प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • हामी शुभ समाचार प्रचार गर्छौं
    राज्य सेवकाई—२००० | मार्च
    • हामी शुभ समाचार प्रचार गर्छौं

      १ हामीले “असल कुराका शुभ समाचार” बोकेर हिंड्‌ने कस्तो राम्रो सुअवसर पाएका छौं! (रोमी १०:१५) चिन्ता अनि नैराश्‍यले घेरिएका मानिसहरूसित हामी स्फूर्तिदायी समाचार बाँड्‌नसक्छौं। हामीले तिनीहरूलाई “कल्याणको शुभ समाचार” बताइरहेका छौं भनेर बुझ्न कसरी मदत गर्नसक्छौं?—यशै. ५२:७.

      २ सकारात्मक सन्देश तयार पार्नुहोस्‌: मानिसहरूसित कुराकानी गर्दा उत्साहवर्धक कुराहरूमा ध्यान केन्द्रित गऱ्‍यौं भने सकारात्मक प्रभाव पर्छ। अतः आफ्नो प्रस्तुति तयार पार्दा र प्रस्तुत गर्ने साहित्यका विषयहरू छान्दा हामीले सन्देशको सकारात्मक पक्षलाई प्रकाश पार्नुपर्छ। पूर्ण भरोसा र उत्साहसाथ बाइबल आधारित हाम्रो आशा बताउँदा प्रोत्साहनजनक नतिजाको आशा गर्नसक्छौं।—हितो. २५:११.

      ३ मानिसहरूले संसारको बिग्रँदो अवस्थाबाट आफू कसरी प्रभावित भइरहेका छ भनेर बताउँदा हामी सहानुभूतिशील भए तापनि हामीले मानिसजातिको समस्याको एक मात्र साँचो समाधान परमेश्‍वरको राज्यतर्फ ध्यानाकर्षण गर्नुपर्छ। यहोवाको आउन लागेको “बदला दिने दिनको” छलफल गर्दा समेत हामी यो वास्तवमा “नम्रहरूलाई सुसमाचार” हो भनेर बुझाउन चाहन्छौं। (यशै. ६१:१, २) हामी आफ्ना श्रोताहरूलाई यहोवाले गर्नुहुने सबै कुराले आखिरमा अपार आनन्दका साथै सर्वोत्कृष्ट परिणाम ल्याउनेछ भनेर आश्‍वासन दिनसक्छौं।

      ४ साँचो आनन्दसाथ सत्य प्रस्तुत गर्नुहोस्‌: मानिसहरू हाम्रो आनन्दित अनुहार र विश्‍वस्त स्वर सुनेपछि सुन्‍न झन्‌ धेरै तत्पर हुनेछन्‌। हामीले आशावादी झुकाउ प्रदर्शित गऱ्‍यौं भने हाम्रा श्रोताहरूले हामी “आशामा आनन्द” गर्छौं भनेर बुझ्नसक्छन्‌। (रोमी १२:१२) फलतः तिनीहरू सुसमाचार सुन्‍न झनै प्रोत्साहित हुनसक्छन्‌। निश्‍चय पनि, हाम्रो सेवकाईको हरेक पक्षमा सकारात्मक अनि आनन्ददायी मनोवृत्ति देखाउने हामीसित हरेक असल कारण छ।

      ५ सुसमाचारका सेवकहरूको हैसियतमा हामी जानकारी दिने काम मात्र गर्दैनौं। हाम्रो प्रचारकार्यले अहिले र भविष्यमा पाइने उत्तम जीवनको पक्का आशा पनि प्रदान गर्छ। (१ तिमो. ४:८) हाम्रो सकारात्मक मनोवृत्ति हरेक मानिसलाई भेट्‌दा हामीले बताउने कुरामा झल्किन्छ र यसले मानिसहरूलाई सुसमाचार स्वीकार्न मदत गर्छ। हामी के भन्छौं र कसरी भन्छौं त्यसमा ध्यान दिएर साँचो हृदय भएका मानिसहरूलाई हामीले प्रचार गर्ने शुभ समाचार अंगाल्न प्रोत्साहित गरौं!

  • ‘म के गर्नसक्छु?’
    राज्य सेवकाई—२००० | मार्च
    • ‘म के गर्नसक्छु?’

      १ ‘म के गर्नसक्छु?’ निस्सन्देह, १८७० को दशकमा चार्ल्स टेज रसलले संगठित गरेको सानो बाइबल अध्ययन समूहका सदस्यहरूको मनमा पनि यही प्रश्‍न उठेको हुनुपर्छ। परमेश्‍वरको इच्छा बुझ्दै गएपछि ती सुरुका बाइबल स्टुडेन्ट्‌हरूले अरूलाई पनि परमेश्‍वरको उद्देश्‍यबारे सिक्न मदत गर्न के गर्न सकिन्छ भनेर सोचे होलान्‌। आफूले पाइरहेको बाइबल ज्ञान संसारभरिका मानिसहरूलाई बताउनु पक्कै पनि एउटा विशाल कार्य थियो।

      २ तर खुसीको कुरा, तिनीहरूले सफलतापूर्वक त्यो चुनौती सामना गरे। कसरी? प्रत्येक व्यक्‍तिले आफूले गर्ने काम नगण्य जस्तो लागे तापनि त्यसलाई पूरा गरे। यसले गर्दा नै आज यहोवाका साक्षीहरू विश्‍वभरि परिचित छन्‌। तिनीहरूको संगठनमा झन्डै साठी लाख राज्य उद्‌घोषकहरू छन्‌ अनि २३४ वटा देश तथा टापुहरूस्थित झन्डै ९०,००० मण्डलीमा तिनीहरू सेवारत छन्‌!—यशै. ६०:२२.

      ३ र्ण समर्थन गर्नुहोस्‌: येशूले आखिरी दिनमा पूरा हुन्छ भनी भविष्यवाणी गर्नुभएको यस विशाल कार्यमा हामी प्रत्येकले कुनै न कुनै तरिकामा भाग लिनुपर्छ। (मर्कू. १३:१०) निश्‍चय पनि यो काम सीमित संख्यामा भएका प्राचीनहरूको काँधमा मात्र छोड्‌न सकिंदैन नता प्रचार गर्ने काम अग्रगामीहरूको मात्रै हो। वास्तवमा प्रत्येक समर्पित मसीहीले यस क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ। हामी सबैले प्रचार कार्यको कुनै न कुनै पक्षमा भाग लिनसक्छौं। (१ तिमो. १:१२) हामीले गरेको यथासम्भव कामले हामी आफैलाई अनि अरूलाई पनि लाभ पुऱ्‍याउँछ।—१ तिमो. ४:१६.

      ४ हामी प्रत्येकले अन्य तरिकाहरूमा पनि हाम्रो मसीही भ्रातृत्वलाई पूर्णतया समर्थन गर्नसक्छौं। हामी नियमित तवरमा सभाहरूमा उपस्थित भएर अनि उत्साहपूर्वक भाग लिएर मण्डलीका सभाहरूलाई समर्थन गर्नसक्छौं। (भज. १२२:१, ८, ९) त्यस्तै गरी, मण्डलीलाई नैतिक तवरमा स्वच्छ राख्न पनि हामी आफ्नो तर्फबाट केही गर्नसक्छौं। आफ्नो औकातले भ्याएअनुसार विश्‍वव्यापी कार्यका लागि आर्थिक सहयोग दिएर समर्थन गर्नसक्छौं। हामी राज्यभवनको सफाइमा भाग लिनसक्छौं। मण्डलीमा नयाँ, जवान तथा वृद्ध सबैलाई मदत गरेर न्यानो प्रेम र एकताको मनोभाव बढाउनसक्छौं।—कल. ३:१२, १४.

      ५ त्यसैले आफैसित यस्तो प्रश्‍न गर्न सक्नुहुन्छ, ‘म के गर्नसक्छु?’ तपाईंले गर्नसक्ने कुरा थोरै नै देखिए तापनि आफ्नो काम पूरा गर्दा त्यसले मण्डलीलाई बलियो, सक्रिय र स्वस्थ बनाउन योगदान पुऱ्‍याइरहेको हुनेछ। अतः यहोवाको नाउँ आदर गर्ने काममा हामी सबैको महत्त्वपूर्ण भूमिका छ!

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने