-
क्षेत्रीय निरीक्षकहरू हामीलाई कसरी मदत गर्छन्?आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्?
-
-
पाठ १७
क्षेत्रीय निरीक्षकहरू हामीलाई कसरी मदत गर्छन्?
मलावी
प्रचार जान भेला भएको समूह
प्रचार गर्दै
एल्डरहरूको सभा
ख्रिष्टियन ग्रीक धर्मशास्त्रमा बर्णाबास र प्रेषित पावलबारे थुप्रै चोटि उल्लेख गरिएको छ। उनीहरू परिभ्रमण निरीक्षकको रूपमा त्यतिखेरका मण्डलीहरूको भ्रमण गर्थे। किन? उनीहरू आफ्ना ख्रिष्टियन भाइबहिनीको साँचो चासो राख्थे। आफूले प्रचार गरेका सहरहरूमा गएर ‘भाइहरूलाई भेट्न’ र तिनीहरूको हालखबर बुझ्न चाहेको कुरा पावलले बताए। तिनीहरूलाई भेटेर सुदृढ पार्न पावल सयौँ किलोमिटर यात्रा गर्न इच्छुक थिए। (प्रेषित १५:३६) आजका परिभ्रमण निरीक्षकहरू पनि यस्तै इच्छुकता देखाउँछन्।
तिनीहरू हामीलाई प्रोत्साहन दिन आउँछन्। प्रत्येक क्षेत्रीय निरीक्षकले एक वर्षमा लगभग २० वटा मण्डलीको दुई पटक भ्रमण गर्छन्। तिनले हरेक मण्डलीसित एक हप्ता बिताउँछन्। ती निरीक्षकहरूको अनुभवबाट हामी निकै लाभ उठाउन सक्छौँ। यदि तिनीहरू विवाहित हुन् भने तिनीहरूका पत्नीको अनुभवबाट पनि लाभ उठाउन सक्छौँ। तिनीहरूले जवान, वृद्ध सबैलाई राम्ररी चिन्ने प्रयास गर्छन्। साथै हामीसँगै क्षेत्र सेवामा भाग लिन र हाम्रा बाइबल अध्ययनहरूमा सँगै जान इच्छुक हुन्छन्। ती निरीक्षकहरू एल्डरहरूसँग मिलेर मण्डलीका सदस्यहरूलाई गोठालो भेट गर्छन्। अनि हामीलाई सुदृढ पार्नको लागि सभा र सम्मेलनहरूमा प्रोत्साहनदायी भाषणहरू दिन्छन्।—प्रेषित १५:३५.
तिनीहरू सबै जनाको चासो राख्छन्। क्षेत्रीय निरीक्षकहरू मण्डलीका सदस्यहरूले परमेश्वरसित कत्तिको प्रगाढ सम्बन्ध गाँसेका छन् भन्ने विषयमा एकदमै चासो राख्छन्। तिनीहरू एल्डर र सहायक सेवकहरूलाई भेटेर मण्डलीको उन्नतिबारे बुझ्छन् अनि ती भाइहरूलाई आफ्नो जिम्मेवारी सम्हाल्न चाहिने व्यावहारिक सल्लाह पनि दिन्छन्। तिनीहरू अग्रगामीहरूलाई सेवाको काममा अझ सफलता हासिल गर्दै जान मदत दिन्छन्। तिनीहरू मण्डलीसित सङ्गत गर्ने नयाँ व्यक्तिहरूलाई राम्ररी चिन्न र उनीहरूले गरेको प्रगतिबारे सुन्न पाउँदा रमाउँछन्। यस्ता निरीक्षकहरू ‘हाम्रो भलाइको लागि काम गर्ने हाम्रा सहकर्मी’ हुन् र निःस्वार्थ भावले हाम्रो सेवा गर्छन्। (२ कोरिन्थी ८:२३) हामीले पनि तिनीहरूको विश्वास र भक्तिको अनुकरण गर्नुपर्छ।—हिब्रू १३:७.
क्षेत्रीय निरीक्षकहरू किन मण्डलीहरूको भ्रमण गर्छन्?
तिनीहरूको भ्रमणबाट तपाईँ कसरी लाभ उठाउन सक्नुहुन्छ?
-
-
सङ्कष्टमा परेका दाजुभाइ दिदीबहिनीलाई हामी कसरी मदत गर्छौँ?आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्?
-
-
पाठ १८
सङ्कष्टमा परेका दाजुभाइ दिदीबहिनीलाई हामी कसरी मदत गर्छौँ?
डोमिनिकन गणतन्त्र
जापान
हाइटी
प्राकृतिक प्रकोपबाट प्रभावित दाजुभाइ दिदीबहिनीलाई मदत दिन यहोवाका साक्षीहरू तुरुन्तै कदम चाल्छन्। यसले हामी आपसमा साँचो प्रेम गर्छौँ भनेर देखाउँछ। (युहन्ना १३:३४, ३५; १ युहन्ना ३:१७, १८) हामी कुन-कुन तरिकामा मदत गर्छौँ?
हामी आर्थिक सहयोग गर्छौँ। पुरातन सहर यहुदियामा ठूलो अनिकाल पर्दा त्यहाँका दाजुभाइ दिदीबहिनीको लागि एन्टिओकका ख्रिष्टियनहरूले आर्थिक सहयोग पठाए। (प्रेषित ११:२७-३०) अहिले पनि कुनै ठाउँका दाजुभाइ दिदीबहिनीले सङ्कष्ट भोगिरहेको कुरा सुन्दा हामी तिनीहरूलाई आर्थिक सहयोग गर्न आ-आफ्नो मण्डलीमार्फत अनुदान पठाउँछौँ।—२ कोरिन्थी ८:१३-१५.
हामी व्यावहारिक मदत गर्छौँ। प्राकृतिक प्रकोपबाट प्रभावित ठाउँका एल्डरहरूले आफ्नो मण्डलीका एक-एक सदस्य कहाँ छन् अनि तिनीहरू सुरक्षित छन् कि छैनन्, त्यो पक्का गर्छन्। राहत समितिले तिनीहरूका लागि खानेकुरा, लुगाफाटा, सफा पिउने पानी, बस्ने ठाउँ अनि स्वास्थ्य उपचार उपलब्ध गराउने प्रबन्ध मिलाउँछ। प्रभावित क्षेत्रमा मदत गर्न सक्ने सीप भएका थुप्रै साक्षी आफ्नै खर्चमा त्यहाँ गएर राहतकार्यमा भाग लिन्छन् वा क्षतिग्रस्त राज्यभवन र घरहरूको मर्मतसम्भार गर्छन्। हाम्रो सङ्गठनमा एकता छ अनि हामीले सँगै मिलेर काम गर्न पनि सिकेका छौँ। यसले गर्दा सङ्कष्टको बेला राहतकार्यको लागि तुरुन्तै कदम चाल्न सक्छौँ। हुनत सर्वप्रथम हामी “एउटै विश्वास हुने हाम्रा भाइबहिनी”-लाई मदत गर्छौँ तर सम्भव भएसम्म अरू व्यक्तिलाई पनि मदत गर्छौँ, चाहे उनीहरूको धर्म जुनसुकै किन नहोस्।—गलाती ६:१०.
हामी बाइबलबाट सान्त्वना दिन्छौँ र भावनात्मक चोट सहन मदत गर्छौँ। प्राकृतिक प्रकोपबाट पीडित व्यक्तिहरूलाई विशेषगरि सान्त्वनाको खाँचो पर्छ। त्यस्तो बेला हामी “सबै सान्त्वनाका परमेश्वर” यहोवाबाट बल प्राप्त गर्छौँ। (२ कोरिन्थी १:३, ४) हामी यस्ता निराश व्यक्तिहरूलाई अब चाँडै परमेश्वरको राज्यले सबै सङ्कष्टको अन्त गर्नेछ भनेर बाइबलले दिने आशा र ढाडस दिन्छौँ।—प्रकाश २१:४.
प्राकृतिक प्रकोपको बेला यहोवाका साक्षीहरूले तुरुन्तै कदम चाल्न सक्नुको कारण के हो?
प्रकोपबाट बचेकाहरूलाई हामी बाइबलबाट कस्तो सान्त्वना दिन सक्छौँ?
-
-
विश्वासी र बुद्धिमान् दास को हो?आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्?
-
-
पाठ १९
विश्वासी र बुद्धिमान् दास को हो?
दासले दिने भोजनबाट हामी सबै जना लाभ उठाउँछौँ
येसुको मृत्यु हुनुभन्दा केही समयअघि उहाँका चार जना चेला—पत्रुस, याकुब, युहन्ना र अन्द्रियास सुटुक्क उहाँकहाँ आएर उहाँको उपस्थिति र यस युगको आखिरी समयको चिन्हबारे सोधे। आफ्नो उपस्थितिको चिन्हबारे भविष्यवाणी गर्ने क्रममा उहाँले तिनीहरूलाई यो महत्त्वपूर्ण प्रश्न सोध्नुभयो: “वास्तवमा विश्वासी र बुद्धिमान् दास को हो, जसलाई उसको मालिकले आफ्नो घरका अरू दासहरूलाई ठीक समयमा भोजन देओस् भनेर नियुक्त गरेका हुन्छन्?” (मत्ति २४:३, ४५; मर्कुस १३:३, ४) यहाँ बताइएको “मालिक” येसु हुनुहुन्छ। उहाँले आफ्ना अनुयायीहरूलाई अन्तको समयमा अटुट रूपमा भोजन दिन दास नियुक्त गर्ने कुराको आश्वासन दिँदै हुनुहुन्थ्यो। त्यो दास को हुने थियो?
यो येसुका अभिषिक्त अनुयायीहरूको सानो समूह हो। यहोवाका साक्षीहरूको परिचालक निकायले “दास”-को काम गरिरहेको छ। यस “दास”-ले यहोवाका सम्पूर्ण उपासकहरूको लागि समय सुहाउँदो भोजनको प्रबन्ध गर्छ। “ठीक समयमा र ठीक मात्रामा भोजन” पाइरहन हामी यस विश्वासी दासमा निर्भर छौँ।—लुका १२:४२.
यसले परमेश्वरको घरानाको हेरचाह गर्छ। (१ तिमोथि ३:१५) येसुले यस दासलाई यहोवाको सङ्गठनको पार्थिव भागको सम्पूर्ण गतिविधिको हेरचाह गर्ने गहन जिम्मेवारी सुम्पनुभयो। जस्तै: भौतिक सरसम्पत्तिको रेखदेख गर्ने, प्रचारकार्यलाई डोऱ्याउने अनि मण्डलीहरूमार्फत सिकाउने। “विश्वासी र बुद्धिमान् दास”-ले हामीलाई चाहिएकै समयमा आवश्यक भोजन उपलब्ध गराइरहेको छ। कसरी? हामीले प्रचारकार्यमा चलाउने प्रकाशनका साथै हाम्रा सभा तथा सम्मेलनमा प्रस्तुत गरिने कार्यक्रमद्वारा।
यो दास बाइबलमा भएका सत्य कुराहरू बुझाउने सम्बन्धमा र सुसमाचार प्रचार गर्ने सम्बन्धमा विश्वासी छ। साथै पृथ्वीमा येसुको सम्पत्तिको हेरविचार गर्ने सम्बन्धमा बुद्धिमान् पनि छ। (प्रेषित १०:४२) आज यहोवाको आशिष्ले गर्दा उहाँका साक्षीहरूको सङ्ख्या बढिरहेको छ अनि उहाँले विश्वासी र बुद्धिमान् दासमार्फत प्रचुर मात्रामा बाइबलआधारित जानकारी उपलब्ध गराइरहनुभएको छ।—यसैया ६०:२२; ६५:१३.
आफ्ना चेलाहरूलाई आवश्यक भोजन उपलब्ध गराउन येसुले कसलाई नियुक्त गर्नुभयो?
येसुले नियुक्त गर्नुभएको दास कुन अर्थमा विश्वासी र बुद्धिमान् छ?
-