत्साहित पार्न वा तर्साउन खोज्छ। तर विगतमा यसो गर्न त्यो निष्फल भएको थियो र अहिले हाम्रो भेगमा प्रचारकार्यलाई रोक्न जत्ति नै दुस्प्रयास गरे तापनि त्यो फेरि असफल हुनेछ। एकपछि अर्को मुलुकमा, एकपछि अर्को समयमा हाम्रा भाइहरूले कसरी विरोधको सामना गरेका छन्, यहोवाको बल पाएर कसरी सहेका छन् र उहाँको साक्षीको रूपमा कसरी अघि बढिरहन सकेका छन् र सुसमाचार सुनाउन बन्द गरेका छैनन् भनेर थाह पाउनको लागि यरबूक वा प्रोक्लेमर्स किताब हेरे पुग्छ।—प्रेरि. ५:४२.
७ कहिलेकाहीं सतावट आउनुको कारण स्थानीय मानिसहरूको आफ्नो धर्मप्रतिको भावना हुन सक्छ। (प्रेरि. १९:२३-२९) अक्सर यही कारणले गर्दा विरोधीहरूले हामीलाई कानुन विपरीत धर्म परिवर्तन गर्ने काममा भाग लिएको झूटो आरोप लगाउँछन्। वा तिनीहरूको विश्वासबारे बाइबलबाट तर्क गरेर वा तिनीहरूको ईश्वरलाई होच्याएर धार्मिक समूहहरूबीच फूट पैदा गर्न खोजेको आरोप लगाउँछन्। त्यस्ता आरोपहरू झूटा हुन् किनभने हामी आफ्ना छिमेकीहरूलाई केवल सुसमाचार सुनाउँछौं र त्यसअनुसार गर्ने कि नगर्ने भन्ने कुरा तिनीहरूकै हातमा छोडिदिन्छौं। हामी तिनीहरूको अपमान हुने गरी होइन तर अनुग्रहसहित बोल्ने सधैं कोसिस गर्छौं।—प्रेरि. १७:२२-२८; रोमी १४:१२; कल. ४:६.
८ प्रचारकार्यमा भाग लिंदा पछ्याउनुपर्ने सिद्धान्तहरू: साहसी हुनुहोस्। यहोवाका साक्षीहरू न मानिसहरूको चाकरी गर्छन् न मानिसहरूदेखि डराउँछन्। (हितो. २९:२५; एफि. ६:६; w-NP९३ ७/१ पृ. २०) प्रेरितहरू जस्तै हामी पनि हाम्रा विरोधीहरूको कारण परमेश्वरले दिएको प्रचार गर्ने जिम्मेवारी पूरा गर्नदेखि पछि हट्दैनौं।—प्रेरि. ५:२९.
९ चनाखो हुनुहोस्। येशू र अन्य विश्वासी सेवकहरूले सतावट आइपर्दा परिस्थितिअनुसार भिन्नाभिन्नै तरिकामा प्रतिक्रिया देखाए तापनि उहाँहरूले अनावश्यक रूपमा ज्यान जोखिममा पारेनन् भन्ने कुरा स्पष्ट छ। खतरनाक अवस्थामा पर्दा उहाँहरू साहसी तर चनाखो हुनुभयो। (मत्ती १०:१६, २३) उहाँहरूको मुख्य उद्देश्य भनेको प्रचारकार्यलाई अघि बढाउनु र यहोवाप्रति निष्ठा कायम राख्नु थियो। विभिन्न परिस्थितिहरूमा उहाँहरूले देखाएको प्रतिक्रिया आज परीक्षा तथा सतावटहरूको सामना गरिरहेका मसीहीहरूका लागि उदाहरण हो।—w-NP०३ १०/१, पृ. १४, अनु. ४.
