गलत सोचाइ राख्नबाट होशियार हुनुहोस्
टेलिभिजनमा धार्मिक प्रचार-प्रसारको काम गर्ने ख्यातिप्राप्त एक व्यक्तिले सँगीप्रचारकले गरेको व्यभिचारबारे भर्त्सना गर्दै विरोध जनाए। त्यसको वर्षदिन पनि नबित्दै ती व्यक्ति नै एउटा वेश्यासित फेला परे।
एउटा अर्को उदाहरण हेरौं। एक शक्तिशाली राष्ट्रले युद्धरत दलहरूमा शान्ति सम्झौता कायम गराउन आफ्ना प्रतिनिधिहरू पठायो। त्यति नै बेला त्यो राष्ट्रले अन्य देशहरूलाई अरबौं अमेरिकी डलर बराबरको युद्धसामग्रीहरू गोप्य रूपले बिक्रीको लागि मोलतोल गर्न आफ्ना व्यापारीहरू पठाएको पाइयो।
यसरी, कपटपूर्ण व्यवहार गर्ने कुरा सामान्य भइ सकेको हुँदा भरोसाको ठाउँ शंका उपशंकाले ओगट्नु कुनै अचम्म मान्नुपर्ने कुरा होइन। अरूलाई शंका उपशंकाको दृष्टिले हेर्नु त धेरैजसो मान्छेहरूको बानी नै भइसक्यो।
मसीहीहरू भएको हुनाले भरोसायोग्य सँगी विश्वासीहरूप्रति त्यस्तो गलत सोचाइ राख्न सतर्क हुनैपर्छ। हुन त येशूले हामीलाई शत्रुहरूको माझमा “सर्पझैं चनाखो” हुन आग्रह गर्नुभयो, तर उहाँले आफ्ना साँचो चेलाहरूलाई शंका गर्नुपर्छ भन्नुभएको चाहिं होइन। (मत्ती १०:१६) त्यसो हो भने, अरूप्रति गलत सोचाइ राख्नाले के कस्ता खतरा आइपर्नसक्छन् त? त्यस्तो झुकाउ हटाउन खास गरी कुन क्षेत्रमा हामी सबैभन्दा बढी होशियार हुनुपर्छ? अनि सँगी मसीहीहरूसितको हाम्रो अमूल्य सम्बन्ध कसरी जतन गर्नसकिन्छ?
विगतका घटनाहरूबाट पाठ
खास कारणैबिना अरूप्रति गलत विचार राख्नु भनेको आफ्नै मापदण्डको आधारमा अरूको नापतौल गर्नु हो। यसो गर्दा हामी कुनै स्पष्ट आधारैबिना तिनीहरूको बोलीवचन र व्यवहारमा छलकपट र जालझेल लुकेको छ भन्ने निष्कर्षमा पुगिरहेका हुन्छौं। प्रायजसो समस्याहरू अरूप्रति गलत सोचाइ राख्दा उत्पन्न हुन्छ भन्ने तथ्य बाइबल पुस्तक यहोशू २२ औं अध्यायको विवरणबाट थाह हुन्छ।
इस्राएलीहरूले प्रतिज्ञा गरिएको देशलाई जितेका थिए र भर्खरै मात्र आ-आफ्नो कुलअनुसारको इलाका पनि पाएका थिए। तब रूबेनी, गादी र मनश्शेका आधा कुलले यर्दनको नजीकै “हेर्दैमा ठूलो देखिने” एउटा वेदी बनाए। यो देखेर अरू कुलकाहरूले चाहिं तिनीहरू पक्कै पनि धर्मत्यागी भए भन्ने गलत अनुमान लगाए। ती तीन कुलका मानिसहरूले शीलोहस्थित भेट हुने पालमा उपासना गर्न भेला हुनु सट्टा बलिदानहरू चढाउन आफ्नो लागि छुट्टै वेदी बनाएको भन्ठाने। तुरुन्तै ती बाँकी कुलका मानिसहरूले तीन कुल विरुद्ध लडाइँ गर्न सेना तयार पारे।—यहोशू २२:१०-१२.
ती बाँकी कुलका मानिसहरूले पीनहासको नेतृत्वमा एउटा टोली इस्राएली भाइहरूसँग कुरा गर्न पठाएर चाहिं सराहनीय काम नै गरेका थिए। अविश्वासी, विद्रोही अनि यहोवा विरोधी भन्ने अभियोग लगाएको सुनेर ती दोषी ठानिएका कुलकाहरूले त्यो ठूलो वेदी बनाउनुको कारण सविस्तार सुनाइदिए। तिनीहरूले त्यो वेदी बलि चढाउने हेतुले होइन तर यहोवाको उपासनामा इस्राएली कुलमा एकता कायम राख्न “साक्षीको” प्रतीकको रूपमा पो बनाएका रहेछन्। (यहोशू २२:२६, २७) आफ्ना भाइहरूको केही दोष रहेनछ भन्ने थाह पाएर त्यो प्रतिनिधि टोली शान्तपूर्वक घर फर्क्यो। यसरी, एउटा ठूलो गृहयुद्ध र जातीय रक्तपात टल्यो।
कुरै नबुझी गलत विचार राख्दा हुनसक्ने नतिजाबारे कस्तो राम्रो शिक्षा! सतही तवरले मात्र विचार गर्दा हामीले जे जस्तो सोचेका हुन्छौं, त्यही कुरा राम्ररी बुझेपछि आकाश जमिनको फरक हुनसक्छ। मसीही जीवनको विभिन्न क्षेत्रमा पनि यही कुरा लागू हुन्छ।
प्राचीनहरूप्रति हाम्रो दृष्टिकोण
‘परमेश्वरका मण्डली चराउने’ जिम्मेवारी पूरा गर्दा प्राचीनहरूले कहिलेकाहीं मण्डलीका विभिन्न व्यक्तिहरूलाई सरसल्लाह दिनु आवश्यक हुन्छ। (प्रेरित २०:२८) उदाहरणका लागि, मण्डलीको प्राचीनले हाम्रा छोराछोरीहरूले विपरीत लिंगको व्यक्तिसँग अनुचित व्यवहार गरेको वा खराब संगत गर्दैछन् भन्ने विषयमा हामीलाई बताउँदा हामी के गर्छौं? उक्त प्राचीनले यसो भन्नुमा उनको मनशाय पक्कै पनि अर्कै छ भन्ठान्दै के हामी यसो भन्छौं, ‘उसले हाम्रो परिवारलाई देखिसहँदैन’? यदि हाम्रो मनमा यस्तो विचार उब्जन दिन्छौं भने, पछि पछुताउनु पर्ने हुनसक्छ। हाम्रा केटाकेटीको आध्यात्मिक भलाइ खतरामा पर्नसक्ने हुनाले यस्ता धर्मशास्त्रीय सल्लाह दिंदा हामीले मूल्यांकन गर्नुपर्छ।—हितोपदेश १२:१५.
मण्डलीका प्राचीनले हामीलाई सल्लाह दिंदा, त्यस सल्लाह दिनुमा कुनै खराब विचार लुकेको होला भन्ने सोचाइ कहिल्यै नराखौं। बरु, उनले दिएको बाइबल आधारित सल्लाहबाट हामी कसरी फाइदा उठाउनसक्छौं भनेर सोच्ने गरौं। प्रेरित पावलले यसरी लेखे: “सबै अनुशासन हालको निम्ति मजाको हुँदैन, तर दुःखको हुन्छ, तापनि सहेर परिपक्व भएकाहरूलाई पछिबाट शान्तिको फल, अर्थात् धार्मिकताको फल दिइन्छ।” (हिब्रू १२:११) त्यसकारण, हामी कृतज्ञ होऔं अनि सकारात्मक सोचाइ राखौं। एउटा कुरा नबिर्सनुहोस्, हामीलाई सल्लाह स्वीकार्न जति गाह्रो हुन्छ, प्राचीनहरूलाई पनि सल्लाह दिन उत्तिकै गाह्रो छ।
आमाबाबुप्रति हाम्रो सोचाइ
आमाबाबुले विभिन्न कुरामा सीमा तोकिदिएकोले केही जवानहरू किन यसो गरेको होला भन्ठान्छन्। कोही कोही जवानहरूले यसो भन्लान्: ‘मेरा आमाबाबुहरूले किन यति धेरै नियम बनाउनुभएको होला? उहाँहरू मेरो खुशी देख्नै चाहनुहुन्न।’ त्यस्तो निष्कर्षमा पुग्नुको सट्टा जवानहरूले परिस्थितिलाई सकारात्मक तरिकामा केलाउनु आवश्यक हुन्छ।
आमाबाबुले आफ्ना छोराछोरी हुर्काउन वर्षौं बिताएका छन्। यसको लागि उनीहरूले आफ्ना भौतिक कुराहरू र अन्य कुराहरूको ठूलो त्याग गरेका छन्। के अब आएर उनीहरूले आफ्ना कलिला छोराछोरीको जीवन दुःखदायी बनाइदिन खोजेका हुन् भन्ने निष्कर्षमा पुग्नु मनासिब होला र? ती आमाबाबुहरूले आफ्ना केटाकेटीको माया लागेर सुरक्षा गर्न र हेरविचार गर्न अग्रसर भएका हुन् भन्नु नै बढी सुहाउँदो हुँदैन र? के त्यही प्रेमको कारणले गर्दा नै नयाँ नयाँ चुनौतीहरू सामना गरिरहेका आफ्ना केटाकेटीहरूको लागि सीमा तोकिदिएका होइनन् र? आफ्ना मायालु आमाबाबुप्रति सोचविचारै नगरी गलत विचार राख्नु कत्ति निर्दयी र बैगुणी साबित हुनेछ!—एफिसी ६:१-३.
