अध्याय ८४
चेला हुँदाको जिम्मेवारी
येशू त्यस प्रमुख फरिसीको घरबाट बिदा लिनुहुन्छ। यो फरिसी यहूदी न्यायपरिषद्को एक जना सदस्य हो। उसको घर छाडेपछि येशू फेरि यरूशलेमतर्फ लाग्नुहुन्छ। ठूलो भीड उहाँको पछि लाग्छ। तर तिनीहरूको नियत के हो? उहाँको साँचो चेला हुनुको अर्थ के हो?
भीड पनि सँगसँगै आइरहेको बेला येशू भीडतर्फ फर्कनुहुन्छ र सायद येशूले यसो भन्दा तिनीहरू छक्क पर्छन्: “यदि कोही मकहाँ आउँछ र आफ्नो बुबा, आमा, पत्नी, छोराछोरी, दाजुभाइ र दिदीबहिनीलाई अनि हो, आफैलाई समेत घृणा गर्दैन भने ऊ मेरो चेला बन्न सक्दैन।”
येशूको भनाइको अर्थ के हो? उहाँका चेलाहरूले आफ्ना नातेदारहरूलाई साँच्चै नै घृणा गर्नुपर्छ भनेर येशूले यहाँ भन्नुभएको होइन। बरु तिनीहरूलाई घृणा गर्नुको अर्थ उहाँलाई भन्दा तिनीहरूलाई बढी प्रेम गर्नु हुँदैन भन्नुभएको हो। येशूका पुर्खा याकूबले पनि लेआलाई “घृणा” र राहेललाई प्रेम गर्थे भनिएको छ। यसको अर्थ उनले लेआलाई भन्दा बहिनी राहेललाई बढी प्रेम गर्थे।
साथै, उहाँका चेलाले “आफैलाई समेत” अर्थात् आफ्नो जीवनलाई घृणा गर्नुपर्छ भनेर येशूले भन्नुभएको कुरामा विचार गर्नुहोस्। यहाँ पनि येशूको भनाइको तात्पर्य एक जना साँचो चेलाले आफूलाई भन्दा येशूलाई बढी प्रेम गर्नुपर्छ। उहाँको चेला हुनु एउटा गहन जिम्मेवारी हो भन्ने कुरालाई येशू जोड दिंदै हुनुहुन्छ। यो जिम्मेवारीलाई राम्रोसँग सोचविचार नगरिकनै उठाउनु हुँदैन।
येशूको चेला हुँदा कठिनाइ र सतावटको सामना गर्नुपर्छ भनेर उहाँले यी शब्दहरूद्वारा सङ्केत गर्नुहुन्छ: “जो आफ्नो यातनाको खम्बा बोकेर मेरो पछि लागिरहँदैन, ऊ मेरो चेला बन्न सक्दैन।” त्यसकारण साँचो चेला येशूले सहनुभएको बदनामीको बोझ सहन तयार हुनुपर्छ। यहाँसम्म कि, आवश्यकता परेमा परमेश्वरका दुश्मनहरूको हातबाट मर्नसमेत तयार हुनुपर्छ र यही कुरा येशूले अब चाँडै नै गर्नुहुनेछ।
त्यसकारण उहाँको पछि लागेर हिंड्ने भीडले उहाँको चेला हुने विषयलाई बडो गम्भीरतापूर्वक जाँच गर्नु आवश्यक छ। एउटा दृष्टान्तद्वारा येशूले यस कुरालाई अझ बुझाउनुहुन्छ। उहाँ भन्नुहुन्छ: “तिमीहरूमध्ये को यस्तो होला, जसले धरहरा बनाउने विचार गरेपछि, त्यो बनाइसिद्धयाउने खर्च आफूसित छ कि छैन भनी बसेर पहिला हिसाब गर्दैन? उसले जग त हाल्यो तर धरहराचाहिं बनाउन सकेन भने देख्नेहरूले उसको गिल्ला गर्दै यसो भन्न थाल्नेछन्: ‘यो मानिसले बनाउन त थाल्यो तर सिद्धयाउन भने सकेन।’ ”
अतः उहाँको पछि लाग्ने भीडलाई येशू यस दृष्टान्तद्वारा बुझाउँदै हुनुहुन्छ कि उहाँको चेला हुनुभन्दा अघि नै यसमा बिथोलित कुराहरू पूरा गर्ने दृढ फैसला त्यस व्यक्तिले गरिसकेको हुनपर्छ। जस्तो कि एउटा धरहरा बनाउन चाहने मानिसले काम सुरु गर्नुभन्दा अघि नै सो काम सिद्धयाउने साधनहरूको व्यवस्था मिलाउँछ। अर्को दृष्टान्त दिंदै येशू भन्नुहुन्छ:
“अथवा अर्को राजासित लडाइँ गर्न अगाडि बढिरहेको कुनचाहिं राजाले आफ्नो दस हजार सिपाही लिएर उसको बीस हजारसित आफू लड्न सक्छु कि सक्दिनँ भनी बसेर पहिला सल्लाह गर्दैन? यदि लड्न सकिन्न भन्ने लाग्यो भने उसले अर्को राजा टाढै छँदा आफ्ना दूतहरूमार्फत शान्तिको प्रस्ताव पठाउनेछ।”
यसपछि आफूले दिएको दृष्टान्तको निचोडमाथि येशू जोड दिनुहुन्छ: “त्यसैगरि, यो कुरा पक्का हो कि तिमीहरूमध्ये जसले आफ्नो जायजेथा त्याग्दैन, ऊ मेरो चेला बन्न सक्दैन।” उहाँको पछि लाग्ने भीड र ख्रीष्टबारे शिक्षा लिने प्रत्येक यसो गर्न तयार हुनुपर्छ। उहाँका चेला हुनेहरूले आफूसँग भएका सबै थोक अर्थात् आफ्ना सारा सम्पत्ति र आफूलाई समेत त्याग्न तयार हुनुपर्छ। के तपाईं यसो गर्न तयार हुनुहुन्छ?
“नुन अवश्य राम्रो हो,” येशू भन्दै जानुहुन्छ। उहाँका चेलाहरू “पृथ्वीका नुन” हुन् अर्थात् नुनले खाद्य सामग्रीलाई बिग्रनदेखि बचाएर राखेजस्तै येशूका चेलाहरूले पनि मानिसहरूलाई बिग्रनदेखि बचाउन सक्छन् भनी येशूले आफ्नो डाँडाको उपदेशमा भन्नुभएको थियो। “नुनको नुनिलोपन हरायो भने त्यसलाई फेरि केले स्वादिलो बनाउने? त्यो न माटोमा हाल्न न त मलमा मिसाउन नै काम लाग्छ।” येशू कुरा टुङ्ग्याउँदै भन्नुहुन्छ, “मानिसहरूले त्यसलाई बाहिर फाल्नेछन्। जसको सुन्ने कान छ, त्यसले सुनोस्।”
अतः केही समय अघिदेखि नै उहाँका चेला भइसकेकाहरूले पनि चेला भइरहने आफ्नो दृढतालाई कमजोर हुन दिनु हुँदैन भनेर येशू जनाउँदै हुनुहुन्छ। तिनीहरूले आफूलाई कमजोर हुन दिएमा तिनीहरू व्यर्थका हुनेछन् अर्थात् संसारका सामुन्ने गिल्लाका पात्र र परमेश्वरका लागि पनि कामै नलाग्ने निन्दाका कारण हुनेछन्। यसकारण अलिनो र मिसावट भएको नुनजस्तै तिनीहरू बाहिर फ्याँकिनेछन्, हो नाश हुनेछन्। लूका १४:२५-३५; उत्पत्ति २९:३०-३३; मत्ती ५:१३.
▪ आफू र आफ्ना नातेदारहरूलाई “घृणा” गर्नुको अर्थ के हो?
▪ येशूले कुन दुइटा दृष्टान्त बताउनुहुन्छ र त्यसको अर्थ के हो?
▪ नुनको विषयमा येशूले निचोडमा के भन्न खोज्नुभएको हो?