अध्याय ३६
एकजना सैनिक अफिसरको ठूलो विश्वास
येशूले डाँडाको उपदेश दिनुहुँदा उहाँको जनसेवाको आधा समय बितिसकेको छ। यसको अर्थ पृथ्वीमा आफ्नो काम पूरा गर्न उहाँसित अब करिब एक वर्ष, नौ महिना जति मात्र बाँकी छ।
अब येशू कफर्नहुम सहरमा प्रवेश गर्नुहुन्छ। यो सहरलाई उहाँको गतिविधिको केन्द्र भन्न मिल्छ। यहाँ यहूदीहरूका धर्म-गुरुहरू एउटा अनुरोध लिएर उहाँकहाँ आउँछन्। रोमी सेनाका एक जना गैर-यहूदी अफिसरले तिनीहरूलाई पठाएका हुन्।
सैनिक अफिसरको प्यारो दास बिरामी भएर मर्नै लागेको छ र येशूले तिनको दासलाई निको पारिदिनुभएको तिनी चाहन्छन्। यहूदीहरू अफिसरका तर्फबाट उहाँसँग जोडसित बिन्तीभाउ गर्छन्: “तिनी तपाईंको मदत पाउन लायकका छन्, किनकि तिनी हाम्रो जातिलाई प्रेम गर्छन् र हाम्रो लागि तिनले नै सभाघर बनाइदिएका हुन्।”
कुनै हिचकिचाहटविना येशू तिनीहरूसँग जानुहुन्छ। तथापि उहाँ ती सैनिक अफिसरको घर नजिक पुग्नुहुँदा अफिसरले आफ्ना साथीहरूलाई उहाँकहाँ यसो भन्न पठाउँछन्: “प्रभु, कष्ट नगर्नुहोस्, किनकि तपाईंलाई मेरो घरमा स्वागत गर्न लायकको म छैनँ। यसैकारण मैले आफूलाई तपाईंकहाँ आउन योग्यको ठानिनँ।”
अरूहरूलाई हुकुम चलाउने बानी भएका अफिसरबाट यो कति विनम्र अभिव्यक्ति! तर सायद उनी येशूको विषयमा सोच्दैछन् किनभने त्यसबेलाको चलनअनुसार एक जना यहूदीले गैर-यहूदीसित सामाजिक सम्बन्ध राख्न मनाही छ भनेर तिनलाई थाह छ। पत्रुसले पनि भनेका थिए: “यहूदी भईकन अर्को जातिको मानिससित सङ्गत गर्नु वा भेट्नु कत्तिको अनुचित कुरा हो भनेर तपाईंहरूलाई राम्ररी थाहै छ।”
यस चलनलाई भङ्ग गरेर येशूमाथि कुनै प्रकारको अबगाल नआओस् भनेर नै होला, तिनले आफ्ना साथीहरूलाई उहाँसँग अनुरोध गर्न भन्छन्: “एक वचन बोलिदिनुहोस् र मेरो नोकर निको हुनेछ। किनकि म आफै पनि कसैको अधीनमा बसेको मानिस हुँ अनि मेरो मुनि पनि सिपाहीहरू छन्। म एक जनालाई भन्छु, ‘जाऊ!’ र ऊ जान्छ अनि अर्कोलाई भन्छु, ‘आऊ!’ र ऊ आउँछ अनि मेरो दासलाई भन्छु, ‘यो गर!’ र उसले त्यो गर्छ।”
यो सुनेपछि येशू अचम्म मान्नुहुन्छ। उहाँ भन्नुहुन्छ: “म तिमीहरूलाई साँचो-साँचो भन्छु, मैले उसको जस्तो ठूलो विश्वास इस्राएलमा अरू कसैको पाइनँ।” अफिसरको दासलाई निको पारेपछि मौका छोप्दै अविश्वासी यहूदीहरूले तिरस्कार गरेका आशिष्हरू विश्वासी गैर-यहूदीहरूले कसरी पाउनेछन् भन्ने कुराको व्याख्या येशू गर्नुहुन्छ।
येशू भन्नुहुन्छ: “पूर्व र पश्चिमबाट धेरै जना आउनेछन् अनि स्वर्गको राज्यमा अब्राहाम, इसहाक र याकूबसँगै खान बस्नेछन्। तर राज्यका छोराहरू भने बाहिर अन्धकारमा फालिनेछन्, जहाँ रोदन अनि वेदनाको चीत्कार हुनेछ।”
“बाहिर अन्धकारमा फालिने . . . राज्यका छोराहरू” ती जन्मजात यहूदीहरू हुन् जसले ख्रीष्टसँग शासक हुने प्रथम सुअवसरलाई स्वीकार्दैनन्। अब्राहाम, इसहाक र याकूबले परमेश्वरको राज्य-व्यवस्थालाई प्रतिनिधित्व गर्छन्। यसप्रकार कसरी अन्यजातिका मानिसहरूले स्वर्गीय टेबुलमा अर्थात् “स्वर्गको राज्यमा” स्वागत पाउनेछन् भन्ने कुराको वर्णन येशूले यहाँ गर्नुहुँदैछ। लूका ७:१-१०; मत्ती ८:५-१३; प्रेषित १०:२८.
▪ गैर-यहूदी सैनिक अफिसरको लागि यहूदीहरूले किन बिन्तीभाउ गर्छन्?
▪ येशूलाई अफिसरले आफ्नो घरमा प्रवेश गर्न दिन नचाहेको कारण के हुन सक्छ?
▪ येशूले कुरा टुङ्ग्याउँदै गर्नुभएका टिप्पणीहरूको अर्थ के हो?