प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w08 ५/१ पृ. २१-२५
  • जवान छँदै यहोवाको सेवा गर्ने छनौट गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जवान छँदै यहोवाको सेवा गर्ने छनौट गर्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • गर्नुपर्ने सही कुरा भनेको यहोवाको सेवा नै हो
  • अरूले प्रश्‍न उठाउँदा वा विरोध गर्दा
  • तपाईंको लागि ‘ठूलो ढोका’ खुला छ
  • “पारख गरेर हेर, . . . [यहोवा] कस्तो भलो हुनुहुन्छ”
  • यहोवाले भनेका कुरा कहिल्यै फरक पर्दैन
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • यहोशूले कहल्यै नबिर्सेको कुरा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • जवानहरू हो, यहोवाको सेवा गर्ने छनौट गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • यहोवा हामी सफल भएको चाहनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
w08 ५/१ पृ. २१-२५

जवान छँदै यहोवाको सेवा गर्ने छनौट गर्नुहोस्‌

“आफूले सिकेका र निश्‍चय भएका कुराहरूमा लागिरह।”—२ तिमो. ३:१४.

१. आफ्ना जवान साक्षीहरूले चढाएको सेवालाई यहोवा कसरी हेर्नुहुन्छ?

जवान व्यक्‍तिहरूको पवित्र सेवालाई यहोवा अति महत्त्वपूर्ण ठान्‍नुहुन्छ। त्यसैकारण उहाँले तिनीहरूबारे भविष्यवाणी गर्न प्रेरित गर्नुभयो। भजनरचयिताले यसरी गाए: “तिम्रा पराक्रमको दिनमा तिम्रो प्रजाले राजीखुशीले आफैलाई अर्पण गर्नेछन्‌, पवित्र पोशाकमा बिहानको गर्भबाट, शीतजस्तै तिम्रो जवानी तिम्रो निम्ति आउनेछ।” (भज. ११०:३) हो, यहोवा उहाँको सेवा गर्न इच्छुक जवानहरूको ठूलो मोल गर्नुहुन्छ।

२. आज जवानहरूले आफ्नो भावी लक्ष्यको सम्बन्धमा कस्ता सांसारिक प्रभावहरूको सामना गर्नुपर्छ?

२ ख्रीष्टियान मण्डलीका जवानहरू हो, के तपाईंले यहोवामा आफ्नो जीवन समर्पण गर्नुभएको छ? साँचो परमेश्‍वरको सेवा गर्ने छनौट गर्नु धेरैलाई गाह्रो लाग्ला। व्यापार जगत्‌मा नाउँ चलेका व्यक्‍तिहरू, शिक्षाविद्‌ र कोही बेला परिवारका सदस्य तथा साथीहरूले जवानहरूलाई भौतिकवादी लक्ष्यको पछि लाग्न प्रोत्साहन दिन्छन्‌। जवानहरू आध्यात्मिक लक्ष्यको पछि लाग्दा संसारले अक्सर तिनीहरूलाई गिल्ला गर्छन्‌। तर वास्तविकता के हो भने, साँचो परमेश्‍वरको सेवा गर्नु नै तपाईंले पछ्याउन सक्ने सर्वोत्तम मार्ग हो। (भज. २७:४) यस सन्दर्भमा यी तीन वटा प्रश्‍नलाई विचार गर्नुहोस्‌: तपाईंले किन परमेश्‍वरको सेवा गर्नुपर्छ? अरूले जेसुकै भनून्‌ वा गरून्‌, परमेश्‍वरमा समर्पित व्यक्‍तिको हैसियतमा तपाईं कसरी सफल हुन सक्नुहुन्छ? तपाईंको लागि पवित्र सेवाका कस्ता सुनौला अवसरहरूको ढोका खुला हुन सक्छ?

गर्नुपर्ने सही कुरा भनेको यहोवाको सेवा नै हो

३. यहोवाको सृष्टिले हामीलाई कसरी असर गर्नुपर्छ?

३ तपाईंले किन साँचो र जीवित परमेश्‍वरको सेवा गर्नुपर्छ? यसको मुख्य कारण प्रकाश ४:११ ले यसरी बताउँछ: “हे हाम्रा प्रभु र परमेश्‍वर, तपाईं महिमा, आदर र शक्‍ति ग्रहण गर्ने योग्यको हुनुहुन्छ, किनभने सबै कुरा तपाईंलेनै सृष्टि गर्नुभएको हो, र तपाईंकै इच्छाबमोजिम ती भए, र सृजिए।” सबै कुराको अद्‌भुत सृष्टिकर्ता यहोवा हुनुहुन्छ। पृथ्वी कत्ति सुन्दर छ! रूख, फूल, पशुपक्षी, समुद्र, हिमाल अनि झर्ना—यी सब यहोवाकै हातका कला हुन्‌। “पृथ्वी तपाईंको सम्पतिले परिपूर्ण छ” भनी भजन १०४:२४ भन्छ। पृथ्वी र यसमा भएका असल कुराहरूको आनन्द उठाउन सक्ने गरी यहोवाले हामीलाई मायालुपूर्वक शरीर अनि मन दिनुभएकोमा हामी कत्ति कृतज्ञ हुन सक्छौं! परमेश्‍वरको अद्‌भुत सृष्टिलाई हेरेर हामी भित्रैदेखि कृतज्ञ हुन्छौं र यसले गर्दा के हामी उहाँको सेवा गर्न उत्प्रेरित हुनुपर्दैन र?

४, ५. यहोवाका कस्ता कार्यहरूले गर्दा यहोशू उहाँको नजिक हुन सके?

४ यहोवाको सेवा गर्नुपर्ने अर्को कारण इस्राएली नेता यहोशूका शब्दमा पाइन्छ। आफ्नो जीवनको अन्तिम क्षणतिर तिनले परमेश्‍वरका जनहरूलाई यसो भने: “परमप्रभु परमेश्‍वरले तिमीहरूका बारेमा भन्‍नुभएको सबै असल कुराहरूमा एउटा कुरा पनि फरक परेको छैन। तिमीहरूका निम्ति सबै पुगेको छ . . . भनी तिमीहरूको आफ्नो पूरा हृदयले र पूरा प्राणले थाह पाएकै छौ।” यहोशूले यसो भन्‍न सक्नुको कारण के थियो?—यहो. २३:१४.

५ यहोशूको बाल्यकाल मिश्रमा बितेको थियो। त्यसकारण, इस्राएलीहरूलाई देश दिनेबारे यहोवाको प्रतिज्ञा यहोशूलाई थाह भएको हुनुपर्छ। (उत्प. १२:७; ५०:२४, २५; प्रस्थ. ३:८) त्यसपछि, मिश्रमाथि दस विपत्ति ल्याई अट्टेरी फिरऊनलाई इस्राएलीहरूलाई जान दिन बाध्य पार्नुभएर यहोवाले आफ्नो प्रतिज्ञा पूरा गर्न थाल्नुभएको यहोशूले देखे। यहोशू, लाल समुद्र पार गर्ने इस्राएलीहरूमध्ये एक थिए साथै तिनले फिरऊन अनि तिनका सेनालाई त्यस समुद्रले निलेको पनि देखेका थिए। सीनै मरुभूमिको “विशाल र भयानक जङ्‌गल” अर्थात्‌ उजाडस्थान हुँदै यात्रा गर्दा यहोवाले इस्राएलीहरूको हर आवश्‍यकता पूरा गर्नुभएको यहोशूले देखेका थिए। त्यहाँ तीर्खा वा भोकले कोही पनि मरेनन्‌। (व्यव. ८:३-५, १४-१६; यहो. २४:५-७) इस्राएलीहरूले प्रतिज्ञा गरिएको देश प्राप्त गर्न शक्‍तिशाली कनानी राष्ट्रहरूसित युद्ध गर्दा यहोशू र सँगी इस्राएलीहरूले आफ्ना परमेश्‍वरबाट कसरी मदत पाए, त्यो उनले देखेका थिए।—यहो. १०:१४, ४२.

६. परमेश्‍वरको सेवा गर्ने इच्छा जगाउन तपाईंलाई केले मदत गर्नेछ?

६ यहोवाले आफ्नो प्रतिज्ञा पूरा गर्नुभएको कुरा यहोशूलाई थाह थियो। त्यसैकारण तिनले यस्तो घोषणा गरे: “म र मेरो घरानाले परमप्रभुकै सेवा गर्नेछौं।” (यहो. २४:१५) तपाईं नि? साँचो परमेश्‍वरले पूरा गरिसकेका र पूरा गर्न बाँकी प्रतिज्ञाहरूबारे सोच्नुहुँदा, के तपाईंलाई यहोशूले झैं उहाँको सेवा गरौं जस्तो लागेन?

७. बप्तिस्मा किन चाल्नै पर्ने एउटा कदम हो?

७ यहोवाका सृजनशील कार्यहरू अनि अद्‌भुत र पूर्णतया भरपर्दा प्रतिज्ञाहरूबारे विचार गर्दा तपाईं उहाँमा आफ्नो जीवन समर्पण गर्न मात्र होइन तर पानीको बप्तिस्माद्वारा त्यस समर्पणलाई जाहेर गर्न पनि उत्प्रेरित हुनुपर्छ। परमेश्‍वरको सेवा गर्न चाहनेहरूले चाल्नै पर्ने एउटा कदम बप्तिस्मा हो। यो कुरा हाम्रा नमुना अर्थात्‌ येशूले स्पष्ट पार्नुभयो। मसीहको रूपमा काम थाल्नुअघि उहाँ यूहन्‍नाकहाँ बप्तिस्मा लिनलाई आउनुभयो। उहाँले किन त्यो कदम चाल्नुभयो? उहाँले पछि यसो भन्‍नुभयो: “म आफ्नो इच्छा होइन, तर मलाई पठाउनेको इच्छा पूरा गर्नलाई स्वर्गबाट ओर्लिआएको हुँ।” (यूह. ६:३८) आफ्ना पिताको इच्छा पूरा गर्न आफूलाई अर्पण गरेको देखाउन येशूले बप्तिस्मा लिनुभयो।—मत्ती ३:१३-१७.

८. किन तिमोथीले परमेश्‍वरको उपासना गर्ने छनौट गरे र तपाईंले के गर्नुपर्ने हुन सक्छ?

८ तिमोथीलाई पनि विचार गर्नुहोस्‌। उनी जवान ख्रीष्टियान थिए जसलाई यहोवाले पछि धेरै जिम्मेवारी र सुअवसर दिनुभयो। तिमोथीले किन साँचो परमेश्‍वरको उपासना गर्ने निर्णय गरेको? तिनी आफूले ‘सिकेका र निश्‍चय भएका कुराहरूमा लागिरहे’ भनी बाइबल बताउँछ। (२ तिमो. ३:१४) यदि तपाईंले परमेश्‍वरको वचन अध्ययन गर्नुभएको छ र यसका शिक्षा साँचो हो भनी निश्‍चय भएका कुरामा लागिरहनुभयो भने, तिमोथीले जस्तै गरिरहनुभएको छ। अब तपाईंले निर्णय गर्नुपर्छ। आफ्नो इच्छा आमाबाबुलाई बताए कसो होला? तिनीहरू र मण्डलीका प्राचीनहरूले तपाईंलाई बप्तिस्मा लिन चाहिने धर्मशास्त्रीय आवश्‍यकताहरू बुझ्न मदत दिन सक्छन्‌।—प्रेरित ८:१२ पढ्‌नुहोस्‌।

९. तपाईंले बप्तिस्मा लिने कदम चाल्नुहुँदा अरूलाई कस्तो असर पर्न सक्छ?

९ तपाईंले बप्तिस्मा लिनुभयो भने यो साँचो परमेश्‍वरको सेवा गर्ने सर्वोत्तम सुरुआत हुनेछ। यो कदम उठाउनु भनेको लामो दूरीको दौडमा भाग लिनुजस्तै हो। यस दौडमा पाइने इनामहरू हुन्‌: भविष्यमा अनन्त जीवन र अहिले चाहिं परमेश्‍वरको इच्छा गरेर पाइने आनन्द। (हिब्रू १२:२, ३) अहिले त्यो दौड दौडिरहेका परिवारका सदस्यहरू र मण्डलीका मित्रहरूलाई पनि तपाईंले आनन्दित तुल्याइ रहनुभएको हुनेछ। सबैभन्दा महत्त्वपूर्ण कुरा, तपाईंले यहोवाको हृदय आनन्दित बनाउनुहुनेछ। (हितोपदेश २३:१५ पढ्‌नुहोस्‌) हो, तपाईंले यहोवाको उपासना गर्ने छनौट गर्नुको कारण अरूले नबुझ्लान्‌ र तिनीहरूले प्रश्‍न उठाउलान्‌। विरोध समेत गर्लान्‌। तर तपाईं सफलतापूर्वक यी चुनौतीहरूको सामना गर्न सक्नुहुन्छ।

अरूले प्रश्‍न उठाउँदा वा विरोध गर्दा

१०, ११. (क) परमेश्‍वरको सेवा गर्ने तपाईंको निर्णयबारे मानिसहरूले कस्ता प्रश्‍न सोध्न सक्छन्‌? (ख) साँचो उपासनाबारे सोधिएका प्रश्‍नहरूको जवाफ येशूले जुन तरिकामा दिनुभयो, त्यसबाट तपाईं के सिक्न सक्नुहुन्छ?

१० तपाईंले यहोवाको सेवा गर्ने निर्णय लिंदा स्कूलका साथी, छिमेकी र आफन्तहरू अलमल्लमा पर्न सक्छन्‌। किन यस्तो छनौट गरेको भनेर तपाईंलाई सोध्लान्‌ अनि तपाईंको विश्‍वासबारे प्रश्‍न उठाउलान्‌। यस्तो बेला तपाईंले के गर्नुपर्छ? यस्तो छनौटको कारण बताउन सक्षम हुनको लागि अवश्‍यै पनि तपाईंले आफ्नो सोचाइ र भावनालाई केलाउनुपर्छ। अनि आफ्नो विश्‍वासबारे सोधिएका प्रश्‍नहरूको जवाफ दिनुहुँदा येशूको बाहेक अरू कसको उदाहरण पछ्याउन उत्तम होला र?

११ यहूदी धर्मगुरुहरूले येशूलाई पुनरुत्थानबारे प्रश्‍न गर्दा, तिनीहरूले ध्यान नदिएको शास्त्रपदतिर उहाँले ध्यान खिच्नुभयो। (प्रस्थ. ३:६; मत्ती २२:२३, ३१-३३) एक जना शास्त्रीले उहाँलाई सबैभन्दा ठूलो आज्ञा कुन हो भनेर सोध्दा उहाँले तिनलाई उचित बाइबल पदहरू उद्धरण गरेर बताइदिनुभयो। उक्‍त व्यक्‍ति जवाफ पाएर येशूप्रति आभारी भए। (लेवी १९:१८; व्यव. ६:५; मर्कू. १२:२८-३४) येशूको धर्मशास्त्र प्रयोग गर्ने तरिका र उहाँको बोल्ने शैलीले गर्दा “भीडमा उहाँका निम्ति फाटो भयो” र विरोधीहरूले उहाँलाई हानि पुऱ्‍याउन सकेनन्‌। (यूह. ७:३२-४६) आफ्नो विश्‍वासबारे सोधिएको प्रश्‍नको जवाफ दिनुहुँदा बाइबल चलाउनुहोस्‌ र “नम्रता र डरसँग [अर्थात्‌ “गहिरो आदरसहित,” NW]” जवाफ दिनुहोस्‌। (१ पत्रु. ३:१५) सोधिएको कुनै प्रश्‍नको जवाफ थाह छैन भने, मलाई यसको जवाफ थाह छैन पछि अनुसन्धान गरेर बताउँछु भन्‍नुहोस्‌। अनि, त्यस विषयलाई प्रहरीधरहरा-को प्रत्येक डिसेम्बर अंकमा छापिने विषयसूची हेरेर अनुसन्धान गर्नुहोस्‌ वा तपाईंले बुझ्ने भाषामा वाच टावर पब्लिकेसन्स्‌ इन्डेक्स वा सी डी-रोममा वाचटावर लाइब्रेरी उपलब्ध छ भने, त्यसमा पनि अनुसन्धान गर्न सक्नुहुन्छ। राम्ररी तयारी गर्नुहुँदा, ‘कसरी जवाफ दिनुपर्ने हो’ त्यो तपाईंले जान्‍नुहुनेछ।—कल. ४:६.

१२. किन तपाईं सतावटको कारण निरुत्साहित हुनुपर्दैन?

१२ तपाईंले सामना गर्नुपर्ने कुरा भनेको तपाईंको निर्णय र विश्‍वासबारे उठ्‌ने प्रश्‍न मात्र नहुन सक्छ। आखिर, यो संसार परमेश्‍वरको शत्रु शैतानको अधीनमा छ। (१ यूहन्‍ना ५:१९ पढ्‌नुहोस्‌) सबैबाट प्रशंसा वा स्वीकृति पाइन्छ भनेर आशा गर्नु व्यावहारिक कुरा होइन। तपाईंले विरोधको सामना गर्नुपर्ने हुन सक्छ। कतिपयले ‘तपाईंबारे खराबी बोल्दछन्‌’ र तिनीहरूले त्यो निरन्तर गरिरहन सक्छन्‌। (१ पत्रु. ४:४) तर नबिर्सनुहोस्‌, यस्तो स्थिति भोग्ने तपाईं मात्र होइन। येशू ख्रीष्टले पनि सतावट भोग्नुभयो। प्रेरित पत्रुसले पनि सतावट भोगे, र त यस्तो लेखे: “हे प्रिय हो, तिमीहरूलाई परीक्षा गर्न तिमीहरूमाथि परि आउने आगोसरहको परीक्षालाई केही अचम्मको कुरा भए जस्तैगरी तिमीहरू ताजुब नहोओ। तर ख्रीष्टको शासनाहरूको सहयोगी भएर रमाओ।”—१ पत्रु. ४:१२, १३.

१३. सतावट आइपर्दा ख्रीष्टियानहरू किन रमाउँछन्‌?

१३ ख्रीष्टियानको हैसियतमा सतावट वा विरोध सहनु आनन्दित हुने एउटा कारण हो। किन? किनभने संसारको सबैलाई तपाईंको जीवनशैली स्वीकार्य हुनु भनेको तपाईं परमेश्‍वरको नभई शैतानको स्तरअनुसार चलिरहनुभएको छ भन्‍ने कुराको संकेत हो। येशूले यस्तो चेतावनी दिनुभयो: “हाय, तिमीहरू जब सबै मानिसहरूले तिमीहरूको असल बोल्नेछन्‌! किनकि यसरीनै तिमीहरूका पुर्खाहरूले झूटा अगमवक्‍ताहरूलाई गरेका थिए।” (लूका ६:२६) सतावट आउनु भनेको तपाईं यहोवाको सेवक हुनुभएकोले, शैतान र त्यसको संसार तपाईंसित क्रोधित छ भन्‍ने कुराको संकेत हो। (मत्ती ५:११, १२ पढ्‌नुहोस्‌) अनि ‘ख्रीष्टको नाउँमा निन्दित हुनु’ भनेको त रमाउने कुरा हो।—१ पत्रु. ४:१४.

१४. सतावटको बावजूद विश्‍वासी रहँदा कस्तो राम्रा परिणाम निस्कन सक्छ?

१४ सतावटको बावजूद यहोवाप्रति विश्‍वासी भइरहनुहुँदा कम्तीमा पनि चार वटा राम्रा परिणाम निस्कन्छन्‌। तपाईंले परमेश्‍वर र उहाँका पुत्रबारे साक्षी दिनुहुन्छ। तपाईंले विश्‍वासीपूर्वक धैर्यधारण गर्नुहुँदा तपाईंका ख्रीष्टियान भाइबहिनीहरू प्रोत्साहित हुन्छन्‌। यहोवालाई नचिन्‍ने व्यक्‍तिहरू पनि उहाँलाई खोज्न उत्प्रेरित हुन सक्छन्‌। (फिलिप्पी १:१२-१४ पढ्‌नुहोस्‌) अनि परीक्षाहरू सहन यहोवाले कसरी बल दिनुहुन्छ भनी अनुभव गर्नुहुँदा उहाँप्रतिको तपाईंको प्रेम झन्‌ बढ्‌छ।

तपाईंको लागि ‘ठूलो ढोका’ खुला छ

१५. प्रेरित पावलको लागि कस्तो ‘ठूलो ढोका’ खुला भएको थियो?

१५ एफिससमा आफ्नो सेवकाईबारे प्रेरित पावलले यस्तो लेखे: “मेरो निम्ति एउटा ठूलो र अभिप्राय पूरा गर्ने ढोका खुला भएको छ।” (१ कोरि. १६:८, ९) त्यो ढोका थियो: त्यस सहरमा सुसमाचार प्रचार गर्ने र चेला बनाउने ठूलो गतिविधि। त्यस ढोकाभित्र पसेर अर्थात्‌ त्यो अवसर स्वीकारेर पावलले थुप्रैलाई यहोवाबारे सिक्न र उहाँको उपासना गर्न मदत गरे।

१६. बाँकी रहेका अभिषिक्‍त जनहरू सन्‌ १९१९ मा कसरी ‘खुला ढोकाभित्र’ पसे?

१६ सन्‌ १९१९ मा महिमित येशू ख्रीष्टले बाँकी रहेका अभिषिक्‍त ख्रीष्टियानहरूको सामुने एउटा “ढोका खुला” राखिदिनुभयो। (प्रका. ३:८) तिनीहरूले त्यो ढोकाभित्र पसेर अर्थात्‌ त्यो सुअवसरलाई स्वीकारेर पहिलाभन्दा जोसका साथ सुसमाचार प्रचार गर्न र बाइबल सच्चाइ सिकाउन थाले। तिनीहरूको सेवाले कस्ता फल फलाएका छन्‌? अहिले पृथ्वीको चारै कुनामा सुसमाचार पुगेको छ र लगभग सत्तरी लाख मानिसले परमेश्‍वरको नयाँ संसारमा अनन्त जीवन पाउने आशा राखेका छन्‌।

१७. “ठूलो र अभिप्राय पूरा गर्ने ढोका” भित्र तपाईं कसरी पस्न सक्नुहुन्छ?

१७ “ठूलो र अभिप्राय पूरा गर्ने ढोका” यहोवाका सबै सेवकहरूका लागि अझै खुला छ। यसभित्र पसेर सुसमाचार प्रचारकार्यमा जोडतोडले भाग लिनेहरूले आनन्द र सन्तुष्टि पाउँछन्‌। जवानहरू हो, अरूलाई “सुसमाचारमा विश्‍वास” गर्न मदत दिन सकिने अतुलनीय सुअवसरको तपाईं कत्तिको मोल गर्नुहुन्छ? (मर्कू. १:१४, १५) तपाईंले नियमित वा सहायक अग्रगामीको रूपमा सेवा गर्ने विचार गर्नुभएको छ कि? त्यसपछि तपाईंको लागि अन्य सुअवसरका ढोका खुला हुन सक्छन्‌। जस्तै: राज्यभवन निर्माणकार्य, बेथेल सेवा र मिसनरी सेवा। शैतानको संसार चाँडै बितेर जाँदैछ। त्यसैले, राज्य सेवाका यी क्षेत्रहरूमा भाग लिनु दिन-प्रतिदिन झन-झनै जरुरी हुँदैछ। के तपाईं समय छँदा नै “ठूलो . . . ढोका” भित्र पस्नुहुनेछ?

“पारख गरेर हेर, . . . [यहोवा] कस्तो भलो हुनुहुन्छ”

१८, १९. (क) केले दाऊदमा यहोवाको सेवा गर्न तीव्र इच्छा जगायो? (ख) परमेश्‍वरको सेवा गरेकोमा दाऊदले कहिल्यै पछुतो मानेनन्‌ भनेर कुन कुराले देखाउँछ?

१८ परमेश्‍वरबाट प्रेरित भजनरचयिताले अरूलाई ‘यहोवा कस्तो भलो हुनुहुन्छ भनी पारख गरेर हेर्न’ निम्तो दिए। (भज. ३४:८) ठिटो उमेरमा गोठालो काम गर्दा प्राचीन इस्राएलका राजा दाऊदलाई यहोवाले जंगली जनावरहरूको आक्रमणबाट बचाउनुभयो। गोल्यतसित लडाइँ गर्दा परमेश्‍वरले तिनलाई मदत गर्नुभयो, साथै अरू थुप्रै संकष्टबाट पनि बचाउनुभयो। (१ शमू. १७:३२-५१; NRV-मा भजन १८ अध्यायको मुख्य शीर्षकमुनि सानो अक्षरमा लेखिएको अंश हेर्नुहोस्‌) परमेश्‍वरबाट धेरै अनुग्रह पाएको कारण दाऊद यस्तो लेख्न उत्प्रेरित भए: “हे परमप्रभु मेरा परमेश्‍वर, तपाईंले गर्नुभएको अचम्मका कामहरू र हामीतर्फको तपाईंको विचार धेरैनै छन्‌। तपाईंको सामने ती सम्झेर क्रमैसँग राख्नसकिंदैन।”—भज. ४०:५.

१९ यहोवाप्रतिको दाऊदको प्रेम अझै गहिरो भयो र उनलाई सारा हृदय र मनले परमेश्‍वरको प्रशंसा गर्ने इच्छा भयो। (भजन ४०:८-१० पढ्‌नुहोस्‌) वर्षहरू बित्दै जाँदा दाऊदले साँचो परमेश्‍वरको उपासना गर्न आफ्नो जीवन बिताएकोमा कहिल्यै पछुतो मानेनन्‌। ईश्‍वरीय भक्‍तिसित जीवन बिताउनु नै उनको लागि अमूल्य सम्पत्ति थियो, मतलब अतुलनीय आनन्दको स्रोत। वृद्धावस्थामा दाऊदले यसो भने: “हे परमप्रभु, तपाईं मेरो आशा हुनुहुन्छ, मेरो बाल्यकालदेखिनै तपाईं मेरो भरोसा हुनुहुन्छ। हे परमेश्‍वर, म बूढो हुँदा र मेरो कपाल फुलिसक्दा पनि मलाई नत्याग्नुहोस्‌।” (भज. ७१:५, १८) दाऊदको शारीरिक शक्‍ति क्षीण हुँदै गए पनि यहोवामाथिको उनको भरोसा र उहाँसितको मित्रता कहिल्यै कमजोर भएन।

२०. किन परमेश्‍वरको सेवा नै जीवन जिउने सर्वोत्तम तरिका हो?

२० यहोशू, दाऊद र तिमोथीको जीवनशैलीले यहोवाको सेवा गर्नु नै जीवन जिउने सर्वोत्तम तरिका हो भन्‍ने कुराको थप प्रमाण दिन्छ। यस संसारमा क्षणिक भौतिक सुखसुविधा दिने पेशाको तुलना ‘पूर्ण हृदय र प्राणले यहोवाको सेवा गरेर’ आउने चिरकालीन लाभसित गर्न सकिंदैन। (यहो. २२:५) यदि तपाईंले प्रार्थनामा आफूलाई यहोवाप्रति समर्पण गर्नुभएको छैन भने, आफैलाई यस्तो प्रश्‍न सोध्नुहोस्‌: ‘यहोवाको साक्षी बन्‍न मलाई कुन कुराले रोक्दैछ?’ यदि तपाईं यहोवाको बप्तिस्माप्राप्त उपासक बनिसक्नुभएको छ भने, के आफ्नो जीवनमा अझ आनन्द बढाउन चाहनुहुन्छ? त्यसो हो भने, आफ्नो सेवालाई बढाउनुहोस्‌ र निरन्तर आध्यात्मिक प्रगति गरिरहनुहोस्‌। प्रेरित पावलको उदाहरण पछ्याएर तपाईं कसरी आध्यात्मिक उन्‍नति गर्न सक्नुहुन्छ, त्यो यसपछिको लेखले देखाउनेछ। (w08 5/15)

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• परमेश्‍वरको सेवा गर्नुपर्ने दुइटा कारण बताउनुहोस्‌।

• तिमोथीलाई यहोवाको सेवा गर्ने निर्णय गर्न केले मदत गऱ्‍यो?

• सतावट आइपर्दा तपाईं किन स्थिर रहनुपर्छ?

• सेवाका कस्ता सुअवसरहरूको ढोका तपाईंको लागि खुला हुन सक्छ?

[पृष्ठ २२-मा भएको चित्र]

जीवन जिउने सर्वोत्तम तरिका यहोवाको सेवा हो

[पृष्ठ २३-मा भएको चित्र]

आफ्नो विश्‍वासबारे प्रश्‍न सोधिएमा के तपाईं जवाफ दिन सक्षम हुनुहुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने