अध्याय १
स्वर्गबाट आएका समाचारहरू
सम्पूर्ण बाइबल नै वास्तवमा हामीलाई शिक्षा दिन हाम्रा स्वर्गमा बस्नुहुने बुबाले दिनुभएको एउटा सन्देश हो। तथापि लगभग २,००० वर्षअघि “परमेश्वरसामु हाजिर भइरहने” एउटा स्वर्गदूतद्वारा दुई वटा विशेष सन्देश पठाइएको थियो। त्यो दूतको नाउँ गब्रिएल हो। तिनले पृथ्वीमा सन्देश ल्याएको दुइटा महत्त्वपूर्ण घटनालाई केलाऔं।
ईसापूर्व ३ को कुरा हो। यहूदियाको पहाडी इलाकामा, सायद यरूशलेमको नजिकै, जकरिया नाम गरेका यहोवाका एक जना पुजारी बस्छन्। तिनी र तिनकी पत्नी इलीशिबा दुवैको उमेर ढल्किसकेको छ। तिनीहरूको कोही सन्तान छैन। यरूशलेमको मन्दिरमा जकरिया आफ्नो पालामा पुजारीको काम गरिरहेका छन्। अचानक धूप वेदीको दाहिनेतर्फ गब्रिएल देखा पर्छन्।
जकरिया धेरै नै भयभीत हुन्छन्। तर गब्रिएलले यसो भन्दै तिनको डरलाई शान्त पार्छन्, “नडराऊ जकरिया, किनभने तिम्रो उत्कट बिन्तीको सुनुवाइ भएको छ। तिम्री पत्नी इलीशिबाले तिमीबाट एउटा छोरो जन्माउनेछिन् अनि तिमीले उसको नाम यूहन्ना राख्नू।” यूहन्ना “यहोवाको नजरमा महान् हुनेछ” र उसले “यहोवाको निम्ति सुहाउँदो मानिसहरू तयार” पार्नेछ भनी गब्रिएल घोषणा गर्छन्।
तथापि जकरियाले यो पत्याउनै सक्दैनन्। त्यस उमेरमा तिनी र इलीशिबाले छोरो पाउनेछन् भन्ने कुरा तिनलाई असम्भव लाग्छ। त्यसकारण गब्रिएलले तिनलाई भन्छन्: “यी कुरा पूरा नहोउन्जेल तिमी गुँगो हुनेछौ र बोल्न सक्नेछैनौ, किनकि मैले भनेको कुरा तिमीले पत्याएनौ।”
त्यसबेला जकरिया मन्दिरभित्र यत्तिका लामो समयसम्म किन छन् भनी बाहिर मानिसहरू अचम्म मान्न थाल्छन्। तिनी बाहिर निस्केर आउँदा बोल्नै सक्दैनन् तर हातले इशारा मात्र गर्न सक्छन्। अतः तिनले मन्दिरभित्र कुनै अलौकिक दर्शन देखेछन् भन्ने कुरा तिनीहरूले बुझ्छन्।
मन्दिरमा आफ्नो सेवाको दिन पूरा भएपछि जकरिया आफ्नो घर फर्कन्छन्। केही समयपश्चात् त्यो कुरा वास्तवमा पूरा हुन्छ—इलीशिबा गर्भवती हुन्छिन्! बच्चा नपाउन्जेल इलीशिबा पाँच महिनासम्म घरभित्र लुकेर बस्छिन्।
पछि फेरि गब्रिएल देखा पर्छन्। उनी कोसँग बोल्छन्? नासरत सहरकी मरियम नाम भएकी एउटी तरुणी कन्यासँग। यतिबेला उनले के सन्देश सुनाउँछन्? सुन्नुहोस्! गब्रिएलले मरियमलाई भन्छन्: “तिमीले परमेश्वरको निगाह पाएकी छौ। हेर, तिमीले गर्भधारण गर्नेछौ र एउटा छोरो जन्माउनेछौ अनि तिमीले उहाँको नाम येशू राख्नू।” गब्रिएल अझ भन्छन्: “उहाँ महान् हुनुहुनेछ र सर्वोच्च परमेश्वरको छोरा कहलाइनुहुनेछ . . . उहाँले राजाको रूपमा याकूबको घरानामाथि सधैंभरि शासन गर्नुहुनेछ र उहाँको राज्यको अन्त कहिल्यै हुनेछैन।”
यी सन्देशहरू सुनाउन पाएकोमा गब्रिएल गौरव गर्छन् भनेर हामी पक्का हुन सक्छौं। जसै हामी यूहन्ना र येशूबारे अझ अरू पढ्दै जानेछौं, स्वर्गबाट आएका यी सन्देशहरू किन महत्त्वपूर्ण छन् भन्ने कुरा अझ बुझ्नेछौं। २ तिमोथी ३:१६; लूका १:५-३३.
▪ स्वर्गबाट आएका दुई वटा महत्त्वपूर्ण सन्देश के हुन्?
▪ सन्देशहरू कसले ल्याउँछन् र ती कसलाई दिइन्छन्?
▪ ती सन्देशहरू पत्याउन किन गाह्रो हुन्छ?