१० प्रतिकार नगर्नुहोस्। दबाबको बेला येशू र प्रेरितहरूले देखाएको प्रतिक्रियाबाट हामीले सिक्न सक्ने अर्को महत्त्वपूर्ण सिद्धान्त हो—विरोधीहरूको कहिल्यै प्रतिकार नगर्ने। येशू वा उहाँका अनुयायीहरू आफूलाई सतावट दिनेहरूको विरुद्ध संगठित भई आन्दोलनमा उत्रेको वा उनीहरूले बल प्रयोग गरेको कुनै संकेत हामी बाइबलमा कतै पनि पाउँदैनौं। रोमी १२:१७-२१ मा पाइने प्रेरित पावलको सल्लाह कडाइका साथ पालन गर्नुपर्छ।—हितो. २०:२२.
११ सम्भव छ भने समस्याबाट जोगिनुहोस्। भाग्नु कहिलेकाहीं बुद्धिमानी र साहसी कदम हो भनेर बाइबलले स्पष्ट बताएको छ। यही कुरा मनमा राख्दै येशू ख्रीष्टले आफ्ना चेलाहरूलाई प्रचारकार्यमा पठाउनुअघि यसो भन्नुभयो: “तिमीहरूलाई यस शहरमा खेद्छन् तब अर्कोमा भाग।” (मत्ती १०:२३) हो, येशूका चेलाहरूले आफ्ना विरोधीहरूबाट भाग्ने कोसिस गर्नुपर्थ्यो। तिनीहरूले अरू मानिसहरूलाई जबरजस्ती धर्म परिवर्तन गराउने क्रुसेड अर्थात् धार्मिक युद्ध गर्नुहुने थिएन। तिनीहरूसित शान्तिको सन्देश थियो। (मत्ती १०:११-१४; प्रेरि. १०:३४-३७) त्यसैले त्यहीं बसेर चर्काचर्की पर्नुको सट्टा मसीहीहरू त्यहाँबाट भागेर रिस उठाउने व्यक्तिदेखि टाढै बस्नुपर्थ्यो। यसप्रकार तिनीहरूले असल अन्तस्करण कायम राख्नुका साथै यहोवासँग पनि अनमोल सम्बन्ध कायम राख्न सके।—२ कोरि. ४:१, २; w-NP०२ ४/१५ पृ. ३२ हेर्नुहोस्।
१२ होसियार भई छनौट गर्नुहोस्। तिनीहरूले प्रचार गर्ने इलाकाका सबै मानिसले सुन्ने छैनन् भनी येशूले आफ्ना चेलाहरूलाई थाह दिनुभयो। उहाँले भन्नुभयो: “जुन शहर कि गाउँमा तिमीहरू पस्छौ, त्यहाँ को योग्य छ भनी खोज।” सबैले राज्य सन्देश स्वीकार्ने हुँदो हो त “खोज” भनेर भन्नै पर्दैनथ्यो। सन्देश नसुन्नेहरूप्रति कस्तो प्रतिक्रिया देखाउनुपर्थ्यो? “यदि कसैले तिमीहरूलाई ग्रहण गरेन वा तिमीहरूको वचन सुनेन भने, त्यस घर अथवा शहरबाट निस्कँदा आफ्ना खुट्टाको धूलो टकटक्याइदेओ” अनि शान्तिसित निस्क र न्याय गर्ने जिम्मा यहोवाकै हातमा छोडिदिनु।—मत्ती १०:११, १४, NRV; w८८ ७/१५ पृ. ११, अनु. ९ हेर्नुहोस्।
