प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwbr18 मार्च पृ. १-४
  • जीवन र सेवा अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जीवन र सेवा अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री
  • जीवन र प्रचारकार्य अभ्यास पुस्तिकाको लागि स्रोत सामग्री (२०१८)
  • उपशीर्षकहरू
  • मार्च ५-११
  • बहुमूल्य रत्न खोजौँ:
  • मार्च १२-१८
  • बहुमूल्य रत्न खोजौँ
  • मार्च १९-२५
  • बहुमूल्य रत्न खोजौँ
जीवन र प्रचारकार्य अभ्यास पुस्तिकाको लागि स्रोत सामग्री (२०१८)
mwbr18 मार्च पृ. १-४

जीवन र प्रचारकार्य अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री

मार्च ५-११

बाइबलमा पाइने अनमोल धन | मत्ती २०-२१

“तिमीहरूमाझ जो ठूलो हुन चाहन्छ, ऊ तिमीहरूको सेवक हुनुपर्छ”

nwtsty-E मिडिया

बजार

चित्रमा देखाइएझैँ कुनै-कुनै बजार बाटोको छेउमै हुन्थे। पसलेहरूले बाटोमा यत्ति धेरै मालसामान राख्थे कि त्यहाँबाट ओहोरदोहोर गर्न हम्मेहम्मे पर्थ्यो। स्थानीय बासिन्दाहरूले त्यस्तो बजारमा घरका सरसामान, माटोका भाँडाकुँडा, सिसाका महँगा-महँगा सामान अनि ताजा फलफूल तथा तरकारी पनि किन्‍न सक्थे। त्यसबेला फ्रिज नभएको हुनाले मानिसहरू दिनदिनै बजारमा किनमेल गर्न जानुपर्ने हुन्थ्यो। बजारमा बच्चाहरू खेल्थे, पसलेहरूले सामान ल्याइदिने व्यापारीहरूबाट वा अरू मानिसहरूबाट विभिन्‍न खबर पाउँथे र कामको खोजीमा भएकाहरू कसैले ज्यालामा कुनै काम दिन्छ कि भनी पर्खेर बस्थे। येशूले बजारमा बिरामीहरूलाई निको पार्नुभयो। साथै पावलले पनि बजारमा प्रचार गरे। (प्रे १७:१७) तर घमन्डी शास्त्री र फरिसीहरू भने यस्ता सार्वजनिक ठाउँहरूमा अरूले तिनीहरूलाई याद गरेको र अभिवादन गरेको चाहन्थे।

nwtsty-E मत्ती २०:२०, २१ को अध्ययन नोट

जब्दीकी पत्नी: तिनी प्रेषित याकूब र प्रेषित यूहन्‍नाकी आमा थिइन्‌। यस घटनाबारे मर्कूसले लेखेको विवरण हेर्ने हो भने येशूकहाँ बिन्ती गर्न आउनेहरू याकूब र यूहन्‍ना थिए भनेर लेखिएको पाउँछौँ। यसबाट के प्रस्ट हुन्छ भने तिनीहरूले नै आफ्नी आमा सलोमीलाई यो बिन्ती गर्न लगाएको हुनुपर्छ, जो सायद येशूकी सानीमा थिइन्‌।—मत्ती २७:५५, ५६; मर्कू १५:४०, ४१; यूह १९:२५.

एक जना तपाईँको दाहिने हाततिर र अर्को देब्रे हाततिर: यस सन्दर्भमा दाहिने र देब्रे दुवैतिरको स्थानले सम्मानजनक ओहदा र अख्तियारलाई जनाउँछ। तर सबैभन्दा सम्मानजनक स्थान भनेको सधैँ दाहिने हाततिर नै हुन्छ।—भज ११०:१; प्रे ७:५५, ५६; रोमी ८:३४.

nwtsty-E मत्ती २०:२६ को अध्ययन नोट

सेवक: वा “नोकर।” बाइबलमा ग्रीक शब्द डिआकोनोस अक्सर हार नमानी अनि नम्र भई अरूको सेवा गर्ने व्यक्‍तिलाई बुझाउन प्रयोग गरिएको छ। यो शब्द ख्रीष्टलाई (रोमी १५:८), ख्रीष्टका सेवकहरूलाई (१को ३:५-७; कल १:२३), सहायक सेवकहरूलाई (फिलि १:१; १ति ३:८), घरका नोकरचाकरलाई (यूह २:५, ९) अनि सरकारी अफिसरहरूलाई (रोमी १३:४) बुझाउन प्रयोग गरिएको छ।

बहुमूल्य रत्न खोजौँ:

nwtsty-E मत्ती २१:९ को अध्ययन नोट

जय होस्‌: शाब्दिक, “होसन्‍ना।” यो ग्रीक शब्द एउटा हिब्रू अभिव्यक्‍तिबाट आएको हो, जसको अर्थ हुन्छ, “बचाउनुहोस्‌ भनी हामी प्रार्थना गर्छौँ” वा “बिन्ती छ, बचाउनुहोस्‌।” यस पदमा यो शब्द उद्धार गरिदिनुहोस्‌ वा विजयी तुल्याइदिनुहोस्‌ भनी परमेश्‍वरलाई बिन्ती गर्न चलाइएको छ। यसलाई “बिन्ती छ, [दाऊदका छोराको] उद्धार गर्नुहोस्‌” भनेर पनि अनुवाद गर्न सकिन्छ। समयको दौडान यो शब्द प्रार्थना गर्दा अनि प्रशंसा गर्दा पनि चलाउन थालियो। यससित सम्बन्धित हिब्रू अभिव्यक्‍ति भज ११८:२५ मा पाइन्छ, जुन निस्तार चाडको बेलामा नियमित रूपमा गाइने भज ११३-११८ का भजनहरूको एउटा अंश थियो। त्यसैले मत्ती २१ मा बताइएको घटनाको बेला मानिसहरूको दिमागमा यी शब्दहरू स्वतः आएको थियो। दाऊदका छोरालाई बचाउनुहोस्‌ भन्‍ने प्रार्थनाको जवाफ परमेश्‍वरले कसरी दिनुभयो? एउटा त, उहाँले येशूलाई मृत्युबाट ब्युँताउनुभयो। मत्ती २१:४२ हेर्ने हो भने येशू आफैले भज ११८:२२, २३ का शब्दहरू उद्धरण गर्नुभयो र यो मसीहमा लागू हुन्छ भनेर बताउनुभयो।

दाऊदका छोरा: यस अभिव्यक्‍तिले ती मानिसहरूले येशू दाऊदको वंशबाट आउनुभएको हो र उहाँ प्रतिज्ञा गरिएको मसीह हुनुहुन्छ भनी थाह पाएका थिए भनेर देखाउँछ।

jy-E पृ. २४४ अनु. ४-६

विश्‍वासबारे पाठ सिकाउनका लागि येशू अन्जीरको रूखको उदाहरण चलाउनुहुन्छ

तर येशू किन अन्जीरको त्यस रूखलाई सुकाइदिनुहुन्छ? यसको कारणबारे उहाँ आफै यसो भन्‍नुहुन्छ: “म तिमीहरूलाई साँचो-साँचो भन्छु, तिमीहरूसित विश्‍वास मात्र हुनुपर्छ अनि तिमीहरूले शङ्‌का गर्नु हुँदैन, तब मैले अन्जीरको रूखलाई जे गरें, त्यति मात्र होइन तर यस पहाडलाई ‘यहाँबाट उप्किएर समुद्रमा खस्‌’ भन्यौ भने त्यो पनि हुनेछ। तिमीहरूले विश्‍वाससहित प्रार्थनामा जे-जे माग्छौ, ती तिमीहरूले पाउनेछौ।” (मत्ती २१:२१, २२) यसअघि उहाँले विश्‍वास छ भने डाँडालाई समेत सार्न सकिन्छ भन्‍नुभएको थियो; अहिले पनि उहाँ त्यही बुँदा दोहोऱ्‍याउँदै हुनुहुन्छ।—मत्ती १७:२०.

यसरी अन्जीरको त्यस रूखलाई सुकाइदिएर येशूले परमेश्‍वरमाथि विश्‍वास गर्नु कत्ति महत्त्वपूर्ण छ भनेर जोडदार ढङ्‌गमा बुझाउनुहुन्छ। उहाँ भन्‍नुहुन्छ: “तिमीहरूले प्रार्थनामा जे-जे माग्छौ, ती तिमीहरूले पाइसकेझैँ गरी विश्‍वास गर अनि तिमीहरूले ती साँच्चै पाउनेछौ।” (मर्कूस ११:२४) येशूका सबै चेलाहरूको लागि कत्ति महत्त्वपूर्ण पाठ! ती प्रेषितहरूले अब चाँडै कठिन परीक्षाहरूको सामना गर्नुपर्नेछ, त्यसैले यो पाठ तिनीहरूको लागि झनै उपयुक्‍त छ! तर अन्जीरको रूख सुकाइनु र विश्‍वासबीच अर्को सम्बन्ध पनि छ।

अन्जीरको त्यस रूखजस्तै इस्राएल राष्ट्र पनि बाहिरबाट हेर्दा अर्कै र भित्रपट्टि अर्कै छ। इस्राएलका मानिसहरू करारद्वारा यहोवा परमेश्‍वरसित बाँधिएका छन्‌। बाहिरबाट हेर्दा तिनीहरू उहाँको व्यवस्था पालन गर्छन्‌ जस्तो पनि देखिन्छ। तर राष्ट्रको रूपमा भने तिनीहरूमा विश्‍वासको कमी छ र तिनीहरू असल फल फलाउँदैनन्‌। तिनीहरू परमेश्‍वरको छोरालाई समेत तिरस्कार गर्छन्‌! त्यसैले फल नदिने अन्जीरको रूखलाई सुकाइदिएर येशूले फल नफलाउने, अविश्‍वासी राष्ट्र इस्राएलले कस्तो नतिजा भोग्नुपर्नेछ भनेर देखाउनुभयो।

मार्च १२-१८

बाइबलमा पाइने अनमोल धन | मत्ती २२-२३

“सबैभन्दा ठूला दुई आज्ञा पालन गर्नुहोस्‌”

nwtsty-E मत्ती २२:३७ को अध्ययन नोट

मन: बाइबलमा यो शब्दले मानिसको भित्री व्यक्‍तित्वको सबै पक्षलाई बुझाउँछ। तर यो शब्द “ज्यान” र “दिमाग” सँगसँगै चलाइँदा भने यसले विशेषगरि मानिसको भावना, इच्छा अनि मानिसले महसुस गर्ने कुराहरूलाई बुझाउँछ। यहाँ चलाइएका तीन शब्दहरू—मन, ज्यान र दिमागले बिलकुलै फरक-फरक कुरालाई बुझाउँदैन; यी शब्दहरूको अर्थ एकअर्कासित सम्बन्धित छ। त्यसैले यी तीनै वटा शब्द एकैचोटि चलाइनुले परमेश्‍वरलाई पूर्ण रूपमा प्रेम गर्नु कत्ति महत्त्वपूर्ण छ भनेर जोड दिन्छ।

दिमाग: अर्थात्‌, बौद्धिक क्षमता। परमेश्‍वरलाई चिन्‍न र उहाँप्रतिको प्रेम बढाउन आफ्नो बौद्धिक क्षमताको प्रयोग गर्नुपर्छ। (यूह १७:३; रोमी १२:१) व्य ६:५ बाट उद्धरण गरिएका यी शब्दहरूलाई मूल हिब्रूमा हेर्ने हो भने ‘मन, ज्यान र शक्‍ति’ भन्‍ने शब्दहरू चलाइएको पाउँछौँ। तर मत्तीको विवरण ग्रीक भाषामा हेर्ने हो भने “शक्‍ति”-को ठाउँमा “दिमाग” अर्थ लाग्ने शब्द चलाइएको पाइन्छ। यसरी भिन्‍नाभिन्‍नै शब्दहरू चलाइनुको विभिन्‍न कारण हुन सक्छ। पहिलो, पुरातन हिब्रू भाषामा “दिमाग”-को लागि छुट्टै शब्द थिएन। “मन” वा “हृदय”-को लागि जुन हिब्रू शब्द चलाइन्थ्यो, त्यही शब्दमा “दिमाग”-को अर्थ पनि आउँथ्यो। यो शब्द लाक्षणिक रूपमा चलाइँदा यसले मानिसको सोचाइ, भावना, मनोवृत्ति र कुनै काम गर्न उत्प्रेरित गर्ने मनोभावलाई बुझाउँछ। (व्य २९:४; भज २६:२; ६४:६; यसै पदको “मन” शीर्षकको अध्ययन नोट हेर्नुहोस्‌।) त्यसैले हिब्रू धर्मशास्त्रको जुन-जुन ठाउँमा “मन” वा “हृदय” भन्‍ने शब्द चलाइएको छ, त्यहाँ-त्यहाँ सेप्टुआजिन्ट-मा अक्सर “दिमाग” अर्थ लाग्ने ग्रीक शब्द चलाइएको पाइन्छ। (उत्प ८:२१; १७:१७; हित २:१०; यशै १४:१३) व्य ६:५ बाट उद्धरण गर्दा मत्तीले “शक्‍ति”-को ठाउँमा “दिमाग” अर्थ लाग्ने ग्रीक शब्द प्रयोग गर्नुको अर्को कारण के हुन सक्छ भने “शक्‍ति” भनी अनुवाद गरिएको हिब्रू शब्दले शारीरिक शक्‍ति अनि मानसिक वा बौद्धिक क्षमता दुवैलाई बुझाउँछ। कारण जे भए पनि हिब्रू र ग्रीक शब्दहरूको अर्थमा यस्तो समानता पाइनुले सुसमाचारका किताबहरूका लेखकहरूले व्यवस्थाको किताबबाट उद्धरण गर्दा किन जस्ताको तस्तै शब्दहरू चलाएनन्‌ भनेर बुझ्न मदत गर्छ।

nwtsty-E मत्ती २२:३९ को अध्ययन नोट

दोस्रोचाहिँ: मत्ती २२:३७ हेर्ने हो भने येशूले फरिसीको प्रश्‍नको सीधा जवाफ दिनुभएको पाउँछौँ। तर त्यसपछि उहाँले थप कुरा पनि बताउनुभयो; उहाँले लेवी १९:१८ मा भएको आज्ञा उद्धरण गर्नुभयो। यसरी उहाँले यी दुई आज्ञाहरू एकअर्कासित सम्बन्धित छन्‌ र यिनीहरूलाई छुट्ट्याउन मिल्दैन अनि सारा व्यवस्था र भविष्यवक्‍ताहरूको शिक्षाको सारांश यी नै दुई आज्ञामा पाइन्छ भनेर सिकाउनुभयो।—मत्ती २२:४०.

छिमेकी: “छिमेकी” भनेर अनुवाद गरिएको ग्रीक शब्दले (शाब्दिक, “नजिकैको व्यक्‍ति”) नजिकै बस्ने मानिसहरूलाई मात्र त बुझाउँदैन। यस शब्दले हामीले कुरा गर्ने, भेट्‌ने जुनसुकै व्यक्‍तिलाई बुझाउँछ।—लूका १०:२९-३७; रोमी १३:८-१०.

nwtsty-E मत्ती २२:४० को अध्ययन नोट

व्यवस्था . . . भविष्यवक्‍ताहरूको शिक्षा: “व्यवस्था”-ले बाइबलको उत्पत्तिदेखि व्यवस्थासम्मका किताबहरूलाई बुझाउँछ। “भविष्यवक्‍ताहरूको शिक्षा”-ले भने हिब्रू धर्मशास्त्रमा भएका भविष्यवाणीका किताबहरूलाई बुझाउँछ। तर यी दुई शब्द सँगै चलाइँदा भने यसले सम्पूर्ण हिब्रू धर्मशास्त्रलाई बुझाउँछ।—मत्ती ७:१२; २२:४०; लूका १६:१६.

अडिएको छ: यसको लागि चलाइएको ग्रीक क्रियाको शाब्दिक अनुवाद “कुनै कुरामा झुन्ड्‌याउनु” हुन्छ। यस अभिव्यक्‍तिलाई यो पदमा “आधारित छ” भन्‍ने अर्थमा चलाइएको छ। तसर्थ दस आज्ञा र व्यवस्था मात्र होइन, बरु पूरै हिब्रू धर्मशास्त्र प्रेममा आधारित छ भन्‍ने कुरा येशूले बुझाउन खोज्दै हुनुहुन्थ्यो।—रोमी १३:९.

बहुमूल्य रत्न खोजौँ

nwtsty-E मत्ती २२:२१ को अध्ययन नोट

जे-जे सम्राट्‌का हुन्‌, सम्राट्‌लाई: येशूको यो जवाफ यस पदमा अनि यसका समानान्तर विवरणहरू मर्कू १२:१७ र लूका २०:२५ मा पाउँछौँ। त्यसबेलाको रोमी सम्राट्‌बारे येशूले कुरा गर्नुभएको विवरण यही मात्र हो। ‘सम्राट्‌का कुराहरू’-मा मानव सरकारहरूले प्रदान गर्ने सेवासुविधाको निम्ति उनीहरूलाई तिर्नुपर्ने कर अनि अख्तियारवालाहरूप्रति देखाउनुपर्ने आदर र अधीनता समावेश छ।—रोमी १३:१-७.

जे-जे परमेश्‍वरका हुन्‌, परमेश्‍वरलाई: यसमा परमेश्‍वरलाई सारा मनले उपासना चढाउनु, मनैदेखि प्रेम गर्नु अनि वफादार भई पूर्ण रूपमा उहाँप्रति आज्ञाकारी हुनु समावेश छ।—मत्ती ४:१०; २२:३७, ३८; प्रे ५:२९; रोमी १४:८.

nwtsty-E मत्ती २३:२४ को अध्ययन नोट

भुसुना चाल्छौ तर उँटलाई चाहिँ निलिहाल्छौ: भुसुना र उँट इस्राएलीहरूलाई थाह भएको सबैभन्दा सानो अनि सबैभन्दा ठूलो अशुद्ध जनावरहरूमध्ये पर्थ्यो। (लेवी ११:४, २१-२४) येशू यहाँ अतिशयोक्‍ति चलाउँदै हुनुहुन्थ्यो अनि उहाँको भनाइमा केही मात्रामा व्यङ्‌ग्य पनि पाउँछौँ। धर्मगुरुहरू अशुद्ध हुनु नपरोस्‌ भनेर पिउने बेलामा भुसुना चाल्छन्‌ तर व्यवस्थाका गहन-गहन कुराहरू भने पूरै बेवास्ता गर्छन्‌ भनी येशूले बताउनुभयो। तिनीहरूको यस्तो काम उँटलाई निलेबराबर थियो।

