-
येशू बिरामी निको पार्नुहुन्छबाइबलका कथाहरू भएको मेरो पुस्तक
-
-
कथा ९६
येशू बिरामी निको पार्नुहुन्छ
येशू आफू जहाँ-जहाँ जानुहुन्छ त्यहीं-त्यहीं बिरामीहरूलाई निको पार्दै हिंड्नुहुन्छ। त्यसपछि उहाँको कीर्ति वरिपरिका गाउँघर अनि सहर चारैतिर फैलिन थाल्छ। मान्छेहरूले उहाँकहाँ अपांग, अन्धा, बहिरा अनि नानाथरीका रोग लागेकाहरूलाई ल्याउँछन्। येशू उनीहरू सबैलाई निको पार्नुहुन्छ।
यूहन्नाले येशूलाई बप्तिस्मा दिएको पनि अब तीन वर्ष भइसक्यो। येशूले अब उहाँ छिट्टै यरूशलेम जानुहुनेछ र त्यहाँ मारिनुहुनेछ तर त्यसपछि बिउँतनुहुनेछ भनेर आफ्ना प्रेरितहरूलाई बताउनुहुन्छ। तैपनि अहिले त्यो समय नआइसकेकोले उहाँ बिरामीहरूलाई निको पारिरहनुहुन्छ।
एक पटक येशूले विश्राम दिनमा शिक्षा दिइरहनुभएको हुन्छ। विश्राम दिन भनेको यहूदीहरूले आराम गर्ने दिन हो। तिमीले यहाँ चित्रमा देखिरहेको आइमाई असाध्यै बिरामी थिई। ऊ १८ वर्षदेखि कुप्री थिई र सोझो भएर उभिनै सक्दिन थिई। येशू ऊमाथि आफ्नो हात राख्नुहुन्छ। त्यसपछि ऊ फेरि सोझो भएर उभिन थाल्छे।
यो देखेर धर्मगुरुहरू असाध्यै रिसाउँछन्। तीमध्ये एक जनाले यसो भन्दै भीडलाई गाली गर्छ: ‘काम गर्नुपर्ने छ दिन छन्, यसकारण ती दिनमा आएर निको होओ, विश्राम दिनमा होइन।’
तर येशूले यो जवाफ दिनुहुन्छ: ‘ए कपटीहरू हो! तिमीहरूमध्ये कसले विश्राम दिनमा आफ्नो गधालाई फुकाएर पानी पिउन लैजादैनौ? के यो १८ वर्षदेखि बिरामी परेकी बिचरी आइमाईलाई चाहिं विश्राम दिनमा निको पार्नु गलत भयो?’ येशूको जवाफ सुनेर ती खराब धर्मगुरुहरूलाई लाज लाग्छ।
केही समयपछि येशू र उहाँका प्रेरितहरू यरूशलेम जान्छन्। उहाँहरू यरीहो सहरबाहिर पुग्दा येशू त्यो बाटोबाट जानु हुँदैछ भन्ने कुरा दुई जना अन्धा माग्नेले सुन्छन्। तब उनीहरू यसो भन्दै कराउन थाल्छन्: ‘हे येशू, हामीलाई दया गर्नुहोस्!’
येशूले ती अन्धा माग्नेहरूलाई बोलाएर सोध्नुहुन्छ: ‘मैले तिमीहरूलाई के गरिदिऊँ भन्ने तिमीहरूको इच्छा छ?’ उनीहरू भन्छन्: ‘प्रभु, हाम्रा आँखा खोलिदिनुहोस्।’ येशूले उनीहरूको आँखा छुनुहुन्छ र उनीहरूले तुरुन्तै देख्न थाल्छन्! येशूले यस्ता अचम्मलाग्दा कामहरू किन गर्नुहुन्छ, तिमीलाई थाह छ? किनभने उहाँ मान्छेहरूलाई माया गर्नुहुन्छ र उनीहरूले उहाँमाथि विश्वास गरोस् भनेर चाहनुहुन्छ। साथै, उहाँ राजा हुनुभएपछि पृथ्वीमा कोही पनि बिरामी हुनेछैन भनेर हामी पक्का हुन सक्छौं।
-
-
येशू राजाझैं आउनुहुन्छबाइबलका कथाहरू भएको मेरो पुस्तक
-
-
कथा ९७
येशू राजाझैं आउनुहुन्छ
दुई जना अन्धा माग्नेहरूलाई निको पार्नुभएको केही समयपछि येशू यरूशलेमनजिकैको सानो गाउँनेर पुग्नुहुन्छ। उहाँले आफ्ना दुई जना चेलालाई यसो भन्नुहुन्छ: ‘गाउँमा जाओ र तिमीहरूले त्यहाँ एउटा गधाको बच्चा भेट्टाउनेछौ। त्यसलाई फुकाएर मकहाँ ल्याओ।’
गधाको बच्चा ल्याएपछि येशू त्यसमाथि बस्नुहुन्छ। त्यसपछि त्यही गधा चढेर उहाँ यरूशलेम जानुहुन्छ। उहाँ सहरनजिक पुग्नुभएपछि मान्छेहरूको भीड उहाँलाई भेट्न आउँछ। उनीहरू आ-आफ्नो खास्टो सडकमा ओछ्याउँछन्। अरूले चाहिं खजुरका हाँगा काटेर बाटोमा बिछ्याउँछन्। त्यसपछि उनीहरू यसो भन्दै कराउँछन्: ‘यहोवाको नाउँमा आउनुहुने राजामाथि परमेश्वरको आशिष् होस्!’
धेरै वर्षअघि इस्राएलका नयाँ राजाहरू यसरी नै गधाको बच्चामाथि चढेर आउँथे। अहिले येशूले पनि त्यसै गर्दै हुनुहुन्छ। अनि इस्राएलीहरूले पनि येशू नै उनीहरूको राजा बनून् भन्ने आफ्नो इच्छा देखाइरहेका छन्। तर यो इच्छा सबैमा छैन। येशू मन्दिरमा पस्नुभएपछि भएको घटनाबाट हामी यो देख्न सक्छौं।
मन्दिरमा येशूले अन्धा अनि अपांगहरूलाई निको पार्नुहुन्छ। यो देखेर केटाकेटीहरू ठूलठूलो स्वरले येशूको जयजयकार गर्न थाल्छन्। तर पूजाहारीहरू रिसाउँछन्। उनीहरूले येशूलाई यसो भन्छन्: ‘के सुन्छौ, यिनीहरूले के भनिरहेका छन्?’
येशू भन्नुहुन्छ, ‘हो, म सुन्दैछु। तर के तिमीहरूले बाइबलमा “काखको बालकहरूका मुखबाट परमेश्वरले प्रशंसाको गीत गाउन लगाउनुभयो” भनेर लेखिएको पढेका छैनौ?’ केटाकेटीहरू परमेश्वरले छान्नुभएको राजा येशूको प्रशंसा गरिरहन्छन्।
हामी पनि ती केटाकेटीहरू जस्तै हुनुपर्छ। कसै-कसैले हामीलाई परमेश्वरको राज्यबारे कुरा गर्न नदेलान्। तर येशूले गर्नुभएका असल कुराहरूबारे हामी अरूलाई भनिरहनुपर्छ।
येशू पृथ्वीमा हुनुहुँदा उहाँले राज्य गर्ने समय आएको थिएन। त्यसो भए उहाँले शासन गर्ने समय कहिले आउने छ? येशूका चेलाहरू पनि यो कुरा जान्न चाहन्छन्। अब यसपछि हामी त्यसबारे पढ्नेछौं।
-