प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • बाबेलमा कैदी भएर गएको समयदेखि यरूशलेमको पर्खालको पुनर्निमाणसम्म
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
    • भाग ५

      बाबेलमा कैदी भएर गएको समयदेखि यरूशलेमको पर्खालको पुनर्निर्माणसम्म

      बाबेलको कैदमा छँदा इस्राएलीहरूको विश्‍वासको धेरै पटक जाँच भयो। शद्रक, मेशेक र अबेद्‌नगोलाई आगोको भट्टीमा फालियो तर परमेश्‍वरले उनीहरूलाई जिउँदै बाहिर निकाल्नुभयो। पछि, मादी र फारसीहरूले बाबेल कब्जा गरिसकेपछि दानियललाई पनि सिंहको खोरमा फालियो तर परमेश्‍वरले सिंहहरूको मुख बन्द गर्नुभएर उसलाई बचाउनुभयो।

      अन्तमा, फारसी राजा कोरेसले इस्राएलीहरूलाई मुक्‍त गऱ्‍यो। बाबेलमा कैदी भएको ७० वर्षपछि उनीहरू आफ्नो देश फर्के। यरूशलेम फर्कने बित्तिकै उनीहरूले यहोवाको मन्दिर बनाउन थाले। तर शत्रुहरूले गर्दा पछि, यो काम बन्द भयो। वास्तवमा, यरूशलेम फर्केको करिब २२ वर्षपछि मात्र उनीहरूले मन्दिरको काम सिध्याउन सके।

      यसपछि मन्दिरलाई सुन्दर बनाउन एज्रा यरूशलेम फर्केको विषयमा हामी सिक्छौं। यो घटना मन्दिर बनाउन सिद्धिएको करिब ४७ वर्षपछिको कुरा हो। अनि एज्रा यरूशलेम फर्केको १३ वर्षपछि नहेम्याहले यरूशलेमको भत्केको पर्खाल मर्मत गर्न मदत गऱ्‍यो। भाग पाँचमा यो समयसम्मको १५२ वर्ष लामो इतिहास पाइन्छ।

  • उनीहरूले ढोगेनन्‌
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
    • शद्रक, मेशेक र अबेद्‌नगोले राजा नबूकदनेसरले बनाएको सुनको मूर्ति ढोग्न इन्कार गर्छन्‌

      कथा ७७

      उनीहरूले ढोगेनन्‌

      चित्रमा हेर त। के तिमी यी तीन केटाहरू को हुन्‌, सम्झन सक्छौ? हो, यिनीहरू दानियलका तीन जना साथीहरू हुन्‌। दानियलले जस्तै यी तीन केटाहरूले पनि अशुद्ध खानेकुरा खान मानेका थिएनन्‌। बाबेलका मान्छेहरूले उनीहरूलाई शद्रक, मेशेक र अबेद्‌नगो भनेर बोलाउँछन्‌। तर हेर त, अरूले जस्तै उनीहरूले यो ठूलो मूर्तिलाई किन नढोगेको होला?

      यहोवा आफैले लेखेर दिनुभएको दस आज्ञा के तिमीलाई अझै याद छ? यहोवाले दिनुभएको दस आज्ञामध्ये पहिलो आज्ञा यो थियो: ‘तैंले मबाहेक अरू कुनै देवताको उपासना नगर्नू।’ यी तीन जना केटाहरूले यही आज्ञा पालन गरिरहेका छन्‌। तर यसो गर्न भने उनीहरूलाई पक्कै सजिलो भएन।

      आफूले बनाएको यस मूर्तिको सम्मान गर्न बाबेलका राजा नबूकदनेसरले थुप्रै ठूला मान्छेहरू बोलाएका थिए। राजाले भर्खरै मात्र सबैलाई यसो भनेका थिए: ‘तुरही, वीणा र अरू बाजा बजेको सुन्‍ने बित्तिकै सबैले यो सुनको मूर्तिलाई ढोग्नू। जसले यो मूर्तिलाई ढोग्दैन, त्यो तुरुन्तै आगोको भट्टीमा फालिनेछ।’

      शद्रक, मेशेक र अबेद्‌नगोले मूर्तिलाई ढोग्दैनन्‌। यो थाह पाएर नबूकदनेसर असाध्यै रिसाउँछ। उसले तीनै जनालाई बोलाएर मूर्तिलाई ढोग्ने अझ एउटा मौका दिन्छ। तर यी केटाहरूले यहोवामाथि भरोसा राख्छन्‌। त्यसैकारण उनीहरू नबूकदनेसरलाई यसो भन्छन्‌: ‘हामी जुन परमेश्‍वरको सेवा गर्छौं, उहाँले नै हामीलाई बचाउन सक्नुहुन्छ। तर उहाँले बचाउनुभएन भने पनि हामी तपाईंले बनाउनुभएको यो सुनको मूर्तिलाई ढोग्दैनौं।’

      यो सुनेर नबूकदनेसर रिसले आगो हुन्छ। त्यसपछि छेवैको आगोको भट्टिनेर काम गरिरहेका चाकरहरूलाई उसले यस्तो आज्ञा दिन्छ: ‘भट्टीको आगोलाई अझ सात गुणा तातो पार!’ त्यसपछि उसले आफ्नो सबैभन्दा बलिया सिपाहीहरूलाई बोलाएर शद्रक, मेशेक र अबेद्‌नगोलाई बाँधेर आगोको भट्टीमा फाल्न लगाउँछ। भट्टी धेरै तातो भएकोले ती बलिया सिपाहीहरू नै आगोको रापले भस्म हुन्छन्‌। उनीहरूले आगोभित्र फालेका तीन जना केटालाई चाहिं के हुन्छ नि?

      राजा भट्टीभित्र हेर्छ र असाध्यै डराउँछ। उसले सोध्छ: ‘के हामीले तीन जना केटालाई बाँधेर आगोको भट्टीमा फालेका होइनौं र?’

      ‘हो’ भन्दै उसका चाकरहरू जवाफ दिन्छन्‌।

      ‘तर म त आगोमा चार जना मान्छे पो हिंडिरहेको देख्छु। अनि उनीहरूको हातखुट्टा पनि बाँधिएका छैनन्‌। उनीहरूलाई आगोले पोलेको जस्तो पनि देखिंदैन। अनि चौथो व्यक्‍ति त देवताजस्तै देखिन्छ।’ त्यसपछि राजा नबूकदनेसर भट्टीको ढोका नजिक गएर चर्को स्वरमा कराउँछ: ‘शद्रक! मेशेक! अबेद्‌नगो! हे परमप्रधान परमेश्‍वरका सेवकहरू हो, बाहिर निस्क!’

      बाहिर निस्कँदा त उनीहरूलाई कुनै चोटपटक लागेकै हुँदैन। राजाले त्यसपछि यसो भन्छ: ‘शद्रक, मेशेक र अबेद्‌नगोको परमेश्‍वरको जय होस्‌! उहाँले आफ्ना स्वर्गदूत पठाउनुभएर यिनीहरूलाई बचाउनुभयो। किनभने यिनीहरूले आफ्नो देवताबाहेक अरू कुनै देवतालाई ढोग्न मानेनन्‌।’

      हाम्रो लागि कत्ति राम्रो उदाहरण, होइन त? हामी पनि यी तीन केटाहरू जस्तै सधैं यहोवाप्रति वफादार हुनुपर्छ।

      प्रस्थान २०:३; दानियल ३:१-३०.

      अध्ययनका लागि प्रश्‍नहरू

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने