-
परमेश्वर दाऊदलाई रोज्नुहुन्छबाइबलका कथाहरू भएको मेरो पुस्तक
-
-
कथा ५७
परमेश्वर दाऊदलाई रोज्नुहुन्छ
ल भन त, यो केटोले के गरेको हो? यो केटोले पाठोलाई भालुबाट बचाएको हो। भालुले पाठोलाई लगेर झन्डै खान लागेको थियो। तर यो केटो दगुर्दै गयो र पाठोलाई भालुको मुखबाट खोसेर ल्यायो। भालुले उसलाई झम्टन खोज्दा त्यो केटोले भालुलाई समातेर कुटीकुटी माऱ्यो। यो केटोले पछि पनि भेडालाई सिंहबाट बचायो। यो केटो त कत्ति सहासी रहेछ! यो केटो को हो, तिमीलाई थाह छ?
ऊ दाऊद हो। ऊ बेतलेहेम सहरमा बस्छ। उसको बाजे रूथ र बोअजका छोरा ओबेद थिए। के तिमीलाई रूथ र बोअज को हो याद छ? दाऊदको बुबाको नाउँचाहिं यिशै हो। दाऊद आफ्नो बुबाका भेडाहरू चराउँछ। यहोवाले शाऊललाई राजा हुन छान्नुभएको १० वर्षपछि दाऊदको जन्म भएको थियो।
एकदिन यहोवाले शमूएललाई यसो भन्नुहुन्छ: ‘अलिकता विशेष तेल लिएर तँ बेतलेहेममा बस्ने यिशैको घरमा जा। त्यसको एक जना छोरालाई मैले राजा हुन छानेको छु।’ शमूएलले यिशैको जेठो छोरा एलीआबलाई देख्ने बित्तिकै मनमनै ‘यहोवाले पक्कै पनि यिनैलाई छान्नुभएको हुनुपर्छ’ भनेर सोच्न थाल्छ। तर यहोवा यसो भन्नुहुन्छ: ‘त्यो सुन्दर र अग्लो भए तापनि त्यसको ख्याल नगर। मैले त्यसलाई छानेको छैन।’
यसकारण, यिशैले आफ्नो छोरा अबीनादाबलाई बोलाएर शमूएलकहाँ ल्याउँछ। तर शमूएलले ‘होइन, यहोवाले उसलाई रोज्नुभएको छैन’ भन्छ। अनि यिशैले अर्को छोरा शम्मालाई ल्याउँछ तर शमूएलले फेरि ‘होइन, यहोवाले उसलाई पनि रोज्नुभएको छैन’ भन्छ। यसरी यिशैले आफ्ना सातै जना छोरा शमूएलकहाँ ल्याउँछ तर यहोवाले कुनैलाई पनि रोज्नुहुन्न। अन्तमा शमूएलले ‘के तपाईंका जम्मै छोराहरू यी नै हुन्?’ भनेर सोध्छ।
यिशैले यस्तो जवाफ दिन्छ: ‘कान्छो पनि छ। तर त्यो त बाहिर भेडा चराउन गएको छ।’ एकछिन पछि यिशैले एउटा सुन्दर केटोलाई कोठाभित्र ल्याएको शमूएलले देख्छ। ऊ दाऊद थियो। दाऊद आउने बित्तिकै यहोवाले शमूएललाई यसो भन्नुहुन्छ: ‘यही हो। तैंले यसैमाथि तेल खन्याइदिनू।’ शमूएलले त्यसै गर्छ। समय आएपछि कुनै दिन दाऊद इस्राएलको राजा हुनेछ।
-
-
दाऊद र गोल्यतबाइबलका कथाहरू भएको मेरो पुस्तक
-
-
कथा ५८
दाऊद र गोल्यत
पलिश्तीहरू फेरि इस्राएलीहरूसित लडाइँ गर्न आउँछन्। दाऊदका तीन जना दाइ अहिले शाऊलको सेनामा छन्। एकदिन यिशैले दाऊदलाई यसो भन्छ: ‘दाइहरूका लागि रोटी र अन्न लगिदेऊ। साथै उनीहरूको हालखबर पनि बुझेर आऊ।’
सिपाहीहरूको छाउनीमा पुगेपछि दाऊद दगुर्दै सिपाहीहरूको हूलमा आफ्ना दाइहरूलाई खोज्न थाल्छ। पलिश्ती राक्षस गोल्यत इस्राएलीहरूको ठट्टा गर्न बाहिर निस्कन्छ। उसले बितेको ४० दिनदेखि हरेक बिहान र बेलुकी त्यसै गरिरहेको छ। ऊ कराउँदै यसो भन्छ: ‘मसँग लड्नलाई तिमीहरूमध्ये एक जना छान। यदि एक्लै लडेर त्यसले मलाई मार्नसक्यो भने हामी तिमीहरूका दास हुनेछौं। तर मैले त्यसलाई मारें भने तिमीहरूले हाम्रो सेवा गर्नु पर्नेछ। यसकारण, हिम्मत छ भने मसित लड्न एक जना मान्छे पठाओ!’
दाऊदले केही सिपाहीहरूलाई सोध्छ: ‘जसले यो पलिश्तीलाई मारेर इस्राएलको इज्जत बचाउँछ, उसले के इनाम पाउँछ?’
सिपाहीले जवाफ दिंदै भन्छ: ‘शाऊलले त्यसलाई थुप्रै धन-सम्पत्ति दिनेछ। साथै, उसको आफ्नी छोरीसित बिहे पनि गराइदिनेछ।’
तर सबै इस्राएलीहरू गोल्यतसित डराउँछन् किनभने ऊ असाध्यै ठूलो छ। ऊ ९ फुटभन्दा (करिब ३ मिटर) अग्लो छ र उसको ढाल अर्को सिपाहीले बोकिदिनुपर्छ।
दाऊद गोल्यतसित लडाइँ गर्न चाहन्छ भनेर केही सिपाहीहरू राजा शाऊललाई भन्छन्। तर शाऊल दाऊदलाई यसो भन्छ: ‘तिमी यो पलिश्तीसित लडाइँ गर्न सक्दैनौ। तिमी भर्खरको ठिटै छौ। त्यसले जीवनभरि लडाइँ गर्दै आएको छ।’ तर दाऊद यो जवाफ दिन्छ: ‘मेरा बुबाको भेडा खोसेर लैजाने भालु र सिंहलाई मैले मारेको छु। र यो पलिश्तीलाई म त्यस्तै गर्नेछु। किनभने यहोवाले मलाई मदत गर्नुहुनेछ।’ यो सुनेपछि शाऊल भन्छ: ‘जाऊ र यहोवाले तिमीलाई मदत गरून्।’
दाऊद तल खोलानेर जान्छ र पाँच वटा चिल्ला ढुंगाहरू आफ्नो झोलामा हाल्छ। त्यसपछि आफ्नो घुँयेत्रो लिएर त्यो राक्षससित लड्न जान्छ। एउटा फुच्चे केटो आफूसित लड्न आएको देखेर गोल्यत असाध्यै छक्क पर्छ। दाऊदलाई सजिलैसित मार्छु भनेर उसले विचार गर्छ।
गोल्यत यसो भन्दै कराउँछ: ‘आइज, म तेरो मासु चरा र जनावरहरूलाई खुवाइदिन्छु।’ तर दाऊद यस्तो जवाफ फर्काउँछ: ‘तँ मसँग लड्न तरबार, भाला र बर्छा लिएर आएको छस्, तर म तँसँग लड्न यहोवाको नाउँ लिएर आउँदैछु। आज यहोवाले तँलाई मेरो हातमा सुम्पिदिनुहुनेछ र म तँलाई खतम पार्नेछु।’
यति भनेर दाऊद गोल्यततिर दगुर्दै जान्छ। उसले आफ्नो झोलाबाट एउटा ढुंगा निकालेर घुँयेत्रोमा हाल्छ र त्यसलाई भएभरको बलले घुमाएर हान्छ। ढुंगा सोझै गोल्यतको टाउकोमा लाग्छ र ऊ डङ्ग्रङ्ङ पछारिएर मर्छ! आफ्नो वीर सिपाही लडेको देखेपछि पलिश्तीहरू फनक्क फर्केर भाग्न थाल्छन्। तर इस्राएलीहरू उनीहरूलाई खेद्छन् र लडाइँ जित्छन्।
-