अध्याय ६०
ख्रीष्ट राजाको रूपमा आउँदै गरेको पूर्वझलक
येशू सिजरिया फिलिप्पीका क्षेत्रहरूमा आउनुभएको छ र उहाँ एउटा भीडलाई शिक्षा दिनुहुँदैछ। यहाँ उहाँका प्रेषितहरू पनि उपस्थित छन्। तिनीहरू सबैलाई चकित पार्ने यो घोषणा येशू गर्नुहुन्छ: “म तिमीहरूलाई साँचो-साँचो भन्छु, यहाँ उभिरहेकाहरूमध्ये कोही-कोही यस्ता छन्, जसले मानिसको छोरालाई राजाको रूपमा आउँदै गरेको नदेखेसम्म कुनै हालतमा मृत्यु चाख्नेछैनन्।”
‘येशूले के भन्नुभएको होला?’ भनी चेलाहरू अचम्म मान्छन्। एक सातापछि पत्रुस, याकूब र यूहन्नालाई लिएर येशू एउटा अल्गो डाँडामा जानुहुन्छ। सम्भवतः यो रातको समय हो किनभने चेलाहरू निद्राले लट्ठ परेका छन्। येशूले प्रार्थना गर्दागर्दै उहाँको रूप तिनीहरूकै सामुन्ने परिवर्तन हुन्छ। उहाँको मुहार सूर्यजस्तै उज्यालो र लुगाचाहिं ज्योतिजस्तै चहकिलो हुन्छ।
अनि हेर्दा “मोशा र एलिया” जस्तै देखिने दुई जना व्यक्ति देखा पर्छन्। तिनीहरू येशूसँग उहाँको ‘यरूशलेममा हुने बिदाइको विषयमा’ कुरा गर्न थाल्छन्। यो कुरा येशूको मृत्यु र त्यसपछि उहाँ पुनर्जीवित हुने कुराबारे हुनुपर्छ। हो, येशूको अपमानजनक मृत्यु, पत्रुसले चाहेझैं रोक्न सकिने कुरा होइन भनी यस वार्तालापले प्रमाणित गर्छ।
अब पूरा जागा भएर चेलाहरू आश्चर्यचकित हुँदै हेर्छन् र सुन्छन्। यो एउटा दर्शन भए तापनि यति वास्तविक देखिन्छ कि पत्रुस यस दृश्यमा भाग लिंदै भन्न थाल्छन्: “प्रभु, हामी यहीं बस्नु उचित हुन्छ। यदि तपाईं चाहनुहुन्छ भने म यहाँ तीन वटा पाल टाँग्नेछु, एउटा तपाईंको लागि, एउटा मोशाको लागि अनि एउटा एलियाको लागि।”
पत्रुस बोलिरहेकै बेलामा एउटा चहकिलो बादलले तिनीहरूलाई ढाकिहाल्छ र त्यस बादलबाट यसो भन्ने आवाज आउँछ: “यिनी मेरो प्यारो छोरा हुन्, जससित म अति प्रसन्न छु; तिमीहरूले उनको कुरा सुन।” यो आवाज सुनेपछि चेलाहरू घुर्लुप्प घोप्टो पर्छन्। तर येशू भन्नुहुन्छ: “नडराओ, उठ।” उठेपछि येशूबाहेक अरू कसैलाई पनि तिनीहरूले त्यहाँ देख्दैनन्।
भोलिपल्ट डाँडाबाट ओर्लंदा येशू आज्ञा दिनुहुन्छ: “मानिसको छोरालाई मृत्युबाट नब्यूँताइएसम्म यस दर्शनबारे कसैलाई नभन्नू।” दर्शनमा एलियालाई देखेर चेलाहरूको मनमा एउटा प्रश्न उठ्छ। तिनीहरू सोध्छन्: “पहिला एलिया आउनु आवश्यक छ भनेर शास्त्रीहरू किन भन्छन् त?”
येशू भन्नुहुन्छ: “एलिया आइसकेका छन्। तैपनि तिनीहरूले उनलाई चिन्न सकेनन्।” तथापि येशूले यहाँ बप्तिस्मा गराउने यूहन्नाको विषयमा कुरा गर्नुहुँदैछ जसले एलियाको जस्तै भूमिका निर्वाह गरे। एलियाले एलीशाका निम्ति बाटो तयार पारेझैं यूहन्नाले येशूका निम्ति बाटो तयार पारे।
येशू र उहाँका चेलाहरू दुवैका लागि यो दर्शन अत्यन्तै उत्साहवर्धक साबित हुन्छ! त्यो दर्शन यथार्थमा येशूको राज्य महिमाको एउटा पूर्वझलक हो। येशूले एक साताअघि प्रतिज्ञा गर्नुभएअनुसार चेलाहरूले वास्तवमा ‘मानिसको छोरालाई राजाको रूपमा आइरहेको’ देखे। आफूहरू ख्रीष्टसित ‘पवित्र पर्वतमा भएको बेला आफूहरूले आफ्नै आँखाले उहाँको वैभव’ देखेको कुरा येशूको मृत्युपछि पत्रुसले लेखे।
धर्मशास्त्रमा प्रतिज्ञा गरिएका र परमेश्वरले राजा हुन रोज्नुभएका व्यक्ति उहाँ नै हुनुहुन्छ भनी प्रमाणित गर्ने चिन्ह फरिसीहरूले येशूबाट हेर्न चाहे। तर तिनीहरूलाई त्यस्तो कुनै चिन्ह देखाइएन। अर्कोतर्फ, येशूका घनिष्ठ चेलाहरूले राज्यसम्बन्धी भविष्यवाणीहरूको पुष्टि हुनेगरि उहाँको रूप परिवर्तन भएको दर्शन देख्न पाउँछन्। अतः पत्रुसले पछि लेखे: “यसप्रकार, हामीसित भएको भविष्यसूचक वचन झन् पक्का भएको छ।” मत्ती १६:१३, मत्ती १६:२८–१७:१३; मर्कूस ९:१-१३; लूका ९:२७-३७; २ पत्रुस १:१६-१९.
▪ आफ्नो मरणभन्दा अघि नै कसै-कसैले ख्रीष्टलाई राजाको रूपमा आउँदै गरेको कसरी देख्छन्?
▪ दर्शनमा मोशा र एलियाले येशूसँग कुन विषयमा कुरा गर्छन्?
▪ यो दर्शन चेलाहरूका लागि अति नै बल दिने माध्यम किन हो?