अध्याय ३५
आजसम्म दिइएको सबैभन्दा प्रसिद्ध उपदेश
बाइबल इतिहासको यो एउटा अविस्मरणीय दृश्य हो: येशू डाँडामा बसेर आफ्नो प्रसिद्ध उपदेश दिंदै हुनुहुन्छ। त्यो ठाउँ गालील समुद्रको नजिक र सायद कफर्नहुमको छेउछाउमै छ। सारा रात प्रार्थनामा बिताएपछि येशूले भर्खरै आफ्ना १२ जना चेलालाई प्रेषित हुन छान्नुभएको छ। अनि तिनीहरू सबैका साथ डाँडाको यस समतल ठाउँमा आउनुहुन्छ।
अहिलेसम्म त येशू धेरै थाकिसक्नुभएको होला। सायद उहाँ केही बेर सुत्न चाहनुहुन्छ। तर करिब १०० किलोमिटर टाढा यहूदिया र यरूशलेमबाट आएकाहरूको एउटा ठूलो भीड जम्मा भएको छ। अरूहरू उत्तरस्थित सीदोन र टायरका तटवर्ती इलाकाबाट पनि आएका छन्। तिनीहरू येशूको कुरा सुन्न र आफ्ना रोगहरू निको पार्न आएका छन्। सैतानका दुष्ट स्वर्गदूतहरूद्वारा पीडित मानिसहरू पनि त्यहाँ छन्।
येशू तल झर्नुभएपछि उहाँलाई छुन बिरामीहरू नजिक पुग्छन् र उहाँले सबैलाई निको पारिदिनुहुन्छ। त्यसपछि सम्भवतः येशू डाँडामा अलिकता माथि उक्लिनुहुन्छ। त्यहाँ बसेर आफ्नो सामुन्नेको समतल भूमिमा बसेको भीडलाई शिक्षा दिन थाल्नुहुन्छ। सोच्नुहोस् त! अब त्यहाँ जम्मा भएका भीडमध्ये एक जना पनि गम्भीर बिमारीले पीडित छैनन्!
यी अद्भुत चमत्कारहरू गर्न सक्ने गुरुको कुरा सुन्न मानिसहरू इच्छुक छन्। येशू खासगरि उहाँको छेवैमा घेरेर बसेका चेलाहरूको हितका निम्ति उपदेश दिनुहुन्छ। तर त्यसबाट हामीहरूले पनि लाभ उठाउन सकौं भनी मत्ती र लूका दुवैले त्यस उपदेशलाई लिपिबद्ध गरेका छन्।
त्यस उपदेशबारे मत्तीले दिएको वर्णन, लूकाको वर्णनभन्दा चार गुणा लामो छ। यसबाहेक मत्तीले लेखेका कुनै-कुनै कुराहरू येशूले उहाँको सेवाको दौडानमा अरू नै बेला भन्नुभएजस्तै गरी लूकाले प्रस्तुत गर्छन्। यसलाई हामी मत्ती ६:९-१३ लाई लूका ११:१-४ सित र मत्ती ६:२५-३४ लाई लूका १२:२२-३१ सित तुलना गर्दा देख्न सक्छौं। तर यसमा आश्चर्य मान्नु पर्दैन। येशूले त्यही कुरालाई एक पटक मात्र होइन अनेक पटक सिकाउनु भएको हुनुपर्छ र ती शिक्षाहरूमध्ये केहीलाई लूकाले बेग्लाबेग्लै परिस्थितिहरूबाट लिएर प्रस्तुत गर्न रुचाए होलान्।
येशूका उपदेशमा भएका ईश्वरीय कुराहरूका गहिराइले गर्दा मात्र होइन तर ती सत्य कुराहरूलाई उहाँले सरल र स्पष्ट ढङ्गमा प्रस्तुत गर्नुभएकोले उहाँको शिक्षा यति अमूल्य हुन गएको छ। साधारण अनुभवहरू र मानिसहरूले थाह पाएका कुराहरूलाई उहाँ प्रयोग गर्नुहुन्छ। यसप्रकार परमेश्वरको बाटोमा हिंडेर राम्रो जीवन प्राप्त गर्न खोज्नेहरूका लागि उहाँले आफ्ना विचारहरू सजिलैसित बुझ्न सक्ने पारिदिनुहुन्छ।
साँच्चै आनन्दित को हुन्?
सबै जना आनन्दित हुन चाहन्छन्। यो कुरा बुझेर साँच्चै आनन्दित व्यक्तिहरूको वर्णन गर्दै येशू डाँडाको उपदेश सुरु गर्नुहुन्छ। हामी अनुमान लाउन सक्छौं कि यस विषयले उहाँको विशाल श्रोतागणको ध्यान तुरुन्तै खिच्छ। तापनि उहाँका प्रारम्भिक शब्दहरू धेरैलाई विरोधाभासपूर्ण लाग्न सक्छन्।
आफ्ना चेलाहरूलाई सम्बोधन गर्दै येशू कुरा सुरु गर्नुहुन्छ: “आनन्दित हौ तिमी गरिबहरू, किनकि परमेश्वरको राज्य तिमीहरूकै हो। आनन्दित हौ तिमीहरू जो अहिले भोका छौ, किनकि तिमीहरू तृप्त पारिनेछौ। आनन्दित हौ तिमीहरू जो अहिले रुन्छौ, किनकि तिमीहरू हाँस्नेछौ। आनन्दित हौ तिमीहरू, जब मानिसहरूले तिमीहरूलाई . . . घृणा गर्छन् . . . त्यस दिन रमाओ अनि खुसीले उफ्र, किनभने हेर, स्वर्गमा तिमीहरूका लागि ठूलो इनाम छ।”
लूकाको वर्णनअनुसार येशूको उपदेश माथि दिइएको तरिकामा सुरु भएको छ। तर मत्तीअनुसार येशूले कोमल स्वभाव हुनेहरू, कृपालुहरू, मन चोखो हुनेहरू, मेल-मिलाप गराउनेहरूलाई पनि आनन्दित हुन् भन्नुभएको छ। तिनीहरू आनन्दित हुन् किनभने तिनीहरू पृथ्वीको उत्तराधिकारी हुनेछन्, तिनीहरूलाई कृपा देखाइनेछ, तिनीहरूले परमेश्वरलाई देख्नेछन् र तिनीहरू परमेश्वरका छोराहरू कहलाइनेछन्।
तथापि येशूले आनन्दित हुन् भन्नुहुँदा साधारणतया मोजमजा गर्दाझैं हँसिलो वा उल्लसित हुनु भन्न खोज्नुभएको होइन। साँचो आनन्द योभन्दा गहिरो हुन्छ र त्यसबाट सन्तुष्टि, तृप्ति र जीवनमा सफलताको अनुभव हुन्छ।
साँच्चैका आनन्दित मानिसहरू ती हुन् जसले परमेश्वरको मार्गनिर्देशनको खाँचो महसुस गर्छन्, आफ्नो पापपूर्ण अवस्थाको कारण दुःखित छन् र परमेश्वरलाई चिनेर उहाँको सेवा गर्छन्। अनि तिनीहरूले परमेश्वरको इच्छाअनुसार काम गरेकोमा तिनीहरू घृणाका पात्र हुँदा र सताइँदा पनि तिनीहरू आनन्दित हुन्छन्। तिनीहरूले परमेश्वरलाई प्रसन्न तुल्याइरहेछन् र तिनीहरूले अनन्त जीवनको इनाम पाउनेछन् भनी तिनीहरूलाई थाह हुन्छ।
तथापि आजका केही मानिसहरूले जस्तै येशूका त्यसबेलाका श्रोताहरूले पनि धनसम्पन्न भएर मोजमजा गर्न पाएमा मानिस आनन्दित हुन्छन् भनी विश्वास गर्छन्। तर येशूको सोचाइ योभन्दा भिन्न छ। उहाँका श्रोतागणमध्येका धेरैलाई छक्क पार्नेगरि उहाँले एउटा बेग्लै दृष्टिकोण प्रस्तुत गर्दै भन्नुहुन्छ:
“धिक्कार तिमी धनीहरूलाई, किनकि तिमीहरूले जति सुखसुविधा पाउनुपर्ने हो, पाइसकेका छौ। धिक्कार तिमीहरूलाई जो अहिले तृप्त छौ, किनकि तिमीहरू भोकाउनेछौ। धिक्कार तिमीहरूलाई जो अहिले हाँसिरहेका छौ, किनकि तिमीहरू शोक गर्नेछौ अनि रुनेछौ। धिक्कार, जब सबै मानिसहरूले तिमीहरूको तारिफ गर्छन्, किनकि तिनीहरूका पुर्खाहरूले झूटा भविष्यवक्ताहरूलाई त्यसै गर्थे।”
येशूले यहाँ के भन्न खोज्नुभएको हो? धन हुनेहरू, हाँसेर आनन्दका पछि लाग्नेहरू र मानिसहरूबाट तारिफ पाउनेहरूलाई किन धिक्कार? किनभने कुनै मानिससँग यी कुराहरू हुँदा र यी कुराहरूलाई महत्त्व दिंदा एक मात्र साँचो आनन्द दिने परमेश्वरको सेवाले उसको जीवनमा ठाउँ पाउँदैन। साथै येशूले मानिस गरिब, भोको र शोकाकुल भएमा आनन्द प्राप्त हुनेछ भन्न खोज्नुभएको होइन। तथापि अक्सर यस्तै अप्ठ्यारोमा परेकाहरूले नै येशूका शिक्षाहरूलाई स्वीकार्छन् जसले गर्दा तिनीहरूले साँचो आनन्दको आशिष् पाउँछन्।
येशू आफ्ना चेलाहरूलाई फेरि भन्नुहुन्छ: “तिमीहरू पृथ्वीका नुन हौ।” उहाँले तिनीहरूलाई शाब्दिक अर्थमै नुन भन्नुभएको होइन। नुन भनेको खाद्य सामग्रीलाई बिग्रनबाट बचाउने एउटा रासायनिक पदार्थ हो। यहोवाको मन्दिरको वेदीनजिक नुनको ठूलो ढिक्का राखिन्थ्यो र त्यहाँ काम गर्ने पुजारीले बलिका चीजहरूमाथि नुन छर्किने गर्थे।
येशूका चेलाहरू “पृथ्वीका नुन” यस अर्थमा हुन् कि तिनीहरूको प्रभावद्वारा मानिसहरूको बचाउ हुन सक्नेछ। तिनीहरूले सुनाउने सन्देशलाई स्वीकार्ने सबैको जीवन वास्तवमा सुरक्षित हुनेछ! त्यो समाचारले यसप्रकारका मानिसहरूको जीवनमा स्थायित्व, वफादारी र विश्वासिलोपन उत्पन्न गर्नेछ, जसबाट तिनीहरू हरप्रकारको पतनबाट बाँच्नेछन्।
येशू आफ्ना चेलाहरूलाई भन्नुहुन्छ: “तिमीहरू संसारका ज्योति हौ।” दियो बालेर त्यसलाई पाथीमुनि त होइन तर पानसमाथि राख्छन्। त्यसैकारण येशू भन्नुहुन्छ: “त्यसरी नै मानिसहरूसामु तिमीहरूको ज्योति चम्कोस्।” येशूका चेलाहरूले यो काम आम साक्षी दिंदै बाइबलका सिद्धान्तहरूसित मिल्ने आचरणका चम्किला उदाहरणहरू भएर गर्न सक्छन्।
उहाँका चेलाहरूका लागि एउटा उच्चस्तर
यहूदी धर्म-गुरुहरू येशूलाई परमेश्वरको नियम भङ्ग गर्ने व्यक्ति ठान्छन् र हालै उहाँलाई मार्ने षड्यन्त्रसमेत रचेका छन्। त्यसकारण आफ्नो डाँडाको उपदेशलाई जारी राख्दै येशू व्याख्या गर्नुहुन्छ: “मोशाको व्यवस्था वा भविष्यवक्ताहरूको शिक्षालाई रद्द गर्न म आएँ भनी नठान। रद्द गर्न होइन तर पूरा गर्न म आएँ।”
परमेश्वरको व्यवस्थामाथि येशूको अगाध आस्था छ र अरूहरूलाई पनि त्यसै गर्न प्रोत्साहित गर्नुहुन्छ। वास्तवमा उहाँ भन्नुहुन्छ: “यसकारण जसले सानाभन्दा साना आज्ञाहरूमध्ये कुनै एउटा उल्लङ्घन गर्छ र मानिसहरूलाई त्यसै गर्न सिकाउँछ, त्यो स्वर्गको राज्यमा पस्न लायकको गनिनेछैन” अर्थात् त्यस्तो व्यक्ति राज्यमा प्रवेश गर्नेछैन।
परमेश्वरको व्यवस्था भङ्ग गर्ने त कुरै छाडिदिउँ, त्यस्तो विचारसम्म मनमा ल्याउने व्यक्तिको येशू निन्दा गर्नुहुन्छ। व्यवस्थाले भन्छ, “तिमीले हत्या नगर्नू।” तर येशू यो कुरा थप्नुहुन्छ: “तर म तिमीहरूलाई भन्छु जो आफ्नो भाइसित क्रोधित भइरहन्छ, ऊ अदालतसामु जबाफदेही हुनेछ।”
एक जना सङ्गी साथीसित रिसाइरहनु अति नै गम्भीर कुरा हो र सम्भवतः यसले हत्या गर्ने अवस्थासम्म पुऱ्याउन सक्छ। यसकारण शान्ति कायम गर्न मानिसले कुन हदसम्म प्रयास गर्नुपर्छ भनी एउटा उदाहरणद्वारा येशू शिक्षा दिनुहुन्छ: “तिमीले वेदीमा आफ्नो भेटी चढाउन ल्याउँदा तिम्रो विरुद्धमा तिम्रो भाइसित केही गुनासो छ भन्ने तिमीलाई झल्याँस्स याद आयो भने आफ्नो भेटी त्यहीं वेदीअगाडि छोड र गएर पहिले आफ्नो भाइसित मिलाप गर अनि फर्केर आएपछि आफ्नो भेटी चढाऊ।”
दस आज्ञामध्येको सातौं आज्ञातर्फ ध्यान खिच्दै येशू अझ भन्नुहुन्छ: “तिमीहरूले यसो भनिएको सुनेका छौ: ‘तिमीले आफ्नो पति वा पत्नीबाहेक अरूसित यौनसम्बन्ध नराख्नू।’ ” तर आफ्नो पति वा पत्नीबाहेक अरूसित यौनसम्बन्ध राख्नेबारे एकोहोरो सोचिरहनु पनि सरासर गलत हो भनी येशू भन्नुहुन्छ: “म तिमीहरूलाई भन्छु, जसले कुनै स्त्रीलाई हेरिरहन्छ र आफूमा कामवासना जगाउँछ, त्यसले मनमनै ऊसित यौनसम्बन्ध राखिसकेको हुन्छ।”
येशूले यहाँ मनमा एक छिन आएको अनैतिक विचारबारे कुरा गर्नुभएको होइन, तर ‘हेरिरहने’ विषयमा चर्चा गर्नुहुँदैछ। यसरी हेरिरहँदा कामुक विचार उत्पन्न हुन्छ र मौका मिलेमा यौनसम्बन्ध नै राख्न सक्छ। यसप्रकारको स्थितिबाट कुनै व्यक्तिले आफूलाई कसरी बचाउन सक्छ? अति नै कठोर उपायहरू अपनाउनु आवश्यक पर्नेछ भन्ने कुराको उदाहरण दिंदै येशू भन्नुहुन्छ: “यदि तिम्रो दाहिने आँखाले तिमीलाई पाप गर्न लगाउँछ भने त्यसलाई निकालेर फालिदेऊ . . . साथै, यदि तिम्रो दाहिने हातले तिमीलाई पाप गर्न लगाउँछ भने त्यसलाई काटेर फालिदेऊ।”
मानिसहरू आफ्नो ज्यान बचाउनका निम्ति रोग लागेको हातखुट्टासमेत काटेर फालिदिन तयार हुन्छन्। तर येशूको विचारमा अनैतिक सोचाइ र कामकुराबाट बाँच्नका निम्ति जुनसुकै कुरा, खासगरि आँखा र हातजस्ता बहुमूल्य कुरा भए तापनि त्यसलाई ‘निकालेर फाल्न’ अत्यावश्यक छ। नत्रता येशू भन्नुहुन्छ, यस्ता मानिसहरू गेहेन्नामा (यरूशलेम नजिकको फोहोर मैला डढाउने ठाउँमा) फालिनेछन्। यो ठाउँ अनन्त विनाशको एउटा प्रतीक हो।
पीडा दिने र आक्रमणकारी व्यक्तिहरूसित कस्तो व्यवहार गर्नुपर्छ भनी येशू भन्नुहुन्छ: “दुष्टको प्रतिकार नगर तर जसले तिम्रो दाहिने गाला चड्काउँछ, उसलाई अर्को गाला पनि थापिदेऊ।” आफू वा आफ्नो परिवारमाथि आक्रमण हुँदा आफ्नो बचाउ गर्नु हुँदैन भनी येशूले भन्नुभएको होइन। गाला चड्काउनुको उद्देश्य शारीरिक रूपमा कसैलाई चोट पुऱ्याउनु होइन। बरु अर्काको बेइज्जती गर्नु हो। त्यसकारण येशूको भनाइको अर्थ हो कि कसैले गाला चड्काएर वा अपमानजनक वचनको प्रयोगद्वारा रिस उठाउने, झगडा गर्ने वा बहस सुरु गर्ने प्रयास गऱ्यो भन्दैमा हामीले पनि बदलामा त्यसै गर्नु गलत हुनेछ।
आफ्नो छिमेकीलाई प्रेम गर्नु भन्ने परमेश्वरको नियमतर्फ ध्यान खिचेपछि येशू भन्नुहुन्छ: “तर म तिमीहरूलाई भन्छु: आफ्ना शत्रुहरूलाई प्रेम गरिरहो र तिमीहरूको खेदो गर्नेहरूका लागि प्रार्थना गरिरहो।” यसो गर्ने एउटा सशक्त कारण दिंदै उहाँ अझ भन्नुहुन्छ: “यसरी तिमीहरू स्वर्गमा बस्नुहुने तिमीहरूका बुबाका छोराहरू बन्न सक्नेछौ, किनकि उहाँले खराब र असल दुवैमाथि घाम लगाइदिनुहुन्छ।”
येशूले आफ्नो उपदेशको यस भाग यो सल्लाह दिंदै टुङ्ग्याउनुहुन्छ: “जस्तो स्वर्गमा बस्नुहुने तिमीहरूका बुबा सर्वगुणी हुनुहुन्छ, त्यस्तै तिमीहरू पनि सर्वगुणी होओ।” येशूले यहाँ मानिसहरू सम्पूर्ण रूपमा सर्वगुणी हुन सक्नेछन् भन्नुभएको होइन। बरु, तिनीहरूले परमेश्वरको अनुकरण गर्दै आफ्ना शत्रुहरूलाई समेत प्रेम गर्न सक्नेगरि आफ्नो प्रेमलाई बढाउन सक्नेछन् भन्नुभएको हो। लूकाको समानान्तर वर्णनमा येशूका शब्दहरूको उल्लेख यसरी गरिएको छ: “जस्तो तिमीहरूका बुबा कृपालु हुनुहुन्छ, तिमीहरू पनि कृपालु भइरहो।”
प्रार्थना र परमेश्वरमाथि विश्वास
ईश्वरभक्ति देखाउनेहरूको आडम्बरको निन्दा गर्दै येशू आफ्नो उपदेशमा अगाडि भन्नुहुन्छ: “दानपुण्य गर्दा . . . कपटीहरूले झ्याली पिटेजस्तो तिमीले चाहिं नगर्नू।”
येशू अझ भन्नुहुन्छ: “जब तिमीहरू प्रार्थना गर्छौ, कपटीहरूजस्तो नहुनू; किनभने तिनीहरू सभाघरमा अनि चौबाटोको छेउमा उभिएर मानिसहरूले देख्ने गरी प्रार्थना गर्न रुचाउँछन्।” बरु, उहाँ शिक्षा दिनुहुन्छ: “प्रार्थना गर्ने बेला तिमीचाहिं आफ्नो भित्री कोठामा जाऊ अनि ढोका बन्द गरेर तिम्रो अदृश्य बुबालाई प्रार्थना गर।” येशू आफै पनि मानिसहरूका सामुन्ने प्रार्थना गर्नुहुन्थ्यो। यसकारण उहाँले त्यसप्रकारका प्रार्थनाहरूको निन्दा गर्नुभएको होइन। तर मानिसहरूलाई प्रभावित पार्ने र तिनीहरूबाट प्रशंसा पाउने उद्देश्यले गरिएका प्रार्थनाहरूको निन्दा गर्नुभएको हो।
येशू अझ सल्लाह दिनुहुन्छ, “प्रार्थना गर्दा अन्यजातिका मानिसहरूले जस्तै एउटै कुरा दोहोऱ्याई नराख।” प्रार्थना गर्दा कुरा दोहोऱ्याउनु नै खराब हो भनी येशूले भन्न खोज्नुभएको होइन। एक पटक प्रार्थना गर्दा स्वयम् उहाँले पनि एउटै शब्द दोहोऱ्याउनुभएको थियो। तर प्रार्थना गर्दा मालाको दाना गन्दै रटेका प्रार्थनाहरू दोहोऱ्याउनेहरूले जस्तै “दोहोऱ्याई नराख” भनी येशूले भन्नुभयो।
श्रोताहरूलाई प्रार्थना गर्न मदत पुगोस् भनेर येशू सात वटा निवेदन भएको एउटा नमुना प्रार्थना प्रस्तुत गर्नहुन्छ। प्रथम तीन निवेदनले परमेश्वरको सार्वभौमिकता र उहाँको उद्देश्यलाई उचित मान्यता दिन्छ। परमेश्वरको नाम पवित्र पारियोस्, उहाँको राज्य आओस् र उहाँको इच्छा पूरा होस् भन्ने ती अनुरोधहरू हुन्। बाँकी चार वटा निवेदनचाहिं दिनभरिको भोजन, ऋणको क्षमा, आफूले सहन नसक्नेसम्मको प्रलोभनमा नपर्ने र दुष्टबाट छुटकारा पाउनेजस्ता विषयहरूसित सम्बन्धित व्यक्तिगत अनुरोधहरू हुन्।
भौतिक कुरालाई आवश्यकताभन्दा बढी महत्त्व दिने खतरातिर ध्यान खिच्दै येशू आग्रह गर्नुहुन्छ: “आफ्नो निम्ति पृथ्वीमा धनसम्पत्ति थुपार्न छोडिहाल, जहाँ त्यसलाई कीरा र खियाले खान्छ अनि चोरहरूले फोरेर लैजान्छन्।” यस्ता धनसम्पत्तिहरू नाशवान् मात्र होइनन् तर तिनीहरूद्वारा परमेश्वरको सामुन्ने एउटा असल नाम पनि कमाउन सकिंदैन।
त्यसकारण येशू भन्नुहुन्छ: “बरु, आफ्नो निम्ति स्वर्गमा धनसम्पत्ति थुपार।” यो काम तपाईंले परमेश्वरको सेवालाई आफ्नो जीवनमा प्रथम स्थान दिनुभएर गर्न सक्नुहुन्छ। यसरी परमेश्वरको सामु कमाउनुभएको असल नाम वा त्यसको महान् इनाम कसैले लैजान सक्दैन। अनि येशू फेरि भन्नुहुन्छ: “जहाँ तिम्रो धन हुन्छ, त्यहीं तिम्रो मन पनि हुन्छ।”
भौतिकवादको जालबारे येशू अझ यो उदाहरण दिनुहुन्छ: “शरीरको बत्ती आँखा हो। त्यसैले यदि तिम्रो आँखा निर्मल छ भने तिम्रो पूरै शरीर उज्यालो हुनेछ; तर यदि तिम्रो आँखा दुष्ट छ भने तिम्रो पूरै शरीर अँध्यारो हुनेछ।” राम्रोसित काम गर्ने आँखा, शरीरका निम्ति अँध्यारो ठाउँमा एउटा उज्यालो बत्तीसरह हो। तर ठीकसित हेर्नका लागि आँखा निर्मल हुनुपर्छ अर्थात् त्यसको ध्यान एकै ठाउँमा केन्द्रित हुनुपर्छ। एक ठाउँमा ध्यान केन्द्रित गर्न नसक्ने आँखाको कारण हाम्रो दृष्टिमा त्रुटि हुन जान्छ र परमेश्वरको सेवालाई भन्दा भौतिक कुराहरूलाई बढी महत्त्व दिने गर्दा “पूरै शरीर” अँध्यारो हुन्छ।
एउटा प्रभावशाली उदाहरणद्वारा येशूले यस कुराको महत्त्व दर्साउनुहुन्छ: “कोही पनि दुई मालिकको दास बन्न सक्दैन; किनकि उसले एक जनालाई घृणा र अर्कोलाई प्रेम गर्नेछ अथवा ऊ एक जनासित टाँसिनेछ र अर्कोलाई तुच्छ ठान्नेछ। तिमीहरू परमेश्वर र धनसम्पत्ति दुवैको दास बन्न सक्दैनौ।”
यो सल्लाह दिएपछि परमेश्वरको सेवालाई प्राथमिकता दिएको खण्डमा भौतिक कुराहरूको चिन्ता गर्नुपर्ने आवश्यकता हुनेछैन भनी येशू आफ्ना श्रोताहरूलाई विश्वास दिलाउनुहुन्छ। उहाँ भन्नुहुन्छ: “आकाशका चराचुरुङ्गीलाई नियालेर हेर किनभने तिनीहरू न बीउ छर्छन् न कटनी गर्छन् न त धनसारमै जम्मा गर्छन्; तैपनि स्वर्गमा बस्नुहुने तिमीहरूका बुबाले तिनीहरूलाई खुवाउनुहुन्छ।” अनि तिनीहरूलाई सोध्नुहुन्छ: “के तिमीहरू तिनीहरूभन्दा धेरै मोलका छैनौ र?”
त्यसपछि मैदानका फूलहरूतर्फ सङ्केत गर्दै भन्नुहुन्छ: “सारा वैभवले सुसज्जित सुलेमानसमेत यी फूलहरूमध्ये एउटा जति पनि सिंगारिएका थिएनन्। यदि परमेश्वरले . . . मैदानका बोटबिरुवालाई त पहिराउनुहुन्छ भने हे अल्पविश्वासीहरू हो, के उहाँले तिमीहरूलाई झनै पहिराउनुहुन्न र?” येशू कुरा टुङ्ग्याउँदै भन्नुहुन्छ: “ ‘हामी के खाऔंला?’ कि ‘के पिऔंला?’ कि ‘के लगाऔंला?’ भनेर कहिल्यै चिन्ता नगर। . . . तर यी सब कुरा तिमीहरूलाई चाहिन्छ भनेर स्वर्गमा बस्नुहुने तिमीहरूका बुबालाई थाह छ। यसकारण उहाँको राज्यलाई र उहाँको स्तरबमोजिमको असल कामलाई पहिलो स्थान दिइरहो अनि यी सबै कुरा तिमीहरूलाई दिइनेछ।”
जीवनतर्फ लैजाने बाटो
येशूका शिक्षाहरू पालन गर्नु नै जीवनको बाटो हो। तर यसो गर्न सजिलो छैन। उदाहरणका लागि, फरिसीहरूले अरूहरूको निसाफ कठोरताका साथ गर्ने मनोवृत्ति राख्छन् र सम्भवतः धेरैले तिनीहरूकै देखासिकी गर्छन्। त्यसकारण डाँडाको उपदेश दिंदा येशू सल्लाह दिनुहुन्छ: “अरूको न्याय गर्न छोडिहाल ताकि तिमीहरूको पनि न्याय नगरियोस्। किनकि तिमीहरूले जसरी अरूको न्याय गर्छौ त्यसरी नै तिमीहरूको न्याय गरिनेछ।”
अचाक्ली आलोचना गर्ने बानी भएका फरिसीहरूको अनुसरण गर्नु खतरनाक हो। लूकाको वर्णनअनुसार येशूले यस खतराको वर्णन यो दृष्टान्तद्वारा गर्नुहुन्छ: “के अन्धाले अन्धालाई डोऱ्याउन सक्छ र? त्यसो गऱ्यो भने के दुवै जना खाल्टोमा खस्दैनन् र?”
अर्काको बढी आलोचना गर्ने र अर्काको दोषलाई बढाइचढाइ त्यसलाई बारम्बार कोट्याइरहने बानी एउटा ठूलो अपराध हो। त्यसकारण येशू सोध्नुहुन्छ: “जब तिम्रो आफ्नै आँखामा मुढा छ भने तिमी कसरी आफ्नो भाइलाई ‘मलाई तिम्रो आँखाको छेस्को निकाल्न देऊ’ भन्न सक्छौ? ए कपटी हो! पहिले आफ्नै आँखाको मुढा निकाल अनि तिमीले आफ्नो भाइको आँखाबाट छेस्को कसरी निकाल्ने भनेर छर्लङ्गै देख्नेछौ।”
यसको अर्थ अरूहरूसित व्यवहार गर्दा येशूका चेलाहरू समझदार र सावधान हुनु पर्दैन भनेको होइन किनकि उहाँ भन्नुहुन्छ: “पवित्र थोक कुकुरहरूलाई नदेओ न त आफ्ना मोती सुँगुरहरूको अगाडि फाल।” परमेश्वरको वचनमा भएका सत्य कुराहरू पवित्र छन्। तिनीहरू प्रतीकात्मक मोतीहरूजस्तै हुन्। तर कुकुर वा सुँगुरजस्ता केही मानिसहरूले ती सत्य कुराहरूको कदर गरेनन् भने त्यसप्रकारका मानिसहरूलाई छाडेर कदर गर्ने अरू नै मानिसहरूको खोजी गर्नु उचित हुनेछ।
येशूले डाँडाको उपदेशमा प्रार्थनाबारे पहिले नै छलफल गरिसके तापनि अब त्यसमा लागिरहने कुरामाथि जोड दिंदै उहाँ भन्नुहुन्छ: “मागिरहो अनि तिमीहरूलाई दिइनेछ।” प्रार्थनाको जवाफ दिन परमेश्वरको तत्परताबारे उदाहरण दिंदै येशू सोध्नुहुन्छ: “तिमीहरूमध्ये कुन मानिस यस्तो होला, जसले आफ्नो छोराले रोटी माग्दा ढुङ्गा देला? . . . त्यसकारण, यदि तिमीहरू पापी भईकन पनि आफ्ना छोराछोरीलाई राम्रा कुरा दिन जान्दछौ भने स्वर्गमा बस्नुहुने तिमीहरूका बुबाले उहाँसित माग्नेहरूलाई झन् कत्ति धेरै असल थोक दिनुहुनेछ!”
त्यसपछि येशू आचरणसम्बन्धी प्रसिद्ध नियम प्रस्तुत गर्नुहुन्छ। यसलाई साधारणतया सुनौलो नियम पनि भनिन्छ। उहाँ भन्नुहुन्छ: “त्यसकारण, मानिसहरूले तिमीहरूलाई जे जसो गरून् भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर्नू।” यस नियमअनुसार चल्नुको अर्थ अरूहरूका निम्ति असल, निश्चित कदम उठाउनु हो। अरूहरूले आफूप्रति जुन प्रकारको व्यवहार गरेको तपाईं चाहनुहुन्छ, त्यसै प्रकारको व्यवहार तपाईंले पनि अरूहरूसँग गर्नु हो।
जीवनको बाटो सजिलो छैन भन्ने कुरामाथि प्रकाश पार्दै येशू भन्नुहुन्छ: “साँघुरो ढोकाबाट भित्र पस, किनकि विनाशतर्फ लैजाने बाटो फराकिलो र खुल्ला हुन्छ अनि यसमा हिंड्नेहरू धेरै हुन्छन्। तर जीवनतर्फ लैजाने ढोका साँघुरो र बाटो अप्ठेरो हुन्छ अनि यो भेट्टाउने थोरै हुन्छन्।”
ठगिने ठूलो खतरा भएकोले येशू चेतावनी दिनुहुन्छ: “भेडाको भेषमा तिमीहरूकहाँ आउने झूटा भविष्यवक्ताहरूदेखि होसियार होओ किनकि वास्तवमा तिनीहरू भोका ब्वाँसाहरू हुन्।” जसरी असल रूख र बिग्रेको रूखलाई तिनीहरूको फलद्वारा छुट्याउन सकिन्छ, त्यसरी नै येशूको भनाइअनुसार झूटा भविष्यवक्ताहरूलाई तिनीहरूका आचरण र शिक्षाहरूबाट चिन्न सकिन्छ।
आफूले गरेको कुराको आधारमा मात्र होइन तर आफ्नो कामको आधारमा मानिस येशूको चेला हुन सक्नेछ भनी उहाँ व्याख्या गर्नुहुन्छ। येशू तिनीहरूका प्रभु हुनुहुन्छ भनी केही मानिसहरूले दाबी गरे तापनि तिनीहरूले उहाँका बुबाको इच्छा गरिरहेका छैनन् भने उहाँ यसो भन्नुहुन्छ: “म तिनीहरूलाई प्रस्टै यसो भन्नेछु: मैले तिमीहरूलाई कहिल्यै चिनेको छैन! हे कुकर्मीहरू हो, मबाट पर हटिहाल।”
अन्तमा आफ्नो उपदेशलाई अविस्मरणीय ढङ्गमा टुङ्ग्याउँदै येशू भन्नुहुन्छ: “मेरा यी कुरा सुनेर पालन गर्ने जति सबैलाई चट्टानमाथि आफ्नो घर बनाउने बुद्धिमान् मानिससँग तुलना गरिनेछ। घनघोर पानी पऱ्यो, बाढी आयो, बतास चल्यो र घरलाई बेस्सरी हान्यो तैपनि त्यो ढलेन किनकि त्यो घर चट्टानमाथि बसालिएको थियो।”
त्यसको विपरीत येशू घोषणा गर्नुहुन्छ: “मेरा यी कुरा सुनेर पालन नगर्ने जति सबैलाई बालुवामाथि आफ्नो घर बनाउने मूर्ख मानिससँग तुलना गरिनेछ। घनघोर पानी पऱ्यो, बाढी आयो, बतास चल्यो र घरमाथि बज्रियो अनि त्यो ढल्यो र पूरै ध्वस्त भयो।”
येशूले आफ्नो उपदेश सिध्याएपछि उहाँको शिक्षा दिने तरिका देखेर भीड छक्क पर्छ किनकि उहाँले तिनीहरूका शास्त्रीहरूले झैं होइन तर अख्तियार भएका व्यक्तिले जस्तोगरि सिकाउनुहुन्छ। लूका ६:१२-२३; मत्ती ५:१-१२; लूका ६:२४-२६; मत्ती ५:१३-४८; ६:१-३४; २६:३६-४५; ७:१-२९; लूका ६:२७-४९.
▪ आफ्नो अविस्मरणीय उपदेश दिंदा येशू कहाँ हुनुहुन्छ, त्यहाँ को-को उपस्थित छन् र उपदेश दिनुभन्दा अघि के भएको छ?
▪ डाँडाको उपदेशका केही भागलाई लूकाले बेग्लाबेग्लै परिस्थितिहरूका साथ प्रस्तुत गरेकोमा किन अचम्म मान्नु पर्दैन?
▪ के कारणले गर्दा येशूको उपदेश अमूल्य छ?
▪ वास्तवमा आनन्दित को हुन् र किन?
▪ धिक्कार कसलाई छ र किन?
▪ येशूका चेलाहरू “पृथ्वीका नुन” र “संसारका ज्योति” कसरी हुन्?
▪ परमेश्वरको व्यवस्थाप्रति येशूले कसरी ठूलो आस्था प्रकट गर्नुहुन्छ?
▪ हत्या र अवैध यौनसम्बन्धका मूल कारणलाई जरैदेखि उखेल्न येशू कस्तो शिक्षा दिनुहुन्छ?
▪ अर्को गाला थाप्नू भनेर येशूले के भन्न खोज्नुभएको हो?
▪ परमेश्वर सर्वगुणी हुनुभएकोले हामीहरू पनि कसरी सर्वगुणी हुन सक्छौं?
▪ प्रार्थनाबारे येशू के शिक्षा दिनुहुन्छ?
▪ स्वर्गमा भएको धन किन उत्तम हो र त्यो कसरी प्राप्त गर्न सकिन्छ?
▪ भौतिकवादी भावना हटाउने मदत दिनका लागि कस्ता दृष्टान्तहरू दिइएका छन्?
▪ चिन्ता गर्नुपर्ने कुनै आवश्यकता छैन भनी येशू किन भन्नुहुन्छ?
▪ अरूहरूको निसाफ गर्ने विषयमा येशू के भन्नुहुन्छ; तथापि मानिसहरूसँग व्यवहार गर्दा उहाँका चेलाहरू समझदार र सावधान हुनुपर्ने खाँचो कसरी दर्साउनुहुन्छ?
▪ प्रार्थनाका सम्बन्धमा येशू अझ बढी के भन्नुहुन्छ र आचरणसम्बन्धी कस्तो नियम उहाँ दिनुहुन्छ?
▪ जीवनको बाटो सजिलो हुनेछैन र ठगिने खतरा छ भनी येशू कसरी देखाउनुहुन्छ?
▪ आफ्नो उपदेश येशू कसरी टुङ्ग्याउनुहुन्छ र त्यसले कस्तो असर पार्छ?