१३ विवेकी हुनुहोस्। क्षेत्र सेवामा भाग लिंदा सकेसम्म शंकास्पद अवस्थाबाट जोगिनुहोस्। बाइबल यसो भन्छ: “समझदार मानिसले आफ्ना पाइलाहरू सतर्कसाथ चाल्छ।” (हितो. १४:१५, NRV) यस्तो सल्लाह पनि दिइएको छ: “विवाद चर्कनुअघि नै त्यस ठाउँबाट निस्केर बाहिर जाओ।” (हितो. १७:१४, NW) आफ्ना पाइलाहरू सतर्कतासाथ चाल्नुको अर्थ खतरा हुन सक्ने इलाकामा नजानु पनि हो। एक्लै जानु खतरा हुने ठाउँहरूमा प्रचार गर्दा आफूसँग अरू कोही प्रकाशक लग्न सुझाव दिइन्छ। अपार्टमेन्ट भवनहरूमा प्रचारको लागि जाँदा एउटै तलामा केही प्रकाशकहरू हुनु बेस हुन्छ साथै भाइहरू छन् भने तिनीहरूले नै अगुवाइ लिनुपर्छ। घर वा अपार्टमेन्ट भित्र बोलाइँदा त्यसलाई स्वीकार्नुअघि विवेक चलाउनुहोस्।
१४ प्राचीनहरूका निकायले अब के-के कुरा लागू गर्नेछन्: सेवा समितिको अगुवाइमा प्राचीनहरूले आफ्नो मण्डलीलाई खटाइएको सम्पूर्ण इलाकालाई फेरि दोहोऱ्याएर हेर्नुपर्छ र धार्मिक कट्टरपन्थीहरू बस्ने इलाकाहरू छन् भने ती याद गरिराख्नुपर्छ। प्रायजस्तो त्यस्ता प्रकारका मानिसहरू नजिक-नजिकै बस्छन्। कट्टरपन्थीहरूका घरहरू पनि नक्सामा चिह्न लगाउनुपर्छ। त्यस्ता इलाका र घरहरूमा नजानुहोस्। मण्डलीले प्रचार गर्नुपर्ने अरू इलाका छ र सायद त्यहाँ नतिजा पनि राम्रो हुन सक्छ।
१५ मण्डली र समूहको लागि गरिएको क्षेत्र सेवाको सभालाई फेरि दोहोऱ्याएर हेर्नुहोस् र संवेदनशील इलाकामा बस्ने भाइहरूको घर क्षेत्र सेवाको सभाको लागि नचलाउन पक्का गर्नुहोस्। त्यस्ता इलाकामा प्रचार गर्न जाँदा ठूलो समूहमा भेला नहुनु पनि बेस हो। प्रचारकार्यमा भाग लिइरहेको बेला ठूल्ठूलो सोरले कुरा नगर्न, प्रचारकार्य सकिएपछि त्यही इलाकामै नभेट्न वा अन्य तरिकामा अनावश्यक ध्यान नखिच्न विवेक चलाउनुहोस्।
१६ अघिल्लो अनुच्छेदमा भनिएअनुरूपै हाम्रो राज्य सेवकाई, नोभेम्बर १९९८, पृष्ठ ५ मा यसो भनिएको थियो: “राम्रो व्यवस्था मिलाएर सबैको ध्यान खिच्नेगरि अत्यन्तै ठूलो समूहमा भेला हुनदेखि होसियार हुनेछौं। आफ्नो घरअघि लाइनका-लाइन गाडी, मोटरसाइकल, स्कुटर वा भ्यानहरू तथा प्रकाशकहरूको ठूलो समूह देख्दा केही घरधनीहरू तर्सिनसक्छन्। हामी आवासीय क्षेत्रहरूमा ‘आक्रमण’ गर्न लागेको जस्तो छाप पार्न चाहँदैनौं। क्षेत्र सेवकाईको निम्ति गरिने सभामै इलाकामा काम गर्ने प्रबन्धहरू मिलाउँदा बेस हुन्छ। प्रकाशकहरूको सानो समूह जस्तै एउटा परिवार देख्दा घरधनीहरू त्यति तर्सिंदैनन् साथै सानो समूहमा कुनै इलाकामा प्रचार गर्न जाँदा व्यवस्था मिलाउन पनि सजिलो हुन्छ।”
१७ जहाँसम्म इलाकामा काम गर्ने कुरा छ, विभिन्न भाषा बोल्ने समूह वा मण्डलीहरूले एउटै इलाकामा काम गरिरहेका छन् भने त्यहाँ सबै कुरा ‘शिष्ट रूपले र नियमपूर्वक’ भए/नभएको पनि प्राचीनहरूले सुनिश्चित गर्छन्। (१ कोरि. १४:४०) यसो गर्नु पनि क्षेत्र सेवामा भाग लिने समूहप्रति अनावश्यक ध्यान नखिचोस् भन्नैको लागि नै हो।
१८ हामी प्रत्येक के कुराबारे सजग हुन चाहन्छौं: प्रचार गतिविधिमा भाग लिने मण्डलीको तरिकामा केही छाँटकाँट गर्नुपर्ने हुन्छ। त्यसैले मण्डलीले तय गर्ने प्रबन्धअनुरूप अधीनमा रही काम गर्नुपर्छ।
१९ कुनै पुस्तक, पत्रिका, पर्चा वा अन्य कुनै साहित्य प्रस्तुत गर्नुअघि घरधनी हाम्रो कुरा सुन्न र हामीसित कुरा गर्न इच्छुक छन् कि छैनन्, निधो गर्नु बुद्धिमानी हुनेछ। हाम्रो मुख्य उद्देश्य भनेको बाइबलबाट सुसमाचारको सन्देश सुनाउनु हो। घरधनी शान्त स्वभावका छन् भनी पक्का भएपछि तिनलाई पढ्ने केही सामग्री दिन सक्छौं।
२० क्षेत्र सेवामा भाग लिंदा आफ्नो वरपरको अवस्थाबारे सजग हुन चाहन्छौं। घरधनीले हामीलाई मन नपराएको संकेत पायौं भने कौशलतापूर्वक कुराकानीलाई टुंग्याउनुहोस् र त्यस घरबाट, सायद त्यस इलाकाबाटै निस्कनुहोस्। साक्षीकार्यमा दुई-दुई जना गरी जाँदा साथीले चाहिं वरपरको अवस्थाबारे ध्यानै नदिई कुराकानी सुन्नुमा पूरै डुब्नुको सट्टा यताउता नजर लगाइरहन सक्छन्। सुरुमा अक्सर कोही एक जना व्यक्तिले हामीलाई देख्छ र तिनले नै अरूलाई पनि डाकेर मानिसहरू जम्मा गर्छन्।
२१ गलत अर्थ लाग्न सक्ने शब्दहरू चलाउनदेखि होसियार हुनुपर्छ। उदाहरणको लागि, हामी घरघरमा जानुको उद्देश्य बाइबलको सुसमाचार अरूसित ‘बाँड्न’ हो ‘दिन’ होइन भन्न सक्छौं किनभने ‘दिन’ भन्दा धर्म परिवर्तन गर्न प्रोत्साहन दिन खोजेको जस्तो गलत अर्थ पनि लगाउन सकिन्छ। तिनीहरूको उपासना शैली वा मूर्तिको प्रयोगबारे हाम्रो दृष्टिकोण बुझ्न खोज्दा त्यस्ता विषयहरूमा सही र गलत भनी फैसला गर्न हामी आएका होइनौं भनी बताउन सक्छौं। त्यस्ता कुराहरू त तिनीहरू आफैले निर्णय गर्नुपर्छ। हामी त केवल बाइबलबाट असल जानकारी बताउन चाहन्छौं। सुन्ने कि नसुन्ने भनेर निर्णय गर्ने काम त तिनीहरूकै हो।
२२ आफू र आफ्नो कामप्रति अनावश्यक रूपमा ध्यान खिचिने गरी हामी आफ्नो झोला र लुगाको कारण छुट्टै देखिन चाहँदैनौं। हामीले सफा र भद्र लुगा लगाउनुपर्छ तर क्षेत्र सेवाको लागि एक प्रकारको स्तर ठानिएको शैली पछ्याउनु आवश्यक छैन जस्तै—अरू देशका भाइहरूको नकल गर्नु। हामी र हाम्रो कामप्रति अनावश्यक ध्यान खिच्ने गरी ठूलो झोला बोक्नुको सट्टा केही साहित्य र बाइबल आफ्नो खल्तीमा हाल्न वा नदेखिने फोल्डरमा बोक्न सक्छौं।
