अध्याय ७०
जन्मजात अन्धो मानिसलाई निको पार्नुहुन्छ
यहूदीहरूले येशूलाई ढुङ्गाले हान्ने प्रयास गर्दा उहाँ यरूशलेम छाड्नु हुन्न। पछि विश्राम-दिनमा उहाँ र उहाँका चेलाहरू सहरमा हिंडिरहेको बेलामा एकजना जन्मजात अन्धो मानिसलाई उहाँहरूले देख्नुहुन्छ। चेलाहरूले येशूलाई सोध्छन्: “रब्बी, कसले पाप गरेकोले यो मानिस अन्धो जन्मियो, यसले कि यसका आमाबुबाले?
”आमाको गर्भमा छँदै पनि मानिसले पाप गर्न सक्छ भनी कोही-कोही यहूदी गुरुहरूले विश्वास गरेझैं चेलाहरूले पनि सायद त्यस्तै विश्वास गर्छन्। तर येशू जवाफ दिनुहुन्छ: “न यस मानिसले पाप गरेकोले न त यसका आमाबुबाले पाप गरेकोले, तर यस घटनाबाट परमेश्वरका कामहरू प्रकट होऊन् भनेर यसो भएको हो।” उसको आफ्नै अथवा उसको आमाबुबाको कुनै एउटा खास पापको परिणामस्वरूप त्यो मानिस अन्धो भएको होइन। प्रथम पुरुष आदमको पापले गर्दा सबै मानिसहरू त्रुटिपूर्ण हुन गए। यसैले गर्दा अन्धो भएर जन्मने र यस्ता अन्य त्रुटिहरू सबैमा हुने भयो। त्यस मानिसमा भएको यो त्रुटिको कारणले गर्दा येशूले ईश्वरीय कार्य प्रकट गर्ने मौका पाउनुहुन्छ।
यस्ता कार्यहरू गर्ने आवश्यकतामाथि येशू जोड दिनुहुन्छ। उहाँ भन्नुहुन्छ: “मलाई पठाउनुहुनेका कामहरू हामीले दिन छँदै गर्नुपर्छ, किनकि रात आउँदैछ, जब कुनै मानिसले काम गर्न सक्दैन। जबसम्म म संसारमा छु, म संसारको ज्योति हुँ।” चाँडै नै येशूको मृत्युले उहाँलाई चिहानको अन्धकारमा फाल्नेछ जहाँ उहाँले केही गर्न सक्नु हुनेछैन। तर त्यसो नहोउन्जेल उहाँ संसारका निम्ति ज्योतिको एउटा स्रोत हुनुहुन्छ।
यी कुराहरू भनिसकेपछि येशू भुइँमा थुक्नुहुन्छ अनि थुक र माटो मुछेर अलिकता लेप बनाउनुहुन्छ। उहाँले अन्धो मानिसको आँखामा त्यसलाई लगाइदिनुहुन्छ र भन्नुहुन्छ: “जाऊ, सिलोआमको कुण्डमा गएर पखाल।” त्यस मानिसले आज्ञा मान्छ। र आँखा पखालेपछि उसले देख्न थाल्छ! जीवनमा पहिलो चोटि देख्न पाएकोमा ऊ रमाउँदै फर्कन्छ!
उसलाई चिन्ने छिमेकीहरू र अरूहरू छक्क पर्छन्। तिनीहरू सोध्छन्: “के यो त्यही मानिस होइन र, जो पहिला माग्न बस्थ्यो?” कोही-कोहीले जवाफ दिन्छन्: “त्यही हो।” तर फेरि अरूले चाहिं विश्वासै गर्न नसकेर भन्छन्: “अहँ, होइन तर हेर्दाचाहिं ऊजस्तै देखिन्छ।” तापनि त्यस मानिसले भन्छ: “म त्यही मानिस हुँ।”
“त्यसोभए, तिम्रो आँखा कसरी खुल्यो त?” मानिसहरू जान्न चाहन्छन्।
“येशू नाम गरेको एक जना मानिसले माटोको लेप बनाएर मेरो आँखामा दलिदिनुभयो र मलाई ‘सिलोआममा गएर पखाल’ भन्नुभयो। त्यसैले गएर पखालें अनि मैले दृष्टि पाएँ।”
तिनीहरू त्यसलाई सोध्छन्: “त्यो मानिस कहाँ छ?”
“मलाई थाह छैन” भन्दै उसले जवाफ दिन्छ।
मानिसहरूले पहिले आँखा नदेख्ने त्यस मानिसलाई आफ्ना धर्म-गुरुहरू अर्थात् फरिसीहरूकहाँ लैजान्छन्। ऊ कसरी देख्ने भयो भनी तिनीहरूले पनि त्यसलाई सोध्छन्। त्यस मानिसले व्याख्या गर्छ: “उहाँले मेरो आँखामा माटोको लेप लगाइदिनुभयो अनि मैले पखालें र दृष्टि पाएँ।”
त्यो माग्ने निको भएकोमा निश्चय पनि फरिसीहरू आनन्दित हुनुपर्ने हो! तर त्यसको सट्टा तिनीहरूले येशूको आलोचना गर्छन्। “त्यो मानिस परमेश्वरबाट आएको होइन” भन्ने दाबी तिनीहरू गर्छन्। तिनीहरू किन यसो गर्छन्? “किनभने त्यसले विश्राम-दिन मान्दैन।” तापनि केही फरिसीहरू आश्चर्य व्यक्त गर्दै भन्छन्: “पापी मानिसले कसरी त्यस्ता किसिमका चमत्कारहरू गर्न सक्छ र?” यसरी तिनीहरूमाझ फूट हुन जान्छ।
तसर्थ त्यस मानिसलाई तिनीहरू सोध्छन्: “जसले तिम्रो आँखा खोलिदियो, उसको विषयमा तिमी के भन्छौ?”
त्यस मानिसले जवाफ दिन्छ: “उहाँ भविष्यवक्ता हुनुहुन्छ।”
तर फरिसीहरू सो विश्वास गर्न अस्वीकार गर्छन्। मानिसहरूलाई बेकुफ बनाउनका लागि येशू र त्यस मानिसका बीचमा कुनै गोप्य सम्झौता छ भनी तिनीहरू विश्वस्त छन्। अतः यो कुरा सुल्झाउन त्यस माग्नेका आमाबुबासित प्रश्न गर्न तिनीहरूलाई बोलाउँछन्। यूहन्ना ८:५९; ९:१-१८.
▪ यस मानिस अन्धो हुनुको कारण के हो र केचाहिं होइन?
▪ कुनै पनि मानिसले काम गर्न नसक्ने रात के हो?
▪ त्यस मानिस निको भएपछि त्यसलाई चिन्नेहरूले कस्तो प्रतिक्रिया व्यक्त गर्छन्?
▪ एक जना मानिस निको भएको कुरालाई लिएर फरिसीहरूबीच कस्तो फूट हुन्छ?