प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • be पृ. ४-पृ. ८ अनु. १
  • ईश्‍वरतान्त्रिक सेवा स्कूलमा तपाईंलाई स्वागत छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ईश्‍वरतान्त्रिक सेवा स्कूलमा तपाईंलाई स्वागत छ
  • ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • उपशीर्षकहरू
  • कसरी पूरापूर फाइदा उठाउन सक्छौं?
ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
be पृ. ४-पृ. ८ अनु. १
पृष्ठ ५-मा भएको चित्र

ईश्‍वरतान्त्रिक सेवा स्कूलमा तपाईंलाई स्वागत छ

संसारभर दुई सय भन्दा धेरै ठाउँका एक लाख भन्दा धेरै मण्डलीमा हरेक हप्ता ईश्‍वरतान्त्रिक सेवा स्कूल सञ्चालन हुन्छ। उक्‍त स्कूलबाट लाखौं विद्यार्थीले फाइदा उठाइरहेका छन्‌। तिनीहरूमध्ये केही नयाँ छन्‌ त केही पुराना। तपाईं जहाँसुकै बसे तापनि एउटै कार्यक्रमबाट फाइदा उठाउन सक्नुहुन्छ। उमेर, जाति र शैक्षिक पृष्ठभूमि फरक-फरक भए पनि सबैले सित्तैंमा यो ईश्‍वरतान्त्रिक शिक्षा पाइरहेका छन्‌।

सन्‌ १९४३ मा यहोवाका साक्षीहरूका मण्डलीहरूमा यो स्कूल सुरु गर्दा त्यसको उद्देश्‍यबारे ईश्‍वरतान्त्रिक स्कूलसम्बन्धी एउटा पुस्तिकामा यस्तो लेखिएको थियो: “यसको उद्देश्‍य परमेश्‍वरको वचन सुनेर आफ्नो विश्‍वास प्रमाणित गरिसकेका ‘वफादार मानिसहरूलाई’ जनसमक्ष आफ्नो आशा व्यक्‍त गर्न सक्ने र ‘अरूलाई सिकाउन सक्ने’ बनाउनु हो।” यस स्कूलको उद्देश्‍य अहिले पनि उस्तै छ।

परमेश्‍वरले दिएको बोल्ने क्षमता प्रयोग गर्ने सर्वोत्तम तरिका के हो? बाइबलमा यस्तो लेखिएको छ: “सास हुने जति सबैले, परमप्रभुको प्रशंसा गर।” (भज. १५०:६) यसरी प्रशंसा गर्दा स्वर्गमा बस्ने हाम्रो बुबा यहोवा खुसी हुनुहुनेछ। साथै उहाँले देखाएको भलाइ र प्रेमप्रति कृतज्ञ भएको पनि हामीले देखाइरहेका हुन्छौं। त्यसैले ख्रीष्टियनहरूलाई यस्तो प्रोत्साहन दिइएको छ: “परमेश्‍वरलाई सधैं प्रशंसाको बलिदान अर्थात्‌ ओठको फल चढाऔं, जसद्वारा हामी उहाँको नाम जनसमक्ष घोषणा गर्छौं।” (हिब्रू १३:१५) यहोवाले हामीलाई उहाँको प्रशंसा गर्न सक्ने क्षमतासहित सृष्टि गर्नुभएको छ। तपाईंको यही क्षमतालाई अझै तिखार्न मदत दिने हेतुले यो स्कूल तयार पारिएको हो। त्यसैकारण तपाईंलाई हामी ईश्‍वरतान्त्रिक सेवा स्कूलमा स्वागत गर्छौं।

ईश्‍वरतान्त्रिक सेवा स्कूलले जनसमक्ष पढ्‌ने, बोल्ने र सिकाउने कलालाई तिखार्ने मात्र होइन, अझै अरू फाइदा उठाउन पनि मदत गर्छ। स्कूलमा सहभागी भइरहनुभयो भने तपाईंले व्यक्‍तिगत पढाइ, सुन्‍ने र सम्झने, अध्ययन गर्ने, अनुसन्धान गर्ने, कुनै पनि विषय केलाएर हेर्ने र मिलाउने, कुराकानी गर्ने, जवाफ दिने र आफ्नो विचार लेखेर व्यक्‍त गर्ने जस्ता सीप विकास गर्ने मदत पाउनुहुनेछ। स्कूलमा गरिने अध्ययन, दिइने टिप्पणी, प्रस्तुत गरिने भाग सबै बाइबल र बाइबलआधारित साहित्यमै आधारित हुनेछ। परमेश्‍वरको वचनमा पाइने अमूल्य सत्य मन-मस्तिष्कमा भर्दा तपाईं पनि परमेश्‍वरले जस्तै सोच्न सक्नुहुन्छ। तपाईंले सिक्ने ती कुरा जीवनका एक-एक पक्षमा फाइदाजनक साबित हुनेछन्‌। परमेश्‍वरको वचन कत्तिको महत्त्वपूर्ण छ भन्‍नेबारे २० औं शताब्दीका एक शिक्षाविद्‌ले (विलियम लिओन फेल्प्स्‌) यसो भने: “बाइबलको विस्तृत ज्ञान हुने व्यक्‍तिलाई साँचो अर्थमा शिक्षित भन्‍न सकिन्छ। . . . मेरो विचारमा कलेज गएको तर बाइबलको शिक्षा नलिएको व्यक्‍तिको तुलनामा कलेज नगएको तर बाइबलको शिक्षा लिएको व्यक्‍ति शिक्षित हुन्छ।”

कसरी पूरापूर फाइदा उठाउन सक्छौं?

पृष्ठ ४-मा भएको पृष्ठभरिको चित्र

ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट पूरापूर फाइदा उठाउन विद्यार्थी आफैले नै अर्थात्‌ तपाईं आफैले नै प्रयास गर्नुपर्छ। सँगी ख्रीष्टियन तिमोथीलाई प्रेषित पावलले यस्तो आग्रह गरे: “यी कुराहरूमा चिन्तनमनन गर, त्यसैमा डुबिरह, ताकि तिम्रो प्रगति सबै मानिसहरूसामु प्रकट होस्‌।” (१ तिमो. ४:१५) स्कूलबाट पूरापूर फाइदा उठाउन तपाईं के-के गर्न सक्नुहुन्छ?

सम्भव भएसम्म हरेक हप्ता ईश्‍वरतान्त्रिक सेवा स्कूलमा उपस्थित हुनुहोस्‌। तपाईंको हातमा भएको ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌ किताबको सदुपयोग गर्नुहोस्‌। किताबको सुरुको पानामा नाम लेख्न तोकिएको ठाउँमा आफ्नो नाम लेख्नुहोस्‌। स्कूलमा यो किताब लैजान नबिर्सनुहोस्‌। यो पढ्‌ने किताब मात्र होइन, लेख्ने अभ्यास-पुस्तिका पनि हो। पढ्‌दै गर्दा मदत मिल्छ जस्तो लागेको महत्त्वपूर्ण बुँदामा चिनो लगाउनुहोस्‌। यस किताबको प्रत्येक पानामा दायाँ वा बायाँ छोडिएको ठाउँमा सिकेका कुरा लेख्नुहोस्‌।

नबिर्सनुहोस्‌, हाम्रो मुख्य पाठ्यपुस्तक बाइबल हो। त्यसैले हरेक हप्ता स्कूलको लागि तयारी गर्दा उक्‍त हप्ताको बाइबल पढाइको लागि छुट्ट्याइएको भाग सबैभन्दा पहिला पढ्‌नुहोस्‌। स्कूलका अन्य भाग पनि पहिल्यै तयारी गर्नुभएको छ भने ‘सुनमा सुगन्ध’ भनेझैं हुन्छ।

स्कूलमा श्रोताले टिप्पणी गर्ने मौका पनि हुन सक्छ। त्यस मौकामा सक्दो टिप्पणी गर्नुहोस्‌। सुनेको कुरा सम्झन र लागू गर्न यसरी टिप्पणीमा भाग लिनै पर्छ।

हो, विद्यार्थीहरू सबैले नै स्कूलमा भाषण दिने वा प्रदर्शनको रूपमा आफ्नो भाग प्रस्तुत गर्ने मौका पाउँछन्‌। यस्तो मौकाको पनि सदुपयोग गर्नुहोस्‌। तपाईंलाई काम गर्न भनिएको बुँदामा उन्‍नति गर्न सक्दो प्रयास गर्नुहोस्‌। तपाईंले अझै प्रगति गर्न सकोस्‌ भनेर सल्लाह दिइनेछ। त्यस्तो सल्लाह स्वीकार्नुहोस्‌। तपाईंले उन्‍नति गर्नुपर्ने क्षेत्रमा पाएको सल्लाह आफ्नो किताबमा टिप्नुहोस्‌। हामी आफ्नो कमजोरी आफै देख्न सक्दैनौं। त्यसैले बाइबलआधारित मायालु सल्लाह-सुझावले तपाईंलाई निकै मदत गर्न सक्छ। स्कूलमा भाग लिएको वर्षौं भइसके तापनि सबैले नै प्रगति गर्न सक्ने कुनै न कुनै ठाउँ हुन्छ।—हितो. १:५.

के तपाईं अझै छिटो प्रगति गर्न चाहनुहुन्छ? आफै अघि सर्दा प्रगति गर्न सकिन्छ। विद्यार्थीले प्रस्तुत गर्ने प्रत्येक भाग पहिल्यै तयार गर्नुहोस्‌। यसो गर्दा जिम्मेवारी पाएको कुनै विद्यार्थीको सट्टा उक्‍त भाग प्रस्तुत गर्नुपर्ने अवस्था आएमा तपाईं त्यो भाग प्रस्तुत गर्न सक्नुहुन्छ र अझै अनुभव बटुल्न सकिन्छ। अरूले प्रस्तुत गरेको भाग ध्यान दिएर सुन्‍नुहोस्‌। हामी सबै एकअर्काबाट सिक्न सक्छौं।

परिस्थितिले दिएसम्म पहिले आफैले यो किताब पढ्‌नुभयो भने पनि छिटो-छिटो प्रगति गर्न सक्नुहुन्छ। यसपछिका १५ वटा अध्यायमा के-के छन्‌, राम्ररी थाह पाइसकेपछि पृष्ठ ७८ देखि सुरु भएको “वक्‍ता अनि शिक्षकको रूपमा क्षमता विकास गर्न मदत दिने स्कूल” अन्तर्गत दिइएका एक-एक बुँदामा काम गर्दै जानुहोस्‌। पहिले प्रत्येक पाठ पढ्‌नुहोस्‌। त्यसपछि दिइएको अभ्यास गर्नुहोस्‌। सिकेको कुरा प्रचारमा लागू गर्नुहोस्‌। यसो गर्दा परमेश्‍वरको वचनको वक्‍ता अनि शिक्षकको रूपमा तपाईं अझै निपुण हुन सक्नुहुन्छ।

ईश्‍वरतान्त्रिक सेवा स्कूलको शिक्षाले तपाईंलाई जीवनमा महत्त्वपूर्ण काम गर्न सक्षम तुल्याउँछ। त्यो महत्त्वपूर्ण काम, यहोवा परमेश्‍वरको प्रशंसा गर्नु हो। यहोवाले नै हामीलाई जीवन दिनुभयो। त्यसैले उहाँ अत्यन्तै प्रशंसनीय हुनुहुन्छ। (प्रका. ४:११) यस स्कूलको शिक्षाले हामीलाई ठीक तरिकाले सोच्न, बुद्धिमानी भई चल्न अनि परमेश्‍वरको वचन बाइबलमा पाइने सत्य प्रभावकारी तरिकामा बताउन सक्षम बनाउँछ। यसरी हामी यहोवाको प्रशंसा गर्न सक्छौं।