सँगी मसीहीहरूप्रति हाम्रो मनोवृत्ति
धेरै मानिसहरू अरू मानिस यस्तो होला, उस्तो होला भनेर अनुमान लगाउँछन् र त्यही कुरा मनमा राखिरहन्छन्। हाम्रो पनि त्यस्तै मनोवृत्ति छ अनि कसै कसैलाई हामी शंका उपशंकाको दृष्टिले हेर्छौं भने नि? यसो गऱ्यौं भने हाम्रो सोचाइ पनि संसारका अरू मानिसहरूको जस्तै हुने सम्भावना छैन त?
मानौं, हामीमध्ये कुनै आध्यात्मिक भाइको राम्रो घर छ, शानदार गाडी छ। के हामी ती भाइ भौतिकवादी हुन्, उनले जीवनमा परमेश्वरको राज्यलाई पहिलो स्थान दिएका छैनन् भन्ने निष्कर्षमा पुग्नु हुन्छ? हुनसक्छ, कुनै मसीहीसित त्यस्ता कुराहरूमा खर्च गर्नसक्ने औकात होला, तर यसको मतलब उनको मनोवृत्ति गलत छ वा उनले “पहिले . . . राज्य” खोजेका छैनन् भन्न मिल्दैन। तिनीहरू आध्यात्मिक गतिविधिमा अति व्यस्त भइरहेका पनि हुनसक्छन्। शायद, अरूले थाहै नपाउनेगरि आफ्ना भौतिक सम्पत्तिहरू उदारचित्तका साथ राज्यसम्बन्धी काममा प्रयोग गरिरहेका होलान्।—मत्ती ६:१-४, ३३.
प्रथम शताब्दीको मसीही मण्डलीमा धनी गरिबलगायत थुप्रै प्रकारका मानिसहरू थिए। (प्रेरित १७:३४; १ तिमोथी २:३, ४; ६:१७; याकूब २:५) परमेश्वरले कहिले पनि आर्थिक अवस्थाको आधारमा मान्छेको नापतौल गर्नुहुन्न, न ता हामीले नै गर्नु हुन्छ। आफूलाई भरोसायोग्य सँगी विश्वासी साबित गरेका भाइहरूलाई हामीले “विना पक्षपात कसैको ओड़ नलागीकन” प्रेम गर्नुपर्छ।—१ तिमोथी ५:२१.
शैतानको शक्तिमा परेको यस संसारमा पूर्वानुमान तथा शंका विभिन्न तरिकामा देखा पर्छन्। जस्तै, कुनै व्यक्तिलाई उसको पृष्ठभूमिकै कारणले मात्र पनि हिंसात्मक होला अथवा भौतिकवादी होला भन्ने दृष्टिकोण राखिन्छ। हामी मसीहीहरू भएकोले त्यस्तो मनोवृत्तिको शिकार कदापी हुनु हुँदैन। यहोवाको संगठनमा त्यस्ता हठधर्मी अनि शंकालुहरूको लागि कुनै ठाउँ छैन। त्यसैले सबै साँचो मसीहीहरूले “अन्याय, पक्षपात” जस्ता अवगुनहरू नभएको यहोवा परमेश्वरको अनुकरण गर्नु आवश्यक छ।—२ इतिहास १९:७; प्रेरित १०:३४, ३५.
प्रेमले उत्प्रेरित हुनुहोस्
धर्मशास्त्र खुलस्तसँग भन्छ, “सबैले पाप गरेका छन्, र परमेश्वरको महिमारहित हुनगएका छन्।” (रोमी ३:२३) त्यसकारण, सँगी उपासकहरूलाई हामीसँगै एकताबद्ध भएर यहोवालाई स्वीकारयोग्य सेवा चढाउन प्रयत्न गरिरहेका व्यक्तिहरूको रूपमा हेर्नुपर्छ। यदि हामीले हाम्रा आध्यात्मिक भाइबहिनीहरूप्रति शंकालु अनि नकारात्मक सोचाइहरू बढ्न दियौं भने, ती भाइबहिनीहरूसँग हाम्रो सम्बन्ध बिग्रन्छ। त्यसो हुन नदिन हामीले यस्ता भावनाहरू हटाउनसकौं भनेर यहोवासँग प्रार्थना गरेर मदत मागौं। यसो गऱ्यौं भने मात्र हामी शैतानको जालबाट उम्कनसक्नेछौं। (मत्ती ६:१३) शैतानले हव्वालाई यहोवाको मनसाय ठीक छैन, उहाँले तिनको भलो चिताउनुहुन्न अनि तिनलाई स्वतन्त्र भएर चैनसँग जीवन बिताउन दिनुभएको छैन भन्ने कुरामा विश्वस्त गरायो। (उत्पत्ति ३:१-५) भाइहरूप्रति गलत सोचाइ राख्दा हामीले पनि शैतानकै उद्देश्य पूरा गरिरहेका हुन्छौं।—२ कोरिन्थी २:११; १ पत्रुस ५:८.
यदि हामीमा पनि अरूप्रति गलत सोचाइ राख्ने झुकाउ छ भने, येशूको उदाहरण विचार गरौं। परमेश्वरको सिद्ध पुत्र हुनुभएर पनि उहाँले आफ्ना चेलाहरूप्रति कहिल्यै गलत सोचाइ राख्नुभएन। बरु, तिनीहरूमा भएका राम्रा गुनहरू मात्र विचार गर्नुभयो। आफ्ना चेलाहरू आपसमा को ठूलो भन्ने विवाद गरिरहँदा पनि तिनीहरूको कुविचारको कारण यसो गरेका हुन् भन्ने सोचाइ उहाँले राख्नुभएन, त्यसैले त तिनीहरूको सट्टा अरू १२ जना नयाँ प्रेरितहरू नियुक्त गर्नुभएन। (मर्कूस ९:३४, ३५) असिद्ध भएका हुनाले तिनीहरूलाई पनि ठूलठूलो दर्जा र ओहदा खोज्ने ती अधर्मी यहूदीहरूको परम्पराको प्रभाव परेको थियो होला। जे भए पनि यहोवाप्रतिको प्रेममा आफ्ना चेलाहरूको मुख्य झुकाउ थियो भनेर येशूलाई थाह थियो। त्यस्तो प्रेम झल्काएका र येशूसँगै अडिग रहेका हुनाले नै तिनीहरूले ठूलो इनाम पाए।—लूका २२:२८-३०.
भरोसायोग्य सँगी विश्वासीहरूप्रति शंकालु हुनु भनेको बांगोटिंगो देखिने काँचको टुक्राले कुनै वस्तुलाई हेर्नु जत्तिकै हो। यथार्थमा कुरा अर्कै हुन्छ। त्यसकारण, हामी प्रेमको चस्माले हेरौं। विश्वासी सँगी मसीहीहरूले हामीलाई माया गर्छन् भन्ने प्रशस्त प्रमाण छन्। तिनीहरू हाम्रो दयालु चासो पाउन योग्य छन्। (१ कोरिन्थी १३:४-८) त्यसैले, तिनीहरूलाई प्रेम देखाऔं र गलत सोचाइ राख्नबाट टाढै बसौं।
[पृष्ठ २६-मा भएको चित्र]
पूर्ण विश्वासका साथ परमेश्वरको सेवा गर्नेहरूलाई तपाईं कस्तो दृष्टिले हेर्नुहुन्छ?
[पृष्ठ २७-मा भएको चित्र]
भरोसा र आदरले यहोवाका साक्षीहरूलाई एउटा आनन्दित परिवार बनाउँछ