२३ छेउछाउका मानिसहरूको ध्यान खिचिने गरी घरधनीसित ठूलो सोरमा कुरा नगर्नु बेस हो। ठूलो आवाजमा कुरा गर्दा छेउछाउका मानिसहरू थुप्रन्छन् र कसैलाई हाम्रो काम आपत्तिजनक लाग्न सक्ने सम्भावना बढ्छ भन्ने कुरा अनुभवहरूबाट देखिएको छ।
२४ घरभित्र बोलाइँदा त्यसलाई स्वीकार्ने सन्दर्भमा होसियार हुनुहोस् किनभने कहिलेकाहीं विरोधीहरूले फोन मार्फत अन्य विरोधीहरू जम्मा गरुन्जेल प्रकाशकहरूलाई यसरी अलमल्याउने गरेका छन्। तपाईंले घरधनीसित कुरा गर्दै गर्दा तिनले फोन गर्न थाल्छन् वा आफ्ना परिवारको सदस्यलाई फोन गर्न लगाउँछन् भने त्यसलाई तपाईंले आफू त्यहाँबाट निस्कनुपर्ने संकेतको रूपमा लिनुहोस्।
२५ हाम्रो लक्ष्य नबिर्सनुहोस्: हाम्रो लक्ष्य भनेको योग्यहरू अर्थात् हामीले सुनाउने सन्देश सुन्न चाहनेहरूलाई खोज्नु हो तर यस क्रममा हामी सुसमाचारको प्रचारकार्यमा बाधा पुऱ्याउन वा रोक्न लागिपरेकाहरूको ध्यान खिच्न चाहँदैनौं।
२६ यहोवाको समर्थनमा भरोसा गर्नुहोस्: क्षेत्र सेवामा यी आवश्यक छाँटकाँटहरू लागू गर्नुहुँदा यहोवाले समर्थन दिइरहनुहुने कुरामा विश्वस्त हुनुहोस्। (यशै. ५४:१७; फिलि. ४:१३) वर्तमान अवस्थाअनुसार छाँटकाँट गर्नु बुद्धिमानी र बाइबलअनुसारै हो अनि यो कुरा येशूले आफ्ना चेलाहरूलाई प्रचार गर्न पठाउँदा पनि संकेत गर्नुभयो। (मत्ती १०:५-२३) औपचारिक वा अनौपचारिक प्रचारकार्य गर्दा समझ चलाउनुहोस् र आफ्नो वरपरको अवस्थाबारे सजग हुनुहोस्। जीवन पाउन यहोवाले दिनुभएको न्यानो निमन्त्रणा स्वीकार्न चाहने मानिसहरूकहाँ परमेश्वरका स्वर्गदूतहरूले हामीलाई डोऱ्याउनेछन् भनी विश्वस्त हुनुहोस्।—प्रका. १४:६.
२७ हाम्रो राज्य सेवकाई-को आउँदो अंकहरूमा साहसी र विवेकी भई प्रचारकार्यमा भाग लिन मदत पुऱ्याउने थप लेखहरू आउनेछन्। हामीलाई दिइएको सुझाव र कुनै संगठनात्मक प्रबन्ध लागू गरिंदा त्यसअनुसार गर्ने योजना बनाऔं।
[पृष्ठ ३-मा भएको पेटी]
यो परिशिष्ट कसरी प्रयोग गर्ने
ध्यानसित पढेर यसका विषयवस्तुबारे सोच्नुहोस्। दिइएका सुझावहरू लागू गर्न तयार हुनुहोस्। यस लेखमा दिइएका सुझाव र निर्देशन हामीले कहिलेदेखि लागू गर्ने? अहिल्यैदेखि, तुरुन्तै!