-
तपाईंको मदतको खाँचो छराज्य सेवकाई—२००४ | डिसेम्बर
-
-
तपाईंको मदतको खाँचो छ
१ “हाम्रो खातिर गर्नुहुने सम्पूर्ण कुराका लागि तपाईंहरूलाई धन्यवाद छ। तपाईंहरूको कामले हामीलाई साँच्चै लाभ पुऱ्याउँछ।” त्यस टिप्पणीले हाम्रा प्राचीन तथा सेवकाई सेवकहरूप्रति हामीले महसुस गर्ने मूल्याङ्कनलाई राम्रोसँग व्यक्त गर्छ। परमेश्वरको संगठन बढ्दै जाँदा विश्वभरिका लगभग १,००,००० मण्डलीहरूमा सेवा गर्न परिपक्व पुरुषहरूको निरन्तर खाँचो परिरहन्छ। तपाईं बप्तिस्माप्राप्त भाइ हुनुहुन्छ भने तपाईंको मदतको खाँचो छ।
२ “अग्रसर हुने”: सेवाका थप सुअवसरहरूका लागि तपाईं कसरी अग्रसर हुन सक्नुहुन्छ? (१ तिमो. ३:१, NW) साधारणतया जीवनको सबै पक्षमा असल उदाहरण बसालेर। (१ तिमो. ४:१२; ती. २:६-८; १ पत्रु. ५:३) प्रचारकार्यमा पूरापूर भाग लिनुहोस् र अरूलाई पनि त्यसै गर्न मदत दिनुहोस्। (२ तिमो. ४:५) सँगी विश्वासीहरूको हितमा निष्कपट चासो राख्नुहोस्। (रोमी १२:१३) परमेश्वरको वचनका जेहनदार विद्यार्थी बन्नुहोस् र “शिक्षण कला” विकास गर्नुहोस्। (ती. १:९, NW; १ तिमो. ४:१३) प्राचीनहरूले तपाईंलाई सुम्पेका जिम्मेवारीहरू लगनशील भई पूरा गर्नुहोस्। (१ तिमो. ३:१०) परिवारको शिर हुनुहुन्छ भने ‘आफ्नो घर राम्ररी चलाउनुहोस्।’—१ तिमो. ३:४, ५, १२.
३ नियुक्त सेवक भएर सेवा गर्न कडा परिश्रम र आत्मत्यागी भाव चाहिन्छ। (१ तिमो. ५:१७) त्यसकारण अग्रसर हुनुहुँदा नम्रतापूर्वक अरूको सेवा गर्ने कुरामा ध्यान दिनुहोस्। (मत्ती २०:२५-२८; यूह. १३:३-५, १२-१७) तिमोथीको मनोभावबारे मनन गर्नुहोस् तथा त्यो अनुकरण गर्ने कोसिस गर्नुहोस्। (फिलि. २:२०-२२, NRV) तिमोथीको सन्दर्भमा जस्तै असल आचरणले तपाईंलाई पनि सिफारिस गरोस्। (प्रेरि. १६:१, २) थप जिम्मेवारीहरू सँभाल्न आवश्यक पर्ने आध्यात्मिक गुणहरू खेती गर्नुका साथै प्रगतिका लागि दिइने कुनै पनि सल्लाह-सुझाव लागू गर्नुहुँदा ‘तपाईंको प्रगति सबैमा प्रकट [हुनेछ]’—१ तिमो. ४:१५.
४ आमाबाबु हो, मदत गर्न जवानहरूलाई प्रशिक्षण दिनुहोस्: बच्चाहरूले सानैदेखि मदत गर्न सिक्न थाल्न सक्छन्। सभामा ध्यान दिएर सुन्न, प्रचार गर्न र राज्यभवन तथा स्कूलमा असल आचरण देखाउन उनीहरूलाई प्रशिक्षण दिनुहोस्। राज्यभवनको सरसफाइमा सहयोग गर्ने र वृद्धहरूलाई मदत गर्नेजस्ता अरूको सेवा गर्ने कुरामा भाग लिन उनीहरूलाई सिकाउनुहोस्। अरूलाई दिंदा प्राप्त हुने आनन्द अनुभव गर्न दिनुहोस्। (प्रेरि. २०:३५) यस्तो प्रशिक्षणले उनीहरूलाई भोलिका अग्रगामी, सेवकाई सेवक तथा प्राचीनहरू बन्न मदत गर्न सक्छ।
-
-
प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्नेराज्य सेवकाई—२००४ | डिसेम्बर
-
-
प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्ने
भाग ४: तयारी गर्न विद्यार्थीहरूलाई प्रशिक्षण दिने
१ अध्ययन गर्ने पाठ पहिल्यै पढ्ने, जवाफमा चिह्न लगाउने र त्यसलाई आफ्नै शब्दमा कसरी बताउन सकिन्छ भनी सोच्ने विद्यार्थीले साधारणतया छिटो आध्यात्मिक प्रगति गर्छ। त्यसकारण नियमित रूपमा अध्ययन हुन थालेपछि तयारी गर्ने तरिका सिकाउन विद्यार्थीसँगै बसेर पाठ तयारी गर्नुहोस्। अधिकांश विद्यार्थीहरूसित सँगै बसेर पूरै अध्याय वा पाठ तयारी गर्नु मदतकारी हुनेछ।
२ चिह्न लगाउने र नोट लेख्ने: छापिएको प्रश्नको ठीक जवाफ पत्ता लगाउने तरिका बताउनुहोस्। मुख्य शब्दहरू वा वाक्यहरूमा मात्रै चिह्न लगाएको अध्ययन गर्ने तपाईंको प्रकाशन विद्यार्थीलाई देखाउनुहोस्। विषयवस्तु छलफल गर्दै जाँदा आफ्नो प्रतिमा जवाफ सम्झिन मदत गर्ने आवश्यक बुँदामा मात्रै चिह्न लगाएर उसले तपाईंको उदाहरण पछ्याउन चाहन सक्छ। (लूका ६:४०) त्यसपछि उसलाई आफ्नै शब्दमा जवाफ दिन लगाउनुहोस्। यसो गर्दा छलफल गरिंदै गरेको विषयवस्तु उसले कत्तिको राम्ररी बुझ्यो, सो तपाईंले थाह पाउनुहुनेछ।
३ उद्धरण नगरिएका शास्त्रपदहरू होसियारीसाथ जाँच्नु अध्ययनको लागि तयारी गर्दा विद्यार्थीले छुटाउन नहुने एउटा महत्त्वपूर्ण पक्ष हो। (प्रेरि. १७:११) सबै उद्धृत शास्त्रपदहरूले अनुच्छेदमा दिइएको बुँदालाई समर्थन गर्छ भन्ने कुरा बुझ्न उसलाई मदत गर्नुहोस्। अध्ययन गर्ने प्रकाशनको छेउमा ससानो नोट लेख्ने तरिका उसलाई देखाउनुहोस्। उसले सिकिरहेको कुराको आधार बाइबल हो भनेर उसलाई बुझाउनुहोस्। अध्ययनको दौडान आफ्नो टिप्पणीमा उद्धृत शास्त्रपदहरू प्रशस्त मात्रामा चलाउन उसलाई प्रोत्साहन दिनुहोस्।
४ सरसरती हेर्ने र पुनरावृत्ति गर्ने: विद्यार्थीले अध्ययन गर्नुपर्ने विषयवस्तुको विस्तृत तयारी सुरु गर्नुभन्दा अगाडि विषय सरसरती हेर्नु उसको लागि निकै मदतकारी हुनेछ। संक्षिप्तमा अध्यायको मुख्य शीर्षक, उपशीर्षक तथा चित्रहरू हेरेर विषयवस्तु सरसरती हेर्न सकिन्छ भनी बुझाउनुहोस्। तयारी गरी सिध्याउनुअघि पाठमा दिइएका मुख्य बुँदाहरू पुनरावलोकन गर्न समय निकाल्नु बेस हुन्छ भनी बताउनुहोस्। यसको लागि यदि पुनरावृत्ति पेटी दिइएको छ भने त्यो चलाउन सकिन्छ। यसरी दोहऱ्याइ-तेहऱ्याइ सम्झाउँदा सम्झनुपर्ने कुराहरू उसले मनमा राखिराख्न सक्नेछ।
५ आफ्नो अध्ययनको लागि राम्रोसँग तयारी गर्न विद्यार्थीलाई प्रशिक्षण दिंदा उसले मण्डलीका सभाहरूमा अर्थपूर्ण टिप्पणीहरू दिन मदत पाउनेछ। यसले उसलाई व्यक्तिगत बाइबल अध्ययन सिद्धिसकेपछि पनि पछिसम्म लाभ पुऱ्याउने अध्ययन गर्ने बानी विकास गर्न मदत दिनेछ।
-