अध्याय ३०
अत्तो थाप्नेहरूलाई जवाफ
यहूदी धर्म-गुरुहरूले विश्राम-दिनको नियमलाई येशूले भङ्ग गर्नुभयो भनी आरोप लगाउँदा उहाँ जवाफ दिनुहुन्छ: “मेरो बुबा अहिलेसम्म काम गर्दै हुनुहुन्छ र म पनि गर्दैछु।”
फरिसीहरूले जे दाबी गरे तापनि येशूले गर्नुभएको काम विश्राम-दिनको नियमविपरीत होइन। प्रचार गर्ने र निको पार्ने काम उहाँले परमेश्वरबाट पाउनुभएको हो र परमेश्वरको उदाहरण अनुकरण गर्दै उहाँ प्रत्येक दिन सो काम गरिरहनुहुन्छ। तथापि उहाँको जवाफले यहूदीहरू पहिलेभन्दा बढी रिसाउँछन् र उहाँलाई मार्न खोज्छन्। किन?
किनभने येशूले अब विश्राम-दिन मात्र भङ्ग गर्नु भएन तर आफू परमेश्वरकै छोरा हुँ भन्ने दाबी गरेर ईश्वर-निन्दासमेत गर्नुभयो भनी तिनीहरू विश्वास गर्छन्। तथापि येशू निडर हुनुहुन्छ र परमेश्वरसँग आफ्नो सुमधुर सम्बन्धबारे तिनीहरूलाई अझै भन्नुहुन्छ: “बुबाले छोरालाई माया गर्नुहुन्छ र आफूले गर्ने सबै कुरा उसलाई देखाउनुहुन्छ।”
येशू अझै भन्दै जानुहुन्छ: “जसरी बुबाले मरेकाहरूलाई ब्यूँताएर जीवित पार्नुहुन्छ, त्यसरी नै छोराले पनि जसलाई इच्छा लाग्छ उसलाई जीवित पार्छ।” वास्तवमा छोराले मानिसहरूलाई परमेश्वरसित सम्बन्ध गाँस्न मदत दिएर प्रतीकात्मक अर्थमा जीवित पार्न थालिसक्नुभएको छ! येशू भन्नुहुन्छ: “जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेलाई विश्वास गर्छ, . . . मृत्युलाई पार गरेर ऊ जीवनमा प्रवेश गर्छ।” हो, उहाँ अगाडि भन्नुहुन्छ: “बेला आउँछ र त्यो अहिल्यै हो, जब मरेकाहरूले परमेश्वरको छोराको सोर सुन्नेछन् अनि ज-जसले उसको कुरा मान्छन्, तिनीहरू जिउनेछन्।”
यद्यपि यसबेलासम्म येशूले मरेका मानिसलाई वास्तवमा ब्यूँताउनु नभए तापनि मृतकहरू साँच्चै पुनर्जीवित हुनेछन् भनी आफ्नो विरुद्धमा अत्तो थाप्नेहरूलाई उहाँ यसरी भन्नुहुन्छ: “यसमा अचम्म नमान, किनभने बेला आउँदैछ, जब चिहानमा हुनेहरू सबैले उसको सोर सुन्नेछन् र बाहिर निस्किआउनेछन्।”
यसबेलासम्म परमेश्वरको उद्देश्यमा आफ्नो मुख्य भूमिकाबारे येशूले यतिको स्पष्ट र तोकेरै खुलेआम भन्नुभएको छैन। तर आफूमाथि अत्तो थाप्नेहरूका सामुन्ने यी विषयबारे आफ्नै साक्षीबाहेक अझै अरू प्रमाण प्रस्तुत गर्न सकिन्छ। येशू तिनीहरूलाई सम्झना गराउनुहुन्छ: “तिमीहरूले यूहन्नाकहाँ मानिसहरू पठाएका छौ अनि तिनले सत्यको साक्षी दिएका छन्।”
ठीक दुई वर्षअघि, बप्तिस्मा गराउने यूहन्नाले आफूपछि आउने एक जनाबारे यहूदी नेताहरूलाई भनेका थिए। हाल झ्यालखानामा भएका यूहन्नाप्रति तिनीहरूले पहिले देखाएका ठूलो सम्मानको सम्झना गराउँदै येशू भन्नुहुन्छ: “अलिक समय तिनको ज्योतिमा असाध्यै रमाउन तिमीहरू इच्छुक थियौ।” तिनीहरूलाई मदत गर्ने आशामा, हो, बचाउने आशामा येशूले तिनीहरूलाई यो कुराको याद दिलाउनुहुन्छ। तथापि उहाँ यूहन्नाको साक्षीमा मात्र भर पर्नु हुन्न।
“ती कामहरूले नै [उहाँले भर्खरै गर्नुभएको चमत्कारले पनि] बुबाले मलाई पठाउनुभएको हो भनेर साक्षी दिन्छन् र तिनै कामहरू म अहिले गर्दैछु।” तर त्यसबाहेक येशू भन्दै जानुहुन्छ: “मलाई पठाउनुहुने बुबा आफैले मेरो विषयमा साक्षी दिनुभएको छ।” उदाहरणका लागि, उहाँको बप्तिस्मा हुँदा परमेश्वरले यसो भन्दै साक्षी दिनुभयो: “यिनी मेरो प्यारो छोरा हुन्, जससित म अति प्रसन्न छु।”
वास्तवमा येशूसँग अत्तो थाप्नेहरूले उहाँलाई इन्कार गर्ने कुनै कारण नै छैन। जुन धर्मशास्त्रलाई तिनीहरू खोजतलास गरिरहेको दाबी गर्छन् त्यसैले पनि उहाँबारे साक्षी दिन्छ! येशू यसो भनेर आफ्नो कुरा टुङ्ग्याउनुहुन्छ: “तिमीहरूले मोशालाई विश्वास गरेका भए मलाई पनि विश्वास गर्नेथियौ, किनकि तिनले मेरै विषयमा लेखेका थिए। तर तिमीहरू तिनका लेखोटहरूलाई नै विश्वास गर्दैनौ भने मैले भनेका कुराहरू कसरी विश्वास गर्नेछौ?” यूहन्ना ५:१७-४७; १:१९-२७; मत्ती ३:१७.
▪ येशूले गर्नुभएको कामद्वारा विश्राम-दिनको उल्लङ्घन किन हुँदैन?
▪ परमेश्वरको उद्देश्यमा आफ्नो महत्त्वपूर्ण भूमिकाको वर्णन येशू कसरी गर्नुहुन्छ?
▪ आफू परमेश्वरको छोरा भएको प्रमाणित गर्न येशू कसको साक्षी प्रस्तुत गर्नुहुन्छ?