ईश्‍वरतान्त्रिक सेवा स्कूलका विशेषता

  • हरेक हप्ता बाइबलआधारित पढाइ, अध्ययन अनि अनुसन्धान गरिन्छ

  • जनसमक्ष पढ्‌ने, सिकाउने तथा बोल्ने तरिका सिकाइन्छ

  • छलफलमा भाग लिन सकिन्छ

  • मण्डलीसामु आफ्नो भाग प्रस्तुत गर्ने मौका पाइन्छ

  • तपाईंलाई व्यक्‍तिगत रूपमा अझै प्रगति गर्न मदत दिइन्छ

अझै तिखार्न सकिने सीप

  • सुन्‍ने र सम्झने

  • आफैले पढ्‌ने

  • अध्ययन गर्ने

  • अनुसन्धान गर्ने

  • विषयवस्तु केलाउने र मिलाउने

  • कुराकानी गर्ने

  • सही जवाफ दिने

  • विचार लेखेर व्यक्‍त गर्ने

अझै निपुण हुने तरिका

प्रभावकारी तरिकामा कुराकानी गर्नु पनि कला हो। सबै जना कुराकानी गर्न खप्पिस हुँदैनन्‌। कुराकानी गर्ने सीप कसरी विकास गर्ने भनेर सिकाउन थुप्रै किताब लेखिएका छन्‌। सृष्टिकर्ता यहोवाले मानिसलाई बोल्ने क्षमता दिनुभएको हो। त्यसैले बोल्ने र सिकाउने क्षमता कसरी उन्‍नति गर्ने भन्‍ने विषयमा विशेषज्ञहरूलाई भन्दा उहाँलाई धेरै थाह छ। मानव मस्तिष्क बनाउन, शब्द उच्चारण गर्ने क्षमता दिन र अन्य आश्‍चर्यजनक कुराहरू सृष्टि गर्न यहोवा परमेश्‍वरलाई उहाँको एक मात्र छोराले मुख्य कालिगडको रूपमा सघाउनुभयो।

स्वर्गदूत र त्यसपछि मानिसहरू सृष्टि गरिसकेपछि त्यही छोराले परमेश्‍वरको वचनको रूपमा काम गर्नुभयो। (हितो. ८:३०; यूह. १:१-३) यसको अर्थ तिनीहरूलाई निर्देशन दिन यहोवा परमेश्‍वरले मुख्यतया त्यही छोरालाई प्रयोग गर्नुभयो। यहोवाले त्यही छोरालाई येशू ख्रीष्टको रूपमा पृथ्वीमा पठाउनुभयो। येशूबारे बाइबलमा यस्तो लेखिएको छ: “उहाँको सिकाउने तरिका देखेर भीड छक्क पऱ्‍यो।” त्यसैगरि येशूको कुरा सुनेका मानिसहरूले पनि यसो भने: “यो मानिसले जस्तो त कसैले बोलेको छैन।” (मत्ती ७:२८; यूह. ७:४६) सुसमाचारका पुस्तकमा येशूलाई ४० पटकभन्दा धेरै ‘गुरु’ भनी सम्बोधन गरिएको छ र त्यसरी सम्बोधन गर्नुका असल कारण छन्‌। बोल्ने र सिकाउने सन्दर्भमा हामी उहाँबाट धेरै कुरा सिक्न सक्छौं।

यहोवाले आफ्नो इच्छा पूरा गर्न विभिन्‍न पृष्ठभूमिका पुरुष तथा स्त्रीलाई कसरी प्रयोग गर्नुभयो भन्‍ने विवरण पनि बाइबलमा पाइन्छ। तिनीहरूमध्ये केहीले छोटो तर सशक्‍त सन्देश दिए। तीमध्ये धेरैजसोले विशाल श्रोतासामु कहिल्यै बोलेनन्‌। तैपनि तिनीहरूले साँचो परमेश्‍वर र उहाँको उद्देश्‍यबारे वफादार भई साक्षी दिए। यसो हेर्दा धेरैजसो बोल्नमा पोख्त थिएनन्‌ तैपनि परमेश्‍वरले तिनीहरूको प्रयासमाथि आशिष्‌ दिनुभयो। तिनीहरूले आफूलाई सुम्पिएको सेवाको काम कसरी पूरा गरे भन्‍नेबारे बाइबलमा लेखिएको कुराबाट हामी धेरै सिक्न सक्छौं।—भज. ६८:११.

हुन त बाइबल मानिसहरूसामु बोल्न सिकाउने किताब होइन। तर ध्यान दिएर बाइबल पढ्यौं भने प्रभावकारी ढङ्‌गमा कसरी बोल्ने तथा सिकाउने त्यो सिक्न सक्छौं। ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌ किताब तपाईंलाई त्यस्तै मदत दिन तयार पारिएको हो।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने