प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ताराले डोऱ्‍याएका मान्छेहरू
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
    • ज्योतिषीहरू ठूलो ताराको पछि-पछि लाग्छन्‌

      कथा ८६

      ताराले डोऱ्‍याएका मान्छेहरू

      चित्रमा हेर त। एक जना मान्छेले त्यो उज्यालो तारालाई औंलाले देखाइरहेको छ। यिनीहरूले यरूशलेम छोड्‌ने बित्तिकै त्यो तारा देखापरेको थियो। यी मान्छेहरू पूर्वबाट आएका हुन्‌ र यिनीहरू ताराहरूको अध्ययन गर्छन्‌। यो नयाँ ताराले विशेष व्यक्‍तिकहाँ डोऱ्‍याउँदैछ भनेर यिनीहरू विश्‍वास गर्छन्‌।

      बेतलेहेमको आकाशमा चम्किलो तारा

      यरूशलेम पुगेपछि यी मान्छेहरूले सोधे: ‘यहूदीहरूका राजा भएर जन्मेको बालक कहाँ छ?’ इस्राएलीहरूलाई “यहूदीहरू” पनि भनिन्छ। यी मान्छेहरू यहूदीहरूलाई यसो भन्छन्‌, ‘हामीले उहाँको तारा पूर्वतिर देख्यौं र हामी उहाँको दर्शन गर्न आएका हौं।’

      अब यी मान्छेहरूको कुरा सुनेपछि यरूशलेमको राजा हेरोद विचलित हुन्छ। ऊ आफ्नो ठाउँमा अर्को मान्छे राजा भएको चाहँदैन। यसकारण हेरोदले मुख्य पूजाहारीहरूलाई बोलाएर सोध्छ: ‘प्रतिज्ञा गरिएको राजाको जन्म कहाँ हुने हो?’ ‘बाइबलले बेतलेहेममा भन्छ,’ पूजाहारीहरू जवाफ दिन्छन्‌।

      यसपछि, हेरोदले पूर्वबाट आएका यी मान्छेहरूलाई बोलाउँछ र भन्छ: ‘जाओ र त्यो सानो बालकको विषयमा खोजेर पत्ता लगाओ र भेट्टाएपछि मलाई खबर गर र म पनि गएर दर्शन गर्नेछु।’ तर खासमा हेरोद येशूलाई फेला पारेर मार्न चाहन्थ्यो।

      अब फेरि त्यो तारा यी मान्छेहरूको अघिअघि बेतलेहेमतिर जान्छ र बालक भएको ठाउँमाथि टक्क अडिन्छ। उनीहरू घरभित्र मरियम र सानो येशूलाई भेट्टाउँछन्‌। उनीहरूले उपहारहरू निकालेर येशूलाई दिन्छन्‌। तर यसपछि हेरोदकहाँ फर्केर नजानू भनेर यहोवाले उनीहरूलाई सपनामा चेतावनी दिनुहुन्छ। यसकारण उनीहरू अर्कै बाटो हुँदै आफ्नो देश फर्कन्छन्‌।

      पूर्वका मान्छेहरू घर फर्किसकेछन्‌ भनेर थाह पाएपछि हेरोद असाध्यै रिसाउँछ। यसकारण उसले बेतलेहेममा दुई वर्ष र त्यसमुनिका सबै केटाहरूलाई मार्ने हुकुम गर्छ। तर यहोवाले यूसुफलाई पहिले नै सपनामा सचेत गराउनुहुन्छ र यूसुफ आफ्नो परिवार लिएर मिश्र भाग्छ। हेरोद मरेको खबर पाएपछि मरियम र येशूलाई लिएर यूसुफ आफ्नो घर नासरत फर्कन्छ। यही ठाउँमा येशू हुर्कनुहुन्छ।

      तिम्रो विचारमा त्यो नयाँ तारा कसले चम्काएको होला? त्यो तारा देखेर पूर्वका मान्छेहरू पहिले यरूशलेम गएका थिए। शैतान परमेश्‍वरको छोरोलाई मार्न चाहन्थ्यो र यरूशलेमको राजा हेरोदले येशूलाई मार्ने कोसिस गर्नेछ भनेर शैतानलाई राम्ररी थाह थियो। यसकारण त्यो तारा चम्काउने व्यक्‍ति शैतान नै हुनुपर्छ।

      मत्ती २:१-२३; मीका ५:२.

      अध्ययनका लागि प्रश्‍नहरू

  • बालक येशू मन्दिरमा
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
    • बालक येशू मन्दिरका शिक्षकहरूसित

      कथा ८७

      बालक येशू मन्दिरमा

      हेर त, यो केटोले कति मज्जाले पाको मान्छेहरूसित कुरा गरिरहेको छ। उनीहरू यरूशलेममा परमेश्‍वरको मन्दिरका शिक्षकहरू हुन्‌। यो केटोचाहिं येशू हुनुहुन्छ। उहाँ अब हलक्कै बढिसक्नुभयो। अहिले उहाँ १२ वर्षको भइसक्नुभयो।

      बाइबलमा लेखिएका कुराहरू र परमेश्‍वरबारे येशूलाई धेरै जानकारी भएको देखेर शिक्षकहरू छक्क पर्छन्‌। तर मरियम र यूसुफचाहिं खोइ? तिनीहरू त यहाँ छैनन्‌ नि?

      यूसुफ हरेक वर्ष आफ्नो परिवारलाई लिएर यरूशलेममा निस्तारको चाड मनाउन जान्थ्यो। नासरतबाट यरूशलेम पुग्न धेरै समय लाग्थ्यो। तर त्यतिखेर मोटरगाडी अनि रेलगाडी थिएन। त्यसकारण धेरैजसो मान्छेहरू तीन दिनसम्म हिंडेरै नासरतबाट यरूशलेम पुग्थे।

      यतिबेलासम्ममा यूसुफका धेरै छोराछोरी भइसकेका थिए। अब उनीहरूले येशूका भाइबहिनीहरूको पनि हेरचाह गर्नुपर्छ। निस्तार चाड मनाइसकेपछि यूसुफ र मरियम आफ्ना छोराछोरीलाई लिएर आफ्नो घर नासरत फर्कन्छन्‌। येशू पनि अरूसँगै आइरहनुभएको होला भनी उनीहरू सोच्छन्‌। तर दिनभरि हिंडिसकेपछि बेलुकीतिर येशूलाई खोज्दा उनीहरूले कतै भेट्टाउँदैनन्‌। उनीहरूले येशू आफ्ना नातेदारहरू अनि साथीहरूसित पो हुनुहुन्छ कि भनेर खोज्छन्‌। तर त्यहाँ पनि भेट्टाउँदैनन्‌! त्यसपछि उनीहरू उहाँलाई खोज्न यरूशलेम फर्कन्छन्‌।

      निकै बेर खोजेपछि उनीहरूले बल्ल येशूलाई शिक्षकहरूसित फेला पार्छन्‌। उहाँ ती शिक्षकहरूले भनेको कुरा सुन्दै अनि प्रश्‍न पनि गर्दै हुनुहुन्थ्यो। येशूलाई यति समझदार देखेर सबै जना छक्क परिरहेका थिए। मरियमले येशूलाई यसो भन्छे: ‘बाबु, तिमीले हामीलाई किन यसो गरेको? तिम्रो बुबा र म तिमीलाई खोज्दा-खोज्दा कति चिन्तित भयौं।’

      येशूले यस्तो जवाफ दिनुहुन्छ: ‘तपाईंहरूले मलाई किन खोजिरहनुभएको? म आफ्नो बुबाको घरमा हुनुपर्छ भनेर तपाईंहरूलाई थाह थिएन?’

      येशूलाई परमेश्‍वरबारे सिकाउने ठाउँमा जान असाध्यै मन पर्थ्यो। के हामी पनि त्यस्तै हुनु पर्दैन? नासरतमा हुँदा येशू हरेक हप्ता यहोवाको उपासना गर्न सभाहरूमा जानुहुन्थ्यो। सधैं ध्यान दिएर सुन्‍ने गरेकोले उहाँले बाइबलको थुप्रै कुराहरू सिक्नुभयो। हामी पनि येशू जस्तै हुनुपर्छ।

      लूका २:४१-५२; मत्ती १३:५३-५६.

      अध्ययनका लागि प्रश्‍नहरू

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने