जीवन र प्रचारकार्य अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री
जनवरी १-७
बाइबलमा पाइने अनमोल धन | मत्ती १-३
“स्वर्गको राज्य नजिकै आएको छ”
nwtsty-E मत्ती ३:१, २ को अध्ययन नोट
प्रचार: “प्रचार गर्नु” भनेर अनुवाद गरिएको ग्रीक शब्दको मूल अर्थ “सन्देशवाहकको रूपमा सबैको अगाडि घोषणा गर्नु” हो। यो शब्दले कुनै कुरा घोषणा गर्ने तरिकालाई जोड दिन्छ: प्रायजसो अवस्थामा यसले कुनै समूहको अगाडि प्रवचन दिनुलाई नभई सार्वजनिक रूपमा, अरू मानिसहरूको अगाडि कुनै घोषणा गर्नुलाई बुझाउँछ।
राज्य: ग्रीक शब्द बसिलिया पहिलो पटक यही ठाउँमा देखा पर्छ। यसले राजाले चलाउने सरकारलाई बुझाउँछ, साथै राजाको अधीनमा रहेको इलाका र जनतालाई पनि बुझाउँछ। यो ग्रीक शब्द ख्रीष्टियन ग्रीक धर्मशास्त्रमा १६२ वटा ठाउँमा पाइन्छ; तीमध्ये ५५ वटा चाहिं मत्तीको विवरणमा पाइन्छ र प्रायजसो ठाउँमा यो शब्दले परमेश्वरले स्वर्गबाट गर्नुहुने शासनलाई बुझाउँछ। मत्तीले यो शब्द यत्ति धेरै चलाएका छन् कि तिनले लेखेको सुसमाचारको किताबलाई ‘राज्यको सुसमाचारको किताब’ पनि भन्न सकिन्छ।
स्वर्गको राज्य: बाइबलभरि यो अभिव्यक्ति मत्तीको सुसमाचारको किताबमा मात्रै पाइन्छ र यो ३० वटाभन्दा धेरै ठाउँमा चलाइएको छ। मर्कूस र लूकाले लेखेका सुसमाचारका किताबहरूमा भने यसैलाई बुझाउन “परमेश्वरको राज्य” भन्ने अभिव्यक्ति चलाइएको पाइन्छ। यसले “परमेश्वरको राज्य”-को केन्द्र स्वर्गमा छ र त्यस राज्यले स्वर्गबाटै शासन गर्छ भनेर सङ्केत गर्छ।—मत्ती २१:४३; मर्कू १:१५; लूका ४:४३; दा २:४४; २ति ४:१८.
नजिकै आएको छ: यस सन्दर्भमा यो अभिव्यक्तिले स्वर्गको राज्यका भावी शासक प्रकट हुनै लाग्नुभएको थियो भनेर बुझाउँछ।
nwtsty-E मिडिया
बप्तिस्मा गराउने यूहन्नाको पहिरन र रूपरङ्ग
यूहन्ना उँटको रौंबाट बनेको लुगा लगाउँथे र छालाको पटुका लगाउँथे, जसमा सानातिना कुराहरू बोक्न सकिन्थ्यो। भविष्यवक्ता एलियाले पनि यस्तै किसिमको लुगा लगाउँथे। (२रा १:८) उँटको रौंबाट बनेको कपडा खस्रो हुन्थ्यो र यस्तो कपडाको लुगा प्रायः गरिबहरूले मात्र लगाउने गर्थे। धनीहरूले भने रेसम वा मलमलबाट बनेको मिहिन कपडाको लुगा लगाउने गर्थे। (मत्ती ११:७-९) जन्मेदेखि नै नाजिरीको रूपमा छुट्ट्याइएको हुनाले यूहन्नाले कहिल्यै कपाल नकाटेका हुन सक्छन्। त्यसैले तिनको पहिरन र रूपरङ्गबाट तिनी सरल जीवन बिताउँथे भन्ने कुरा स्पष्टै देखिन्थ्यो; तिनी परमेश्वरको इच्छाअनुसार गर्न पूर्ण रूपमा समर्पित थिए।
सलह
बाइबलमा चलाइएको “सलह” भन्ने शब्दले छोटा-छोटा एन्टिना भएका कुनै पनि प्रजातिको फट्याङ्ग्रालाई बुझाउँछ। यसले विशेषगरि बथानमा हिंड्ने प्रजातिको फट्याङ्ग्रालाई बुझाउँछ। यरूशलेममा गरिएको एउटा अनुसन्धानअनुसार मरुभूमिमा पाइने सलहहरूमा ७५ प्रतिशत प्रोटिन हुन्छ। अहिलेको समयमा सलह खाँदा त्यसको टाउको, खुट्टा, पखेटा र भुँडी फ्याँकिन्छ। बाँकी रहेको जीउको भागचाहिं काँचै अथवा पकाएर खाइन्छ। भनिन्छ, यसको स्वाद झिंगेमाछा वा गँगटोको जस्तै हुन्छ। यो निकै प्रोटिनयुक्त खानेकुरा हो।
वन-मह
तस्बिरमा (१) वनमौरीले बनाएको गुँड र (२) महले भरिएको चाका देखाइएको छ। यूहन्नाले खाने मह तिनी बस्ने इलाकामा पाइने वनमौरीको एक किसिमको प्रजातिको (Apis mellifera syriaca) हुन सक्छ। यो प्रजातिको वनमौरी आक्रामक स्वभावको हुन्छ। यिनीहरू यहूदियाको उजाड भूमिको तातो र सुक्खा मौसममा फस्टाउँछन्; यसलाई पाल्न भने सकिंदैन। तर झन्डै ईसापूर्व नवौं शताब्दीमै इस्राएलका मानिसहरूले माटाका भाँडाहरूमा मौरीपालन गर्न भने थालिसकेका थिए। तिनीहरूले पाल्ने गरेको मौरीको गुँडका अवशेषहरू जोर्डन उपत्यकाको एउटा ठाउँमा पाइन्छ, जुन पहिले सहरी क्षेत्र थियो (अहिले यसलाई तेल रेहोभ भनेर चिनिन्छ)। त्यस ठाउँमा मह उत्पादन गर्नका लागि अहिले टर्की भनेर चिनिने ठाउँबाट ल्याइएका मौरी प्रयोग गरिन्थे जस्तो देखिन्छ।
बहुमूल्य रत्न खोजौं
nwtsty-E मत्ती १:३ को अध्ययन नोट
तामार: मत्तीले दिएको मसीहको वंशावलीमा उल्लेख गरिएका स्त्रीहरूमध्ये पहिलो स्त्री। अरू चार जना चाहिं यी हुन्: राहाब र रूथ—यी दुवै गैर-इस्राएली स्त्रीहरू थिए (पद ५), “उरियाहकी पत्नी” बेतशेबा (पद ६) अनि मरियम (पद १६)। यी पाँचै जना स्त्री जुन तरिकामा येशूको पुर्खा बन्न पुगे, त्यसमा कुनै न कुनै उल्लेखनीय कुरा पाइन्छ। त्यसैले मत्तीले दिएको मसीहको वंशावली विवरणमा पुरुषहरूको नामावली भए तापनि यी पाँच जना स्त्रीको नाम उल्लेख गरिएको हुनुपर्छ।
nwtsty-E मत्ती ३:११ को अध्ययन नोट
बप्तिस्मा गराउँछु: वा “डुबाउँछु।” यसको ग्रीक शब्द ब्याप्टिजो-को अर्थ “डुब्नु; डुबुल्की मार्नु” हो। बाइबलका अरू विवरणहरूले बप्तिस्मा गर्दा पानीमा पूरै डुब्नुपर्छ भन्ने कुरालाई सङ्केत गर्छ। एक पटक यूहन्नाले यर्दन बेंसीको सालीम भन्ने ठाउँनजिकै बप्तिस्मा गराइरहेका थिए “किनकि त्यहाँ प्रशस्त पानी थियो।” (यूह ३:२३) जब फिलिपले इथियोपियाली नपुंसकलाई बप्तिस्मा गराए, तब तिनीहरू दुवै “ओर्लेर पानीमा पसे।” (प्रे ८:३८) यही ग्रीक शब्द सेप्टुआजिन्ट-मा २रा ५:१४ मा पनि चलाइएको पाइन्छ, जहाँ नामानले यर्दन नदीमा “सातपल्ट डुबुल्की मारे” भनी बताइएको छ।
जनवरी ८-१४
बाइबलमा पाइने अनमोल धन | मत्ती ४-५
“डाँडाको उपदेशबाट सिक्न सकिने पाठहरू”
nwtsty-E मत्ती ५:३ को अध्ययन नोट
आनन्दित: बाइबलमा मानिसहरूको लागि यो शब्द चलाइँदा यसले रमाइलो गर्दा मन प्रफुल्लित हुने अवस्थालाई मात्र बुझाउँदैन बरु परमेश्वरको आशिष् र निगाह पाएको अवस्थालाई बुझाउँछ। यही शब्द परमेश्वरको लागि र स्वर्गमा महिमित हुनुभएका येशूको लागि पनि चलाइएको छ।—१ति १:११; ६:१५.
जसले परमेश्वरको मार्गनिर्देशनको खाँचो महसुस गर्छन्: “जसले . . . खाँचो महसुस गर्छन्” भनेर अनुवाद गरिएको ग्रीक अभिव्यक्तिको शाब्दिक अनुवाद “जो गरिब छन् (जो दीन; दरिद्र छन्; जसले भीख माग्छन् )” भन्ने हुन्छ। यस पदमा यो अभिव्यक्तिले कुनै कुराको खाँचो भएका र त्यसबारे निकै सचेत रहने मानिसहरूलाई बुझाउँछ। लूका १६:२०, २२ मा लाजरस नाम गरेको “माग्ने”-लाई बुझाउन पनि यही ग्रीक शब्द चलाइएको छ। कुनै-कुनै अनुवादमा यस पदमा “आत्मामा दरिद्र” भन्ने अभिव्यक्ति चलाइएको पाइन्छ। यसरी अनुवाद गरिएको ग्रीक अभिव्यक्तिले यस्ता मानिसहरूलाई बुझाउँछ, जो आफ्नो आध्यात्मिक गरिबीबारे र जीवनमा परमेश्वरको आवश्यकता छ भन्नेबारे निकै सचेत छन्।
nwtsty-E मत्ती ५:७ को अध्ययन नोट
कृपालु: बाइबलमा “कृपालु” र “कृपा” भनेर अनुवाद गरिएका शब्दहरूले क्षमा दिनु वा इन्साफ गर्दा दया देखाउनुलाई मात्र त बुझाउँदैन। धेरैजसो अवस्थामा यी शब्दहरूले आफै अग्रसर भएर खाँचोमा परेका मानिसहरूलाई मदत गर्न उत्प्रेरित गर्ने दया र सहानुभूतिको भावनालाई बुझाउँछ।
nwtsty-E मत्ती ५:९ को अध्ययन नोट
जसले शान्ति कायम गर्छन्: यसले पहिल्यैदेखि भइरहेको शान्तिलाई कायम राख्ने मानिसहरूलाई मात्र नभई शान्ति नभएको ठाउँमा समेत शान्ति स्थापना गर्ने मानिसहरूलाई बुझाउँछ।
बहुमूल्य रत्न खोजौं
nwtsty-E मत्ती ४:९ को अध्ययन नोट
एक चोटि ढोग्नुभयो: “ढोग्नु” भनेर अनुवाद गर्न सकिने ग्रीक क्रियाको एक प्रकारको भूतकाल रूप यस पदमा चलाइएको छ, जसले एकैछिनको कार्यलाई बुझाउँछ। त्यसैले यसलाई “एक चोटि ढोग्नुभयो” भनेर अनुवाद गरिएको छ। यसबाट के बुझ्न सक्छौं भने दियाबलले येशूलाई निरन्तर वा नियमित रूपमा त्यसको उपासना गर्न भनेको थिएन। येशूले त्यसलाई केवल ‘एक चोटि ढोग्नुभएको’ त्यो चाहन्थ्यो।
nwtsty-E मत्ती ४:२३ को अध्ययन नोट
सिकाउनुभयो . . . प्रचार गर्नुभयो: सिकाउनु भनेको प्रचार गर्नुभन्दा फरक कुरा हो किनभने सिकाउने व्यक्तिले कुनै कुरा घोषणा गर्ने मात्र त गर्दैनन्। बरु तिनले निर्देशन दिन्छन्, व्याख्या गर्छन्, चित्तबुझ्दो तर्कहरू गर्छन् र प्रमाणहरू पेस गर्छन्।
जनवरी १५-२१
बाइबलमा पाइने अनमोल धन | मत्ती ६-७
“परमेश्वरको राज्यलाई पहिलो स्थान दिइरहनुहोस्”
nwtsty-E मत्ती ६:२४ को अध्ययन नोट
दास बन्न: यसरी अनुवाद गरिएको ग्रीक क्रियाले दास बनेर सेवा गर्नुलाई बुझाउँछ; दासको एक जना मात्र मालिक हुन्छ। हामीले परमेश्वरको मात्र भक्ति गर्नुपर्छ र उहाँ यस्तो भक्ति पाउन योग्य हुनुहुन्छ। त्यसैले एक जना ख्रीष्टियन परमेश्वरको भक्ति गर्न र सँगसँगै भौतिक सरसम्पत्ति थुपार्ने काममा पनि समर्पित हुन सक्दैन भनेर येशूले सिकाउन खोज्दै हुनुहुन्थ्यो।
nwtsty-E मत्ती ६:३३ को अध्ययन नोट
दिइरहो: यहाँ चलाइएको ग्रीक क्रियाले निरन्तर गरिने कार्यलाई बुझाउँछ र यसलाई “निरन्तर दिइरहो” भनेर पनि अनुवाद गर्न सकिन्छ। येशूका साँचो अनुयायीहरूले केही समयको लागि राज्यलाई पहिलो स्थान दिने, त्यसपछि फेरि अरू कुरालाई पहिलो स्थान दिने गर्न मिल्दैन। तिनीहरूले आफ्नो जीवनमा सधैं राज्यलाई नै पहिलो स्थान दिइरहनुपर्छ।
उहाँको: यसले ‘स्वर्गमा बस्नुहुने बुबा’ अर्थात् परमेश्वरलाई बुझाउँछ, जसबारे मत्ती ६:३२ मा उल्लेख गरिएको छ।
उहाँको स्तरबमोजिमको असल काम: परमेश्वरको स्तरबमोजिमको असल कामलाई पहिलो स्थान दिनेहरू राजीखुसीले उहाँको इच्छाअनुसार चल्छन् अनि सही र गलतसम्बन्धी उहाँले तोक्नुभएको स्तरको पालना गर्छन्। येशूको यो शिक्षा फरिसीहरूको भन्दा बिलकुलै फरक थियो, जो सही र गलतसम्बन्धी आफ्नै स्तर स्थापित गर्न खोज्थे।—मत्ती ५:२०.
बहुमूल्य रत्न खोजौं
nwtsty-E मत्ती ७:२८, २९ को अध्ययन नोट
छक्क पऱ्यो: यहाँ चलाइएको ग्रीक क्रियालाई “केही गर्न भित्रैदेखि ओतप्रोत हुने हदसम्म आश्चर्यचकित हुनु” भनेर व्याख्या गर्न सकिन्छ। यो पदमा यस क्रियाको अपूर्ण रूप चलाइएको छ; येशूका शब्दहरूले भीडका मानिसहरूलाई लामो समयसम्म प्रभाव पारेको थियो भनेर यसले बुझाउँछ।
उहाँको सिकाउने तरिका: यस अभिव्यक्तिले येशूले कसरी सिकाउनुभयो, उहाँका सिकाउने तरिकाहरू कस्ता थिए, त्यसलाई बुझाउँछ। यसमा उहाँले के सिकाउनुभयो, त्यो पनि समावेश छ; उहाँले डाँडाको उपदेशमा सिकाउनुभएको सबै कुरा यसमा पर्छ।
तिनीहरूका शास्त्रीहरूले जस्तो होइन: त्यतिबेलाका शास्त्रीहरू आदरणीय ठानिएका धर्मगुरुहरूलाई अख्तियारप्राप्त व्यक्ति मान्थे र ती धर्मगुरुहरूकै भनाइ उद्धरण गर्ने गर्थे। तर येशूले भने त्यसो गर्नुभएन, बरु यहोवाको प्रतिनिधिको रूपमा अख्तियार पाएको व्यक्तिले जस्तो गरी परमेश्वरको वचनमा आधारित भएर सिकाउनुभयो।—यूह ७:१६.
जनवरी २२-२८
बाइबलमा पाइने अनमोल धन | मत्ती ८-९
“येशूले मानिसहरूलाई प्रेम गर्नुभयो”
nwtsty-E मत्ती ८:३ को अध्ययन नोट
उहाँले उसलाई छुनुभयो: मोशाको व्यवस्थामा अरू मानिसहरूलाई रोग नसरोस् भनेर कुष्ठरोगीहरूलाई अलग्गै राख्नुपर्ने नियम थियो। (लेवी १३:४५, ४६; गन्ती ५:१-४) तर यहूदी धर्मगुरुहरूले यसमा आफ्नै नियमहरू थपे। जस्तै, कुनै पनि मानिस कुष्ठरोगीबाट चार हात अर्थात् १.८ मि (६ फिट) परै बस्नुपर्थ्यो; त्योभन्दा नजिक जानुहुँदैनथ्यो। तर हावा चलेको दिनमा भने यो दूरी १०० हात अर्थात् ४५ मि (१५० फिट) हुनुपर्थ्यो। यस्ता नियमहरूले गर्दा कुष्ठरोगीहरूलाई निकै निर्दयी व्यवहार गरिन्थ्यो। यहूदी शिक्षामा कुष्ठरोगीहरूदेखि लुक्ने एक जना धर्मगुरुको प्रशंसा गरिएको पाइन्छ। साथै, कुष्ठरोगीहरू नजिक नआऊन् भनेर तिनीहरूलाई ढुङ्गाले हान्ने अर्को एक जना धर्मगुरुको पनि प्रशंसा गरिएको पाइन्छ। तर येशू भने बिलकुलै फरक हुनुहुन्थ्यो। त्यस कुष्ठरोगीलाई देख्दा उहाँको मनमा यत्ति दया जाग्यो कि उहाँले उसलाई छुनुभयो, जबकि अरू यहूदीहरू कुष्ठरोगीलाई छुने कुरा सोच्नसमेत सक्दैनथे! हुन त उहाँले एक वचन बोलेर त्यस कुष्ठरोगीलाई निको पार्न पनि सक्नुहुन्थ्यो तैपनि उहाँले उसलाई छुनुभयो।—मत्ती ८:५-१२.
मसित इच्छा छ: येशूले कुष्ठरोगीको बिन्ती सुन्नु मात्र भएन; बरु त्यसैअनुसार गर्ने दृढ इच्छा पनि व्यक्त गर्नुभयो। उहाँले केवल कर्तव्यबोधको भावनाले उसलाई निको पार्नुभएको थिएन भनेर यसले देखाउँछ।
nwtsty-E मत्ती ९:१० को अध्ययन नोट
खान बस्नुहुँदा: वा “टेबुलमा अडेस लगाएर बस्नुहुँदा।” टेबुलमा अडेस लगाएर कसैसँग बस्नुले त्यस व्यक्तिसँग घनिष्ठ सम्बन्ध छ भन्ने कुरालाई सङ्केत गर्थ्यो। त्यसैले येशूको समयका यहूदीहरूले कहिल्यै गैर-यहूदीहरूसित सँगै टेबुलमा अडेस लगाएर बस्ने वा खाना खाने गर्दैनथे।
कर उठाउने . . . मानिसहरू: थुप्रै यहूदीहरू रोमी अख्तियारवालाहरूको लागि कर उठाउने काम गर्थे। यसरी आफूहरूले घृणा गर्ने विदेशी शक्तिसित मिलेर काम गर्ने भएकोले र तोकिएको भन्दा धेरै कर असुल्ने भएकोले प्रायः यहूदीहरू ती कर उठाउनेहरूलाई घृणा गर्थे। साधारणतया, कर उठाउने यहूदीहरू तिनीहरूकै यहूदी भाइबन्धुबाट तिरस्कृत हुन्थे; यहूदीहरू तिनीहरूलाई पापीहरू र वेश्याहरूसरह ठान्थे। — मत्ती ११:१९; २१:३२.
nwtsty-E मत्ती ९:३६ को अध्ययन नोट
टिठाउनुभयो: यस शब्दको लागि चलाइएको ग्रीक क्रिया स्फ्लाख्निजोमाइ “आन्द्रा” अर्थ लाग्ने शब्दसित (स्फ्लाख्ना) सम्बन्धित छ। त्यसैले यस शब्दले शरीरको भित्री भागमा महसुस हुने भावना—तीव्र भावनालाई बुझाउँछ। यो ग्रीक भाषामा दयाको लागि चलाइने सबैभन्दा सशक्त शब्दहरूमध्ये एक हो।
बहुमूल्य रत्न खोजौं
jy-E पृ. ७० अनु. ६
येशूका चेलाहरू किन उपवास बस्दैनन्?
येशूका चेलाहरूले रीतिपूर्वक उपवास बस्ने जस्ता यहूदी धर्मका पुराना चलन पछ्याएको आशा कसैले गर्न मिल्दैनथ्यो। यही कुरा येशूले बप्तिस्मा गराउने यूहन्नाका चेलाहरूलाई बुझाउन खोज्दै हुनुहुन्थ्यो। येशू पुरानो र काम नलाग्ने भइसकेको उपासना गर्ने तरिकालाई टालटुल गरेर त्यसैलाई निरन्तरता दिन आउनुभएको थिएन। उपासनाको त्यो सम्पूर्ण प्रणालीलाई रद्द गर्ने बेला आइसकेको थियो। येशूले उपासना गर्ने जुन तरिका सिकाउँदै हुनुहुन्थ्यो, त्यो त्यसबेलाको यहूदी धर्मसित मेल खाँदैनथ्यो, जसमा मानिसहरूले बनाएका रीतिथिति समावेश थिए। हो, उहाँले पुरानो लुगामा नयाँ टालो सिलाउन वा पुरानो र कडा मशकमा नयाँ दाखमद्य हाल्न खोजिरहनुभएको थिएन।
जनवरी २९–फेब्रुअरी ४
बाइबलमा पाइने अनमोल धन | मत्ती १०-११
“येशूले स्फूर्ति दिनुभयो”
nwtsty-E मत्ती १०:२९, ३० को अध्ययन नोट
भँगेरा: यहाँ चलाइएको ग्रीक शब्द स्ट्राउथिअन यस शब्दको सानो रूप हो र यसले कुनै पनि सानो चरालाई बुझाउन सक्छ। तर प्रायजसो अवस्थामा यसले भँगेरालाई बुझाउँछ, जुन मासु खानको लागि बिक्री गरिने चराहरूमध्ये सबैभन्दा सस्तो थियो।
एक पैसामा: शाब्दिक, “एक असारियनमा।” यो भनेको एक जना मान्छेले ४५ मिनेट काम गरेबापत पाउने ज्याला थियो। (अतिरिक्त लेख ११ हेर्नुहोस्।) यो कुरा बताउने बेला येशू गालीलमा तेस्रो पटक यात्रा गर्दै हुनुहुन्थ्यो र यसपटक उहाँले दुइटा भँगेरा एक पैसामा बिक्छ भनेर बताउनुभयो। सायद यसको झन्डै एक वर्षपछिको कुरा हो, जब उहाँ यहूदियामा सेवाको काम गर्दै हुनुहुन्थ्यो, तब उहाँले पाँचवटा भँगेरा दुई पैसामा बिक्छ भनेर बताउनुभयो। (लूका १२:६) यी दुइटा विवरणलाई दाँजेर हेर्दा व्यापारीहरूको लागि भँगेराहरूको मोल यत्ति थोरै थियो कि चारवटा भँगेरा किन्दा एउटा भँगेरा सित्तैंमा दिइन्थ्यो भनेर बुझ्न सक्छौं।
तिमीहरूको कपालसमेत उहाँले गन्नुभएको छ: भनिन्छ, औसतमा एक जना मानिसको टाउकोमा १ लाख वटाभन्दा धेरै कपाल हुन्छ। यहोवा यत्ति सानो कुराको पनि जानकारी राख्नुहुन्छ भन्ने कुराले उहाँ प्रत्येक ख्रीष्टियनमा गहिरो चासो राख्नुहुन्छ भनेर ग्यारेन्टी दिन्छ।
nwtsty-E मिडिया
भँगेरा
मासु खानका लागि बेचबिखन गरिने चराहरूमध्ये भँगेरा सबैभन्दा सस्तो थियो। एक जना मान्छेले ४५ मिनेट काम गरेबापत पाउने ज्यालाबराबरको मोलमा दुइटा भँगेरा किन्न सकिन्थ्यो। भँगेरा भनी अनुवाद गरिएको ग्रीक शब्दले विभिन्न प्रजातिका साना चराहरूलाई बुझाउन सक्छ। यसमा घर भँगेरा (Passer domesticus biblicus) र स्पेनी भँगेरा (Passer hispaniolensis) पनि पर्छ। अहिले पनि यी दुवै प्रजातिका भँगेरा इजरायलमा प्रशस्त मात्रामा पाइन्छन्।
nwtsty-E मत्ती ११:२८ को अध्ययन नोट
भारले दबिएका: येशूले आफ्नो हातले इशारा गर्दै चिन्ताफिक्री र कठोर श्रमको “भारले दबिएका” मानिसहरूलाई आफूकहाँ बोलाउनुभयो। मोशाको व्यवस्थामा मानिसको रीतिथिति थपिएको हुनाले यहोवाको उपासना तिनीहरूको लागि बोझिलो भएको थियो। (मत्ती २३:४) यहाँसम्म कि मानिसहरूले स्फूर्ति पाऊन् भनेर स्थापित गरिएको विश्राम दिन पनि बोझिलो कुरा भइसकेको थियो।—प्रस्थ २३:१२; मर्कू २:२३-२८; लूका ६:१-११.
म तिमीहरूलाई स्फूर्ति दिनेछु: “स्फूर्ति” भनेर अनुवाद गरिएको ग्रीक शब्दले आराम गर्नुलाई (मत्ती २६:४५; मर्कू ६:३१) अनि पुनः ताजगी र बल पाउनको लागि कठोर श्रमबाट विश्राम लिनुलाई (२को ७:१३; फिले ७) बुझाउँछ। सन्दर्भ हेर्ने हो भने येशूको “जुवा” बोक्नु (मत्ती ११:२९) भनेको आराम गरेर बस्नु होइन, बरु सेवा गर्नु हो भनेर थाह पाउन सक्छौं। ग्रीक भाषामा यस पदमा कर्तृवाच्य क्रिया चलाइएको छ र कर्ताचाहिं येशू हुनुहुन्छ। यसबाट हामी के बुझ्न सक्छौं भने थाकेका मानिसहरूले राजीखुसीले उहाँको हलुको र सजिलो जुवा बोकून् भनी येशू तिनीहरूलाई पुनः ताजगी र जाँगर दिनुहुन्छ।
nwtsty-E मत्ती ११:२९ को अध्ययन नोट
मेरो जुवा बोक: येशूले अख्तियारको अधीनमा बस्नु र निर्देशन पालन गर्नुलाई बुझाउन “जुवा” भन्ने शब्द चलाउनुभयो। यदि येशूले दुइटा जनावरको काँधमा राख्ने किसिमको जुवाबारे कुरा गर्नुभएको हो भने सायद परमेश्वरले उहाँमाथि राखिदिनुभएको जुवाबारे उहाँ कुरा गर्दै हुनुहुन्थ्यो अनि आफूसँगसँगै त्यो जुवा बोक्न चेलाहरूलाई निम्तो दिंदै हुनुहुन्थ्यो र उहाँले तिनीहरूलाई मदत गर्नुहुने थियो। यदि त्यसो हो भने यस वाक्यांशलाई यसरी पनि अनुवाद गर्न सकिन्छ: “मसँगै मेरो जुवा बोक।” तर यदि येशूले उहाँ आफैले अरूमाथि राख्ने जुवाबारे कुरा गर्नुभएको हो भने त्यसले ख्रीष्टको चेला बनेर उहाँको अख्तियारको अधीनमा बस्नु र उहाँको निर्देशन पालन गर्नुलाई बुझाउँछ।
बहुमूल्य रत्न खोजौं
jy-E पृ. ९६ अनु. २-३
यूहन्ना येशूकै मुखबाट सुन्न चाहन्छन्
के यो अनौठो प्रश्न हो? यूहन्ना परमेश्वरप्रति भक्त मानिस हुन्। तिनले झन्डै दुई वर्षअघि येशूको बप्तिस्मा गराउँदा परमेश्वरको शक्ति येशूमाथि ओर्लेको देखेका थिए र येशूलाई स्विकारेको कुरा परमेश्वर स्वयम्ले भन्नुभएको सुनेका थिए। अहिले आएर यूहन्नाको विश्वास कमजोर भयो होला भनेर शङ्का गर्नुपर्ने कुनै कारण छैन। नत्रभने येशूले यूहन्नाको प्रशंसा गर्नुहुने थिएन; यसै विवरणमा हेर्ने हो भने पनि येशूले तिनको प्रशंसा गर्नुभएको पाउँछौं। तर यदि यूहन्नाको विश्वास कमजोर भएको थिएन भने तिनले येशूबारे किन यस्तो प्रश्न सोधे?
यूहन्नाले येशूकै मुखबाट उहाँ मसीह हुनुहुन्छ भन्ने कुरा पक्का गर्न चाहेका मात्र हुन सक्छन्। झ्यालखानामा गाह्रो अवस्थाबाट गुज्रिरहेका यूहन्नाले त्यसबाट पक्कै सान्त्वना पाउने थिए। यूहन्नाले प्रश्न सोध्नुको अर्को कारण पनि हुन सक्छ। परमेश्वरका अभिषिक्त जन राजा र उद्धारक हुनेछन् भनेर देखाउने बाइबलका भविष्यवाणीहरू तिनलाई थाह छ। तर येशूले बप्तिस्मा गर्नुभएको महिनौं बितिसकेको भए तापनि तिनी भने झ्यालखानामा छन्। त्यसैले मसीहले गर्ने कामहरूबारे गरिएका सबै भविष्यवाणी पूरा गर्न येशूपछि उहाँको कुनै उत्तराधिकारी आउने हुन् कि भनेर यूहन्नाले जान्न चाहेका हुन सक्छन्।
jy-E पृ. ९८ अनु. १-२
कुनै चासो नदेखाउने पुस्तालाई धिक्कार
येशू बप्तिस्मा गराउने यूहन्नालाई सम्मान गर्नुहुन्छ। तर प्रायजसो मानिसहरू यूहन्नालाई कुन दृष्टिकोणले हेर्छन्? “यस पुस्ता”-बारे येशू यसो भन्नुहुन्छ, “यो त बजारमा बस्ने ती साना केटाकेटीहरूजस्तै छ, जसले आफ्ना साथीहरूलाई कराउँदै यसो भन्छन्: ‘हामीले तिमीहरूको लागि बाँसुरी बजायौं तर तिमीहरू नाचेनौ; हामीले विलाप-गीत गायौं तर तिमीहरूले छाती पिटेर बिलौना गरेनौ।’ ”—मत्ती ११:१६, १७.
येशू के भन्न खोज्दै हुनुहुन्छ? उहाँ आफ्नो कुरा यसरी व्याख्या गर्नुहुन्छ: “यूहन्नाले अरूहरूले जस्तो न खाए न पिए, तैपनि मानिसहरू यसो भन्छन्: ‘उसमा दुष्ट स्वर्गदूत बास गरेको छ।’ मानिसको छोराचाहिं अरूहरूले जस्तै खान्छ र पिउँछ, तैपनि मानिसहरू यसो भन्छन्: ‘हेर, घिचुवा र पियक्कड मानिस! कर उठाउने र पापीहरूको साथी।’ ” (मत्ती ११:१८, १९) यूहन्ना नाजिरीको रूपमा सरल जीवन बिताउँछन्। तिनी दाखमद्यबाट पनि अलग रहन्छन्। तैपनि यस पुस्ताका मानिसहरू तिनमा दुष्ट स्वर्गदूतले बास गरेको छ भन्छन्। (गन्ती ६:२, ३; लूका १:१५) अर्कोतर्फ, येशू भने साधारण मानिसले जस्तै जीवन बिताउनुहुन्छ। उहाँ सन्तुलित भएर खाने, पिउने गर्नुहुन्छ तर मानिसहरू उहाँलाई घिचुवा र पियक्कड भनेर आरोप लगाउँछन्। यी मानिसहरूको चित्त बुझाउन असम्भव छ जस्तो देखिन्छ।