मार्च १९-२५

बाइबलमा पाइने अनमोल धन | मत्ती २४

“अन्तको दिनमा आध्यात्मिक तवरमा जागा रहनुहोस्‌”

it-2-E पृ. २७९ अनु. ६

प्रेम

प्रेम सेलाएर जान सक्छ। चेलाहरूलाई भविष्यमा हुने कुराहरूबारे बताउनुहुँदा येशू ख्रीष्टले परमेश्‍वरमा विश्‍वास गर्छु भनेर दाबी गर्ने थुप्रैको प्रेम (अगापे) सेलाएर जानेछ भनेर सङ्‌केत गर्नुभयो। (मत्ती २४:३, १२) प्रेषित पावलले आउनै लागेको असाध्यै कठिन समयको सङ्‌केतहरूबारे बताउँदा मानिसहरू “पैसालाई प्रेम गर्ने” हुनेछन्‌ भनी उल्लेख गरे। (२ति ३:१, २) यसबाट के प्रस्ट हुन्छ भने एक जना व्यक्‍तिले सही सिद्धान्तहरूलाई बेवास्ता गर्न पुग्न सक्छन्‌ अनि तिनीसित भएको प्रेम सेलाएर जान सक्छ। त्यसैले परमेश्‍वरको वचनमा मनन गरेर अनि उहाँका सिद्धान्तहरूअनुसार जीवन बिताएर प्रेम देखाइरहनु अनि त्यसलाई विकास गरिरहनु निकै महत्त्वपूर्ण छ।—एफि ४:१५, २२-२४.

jy-E पृ. २५९ अनु. ५

प्रेषितहरू चिन्हको माग गर्छन्‌

चेलाहरू सचेत, जागा र तयार रहनुपर्छ भनी येशू बताउनुहुन्छ। यस चेतावनीलाई अझ जोड दिन उहाँ यस्तो उदाहरण पनि चलाउनुहुन्छ: “एउटा कुरा जानिराख, यदि घरमालिकलाई चोर कुन प्रहरमा आउँदैछ भनेर थाह भएको भए ऊ जागै बस्नेथियो र त्यसलाई आफ्नो घर फोरेर छिर्न दिने थिएन। यो कुरा विचार गर्दै तिमीहरूले पनि आफू तयार रहेको प्रमाण देओ, किनकि तिमीहरूले नचिताएको समयमा मानिसको छोरा आउँदैछ।”—मत्ती २४:४३, ४४.

बहुमूल्य रत्न खोजौँ

nwtsty-E मत्ती २४:८ को अध्ययन नोट

प्रसववेदना: यहाँ चलाइएको ग्रीक शब्दले बच्चा जन्माउँदा महसुस हुने असह्‍य पीडालाई बुझाउँछ। हुनत यो शब्द यहाँ दुःख, पीडा र सङ्‌कष्टलाई बुझाउन प्रयोग गरिएको छ तर यसले के पनि सङ्‌केत गरेको हुन सक्छ भने मत्ती २४:२१ मा बताइएको महासङ्‌कष्टअघि दुःखकष्ट र समस्याहरू प्रसववेदनाको बेलामा जस्तै अझ बढ्‌नेछ, त्यसले भयङ्‌कर रूप लिनेछ र लामो समयको लागि रहनेछ।

nwtsty-E मत्ती २४:२० को अध्ययन नोट

हिउँदको बेला: मुसलधारे वर्षा, बाढी र कठ्‌याङ्‌ग्रिने चिसो जस्ता कारणहरूले गर्दा हिउँदको मौसममा यात्रा गर्न अनि खाना र बास पाउन गाह्रो हुन्थ्यो।—एज्रा १०:९, १३.

विश्राम-दिनको बेला: यहूदिया र त्यस्तै अरू इलाकाहरूमा विश्राम-दिनको बेला थुप्रै कुरामा प्रतिबन्ध लगाइएको हुन्थ्यो, जसले गर्दा टाढा-टाढा यात्रा गर्न र साथमा गह्रुङ्‌गो मालसामान लिएर हिँड्‌न पाइँदैनथ्यो। साथै विश्राम-दिनको बेला सहरका मूलढोकाहरू पनि बन्द गरिएका हुन्थे।—प्रे १:१२ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने