अध्याय ७७
अंशबण्डाको प्रश्न
फरिसीहरूको घरमा येशू भोजन गर्दै हुनुहुन्छ भनेर मानिसहरूलाई थाह छ। त्यसकारण हजारौंको सङ्ख्यामा तिनीहरू बाहिर जम्मा हुन्छन् र येशू कति बेला बाहिर आउनुहोला भनी पर्खिरहन्छन्। येशूको विरोध गर्ने र उहाँले भन्नुहुने कुरामा गल्ती फेला पारेर उहाँलाई पक्रने प्रयासमा रहने फरिसीहरू जस्ता नभई ती मानिसहरू उहाँको कदर गर्दै उहाँका कुराहरू ध्यान दिएर सुन्छन्।
पहिले आफ्ना चेलाहरूतर्फ फर्केर येशू भन्नुहुन्छ: “फरिसीहरूको खमिर अर्थात् कपटदेखि होसियार रहो।” भोजन खाने बेलामा प्रष्ट देखिएझैं फरिसीहरूको सम्पूर्ण धार्मिक व्यवस्था कपटले भरिएको छ। तर फरिसीहरूले आफ्नो दुष्टतालाई धर्मपरायणताको आडम्बरले ढाकछोप गरे तापनि अन्तमा त्यसको भण्डाफोर भइहाल्नेछ। येशू भन्नुहुन्छ: “होसियारीपूर्वक छिपाइएको यस्तो कुनै कुरा छैन, जो प्रकट नहोस् अनि यस्तो कुनै गोप्य कुरा छैन, जो थाह नहोस्।”
आफ्ना १२ जना चेलाहरूलाई गालीलमा प्रचारकार्यमा पठाउँदा आफूले दिएको प्रोत्साहनलाई येशू फेरि दोहोऱ्याउनुहुन्छ। उहाँ भन्नुहुन्छ: “त्यस्ताहरूसित नडराओ जसले तिमीहरूको ज्यान लिन सक्छन् तर त्योभन्दा बढ्ता अरू केही गर्न सक्दैनन्।” एउटा भँगेरालाई त परमेश्वरले बिर्सनुहुन्न भने परमेश्वरले तिनीहरूलाई पनि बिर्सनुहुनेछैन भनी येशू आफ्ना चेलाहरूलाई विश्वास दिलाउनुहुन्छ। उहाँ भन्नुहुन्छ: “तिनीहरूले जनतासामु, सरकारी अधिकृतहरूसामु अनि अख्तियारवालाहरूसामु तिमीहरूलाई उभ्याउँदा . . . तिमीहरूले के भन्नुपर्ने हो, पवित्र शक्तिले तिमीहरूलाई त्यतिखेरै सिकाउनेछ।”
भीडबाट एउटा मानिस बोल्न थाल्छ: “गुरुज्यू, मेरो दाइलाई हाम्रो पुर्ख्यौली सम्पत्तिको अंशबण्डा गर्न भनिदिनुहोस्।” मोशाको व्यवस्थाअनुसार जेठो छोराले अंशबण्डामा अंशको दुई भाग पाउनुपर्छ। यसकारण त्यहाँ झगडाको कुनै कारण नहुनुपर्ने हो। तर त्यो मान्छे आफ्नो हकभन्दा बढी चाहन्छ जस्तो छ।
येशू यसमा बिथोलित हुन चाहनुहुन्न र उहाँको यो अडान उचित पनि हो। उहाँ सोध्नुहुन्छ: “ए मित्र, तिमीहरूको न्याय गर्न वा अंशबण्डा गर्न कसले मलाई नियुक्त गऱ्यो?” त्यसपछि भीडलाई उहाँ यो महत्त्वपूर्ण परामर्श दिनुहुन्छ: “तिमीहरूको आँखा खुला राख र हर प्रकारको लालचबाट आफूलाई जोगाओ किनभने मानिस जति नै सम्पन्न भए तापनि त्यसले उसलाई जीवन दिंदैन।” हो, कसैसँग जतिसुकै धन भए तापनि साधारणतया ऊ मरेर जाने हो र सबै थोक छाडेर जानुपर्छ। यस तथ्यलाई अझ जोड दिन र परमेश्वरसामु राम्रो नाम कायम नगर्नु भनेको कस्तो मूर्ख कुरा हो भनी देखाउन येशू एउटा दृष्टान्त भन्नुहुन्छ। त्यसको व्याख्या उहाँ यसप्रकार गर्नुहुन्छ:
“एक जना धनी मानिसको जमिनले राम्रो उब्जनी दियो। त्यसैले उसले मनमनै भन्न थाल्यो: ‘यत्रो उब्जनी राख्ने ठाउँ मसित छैन, अब के गर्ने होला?’ उसले भन्यो: ‘म यसो गर्छु: मेरो धनसार भत्काउँछु अनि अझ ठूलो धनसार बनाउँछु र मेरा सबै अनाज र सरसम्पत्ति त्यहीं राख्छु। अनि आफूलाई भन्नेछु: “तँसित वर्षौंलाई पुग्ने सरसम्पत्ति छ। त्यसैले आरामसित बसेर खा, पि अनि मोज गर्।” ’ तर परमेश्वरले उसलाई भन्नुभयो: ‘ए बेसमझ, यही रात तिनीहरूलाई तेरो ज्यान चाहिएको छ। तैंले जम्मा गरेका कुराहरू अब कसको होला?’ ”
अन्तमा येशू भन्नुहुन्छ: “जुन मानिसले आफ्नो लागि धनसम्पत्ति थुपार्छ तर परमेश्वरको नजरमा चाहिं धनी हुँदैन, त्यसको हालत यस्तै हुनेछ।” चेलाहरू धन जम्मा गर्ने मूर्खताको शिकार नहोलान्। तर जीवनका दैनिक समस्याहरूको कारण सम्पूर्ण मनले यहोवाको सेवा गर्नदेखि तिनीहरू सजिलैसँग अलमलिन सक्छन्। त्यसकारण करिब डेढ वर्षअघि डाँडाको उपदेशमा दिएको उत्तम सल्लाहलाई यस अवसरमा येशू फेरि दोहोऱ्याउनुहुन्छ। चेलाहरूतर्फ फर्केर उहाँ भन्नुहुन्छ:
“यसकारण म तिमीहरूलाई भन्छु: के खाऔंला कि के पिऔंला भनी आफ्नो विषयमा वा के लगाऔंला भनी आफ्नो शरीरको विषयमा तिमीहरू चिन्ता गर्न छोडिहाल। . . . राम्ररी हेर, कागहरू न बीउ छर्छन् न कटनी गर्छन् न त भण्डार वा धनसारमै जम्मा गर्छन् तैपनि परमेश्वरले तिनीहरूलाई खुवाउनुहुन्छ। . . . फूलहरू कसरी बढ्छन् राम्ररी हेर, तिनीहरू न परिश्रम गर्छन् न त धागो कात्छन्; तर म तिमीहरूलाई भन्छु, सारा वैभवले सुसज्जित सुलेमानसमेत यी फूलहरूमध्ये एउटा जति पनि सिंगारिएका थिएनन्।”
“त्यसैले ‘हामी के खाऔंला?’ कि ‘के पिऔंला?’ कि ‘के लगाऔंला?’ भनेर अचाक्ली चिन्ता गर्न छोडिहाल। किनकि संसारका मानिसहरू यिनै कुराका लागि दौडधूप गर्छन्। तर यी कुरा तिमीहरूलाई चाहिन्छ भनेर तिमीहरूका बुबालाई थाह छ। बरु उहाँको राज्यको निरन्तर खोजी गर अनि यी कुरा तिमीहरूलाई दिइनेछ।”
खासगरि आर्थिक कठिनाइको समयमा येशूका शब्दहरूमाथि विशेष गौर गर्नु उचित हुनेछ। आफ्नो भौतिक आवश्यकताहरूका लागि अति चिन्तित भएर परमेश्वरको सेवासित सम्बन्धित कामकुरोमा शिथिल हुँदै जाने व्यक्तिले वास्तवमा आफ्ना सेवकहरूका आवश्यकताहरू पूरा गर्न सक्ने परमेश्वरको क्षमतामाथि नै विश्वासको अभाव प्रदर्शन गरिरहेको हुन्छ। लूका १२:१-३१; व्यवस्था २१:१७.
▪ त्यो मानिसले अंशबण्डाबारे किन प्रश्न गरेको हुन सक्छ र येशू कस्तो सल्लाह दिनुहुन्छ?
▪ येशू के दृष्टान्त प्रयोग गर्नुहुन्छ र त्यसको मर्म के हो?
▪ येशूले कुन सल्लाहलाई दोहोऱ्याउनुहुन्छ र त्यो किन उपयुक्त छ?