अध्याय ४८
याइरसको घर छाडेर फेरि नासरत जानुहुन्छ
दिनभरि येशू व्यस्त रहनुभएको छ—डेकापोलिसबाट समुद्री यात्रा गर्दै आएर रगत बग्ने व्यथा भएकी स्त्रीलाई निको पारेपछि याइरसकी छोरीलाई पुनर्जीवित पार्नुभयो। तर यत्तिकैमा दिन समाप्त भएको छैन। याइरसको घरबाट निस्कनासाथै दुई जना अन्धा मानिसहरू उहाँका पछि लाग्छन् र तिनीहरू यसो भन्दै कराउँछन्: “हे दाऊदका छोरा, हामीमाथि कृपा गर्नुहोस्।”
येशूलाई “दाऊदका छोरा” भनेर सम्बोधन गर्दै यी दुई अन्धाहरूले दाऊदको सिंहासनको उत्तराधिकारी येशू हुनुहुन्छ र उहाँ नै प्रतिज्ञा गरिएका मसीह पनि हुनुहुन्छ भन्ने विश्वास प्रकट गर्छन्। तर सायद तिनीहरूको धैर्य जाँच गर्नका लागि होला, येशूले तिनीहरूको पुकारा नसुनेको जस्तो गर्नुहुन्छ। तर ती दुई जना मानिसहरू हार मान्दैनन्। तिनीहरू येशूलाई पछ्याउँदै उहाँ बसेको ठाउँसम्म जान्छन्। येशू घरभित्र पसेको थाह पाएर तिनीहरू पनि उहाँको पछि-पछि भित्रै पस्छन्।
त्यहाँ येशूले तिनीहरूलाई प्रश्न गर्नुहुन्छ: “मैले तिमीहरूको आँखा खोलिदिनसक्छु भनेर के तिमीहरू विश्वास गर्छौ?”
“गर्छौं, प्रभु” भनेर तिनीहरू विश्वस्त भई जवाफ दिन्छन्।
अतः तिनीहरूका आँखा छुँदै येशू भन्नुहुन्छ: “तिमीहरूले विश्वास गरेअनुसारै तिमीहरूलाई होस्।” अचानक तिनीहरू देख्न सक्छन्! येशूले तिनीहरूलाई यो कडा आज्ञा दिनुहुन्छ: “यो कुरा कसैले थाह नपाओस्।” तर आनन्दले विह्वल भएर तिनीहरू येशूका आज्ञाको वास्तै गर्दैनन् र उहाँका विषयमा त्यो इलाकाभरि चारैतिर कुरा गर्छन्।
ती दुई जना हिंड्ने बेलामा मानिसहरूले येशूका सामुन्ने दुष्ट स्वर्गदूत बास गरेको एक जना मानिसलाई ल्याउँछन्। दुष्ट स्वर्गदूतको आक्रमणले गर्दा यो मानिस बोल्नै सक्दैन। येशूले दुष्ट स्वर्गदूत धपाउनुहुन्छ र त्यो मानिस बोल्न थाल्छ। यी चमत्कारहरू देख्दा भीडका मानिसहरू चकित भएर भन्छन्: “इस्राएलमा कहिल्यै यस्तो देखिएको थिएन।”
त्यहाँ फरिसीहरू पनि उपस्थित छन्। तिनीहरूले यी चमत्कारहरू अस्वीकार गर्न सक्दैनन्। तर आफ्ना दुष्ट अविश्वास प्रकट गर्दै तिनीहरू येशूका शक्तिशाली कार्यहरूको स्रोतबारे आफ्नो आरोप दोहोऱ्याउँदै भन्छन्: “दुष्ट स्वर्गदूतहरूको शासकबाट शक्ति पाएको भएर त त्यसले दुष्ट स्वर्गदूतहरूलाई धपाउँछ।”
यी घटनाहरूका केही समयपश्चात् येशू आफू हुर्केको सहर नासरतमा फर्कनुहुन्छ। यसपटक उहाँका चेलाहरू पनि उहाँसँगै हुन्छन्। प्रायः एक वर्षअघि त्यहाँका सभाघरमा गएर उहाँले शिक्षा दिनुभएको थियो। सुरुमा त्यहाँका मानिसहरू उहाँका मीठा वचन सुनेर प्रभावित भए तापनि पछि गएर उहाँका शिक्षासँग अप्रसन्न हुँदै तिनीहरूले उहाँलाई मार्न खोजेका थिए। तर अब दयालु भावना व्यक्त गर्दै आफ्ना पुराना छिमेकीहरूलाई मदत दिन येशू फेरि एकपल्ट प्रयास गर्नुहुन्छ।
अरू ठाउँहरूमा त येशूकहाँ मानिसहरूको भीड जम्मा हुन्छ तर यहाँ त्यस्तो हुँदैन। यसकारण विश्रामको दिन येशू सभाघरमा शिक्षा दिन जानुहुन्छ। उहाँका कुरा सुन्ने धेरैजसो छक्क पर्दै प्रश्न गर्छन्: “यस मानिसले यस्तो बुद्धि र शक्तिशाली कामहरू गर्ने क्षमता कहाँबाट पायो? के यो त्यही सिकर्मीको छोरा होइन र? अनि के यसकी आमाको नाम मरियम अनि भाइहरूको नाम याकूब, यूसुफ, सिमोन र यहूदा होइन र? के यसका बहिनीहरू सबै यहाँ हामीकहाँ नै छैनन् र? त्यसोभए, यस मानिसले यी सबै कुरा कहाँबाट पायो?”
‘येशू हामीजस्तै यहाँको एक जना रैथाने त हो। हामीले यो मान्छे हुर्केको देख्यौं र उसको परिवारलाई हामी राम्रोसँग चिन्छौं। यो मान्छे मसीह कसरी हुन सक्छ?’ भन्दै तिनीहरू आपसमा तर्क गर्छन्। अतः त्यत्तिका बुद्धि र चमत्कारहरूको प्रमाण हुँदाहुँदै पनि तिनीहरू उहाँलाई अस्वीकार गर्छन्। उहाँलाई नजिकबाट चिन्ने आफ्नै नातेदारहरूले समेत उहाँमाथि विश्वास गर्दैनन्। यसले गर्दा येशू यो निष्कर्षमा पुग्नुहुन्छ: “भविष्यवक्ताले सबै ठाउँमा आदर पाउँछ तर आफ्नै इलाकामा, आफ्नै नातागोताको बीचमा र आफ्नै घरमा भने पाउँदैन।”
हो, तिनीहरूमा विश्वासको अभाव देखेर येशू छक्क पर्नुहुन्छ र त्यहाँका एकाध बिरामी मानिसहरूमाथि हात राखेर निको पारिदिनुबाहेक उहाँले त्यहाँ अरू कुनै चमत्कार गर्नु हुन्न। मत्ती ९:२७-३४; १३:५४-५८; मर्कूस ६:१-६; यशैया ९:७.
▪ ती दुई अन्धा मानिसहरूले येशूलाई “दाऊदका छोरा” भनेर सम्बोधन गर्दा कुन कुरामा विश्वास प्रकट गर्छन्?
▪ येशूका चमत्कारहरूबारे फरिसीहरू कुन निष्कर्षमा अडेर बस्छन्?
▪ नासरतका मानिसहरूलाई मदत दिनका निम्ति येशू फेरि नासरत फर्किनु किन एउटा दयालु कुरा हो?
▪ नासरतका मानिसहरूले येशूप्रति कस्तो प्रतिक्रिया व्यक्त गर्छन् र किन?